शुक्रबार, वैशाख १४
०८:१९

‘शिक्षामा सहकारी’ र ‘सहकारी शिक्षा’ एक चर्चा 

बुधबार, असार २३
रञ्जनमणि पौड्याल
saccosaawaj

औपचारिक शिक्षामा सहकारी विषय प्रवेशको सुखद समाचारले हाम्रो मुलुकको सहकारी अभियानमा एउटा उत्साह सिञ्चित गरेको छ । यसले सहकारीमा सरकारी मान्यतासहितको दक्ष जनशक्ति प्रवेशको मार्ग प्रशस्त गर्ने निश्चित छ । राष्ट्रिय सहकारी महासंघको अगुवाईमा व्यवस्थापन संकायतर्फ स्नातकोत्तर विषयमा सहकारी र उद्यमशिलता विषय कक्षा आगामी शैक्षिक सत्रबाट सुरु हुने भएको छ । त्यसो त नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) बाट सम्बन्धन लिएर छोटो अवधिको सहकारी व्यवस्थापक कोष गत वर्षबाटै सञ्चालन गरिसकेको छ भने अन्य कोर्षहरु पनि थप गर्दै जाने निर्णयअनुरुप यसै पालिबाट रिसेप्सनिष्ट कम क्यासिअरको कक्षा सञ्चालन गर्दैछ । यस्ता दूरगामी निर्णय राख्ने कदमले सहकारीमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान सहितको जनशक्ति उत्पादन हुने निश्चित छ ।

 आज सहकारीलाई औपचारिक शिक्षासँग जोड्ने कसरतहरु चलिरहँदा विश्वमा शिक्षा र सहकारीको सम्बन्ध कसरी विकसित हुँदै आयो भन्ने तहमा पनि चर्चा गर्नु सान्दर्भिक हुन्छ । सहकारी शिक्षाको कुरा गर्दा यसलाई दुई तरिकाबाट बुझ्नुपर्ने हुन्छ, एउटा ‘सहकारी प्रारुपमा औपचारिक शिक्षा’ र अर्को ‘औपचारिक शिक्षामा सहकारी’ । विश्व इतिहासलाई केलाउने हो भने सहकारी प्रारुपमा औपचारिक शिक्षाको सुरुवात शिक्षामा सहकारी भन्दा पहिला भएको पाइन्छ ।

सहकारी प्रारुपमा औपचारिक शिक्षा भन्नाले सहकारी विषयको सैद्धान्तिक ज्ञान वा सहकारीका सेवा, व्यवसाय र कारोबारहरुका बारेमा व्यावहारिक शिक्षा नभई सहकारी अवधारणामा सिकाइ गरिन्छ । सहकारीको वास्तविक अभ्यासबाट बिज्ञान, इन्जिनियरिङ, वातावरण, चिकिस्ताशास्त्र, शिक्षा वा वाणिज्य शास्त्र वा अन्य जुनसुकै विषयहरु पढाइन्छ । औपचारिक शिक्षामा सहकारी एउटा सग्लो विषयका रुपमा समावेश हुनुपूर्व विद्यालयदेखि विश्वविद्यालयसम्म सहकारी अवधारणामा अध्ययन अध्यापन हुँदै आएको इतिहास छ । 

सहकारी सिकाइ सहकारी मोडलमा आधारित शिक्षा प्राप्तिको अवधारणा हो । यसमा समुह कार्यसँगै, सिकाइमा अन्तरसम्बन्धको सकारात्मक पाटोलाई महत्व दिदै विद्यार्थीको व्यक्तिगत उत्तरदायित्व बोधलाई पनि उत्तिकै ख्याल राखिन्छ । सहकारी सिकाइ पद्धतिमा विद्यार्थीहरु एक अर्काबाट सहकार्य गरी सिक्छन् र उनीहरु हरेकले छुट्टाछुट्टै विषयमा आफ्ना परियोजना, कक्षा वा गृह कार्यहरु गर्नुपर्दछ । यसको अर्थ एक विद्यार्थीको रुपमा उसको एकल तथा सामूहिक जिम्मेवारी तथा उत्तरदायित्वहरु पनि स्पष्ट किटान गरिएको हुन्छ । एक अर्काबाट सिक्ने कुरालाई धेरै महत्व दिने यसपद्धतिले विद्यार्थीहरुलाई सामाजिक सम्बन्धको महत्व र बिशेषता बुझ्न मद्दत पुर्याउँदछ । विषयवस्तुको सिकाईसँगै विद्यार्थीहरुले एक अर्काबाट सफ्ट स्किलहरु पनि बोनसका रुपमा सिक्न पाउँदछन् ।

यसमा शिक्षकको भूमिका निष्कृय हुन्छ भने सहपाठीहरुको भूमिका सक्रिय हुन्छ । शिक्षकले समूहमा विभक्त विद्यार्थीहरु साँच्चिकै सिकाइमा संलग्न छन् भन्ने सुनिश्चित गर्ने हुन्छ । यसलाई कोअपरेटिभ लर्निङ भनिन्छ । यसको सबैभन्दा उम्दा उदाहरण स्पेनको बास्क क्षेत्रस्थित मनड्रयागन् युनिभर्सिटी हो । विश्वविद्यालयले  अध्यापन शैलीमा एक्सपेरिमेन्टसँगै इक्स्पिरियन्स पनि मिश्रण गरिएको दाबी गरेको छ ।

सन् १९९७ मा स्थापना भएको स्पेनको बास्क क्षेत्रस्थित मनड्रयागन् युनिभर्सिटी खासमा एक निजी सहकारी विश्वविद्यालय हो । ३ वटा शैक्षिक सहकारीहरु मिलेर स्थापित यसको मुख्य क्याम्पस मनड्रयागन्मा अवस्थित छ । यसमा सहकारी विषयमा स्नातक, स्नातकोत्तरका साथै अन्य उच्चशिक्षाका कार्यक्रमहरु सञ्चालनमा छ । तर यसको बिशेषता के छ भने यहाँ सहकारीमात्र नभई इन्जिनियरिङ लगयातका विषयहरु पनि पढाइ हुन्छ जसमा सहकारी अवधारणा (लर्निङ बाई डुइङ) मा पढाइ हुन्छ ।  

मनड्रयागन् युनिभर्सिटीकै सिको गरेर नर्डिक मुलुक फिनल्याण्डमा पनि सहकारी अवधारणमा विश्वविद्यालयमा पढाइ हुँदै आएको छ । सहकारी शिक्षाको औपचारिक सुरुवात सन् १९०६ मा अमेरिकाको युनिर्भसिटी अफ सिन्सिनाटीबाट भएको इतिहास छ जसलाई कोअपरेटिभ प्लान अफ एजुकेशन नामाकरण गरिएको थियो । तर यो सहकारी शिक्षा विश्वविद्यालयमा केवल सहकारी विषयको छुट्टै अध्ययन अध्यापन नभई सहकारी अवधारणमा कुनै पनि विषय र विधाको अध्ययन अध्यापनको सुरुवात थियो । युनिर्भसिटी अफ सिन्सिनाटी अन्तर्गत इन्जिनियरिङ विभागका सदस्य प्राध्यापक हर्मन स्नाइडरले सहकारी अवधारणामा अध्यापनको सुरुवात गरेका थिए । यस अवधारणा अन्तर्गत विद्यार्थी, प्राध्यापक र कर्मचारीहरुसबैलाई लाभ पुग्दछ । हामीले खोजेको उच्चशिक्षा वा विश्वविद्यालय शिक्षामा सहकारीसँगै अन्य सहकारी अवधारणामा आधारित शिक्षा पनि हुनुपर्छ । सहकारी मोडलको अभ्यास जुनसुकै तह र विधाको औपचारिक अध्ययनमा पनि गर्न सक्दा यसले हाम्रो जस्तो मुलुकको लागि श्रेयस्कर हुन्छ ।

औपचारिक शिक्षामा सहकारी

क्यानाडाको नोभा स्कटियास्थित सेन्ट मेरिज् युनिभसिटिमा graduate diploma  र  masters in co-op management  विषयको औपचारिक अध्यापन मात्र होइन त्यहाँ International Centre for Co-operative Management  नामको छुट्टै प्रशाखा नै स्थापना गरिएको छ । यसले सहकारीमा अध्ययन अनुसन्धान, अवलोकन भ्रमण, सहकारीसम्बन्धी अन्तर्राष्टिय सभा सम्मेलनहरुको आयोजनाको काम गर्दछ ।

आयरल्याण्डको University College Cork  को Centre for Co-operative Studies  अन्तर्गत/सहकारी संगठन र विकास विषयमा पढाइ हुन्छ । अध्यापनका अतिरिक्त यसले एक प्रकारको कोअपरेटिभ थिङ्क ट्याङ्कको काम गर्दछ । यसले विगतमा समुदायमा आधारित सहकारी, कृषि सहकारीहरुमा सदस्यता वृद्धिको अवस्था र उपायहरु, वित्तीय सहकारीहरुमा युवाहरुको सहभागितासँगै सहकारीका विभिन्न जल्दाबल्दा विषयहरुमा रिसर्च पेपरहरु प्रकाशित गरिसकेको छ ।

दक्षिण अमेरिकी मुलुक कोलम्बियास्थित  Co-operative University of Colombia  मा सन् १९९० देखि नै सहकारी विषयमा पढाइ हुँदै आएको छ ।

अफ्रिकी महादेशमा सहकारी विषयमा अध्ययन अध्यापनको कुरा गर्ने हो भने सम्भवतः सबैभन्दा चर्चित नाम हो  Co-operative University of Kenya सन् १९६७ मा स्थापित राजधानी नैरोबीस्थित यो सहकारी विश्व विश्वविद्यालयले विभिन्न तहमा औपचारिक शिक्षासहित दक्ष सहकारी नेतृत्व तयार पार्ने काम गर्दै आएको छ । त्यस्तै, तान्जेनियाको Moshi Co-operative University ले पनि सहकारीका सबै विषयहरुमा विश्वविद्यालय शिक्षा सञ्चालन गर्दै आएको छ ।

अमेरिकाको न्यूयोर्क स्थित The New School University मा पनि Cooperative Digital Economy विषयमा अध्यापन गरिन्छ । माथिका केवल प्रतिनिधि उदाहरणहरु मात्र हुन । विश्वका धेरै मुलुकहरुमा सहकारी विषयमा विद्यालयदेखि विश्वविद्यालय तहसम्म पढाइ हुनेमात्र होइन सहकारी विश्वविद्यालय नै स्थापना भएका प्रशस्त उदाहरणहरु छन् ।

विश्व जनसंख्याको १२ प्रतिशत बढी आबद्ध, विश्वका ३ सय ठूला तथा उत्कृष्ट सहकारीको बार्षिक कारोबार 2.1 trillion USD  भएको, र विश्वका १० प्रतिशत जनसंख्यालाई प्रत्यक्ष रोजागरी प्रदान गर्न सफल सहकारी क्षेत्रलाई/ ज्ञान, अनुभव र सीपयुक्त/ प्राविधिक दक्ष जनशक्तिको कलेवरमा/ थप उन्नत र बैशिष्ट्य संस्थागत विकासका लागि मान्यताप्राप्त औपचारिक शिक्षाका पाठ्यक्रममा यस विषयको अनिवार्य अन्तर्घुलन अपरिहार्य छ ।

सहकारी मात्र नभई हरेक क्षेत्रको विकासमा युवा सहभागिता अत्यन्त आवश्यक छ । मुलुक हाक्ने युवाको चर्चा चलिरहँदा सहकारी हाक्ने पनि स्वाभाविक रुपमा युवाहरु नै हुन् । सहकारीमा युवा आकर्षण बढाउन पनि यो विषय औपचारिक शिक्षामा समेटिने र यसमार्फत उत्पादित जनशक्ति सहकारी बजारमा खपत हुने अवस्था सिर्जना भएमा त्यसले थप युवाहरुको झुकाव बढ्ने सुनिश्चित छ । आज हरेक क्षेत्रहरुमा बिशिष्ट औपचारिक शिक्षा (Specialized Formal Education) को आवश्यकता बढ्दै गएको सन्दर्भमा नेपालमा पनि सहकारी विषयलाई औपचारिक पाठ्यक्रममा समावेशको आवश्यकताबोध अभियानले धेरै अघिदेखि गरेको हो । महासंघको अगुवाईमा सुरु भएको यो प्रयाले आगामी दिनमा विद्यालयतहमा पनि हाल छोइएका विषयलाई परिमार्जन गर्दै समय सापेक्ष र बजारको माग अनुसार वित्तीय साक्षरतासँग पनि जोडेर कोर्षहरु अद्यावधिक गर्नुपर्ने खाँचो छ । यस्तै दश जोड दुई देखि स्नातकसम्म पनि सहकारी विषयलाई अनिवार्य विषयका रुपमा समावेश गर्नुपर्ने हुन्छ । 

हुनत स्नातक र स्नातकोत्तर तहका बीबीए, बीबीएम, बीएमएस, एमपीए, एमबीए तहमा सहकारी विषय (त्यसमध्ये कतिपयर ऐच्छिक) पढाइ हुँदै आएपनि तिनीहरुमध्ये धेरै एच्छिक छन् र निश्चित फ्याकल्टीमा थोरै विद्यार्थीहरुको मात्र तिनमा सहभागिता छ । आशा गरौं: निकट भविष्यमै ÷विद्यालयतहदेखि विश्वविद्यालयका सबै तहसम्मका औपचारिक पाठ्यक्रमहरुमा सहकारी विषय अनिवार्य पढाई हुने मात्र होइन सहकारीको आयातन र प्रभावकारिता दिनानुदिन वृद्धि हुँदै जाँदा अभियानबीचको एक बोलीसहितको घनीभूत बहसपैरवीले नेपालमा पनि सहकारी विश्वविद्यालय स्थापनाको सुखद समय पक्कै आउनेछ भन्ने अपेक्षा र विश्वास गर्न सकिन्छ भने अन्य विषयको अध्यापनमा पनि सहकारी मोडल अवलम्बन गरिनेछ । सहकारी मोडेलाई स्थापित गर्ने विषयमा पनि ठोस कामहरु अघि बढ्नुपर्ने देखिन्छ । दुवै खालको शिक्षालाई हामीले मुलप्रवाहीकारण गर्नसक्दा भोलिको दिनमा सहकारीको महत्व सबै तहका युवा समूहसम्म पुग्ने पनि निश्चित छ ।

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