मंगलबार, वैशाख २५
०३:१२

मुगुको छायाँनाथ साकोसको छलाङ

सोमबार, भदौ २१
रञ्जनमणि पौड्याल
saccosaawaj

र्णाली प्रदेशको मुगु भौगोलिक विकटताका बाबजूद पर्यटन, जडिबुटी, तामाखानी, फलामखानीसँगै प्रचुर सम्भावनासहितको हिमाली जिल्ला हो । पछिल्लो समय सडक संजालको बिस्तार, जिल्लाबासीहरुमा शिक्षा र चेतानास्तर वृद्धिका कारण साक्षरता दर, औषत आयु र प्रति ब्यक्ति आय जस्ता सूचकहरुमा सुधार भई मुगु मानव विकास सूचकाङ्कको ६७ औं स्थानमा उक्लन सफल भएको छ ।अन्य क्षेत्रसँगै जिल्लामा बचतको महत्व सिकाउन, व्यवसायका लागि पुँजी अभावको समस्यामा सहयोग गर्न, समुदायका सदस्यबीच सुखदुःखमा सहकार्यको भावना विकसित गराउन समुदायमा जरा गाडेका सहकारी संघ संस्थाहरु पनि लागिपरेका छन् । यस्तैमध्येको एक हो–छायाँनाथ बचत तथा ऋण सहकारी संस्था लि.। सहकारी समर्पणको उत्कट अभिलाषा बोकेका युवाहरुले जिल्लाबासीहरुको दुःखसुखमा साथ दिन ७ वर्षअघि स्थापना गरेको छायाँनाथ साकोस छोटो अवधिमा छलाङ मार्न सफल भएको छ ।

स्थापनाकालका स्मरणहरु

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–२ गमगढी अवस्थित छायाँनाथ बचत तथा ऋण सहकारी संस्था लि. २०७१ भाद्र ५ गते स्थापना भई सोही साल असोज ५ गते दर्ता भएको हो । स्थापनाकालदेखिका अध्यक्ष भुपेन्द्र बहादुर मल्ल संस्था गठन गर्दा सम्पूर्ण सेयर सदस्यहरु स्वेच्छिक सहभागी भई प्रारम्भिक भेला गरेको बताउनुहुन्छ, ‘सेयर सदस्यहरु खुसीका साथ सहभागी हुनुभएको थियो भने पदाधिकारीहरु पनि सर्वसम्मत चयन हुनुभएको थियो ।’ 

४३ जना सेयर सदस्यबाट साढे १२ लाख पुँजी संकलन गरी साकोस सुरु भएको थियो । ५ जना महिलाहरु सहभागी साकोसका संस्थापक सेयर सदस्यहरुमा अधिकाशं युवा थिए । गमगढीका उर्जाशील युवा समुह सम्भावना खोज्ने धुनमा सहकारीसँग जोडियो । ‘स्थापनाकालमा जिल्लामा ८८ सहकारीमध्ये १४ वटा बचत तथा ऋण सहकारी संस्था थिए,’ अध्यक्ष मल्ल भन्नुहुन्छ, ‘अहिले २ सय बढी सहकारीहरु दर्ता भएका छन् जसम्ध्ये साकोसहरुको संख्या करिब ३५ छ ।’ यसरी स्थापित संस्थाले सहकारी सिक्दै बुझ्दै गतिलाई तीब्र बनाउँदै लग्यो ।

गतिको उक्लदो ‘ग्राफ’

३ कर्मचारीबाट सुरु भएको संस्थामा हाल ४९ जनाले प्रत्यक्ष रोजागरी पाएका छन् । बालबचत समेत गरी १० हजार ३ सय ६५ सदस्य छन् । जनगणना २०६८ अनुसार महिला पुरुषको लगभग समान जनसंख्या रहेको जिल्लामा लघुवित्तको प्रभावका कारण महिला सहभागिता अत्यधिक छ । फलतः २५ सय बढी पुरुष सदस्य भएको संस्थामा महिला सदस्य करिब ७ हजार छ । (पुरुष: २५२१, महिला: ६९८२, बालबचत कर्ता: ८६२) करिब १० लाख सेयर पुँजी रहेको संस्थाको १३ करोड बढी ऋण लगानी छ । जिल्लाभर कार्यक्षेत्र रहेको साकोसको सोरुकोट र माझचौरमा २ वटा सेवा केन्द्र सञ्चालनमा छन् । अंङ्कका आधारमा मात्र होइन जिल्लाबासीमा सहकारी, बचत, ऋण, सामुदायिक सहकार्य, निरन्तर शिक्षा, आत्मनिर्भरता आदि विकास गराउन पनि छायाँनाथले सदस्य र सम्भावित सदस्यहरुलाई छायाँ झै साथ दिइरहको छ । 

साकोसले कर्मचारीहरुलाई मासिक तालिम, वार्षिक पोशाक भत्ता, हितकोष, दुर्गम भत्ता र खाजा खर्चका साथै आवास व्यवस्था गरेको छ । सञ्चालक समिति, व्यवस्थापन र सदस्यहरुको त्रिकोणात्मक सम्बन्धलाई निरन्तर सहकारी सिकाइ र सञ्जाल सहकार्यका आधारमा साकासले सुमधुर बनाउँदै लगेको छ । हाल छायाँनाथ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) जिल्ला बचत तथा ऋण सहकारी संघ तथा राष्ट्रिय सहकारी बैंकमा समेत आबद्ध छ । यी आबद्धताले संस्थालाई थप परिपक्क बनाएको दाबी अध्यक्ष मल्लको छ ।

लघुवित्तले बढाएको साख

संस्थाले २०७२ पुसदेखि सुरु गरेको लघुवित्त कार्यक्रमले साख बढाएको स्थापनाकालदेखिका व्यवस्थापक हरि बहादुर शाही दाबी गर्नुहुन्छ । संस्थाको कार्यक्षेत्र भित्र स्थायी बसोवासरत १६ वर्ष माथिका Pre Group Training (३ दिने) लिएका महिलाहरु उक्त कार्यक्रममा सहभागी हुन योग्य ठहरिन्छन् । लघुवित्त कार्यक्रमा महिलाहरुले अनिवार्य मासिक बचत गर्दछन् भने खनखाँचो पर्दा वा उद्यम व्यापार गर्न १० हजार देखि २ लाखसम्म ऋण सुविधा प्राप्त गर्दछन् ।

त्यसका लागि केही थप शर्तहरु रहेको शाही बताउनुहुन्छ । संंस्थाले गठन गर्ने महिला लद्युवित्त केन्द्रमा सदस्यता केन्द्रको मासिक बैठकमा अनिवार्य उपस्थित हुनुपर्ने, केन्द्रको मासिक समुह बचत रु २५० अनिवार्य गर्नुपर्ने, अन्य स्वेच्छिक बचतमा  सहभागी हुनुपर्ने, सहकारी संस्थाको लद्युवित्त केन्द्र संचालन आचारसंहिता भित्र बस्नु पर्ने आदि छन् । सहकारी कानुन अनुरुप सदस्य भएको ३ महिना पछि मात्र ऋण सेवा उपलब्ध गराइन्छ भने ऋणको सदुपयोगितामा पनि बिशेष जोड दिइएको छ । ‘हामीलाई लघुवित्त कार्यक्रम सञ्चालन गर्ने सहकारीका रुपमा सदस्यहरुले चिन्छन्, ’व्यवस्थापक शाहीले भन्नभुयो, ‘सहकारी लघुवित्त हाम्रो परिचयसँगै दरिलो साख पनि हो ।’ सोहीकारण लघुवित्त ऋण सेवाबाट सबैभन्दा बढी सदस्य लाभान्वित भएका छन् ।

सहकारी सेवाहरु

हाल छायाँनाथ जिल्लाकै बढी सदस्य (त्यसमा पनि व्यावसायिक सदस्य) भएको संस्था हो । साकोससँग हाल १२ प्रकारका बचत तथा ८ प्रकारका ऋण सेवा छन् । बचतमा हाल ६ देखि ८ प्रतिशत तथा ऋणमा १० देखि १४.७५ प्रतिशतसम्म ब्याज दर कायम गरेको संस्थाले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई पनि सँगै अघि बढाएको छ । लघुवित्तसँगै कृषि ऋण बढी खपत हुँदै आएको छ भने सदस्यहरुमा भोलिको लागि बचत गर्नुपर्छ भन्ने भावनासँगै मितव्ययीता विकसित भएको व्यवस्थापकले बताउनुभयो । 

फेरिएको सहकारी बुझाइ

संस्था स्थापनाकालमा जिल्लाबासीहरुमा सहकारी भनेको एकजना व्यक्तिले सञ्चालन गर्ने सबैको बचत अपचलन हुने ठाउँ भन्ने बुझाइ रहेको अध्यक्ष मल्ल सुनाउनुहुन्छ । जिल्लाभर क्रियाशील सहकारी संघ संस्थाहरुको निरन्तरको सदस्यमैत्री सेवा र त्यसले समाजमा पुर्याएको सकारात्मक प्रभावका कारण सहकारीप्रतिको परम्परागत धारणामा परिवर्तन आएको उहाँ दाबी गर्नुहुन्छ । ‘अहिले भने धेरै मानिसमा सहकारी भनेको बचत गर्ने माध्यम हो, विपत्तिको सहयोगी हो र सहकारी सबै सदस्यहरुको हो भन्ने भावना विकसित भएको छ,’ अध्यक्ष मल्ले भन्नुभयो, ‘समाजमा यो परिवर्तनको आभाष दिलाउन छायाँनाथ साकोसको पनि उल्लेख्य भूमिका छ ।’ 

सञ्चालक समिति–व्यवस्थापन सम्बन्ध

व्यवस्थापक शाहीका अनुसार सञ्चालक समिति र व्यवस्थापबीच सौहार्दपूर्ण एवम् सहयोगी सम्बन्धले पनि विकास र विस्तारमा सहयोग गरेको छ । सोही कारण स्थापना मितिदेखिका व्यवस्थापक शाही हालसम्म सोही भूमिकामा कार्यरत हुनुहुन्छ । साकोसको सफलतामा व्यावसायिक योजनाको बिशेष महत्व रहने उहाँको धारणा छ । संस्थाले स्थापना काल देखि नै वार्षिक व्यावसायिक योजना निर्माण गर्दै आएको बताउदै पहिलो रणनीतिक व्यवसायिक योजना भने यसै वर्ष नेफ्स्कूनको सहजीकरणमा ४ वर्षे योजना निर्माण गरिएको व्यवस्थापक शाहीले जानकारी गराउनुभयो । 

तालिम र शिक्षामा जोड

व्यवस्थापक शाही साकोसको संस्थागत विकासका लागि तालिम र शिक्षा अत्यावश्यक भएको बताउनुहुन्छ । सोही कारण व्यवस्थापन समूहले लघुवित्त संचालन, सहकारी संस्थाको लेखा व्यवस्थापन, ऋण जोखिम व्यवस्थापन, कर्मचारी व्यवस्थापन, तरलता व्यवस्थापन, बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि, वित्तीय साक्षरता, व्यवसाय निरन्तरता, सम्पती शुद्धीकरण, सहकारीमा प्रविधि प्रयोग, नेतृत्व विकास, आन्तरिक जोखिम व्यवस्थापन लगायतका तालिम लिइसकेको छ भने कर्मचारीहरुलाई पालैपिलो थप तालिमहरु प्रदान गर्ने योजना सुनाउनुहुन्छ । यस्तै सञ्चालक र सदस्यका लागि पनि नियमित तालिमका कार्यक्रम तय गरिदै आएका छन् ।

कोभिड कहर, सेवा निरन्तरता र चुनौतीहरु

कोभिडको असरबाट छायाँनाथ पनि अछुतो रहन सकेन । यद्यपि, सेवा निरन्तरता दिन साकोसले छोडेन । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर दैनिक ३ घण्टा काउण्टर सञ्चालन गरिएको थियो भने घरदैलो सेवा तथा मिस्डकल सेवा समेत उपलब्ध गराइएको थियो । यद्यपि, कोभिडले जन्माएका समस्याबारे अध्यक्ष मल्ल र व्यवस्थापक शाहीको साझा धारणा छ । कोभिडका कारण सदस्यहरुलाई नियमित सेवा दिन, सदस्यले बचत तथा ऋणको कारोवार गर्न, संस्थाको ऋण असुली र लगानी गर्न तथा अधिक तरलता व्यवस्थापनमा चुनौती देखिएको दुबैले स्वीकार्नुभयो ।

यस्तै, भावी चुनौतीका बारेमा समेत सञ्चालक समिति र व्यवस्थापन एकमत छ । कार्यक्षेत्र भित्र दिन प्रतिदिन वित्तिय संस्थाहरु थप हुदै जानु, सम्पुर्ण ऋणी सदस्यहरु व्यावसायिक हुन नसक्नु, सम्पुर्ण सदस्यहरुलाई सिप विकास तालीम दिन नसक्नु, संस्थामा आवश्यक दक्ष जनशक्ति जिल्लामा उपलब्ध नहुनु, संस्थाको आफ्नै जग्गा तथा भवन नहुनु लगायतका चुनौती साकोसँग रहेको अध्यक्ष र व्यवस्थापको ठम्याइ छ ।

अभिभावकसँग अपेक्षा

नेफ्स्कूनमा आबद्ध साकोस यसले सञ्चालन गरेको साकोसहरुको गुणस्तर प्रमाणीकरणसम्बन्धी ‘पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम’ (प्रोबेसन) मा आबद्ध छ । सँगै यसले सञ्चालन गरेका तालिमहरुमा सक्रिय सहभागी हुँदै वित्तीय परामर्श पनि प्राप्त गरिहेको छ ।  नेफ्स्कूसँग अभिभावक र सहयात्रीको जस्तो सम्बन्ध भएको बताउँदै अध्यक्ष मल्ल संस्थाको नियमित अनुगमन, आवश्यकता अनुसार क्षमता विकासका विविध किसिमका तालिमहरुमा दुर्गम जिल्ला भएका कारण बिशेष प्राथमिकता र सहुलितयको अपेक्षा गर्नुहुन्छ । 

सदस्य अपेक्षा र साकोसको योजनाबीच तालमेल 

सदस्यको चाहना ‘प्रविधिमा फड्को’ भएको व्यवस्थापक शाही बताउनुहुन्छ । ‘संस्थाले डिजिटल सेवा, व्यावसायिक सीप विकास तालिम, कृषि सामाग्रीहरु वितरण सेवा खोज्नुभएको छ,’ उहाँ भन्नुहुन्छ, ‘प्रविधि विकास तथा सीप विकास तालिम उपलब्ध गराउने तर्फ अब हामी जोड दिन्छौं ।’ गत वर्षबाट मोबाइल बैंकिङ सेवा सुरु गरेको संस्थाले प्रविधियुक्त बनाउँदै लाने योजना पनि अघि सारेको छ ।

सदस्यको अपेक्षा र संस्थाको चाहना उद्यमशीलता हो । त्यसका लागि कृषि वित्त कार्यक्रम सञ्चालनको तयारीमा साकोस छ । साधारण सभाबाट पारित कार्यक्रम सम्भवतः आगामी स्थापना दिवसबाट सुरु गर्ने तयारी भैरहेको छ । यस्तै, युवा स्वरोजगार कोषमार्फत १ करोड रुपैयाँको सहुलियत कर्जाका लागि सम्झौताको संघारमा साकोस छ । उक्त कर्जा रारा नजिकको बस्तीमा होमस्टे सञ्चालनका लागि त्यस क्षेत्रका सदस्यहरुलाई प्रवाह गर्ने गरी धमाधम काम भइरहको व्यवस्थापक शाही बताउनुहुन्छ । यसबाहेक जडीबुटी, वन पैदावार, फलफुल, लघु जलविद्युत, व्यापार लगायत थप सम्भावनायुक्त क्षेत्रमा सदस्यहरुलाई व्यावसायिक बनाउँदै आत्मनिर्भर अर्थतन्त्र विकासको राष्ट्रिय अभियानसँग छायाँनाथ जोडिदै जाने अपेक्षा गर्न सकिन्छ । 


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण