बिहीबार, वैशाख १३
०६:४८

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५
saccosaawaj

सहकारी ऐन २०७४ को संशोधन र यसका सवालहरुको सन्दर्भमा सहकारी अभियानमा चासो राख्ने जो सुकैका लागि महत्वपूर्ण बिषयको रुपमा रहेकोछ र सहकारी ऐन २०४८ अनुसार स्थापना भई विकास भएका सहकारी अभियानका लागि सहकारी ऐन २०७४ ले थप नयाँ मार्ग प्रशस्त गरेकोमा कुनै शंका छैन । सहकारी अभियानमा संख्याको आधारमा अधिक रहेको बचत ऋण सहकारी र अन्य विभिन्न नाममा दर्ता भए पनि मुख्य रुपमा बचत ऋण कै कारोवारमा केन्द्रीत सहकारीहरुको कारण बचत ऋण सहकारीता सहकारी अभियानको प्रधान बिषयको रुपमा स्थापित भएको छ र बचत ऋण सहकारीता नै सहकारी ऐन २०७४ ले बढि समेटेको बिषयको रुपम स्थापित भएको छ । सहकारी ऐन २०७४ ले सहकारीको कामको आधारमा बर्गिकरण र विकासका लागि आवश्यक पर्ने थप क्षेत्रहरुमा नीतिगत बाटो खुल्ला गरेको छ । सहकारी ऐन कयौ दफाहरु अझै पनि कार्यान्वयनमा गएकै छैनन तर अभियानवाट नै आज सरकार सँगको पैरबीको मुख्य बिषय सहकारी ऐन संशोधन बनाउनुले अभियान पनि सहकारी ऐन कार्यान्वयन जिम्मेवार नवनेको भान भएको छ ।

सहकारी ऐनमा समसामयिक संशोधन नितान्त आवश्यक बिषय हो । यसमा कुनै दुविधा छैन तर कार्यान्वयनमा नगएका बिषयहरुमा ऐनको व्यवस्था कार्यान्वयन नै नगरी संशोधनको बिषय बनाईनु बिधायिकी मनासयको बर्खिलाप पनि हो । यसवाट जती सुकै राम्रो कानून बने पनि कार्यान्वयनको अभावमा कमजोर बन्ने खतरा रहने र कानून मान्नु भन्दा संधै संशोधनका लागि पहल गर्ने संस्कृतिको विकास हुन गई भविष्यमा सहकारी क्षेत्रमा सही कानून विकासमा समस्या आउन सक्ने देखिन्छ । सहकारी ऐन संशोधनको बिषय सहकारी ऐन अबधि तोकी कार्यान्वयन गर्न समय दिएका बिषयहरुवाट शुरु हुनुले सहकारी ऐन संशोधनमा हितकारी समुहहरुको निहित स्वार्थ भएको हो कि भन्ने आशंका उत्पन्न भएको छ ।

सहकारी ऐन संशोधनका सवालहरु

    सहकारी ऐन संशोधनका सवालहरुमा सबै भन्दा महत्वपूर्ण सवालको रुपमा मुख्य कारोवारको बिषयले चर्चा पाएको पाइन्छ । सहकारीमा कार्यकारी सञ्चालकको सम्बन्धमा पनि सहकारी ऐन संशोधनमा महत्वपूर्ण स्थान पाएको छ भने बचत ऋण सहकारीहरुको लागि स्थापना हुन लागेको स्थिरीकरण कोष सबै बिषयगत केन्द्रीय संघहरुले पनि राख्न पाउने नीतिगत व्यवस्थाको पहलको लागि ऐन संशोधनको बाटो अपनाईएको देखिन्छ । साधारण सभाका गणपुरक संख्या, विस्तारित मञ्च, सन्दर्भव्याजदरको कार्यान्वयन पनि सहकारी ऐन संशोधनको नयाँ सवालको रुपमा स्थापित भएको पाइन्छ । सहकारी ऐन संबिधान पछि नै व्यवस्थापिका संसदवाट स्वीकृत भए पनि संघीयता कार्यान्वयनको सवालमा केही बेमेल रहेको हो कि भन्ने अभियान कर्मीहरुको बुझाई रहेकोले संघीयता अनुसार ऐन संशोधन अगाडि बढाउन अभियान लागि परेको छ । दोहोरो सदस्यता, दोहोरो सञ्चालक समितिमा रहने बिषय, अन्तरसहकारी कारोवार, कार्यक्षेत्रको पुन निर्धारण जस्ता बिषय आज पनि सहकारी ऐन संशोधनको महत्वपूर्ण  सवालको रुपमा रहेको देखिन्छ ।

मुख्य कारोवारः सबै भन्दा कठिन सवाल

आजको सहकारी अभियानमा सहकारी ऐन २०७४ पछि प्रयोगमा आएको मुख्य कारोवार सबै भन्दा चर्चाको बिषय हो । सहकारी ऐन २०७४ को दफा २ (ज) अनुसार मुख्य कारोवार भन्नाले संस्था वा संघले सञ्चालन गरेको व्यवसायिक क्रियाकलापहरुमा पछिल्लो आर्थिक बर्षसम्ममा प्रचलित बचतको दायित्व र पछिल्लो आर्थिक वर्षको सदस्यतर्फको खरिद वा बिक्री कारोबारमा कम्तीमा तीस प्रतिशत भन्दा बढी हिस्सा भएको कारोबार सम्झनु पर्छ भनि परिभाषित गरेको पाइन्छ । यसले संस्थाले सदस्यसंग गरेको कारोवारको प्रकृतिको आधारमा मुख्य कारोवार निर्दिष्ट गर्न खोजेको पाइन्छ ।

सहकारी ऐन २०७४ को दफा ५० (२) अनुसार उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी दर्ता भएको संस्था बाहेक अन्य विषयगत वा बहुउद्देश्यीय संस्थाले बचत तथा ऋणको मुख्य कारोबार गर्न पाउने छैन । तर यो ऐन प्रारम्भ हुनु अघि बहुउद्देश्यीय  वा विषयगत संस्थाको रुपमा दर्ता भई मुख्य कारोबारको रुपमा बचत तथा ऋणको कारोबार गर्दै आएको भए ती संस्थाले तीन वर्ष भित्रमा बचत तथा ऋणको  मुख्य कारोबार नहुने गरी दर्ता हुँदाका बखत उल्लेख गरीएको मुख्य कारोबार गर्ने गरी संस्थाहरुले मुख्य कारोबार गर्न सक्नेछन्  भनि बाध्यात्मक रुपमा बचत ऋण सहकारी बाहेकका सहकारीहरुलाई विनियममा उल्लेखित कारोवारमा केन्द्रीत हुन बाध्यकारी व्यवस्था गरेकोले नै आज सहकारी ऐन संशोधनमा मुख्यकारोवार सबै भन्दा महत्वपूर्ण सवालको रुपमा आएको मान्न सकिन्छ ।

सहकारी अभियानका अभियान कर्मीहरुको बुझाई आज सहकारी भनेको नै बचत ऋण सहकारी होे र सहकारीले बचत ऋणको कारोवार नगर्ने हो भने सहकारीका अन्य अवयवहरुले काम गर्न सक्दैनन् भन्ने रहेको देखिन्छ । आर्थिक सहभागिता सहकारीको सिद्धान्त हो तर बचत ऋण कारोवार सबै सहकारीले गर्नु पर्दछ भन्ने सिद्धान्त होइन । सहकारीले सदस्यहरु बीच गरेको सबै आर्थिक सहभागितालाई बचत ऋणको रुपमा परिभषित नगर्न पनि सकिने व्यवस्था हुन सक्ने सम्भावनालाई नकारेर मुख्य कारोवार शब्द नै हटाउने गरी ऐन संशोधनको प्रस्ताव आएको देखिन्छ । ऐन कार्यन्वयन गराउनेले पनि बचत ऋण कारोवार गर्ने बाहेकका कति सहकारीहरुको मुख्य कारोवार बचत ऋण रहेको छ भनि भन्न सकिने अवस्था देखिंदैन वा सहकारीहरुको कारोवारको सही सुपरिवेक्षण भएको छैन । अझ बचत ऋण कारोवारको अनुशासनमा बस्नु भन्दा सबै कारोवार पनि गर्न पाइने र बचत ऋणको अनुशासनमा पनि बस्नु नपर्ने भएकोले साधारण सभावाट नाम फेर्ने प्रस्तावहरु पास भएका धेरै सहकारी पाउन सकिन्छ । यसले सिद्धान्त र सदस्यहरुको आवश्यकता भन्दा सञ्चालकहरुको तत्कालिन इच्छाले काम गरेको हो कि जस्तो देखिन्छ  ।

सहकारी ऐन २०७४ को दफा (१) बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्था वा संघले तोकिए बमोजिम अनुगमन प्रणाली अवलम्बन गर्नु पर्नेछ भनि उल्लेख हुनु बचत ऋण सहकारीहरुलाई करको दायरामा कडाई गरिनुले पनि धेरै सहकारीहरु बचत ऋण कारोवार गर्ने तर नाम अन्य सहकारीहरुको उल्लेख गर्न प्रोत्साहित भएको पाइन्छ । यसै सन्दर्भमा सहकारी ऐन २०७४ को दफा १५१ (२) र (३) उपदफा (१) बमोजिम मापदण्द बनाउँदा सदस्यको बचत सुरक्षण तथा संस्थागत दिगोपनाको लागि अन्तराष्ट्रिय मान्यता प्राप्त मापदण्डको बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्था वा संघको हकमा छुट्टै मापदण्ड बनाउन सकिनेछ  र उपदफा (१) र  (२) बमोजिमको मापदण्ड बनाउँदा आवश्यकता अनुसार नेपाल राष्ट्र बैङ्क र सम्बन्धित अन्य निकायको परामर्श लिन सकिनेछ भन्ने व्यवस्थाले बचत ऋण सहकारी सञ्चालनमा थप प्रणालीहरुको विकास मार्फत सदस्यहरुको बचत सुरक्षाको व्यवस्थालाई कडाई गरिएकोले मुख्य कारोवार आजको ऐन संशोधनको चर्चाको बिषय बनेको मान्न सकिन्छ ।

बचत तथा ऋण सहकारीता मार्फत बिशिष्टिकृत सेवा प्रवाहका लागि मुख्य कारोवारको आवश्यकता पर्दछ । बचत ऋण सहकारी सञ्चालनको सामान्य सिद्धान्त भनेको सदस्यहरुवाट मात्र बचत प्राप्त गर्ने र सो बचत लाई ऋणको रुपमा सदस्यहरुमा नै परिचालन गर्ने भन्ने हो । ऋणको रुपमा परिचालन हुन नसकेको रकम तुरुन्त प्राप्त हुने गरि तरल लगानी वा तुरुन्त प्राप्त हुने व्यवस्था सहित राख्नु पर्दछ अन्यथा तरलता जोखिम सृजना हुन सक्दछ र सदस्यको विश्वास सृजना नहुन सक्दछ  र बचत ऋण सहकारीहरुको छवीमा असर गर्दछ । बचत ऋण सहकारीता सदस्यहरुको वित्तीय समस्या समाधानका लागि साहुकारको विकल्पको रुपमा विकास भएको आन्दोलन हो । वित्तीय बजारमा देखिएका प्रबिधिमा आधारित वित्तीय सेवाहरुको विकास संगै वित्तीय सहकारीहरुको सेवामा पनि बिशिष्टीकरण आवश्यकता पर्दछ । त्यसका लागि बचत ऋण सहकारीहरु बचत ऋण सहकारीतामा मात्र केन्द्रीत हुन आवश्यक हुन्छ ।  बचत ऋण सहकारी मुख्य कारोवारमा केन्द्रीत हुन आवश्यक छ ।

