सहकारी यात्रारम्भ
२०४२ सालमा मैले पढाउने ठाँउ नाम्दुको बैतेश्वर साझा संस्थाको उपाध्यक्ष भएपछि सहकारी क्षेत्रमा प्रवेश गरेको हुँ । सहकारी ऐन २०४८ पछि २०५० सालमा जनसचेतन बचत तथा ऋण सहकारी संस्था मेरो आफ्नै पहलमा स्थापना गरेर २० बर्षसम्म अध्यक्ष भएर सञ्चालन गरेँ । दोलखा सदरमुकाम चरिकोटमा शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लि.आफ्नै पहलमा २०५३ सालमा स्थापना गरेर ३ वर्षसम्म अध्यक्ष रहेँ । दोलखाको मैनापोखरीमा हिमाली स्वास्थ्य सहकारीको स्थापना गरेर २ बर्षसम्म अध्यक्ष रहेँ र २०६० साल तिर नेफ्स्कूनको संचालक सदस्य निर्वाचित भएर काम गरेँ । जनसचेतन स्थापना गर्दा जिरीमा २ वटा सहकारी संस्थाहरु भर्खर खुलेका थिए । अरु थिएनन् ।
विगतमा सहकारीप्रति जनधारणा
साझा संस्थाहरुले गरेको भ्रष्टाचारको कारण सहकारीप्रति मानिसहरुको धारणा बिल्कुलै नकारात्मक थियो । समुदायका मानिसहरुलाई सहकारीमा आबद्ध गराउन निक्कै कठिन थियो । पैसा हिनामिना हुने डरले मानिसहरु सहकारीको सदस्य बन्न मान्दैनथे । एकजना सदस्य बनाउन पनि धेरै मेहनत गर्नु पर्दैनथ्यो । आम्दानी नभएको हुनाले बचत गराउन पनि निकै कठिन थियो ।
सहकारीप्रति आकर्षण
म शिक्षक हुँदा सञ्चयकोष, उपदान, पेन्सन, आदि कुनै व्यवस्था थिएन त्यसकारण बचत गर्ने उपायहरुको खोजीमा थिएँ । सहकारीले यो आवश्यकता पुरा गर्ने देखेर सहकारीप्रति आकर्षण बढ्यो । अनौपचारिक क्षत्रका गरीव किसानहरुले पनि सहकारीमा बचत गरेर जीवनको उत्तरार्धका लागि रकम जम्मा गर्ने सहकारी उत्तम माध्यम हो । सुरुमा त बचत गर्ने, ऋण लिने कुरा मात्र बुझेको थिएँ तर पछि गएर सहकारीको बारेमा धेरै कुराहरु थाहा पाउने मौका मिल्यो । धेरै अध्ययन गरेँ र धेरै तालिमहरु पनि लिएँ । अहिले त सहकारीका मूल्य, मान्यता, सिद्धान्त र व्यवस्थापनामा धेरै प्रष्ट छु ।
आजको जनसचेतन
मेरो जनसचेतन बचत चथा ऋण सहकारी संस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित छ । सहकारीका मुल्य, मान्यताहरुको वास्तविक प्रयोग गरेर हुर्केको यो संस्थाले गरिब पिछडिएका गाउँका जनताहरुलाई सेवा दिइरहेको छ । हाल यस संस्थामा झण्डै ३०,००० सदस्यहरु र करिव २ अर्बको कुल सम्पत्ति छ । यसको कार्यक्षत्र दोलखा जिल्लाभर रहेको छ । यसको दाँजोमा आउने सहकारी संस्थाहरु देशभरमा थोरै छन् ।
सहकारी क्षेत्रमा प्रेरणा श्रोत
