शुक्रबार, वैशाख २१
०१:१३

‘बचत ऋण सहकारी अभियानप्रति अगाध माया छ’

बिहीबार, वैशाख ९
रञ्जनमणि पौड्याल
saccosaawaj

बिष्णु श्रेष्ठ
बचत तथा ऋण सहकारी विज्ञ

क्यानेडियन अन्तर्राष्ट्रिय अध्ययन तथा सहयोग केन्द्र (सेसी) मा डेढ दशक बढी वित्त अधिकृत हुँदै बरिष्ठ कार्यक्रम अधिकृत (बचत तथा ऋण बिशेषज्ञ) को रुपमा सेभिङ एण्ड क्रेडिट पोर्टफोलियो हेर्नुभएका बिष्णु श्रेष्ठ आफुलाई बचत तथा ऋण सहकारीप्रेमी भन्न रुचाउनुहुन्छ । नेफ्स्कूनसँगको उहाँको नाता पनि संघ स्थापना लगत्तै लामो समयसम्म प्रत्यक्ष र त्यसयता परोक्ष जोडिएको छ । ‘म लिड गर्ने होइन, ब्याक गर्ने व्यक्ति हुँ’ भन्ने श्रेष्ठसँग बचत तथा ऋण सहकारी विज्ञका रुपमा नेपालमा कार्यरत प्रायः सबै अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले सञ्चालन गर्ने तालिम सञ्चालन र म्यानुअल निर्माणमा जोडिएको लामो अनुभव छ । नेपालको साकोस अभियानको विकासमा सघाउ पुर्याएबापत आर्थिक वर्ष २०७४/७५ को 'नेफ्स्कून उत्प्रेरणा अभिनन्दन सम्मान' प्राप्त श्रेष्ठसँग गोंगबुस्थित निवासमा बचत ऋण सहकारीको सेरोफेरोमा हिजो गरिएको संवाद यहाँ प्रस्तुत गरिएको छ ।

 

आजभोली के मा व्यस्त हुनुहुन्छ ?
विगत ३ दशकदेखि गर्दै आएको कामको निरन्तरता नै छ भन्दा हुन्छ आजभोली । समुदायमा आधारित बचत ऋण सहकारी संस्थाहरुको प्रवर्धन, क्षमता विकासका लागि शिक्षा, तालिम सहजीकरण गर्ने काममै व्यस्त छु । हिजो मात्र नुवाकोटमा बचत समूहहरुको भेलालाई सहकारीमा रुपान्तरण गर्नुपर्छ भन्ने विषयमा प्रशिक्षण दिएर फर्केको हुँ । म बचत तथा ऋण सहकारीका लागि चाहिने सबै विषयमा तालिम सहजीकरण गर्छु । लेखा, वित्तीय व्यवस्थापन, व्यावसायिक योजना, व्यवस्थापन, PEARLS देखि सबै विषयमा गाउँदेखि सहरसम्म तालिम कार्यक्रम सञ्चालन तथा म्यानुअल निर्माण गर्दै आइरहेको छु ।

बचत ऋण सहकारी अभियानसँग कहिलेदेखि जोडिनुभयो ?
करिब २०४६ सालदेखि बचत ऋण सहकारी अभियानसँग जोडिएको हुँ । त्यसबेलमा क्यानेडियन अन्तर्राष्ट्रिय अध्ययन तथा सहयोग केन्द्र (सेसी) मा वित्त अधिकृत (सेभिङ एण्ड क्रेडिट पोर्टफोलियो) को रुपमा जागिर खान्थे । डेढ दशकबढी सेसीमा काम गर्दा मेरो मुख्य काम भनेको बचत ऋण लघु समूहहरुलाई दिगो बनाउने हेतुका साथ संरक्षण गर्ने थियो । नेपालको आधुनिक सहकारीको समयदेखि नै म यस अभियानमा आबद्ध छु । 

नेफ्स्कूनसँग कसरी जोडिनुभयो ?
बचत तथा ऋण सहकारीहरु संगठित गर्ने काममा नेफ्स्कून लागेको र म पनि सेसीमा बचत ऋण सहकारी समूहहरु हेर्ने जिम्मा पाएको कारणले नै व्यक्तिगत रुपमा मेरो र संस्थागत रुपमा सेसी र नेफ्स्कूनको सम्बन्ध जोडिन पुग्यो ।

म सेसीमा काम गर्दा एशियाली ऋण महासंघका तत्कालीन वित्तीय सल्लाहकार डा. फ्रान्सिस सेन्टजेभियर्स बैंककबाट आउनुहुन्थ्यो, उहाँले हामीलाई बचत ऋण सहकारीसम्बन्धी पहिलो अभिमुखीकरण नगरकोटमा गराउनुभएको थियो । त्यसबेलमा यस्ता अभियानको नेतृत्व सेसीले गर्दथ्यो । त्यसबेला सेसीमा म, यूएससी क्यानाडा (यूनिटेरीयन सर्भिस कोअपरेशन अफ क्यानाडा) मा श्रीराम श्रेष्ठ र साप नेपालमा बासुदेव न्यौपाने बचत ऋण सहकारी अभियानसँग जोडिएका थियौं । त्यसबेला थुप्रै बचत समूहहरु थिए तर सहकारीमा रुपान्तरण भएका थिएनन् । 

त्यसबेला काठमाडौंको कमलादीमा नेफ्स्कूनको सानो कार्यालय थियो । अजेलिया रन्जितकारले हेर्नुहुन्थ्यो । हामीले नगरकोट गएर तालिम गरेका थियौं । हाम्रो अभियान भनेको बचत समूहहरुलाई सहकारीमा रुपान्तरित गर्नुपर्छ भन्ने थियो । नगरकोटपछि धुलिखेलमा तालिम लिइयो । अजेलियाको समयदेखि नै म कुनै न कुनै रुपमा नेफ्स्कूनसँग आबद्ध थिए भन्दा अत्युक्ति नहोला ।

नेफ्स्कूनमा लेखाङ्कनसम्बन्धी प्रारुप विकसित गर्न पनि मेरो भूमिका थियो । मैले सेसीमा जे नवीन अभ्यासहरु गर्थे, ती नेफ्स्कूनमा पनि विकसित गर्न सहयोग गर्थे । कमर्श पढेको र बैंकमा पनि जागिर खाएकाले मलाई लेखा, बचत, ऋण, कार्यालय सञ्चालन तथा व्यवस्थापन आदि विषयमा ज्ञान र अनुभवको सम्मिश्रण थियो । नेपाल बैंकको लेखा व्यवस्थापनमा प्रयोग भएका कतिपय कुराहरु पनि नेफ्स्कूनमा लागू गर्न मैले सहयोग गरेँ ।सेसीमा हुँदा मैले बचत तथा ऋण सहकारी सम्बन्धी पहिलो पुस्तक समेत तयार पारेको थिए ।

तपाईले नेपाल बैंकमा पनि काम गर्नुभयो हैन ?
हो, म सेसी अघि नेपाल बैंकमा जागिरे थिए । नढाटी भन्दा बैंकको जागिरले जीवन गुजारा गर्न अपुग भएर त्यहाँ छोडी म अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (सेसी) मा काम गर्न थालेँ ।

सेसीमा छदाँ अरु कामहरु के के भए ?
सेसीले सन् १९९१ देखि सन् १९९५ सम्म बचत तथा ऋणको भष्यिका बारे अध्ययन गरेको थियो । हरिकृष्ण उपाध्याय टीम लिडर भएको समूहमा म पनि आबद्ध थिएँ जसमा सेभ द चिल्ड्रेनका प्रल्हाद माली पनि हुनुहुन्थ्यो । त्यसबेला रिपोर्टमा हामीले नेफ्स्कून, सहकारी विभाग र एनजीओहरुका लागि सुझाब समेत उल्लेख गरेका थियौं ।