वित्तीय सहकारीका सेवाहरु वित्तीय क्षेत्रका बिशिष्टीकृत सेवाहरुमा नै केन्द्रीत हुन आवश्यक छ किनकी बचत तथा ऋण सहकारीहरुले सबै किसिमका बचत तथा ऋणका सेवाहरु सदस्यहरुलाई दिन सक्षमता विकास गर्नु पर्दछ । बचत तथा ऋण सहकारीहरुले विकास गरेका बचतका सेवाहरुवाट सदस्यले भनेको समयमा नै बचत फिर्ताको सुनिश्चितता हुनु पर्दछ । यदि सो बचतवाट प्राप्त श्रोत सदस्य भन्दा बाहिर कुनै पनि नाममा परिचालन गर्दा श्रोतमा सदस्यहरुको अपनत्व, समयमा फिर्ता गर्न सक्ने सक्षमता तथा आम्दानी गर्नमा सदस्यको स्वावलम्बनको भावना कुनै पनि उपयोग हुंदैन । जसवाट श्रोत परिचालनमा सदस्यहरुको नियन्त्रण भन्दा बाहिर गई बचत ऋण सहकारीतामा समस्या आउने हुन्छ त्यसैले मुख्य कारोवार बचत ऋण गर्ने सहकारीहरु बचत ऋणमा नै केन्द्रीत हुन आवश्यक छ ।

बचत ऋण कारोवारवाट संकलन भएको श्रोत गैर वित्तीय क्षेत्रमा लगानी हुँदा उत्पन्न हुने बजार जोखिम तथा आम्दानी हुने समय र सदस्यहरुलाई प्रदान गर्नु पर्ने लाभांश एवं व्याज फिर्ता गर्न पनि कठिन भई सदस्यहरुको विश्वास टुट्न जान्छ र अन्तत्वगत्वा सहकारी नै बन्द हुने अवस्था आउन सक्दछ । बचत ऋण सहकारीको स्थापना कुनै निश्चित समयको लागि मात्र नभएको र यसलाई कसैले चाहेको दिन बन्द गर्न पनि नसकिने भएकोले सदस्यहरुको निरन्तर विश्वासको आधारमा सञ्चालन गरिनु पर्ने भएकोले वित्तीय सहकारीहरु वित्तीय क्षेत्र वाहेक अन्य क्षेत्रमा जानु भनेको अनावश्यक जोखिम लिनु हो । सहकारी ऐनमा मुख्य कारोवार राख्नु भनेको बचत ऋण सहकारीहरुलाई गैर वित्तीय क्षेत्रमा प्रबेश नगर्न र वित्तीय अनुशासनमा रहन अभिप्रेरित गर्नु हो नकि अन्य सहकारीहरुलाई बचत ऋण सहकारीमा रुपान्तरण गर्नु तर शत प्रतिशत कारोवार बचत ऋणको गरी अन्य नाममा सञ्चालन हुनु पनि अभियानको दीगो पना र छवीमा असर गर्ने बिषय भने अवश्य नै हो ।

वित्तीय स्थिरता कायम राखि सञ्चालन गर्नु बचत ऋण सहकारीको सबै भन्दा महत्वपूर्ण बिशेषता हो । बचत ऋण सहकारी सञ्चालन गर्दा वित्तीय स्थिरताको आवश्यकता पर्दछ । वित्तीय बजार सबै भन्दा अस्थिर बजार हो । त्यसैले बचत ऋणको कारोवार गर्ने सहकारीहरुले बजारको स्थिरता कायम राख्न पनि वित्तीय अनुशासनको पालना गर्नु पर्ने हुन्छ । यसवाट वाहिर नजान बचत ऋण सहकारीहरु अनिवार्य रुपमा बचत ऋण सहकारीतामा नै केन्द्रीत हुन आवश्यक छ । बचत ऋण सहकारी जनविश्वासमा चलेको हुन्छ । बचत ऋण सहकारीको जनविश्वास भनेको सदस्यले भनेको समयमा नै बचत फिर्ता पाउने अवस्था हो र बचतवाट प्राप्त गर्ने प्रतिफल बजार भन्दा राम्रो हुनु पनि हो । यदि कुनै सहकारीले बचत ऋणको कारोवारमा केन्द्रीत नभइ अन्य कारोवारमा लगानी गर्दछ भने सो कारोवारको बुम चक्रको असर देखिएको समयमा बचत फिर्ताको समस्या हुन सक्दछ र पुरै संस्था नै समस्यामा पर्न सक्दछ । यसवाट बचाउन पनि बचत ऋण सहकारीहरुको मुख्य कारोवार बचत ऋण वा वित्तीय सेवामा नै केन्द्रीत हुन आवश्यक छ ।

