शुक्रबार, जेठ ४
०१:१२

अकूको ३ दिने बीसीपी तालिममा सहभागी महिलाहरुको अनुभव

सोमबार, भदौ ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं, ८ भदौ ।  (एशियाली ऋण महासंघ–अकूको सहजिकरणमा नेपालमा एक्सेस कार्यक्रममा आबद्ध साकोसका सञ्चालक तथा व्यवस्थापनका कर्मचारीहरुको सहभागितामा ३ दिने व्यवसाय निरन्तरता योजना (बीसीपी) सम्बन्धी तालिम सम्पन्न भएको छ । कोभिड १९ ले सदस्य, संस्था र कर्मचारीमा पारेको प्रभाव, जोखिम दोहोरिने सम्भावना एवं समयका आधारमा जोखिमको स्तर निर्धारण, चुनौतीपूर्ण व्यावसायिक सम्बन्धहरुको निरन्तरता आदि विविध विषयमा छलफल भएको उक्त तालिममा २७ वटा साकोस एवं छाता संगठन नेफ्स्कूनबाट गरी ५८ जनाको सहभागिता थियो । उक्त तालिम प्राप्त केही महिला सहकारीकर्मीहरुसँग साकोस आवाजका रञ्जनमणि पौड्यालले भर्चुअल सम्पर्क मार्फत उहाँहरुको सिकाई र अनुभवहरु यहाँ समेट्नुभएको छः सम्पादक )


सरुणा बस्नेत (श्रेष्ठ)
उपाध्यक्ष
मिलिजुली कालिञ्चोक साकोस 
भीमेश्वर नपा–६, चरिकोट, दोलखा

                                                                                                                                                                                                                                                                                                                         

अकूको सहजिकरणमा मैले लिएको यो पहिलो तालिम थियो । एकदमै उपयोगी र समसामयिक लाग्यो । समग्रमा उपलब्धिमूलक नै रह्यो भन्ने लाग्छ तालिम । खासगरी कोभिडको प्रभावले सम्पूर्ण सहकारीहरु त्यसमा पनि वित्तीय सहकारीहरुमा प्रतिकूल असर पारेको अवस्थामा कसरी सदस्य, संस्था र कर्मचारीहरुलाई जोगाउन सकिन्छ भन्ने विषयमा तालिमको विषयवस्तु केन्द्रित थियो । कतिपय कुराहरु हामीले संस्थामा लागू गरिहेका छौं, कतिपय नयाँ सुझावहरु प्राप्त भएका छन् । बीसीपी बनाउने, समय अनुसार अद्यावधिक गर्ने, स्वास्थ्य सचेतनाका कामहरु संस्थामार्फत निरन्तर गर्ने र गराउने र सदस्यहरुको वित्तीय र स्वास्थ्य अवस्थाका बारेमा जानकारीहरु अपडेट गर्ने कुरा सिकेँ ।
सदस्यहरुको बारेमा सत्यतथ्य जानकारी संकलन गर्ने, कर्मचारीहरुको स्वास्थ्य सावधानीका विषयमा गम्भीर बन्ने र संस्थाको कारोबारलाई निरन्तरता दिने कुराहरु तालिममा अटाएका थिए । हामीले पनि तालिममा सहजिकरण गरिए झैं केन्द्रीय कार्यालय र सेवा केन्द्रमार्फत सम्पर्क व्यक्तिहरु तोकेर सदस्यका वित्तीय गैर वित्तीय आवश्यकताहरुको सम्बोधन गरिरहेका छौं । स्थानीय निकायले सेवा केन्द्रहरु बन्द गराएपनि सम्पर्क व्यक्तिहरुले निरन्तर सेवा प्रवाह गरिरहनुभएको छ । यो तालिमले हामीलाई कठिनाईको सामना थप साहस र आत्मबलका साथ योजनाबद्ध ढंगबाट गर्न हौसला मिलेको छ ।

अन्जु जैसी (सुवेदी)
सचिव
जनउत्थान साकोस
तिलोत्तमा–१५, कोटिहवा, रुपन्देही

 

अकूसँग लिएको यो मेरो पहिलो तालिम हो । ३ दिने व्यवसाय निरन्तरता योजना (बीसीपी) तालिम मलाई अत्यन्त उपलब्धिमूलक लाग्यो । कोभिड–१९ को लम्बिदो संक्रमण र विभिन्न किसिमका प्रतिबन्धात्मक स्थितिमा संस्थालाई कसरी चलायमान बनाउने, सदस्यको स्वास्थ्य र बचतको संरक्षण कसरी गर्ने, भाखा नाघेको ऋणहरुको व्यवस्थापन कसरी गर्ने लगायत विभिन्न महत्वपूर्ण विषयहरुमा तालिम केन्द्रीत रह्यो । अर्को कुरा भनेको यो तालिममा हामीले धेरै व्यावहारिक ज्ञान पनि लियौं, खाली सैद्धान्तिक मात्रै होइन । अकूले सुझाएका कतियप अधिकांश कुराहरु राम्रा छन् । यद्यपि, समस्या के हो भने हरेक संस्थाको समस्या फरक छ । हाम्रो कुरा गर्ने हो भने सीमा क्षेत्रमा रहेका कारण कोभिड को को खतरा हामीमा धेरै छ । सदस्यहरु पनि फरक प्रवृतिका हुनुहुन्छ । तालिममा आकस्मिक बजेट र संकट व्यवस्थापन बचतका कुरा सिकाइएपनि तत्काल ती कुराहरु लागू गर्न सम्भव छैन, भविष्यमा भने सुरु गर्न सकिन्छ । त्यस्तै, वित्तीय र प्रविधि साक्षरताका विषयमा सदस्यलाई सिकाउने वा अभ्यस्त बनाउने भनिएपनि हाम्रोमा कतिपय सदस्यहरु मोबाइलबाट कल गर्न सक्नुहुन्न । हाम्रो त ग्रासरुट तहका सदस्यहरु हुनुहुन्छ । यद्यपि, हाम्रा भविष्यका योजनाहरु सदस्यहरुलाई वित्तीय र प्रविधि शिक्षातर्फ डोहोर्याउनुपर्छ भन्ने शिक्षा एकदमै सही हो ।


सुमित्रा त्रिपाठी
बरिष्ठ अधिकृत (लेखा)
चन्द्रागिरी साकोस, चन्द्रागिरी नपा, थानकोट, काठमाडौं

                                                                                                                                                                                                              
 संस्थामा काम गरेको ९ वर्ष पुगेपनि अकूसँगको भने यो मरो पहिलो तालिम थियो । हामी एक्सेस् कार्यक्रममा भर्खरै सहभागी भएकाले पनि अकूसँग जोडिने पहिलो अवसर मिल्यो । संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठ सरको आग्रहमा यसमा सहभागी भएकी थिए र एकदम उत्साहित पनि थिए । धेरै कुराहरु सिक्न पाइयो । कतिपय कुराहरु हामीले संस्थामा लागू गरिरहेपनि त्यसलाई थप व्यवस्थित र वैज्ञानिक ढंगबाट सम्पादन गर्ने विषयमा जानकारी पाएँ भने अन्तर्राष्ट्रिय अनुभवहरु पनि सुन्न पाएँ । खासगरी महामारीका समयमा व्यवसाय निरन्तरता कसरी गर्ने, सदस्य र संस्थाको सम्बन्धलाई कसरी मजबूद बनाइ राख्ने, व्यक्तिगत र स्वास्थ्य सर्तकताका नियमहरु के कसरी पालना गर्ने आदि विषयहरुमा सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेँ ।
प्रविधिको प्रयोगलाई प्राथमिकताका साथ लागू गरी सकेसम्म सदस्यहरु संस्थामा आउनुनपर्ने वातावरण सृजनामा अकूको जोड थियो । आउनैपर्ने स्थितिमा ज्वरो नाप्ने, साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, भौचरहरु सकेसम्म हामीले नै भर्ने, घरदैलो सेवा हालका लागि स्थगित गर्ने जस्ता जानकारीहरु अद्यावधिक गराइयो । एकदम नौलो भनेको कोभिड जस्ता विपत्तिहरुको अवस्थालाई ध्यानमा राखी संकट व्यवस्थापन बचतको कार्यक्रममा सदस्यहरुलाई जोड्न अकूबाट आग्रह भयो जुन अत्यन्त रामो लाग्यो । हामीलाई सिकाइएका सबै कुराहरु संस्थामा लागू गर्न सम्भव छन् । हामी गरिपनि रहेका छौं । यो कार्यशालाको ग्रयाजुएशन आगामी सेप्टेम्बर १२ मा हुँदैछ र त्यसअघि सेप्टेम्बर १० भित्र संस्थाको बीसीपी पनि बनाएर बुझाउनुपर्ने छ । अब त्यसको तयारी पनि गर्छु ।


जुनुसा पुरी
लेखा अधिकृत
महिला साकोस, इटहरी–४, आइतबारे, सुनसरी

अकूको आयोजना तथा नेफ्स्कूनको संयोजनमा भएको ३ दिने व्यवसाय निरन्तरता योजना (बीसीपी) तालिम समय खर्च गरेर लिनै पर्ने तालिम लाग्यो । अकूसँगको यो मेरो दोस्रो तालिम कार्यक्रममा सहभागिता हो । यो तालिमले महामारीको समयमा संस्था, सदस्य र कर्मचारीहरुलाई लक्षित गरी के कस्ता रणनीतिहरु तयार गर्ने भन्ने विषयमा प्रशस्त जानकारी प्रदान गर्यो । अकूको तालिम कार्यक्रमहरुको सुन्दर र प्रशंसनीय पक्ष भनेको समयको ख्याल एकदमै गरिन्छ । जुन समयमा जे काम गर्ने भनेर पूर्वनिर्धारित गरिएको हुन्छ, त्यो ठीक त्यही समयमा हुन्छ । हामी भने त्यो पक्षमा अलि कमजोर छौं । त्यस्तै, तालिममा उद्घाटनको सत्रमा हामी धेरै समय व्यथित गर्छौ जुन अकूको तालिममा हुँदैन । विषयवस्तु जे हो, सीधै त्यसमा प्रवेश गर्ने काम हुन्छ, जसले तालिमको उपादेयता बढाउँदछ । अर्को कुरा सबै सहभागीहरुलाई प्रत्यक्ष संलग्न भएर व्यावहारिक ज्ञान प्रदान गर्ने काम भयो यसले सैद्धान्तिक भन्दा पनि कार्यगत अनुभव प्रदान गर्यो भन्ने मलाई लाग्छ । लर्निङ् बाई डुइङ् मा बढी जोड रह्यो । भौतिक रुपमा भएको भए मेटाकार्डहरु प्रयोग गरेर समूह विभाजन गर्दै सहभागीहरुलाई बढी नै इन्गेज गराउने बढी हुन्थ्यो कि ? तर पनि डिजिटल पोलको प्रयोग गर्न सकिन्छ भर्चुअलमा पनि । हामी अभ्यस्त नभएर पनि हुन सक्छ ।
अर्कोतर्फ भर्चुअल माध्यमको तालिममा हामीहरु त्यति अभ्यस्त नभएकाले भौतिक रुपमा कक्षामा सहभागी भएर प्रशिक्षक र अन्य सहभागीहरुसँग अन्तरक्रियात्मक रुपमा लिएको जस्तो भने नहुने रहेछ । त्यस्तै, अकूले भने झैं सबै कुरा हाम्रो जस्तो धरातलीय र संस्थागत यथार्थ भएको अवस्थामा पूर्णतः लागू गर्न चाहँदा चाहँदै पनि सम्भव बनाउन गाहे पर्दछ । अकूले व्यावसायिकता, रणनीतिक योजना, संस्थागत पूँजी र दीगोपनामा जोड दिदै आएको छ जुन एकदमै महत्वपूर्ण लाग्छ । अकूले सदस्यहरुलाई केन्द्रविन्दूमा राखेर संस्थालाई अनुशासित ढंगबाट चलाउन धेरै सहयोग गरेको छ । अकू हाम्रो मार्गदर्शक र पथप्रदर्शक हो भन्दा अत्युक्ति नहोला ।


लक्ष्मी गिरी
ऋण अधिकृत 
गैंँडाकोट स्वाभिमान साकोस, गैँडाकोट–२, नवलपरासी 

                                                                                                                                                                                                                                                                                                                                                                                                                                        अकूको मात्र नभएर यो तालिम मेरो लागि पहिलो अन्तर्राष्ट्रिय तालिम थियो । जुम एप्लिेकेशनका माध्यमबाट मैले लिएको यो नै पहिलो तालिम थियो । मैले यो तालिमबाट धेरै कुराहरु सिके । एउटा नयाँ अनुभव भयो । सिकाइका नयाँ अनुभवहरुसँग जोडिन पाएँ । कोभिड–१९ को महामारीका बीच संस्थाको वित्तीय गैरवित्तीय कारोबारलाई कसरी अघि बढाउने भन्ने मुख्य विषय थियो तालिमको । हामीले खाली मौखिक कुराहरु सुन्ने मात्र होइन समूह कार्य र एकल कार्यहरु पनि गर्यौं । म ऋणमा काम गर्ने भएकोले यस्तो जटिल अवस्थामा संस्थाले लगानी गरेको ऋणलाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा अकूले धेरै राम्रा र व्यवहारोपयोगी उपायहरु प्रदान गरेको छ । त्यही अनुरुप ऋणी सदस्यहरुको तथ्याङ्क संकलन गर्ने र त्यसको निष्कर्षका आधारमा कस्ता ऋणी सदस्यहरुलाई कस्तो प्रकारको छुट सुविधा र ऋणको किस्ता तिर्ने समयावधि थप गर्नुपर्ने हो भन्ने यकिन गर्नका लागि सर्भे फारमहरु विकास गरिरहेकी छु । हुनत असारमा पनि यस्ता कामहरु भए तर संक्रमण बढ्दै गएको परिप्रेक्ष्यमा सदस्यका अवस्थाका बारेमा अद्यावधिक गर्ने काम थालनी गर्दैछु । तालिममा पाएका सुझाव र निष्कर्षहरु धेरै लागू गर्न सकिन्छ जस्तो ठानेकी छु । यस्ता अन्तर्राष्ट्रिय तालिमहरुले हाम्रो क्षमता विकासमा उल्लेख्य भूमिका खेल्छ भन्ने मलाई लाग्दछ ।

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण