आईतबार, जेठ ६
०२:३८

‘सहकारीमा अर्थपूर्ण महिला सहभागिता आवश्यक’

शनिबार, भदौ २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं, २० भदौं । महिला सहकारी नेतृहरुले यस क्षेत्रमा अर्थपूर्ण सहभागिताका लागि सघन प्रयासको औचित्य र आवश्यकतामा जोड दिनुभएको छ । त्यसका लागि महिलाहरु स्वयंको अग्रसरताका साथै पुरुष सहकारीकर्मीहरुको समर्थन र सहकार्य पनि आवश्यक भएको उहाँहरुको धारणा छ । सहकारीको सञ्चालक समिति र व्यवस्थापकीय नेतृत्वको बागडोर सम्हाल्नुभएका मुलुकका परिचित महिला सहकारीकर्मीहरुले आरक्षणको मात्र भर नपरी अवसरको सृजना र सदुपयोगमा महिलाहरुको थप सक्रियताको खाँचो औल्याउनुभएको हो । 

 

 

 

 

 

 

 

 

 

 

नेपालको सन्दर्भमा उपलब्ध तथ्याङ्कलाई ससर्ती नियाल्ने हो भने सहकारीहरुमा सेयर सदस्यको रुपमा महिला सहभागिता पुरुषको तुलनामा बढी छ । तर बहुसंख्यक स्थान र परिवेशमा त्यो सहभागिता नभई सामान्य उपस्थितिमा संकुचित हुँदै गएकोमा उहाँहरुले चिन्ता समेत व्यक्त गर्नुभयो । महिलाहरुले सञ्चालन गरेको सहकारी अहिलेको जस्तो प्रतिकुल अवस्थामा पनि अविचलित र सबल भएको भनाई काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) का अध्यक्ष दीपक पनेरुको छ । “मिश्रित सहकारीहरुमा महिला सहभागिता अपेक्षाकृत छैन । भएका संघ संस्थाहरुमा पनि निर्णय प्रक्रियामा सक्रिय महिला सहभागिता छैन, नेफ्स्कूनका कोषाध्यक्ष समेत रहनुभएका पनेरुले भन्नुभयो, “शिक्षा तालिम र अन्य अवसरमा पनि महिलाहरुको सहभागिता न्यून छ ।”  

 

 

 

 

 

 

सहकारीमा महिलाको अवस्था साँच्चै सोचेजस्तो नभएकोले यसमा घनीभूत छलफलका लागि काठमाडौं जिल्लाका बचत तथा ऋण सहकारीहरुको छाता संगठन कास्कूनले आज अपरान्ह सहकारीमा महिला नेतृत्वको भूमिका विषयक भर्चुअल कार्यशाला आयोजना गरेको छ । कास्कूनले उपलब्ध गराएको भर्चुअल मञ्चका बक्ताहरु राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष एवम् अन्तर्राष्ट्रिय सहकारी महासंघ–आइसीएकी ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैंककी सञ्चालक सरिता भट्टराई र राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ्गले  महिलाहरुका सम्बन्धमा साझा चासो र चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रमकी प्रमुख अतिथि मल्ल नेपालको मात्र नभई एसिया प्रशान्त क्षेत्रबाटै सहकारीको विश्व मञ्चमा बलिष्ठ उपस्थिति जनाउने महिला हुनुहुन्छ । त्यसैगरी, टीप्पणीकर्ता भट्टराईको सहकारी साइनोले पनि लामो अनुभव र विज्ञता हासिल गरिसकेको छ भने कार्यपत्र प्रस्तोता थामसुहाङ् सहकारी अभियानको शीर्षस्थ निकायको पहिलो महिला व्यवस्थापन प्रमुख सँगै २४ वर्षको अनुभवकी धनी हुनुहुन्छ । 

 

 

 

 

 

कार्यपत्र प्रस्तुत गर्दै थामसुहाङ्गले सतही रुपमा हेर्दा सहकारीमा पुरुषको तुलनामा महिला सहभागिता बढी रहे पनि व्यवस्थापकीय नेतृत्वमा भने न्यून रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । सिद्धान्ततः सहकारीमा कुनै पनि प्रकारका विभेदहरुले प्रश्रय पाउँदैनन् । सहकारीलाई यसका अध्येताहरु समतामूलक समाज निर्माणको प्रस्थान विन्दू मान्दछन् । यद्यपि, महाप्रबन्धक थामसुहाङ्गले भने झै तथ्याङ्कमा रमाउने भन्दा वस्तुगत परिणामको खोजी गर्ने बेला अब आइसकेको छ । विश्व सहकारी अभियान १ सय २५ वर्ष प्रवेश गर्दै गर्दा नेपालको पनि अभियानले आधा उमेर काटिसकेको अवस्थामा संख्यामा महिला सहभागिताका आधारमा खुसी हुने अवस्था पक्कै छैन ।  महासंघकी बरिष्ठ उपाध्यक्ष मल्ल र टीप्पणीकर्ता भट्टराई पनि असहमत हुने कुरै थिएन ।

 

 

 

 

 

 

कोभिड–१९ ले भौतिक सम्बन्धलाई पर धेकली रहेको अवस्थामा प्रविधिको माध्यमबाट अभौतिक सामाजिक सम्बन्धलाई जोड्ने कास्कूनको आजको होस्टेमा महिला सहकारी नेतृहरुको हैस्टे अर्थपूर्ण नै रह्यो । यसको पुष्ट्याँँइ महासंघकी महाप्रबन्धक थामसुहाङ्ग २ तरिकाले गर्नुहुन्छ । “एक त आजको कार्यक्रमा महिलासँगै धेरै पुरुष सहकारीकर्मीहरु पनि सहभागी हुनुहुन्थ्यो, “उहाँले भन्नुभयो, “अर्को भनेको शनिवारको फुर्सदको समयका कारण पनि धेरै दर्शक स्रोताहरु एकाग्र भएर कार्यक्रम सुन्न सक्ने र त्यहाँ व्यक्त आशयहरु मनन गर्ने अवस्थामा हुनुहुन्थ्यो ।” उजागर गरिएका महत्वपूर्ण कुराहरु मीहिन ढंगबाट ग्रहण गर्ने परिस्थिति प्रतिकुल हुँदा कतिपय अवस्थामा कार्यक्रम खल्लो हुने परिस्थिति आजको शनिवारे जमघटले सृजना नगराएको प्रति उहाँले सन्तुष्टि व्यक्त गर्नुभयो । नेतृ त्रयले सहकारी क्षेत्रमा बिताएको लामो समय क्रममा गरेको अध्ययन र हासिल गरेको सप्तरंगी अनुभवको समष्टिगत विश्लेषण आज आ–आफ्नै शैलीमा प्रस्तुत गर्नुभयो । 

 

 

 

 

 

 

 

 

 

प्रमुख अतिथि मल्लले विश्व सहकारी मञ्चमा सहभागिताका आफ्ना अनुभवहरु साट्नुभएको थियो । विभिन्न अन्तर्राष्ट्रिय सभा सम्मेलनमा भाग लिदा महिला नेतृहरुबाट प्रभावित भएर आफुले पनि महासंघको उपाध्यक्षसँगै आइसीएको ग्लोबल बोर्ड सदस्य बन्न सफल भएको उदाहरण प्रस्तुत गर्नुभयो । सफलताका लागि समय, अध्ययन र लगनशीलता आवश्यक हुने मल्लको भनाई थियो । संविधानसभाको सदस्य समेत रहनुभएकी मल्लले सहकारी ऐन निर्माणमा आफुले भूमिका खेल्न पाएकोमा गर्व महसूस भएको बताउँदै संविधानमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने कार्यलाई उपलब्धिका रुपमा उल्लेख गर्नुभयो । सोही अनुरुप सहकारी क्षेत्रमा पनि सञ्चालकीय नेतृत्व तहमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने दिशामा उपलब्धि भएको तर पूर्ण कार्यान्वयनमा नआएको उहाँले स्वीकार्नुभयो । आफ्नो तर्फबाट महिला नेतृत्व विकासमा सधै सत्प्रयास भएको दाबी उहाँको थियो ।

