बुधबार, वैशाख २६
०६:३६

प्रधानमन्त्रीसँगको त्यो ६० मिनेट

बुधबार, फागुन ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भीम गुरुङ
प्रमुख कार्यकारी अधिकृत, पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.

मुलुक कोभिड कहरबाट भर्खर तङ्ग्रिन खोज्दैछ । खोपले खुसीका खबरहरु सञ्चार गरेको छ । तरल राजनीतिक सरगर्मीका बाबजूद सहकारी क्षेत्र आफ्नो भूमिका थप गुणस्तरीय, विश्वसनीय र दिगो बनाउन उद्यत छ । मुलुकको आर्थिक समावेशिता, सबलीकरण र सशक्तिकरणको प्रमुख स्तम्भ सहकारीको साथ विना ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियान सफलीभूत हुन नसक्ने सबैले मनन गरेको विषय हो ।

यसै मेसोमा गत माघ २४ गते मुलुकको कार्यकारी प्रमुखसँग करिब २ सय सहकारीकर्मीहरुको भेटको संयोग जुर्यो । वैयक्तिक अनुभूतिमा मात्र नभई समग्र सहकारी अभियानकै लागि त्यो भेट महत्वपूर्ण रह्यो । राजनीतिक रंग र झुकावलाई दृष्टिगोचर नगरी सहकारी क्षेत्रलाई मार्गनिर्देश गर्ने गरी सरकार प्रमुखले सहकारीक्षेत्रलाई महत्व दिनु पक्कै अर्थपूर्ण मान्न सकिन्छ । संयोगले उक्त भेटमा सहभागिताको अवसर प्राप्त फगत एक सहकारी अभियन्ताको अन्तश्चक्षुबाट प्रधानमन्त्रीसँगको त्यो भेटको संश्लेषण यो आलेखमा गर्ने प्रयत्न गरेको छु । सरकार प्रमुखसँग करिब ६० मिनेटको त्यो साक्षात्कारको सार सबै सहकारीपूजकहरुका लागि उपयोगीसिद्ध हुने ठानेको छु ।

समय व्यवस्थापन र आत्मविश्वासः
प्रायः सहभागीहरु निर्धारित समय अगावै कार्यक्रम स्थल पुग्यौं । तोकिएको समय पछि बालुवाटार पुग्नुभएकाहरु सहभागिताबाट बञ्चित हुनुभयो । कोरोना कहरका कारण सहभागी संख्याको सीमितताका  कारण प्रवेशमा कडाइ अस्वाभाविक थिएन । करिब ११ः१० तिर प्रधानमन्त्री कार्यक्रम स्थल प्रवेश गर्नुभयो । मुलुकको प्रभावशाली र शक्तिशाली कार्यकारी प्रमुख, कार्यव्यस्तता, असहज परिस्थिति एवम् शारीरिक अवस्थताका बीच निर्धारित समयमै कार्यक्रम सुरु र समापन गर्नुभयो । भनिन्छ, विश्वासले विश्व जितिन्छ । सदाझैं प्रधानमन्त्रीको प्रस्तुतिमा प्रभावको उत्कर्ष र आत्मविश्वासको आभा स्पष्ट झल्कन्थ्यो । प्रधानमन्त्रीको समय व्यवस्थापन रणनीति, आत्मविश्वास, प्रभावशाली प्रस्तुति सबै सहकारीकर्मीहरुका लागि ग्रहणीय थियो । समयलाई आफ्नो अनुकूल व्यवस्थापन गर्ने, सम्बोधनका विषय छनौट र जस्तो सुकै अप्ठ्यारोमा पनि आत्मविश्वास कायम गर्न सकियो भने कुनै लक्ष्य असम्भव छैन भन्ने प्रधानमन्त्रीको भावभङ्गी थियो । 

बिचार र सिद्धान्तः सहकारी सञ्चालनको मूल कसी:
विचार र सिद्धान्तको आधारशिलामा देश र संगठन अघि बढ्ने विषयमा धारणा राख्नुभएका प्रधानमन्त्रीले सहकारीलाई पनि सैद्धान्तिक जगमा बलियो सावित गर्नुपर्ने विषय जोड्नुभयो । सैद्धान्तिक विचलनले असहज परिस्थिति जन्मन सक्ने बताउँदै उहाँले परिस्थितिजन्य घटनाक्रमहरुलाई रणनीतिक विश्लेषण गर्दै नेतृत्व गर्ने शिल्प आवश्यक हुने उल्लेख गर्दै प्रधानमन्त्रीले सहकारीहरुलाई पनि सैद्धान्तिक स्खलनबाट जोगाउनुपर्ने आवश्कता औंल्याउनुभयो । जसरी राजनीतिक दलको भविष्य असल कार्यकर्ता र सिङ्गोे सचेत नागरिकमा निहित रहन्छ, सहकारीको भविष्य समेत सक्रिय सदस्य र कुशल सञ्चालकहरुको हातमा रहेन हुँदा सदस्य केन्द्रित भई संस्था सञ्चालन गर्न प्रधानमन्त्रीले सचेत गराउनुभयो । 

समृद्ध नेपाल, सुखी नेपाली र दिगो सहकारी:
मुलुकको कार्यकारी प्रमुखको अर्को रणनीतक सुझाब थियो– हरेक व्यक्ति वा संस्थाको आफ्नै सपना वा परिकल्पना हुनुपर्छ । समृद्ध नेपाल, सुखी नेपाली नेपाल सरकारको परिकल्पना भएको बताउनुभयो । लक्ष्य पुरा गर्न सरकार कटिबद्ध रहेको प्रत्याभूत गराउँदै प्रधानमन्त्रीले सहकारीलाई पनि सरकारको अभियानमा घनिष्ठ साइनो जोड्न आव्हान गर्नुभयो । दिगो सहकारी निर्माणको श्रीगणेश सपनाबाट सम्भव हुने विचार प्रधानमन्त्रीले प्रस्तुत गरिरहँदा सबैको मनमा एउटा प्रधान प्रश्नले घर जमायो भन्ने लाग्यो –‘के साँच्चि हामीले आफ्नो सहकारीको परिकल्पना वा ध्येय तय गरेका छौं ?’ सपना देखेका मात्र छौं कि त्यसलाई साकार बनाउने मार्गचित्र पनि कोरेका छौं ?’ योजनाको महत्वसम्बन्धी प्रधानमन्त्रीको सुझाब सबै सहभागीहरुका लागि संस्था सञ्चालनको अचूक अस्त्र भएको मैले ठम्याएँ । यस्तो लाग्थ्यो, हामी एउटा सहकारीको रणनीतिक योजना निर्माण गोष्ठीमा सहभागी थियौं । 

सगरमाथाको ढुङ्गा र बजारीकरण रणनीति:
हरेक व्यावसायिक संघ संस्थाको सफलताको कडी बजारीकरण रणनीति हो । बजार विश्लेषण कसरी गर्ने, बजारमा कसरी टिकिरहने, बजारको माग सम्बोधन कसरी गर्ने, संस्थाको बस्तु तथा सेवा बजारमा कसरी बिक्रीयोग्य वा रुचिकर बनाउने, बजारमा संस्थाको आधिपत्य कसरी स्थापित गर्ने ? हामी यी यावत समस्याको समाधान खोजिरहेका हुन्छौं । एउटा घडी बनाउने नेपाली व्यापारीको रोचक उदाहरण दिदै प्रधानमन्त्रीले सगरमाथाको ढुङ्गाको डायल जडित उक्त घडी १३ लाख रुपैयाँमा बिक्री गरेको र बजारीकरण सीप भयो भने एउटा ढुङ्गालाई पनि १३ लाख रुपैयाँमा बिक्री गर्न सकिने रहेछ भन्ने अत्यन्तै मार्मिक र यथार्थपरक उदाहरण सुनाउनुभयो । सगरमाथाको ढुँगालाई हिराको हारसँग तुलना गर्दै हिरा जहाँपनि पाउन सकिने तर सगरमाथाको ढुङ्गा एक ठाँउमा मात्र पाइने उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्रीको आशय थियो– ‘के सहकारीहरुले आफ्नो उत्पादन र सेवा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम ढंगबाट बजारीकरण वा प्रचार प्रसार गर्न सफल भएका छन् ?’ सरकार प्रमुखको उक्त सुझाव पश्चात नेपालमा अब बजारीकरण गर्ने विषयको सहकारी नै आवश्यक हो कि भन्ने आँकलन गरेँ । 

सहकारी व्यवसाय र सदुपयोगिताको सिद्धान्तः
प्रधानमन्त्रीको मन्तव्यको मध्यान्तरतिर सहकारीले सदुपयोगिताको सिद्धान्त लागू गरेर कार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँको जोड थियो, ‘हाम्रो भूगोल एउटै प्रकृतिको छैन, जहाँ जे सम्भव छ, त्यहाँ त्यहि विषयमा केन्द्रित रहनुस् । बजारमा हिमाली भागतिरको स्याउ र जडिवुटिको माग छ, चौरीको दुध र छुर्पीको माग छ, पहाडमा हुने गुची च्याउ, पशुपालन, दुग्ध पदार्थ, कृषि पर्यटन तथा सहकारी पर्यटन जस्ता क्षेत्रमा लगानी प्रवद्र्धन गरौं ।’ प्रधानमन्त्रीले प्राकृतिक सौन्दर्यता बनजंगल हावा पानी र वातावरण आदिको समुचित प्रयोग र सदुपायेग गरेर दिगो बिकासको क्षेत्रमा सदुपयोग गर्न सकिने सुझाउनुभयो । उहाँको प्रशिक्षणमूलक मन्तव्य सुन्दा लाग्थ्यो, उहाँको अनभिज्ञताको विषय नै छैन र गर्दा असम्भव भन्ने विषय पनि केही छैन । 

महिला सशक्तिकरण र सामाजिक कुरीतिविरुद्धको आन्दोलनमा सहकारी:
सहकारी संस्था समाजको अगुवा संस्था हो । सामाजिक जागरण र राष्ट्रिय एकता निर्माणका लागि सहकारीले समाजमा व्याप्त कुरीति, रुढीबादी संस्कृति, भ्रष्टाचार, अन्याय अत्याचार र ढिलासुस्ती विरुद्ध अभियान थाल्नुपर्दछ । गरिब, एकल तथा वृद्धा महिलाहरुलाई बोक्सीको नाममा सामाजिक बहिष्करणमा परेका सयौं उदाहरण तर्फ सजग गराउदै प्रधानमन्त्रीले सहकारी अभियानले महिला सशक्तिकरण र चेतना अभिवृद्धि गर्दै सम्मानपूर्ण व्यवहार र सहकार्यपूर्ण संस्कृतिको लागि काम गर्नुपर्ने र त्यसो गर्ने सहकारीहरु मात्र सैद्धान्तिक र व्यावहारिक रुपमा सहकारी संस्कार स्थापित गर्ने अगुवा सहकारी हुने सुझाव दिनुभयो । उहाँले थप्नुभयो, ‘मैले सुनेको छु, सहकारीमा महिला सहभागिता करिब ५६ प्रतिशत छ, यसकारण सहकारीको भविष्य पनि राम्रो छ तर नेतृत्व तहमा महिलाहरुको सहभागिता एकदमै न्यून किन ? त्यसैले सहकारीको सबै समितिहरुमा ३३ प्रतिशत महिलाको उपस्थिति सुनिश्चित हुने व्यवस्था गर्नुस् । टेलिभिजन कार्यक्रममा एकजना महिलाको कथा सुनेको उदाहरण दिदै सहकारीमा लागेपछि आत्मबल बढेको, घर खर्चको लागि श्रीमानको भर पर्न नपरेको, गरिखान सकिने रहेछ भन्ने सिकेको र अहिले करोडौको व्यवसाय सञ्चालन गरेको पाएको र महिलाको अगुवाईमा भएको सहकारी सधै अनुशासित हुने समेत प्रधानमन्त्रीले बताउनुभयो । 

विषम परिस्थितिमा सहकारीको अहम भूमिका :
सहकारी क्षेत्र केवल आर्थिक आन्दोलन मात्र होइन । यो समाज परिवर्तन गर्ने सामाजिक र साँस्कृतिक आन्दोलन समेत हो । सहकारीहरु केवल पैसा लिनेदिने र नाफा कमाउने काममा मात्र केन्द्रित नभई, यो आन्दोलनलाई थप प्रभावकारी बनाउन सहकारीलाई सबै क्षेत्रमा चलायमान हुने गरी काम गर्न आग्रह गर्नुभयो । सहकारीकर्मीहरुलाई कर्मशील बन्न सरकार प्रमुखको सुझाब थियो । सहकारी केवल जागिर खाने र बाँच्ने पेशाको रुपमा भन्दा पनि उत्पादन वृद्धि र स्वरोजगारी सिर्जना गर्ने क्षेत्रको रुपमा बिकास हुनुपर्ने धारणा प्रधानमन्त्रीको थियो । विकासमा फड्को मार्ने र राष्ट्रले गौरव गर्ने क्षेत्रमा सहकारीले हात हाल्नुपर्ने उहाँको जोड थियो । प्रधानमन्त्रीले भुकम्प, बाढीपहिरो, कोभिड जस्ता प्राकृतिक विपत्तिको बेला सहकारी क्षेत्रबाट भएको सहयोगको उच्च सम्मान व्यक्त गर्दै देश दुःखेको बेला मलम लगाउन सहकारीको भूमिका अहम र महत्वपूर्ण हुने अभिव्यक्ति दिनुभयो । सबै सहकारीकर्मीलाई देश विकासको मूल प्रवाहमा एकजुट हुन प्रधानमन्त्रीको बिशेष जोड थियो । 

