एजेन्सी । ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको मेसो पारेर श्रीलंकाली सहकारी अभियानले हिजो अर्थात् जुलाई ५ मा राष्ट्रपति नन्दसेना गोटाबाया राजापाक्षेको उपस्थितिमा एक भव्य कार्यक्रम आयोजना गरि मनाएको छ । कोभिड प्रतिकुलताकाबीच पनि स्वास्थ्य मापदण्ड पालना गरी ३० जनाको सहभागितामा राष्ट्रपति कार्यालयको सचिवालयमा भौतिक कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा राष्ट्रपति राजापाक्षेले २१ सहकारीलाई स्वर्ण सम्मान प्रदान गर्नुभएको थियो । देशभरिका सहकारीहरुमध्ये सेवा, उत्पादन, सदस्य सन्तुष्टि आदि विभिन्न पक्षमा उत्कृष्ट कार्य गर्ने सहकारी संस्थाहरुलाई उहाँले सम्मानित गर्नुभएको हो । कार्यक्रममा व्यापार मन्त्री, सबै प्रान्तीय गर्भनरहरु लगायत सहकारी क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो । स्वर्ण सम्मान प्राप्त गर्ने सहकारीहरुमा बचत तथा ऋण, स्वास्थ्य, कृषि, उत्पादन तथा सेवा, चिया, नरिवल, माछा, शिक्षा, लघुवित्त, आदि सहकारीहरु सम्मानित भएका हुन् । श्रीलंकाको सहकारी अभियानको विकास र प्रवर्धनमा समर्पित सहकारीहरुलाई सम्मान कार्यक्रममा राष्ट्रपतिको सहभागिताले त्यहाँको सहकारी अभियानमा राज्य प्रमुखको साथ, सहयोग र उत्प्रेरणा रहेको पुष्टि हुन्छ ।