बैंककी सञ्चालक भट्टराईले आफुलाई कहिल्यै पनि एक्लो महिला सञ्चालकका रुपमा बैंक तथा अन्य निकायको नेतृत्वले नहेरेको दाबी गर्नुभयो । महिलाहरुले अघि बढ्न आफ्नो क्षमतालाई समयानूकुल विकास गर्नुपर्नेमा बिशेष जोड दिनुभयो । “हामीमा अध्ययनको कमी छ, भट्टराईको कथन थियो, “३३ प्रतिशत महिला सहभागिताको संवैधानिक प्रावधान कार्यान्वयनका लागि सहकारी क्षेत्रका प्राथमिक, जिल्ला, प्रदेश र संघीय निकायहरुमा पहल गरिनुपर्छ ।” कोभिडको समयमा महिलाहरुले सम्हालिएर नेतृत्व कौशल प्रदर्शन गर्नुपर्ने बताउँदै उहाँले सबै निकायका सञ्चालक समिति र व्यवस्थापनमा महिला सहभागिताको तथ्याङ्क अद्यावधिक गरिनुपर्ने धारणा राख्नुभयो । महिलाहरुको आर्थिक, सामाजिक र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित  गराउने विषयमा महिला मात्र होइन पुरुष सहकारीकर्मीहरुको भूमिका पनि आवश्यक भएको भट्टराईको भनाई थियो ।

 

 

 

 

 

 

 

 

 

 तीनै जनाको सहकारी अभियानमा व्यथित समयले पनि उहाँहरुबाट सहकारीमा सबल र दीक्षित महिला नेतृत्व विकासको ठोस पहलकद्मी अपेक्षाकृत छ । महिलाका मुद्दालाई स्थान दिनु कास्कूनको प्रयास स्तुत्य भएको तीन वटै बक्ताहरुले धारणा राख्नुभयो । महासंघकी महाप्रबन्धक थामसुहाङ्गले  महिलाहरुले सञ्चालन गरेको सहकारीहरु सक्षम, सुशासित र सुसंगठित भएको धारणा मकवानपुरको एक संस्थाको उदाहरण समेत प्रस्तुत गर्नुभयो । “सफलताको अर्थ कारोबार र संख्या मात्र होइन सुशासन र सुव्यवस्था हो, “उहाँले भन्नुभयो, “यस्ता उदाहरणहरुको खोजी पनि हामीले गर्नुपर्छ र महिला सहकारीहरुका सफलताका कथाहरु बाहिर आएकै छैनन् ।”

कार्यक्रममा कार्यपत्र प्रस्तोता, टीप्पणीकर्ता र प्रमुख अतिथि पनि महिला मात्रै भएकाले सञ्चालन र व्यवस्थापन नेतृत्वमा रहेका पुरुषहरुका धारणाहरु प्रतिविम्बित नभएकोमा महिला बक्ताहरुले गुनासो समेत गर्नुभएको थियो । यसैगरी, दीगो विकासको ५ औं लक्ष्यका सूचकहरु हासिल गर्ने र उत्पादनमा प्रत्यक्ष संलग्नातको आधारमा महिला सशक्तिकरण गरिनुपर्नेमा नेतृ त्रयको साझा अभिव्यक्ति थियो । कार्यक्रममा कास्कूनकी निवर्तमान सञ्चालक एवम् बागमती प्रदेश बचत संघकी लेखा समिति सदस्य रमिला शाक्य श्रेष्ठले सहकारीम महिलाहरुको अवस्थाका बारेमा संक्षिप्त चर्चा गर्नुभएको थियो भने कास्कूनको महिला उपसमितिकी संयोजक अनिता अधिकारीले स्वागत गर्नुभएको थियो । कास्कूनका सञ्चालक सीमा पूरी र विनीता अधिकारीले संयुक्त सञ्चालन गर्नुभएको कार्यक्रममा कास्कूनका प्रमुख कार्यकारी अधिकृत कृष्ण आचार्यले सञ्चालन सहयोग गर्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण