शुक्रबार, वैशाख २१
०७:४३

दिगो र स्वाभीमानी जिल्ला संघ निर्माणमा नेफ्स्कूनको भूमिका महत्वपूर्ण

शुक्रबार, वैशाख ३
रञ्जनमणि पौड्याल
saccosaawaj
२०३५ साल असार ५ गते काभ्रेको ढुङ्खर्क (हाल बेथानचोक गाउँपालिका) वडा नं ९ चनौटेमा पिता परायनकुश र आमा लक्ष्मी बजगाईको जेठो सन्तानको रुपमा रामहरि बजगाईको जन्म भएको थियो । नेपालको सहकारी अभियानको झण्डै ३ दशक लामो यात्री बजगाई हाल राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष हुनुहुन्छ । 
पत्नी सिता घिमिरे बजगाई, छोरीहरु कविता र कृति र छोरा सक्षम बजगाई सहितको उहाँको परिवार हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नं १, इमाडोलमा स्थायी बसोवासरत छ । सहकारी अभियानको सुपरिचित व्यक्तित्व बजगाईसँग सहकारीका सामयिक गतिविधिसँगै निजात्मक अनुभूतिहरुका विषयमा साकोस आवाजले ललितपुर जिल्ला बचत संघमा गरेको भेटवार्ता यहाँ प्रस्तुत गरिएको छः

सहकारी पाटो

मुलुकको सहकारी क्षेत्रको पछिल्लो अवस्था यहाँलाई कस्तो लाग्छ ?
विश्व परिवेशसँगै नेपालको पनि सन्दर्भमा सहकारी अत्यन्त उर्वर क्षेत्र हो । यद्यपि, यसलाई माया, संरक्षण र व्यवस्थित गर्ने पाटो कमजोर छ । सहकारीका राम्रा कुरालाई प्रचार प्रसार गर्न राज्य र अभियानबाट सशक्त प्रयास भएका छैनन । सहकारी पवित्र कार्य भएपनि यदाकदा केही समस्याहरु छन् । ती समाधान गर्न स्वनियमनको सिद्धान्त पालना हुन सकेको छैन । सदस्यको क्षमता पनि छैन र सञ्चालकहरुको अगाडि स्वतन्त्र भएर धारणा राख्न सक्दैनन । 

अर्को, राज्य पक्ष र अभियानबाट पनि अनुगमनको पाटो फितलो छ । एकातिर संघीय सहकारी विभागमा अल्प जनशक्ति छ भने प्रदेश र स्थानीय तहमा सहकारी बुझेका कर्मचारी छैनन् । अहिले पनि सहकारीलाई अछुतको रुपमा हेर्ने सरकारी परिपाटी विद्यमान छ । अभियानमा पनि आफ्नो मातहतका संघ संस्थाहरुको अनुगमन निरीक्षण गर्ने, संस्थाहरु खोज्ने र उनीहरु सञ्जालमा सक्रियरुपमा जोडिने काम चित्तबुझ्दो रुपमा भएको छैन ।

जिल्ला बचत संघ प्रवेश कहिले र कसरी भयो ?
ललितपुर जिल्ला बचत संघ लि. २०५० साल असोज ३ मा स्थापना भएको सम्भवतः मुलुककै जेठो बचत संघ हो । महिला सहकारी नेतृ रोहिणी जोशीले ५ वटा संस्थाहरुबाट संघ स्थापना गर्नुभएको थियो । त्यसबेला जिल्ला संघ चलाउन हम्मे थियो । रोहिणी दिदीले आफ्नै घरमा राख्नुभयो, तर व्यवस्थित अघि बढाउन स्वाभाविक रुपमा कठिन थियो । त्यसपछि स्थानीय सहकारी अगुवाहरु नानीकाजी शाक्य, नेमवीर शाक्य, कुमार खत्री, रामशरण शर्मा घिमिरे, गोपाल प्रसाद घिमिरे आदिले संघलाई जीवित राख्नुपर्छ भन्ने अथक् प्रयास गर्नुभयो । २०६२ तिरबाट मात्र यो संघ वामे सर्न थालेको हो । 

स्वर्गीय धर्मराज शाक्य अध्यक्ष भएपछि यसले बिस्तारै गति लिन थाल्यो । त्यतिञ्जेल कार्यालय समेत थिएन, पद्मावतीमा एउटा दराजमा थियो संघ । धर्मराज शाक्य दाइले उहाँकै शाक्य पुचः भन्ने संस्था पछाडि एउटा कोठा भाडामा लिएपछि काम अघि बढ्यो । करिब २०६४ सालबाट अन्तरलगानी कार्यक्रम सुरु भयो । उपाध्यक्ष गोपाल घिमिरे, सचिव रामशरण शर्मा घिमिरे, कोषाध्यक्ष नारायणदत्त तिमल्सिना हुँदा अन्तरलगानी उपसमिति संयोजक तिमल्सिना हुनुहुन्थ्यो, म पनि ३ सदस्यीय समितिमा सदस्य भएँ । यसरी जिल्ला संघ प्रवेश भयो । त्यसबेला करिब १० वटा संस्थाहरुबाट मासिक बचत उठाउने, ऋण लगानी गर्ने आदि काम सुरु भएको थियो ।

पछि २ कार्यकाल सचिव भएँ र त्यसबखत पनि मैले अन्तरलगानी कै संयोजक भएर काम गरेँ । दुई वर्ष अघि २५ औं वार्षिक साधारण सभाबाट अध्यक्ष निर्वाचित भएँ ।

ललितपुर जिल्ला बचत संघको अहिलेको अवस्था कस्तो छ ?
ललितपुर जिल्लाभर हाल ५ सय ७५ को हाराहारीमा बचत तथा ऋण सहकारी संस्थाहरु छन्, तीमध्ये ५ सय २५ हामीसँग आबद्ध भएकोमा ३ वटा मर्ज भएकाले अबको सदस्य संख्या ५ सय २२ छ । । बाँकी रहेका न्यूनहरुलाई पनि संघमा आबद्ध गराउने प्रयास गरिरहेका छौं । संघको हालको कुल कारोवार १ अर्ब ७८ करोड २६ लाख ९१ हजार १ सय ६६ रुपैयाँ रहेको छ । सेयर पुँजी ४ करोड ६४ लाख २४ हजार ६ सय रुपैयाँ, जगेडा कोष ३ करोड ६७ लाख ६१ हजार १ सय १९ रुपैयाँ, निक्षेप १ अर्ब ६५ करोड ५२ लाख ६८ हजार ६ सय ४८ रुपैयाँ, ऋण लगानी १ अर्ब १० करोड ४६ लाख ८४ हजार २ सय ७८ रुपैयाँ र स्थिर सम्पत्ति ७१ लख ७५ हजार ६३ रुपैयाँ रहेको छ । 

पछिल्लो समयमा ललितपुर केन्द्रित सहकारीहरुमा समस्या देखिएको छ नि ?
ललितपुर जिल्ला सहकारीहरुको उर्वर भूमि नै हो । समुदायमा आधारित थुप्रै सहकारीहरु यहाँ छन् । ललितपुरका सहकारी संस्थाहरु ३ प्रकारका छन्ः पहिलोः सहकारी सिद्धान्त, मुल्य मान्यतामा आधारित, समुदाय केन्द्रित, सदस्यहरुसँग नङ र मासुको जस्तो घनिष्ठता भएको एकदमै अब्बल  सहकारी छन्, दोस्रोः सहकारीबाट पैसा कमाउनुपर्छ, सदस्यको बचत उठाएर पैसा चलाउनुपर्छ, भन्ने खालका सञ्चालक भएका सहकारीहरु र तेस्रोः देखासिखी गरेर लहैलहैमा खुलेका सहकारी छन् । दोस्रो र तेस्रो प्रकारका सहकारीका कारण समस्या देखिएको छ । समस्याग्रस्त १ सय ३४ सहकारीहरुमध्ये ललितपुरका जम्मा ४ वटा हुन् । तीमध्ये पनि १–२ वटा अहिले जीवन्त छन्, चल्दै छन् । त्यसरी हेर्दा नराम्रो नभएपनि एकाधमा समस्या देखिएको छ । 

यस्ता समस्या सम्बोधनका लागि बचत संघले के गर्दैछ ? 
बचत संघमा हाल कायम ११ उपसमितिमध्ये अनुगमन तथा मर्जर उपसमितिले आफुलाई प्राप्त टीओआरको आधारमा शंकास्पद संस्थाहरुको अनुगमन र निरीक्षण गर्दैछ । यस विषयमा ललितपुर महानगरपालिकासँग पनि छलफल गरेका छौं । संघले जिल्लास्थित ६ वटा स्थानीय तहमा पनि उपसमिति निर्माण गरेका छौं, जस अन्तर्गत १–१ वटा कार्यक्रम पनि गरिसकेको छ । मेयर, उपमेयर, वडा अध्यक्ष, सहकारी शाखा प्रमुखहरुसँग भेटेर सहकारी बुझाउने प्रयास गरिरहेका छौं । महानगरपालिकासँग साझेदारीमा तालिम शिक्षाका कार्यक्रम गरेका छौं । 

अभियानमा नजोडिने सहकारी बिग्रिने अवस्था आयो भन्ने हो । बचत संघको सदस्य भएपनि कारोबार वा अन्य गतिविधिहरुमा समाहित नहुने प्रारम्भिक सदस्य संस्थाहरु पनि भएकाले तीनमा स्थानीय तहका प्रतिनिधिहरु समेतको सहभागितामा संयन्त्र बनाएर सघन अनुगमन गर्ने सोच अनुसार अघि बढेका छौं ।

कतिपय सहकारीका अध्यक्षलाई सहकारीको सात सिद्धान्त, बचत ऋणले के गर्न हुने के नहुने भन्ने सामान्य ज्ञान, चार खाता, भल्ट व्यवस्थापन विधि, सफ्टवेयर आदिका विषयमा अनभिज्ञता रहेको पायौं । साढे ३ सय सहकारी नियमित टचमा छन्, बाँकी १ सय ७२ संस्थामा अब हामी जाने कार्यक्रम छ ।

अब संघले ऐन अनुरुप लगातार ३ वर्षसम्म साधारण सभामा सहभागिता नजनाएकाहरुको सदस्यता फिर्ता गर्छ, हामीलाई भोट होइन, स्वच्छ, पारदर्शी र सुशासनयुक्त संस्था चाहिन्छ भन्नेमा स्पष्ट छौं । नीति, विधि र प्रविधिमा नचल्नेलाई त्यसै छोड्नुपर्छ वा माया गर्नुपर्छ भन्ने होइन, उनीहरुलाई दायरामा ल्याउने, सिकाउने र बुझाउने काममा हामी लागेका छौं ।

उदाहरणका लागि, गुडविल सहकारीमा समस्या आएपछि मेरै अग्रसरतामा संस्थाका ३ सय सदस्यमध्येबाट ६ जनाको कार्यदल बनायौं । कार्यदलसँग अहिले पनि चरणबद्ध छलफल चलिरहेको छ । प्रहरी र स्थानीय तहसँग पनि छलफल गर्छौ । संस्था बन्द थियो, खुलाउने काम हामीले गर्यौं । संस्था र सञ्चालकहरुलाई जोडाउने काम गर्यौं र पछि अध्यक्षसँगै सबै सञ्चालकहरु प्रहरी हिरासतमा हुनुहुन्छ । अब रिपोर्ट के आउँछ त्यसको आधारमा अघि बढ्नुपर्छ । संस्था बन्द गर्नुहुँदैन भन्ने विषयमा मेयर, सिडियो, एसएसपीसँग बैठक बस्यौं । दुःख सुखमा साथ दिने काममा हामी लागेका छौं । मनोमानी गर्ने सञ्चालक वा कर्मचारीलाई कारवाही गर्नुपर्छ तर सदस्यको बचत सुरक्षा गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।

बचत संघको अहिलेको प्राथमिकता के हो ?
प्रथमतः सदस्य संस्थाहरुलाई जोगाउने, पुँजी सहयोग गर्ने, सञ्चालक र कर्मचारीहरुलाई निरन्तर शिक्षा तालिम सञ्चालन गर्ने, जिल्लाभरका बचत ऋण सहकारी संस्थाको समग्र वास्तविक तथ्याङ्क संकलन गरी प्रकाशित गर्ने र एकीकरणका माध्यमबाट संस्थाहरुलाई बलियो, दिगो र प्रविधिमैत्री बनाउने हाम्रो अहिलको प्राथमिकता हो । अब नयाँ संस्थाहरु दर्ता गर्ने भन्दा भएकाहरुलाई संरक्षित गरेर ठूलो र दिगो बनाउनुपर्छ भन्ने मान्यता हो ।

संघमा आफ्नो नेतृत्वमा हालसम्म भएका उपलब्धिहरु के हुन ?
शिक्षा तालिम निरन्तर अघि बढेको छ, पूर्व सञ्चालकहरुलाई सम्मान गर्यौं, रजत वर्ष मनायौं जुन ऐतिहासिक काम हो जस्तो लाग्छ, प्रत्येक महिना एउटा निःशुल्क तालिम सञ्चालन गर्छौ, संस्थाले माग गरेको अवस्थामा निःशुल्क प्रशिक्षक पठाउँछौं, ४०–४५ करोडको ब्यालेन्स सीट आज १ अर्ब ८० करोडको हाराहारीमा पुगेको छ, सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको समूह उर्जाशील र सहयोगी छ, व्यवस्थापन समूह दक्ष छ, भर्खरै ३ जना नयाँ कर्मचारी थपेर ११ जना पुगेको छ, भने नयाँ योजनासाथ अघि बढेका छौं । यसैगरी, स्थानीय तहकै वित्तीय लगायत सहकार्यमा चौथो साकोट समिट गर्न लागेका थियौं । जिल्लास्तरीय साकोस समिटको अवधारणा ललितपुर बचत संघबाट सुरु भएको हो । पोहोर गर्ने कार्यक्रम कोरोनाले रोकियो, यो वर्ष बैशाख २२ देखि २४ सम्म गर्ने कार्यक्रम पनि स्थगित गरेका छौं महाव्याधिकै कारण । १ सय ५० संस्थाको त सहभागीहरुको अन्तिम टुङ्गो लागिसकेको थियो । समयको अनुकूलतामा यो आयोजना गर्छौं ।

हामीले गरेपछि जिल्ला सहकारी संघले पनि जिल्ला सहकारी सम्मेलनको अवधारणा सुरु गरेको छ भने बाहिरका जिल्ला संघ र बचत संघले पनि यस प्रकारको कार्यक्रम विकास गरेका छन् ।
त्यस्तै, हामीले वित्तीय, प्राविधिक र व्यवस्थापन लगायतका समस्या देखिएका १८ वटा संस्थाको समस्या हल गरेका छौं । कोभिड पछि वित्तीय संकट हुनसक्छ भनेर तरलताको लागि कोष स्थापना गरेका थियौं, तर कुनै समस्या देखिएन जुन हाम्रा लागि उपलब्धि नै हो ।

संघका चुनौती के के हुन् ?
सबै सदस्यहरुलाई क्रियाशील बनाउनु प्रमुख चुनौती छ । ३ वटा सरकारका कारण राज्यसँग जोडिने अनुगमन निरीक्षणको पाटोमा बुझाई र कामगराइमा एकरुपता नभएका कारण असहज भएको छ । जिल्ला, प्रदेश, केन्द्रीय संघ र बैंक सबैले अन्तरलगानी गर्ने भएका कारण सदस्यहरु कहाँ र कतिवटामा आबद्ध हुने, कतिवटामा कारोबार गर्ने भन्ने कठिन छ ।  प्रतिस्पर्धा होला तर ब्याजदरमा कतै अस्वस्थ्य प्रतिस्पर्धा होला कि ? भन्ने चुनौती छ । अभियानमा एकता भएन । अभियान एक भयो भने सहकारीप्रति कसैले धावा बोल्न सक्दैन ।

सहकारी बैंक प्रवेश कहिले भयो ?
२०६७/६८ तिर आमन्त्रित सञ्चालकको रुपमा प्रवेश गरेँ । २०७० सालमा निर्विरोध सञ्चालक चुनिएँ । बैंकमा सञ्चालकको रुपमा अहिले दोस्रो कार्यकालमा छु ।

सहकारी ऐन कस्तो आयो ?
नराम्रो पनि छैन र धेरै उत्कृष्ट पनि होइन । सदस्य बन्न आज पायो तर ऋण लिन ३ महिना कुर्नुपर्ने व्यवस्था न्यायोचित हो र ? मानिसको स्वतन्त्रतामाथि अंकुश होइन ?
८ वटा कोषमा रकम छुट्याउदा सदस्यले लाभांश कहाँबाट कसरी पाउने ? ऐनमा बढीमा १८ प्रतिशत लाभांश वितरण गर्न सकिने भनेपनि सबै कोषमा रकम विभाजन गर्दा ८–१० प्रतिशत पनि ख्वाउन सकिने स्थिति छैन ।
त्यस्तै, सन्दर्भ ब्याजदरको विषयमा पनि मेरो विमति छ । संस्थाका सदस्यहरु कस्ता छन्, भौगोलिक अवस्थिति, आयश्रोत आदिलाई आधार नमानी अंकुश लगाउने कुराहरु समय सान्दर्भिक होइन जस्तो लाग्छ । 
त्यस्तै, सहकारीका सञ्चालकहरुले वार्षिक सम्पत्ति विवरण चार्टड अकाउन्टेन्टबाट प्रमाणित गरेर गोप्य रुपमा सरकारी निकायमा बुझाउने संयन्त्र हुनपर्छ भन्ने लाग्छ । ऐनमा कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरणको व्यवस्था गरिएपनि तिनको अत्तोपत्तो छैन । यस्तै, बचत ऋण सहकारीहरुलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने कानून नै छैन । गैर वित्तीय क्षेत्रमा लगानी गर्न सकिदैन । पर्यटन, कृषि, जलविद्युत जस्ता राष्ट्रिय प्राथमिकताका क्षेत्रहरुमा हामीले लगानी गर्न पाएका छैनौं । ऐन संशोधन गरेर पुँजी कोषको केही प्रतिशत लगानी गर्न पाउने प्रावधान राखिनुपर्छ । सहकारीमैत्री सरकार र कानून हुनुपर्छ सँगै हामीपनि सुशासनमा बस्नुपर्छ । सुशासन महासंघदेखि कायम हुनुपर्छ ।

दोहोरो सदस्यता र मुख्य कारोबारको विषयमा यहाँको धारणा ?
दोहोरो सदस्यता अहिले नै लागू गर्न कठिन छ । सहकारी संस्थाहरु एकीकरणका लागि राज्यले कर छुट, ऋण नउठेको रकम उठाउन पहल, एकीकृत संस्थाहरुलाई सहुलितय कर्जा जस्ता नीति र कार्यक्रम ल्याइ दिगो, सक्षम र बलियो सहकारी भए भने एक सहकारी एक सदस्य ठीक हो । अन्यथा सम्भव छैन । 
मुख्य कारोबारको विषयमा मेरो स्पष्ट धारणा छ, उद्देश्य अनुरुप काम गर्नुपर्छ । यसको लागि म सबैलाई अनुरोध पनि गर्छु ।

कोपोमिसका सम्बन्धमा यहाँको विश्लेषण के छ ?
कोपोमिसको सोच राम्रो हो तर पूर्णतः कार्यान्वयनमा आउन सकिरहेको छैन । संस्थाहरुले इन्ट्री गर्न असहज र झंझटिलो भएको कुरा आएको छ, यसलाई प्रभावकारी बनाउने हो भने यो ठीक छ । यसलाई पूर्ण कार्यान्वयनमा ल्याउन हामी संघहरुले पनि सहयोग गर्नुपर्छ । राज्यले पनि यसलाई नवीन सफ्टवेयरको प्रयोगमार्फत सरल, सहज र प्रभावकारी बनाउनुपर्छ । धेरैले गुनासो गरेको सुनिन्छ । पूर्व रजिष्ट्रारले बागमती र १ नं प्रदेशबाट यो साउनदेखि लागू गर्ने भन्नुभएको थियो कति कार्यान्वयन हुन्छ, तर हामीले सहयोग गर्नुपर्छ ।

बिशिष्टीकृत संघको अवधारणा अनुरुप संघहरु स्थापना हुँदैछन् । यसका विषयमा यहाँको भनाई के हो ?
बिशिष्टीकृत संघ कतिवटा बनाउने हो ? कुन कुन प्रकृतिका बनाउने हो ? अरुले जे गर्यो त्यही गर्ने नक्कल हाम्रो छ । आफैमा राम्रो भएपनि खासै उपलब्धि होला जस्तो लाग्दैन । कार्यविधि राम्रो बन्नुपर्छ । मेरो विचारमा बरु प्रारम्भिक संस्थाहरुले जगेडा कोषको ३, ५ वा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था हुनुपर्छ भन्ने लाग्छ ।

सहकारी क्षेत्रमा तत्काल गर्नुपर्ने कामहरु के के हुन ?
एकीकरणलाई प्रश्रय दिनुपर्यो, सञ्चालकहरुको सम्पत्ति विवरण सम्बन्धित निकायमा गोप्यरुपमा बुझाउने संयन्त्र विकास गर्नुपर्यो, सदस्यहरुले सहकारीबाट ऋण लिएपछि तिर्नुपर्दैन भन्ने मानसिकता हटाउने अवस्था सृजना गरिनुपर्दछ, ऋण नतिर्नेमाथि राम्रै खालको छडी लगाउने कानुन निर्माण गरिनुपर्छ, सरकारलाई सहकारी बुझाउनु पर्छ र प्रारम्भिक संस्था राम्रो चलाउने वा चलाएको व्यक्तिलाई मात्र अभियानको नेतृत्व गर्ने अवसर उपलब्ध गराउनुपर्छ चाहे त्यो महासंघ होस् वा विषयगत केन्द्रीय संघदेखि प्रादेशिक र जिल्ला संघ होस् ।

सहकारीमार्फत सम्मृद्धि सम्भव छ ?
हाम्रै पालामा सम्भव छ तर त्यसको लागि सोच बदल्नुपर्छ ।

नेफस्कूनसँगको व्यक्तिगत र व्यावसायिक सम्बन्ध कस्तो छ ?
सबै सञ्चालकहरु मेरा अनन्य मित्र हुनुहुन्छ । धेरै आदरणीय व्यक्तित्वहरु नै हुुनुहुन्छ । जिल्ला बचत संघ नेफ्स्कूनकै अंग हो, हाम्रो अभिभावक संघ हो । म नेतृत्वमा आएपछि फिल्डसँगको व्यावसायिक सम्बन्ध पनि राम्रो छ । कारोबार प्रगाढता उन्मुख छ । आवश्यकता हुँदा हामी जुनै प्रकारको पनि सहयोग गछौं र लिन्छौं पनि । बचत संघहरुलाई हेर्ने नेफ्स्कूनको दृष्टिकोण अलि फराकिलो हुनुपर्छ भन्ने लाग्छ । बचत संघ बलियो हुँदा नेफ्स्कूनलाई नै राम्रो हुन्छ । ९० प्रतिशत भन्दा बढी समस्या हल जिल्ला संघले नै गर्छ ।

नेफ्स्कूनले जिल्ला संघ साझेदारी कार्यक्रम सञ्चालन गरिरहेको छ ? ललितपुर जिल्ला संघको यसमा धारणा के हो ?
अभिभावक केन्द्रिय संघहरुसँग जोडिएर कार्यक्रम गर्नुपर्छ भन्नेमा विश्वास राख्छौ । नेफ्स्कूनसँग जोडिन कुनै समस्या छैन, जोडिनै पर्छ । जिल्ला संघ साझेदारीका सम्बन्धमा दुबै पक्षबाट फलोअपको काम कम भएको होला । साझेदारी कार्यक्रम अघि बढाउनुपर्छ भन्ने विषयम हाम्रो निर्णय नै भएको छ । कार्यान्वयनको चरणमा मात्रै जान बाँकी हो । कम्युनिकेशन ग्यापका कारण रोकिएको हो, यो पुरताल गरेर लानुपर्छ ।

जिल्लास्थित सदस्य संस्था र विषयगत केन्द्रीय संघबीच सञ्जाल समन्वयको कामलाई संघले कसरी अघि बढाएको छ ?
जिल्लाका बचत ऋण सहकारीहरु जिल्ला संघसँग मार्फत नेफ्स्कूनसँगको सञ्जालमा जोडिने हो । विषयगत जिल्ला संघको भूमिका कस्तो हुने भन्नेमा थप स्पष्टता आवश्यक छ । जिल्ला संघहरुलाई दिगो र स्वाभीमानी बनाउने काममा नेफ्स्कूनको भूमिका महत्वपूर्ण छ । नेफ्स्कून र ललितपुर जिल्ला बचत संघबीच प्रगाढता बनाउने विषयमा ललितपुर जिल्ला संघ क्रियाशील छ र व्यक्तिगत रुपमा म पनि प्रतिबद्ध छु ।

सहकारीलाई प्रविधि मैत्री बनाउन के गर्नुपर्छ ?
२०७२ को भुइँचालोपछि सिर्जित राजनैतिक एकताले विश्वकै उत्कृष्ट संविधान जारी गर्ने आधार तय गर्यो, त्यसैगरी, कोभिडले हामीलाई प्रविधिमा जान, नगदरहित कारोबारमा जान पाठ सिकाएको छ । त्यसका लागि राज्यले सपोर्ट गर्नुपर्छ । अभियान एक ढिक्का भएर एक महिने तालिका बनाएर घनीभूत बहस पैरवीमा लाग्ने हो भने सहकारीलाई प्रविधिसँग जोड्ने विषयका उल्झनहरु सबै हल हुन्छ भन्ने लाग्छ । 

सहकारी प्रवेश कसरी भयो ?
तत्कालीन बज्रबाराही बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिव कट्ट्ेल (जो मसँगै ललितपुर बसपार्कमा व्यापार पनि गर्नुहुन्थ्यो) को प्रेरणाबाट ऋण उपसमिति सदस्यको रुपमा सेवा गर्ने अवसर पाएँ । त्यसपछि २०५५ सालमा कट्टेल दाईकै प्रेरणा र समर्थनमा फरक प्रकृतिको प्रतिभा उपभोक्ता सहकारी संस्था स्थापनाको पहलकद्मी लिएँ । त्यसबेला ललितपुर डिभिजन सहकारी कार्यालयका प्रमुख नारायण ज्ञवालीले सही गरेर दर्ता अनुमति प्रदान गर्नुभएको थियो । म त्यसको अध्यक्ष थिएँ । त्यसपछि तत्कालीन राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दिपक प्रकाश बाँस्कोटाबाट उपभोक्ता पसलको उद्घाटन गरार्यौ प्रयागपोखरीमा । यसरी सहकारीसँगै व्यवसायलाई पनि निरन्तरता दिएँ ।

सहकारीसम्बन्धी तालिमहरुको अनुभव के कस्तो छ ?
प्रशिक्षक प्रशिक्षण (टट) लिएको छु, त्यसैगरी सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम CUDCC धेरै पटक लिएको छु । अरु सहकारीसम्बन्धी आधारभूत तालिमहरु पनि लिएको छु ।

सहकारी क्षेत्रमा तपाईको प्रेरणा ?
शिव कट्टेल र केबी उप्रेती हुनुहुन्छ ।

व्यक्तिगत पाटो

वाल्यावस्था कस्तो थियो ?
कष्टकर थियो । उपत्यकासँगै जोडिएको जिल्ला भएपनि दुर्गम झै थियो ढुङ्खर्क । बाटोघाटो थिएन, बाटो बनेपछि पनि पनौतीसम्म हामी हिडेरै आउथ्यौं । कमजोर आर्थिक अवस्थाका कारण पढ्न कठिन थियो । कृषि पेशामा संलग्न बुबाआमाले गाईभैसीको दुध बेचेको र अपुग अवस्थामा ऋण गरेरै मसहित १ भाइ (१५ वर्षको उमेरमा देहान्त) र ३ बहिनीलाई पढाउने विषयमा कञ्जुस्याइँ गर्नुभएन ।

शिक्षा कहाँ र कसरी प्राप्त गर्नुभयो ?
घरनजिकको पार्थलीभञ्ज्याङ अवस्थित विद्यालयमा ५ कक्षासम्म पढेँ । ग्यालडुङस्थित पार्वती माध्यमिक विद्यालयबाट २०५० सालमा एसएलसी दिएँ । 

काठमाडौं कहिले आउनुभयो ?
पढाइसँगै आर्थिक जीवनलाई पनि परिवर्तन गर्नुपर्छ भन्ने ठानेर एसएलसी पछि काठमाडौं प्रवेश गरेँ । बुबाको जेठो मामाको छोराहरुको ललितपुरमा पसलहरु थिए । बुबाले खुवाको व्यापार गर्ने आमाको कान्छो मामासँग १० हजार रुपैयाँ पैसा सापटी लिएर मलाई दिनुभएको थियो । त्यही रकम लिएर म ललितपुर छिरेको हुँ । 

त्ससपछिका दिनहरु कसरी अघि बढे ?
संघर्षपूर्ण जीवनको यात्रारम्भ भयो । सुरुमा ललितपुर बसपार्कभित्र ९ हजार लगानी गरेर प्रल्हाद चौलागाई (काभ्रे रोशी) को सहयोगमा पसल किनेँ । पसलमा पेटी, पर्स र मेकअपका सामानहरु फोल्डिङ खाटमा राखेर बिक्री गर्दथेँ । त्यसपछि झोला, चस्मा आदि पसलहरु गरेँ तर कुनै बाट पनि खास प्रगति भएन । 
दुःखका दिनहरुमा रोगहरु जोडिएँ, जन्डिस, टाइफाइड आदिले गाज्यो । टाइफाइड हुँदा उपचार गर्न नसकेर रुदै घर गएँ । आमाको तिलहरी पनौतीमा बाडाहरुमा बन्धकी राखेर ३ हजार रुपैयाँ ल्याएर उपचार गरेँ र कोठाको भाडाको हिस्सा तिरेँ । 

त्यसपछि खासाको व्यापार गरेँ । लगनखेलका अधिकांश व्यापारीहरु हप्तैपिच्छे गाडी रिजर्भ गरेर सामान लिन खासा जान्थे । म पनि सहभागी भएँ । एक पटकको कुरा हो, सामान लिएर फर्कदै गर्दा खाडीचौरमा प्रहरीले सिठ्ठी बजायो, चालकले गाडी रोकेन र अलिक पर गएर मात्र रोक्यो । रिसाएको प्रहरीले हाम्रा सामान जफत गर्यो । हाम्रो अनुनय विनयको सुनुवाइ भएन । अन्त्यमा, एक हवल्दारले किनिदिएको ज्याकेट लिएर, मसँगैको गौचन दाईले खाडीचौरबाट काठमाडौं आएको ५० रुपैयाँ तिरिदिएपछि, यहाँ फर्के । भएको सम्पत्ति सबै सकियो, फेरि ५ हजार ऋण मागेर, रेडिमेड व्यवसाय गरेँ र सँगै सहकारी प्रवेश गरेँ ।

व्यापार कसरी अघि बढ्यो ?
असफलताको श्रृङ्खलापछिको पछिल्लो व्यापार धेरैको साथ सहयोगको बुतामा बिस्तारै स्थिरतातर्फ बढ्यो । सामानहरु पनि उधारोमा उपलब्ध भयो, पैसा पनि किस्तामा लिएर चलाउने प्रचलन थियो र व्यापारिक गर्जो टार्न सहकारीको साथ पनि थपियो । 

विवाह कहिले र कसरी भयो ?
बुबाआमा बैष्णवी भएका कारण छोराले शाकाहारी र त्यसमा पनि माछामासु नखाने बुहारी ल्याए हुन्थ्यो भन्ने इच्छा थियो । दुई चार ठाउँमा बुबाले लानुपनि भयो तर चित्त बुझेन । एक दिन बुबासँगै गाउँका छिमेकी केशव दाईले केटी देखाउन लानुभयो । दाईले ‘धेरै टाढा छैन’ भनेर चापागाउँ लानुभयो अनि ‘अब धेरै लाग्दैन, हिडेर भन्दा मिनीट्रकमा चढेर जाऔं’ भन्नुभयो । तर लतिलपुर नै भएपनि भौगोलिक र यातायातको विकटताका कारण चापागाउँबाट गाडीमा समेत करिब ५ घन्टामा बुखेल गाविसको बिमिरे भन्ने स्थान कत्तुनभञ्ज्याङ (गोटीखेल नजिक) पुग्यौं । केटी हेरेपछि त्यसैदिन चित्त बुझ्यो र २०५६ सालमा करिब २२ वर्षमा बिवाह भयो ।

एउटा डाँडो वारि ललितपुर र पारी काभ्रे पर्छ । त्यसैले गाडीमा आउँदा धेरै घुम्नुपर्ने र हिडेर जाँदा एउटा डाँडा काट्दा हुने भएकाले बिहान करिब ४ बजेतिर जन्ती हिडेर लभगभ ७ घन्टाको बाटो हिडेर र बिबाह गरेर त्यति नै समय लगाएर फर्केका थियौं । बाजा बजाएर बिहे भएको थियो मेरो ।  जन्तीका मेरा साथीहरु र स्थानीयहरुबीच राजनीतिक विषयलाई लिएर केही वाक्युद्ध समेत भएको भन्ने सुनेको थिएँ । 

भान्सामा समय बिताउनुहुन्छ ? मनपर्ने खाना के हो ?
मेरो बुबा, आमा, श्रीमती सबै भान्सामा काम गर्न रुचाउनुहुन्छ, त्यसैले रहर लागेपनि मैले धेरै समय भान्से बस्नुपर्दैन तर प्रायः सबै खानाका परिकार पकाउन आउछ । पहिले कोठामा बस्दा आफै पकाउथेँ पनि । हाल म साकाहारी हुँ । माछामासुको स्वाद लिएँ तर एकपटक खाएपछि, खान सकिन र छोडेँ । धेरै पहिला चामलको भात अन्यन्त मन पथ्र्यो, ढिडो मन पर्दैनथ्यो, त्यही चामलको भात खान लतिलतुर आइयो, काभ्रे छोडेर, अहिले भने ठीक उल्टो छ ।

मनपर्ने पोशाक के हो ?
कोट पाइन्ट मनपर्छ ।

अरु रुचि के छ ?
रनिङ मनपर्छ, मौलिकता झल्काउने र राष्ट्रप्रेम समाहित भएको नेपाली चलचित्र मनपर्छ । पछिल्लो समय ४ वर्ष भएछ, टीभी नहेरेको । सामाजिक सञ्जाल हेरेपनि कमेन्ट भने एकदम कम गर्छु ।

फुर्सद मिल्दा कसरी बिताउनुहुन्छ ?
फुर्सद ज्यादै कम मिल्छ । धेरै अघिको रेडिमेड पसलको विकसित रुप फेन्सी पसल हाल मच्छिन्द्र मिनी मार्केट भन्ने स्थानमा छ, त्यसबाट घर चलेको छ । श्रीमतीले सम्पूर्ण व्यापार गरेका कारण म यसरी निर्धक्क सहकारीसँगै सामाजिक कार्यमा लाग्न पाएको छु । श्रीमती र परिवारले उपलब्ध गराएको स्वतन्त्रताले मुलतः स्वयंसेवी सहकारी जीवन चलेको छ । त्यसैले फुर्सदको समय पसलमा दिन्छु भने सामाजिक काममा पनि संलग्न हुन्छु । लेख रचनाहरु पत्रपत्रिकामा पढ्छु पनि ।

योग, व्यायाम र धार्मिक आस्था कत्तिको छ ?
करिब डेढ वर्ष नित्य योग गरेँ । हाल मर्निक वाक् जान्छु । धार्मिक आस्था छ तर मुर्ति पुजेरै सबथोक हुन्छ भन्ने छैन । गीता, वेद, पुराणले जे वर्जित गरेको छ त्यो गर्नुहुँदैन भन्ने लाग्छ तर धेरै ढोगीँ भएर पुजापाठ नै गर्नुपर्छ मन्दिरमै गएर समय बिताउनुपर्छ भन्ने छैन । यसमा बुबाआमासँग केही विपरित विचार छ ।

नेपाल बाहिर कहाँ पुग्नुभयो ? स्वदेशका कति जिल्ला पुग्नुभयो ?
विदेश भ्रमण रुचिकर लाग्छ । दक्षिण कोरिया, श्रीलंका, इन्डोनेसिया, चीन, थाइल्याण्ड र भारत गएको छु । स्वदेशका करिब ५२ जिल्ला पुगँे र बाँकी पनि छिट्टै पुरा गर्छु भन्ने लाग्यो छ । 
 

saccosaawaj media

ऋण संघ ऐन (Credit Union Act) को आवश्यकता

सोमबार, साउन ५

निवर्तमान अध्यक्ष, नेफ्स्कून

saccosaawaj media

सहकारी मर्जरका लागि उत्प्रेरित नभए सरकार दबाब दिन बाध्य हुने

सोमबार, साउन ५

डा. टोकराज पाण्डे रजिष्ट्रार, सहकारी विभाग

saccosaawaj media

दिगो विकास लक्ष्य र सहकारी

सोमबार, साउन ५

दिगो विकास लक्ष्य र सहकारी