एजेन्सी । भारत सरकारले प्रदान गर्ने चौथो ठूलो सम्मानबाट एक सहकारीकर्मी पुरस्कृत हुनुभएको छ । भारत सरकारले ७२ औं गणतन्त्र दिवसका अवसरमा गत सोमबार घोषणा गरेको उक्त पुरस्कारबाट प्रकृति र कर्म दुबै हिसाबले सहकारी साइनो गाँसिएकी अभियानकर्मी लक्ष्मी बरुवालाई सम्मानित गर्ने घोषणा गरिएको हो । उहाँले कोनोक्लाता महिला अर्बन कोअपरेटिभ बैंक स्थापनामा उल्लेख्य भूमिका निर्वाह गर्नुभएको थियो । उक्त बैंकले आसाम राज्यको जोरहट, शिवसागर र गोलघाट जिल्लाका हजारौं महिलाहरुको सामाजिक आर्थिक उत्थानमा सहयोग पुर्याएको थियो । सहकारी नेतृ बरुवाको बाल्यकाल भने आर्थिक रुपमा बडो कठिन थियो । आफ्नो पीडाबाट पाठ सिकेर उहाँले आसामी महिलाहरु सशक्तिकरणमा सहयोग पुर्याउने अभियान अन्तर्गत बैंक स्थापनामा अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो । सोही योगदानको कदर स्वरुप उहाँलाई सरकारले उच्चस्तरीय सम्मान प्रदान गर्ने घोषणा गरेको हो ।