शुक्रबार, वैशाख १४
०८:४८

सहकारी विषय औपचारिक पाठ्यक्रममा समावेश गर्न किमार्थ ढिलाई गरिनुहुँदैनः डा. पौडेल

सोमबार, मंसीर ८
रञ्जनमणि पौड्याल
saccosaawaj

(२०२६ साल चैत १४ गते बागलुङ नगरपालिका, वडा न. १२, अमलाचौर  साबिक अमलाचौर गाबिस. वडा. न. १, बरडाडामा बुबा ओम प्रसाद पौडेल र आमा विध्याकली पौडेलको माहिलो सन्तानका रुपमा जन्मनुभएका डा. ज्ञानेन्द्र प्रसाद पौडेलका दाजु गोबिन्द प्रसाद शर्मा पौडेल र भाईहरु लेखनाथ पौडेल र रामचन्द्र पौडेल हुनुहुन्छ । पत्नी चेत कुमारी शर्मा पौडेल (सरु) र छोरा आशिष पौडेल सँगै बुबा आमा दाजु भाई भाउजु बुहारी भतिजा भतिजी सहितको १७ जनाको  उहाँको परिवार सहकारी स्वरुपमा काठमाडौं -१६ बनस्थली, खरिबोटमा स्थायी बसोबास गर्दै आएको छ ।

त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट अर्थशास्त्रमा स्नातकोत्तर र सिन्घानिया बिश्वविद्यालय भारतबाट Credit Risk Management in Nepalese Cooperative Societies मा विद्यावारिधि पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल विद्याभूषण “क”, राष्ट्रिय सहकारी महासंघबाट कदरपत्र, राष्ट्रिय सहकारी बैंकबाट सहकारी विद्वता सम्मान, नेफ्स्कूनबाट नेफ्स्कून विद्वता सम्मान, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघबाट सम्मान पत्र एवम् अन्य दर्जनौ संघ संस्थाहरुबाट सम्मान र कदरपत्र प्राप्त गर्नुभएको छ ।  भारत, चीन र संयुक्त राज्य अमेरिका लागायतका राष्ट्रहरुको भ्रमण गर्नुभएका डा. पौडेलले International Institute of Social and Economic Sciences द्वारा सन् २०१६ को फेब्रुअरीमा अमेरिकाको मायामिमा आयोजित 5th Economics & Finance Conference मा नेपालको तर्फबाट राष्ट्र बैंकका तत्कालिन संचालक समितिका सदस्य डा. रामहरी अर्यालसँगै सहभागिता जनाउने अवसर प्राप्त गर्नुका साथै नेपालको सहकारी अभियानसँग सम्बन्धित रहेर कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र उपर सहभागी विभिन्न विश्वविद्यालयका प्राध्यापक र अर्थशास्त्रीहरुले प्रतिक्रिया व्यक्त गर्दै नेपालको सहकारी अभियानको प्रशंसा गरेका थिए ꓲ त्यसैगरी क्यानाडाको क्युबेकमा सन् २०१६ को अक्टोबरमा मा भएको सहकारीको अन्तराष्ट्रिय सम्मेलनमा Determinants of Capital Adequacy Ratio (CAR) in Nepalese Cooperative Societies बिषयक कार्यपत्र स्वीकृत भै प्रस्तुत गर्ने कार्यक्रम समेत रहेकोमा व्यक्तिगत कारणले भौतिक उपस्थित हुन नसकेपनि उक्त कार्यपत्र अन्तर्राष्ट्रिय सहकारी महासंघ (ICA) ले प्रकाशित समेत गरेको थियो ꓲ डा. पौडेल हाल सहकारी अध्ययन तथा अनुसन्धान केन्द्र नेपालका अध्यक्ष, राष्ट्रिय सहकारी बिकास बोर्डको सल्लाहकार, नेपाल मर्चेन्ट कोअपरेटिभ लिमिटेडको प्रबन्ध निर्देशक, नेपाली कांग्रेस वित्तीय तथा सहकारी संस्था समन्वय विभागको केन्द्रीय सदस्य तथा प्रचार प्रसार उपसमितिको संयोजक र नेशनल कलेज (निष्ट) मा अर्थशास्त्र विषयमा प्राध्यापन कार्यमा संलग्न हुनुहुन्छ । Credit Risk Management in Nepalese Cooperative Societies नामक कृति समेत प्रकाशित गर्नुभएका सहकारीविज्ञ डा.पौडेलसँग व्यक्तिगत संघर्ष, शिक्षासँगै सहकारी क्षेत्रका समसामयिक विषयमा गरिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।  सम्पादक )

यहाँको बाल्यावस्था कस्तो रह्यो ? स्वभाव, परिवारको आर्थिक स्थिति र पारिवारिक सम्बन्धका आयाम कस्ता थिए ? यहाँको कुनै अनौठो स्वभाव जुन धेरैलाई थाहा छैन ?
मेरो बाल्यकाल आम नेपाली सरह सामान्य नै रह्यो ꓲ चार दाजुभाई मध्येको माइलो सन्तानको रुपमा जन्मिएर घरपरिवारको माया, ममता र छहारीमा आमा, बुवा, हजुरआमा र परिबारका अन्य ज्येष्ठ सदस्यको काखमा लुटपुटिएर नै बाल्यकाल बित्यो ꓲ जब अलिक जान्ने भएर बाहिर खेल्न सक्ने भए तब देखिनै घरबाहिर बालसखाहरु र दाजु भाइहरु सँग नै खेल्ने र रमाइलो गरेर समय बिताइयो ꓲ बाल्यकाल देखि नै अलिकति अन्तर्मुखी स्वभावको थिए, आफुले कुनै गल्ती नगर्ने र अरु कसैले गल्ती गर्यो  भने नसहने स्वभाब थियो जुन आज पर्यन्त छ ꓲ सुरुदेखि नै कसैको चाकडी गरेर अरुलाई खुशी बनाउने भन्दा जिम्मेवारी र इमान्दारी साथ भूमिका निर्वाह गरेर खुशी बनाउन सकिन्छ र बनाउनुपर्छ भन्ने दृढ विश्वासमा अडिग छु । यही मान्यता र स्वभावका कारण धेरै ठाउँमा आफु पछि परेको अनुभूति समेत कहिलेकाँही हुने गर्दछ ꓲ मध्यम वर्गीय आर्थिक अवस्थाको परिवारमा मेरो जन्म भयो ꓲ हामी पहिला संयुक्त परिवारमा बस्दथ्यौं जहाँ हजुरआमा, आमा, बा, काका काकीहरू र सबै दाजुभाईहरु गरी जम्मा १४/ १५ जना थियौं ꓲ

मीति ठ्याक्कै याद भएन तर मैले कक्षा ७ मा पढ्दै गरेको हुनुपर्दछ बाबाहरु बीच छुट्टिभिन्न भयो र हामी आमा, बुवा र चार दाजुभाइहरु मात्र एकै ठाउँमा बस्न थाल्यौंं ꓲ हामीलाई स्कूल पढाउनकै लागि बुवा भारत जानुभयो भने आमाले घरमै रहेर सम्पूर्ण काम सहित अभिभावकीय भूमिका निर्वाह गर्नुभयो । छोराहरुको शिक्षाको लागि आमा र बुवाले धेरै दुःख र मिहेनत गर्नुपरेको थियो ꓲ दाजु गोबिन्द, म र साहिलो भाइ लेखनाथ सहित हामी तीन जना दाजुभाइहरु सँगसँगै जस्तो (१ वा २ कक्षाको मात्र फरक) स्कूलमा अध्ययन गर्दथ्यौ भने कान्छो भाई रामचन्द्र भने अलिक पछाडी नै थियो जसलाई मैले पछि स्कुलको शिक्षक भएर ८/९ कक्षामा पढाएँ पनि ꓲ सायद हामी तीन दाजुभाइको बीचको उमेरमा २(३ बर्षको मात्र अन्तराल भएर हुन सक्दछ, बाल्यकालमा कहिलेकाही हाम्रो बीचमा सामान्य झगडा, वादविवाद र ठाकठुक समेत पर्दथ्यो ꓲ तथापि पढ्ने र काम गर्ने सवालमा हामी प्रायः मिलेर नै गर्दथ्यौ ꓲ आफ्नो काम र जिम्मेवारी पुरा नगरी दाया बाया नगर्ने खालको स्वभाब मेरो थियो र त्यस्तो अनौठो खालको स्वभाब खासै केही छैन ꓲ


शिक्षाप्रति परिवारको सोच, विद्यालय, बालसखाहरु, शिक्षक, पढाइप्रतिको रुचि र लगाव कस्तो रह्यो ? गाह्रो, सजिला विषयहरु के रहे ?
शिक्षाप्रति परिवारका सबैको सकारात्मक सोच थियो र आफ्ना सन्तान मात्र होइन अरुले पनि सहज रुपमा पढ्न पाउनुपर्छ भन्ने मान्यता उहाँहरुमा थियो ꓲ हामी भन्दा अगाडि सम्म आफ्नै गाउँमा माध्यमिक तह सम्म पढ्न पाउने अवस्था थिएन ꓲ मैले कक्षा १ देखि ७ सम्मको अध्ययन गाउँमै रहेको पृथ्वी निम्न माध्यमिक बिद्यालय अमलाचौरबाट पूरा गरी माध्यमिक तहको अध्ययनको लागि छिमेकी गाउँ पैयुँपाटाको त्रिभुवन माध्यमिक विद्यालयमा भर्ना भै अध्ययन शुरु गरेँ ꓲ तर कक्षा शुरु भएको पहिलो महिना बित्दा नबित्दै बिद्यालयमा बिद्याथीहरु बीच ठूलो झगडा भयो ꓲ हामीहरुलाई खोला वारी र पारीको भन्ने नाममा झगडा भयो भनेर भनिएता पनि खासमा त्यो झगडा नेविसंघ र अखिलको बीचमा भएको रहेछ ꓲ त्यो झगडाको प्रतिक्रिया स्वरूप अमलाचौरमा नै माध्यमिक बिद्यालयको स्थापना हुन पुग्यो र त्यहि बाट कक्षा ८ र ९ सम्मको अध्ययन पूरा गरे ꓲ त्यतिबेला विद्यालयको आफ्नो भवन नहुँदा हामीले आफै बास, खर, काठ, ढुंगा बोकी टहरा निर्माण गर्न सघाउथ्यौं । प्रस्तावित माध्यमिक बिद्यालय भएको हुनाले स्थायी दरबन्दी नहुदा स्थायी शिक्षकहरुको ठूलो अभाव थियो र ठीक त्यही समय विद्यालयको प्रधानाध्यापक दिनानाथ शर्मा राजनैतिक कारणले भूमिगत हुनु भएपछि हामी केही विद्यार्थीहरु अन्यत्र जाने क्रममा म घरबाट झन्डै एक घण्टा हिड्नुपर्ने छिमेकी नारायणस्थानमा रहेको जनता माध्यमिक बिद्यालयमा १० कक्षामा भर्ना भई अध्ययन अगाडि बढाएँ । सोही विद्यालयबाट २०४४ सालमा एसएलसी उत्तीर्ण गरेँ ꓲ

त्यसपछि उच्च शिक्षा अध्ययनको सिलसिलामा चितवन, भरतपुरको बिरेन्द्रबहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह पूरा गरेँ ꓲ प्रमाणपत्र तहको दोश्रो बर्षको परिक्षा सकिएर घर गएको बेलामा मैले ९ कक्षा सम्म अध्ययन गरेको पृथ्वी माध्यमिक विद्यालयमा माध्यमिक तहमा गणित बिषयको शिक्षकको अभाब रहेकोले केही समय पढाउने काम गरेँ ꓲ काठमान्डौको रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातक तहमा भर्ना भएपनि गाउँको स्कूलमा पढाउँदै अध्ययन गर्न थालेँ ꓲ दोश्रो बर्षमा बिद्यालयमा पढाउन छाडेर अध्ययनलाई निरन्तरता दिएपनि दोश्रो बर्षको परिक्षा सकाएपछि फेरी गाउँको सोही बिद्यालयमा सोही बिषय पढाउन पुगेँ । स्नातक तह पूरा गरिसकेपछि बिद्यालयमा पढाउँदै गर्दा आफ्नो अध्ययनलाई निरन्तरता दिन अर्थशास्त्र केन्द्रीय विभाग कीर्तिपुरमा अर्थशास्त्रमा स्नातकोत्तर तहमा भर्ना भएँ ꓲ गाउँको बिद्यालय पढाउँदै काठमाडौंमा नियमित विद्यार्थीको रुपमा पढ्न पक्कै पनि सहज थिएन तथापि उच्च शिक्षाको तिर्खालाई जसरी पनि पूरा गर्ने दृढ आत्मविश्वासले २०५४ सालमा अर्थशास्त्रमा स्नातकोत्तर तह पुरा गरेँ ꓲ विद्यालयमा पढाउन छोडिसकेको थिए । विश्वविद्यालयको प्राध्यापक बन्ने उत्कट चाहना एकातिर थियो भने त्यति बेला सम्म बिश्वबिद्यालयमा स्थायी सेवामा प्रवेश गर्नका लागि कम्तिमा २ वर्षको प्राध्यापन अनुभव आवश्यक थियो ꓲ ठीक त्यही समयमा सुर्खेतको बिरेन्द्रनगर बहुमुखी क्याम्पसमा अर्थशास्त्र प्राध्यापन गर्ने व्यक्तिको आवश्यकता रहेको साथीहरु मार्फत थाहा पाई त्यहाँ पुँगे । जहाँ झन्डै ६ वर्ष जति बिरेन्द्रनगर बहुमुखी क्याम्पस र सुर्खेत क्याम्पस शिक्षामा स्नातक तहसम्म अर्थाशास्त्र बिषय अध्यापन गरेँ ।  यसरी जीवनको युवावस्थाको महत्वपूर्ण समय विद्यालय   र कलेज स्तरमा अध्यापन सेवामा लगानी गरेको छु भने त्यसबाट बचेको समय सामाजिक सेवाका क्षेत्रमा समेत खर्चिएको छु ꓲ मेरो पढाइप्रति  विशेष रुचि र लगाव थियो । विद्यालय तहसम्म राम्रै विद्यार्थीमा पर्दथे भने गणित अत्यन्तै सजिलो र अंग्रेजी केही असजिलो लाग्थ्यो ।

युवावस्थाको रुचि, पढाइ र अध्ययनशैली कस्तो थियो ?
युवावस्थाको रुचि अध्ययन, भ्रमण र अध्यापन थियो ꓲ अध्ययनको बीचमा आफुले अध्ययन गरेको पृथ्वी माध्यमिक विद्यालय अमलाचौरमा प्रमाणपत्र तह पछि २ बर्ष र स्नातक तह पछि पनि २ वर्ष गरि जम्मा ४ वर्ष तथा क्याम्पस स्तरमा बिरेन्द्रनगर बहुमुखी क्याम्पस र सुर्खेत क्याम्पस शिक्षा, सुर्खेतमा झन्डै ६ बर्ष पढाउने काम गरेको छु र अहिले पनि काठमान्डौको नेशनल कलेज (निस्ट) मा क्याम्पस लेभलमा अर्थशास्त्र प्राध्यापनमा क्रियाशील रहेको छु ꓲ मैले त्यतिबेला माध्यमिक तह र कलेज तहमा पढाएका विद्यार्थीहरु अहिले नेपाल सरकारको माथिल्लो तहसम्म, बैंकिंग र उद्योग बाणिज्य क्षेत्रमा, राजनैतिक क्षेत्रमा र समाजसेवाको क्षेत्रमा आफुलाई अब्बल साबित गरेर अगाडि बढ्दै गरेको देख्दा मनमा एक किसिमको हर्षानुभूती हुन्छ ꓲ त्यतिबेला माध्यमिक तहसम्म  घरमा पढ्नको लागि बिजुली बत्तीको उज्यालोको कुनै सुबिधा थिएन र मट्टीतेलको बत्ती बालेर पढ्नुपर्ने अबस्था थियो ꓲ रातको समयमा पढ्दा पढ्दै कतिखेर निदाएर बत्ती पल्टी आगलागी  हुने हो भन्ने एक किसिमको डर घरमा भैरहन्थ्यो ꓲ त्यसैले रातको समयमा पढ्न बस्दा प्रायः २(३ जना भएर समूहमा पढ्ने गर्दथ्यौ र यसरी पढ्दा एक आपसमा नजानेको बिषयमा सोध्ने र बुझ्ने काम हुन्थ्यो भने अर्कोतिर कसले बढी पढ्ने र परिक्षामा राम्रो अंक ल्याउने भन्ने एक किसिमको प्रतिस्पर्धा समेत हुन्थ्यो ꓲ

सहकारी क्षेत्रसँग कहिले र कसरी जोडिनुभयो ?  तीतामिठा अनुभव केही स्मरण गर्न चाहनुहुन्छ ?
क्याम्पसमा पढाउँदै गर्दा अर्थशास्त्रको बिद्यार्थी र प्राध्यापक भएको नाताले देशको आर्थिक विकास र समाजमा व्याप्त गरिबी, बेरोजगारी, पछौटेपन लगायतका बिषयमा बिशेष रुचि र चासो रहन्थ्यो ꓲ मुलुकबाट कसरी गरिबी, बेरोजगारी र पछौटेपन लगायतका समस्याहरु हटाउन सकिन्छ अनि बिकासको गतिलाई अगाडी बढाउन सकिन्छ भन्ने कुराको सैद्दान्तिक सँगसँगै व्यावहारिक ज्ञानको आवश्यकता महसुस हुन्थ्यो ꓲ यता काठमान्डौमा सहकारी क्षेत्रमा क्रियाशील दाजु गोविन्द प्रसाद शर्माले काठमान्डौमा नै आएर सहकारी अभियानमा संलग्न हुन प्रेरित गरिरहनुभएको थियो ꓲ ठीक त्यही समयमा त्रिभुवन विश्वविद्यालयमा अर्थाशास्त्र शिक्षाको उप प्राध्यापक पदमा लिखित परिक्षामा उत्तीर्ण भै प्राबिधिक कारणले अन्तर्वार्तामा उपस्थित हुन नसकी निश्चित जस्तै भैसकेको उप प्राध्यापकको स्थायी पद गुमाउनुपर्ने अवस्था उत्पन्न भयो ꓲ यस बिन्दुबाट  जिन्दगीको यात्रा मोडिन पुग्यो र मैले करार वा अस्थायी प्राध्यापन पेशालाई निरन्तरता दिनु भन्दा सहकारी अभियानमा संलग्न हुदा उपयुक्त हुने निधो गरे ꓲ यसरी प्राध्यापन पेशामा लागिरहेको व्यक्ति सहकारीमा जोडिनुमा दाजुकै ठुलो देन र प्रेरणा रहेको छ ꓲ

बिश्वबिद्यालयको प्रोफेसर भएर समाजमा व्याप्त गरिबी, बेरोजगारी, अभाब र पछौटेपनलाई हटाई मुलुकको समग्र आर्थिक बिकासमा योगदान दिने लक्ष्य लिएर अगाडी बढेको मान्छे प्रकारान्तरले सहकारी क्षेत्रमा होमिन पुगि सहकारीका माध्यमबाट ति कुराहरुमा अझ बढी योगदान दिन सकिन्छ भनेर क्रियाशील भैरहेको छु ꓲ त्रिभुवन बिश्वबिद्यालयको अर्थशास्त्र शिक्षा बिषयको उप(प्राध्यापकमा स्थायी हुने प्रयोजनका लागि भएको अन्तर्वार्ता गुमाउनुपरेको अबस्था मेरो जीवनकै नमिठो क्षणको रुपमा विस्मृतिमा रहेको छ भने सहकारी क्षेत्रमा लागेर पनि यही क्षेत्रसँग सम्बन्धित बिषयमा विद्यावारिधि गरी प्राज्ञिक उन्नयन गर्दै सहकारी क्षेत्रको बिकास र सहकारीका माध्यमबाट समग्र आर्थिक बिकासमा योगदान दिन सकिन्छ भन्ने दृढ आत्मविश्वास आर्जित गरेका कारण सुखद अनुभूति समेत हुन्छ ꓲ

नेपालको सहकारी अभियानको हालको अवस्था विश्लेषण कसरी गर्नुहुन्छ ? सहकारीका सर्वमान्य  मुल्य, मान्यता सिद्धान्तसँग नेपालको सहकारी अभियानको तुलना कसरी गर्नुहुन्छ ? सहकारीका सम्बन्धमा नकारात्मक समाचारहरुले बढी प्रश्रय पाएको हो कि यिनीहरु साँच्चिकै सुशासन, पारदर्शिता र सदस्य सेवाबाट विमुख भएका हुन् ?
अहिलेको नेपालको सहकारी अभियानलाई हेर्दा थुप्रै कमीकमजोरीका बाबजुद असन्तोष भैहाल्नु पर्ने अबस्था भने छैन ꓲ संख्यात्मक हिसाबले सहकारी क्षेत्रको विकासमा हामीले महत्वपूर्ण उपलब्धि हासिल गर्न सकेका छौं ꓲ अब यो अभियानलाई गुणात्मक ढङ्गले कसरी अगाडी बढाउने भन्ने कुरा अहम् सवाल र चासोको बिषय हो ꓲ  सहकारी अभियानलाई यसका सर्बमान्य मूल्य, मान्यता र सिद्दान्तको परिधिभित्र राख्दै व्यवसाय विविधिकरण र नवीनतम् प्रविधिको उपयोग मार्फत बढी भन्दा बढी सदस्यलाई सेवा र सुबिधा उपलब्ध गराउने दिशामा केन्द्रित गराउनु आबश्यक छ ꓲ नेपालको सहकारी अभियान पनि सहकारीका सर्बमान्य मूल्य, मान्यता र सिद्दान्त अनुरुप नै संचालन हुनुपर्दछ भन्ने कुरामा कहिकतै विमति छैन ꓲ हामी अहिले नै सम्पूर्ण रुपमा त्यो अवस्थामा नपुगे पनि  त्यसको नजिक भने अवश्य पुगेका छौं ꓲ त्यसैले अहिलेको सहकारी अभियानलाई शुद्धीकरण र सुदृढीकरण गर्दै सदस्यका आकांक्षा पुरा गर्न सक्ने र आर्थिक, सामाजिक र साँस्कृतिक स्तर माथि उकास्न सक्ने गरी सबल र सक्षम तुल्याईनु पर्दछ ꓲ यसका लागि सहकारीलाई पुरातन ढंगले बचत तथा ऋणमा मात्र सिमित नराखी व्यवसाय विविधिकरण र सेवामा प्रविधिकरण गरी समय सापेक्ष ढंगले उत्पादन देखि उपभोग सम्मका हरेक आयामहरुमा समाहित गराउँदै मूल्य शृंखलामा संलग्न गराउनु पर्दछ ꓲ

समय समयमा आउने सहकारी सँग सम्बन्धित नकारात्मक समाचारहरुले कुनै न कुनै रुपमा प्रश्रय पाईरहेको अवस्था त छ नै तर यसले पनि यो क्षेत्रलाई सच्चिनका लागि सतर्क गराउने काम भने गरेकोछ ꓲ तर कहिलेकाही भने एकाध सहकारी संस्थाहरु आफ्ना उद्देश्य र सहकारी मूल्य, मान्यताबाट टाढा हुँदै सुशासन, पारदर्शिता र सदस्य सेवाबाट समेत विमुख भएको र त्यस सँग सम्बन्धि कुराहरु समाचारमा आउने गरेको कुरालाई पूर्णत नकार्न सकिदैन ꓲ यत्रो ठुलो संख्यामा रहेका सहकारी संस्थाहरु मध्ये कहिलेकाही एकाध संस्थामा समस्या देखिने कुरा अनौठो कुरा होइन तथापि सहकारीका संघहरु, सहकारी बैंक र अन्य सरोकारवाला निकायहरुले त्यस्तो अवस्था आउन नदिन र आउन लागेको अवस्थामा समेत त्यस्तो समस्या समाधान गर्नका लागि आवश्यक पहलकदमी लिनु जरुरी छ ꓲ

सहकारीले पाएको संवैधानिक मान्यतालाई सफलीभूत तुल्याउन कर्मचारीतन्त्र बाधक रहेको भन्ने भनाइ बेलाबेलामा सहकारी अभियन्ताहरुबाट सुनिन्छ नि ? 
नेपालको संविधानले सहकारीलाई अर्थतन्त्रको तेश्रो खम्बाको रुपमा परिभाषित गर्दै सहकारी मार्फत समाजबाद उन्मुख अर्थतन्त्रको निर्माण गर्न सकिने कुरा उल्लेख गरेको छ । यो संबैधानिक व्यवस्थाबाट सहकारी क्षेत्र उत्साहित भएको छ भने कर्मचारीतन्त्रमा त्यो स्तरको उत्साह देखिदैन ꓲ सहकारीलाई आफ्नो उद्देश्य अनुरुप अर्थतन्त्रमा योगदान दिन सक्ने बनाउनका लागि अनि तेश्रो खम्बाको रुपमा रहेको सहकारी क्षेत्रलाई स्थापित र मजबुत सहकारी अभियान सँगसँगै सरकार र अन्य सरोकारवाला निकायहरुले एकसाथ मिलेर कार्य गर्नुपर्दछ ꓲ सहकारी अभियानले पनि ठोस रुपमा संवैधानिक मान्यता आनुरुपको कार्य गर्न र त्यसलाई टुंगोमा पुर्याउन सकेको जस्तो प्रतित हुदैन ꓲ फेरी सरकारले गर्ने कार्य कर्मचारीतन्त्र मार्फत प्रतिबिम्बित हुने भएको हुनाले कर्मचारीतन्त्र सहकारीका प्रति सकारात्मक नबन्दा सम्म सहकारी क्षेत्रको विकासले निश्चित आकार ग्रहण गर्न सक्दैन ꓲ कर्मचारीतन्त्रले सहकारीको विकास र प्रबर्द्धनका लागि अपेक्षाकृत सहयोगी भूमिका निर्बाह गर्न नसकेको कुरा बेलाबखत उठ्ने कुरामा हामी सबै जानकार छौं । तथापि कर्मचारीतन्त्रले पनि सहकारीको अपरिहार्यताको बोध गर्दै र सहकारीको संबैधानिक मान्यतालाई सफल बनाउनका लागि अनि मुलुकको समग्र आर्थिक बिकासमा सहकारीको योगदान अभिवृद्धि गर्नका लागि क्रमशः आत्मसात् गर्दै जानु पर्दछ ꓲ त्यसैले सहकारी क्षेत्रको विकास र प्रबर्द्धनका लागि अभियान र सरकारका सम्बन्धित निकायका बीचमा आपसी समझादारीको बिकास गर्दै सहकार्यका आधारमा अगाडी बढ्नु पर्दछ ꓲ

सहकारी क्षेत्रमा गहिरो अध्ययन अनुसन्धानको कमी छ । यस क्षेत्रमा अनुसन्धानात्मक विकासका लागि के गर्नुपर्छ ? यहाँको विद्यावारिधिको विषय के हो ? कहिले कुन विश्वविद्यालयबाट गर्नुभयो ? विद्यावारिधिका लागि किन सहकारी नै रोज्नुभयो ?
सहकारी क्षेत्रको दिगो विकास र यसको सिर्जनशील प्रयोगका लागि सहकारीमा प्रशस्त मात्रामा अध्ययन र अनुसन्धान हुनुपर्दछ ꓲ तर सरकार र सहकारीको नेतृत्वदायी निकायले यो बिषयमा गम्भीर ढंगले कार्य गरेको देखिदैन ꓲ सहकारी क्षेत्रको अनुसन्धानात्मक बिकासका लागि सरकार र सहकारी क्षेत्र दुवै योजनाबद्द रुपमा लाग्नुपर्दछ ꓲ एकातिर सहकारीका सम्बन्धमा गहन अध्ययन अनुसन्धान हुन नसकेका कारण सहकारी सम्बन्धी नीति निर्माणमा त्यसको पृष्ठपोषण लिन सक्ने अवस्था न्यून छ भने अर्कोतिर सहकारीले राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदानको बारेमा यथार्थ तथ्यांकको अभावमा अनुमानको भरमा काम चलाउनुपर्ने बिडम्बनापूर्ण अबस्था विद्यमान छ ꓲ यसका लागि सरकारले सहकारी अध्ययन तथा अनुसन्धान प्रतिष्ठान स्थापना गरि त्यसमार्फत अनुसन्धान कार्यलाई अगाडी बढाउनु पर्दछ भने सहकारीले अर्थतन्त्रका  विविध आयाममा पुर्याएको योगदानको मुल्यांकन गर्नका लागि केन्द्रीय तथ्यांक विभाग मार्फत तथ्यांक संकलनको कार्य अगाडी बढाउनु पर्दछ ꓲ केन्द्रीय तहमा रहेको सहकारी प्रशिक्षण प्रतिष्ठानलाई सहकारीअध्ययन तथा अनुसन्धान प्रतिष्ठानको रुपमा बिकास गरी सबै प्रदेशहरुमा सहकारी अध्ययन तथा अनुसन्धान केन्द्र मार्फत सहकारी शिक्षा, तालिम र अनुसन्धानात्मक क्रियाकलापहरु संचालन गरिनुपर्दछ ꓲ

सहकारी क्षेत्रकै अनुसन्धानको सिलसिलामा भारतबाट सन् २०१६ मा “Credit Risk Management in Nepalese Cooperative Societies” बिषयमा बिधाबारिधि गरेको हुँ ꓲ हाम्रो समाजमा गरिबी, बेरोजगारी, पछौटेपना र अभाब जस्ता कुराहरु व्याप्त रहेको र मुलुकको सन्तुलित आर्थिक बिकास हुन नसकिराखेको सन्दर्भमा सहकारीका माध्यमबाट यो क्षेत्रमा केहि गर्न सकिन्छ भन्ने दृढ मान्यता र आत्मविश्वासका साथ् म सहकारी अभियानमा संलग्न भएको र सहकारी अभियानमा संलग्न भैसके पछि आफ्नो अध्ययनलाई यही क्षेत्र सँग सामञ्जस्यता  कायम गर्दै लैजाने सिलसिलाको एउटा उपजको रुपमा यो बिषय छनोट गर्न पुगेँ ꓲ सहकारीको प्रबर्द्धन र विकासका लागि जोखिमरहित सहकारी अभियान अनिवार्य सर्त हो ꓲ सहकारी क्षेत्रसँगको मेरो लामो संलग्नताले यसमा अन्तरनिहित विभिन्न खाले जोखिम मध्ये कर्जा जोखिम बढी संवेदनशील र महत्वपूर्ण जोखिमको रुपमा रहेको अवगत भयो ꓲ विभिन्न समयमा सहकारी क्षेत्र मार्फत लगानी गरेको कर्जा समयमा उठ्न नसकी सहकारी संस्थाहरु समस्यामा पर्न थालेको, सदस्यको बचत फिर्ता दिन नसकेको र केही संस्थाका संचालकहरु भाग्न सम्म बाध्य हुनु परेको जस्ता कुराहरु समेत फाट्टफुट्ट अखबारमा आउने गरेको कारणले पनि मैले यो क्षेत्रमा अनुसन्धान गर्नुपर्दछ भन्ने लागेर नै नेपालमा सहकारी क्षेत्रमा कर्जा जोखिम ब्यबस्थापन बिषयमा विद्यावारिधि गर्ने निधो गरेको थिएँ ꓲ मेरो अध्ययनको निष्कर्षले पक्कै पनि नेपालको सहकारी अभियानमा कर्जा जोखिम न्यूनीकरण गर्न र यसको सही ब्यबस्थापन गर्न सहयोग पुग्ने विश्वास लिएको छु ꓲ

कोभिडको सुरुवात यता सहकारीहरुको भूमिकालाई कसरी हेरिरहनुभएको छ ? कोभिड पछि सहकारीको गति र दिशा कस्तो हुनुपर्छ ? सहकारीमार्फत नवीन सम्भावनाको क्षितिज कतिको फराकिलो देख्नुहुन्छ ? 
कोभिड महामारीका कारण उत्पन्न असहज अवस्थाले अरु क्षेत्र जस्तै सहकारी क्षेत्रलाई पनि नराम्ररी प्रभावित गरेको छ ꓲ विशेषगरी सहकारी क्षेत्रबाट लगानी भएको कर्जाको असुलीमा कमि आउनु, उत्पादित वस्तुहरुले सहज बजार पाउन नसक्नु, कर्जा लगानीको क्षेत्रमा संकुचन आउनु, संस्थाको मुनाफाको अंशमा संकुचन आउनु लगायतका नकारात्मक असरहरु सहकारी क्षेत्रमा देखा परेका छन भने यसले सहकारी क्षेत्रलाई प्रबिधिमैत्री हुन र सहकारी बजार प्रणालीको बिकास गर्न प्रेरित पनि गरेको छ ꓲ त्यसैगरी लकडाउनको समयमा सहकारीले आफ्ना सदस्यहरुमा पुर्याएको सेवा र सुविधाले पनि आगामी दिनमा सहकारी प्रति जनताको आकर्षण बढ्ने देखिन्छ ꓲ कोभिड पछिको समयमा सहकारीले आफुलाई बढी व्यावसायिक बनाउदै सदस्यको सामाजिक, आर्थिक र साँस्कृतिक उत्थान गर्नका लागि अझै बढी प्रविधिको प्रयोग बढाउने, उत्पादनमा जोडिने, बजार प्रणालीलाई स्थापित गर्ने दिशामा सहकारी क्षेत्र लाग्नु पर्ने देखिन्छ ꓲ यसले सहकारी मार्फत थुप्रै कार्यहरु गर्न सकिने प्रशस्त सम्भावनाको उजागर मात्र गरेको छैन त्यसको आवश्यकताको महसुस समेत गराएको छ ꓲ मैले हरेक फोरमबाट सार्बजनिक, नीजि र सहकारी साझेदारीको आधारमा परियोजनाहरु संचालन गर्न सकिने र यसलाई हाम्रो बिकासको एक मोडालिटीको रुपमा बिकास गर्दै लैजानुपर्दछ भन्ने कुरा राख्दै आईरहेको छु ꓲ

सरकारको नीतिगत सहयोग, निजि क्षेत्रको पूँजी र प्रविधि तथा सहकारी क्षेत्रको सहभागितामूलक ब्यबस्थापनका माध्यमबाट परियोजनाहरु अगाडी बढाउँदा सफलताका साथ् अगाडी बढाउन सकिने प्रशस्तै सम्भावना देखिन्छ ꓲ सहकारीका माध्यमबाट यही मोडालिटीको आधारमा हामी हरेक स्थानीय तहमा नमुना कृषि परियोजना, साना र लघु उद्यमको, उपभोक्ता भण्डार, नमुना बस्ती विकास, सहकारी स्वास्थ सेवा, नमुना सहकारी शिक्षालय, ज्येष्ठ नागरिक आवास ग्राम, बाल उद्यान, सहकारी होम स्टे, सहकारी यातायात, वातावरण संरक्षण, फोहोर व्यवस्थापन, प्राचीन संस्कार र संस्कृतिको संरक्षण, नवप्रवर्तनलाई प्रोत्साहन लगायतका थुप्रै कार्यहरु गर्न सकिन्छ र यी सबै कार्यहरु नवीन प्रबिधि र सोचका साथ गर्न सक्ने प्रशस्तै सम्भावना  देख्दछु ꓲ त्यत्ति मात्र होइन हरेक स्थानीय तहमा श्रम सहकारी वा श्रम बैंकको परिकल्पनालाई अगाडी बढाउन सकिन्छ र त्यसका माध्यमबाट सम्बन्धित स्थानीय तहका सम्पूर्ण श्रमिकहरुलाई आबद्द गराई उनीहरुलाई रुची र क्षमता अनुसारको तालिम प्रदान गरी आबश्यकता अनुसार परिचालन गर्न सकिन्छꓲ यसरी सहकारीका माध्यमबाट नबिन सोच र प्रबिधिका साथ् सृजनशील ढंगले अगाडी बढ्ने हो भने यसले नबनी सम्भावनाको क्षितिजलाई अझै फराकिलो मात्र पार्दैनकि सहकारीलाई अर्थतन्त्रको तेश्रो स्तम्भको रुपमा समेत स्थापित गर्दछ ꓲ