सहकारीका प्रेरणका श्रोत त रोचडेलका अगुवाहरुलाई नै मान्दछु । दोलखामा सहकारी खोलौं भनेर प्रेरणा दिने ऋषि घिमिरे हुनुहुन्छ । उहाँले दोलखामा सहकारी शिक्षा शिबिर सञ्चालन गरेर सहकारीबारे जानकारी गराउनुभएको थियो ।
तीतोमिठो क्षणहरु
सहकारी प्रवर्धन र विकासमा सधैँ उत्साहित नै भएँ खास तितो अनुभव छैन तर सहकारीमा भएको राजनीतिकरण, केही सहकारी सञ्चालकहरुले व्यक्तिगत फाइदाको लागि सहकारीका मूल्यमान्यताहरुलाई ठाडो चुनौती दिएको देख्दा भने सारै दुःख लाग्छ ।
सबैभन्दा खुसीका दिनहरु
जब मेरो संस्था जनसचेतनले आत्मनिर्भर भएर सदस्यहरुलाई सेवा दिन लाग्यो र देश बिदेशमा आफ्नो परिचय दिन लाग्यो तब दिनहरु मेरा खुसीका दिनहरु बन्नपुगे ।
सहकारीमा योगदान
सहकारी जनशक्ति
तल्लो तहमा राम्रै कर्मचारीहरु उपलब्ध भएपनि दक्ष र क्षमतावान् व्यवस्थापकहरुको अझै धेरै खाँचो छ । धेरैजसो संचालकहरु सहकारीको बारेमा अनभिज्ञ नै छन् ।
सहकारीकर्मीहरुमा पठन संस्कृति
नेपालमा सहकारी सम्बन्धी अध्ययन र अनुसन्धान गर्ने मानिसहरु धेरै छन् । अझ सहकारीलाई आफ्नो परिवेश अनुसार संचालन गर्न आवश्यक परिमार्जन गरेर नेपालमा चाहिने सहकारीको खाका तयार गर्नसक्ने मानिसहरु पनि छन् तर बिडम्बना उनीहरुलाई सहकारी अभियानभित्र प्रवेश गर्न पनि दिइँदैन । सहकारी सञ्जालका सवै स्थानहरु पार्टी कार्यकर्ताहरुले भरिएका छन् । पार्टीको टिकट बिना सहकारीमा प्रतिस्पर्धा गर्न समेत पाँउदैनन् ।
सहकारीको क ख समेत नजानेका पार्टी कार्यकर्ताले चलाएको सहकारी संघ संस्थाहरु पार्टी कार्यालय जस्तै चलेका छन् । त्यहाँ कुनै मूल्यमान्यताको कदर हुँदैन बरु खुट्टा तानिन्छ । त्यहांँ त अरुलाई पछारेर आफू कसरी माथि जाने भन्ने मात्र सोचाई हुन्छ, सहयोग र सहकार्यको त नाम निसाना पनि हुदैन । यसैकारण होला सहकारीमा अध्ययन र पठन संस्कृति विकास नभएको देखिएको ।
कोभिडको असर
विश्वब्यापी महामारी कोभिडको असर नपरेको कुनै क्षत्र छैन, त्यसकारण सहकारीमा असर नपर्ने कुरै भएन । सदस्यहरुको रोजगारी गुमेको कारण बचत गर्ने र ऋण तिर्ने क्षमता घटेको छ । कतिपय सहकारीहरु घाटामा चलिरहेका छन् भने ऋणको भाखा नाघेका कारण जोखिम अत्यधिक बढेको छ । यस महामारीबाट सहकारी संस्थाहरु तङ्रिन अझै कही समय लाग्नेछ ।
उत्पादनमा सहकारी
सबै सहकारीहरु उत्पादनमा नै लागेका छन् । बाख्रा पालन, भैसी पालन, कृषि तथा व्यवसायमा गरेको ऋण लगानी उत्पादनमा जोडिएको हाइन र ? स्वयं उद्योग व्यवसाय गर्ने सहकारीलाई मात्र उत्पादनमा जोडिएको भन्ने हो भने सदस्यहरुले गरेको उत्पादनलाई के भन्ने ?