सरकारको ध्यान, सुलभ दरमा ऋण:
मन्तव्यको अन्त्यतिर प्रधानमन्त्रीले सहभागीहरुको ध्यान फेरि खिच्नुभयो । सरकारले प्रदान गर्ने अनुदान, सहुलियतपूर्ण ऋण तथा अन्य अवसरहरु आफ्ना मान्छे, आफ्नो कार्यकर्तालाई भन्दा असल कार्य गर्ने सहकारीलाई प्राथमिकता दिन निर्देशन दिनुभयो । काम गर्ने सहकारी भन्दा काम नगर्नेले सहयोग पाईरहेको तर्फ संकेत गर्दै जाती, भाषा, धर्म, आस्था भन्दा माथि उठेर साझा प्रयासबाट उच्च प्रतिफल हासिल गर्न आव्हान गर्दै सहकारी क्षेत्रलाई लगानीको अभाव हुन नदिन सरकारले सस्तो ऋण दिने प्रतिवद्धता समेत प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । उहाँको जोड थियो, नेपालमा केही सहकारीले उदाहरणीय काम गरेको सुनाउँदै उहाँले हेर्न लायक सहकारी निर्माणमा जोड दिन आग्रह गर्नुभयो । सरकारको प्रतिनिधि र विदेशी पाहुनालाई देखाउन लायक सहकारी बनाउनुपर्ने प्रधानमन्त्रीको आशय थियो । सहकारी संस्था राम्रो नबनाई नेता मात्र बन्न खोज्नु राजनीतिमा कार्यकर्ता नभई नेता हुनु सरह भएको चित्तबुझ्दो ‘अ्यानलोजी’ प्रधानमन्त्रीले प्रस्तुत गर्नुभयो ।  

सरकार–सहकारी सहकार्य:
प्रधानमन्त्रीको अर्को जोड मुलुकको दिगो विकासमा सरकार र सहकारी सहकार्यको अपरिहार्यतामा थियो । सरकार सबै क्षेत्रमा जान नसक्ने भएकाले बातावरण निर्माणमा मात्र भूमिका खेल्न सक्ने बताउँदै उहाँले सहकारीलाई स्थानीय स्तरमा जनतासँग प्रत्यक्ष सरोकारको विषयमा काम गर्न निर्देशन दिनुभयो । सीप, पूँजी र प्रविधिको क्षेत्रमा सरकारले अडेसा दिने बताउँदै प्रधानमन्त्रीले सहकारी भनेको सहयात्री, साथी भएकाले साथीहरुको व्यक्तिगत इच्छा आकांक्षा र विचारका कारण सहकारीमा समस्या आउन नहुने स्पष्ट पार्नुभयो । सहकारीकर्मीको ब्लड प्रेसर कहिलेपनि बढी हुनुहुँदैन, सधै सहकार्य र समन्वय र विश्वासमा काम गर्नुपर्दछ भन्दै प्रधानमन्त्रीले सरकार र सहकारी पनि मिलेरै अगाडि बढे सबैको कल्याण र विकास सम्भव हुने अन्तर्मनको अभीप्सा व्यक्त गर्नुभयो ।

अन्त्यमा,
प्रधानमन्त्रीको वाक्पटुतासँग विषयको गाम्भीर्यताको मिलनले ६० मिनेट काटिसकेको पत्तै भएन । अर्को महत्वपूर्ण कार्यक्रम सरकार प्रमुखको व्यग्र प्रतिक्षामा थियो । बिना कूनै भूमिका प्रधानमन्त्रीले एकमुष्ट धन्यवादसहित देश विकासमा थप सक्रियताका साथ लाग्न निर्देशनसहित मन्तव्य बिट मार्नुभयो । सामूहिक फोटो सेसन हाम्रो अन्तिम ‘मेन्यू’ थियो । सचित्र सम्झनाको कोसेली अनि सफल, उदाहरणीय र दिगो सहकारी निर्माणको प्रण मनमा प्रतिष्ठापन गर्दै त्यस दिनको अविस्मरणीय बालुवाटार बसाइ विर्सजन गरियो । जय सहकारी । 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