सेसीले बचत तथा ऋणका सम्बन्धमा ‘बेस्ट प्राक्टिस स्टडी अन सेभिङ् एण्ड क्रेडिट’ भनेर अर्को अध्ययन गरेको थियो । त्यसको टीम लिडर नेपाललाई औधी माया गर्ने एन्थोनी पी स्कजीन हुनुहुन्थ्यो ।यूएसएआइडी, फोर्ड फाउन्डेशन, एशिया फाउन्डेशन आदिको सहयोगमा सेसीले नेतृत्व गरेको त्यो अध्ययन पछि सेभिङ क्रेडिट डेभलेपमेन्ट प्रोजेक्ट (सेक्रेड) नामको ठूलो परियोजना सञ्चालन गरेको थियो । त्यसको टीम लिडर पनि एन्थोनी पी स्कजीन नै हुनुहुन्थ्यो । त्यस अन्तर्गत नै नेफ्स्कूनको व्यावसायिक रणनीतिक योजना नगरकोटमा निर्माण गरिएको थियो । यसले नै सेन्टर फर माइक्रोफाइनान्स-सीएमएफको संस्थागत विकास गरेको थियो ।

सन् १९९२ मा मा एक महिने अध्ययन कार्यक्रमका सिलसिलामा कोअपरेटिभ एण्ड माइक्रो इन्टरप्राइज् पढ्न सेन्ट जेर्भियर्स युनिभर्सिटी अन्तर्गत कोडी इन्स्टिच्युट क्यानाडा गएँ । त्यसबेला भर्खर राष्ट्र बैंकको ग्रामीण स्वावलम्बन कोष सुरु भएको थियो नेपालमा । मैले क्यानाडामा सहकारीहरु र स्वावलम्बन कोषबीच सम्बन्ध स्थापित गर्नुपर्छ भन्ने धारणा सहितको प्रस्तुति गरेँ । प्रारम्भमा सहकारीहरुमा पुँजी अभाव हुँदा कोषबाट सहुलियत दरमा कर्जा उपलब्ध हुन सक्छ र विस्तारै सहकारीहरु आत्मनिर्भर हुन्छन् भन्ने अवधारणा प्रस्तुत गरेको थिएँ । त्यसबेला २१ राष्ट्रका सहभागीहरु थिए । त्यसबेला अन्य सहभागीहरुका कुरा सुन्दा पनि के लाग्यो भने विकास र सशक्तिकरणका लागि सेभिङ क्रेडिट नै आधारभूत आवश्यकता रहेछ भन्ने महशूस भयो ।

त्यसपछि, म अमेरिकास्थित विश्व ऋण परिषद् (ओकू) गएँ । यूएसएआइडीको आर्थिक सहयोगमा नेपालमा एक परियोजना चलाउने सोच थियो ओकूको । त्यस परियोजनाको प्रपोजल नै हामीलाई पढ्न दिइएको थियो । त्यहाँ एक साता बस्यौं हामी ।

क्रेडिट युनियनका विषयमा बचत ऋण सहकारीका एशियाका पायोनियर अगस्टिङ काङ र इन्स्टिच्यूसनल डिभेलपमेन्ट स्पेसलिष्ट क्रिस हेन्सन सँग म र नेफ्स्कूनका देवेन्द्र अर्यालको भेट भयो । उहाँहरु दुबै जना नेपाल आउनुभयो यूएसएआडीसँग छलफल गर्ने भनेर । उहाँहरु होटल एभरेष्टमा बस्नुभएको थियो । हाम्रो पहिलेदेखि नै चिनजान भएकाले हामीलाई पनि बोलाउनुभयो र छलफल भयो । त्यसपछि यूएसएआइडीसँग छलफल भयो । तर त्यो परियोजना सफल हुन सकेन ।

त्यस्तै, सन् १९९४ मा ओकूको एजीएम आयरल्याण्डको डब्लिनमा भएको थियो । त्यसमा नेफ्स्कूनका अध्यक्ष कैलाशभक्त प्रधानाङ्ग, महासचिव श्रीराम श्रेष्ठ, लेखा समिति संयोजक पम्फा राई, म, रोहिणी जोशी आदि सहभागी भयौं । त्यसबेला पनि ओकूले प्रस्ताव तयार गरे नेपाललाई सहयोग गर्न तयार रहेको जनाएको थियो ।

सेसीमा कार्यरत रहँदा विश्व ऋण परिषद्सँग पनि तपाईको व्यक्तिगत र सेसीको सम्बन्ध कस्तो थियो ?
एकदम राम्रो थियो । म २६ वर्षपछि दोस्रो पटक अमेरिका पुगेको बेला नेफ्स्कूनका तत्कालीन अध्यक्ष डी बी बस्नेतसँग म्यासेन्जरमा कुरा भएको थियो । म ओकुको कार्यालय म्याडिसन जाने विचार गरिरहेको थिए । अगस्टिन काङसँग चिनजान भएकाले सोधखोज गरे तर उहाँको त निधन भइसकेको थियो । क्यापासीटी बिलिडङ हेर्ने क्रिस ह्यान्सनले पनि ओकू छोडेको थाहा पाएँ । त्यसपछि क्यानाडामा रहेका मेरो सिनियर सहकर्मी टोनीलाई सम्पर्क गरी उहाँमार्फत ब्रायनसँग सम्पर्क गरेँ । ब्रायन वासिङ्टनमा थिए । तर त्यतिबेला वासिङटनमा ओकूको कार्यालय थिएन । ब्रायनमार्फत ओकूका फाइनान्स कन्ट्रोलर स्टेफनसँग सम्पर्क स्थापित भयो र भेटको टुङ्गो लाग्यो । त्यस भेटमा सहुलियत कर्जा, सदस्यता, साकोस ऐन, सञ्जाल बिस्तारआदि विषयमा छलफल भयो । पुनः ब्रायन ब्राञ्चको पहलमा पछि केही समयपछि आवश्यक कागजात पठाएपछि नेपाल ओकूको सदस्य बन्न सफल भयो । नेफ्स्कूनका तत्कालीन अध्यक्ष डी बी बस्नेतको अगुवाई र प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको अथक प्रयासको बलमा ओकूले सदस्यता शुल्कमा नेपाललाई सहुलियत समेत उपलब्ध गराएको थियो ।

आफुलाई बचत ऋण सहकारीप्रेमी भन्न रुचाउनुहुन्छ ?
हो । समुदायमा आधारित सहकारी जहाँ पनि चाहिन्छ भन्ने अनुभूति पहिल्यै भएको थियो मलाई । बचत ऋण सहकारीमा मलाई विश्वास छ । बचत ऋण सहकारी नै भनेर हिमालदेखि तराई पहाड सबैतिर पुगको छु । डोल्पा, मुगु, हुम्ला जस्ता विकटदेखि सबै ठाउँमा बचत ऋण सहकारीको प्रवर्धन र क्षमता विकासका लागि तालिमहरु सञ्चालन गरेको छु । म यूएनडीपीमा पनि बचत ऋण सहकारी विज्ञका रुपमा सस्टेनेबल कम्युनिटी डेभलेपमेन्ट प्रोगाममा काम गरेँ । 

सेसीकै नियुक्तिमा म सेन्टर फर माइक्रोफाइनान्स (सीएमएफ) मा केही समय काम गरेर  सन् २००१ तिर जागिरे जीवन त्याग गरी स्वतन्त्र रुपमा बचत ऋण सहकारी अभियानमा आबद्ध छु । यस क्रममा नेपालको सबै अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुमा परामर्शदाता (ट्रेनिङ कन्सलट्यान्ट अन कोअपरेटिभ) को रुपमा काम गरेको छु । त्यतिबेला नेपालमा भएका सहकारीहरु दुई वटा मोडलमा सञ्चालित थिए–एसएफडीपी (साना किसान विकास परियोजना) र सेसी । सेसी मोडलको सहकारी भनेको अंग्रेजी ‘कोइल’ मोडलमा आधारित थियो जहाँ समुदायमा आधारित स साना समूहहरुलाई क्षमता अभिवृद्धि गर्दै ठूलो बनाउँदै लाने प्रारुप थियो ।

प्रारम्भिक संस्थाहरुको आवश्यकता के पाउनुभएको छ ?
प्रारम्भिक संस्थाहरु ‘लिङ्केज’ को खोजीमा छन् । सहुलियत ऋण उनीहरुको माग हो । वित्तीय पहुँचको आवश्यकता छ । त्यसका लागि पहल गर्नुपर्छ केन्द्रीय निकायदेखि प्रारम्भिक संस्थाहरुले । खासमा भन्नुपर्दा नेपालमा ग्रामीण स्वावलम्बन कोषलाई सहकारीसँग लिङ्क गर्ने काम सेसीले नै गरेको थियो । त्यस्तै, ‘लिङ्केज’ को खोजी हो अहिले ।  ग्रामीण समुदायका सहकारीहरुलाई स्वरोजगार कोषबाट सहुलियत दरमा रकम उपलब्ध गराउनुपर्छ । ग्रामिण स्वावलम्बन कोष अहिले नाफामुखी संस्थाको जिम्मा लगाइएकोमा अचम्म लागेको छ । 

सहकारी संस्थाहरुलाई जबर्जस्ती मर्जरमा जान होइन स्वेच्छिक रुपमा एकीकरणमा जान प्रेरित गर्नुपर्छ किनभने भिन्न स्थानमा भिन्न आवश्यकता अनुरुप बचत तथा ऋण सहकारीहरु स्थापना भएका हुन्छन् ।त्यस्तै, प्रारम्भिक संस्थामा लघु उद्यमको सीपमूलक तालिमलाई पनि सँगै अघि बढाउनुपर्छ ।अर्को कुरा, म तालिममा सञ्जालको कुरा गर्दा जहिलेपनि प्रारम्भिक संस्थाहरुलाई नेफ्स्कूनमा आबद्ध हुन प्रेरित गर्छु । मलाई नेफ्स्कूनको माया छ, म शुभचिन्तक हुँ ।

पछिल्लो समयमा केही सहकारीमा समस्या देखिएका छन् । कारण के हो जस्तो लाग्छ तपाईलाई ?
सहकारीहरुमा पछिल्लो समयमा केही समस्याहरु देखिएको विषयमा म पनि चिन्तित छु । सिद्धान्त, मर्म र मुल्यबाट अलग रहेका संस्थाहरुमा सुशासनको समस्या देखिएको छ । सहकारीलाई केही सीमित व्यक्ति वा सञ्चालकहरुले प्रयोग गरेका छन् । राजनीतिभन्दा अलग राखिनुपर्छ सहकारीलाई । जहाँसम्म PEARLS को कुरा छ, सहरका र ठूलो पुँजी भएका संस्थाहरुलाई यसको स्ट्याण्डर्ड कायम गर्नुपर्ने कुरा एकदम आवश्यक छ । तर ग्रामीण भेगका सहकारीहरुलाई तरलता बढी राख्नु पर्छ जस्तो मलाई लाग्दैन भने सम्पत्तिका विषयमा पनि मेरो केही रेजर्भेशन छ । त्यस्तै, स्प्रेड दर ६ प्रतिशतभन्दा कम हुनुपर्ने सहकारी ऐनको व्यस्था ठीक छ तर ऋणको ब्जार दरमा क्याप लगाउने कुरा मलाई सही लागेन । श्रम ऐन अनुसार गाउँ घरका सहकारीहरुले कर्मचारीहरुलाई सेवा सुविधा उपलब्ध पुर्याउन पनि कठिन छ ।

