एजेन्सी । पुस्तकालय हाम्रो लागि नयाँ शब्द पक्कै होइन र पुस्तकालयमा गएर पुस्तक पढ्ने वा सदस्य बनेर घर लगेर अध्ययन गरी फिर्ता गर्ने परम्परा हाम्रा लागि पुरानै हो । तर, हामीमध्ये धेरैका लागि ‘मानव पुस्तकालय (ह्युमन लाइब्रेरी)’ भने नवीन अवधारणा लाग्न सक्छ । हो, हिजोआज ह्युमन लाइब्रेरी विश्वमा क्रमशः लोकप्रिय बन्दै गएको छ । खासमा आज यो विश्वव्यापी र जीवन्त सिकाइ प्लेटर्फम बनेको छ । यसले मानवअधिकार समावेशीता, एकता, पारस्परिकतालाई प्रवर्धन गर्दछ । यसअर्थमा पनि सजीव पुस्तकालयको सहकारीसँग सानिध्य छ । पुस्तकमा ‘मोनोलग’ हुन्छ यसमा ‘डायलग’ ।
पुस्तकालयको परम्परागत अवधारणा विपरित मानव पुस्तकालयमा छानिएका स्वयंसेवी व्यक्तिहरुले आगन्तुकहरुलाई विभिन्न विषयहरुका जीवनकथाहरु सुनाउँछन्, ज्ञान बाढ्दछन् र अनुभव आदान प्रदान गर्दछन् । यसको अर्थ मानव पुस्तकालयका पुस्तकहरु निर्जीव पुस्तकहरु नभइ व्यक्तिहरु हुन्छन् । पाठकहरुले विभिन्न विषयमा सजीव पुस्तकहरुसँग जीवन्त वार्तालाप, मन्थन, विमर्श र विवेचना गर्दछन् । मानव पुस्तकालयका पुस्तक र पाठकहरुले जगत र जीवनलाई गहन दृष्टिगोचर गर्छन् ।
हयुमन लाइब्रेरीको इतिहास
खासमा मानव पुस्तकालयको अवधारणा युरोपेली मुलुक डेनमार्कबाट विकास भएको हो । सन् २००० मा राजधानी कोपनहेगनबाट यो प्रचलनमा आएको हो । रोनी अबेरजल, उनका भाई ड्यानी तथा सहकर्मीहरु आस्मा मउना र क्रिस्टोफर इरिच्सेनलाई मानव पुस्तकालय स्थापनाको श्रेय जान्छ । सुरुमा उनीहरुले हप्तामा ४ दिन विभिन्न ५० वटा विषयहरुमा लगातार ८ घन्टाका लागि यो कार्यक्रम आयोजना गरेका थिए । यसको सुरुवात एक व्यक्तिको अनुभव गाथा अर्को व्यक्तिका लागि सिकाइ र बुझाइको लागि धेरै कोणबाट उपयोगी हुनसक्छ भनेर गरिएको थियो ।
यसमा आफ्ना कथाहरु सुनाउन चाहने वा पुस्तक बन्न चाहनेले स्वयंसेवी रुपमा दर्ता गर्नुपर्छ र २० मिनेटको समयमा आफ्नो कथा भनिसक्नुपर्छ । यस्ता स्वयंसेवीहरुमा सामाजिक, आर्थिक, लैङ्गिक, सांस्कृतिक आदि विविधता पाइन्छ जसले पाठक वा श्रोताहरुका सबै खाले आंकाक्षाहरु पूरा गर्न सकून् । सबै कुरा भन्ने भन्दा पनि अर्को व्यक्तिका लागि उपयोगी विषयहरु छानेर व्यक्त गर्नुपर्छ । हुनत् पछिल्लो समयमा यसको विधि र प्रक्रियामा धेरै परिमार्जन गर्न थालिएको छ । विश्व प्रसिद्ध म्यागजिन् Forbes अनुसार हाल कोभिड महामारीको समयमा यस्ता ह्युमन लाइब्रेरीहरु भर्चुअल रुपमा सञ्चालनमा छन् ।