सहकारीको विश्व परिवेशसँग हाम्रो अभियानलाई दाज्दाँ हामी कहाँ छौ ?
हाम्रो सहकारीलाई बिश्व सहकारी अभियानसँग तुलना गरेर हेर्ने हो भने हामी भर्खर बिकासको गतिमा अगाडी बढ्दै गरेको अबस्थामा छौं ꓲ मित्र राष्ट्र भारत, चीन, जापान, दक्षिण कोरिया, केन्या, क्यानाडा, अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, ईटाली, नेदरल्याण्ड्स लगायतका देशहरुको सहकारी अभियान हाम्रो भन्दा बिकसित र उन्नत किसिमको छ र त्यहाँबाट हामीले सिक्नुपर्ने र अनुसरण गर्नुपर्ने कुराहरु धेरै छन् ꓲ नेपालको सन्दर्भमा सहकारीको बिकास गर्नका लागि यसका आधारभूत मूल्य, मान्यता र सिद्दान्तलाई पछ्याउँदै यहाको भूधरातलीय यथार्थता समेतलाई मध्यनजर गरेर अन्तर्राष्ट्रिय अभ्यासमा परिमार्जन गर्दै हाम्रो आफ्नो किसिमको प्राक्टिस र मोडालिटी तयार गरेर अगाडि बढ्न सकिन्छ ꓲ हाम्रा कतिपय सहकारीहरूले अन्तर्राष्ट्रिय स्तरका सफल सहकारीहरूकै दाँजोमा उत्कृष्ट सेवा सुविधाहरु उपलब्ध गराइरहेको कुरालाई हामीले भुल्नु हुँदैन ꓲ नेपालको सन्दर्भमा सहकारी ऐन, २०४८ आइसके पश्चात सहकारी क्षेत्रको बिकासको गतिले फड्को मार्ने अवसर पाएको हो भने सहकारी ऐन, २०७४ को आधारमा यसलाई आवश्यकता अनुसार परिमार्जन गर्दै दिगो र गुणस्तरीय सहकारी अभियानको विकास गर्ने ढंगले अगाडी बढ्नु पर्दछ ꓲ तर अहिलेको सहकारी क्षेत्रको विकासको अवस्था संख्यात्मक बढी र गुणात्मक कम हुन पुग्यो भने सहकारीका संघहरु कम व्यावसायिक र बढी राजनीतिक हुन पुगेको कारणले हाम्रो समग्र अवस्थामा उल्लेख्य सुधार हुन नसकेको हो ꓲ त्यसैले अबको सहकारी अभियानको कार्यदिशा सहकारी क्षेत्रको गुणात्मक र दिगो विकासका लागि रहनुपर्दछ र यसलाई अर्थतन्त्रको तेश्रो स्तम्भको रुपमा स्थापित गर्नुपर्दछ ꓲ

सहकारी विषयलाई पाठ्यक्रममा समावेश गर्ने र सहकारी विद्यालय सञ्चालन, तालिम र शिक्षामका नवीनता आदि विषयमा यहाँको धारणा के छ ?  
सहकारी बिषयलाई पाठ्यक्रममा समावेश गरी सहकारी बिद्यालय र महाविद्यालय मार्फत सहकारी शिक्षालाई आम जनमानसमा पुर्याउनका लागि औपचारिक सहकारी शिक्षाको आवश्यकतालाई कसैलेपनि नजरअन्दाज गर्न सक्ने अवस्था छैन ꓲ अहिलेको विश्व परिवेश र हाम्रो अवस्थालाई हेर्ने हो भने सहकारी क्षेत्र उदियमान क्षेत्रको रुपमा अगाडी बढिरहेको अवस्था छ ꓲ सहकारिताका माध्यमबाट सामाजिक न्याय सहितको बिकास र समाजबाद उन्मुख अर्थतन्त्र निर्माण गर्न सकिन्छ भन्ने कुरा राज्यले स्वीकार गरिसकेपछि यसलाई पाठ्यक्रममा राख्न ढिलाई गर्नु किमार्थ उपयुक्त हुँदैन ꓲ सहकारी क्षेत्रको गुणात्मक बिकास र यसको दिगोपनाको साथै जोखिमरहित सहकारी अभियानका लागि पनि सहकारी शिक्षाको व्यापकता आवश्यक छ ꓲ सहकारी क्षेत्रमा जोखिम बढ्दै जानुको प्रमुख कारण सहकारी शिक्षाको अभाव पनि हो भन्ने कुरा मेरो अध्ययनले समेत देखाएको छ ꓲ सहकारीलाई जनताको जीवन पद्दतिसंग जोड्दै अर्थतन्त्रको तेश्रो स्तम्भको रुपमा स्थापित गर्नका लागि समेत जनतामा सहकारीको ज्ञान हुनु आवश्यक शर्तका रुपमा लिन सकिन्छ र त्यसका लागि पाठ्यक्रममा सहकारी बिषय समावेश गरी बिद्यालय देखि महाबिद्यालय सम्म पठन पाठनको प्रबन्ध मिलाउन जरुरी छ ꓲ सहकारी बिषय पाठ्यक्रममा समावेश गरिनु मात्र उपलब्धि हुन सक्दैन जबसम्म यसको व्यावहारिकता, बहुआयामिकता, व्यावसायिकता, नबीनता, मानवीयता, व्यापकता, सापेक्षिकता र परिवर्तनशीलता देखि  उपयोगिता सम्मका कुराहरुलाई यसमा समाहित गराउन सक्दैनौ ꓲ अहिले कक्षा ११ र १२ मा राखिएको सहकारी बिषयमा विद्यार्थीहरुको न्यून आकर्षणले पनि यो कुरालाई पुष्टि गर्दछ ꓲ

सहकारी ऐनमा राखिएको मुख्य कारोबारको विषयमा यहाँको के भनाई छ ? दोहोरो सदस्यता अन्त्यको विषयमा यहाँको राय के छ ?

कृषि, उपभोक्ता लगायत विभिन्न नाममा सहकारी संस्था दर्ता गर्ने र बचत ऋणको मात्र कारोबार गर्ने जुन किसिमको गलत प्रबृत्ति मौलाईरहेको छ त्यसलाई सम्बोधन गर्नेगरी सहकारी ऐनमा आएको मुख्य कारोबार सम्बन्धि बिषय सकारात्मक हुँदाहुँदै पनि कतिपय सन्दर्भमा यो बिषय आफैमा विरोधाभासपूर्ण भने रहेको छ ꓲ सहकारीलाई त्यसको प्रकृतिअनुरूप कार्य गर्नका लागि प्रोत्साहित गर्ने कुरालाई अन्यथा मान्न सकिदैन तर अहिले संचालनमा रहेका सहकारी संस्थाहरु किन उद्देश्य अनुरुपको काम गर्न सकिराखेका छैनन् भन्ने बास्तबिकता नबुझी मुख्य कारोबारमा प्रतिशतको कुरा राख्दा यसलाई लागु गर्न कठिनाई भैरहेको छ यसलाई अहिलेनै संचालनमा आउन सक्ने सम्भावना न्यून नै देखिन्छ र यो मुख्य कारोबारमा राखिएको कारोबार गर्ने प्रतिशतको अंशलाई ब्यबहारिक ढंगले परिमार्जन गर्न सक्ने हो भने यसले सहकारी अभियानलाई गति दिन सक्दछ ꓲ कुनैपनि सहकारी संस्थाका लागि सदस्यको बचत रकम मानिस ज्यूनको लागि आबश्यक रक्तसंचार जत्तिकै महत्वपूर्ण हुने भएको कारणले पनि यसको कार्यान्वयन पक्ष जटिल बनेको हो ꓲ