बचत ऋण सहकारीहरुले सदस्यहरुको विश्वास जित्न कडा कानूनी सुपरिवेक्षणमा आफुलाई राख्नु पर्ने हुन्छ । जसमा बचत ऋण परिचालनका कानूनहरु बचत ऋण सहकारीमा आकर्षण हुन्छ र सो कार्यान्वयन भए नभएको सुपरिवेक्षण पनि गरिएको हुनु पर्दछ । यदी बचत ऋण सहकारीहरुको मुख्य कारोवार बचत ऋण सेवाहरु नभइ अन्य सेवाहरुमा केन्द्रीत भएमा यसको वित्तीय अनुशासनमा रहेर सुपरिवेक्षण गर्न सकिंदैन र सदस्यहरुको बचत सुरक्षाको प्रत्याभूति गर्न पनि सकिंदैन । यसवाट सदस्यहरुको बचत सुरक्षाको सुनिश्चितता गर्न कठिन हुन जान्छ । बचत ऋण सहकारीहरुलाई कति बेला सञ्चालनमा कसलाई समस्या आउँछ भन्न सकिंदैन । यसवाट बचाउन र बजारमा बचत ऋण कारोवार गर्न सहकारीहरुको विश्वास निरन्तर कायम राख्न स्थिरीकरण कोष वा बचत सुरक्षण कोष जस्ता कोषहरुको योगदान अत्यन्तै महत्वपूर्ण रहेको हुन्छ । यस्ता सेवाहरुको विकास तथा सहभागिताका लागि पनि बचत ऋण सहकारीहरुको मुख्य कारोवार बचत ऋण नै हुन आवश्यक पर्दछ ।

बचत ऋण सहकारीहरुको सफलताका लागि राज्य वा बिशिष्टीकृत संस्थाहरुवाट केन्द्रीय तरलता सेवाहरु प्राप्त गर्नु आवश्यकता पर्दछ । यदी सहकारीहरु वित्तीय कारोवार वाहेकका क्षेत्रहरुमा बचतको रकम परिचालन गरि रहेको छ भने कुनै पनि राज्यले केन्द्रीय तरलता सेवा उपलब्ध गराउन सक्दैन । जसवाट जोखिम सृजना भएको समयमा जुनसुकै दिन पनि सहकारी समस्यामा पर्न सक्दछ । यसवाट बच्न र बचाउन बचत ऋण सहकारीहरुको मुुख्य कारोवार बचत ऋण नै हुन आवश्यक पर्दछ । यस कारण आजको मुख्य कारोवारको सवालमा बचत ऋण सहकारीहरु निन्तर सदस्यहरुको वित्तीय आवश्यकतामा केन्द्रीत भइ सेवा विकास गर्न र अरुका कारण आफ्नो छवी नबिग्रने सुनिश्चित गर्न ऐन संशोधनको मुख्य सवाल मुख्य कारोवारको सन्दर्भमा एक ठाऊँमा आउन तयार हुन आवश्यक छ ।

निष्कर्ष

सहकारी ऐन संशोधन होला वा नहोला मुख्य कारोवार रहला नरहला तर बचत ऋण सहकारीहरुको मुख्य कारोवार बचत ऋण वा वित्तीय सेवा हुनु आवश्यक छ । यसवाट सेवाको बिशिष्टीकरण र जोखिम न्युनीकरणमा थप सहयोग पुग्ने गरि व्यवस्थापन गर्न सकिन्छ । बचत ऋण सहकारीहरुको आजको आवश्यकता भनेको सदस्यहरुको वित्तीय आवश्यकताको परिपुर्ति गर्ने सक्षमता विकास  भएकोले सहकार्यका आधारमा सो प्राप्तिका लागि बचत ऋण सहकारीहरु अन्य क्षेत्रको लाभमा भन्दा मुख्यकारोवारमा केन्द्रीत भइ स्व नियमनमा रहनु आवश्यक देखिन्छ ।


लेकखः नेफ्स्कूनका सदस्य सेवा तथा विकास विभाग प्रमुख हुनुहुन्छ ।

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