बचत ऋण सहकारीहरुलाई कसरी दिगो र विश्वासिलो बनाउने ?
राजनीतिबाट अलग तर अभियानमा आधारित हुनुपर्छ बचत ऋण सहकारीहरु । सरकारले सहकारीमैत्री कानून तथा नीतिहरु निर्माण गनुपर्छ । म त भन्छु, सुशासनबाट बाहिरिएका सहकारीहरुमा कुनै न कुनै रुपमा सरकारको संरक्षण छ । सरकारका पदाधिकारीहरुसँग कुनै न कुनै रुपमा सम्बन्ध नभइकन त्यस्तो बिचलन आउँदैनथ्यो भन्ने लाग्छ चाहे त्यो ओरेन्टलको होस वा सिभिलको होस् । लीडरशीप दक्ष र सुशासित हुनुपर्छ । केन्द्रीय निकाय नेफ्स्कूनले आफ्ना सबै सदस्यको सघन मनिटरिङ गर्नुपर्छ र आफ्नो स्कूलिङभित्र राख्नुपर्छ । 

विगत र अहिलेका सहकारीहरुमा तात्विक अन्तर के पाउनुभएको छ ?
अहिलेका सहकारीहरुमा ‘अध्यक्ष’ बन्ने होड छ, पहिला राम्रो व्यक्तिलाई अध्यक्ष बनिदिनुपर्यो भनेर आग्रह गर्नुपर्ने स्थिति थियो । अहिलेका सहकारीको नेतृत्ववर्ग व्यक्तिगत स्वार्थमा लिप्त भएका कारण समस्या आएको छ । सहकारीमा पुँजी बढेसँगै व्यक्तिगत प्रयोजनका लागि रकम दुरुपयोग गर्ने संस्कृति मौलाएको छ । 

तालिमसँगै यहाँले पुस्तक तथा प्रशिक्षण सामाग्रीहरु पनि तयार पार्नुभएको छ ?  
दिपक प्रकाश बाँस्कोटाको कार्यकालमा राष्ट्रिय सहकारी महासंघले बनेपामा आयोजना गरेको सम्भवतः पहिलो व्यावसायिक योजना निर्माणसम्बन्धी तालिमको प्रशिक्षण गरेको थिए । त्यो तालिमको डिजाइन समेत मेरै थियो । त्यस बेला तत्कालीन जनप्रतिनिधि पनि तालिममा सहभागी हुनुहुन्थ्यो भने पछिल्लो पटक केही समयअघि महासंघले सञ्चालन गरेको सहकारीमा कर व्यवस्थापन तालिममा पनि प्रशिक्षण गर्ने मौका पाएँ । त्यस्तै, महासंघले निकालेको सहकारी लेखापालन तालिम प्रशिक्षण सहयोगी पुस्तिका २०७३ तयार पार्ने काममा संलग्न थिए । त्यसबाहेक सेसीमै छदाँ पनि बचत तथा ऋण (समूह) संस्था व्यवस्थापन निर्देशिका तयार पारेको थिएँ भने लघु वित्त र सहकारीसम्बन्धी २५ वटा भन्दा बढी तालिम पुस्तिका लेखनको काम समेत गरेँ ।


 

saccosaawaj media

ऋण संघ ऐन (Credit Union Act) को आवश्यकता

सोमबार, साउन ५

निवर्तमान अध्यक्ष, नेफ्स्कून

saccosaawaj media

सहकारी मर्जरका लागि उत्प्रेरित नभए सरकार दबाब दिन बाध्य हुने

सोमबार, साउन ५

डा. टोकराज पाण्डे रजिष्ट्रार, सहकारी विभाग

saccosaawaj media

दिगो विकास लक्ष्य र सहकारी

सोमबार, साउन ५

दिगो विकास लक्ष्य र सहकारी