बचत तथा ऋण सहकारी अभियान
२५ बर्ष अगाडि शून्यबाट सुरु भएको बचत तथा अण सहकारी अभियानले आज २९ हजार ८ सय ८६ सहकारी संस्थाहरु निर्माण भई ७३ लाख बढी सदस्यहरुलाई आवद्ध गराउन सफल भएको छ । संख्यात्मक रुपमा अत्यधिक संस्थाहरु सञ्चालन भए पनि सदस्यहरुलाई गुणस्तरीय सेवा भने दिन सकेको देखिदैन ।
सहकारी संस्थाहरु सहकारीको मर्म अनुसार चल्न सकेका छैनन् । दोहोरो तेहेरो सदस्यताले सदस्यहरु ऋणमा चुर्लुम्म डुबेर निस्कन नसक्ने भएका छन् । नाफाखोर र राजनीतिले सहकारीलाई अस्तब्यस्त पारेको छ तर केही समुदायमा आधारित संस्थाहरुले भने सहकारी आन्दोलनको मेरुदण्डको रुपमा काम गरेका छन् । यी बिकृति र बिसंगतिहरुलाई हटाएर शुद्ध सहकारी अभियान संचालन गर्नु आजको आवश्यता छ ।
नेफ्स्कूनको विकास र वृद्धि
नेफ्स्कुनको बिकास र बृद्धि स्वाभाविकरुपमा भएको छ तर यसले आफूले गर्नुपर्ने कामको पाटो अझै पहिल्याउन सकेको छैन ।
नेफ्स्कूनले गर्नुपर्ने कामहरु
एक्सेस, प्रोबेसन लगायत गुणस्तर सुनिश्चितता कार्यक्रम
एक्सेस, प्रोबेसन लगायत नेफ्स्कूनले सञ्चालन गरेका साकोसहरुको गुणस्तर सुनिश्चितता कार्यक्रम भनेको संस्थाको वित्तीय र अन्य अवस्था मूल्याङ्कन गर्ने विधि वा औजार हुन् । त्यस्तै PEARLS अर्को औजार हो । यिनको आधारमा नेपालमा विगत लामो समयदेखि साकोसहरुको वित्तीय लगायत संस्थागत स्वास्थ्य परिक्षण हुँदै आएको सर्वविदितै छ । यिनको महत्व निक्कै छ । बेलावेलामा यिनको बारेमा कुप्रचारहरु भएका पनि छन् तर बुझ्नुपर्ने कुरा के हो भने बचत ऋण सहकारीहरुको गुणस्तर नाप्ने केही विधि वा औजार त चाहियो नि । कि यी भन्दा उत्तम विकल्पहरु दिनुपर्यो होइन भने यिनकै आधारमा नेपालको साकोस अभियान दिगो, सक्षम, गुणस्तरीय, विश्वसनीय र सदस्यमैत्री बनिरहेका छन् ।
एशियाली ऋण महासंघ (आकू) को भूमिका
नेपालमा बचत तथा ऋण सहकारी संस्थाहरुको विकासमा आकूको एकदमै महत्वपूर्ण भूमिका छ । नेफ्स्कूनको विकास र प्रगतिमा पनि यसको भूमिका कसैबाट लुकेको छैन । रञ्जित र लेनीहरु निरन्तर नेपालको साकोस अभियान सुदृढिकरणमा लागिपरेका छन् । साँच्चै भन्ने हो भने आकूले नेपालमा ल्याएका कार्यक्रम र नेफ्स्कूनमार्फत सहयोग गरेको प्रविधि र औजारहरुको बलमा नै आज साकोस अभियान यहाँसम्म आइपुगेको छ र आकूले अझै पनि नेपाललाई हरतरहले सहयोग गर्दै आएको छ ।
सहकारी ऐन
राम्रै आयो तर कता कता आकार प्रकार नमिलेको बुख्याचा जस्तो । लेखिएका कुराहरु कुनै लागू भएका छैनन् ।
नियामक निकायको सहयोग
पटक्कै छैन । नकारात्मक टिप्पणी मात्र छ ।
सहकारीसम्बन्धी आम बुभाइ
सहकारीभन्दा नाक खुम्च्याउने अवस्था पटक्कै छैन तर नेपालमा सकारात्मक धारण भएका मानिसहरुको खडेरी परेको छ । सहकारी मात्र होइन हरेक क्षेत्रमा नकारात्मक बिचारले स्थान पाएको देखिन्छ । केही सहकारी संस्थाहरुले यस्ता नकारात्मक बिचारहरुलाई प्रोत्साहित गर्ने काम पनि गरेको देखिन्छ । यस्ता सहकारी संस्थाहरु सही बाटोमा आउन जरुरी छ ।
सहकारीमार्फत समृद्धि
अवश्य सम्भव छ र गर्नुपर्छ पनि । सहकारी जस्तो दूरदराजका ठाँउहरुमा पुगेर गरिबको सेवा गर्ने कुनै निकाय छैन । उत्पादन र बितरण गर्ने सजिलो माध्यम पनि सहकारी नै हो ।
सहकारीमा दोहोरो सदस्यता
दोहोरो सदस्यता खारेज हुनुपर्छ । संस्था एकिकरणको काम तत्काल गर्नुपर्छ ।
सहकारीसम्बन्धी तालिमहरु
सहकारी क्षेत्रमा तत्काल गर्नुपर्ने कामहरु
सहकारीमा युवा पुस्ता
केहि पदलोलोलुपहरु बाहेक अहिलेको सहकारी अभियानमा युवा पुस्तानै देखिन्छ । त्यसैले अब रुचि बढाउने कुरा कता आयो र ? अबको सहकारी नै युवा पुस्ताको काँधमा हो ।
सहकारीमा नेतृत्व विकास
सहकारीमा असल नेतृत्व विकासका लागि सहकारीबारे प्रशस्त अध्ययन र अनुसन्धान गरेको, सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई पूर्णतः आत्मसात् गरेको, राजनीतिक बिचारधारालाई सहकारीको ढोका बाहिर राखेर निस्पक्ष काम गर्नसक्ने, सबै खाले सदस्यहरुलाई समान व्यवहार गर्नसक्ने व्यक्ति छनौट हुनुपर्छ । नेतृत्व छनौटमा पार्टीहरुले टिकट दिने प्रथा खारेज हुनुपर्छ । देश बिदेशमा आयोजना हुने तालिममा सहभागी गराउनुपर्छ ।
सहकारी भ्रमण
नेपालका ५७ जिल्लामा गएर सहकारी सम्बन्धी तालिमहरु दिएँ र बिदेशमा भारत, क्यानाडा, थाइल्याण्ड, दक्षिण कोरिया, मलेसिया र फिलिपिन्स भ्रमण गरेको छु ।
भावी योजना
केही छैन । अब आराम गरेर बस्ने हो ।
जागिरे जीवन
२०२९ सालमा बि.कम पास गरेँ । पढाइको सँगै नेपाल बिद्युत कर्पोरेशन, नेपाल राष्ट्र बैंक आदिमा जागिर खाएँ र २०३० सालमा गाउँको माध्यमिक विद्यालयमा प्रधानाध्यापक भएर पढाउन थालेँ । माध्यमिक शिक्षक प्रथम श्रेणीसम्म पुगेर २०५९ सालमा राजीनामा दिएर अवकाश लिएँ ।
मेरो पहिलो नियुक्ति नै माध्यमिक विद्यालयको प्रधानाध्यापकमा भएको हो । शुरुमा बैतेश्वर माध्यमिक विद्यालयमा काम गरेँ ंर १४ वर्ष पछि २०४४ सालमा मेरो आफ्नै गाँउको हुमन्तेश्वर मा.वि.मा गएर १४ वर्षनै बिताएर राजीनामा गरेँ । मैले सञ्चालन गरेका दुवै विद्यालयहरु अब्वल छन् तर पछिल्लो विद्यालय आज पनि देशमै १० भित्र पर्दछ । पहिलो विद्यालयले शिक्षाको अभाव भएको बेलामा धेरै विद्यार्थीहरुलाई पढ्ने अवसर दियो भने दोश्रोले शिक्षाको गुणस्तरमा व्यापक सुधार गरेर उत्कृष्ट विद्यार्थीहरु उत्पादन गर्न सफल भयो ।
शिक्षण पेशालाई धेरै माननिसहरु रुचाउँदैनन् तर दूरदराजका विद्यार्थीहरुलाई शिक्षित गरेर उनीहरुको जीवन सुधार गर्ने कामले मलाई भने ठूलो सन्तुष्टि मिलेको छ तर सामाजिक चेतनाको विकास गर्न र भौतिक श्रोतहरु जुटाउन भने त्यसबेला धेरै कठिन थियो ।
जन्म र परिवार
२००३ साल साउन ९ गते हालको बैतेश्वर गाउँपालिका बडा नं. ४ पोखरे, दोलखा जिल्लामा पिता पिता तिलकप्रसाद ढुंगेल र माता छायाँदेबी ढुंगेलका ७ मध्ये काँहिलो सन्तानको रुपमा मेरो जन्भ भएको थियो । हाल परिवारमा जम्मा १२ जना छन् । श्रीमती नन्दादेवी ढुंगेल, जेठो छोरा दिपक ढुंगेल, कान्छो छोरा बिनोद ढुंगेल, जेठी छोरी शान्ता ढुंगेल, कान्छी छोरी सुनिता ढुंगेल लगायत छन् । हाल मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ कौशलटारमा बसोबासरत छु ।
बाल्यावस्था
गाउँको सामान्य परिवारमा जन्म भएको हो । हाम्रो पेशा कृषिनै हो र बुबा यजमानी गर्नुहुन्थ्यो । खाने लाउने कुरा समेत पर्याप्त पाइदैनथ्यो । खेतिपातीमा काम गर्ने बाख्रा वस्तु चराउने काम गरिन्थ्यो । गाँउमा स्कूल नभएकोले कर्मकाण्डका पुस्तकहरु पढिन्थ्यो । कहिलेकाही यजमान कहाँ कार्य गर्न जाने पनि गरिन्थ्यो ।
युवावस्था
१६ वर्षको उमेरमा २०१९ सालमा पढ्नको लागि काठमाण्डौ आएँ र ५ कक्षामा भर्ना भएर सुरु गरेँ । २०२३ सालमा एस.एल.सी. पास गरेँ । २०२९ सालमा बाणिज्य शास्त्रमा स्नातक गरेँ । जागिर खाँदै पढाइ लगेँ ।
शिक्षाप्रति परिवारको धारणा
मेरो परिवार शिक्षाप्रति सकारात्मक र सजग थियो । जेठो दाइ पुराण भन्ने पण्डित हुनुहुन्थ्यो, माइला दाई कर्मकाण्ड गर्नुहुन्थ्यो, साहिला दाईले स्नातकोत्तर गर्नुभयो र कान्छो भाइले विद्याबारिधि पूरा गरेका छन् । परिवारको साथ सहयोगले नै सबै शिक्षित हुन पायौं ।
मित्रता
विद्यार्थी जीवनमा पढ्ने खालका इमान्दार र लगनशील साथीहरुसँग मात्र मेरो हेलमेल हुन्थ्यो । आफ्नो स्वभाव नमिल्नेहरुसँंग प्रायः म टाढा नै हुन्थेँ । आफ्नो स्वभाव र राजनीतिक विचारधारा मिल्नेहरुसँग मेरो घनिष्ठता रहन्थ्यो । गाँउमा शिक्षण गर्दा सामाजिक सेवामा रुचिराख्ने साथीहरुसंँग सहकार्य गरेर सामाजिक क्षेत्रमा धेरै कामहरु गरियो ।