एक स्थानीय तहभित्र एकै प्रकृतिको एक भन्दा बढी सहकारी संस्थामा सदस्य बन्न नपाउने प्रावधान सिद्धान्ततः स्वागतयोग्य नै छ तथापि यसलाई लागु गर्ने समय तालिकामा हामीले अलिक हतारो गर्यौ कि जस्तो लाग्दछ ꓲ कर्जा जोखिमको पक्षबाट हेर्ने हो भने पनि यो व्यवस्थाले केही हदसम्म जोखिम न्यूनीकरणमा सहयोग नै पुग्दछ ꓲ तर अहिलेको अबस्थालाई हेर्ने हो भने पहिला सहकारी संस्थाहरुलाई मर्जरमा जान प्रोत्साहित गरेर सहकारी संस्थाको आकार एक निश्चित संख्यामा घटाउन सकियो भने स्वाभाविक रुपमा यो समस्यामा केहि हदसम्म न्यूनीकरण हुन सक्दछ  हाम्रो सहकारी अभियान अहिले संख्यात्मक रुपमा बिकास भएतापनि गुणात्मक रुपमा बिकास हुन नसकेकोले एक मात्र सहकारी संस्थामा सदस्य भएर सबै सदस्यको आबश्यकता परिपूर्ति नहुन पनि सक्दछ र कतिपय अबस्थामा एऊटै प्रकृतिका एक भन्दा बढी सहकारी संस्थामा सदस्यता लिनुपर्ने आबश्यकता हुन जान्छ ꓲ जस्तो कुनै सदस्यलाई आवश्यक पर्ने कर्जा रकम ऊ आफु सदस्य रहेको संस्थाले लगानी गर्न सक्दैन भने ऊसलाई अर्को संस्थामा समेत जानुपर्ने बाध्यता आउन सक्दछ ꓲ त्यसैगरी बस्तु र सेवा उपलब्ध गराउने र अन्य प्रकृतिका सहकारीको हकमा पनि यो अबस्था विद्यमान रहन सक्दछ ꓲ त्यसकारण पनि दोहोरो सदस्यताको समस्या समाधान गर्नका लागि पहिला सहकारीको गुणात्मक बिकासमा ध्यान दिदै एऊटै व्यक्ति वा समुहले चलाएको संस्थालाई बाध्यात्मक मर्जरमा र अन्य सहकारीलाई स्वेच्छिक मर्जरमा जान प्रोत्साहन गरौ, यसले दोहोरो सदस्यताको समस्यालाई न्यूनीकरण मात्र गर्दैन कि सहकारीको गुणात्मक बिकासमा समेत सहयोग पुर्याउदछ ꓲ त्यसपछि मात्र दोहोरो सदस्यताको बिषय कार्यान्वयनमा लैजादा बढी फलदायी हुन सक्दछ

सहकारीमा युवा पुस्ताको रुचि कसरी बढाउन सकिन्छ होला ?

सहकारी अभियानको भबिष्य भनेको त्यो संस्थामा आबद्ध शेयर सदस्यमा निर्भर गर्दछ ꓲ शेयर सदस्यको कृयाशीलता जति बढी हुन्छ त्यति बढी संस्थाले आफ्ना क्रियाकलापहरु सफलताका साथ संचालन गर्न सक्दछ ꓲ सहकारीमा युबा पुस्ताको आकर्षण कसरी बढाउन सकिन्छ भन्ने कुरा अहम सवालको बिषय हो र सहकारीसँग सम्बन्धित सम्पूर्ण पक्षले यो बिषयलाई उच्च महत्वका साथ हेर्नु र युवा सहभागिता बढाउन आ-आफ्नो क्षेत्रबाट पहलकदमी लिनु अपरिहार्य छ ꓲ त्यसका लागि हामीले स्कुल स्कुलमा सहकारी अभियान संचालन गर्नु पर्दछ साथै उच्च माध्यमिक विद्यालय, कलेज तथा बिश्वबिद्यालयहरुमा समेत सहकारी संस्था गठन गर्न सकिन्छ ꓲ जसका माध्यमबाट युबा पुस्तालाई आबश्यक पर्ने सेवा सुविधाहरु सहकारी मार्फत उपलब्ध हुन्छ र युवाहरुको सहकारीका प्रतिको आकर्षण वृद्धि हुन्छ ꓲ  अहिलेको युवा पुस्ता बढी प्रबिधिमैत्री छ र उनीहरु प्रविधिमा रमाउनुका साथै नयाँ कुराहरुको खोज अनुसन्धान गर्न रुचाउँदछन् । त्यसैले युवाहरुको रुची हुने बिषयहरुमा सहकारीले लगानी गर्नु पर्दछ र युवाहरुलाई सहकारीमा लाग्नका लागि अभिप्रेरित गर्नुपर्दछ 

उदाहरणको लागि बिज्ञान तथा प्रविधि, खेलकुद, नव प्रबर्द्धन लगायतका क्षेत्रमा पनि सहकारीलाई संलग्न गराउन सकियो भने स्वाभाविक रुपमा युवा पुस्ताको आकर्षण बढ्न सक्दछ ꓲ युवा सहकारी अभियान देखि विभिन्न किसिमका खेलकुदहरु सहकारी मार्फत संचालन गर्ने, अन्तरदेशीय र अन्तराष्ट्रिय रुपमा युवा र उनीहरुको ज्ञानको आदानप्रदान प्रदान गर्नेगरी कार्यम्रम संचालन गर्ने गर्दा पनि युवाहरुको आकर्षण सहकारीमा बढ्न सक्दछ ꓲ त्यसैगरी जबसम्म सहकारीको नेतृत्वमा पुग्नका लागि उसको क्षमता र योग्यतालाई आधार बनाईदैन र नेताको नजिकको मान्छे भनेर उसको आस्था र नेताहरुप्रतिको भक्तिभाव देखाउनुपर्ने अबस्थालाई हटाउन सकिदैन तबसम्म युवा पुस्तालाई सहकारीप्रति आकर्षण गर्न सकिदैन ꓲ त्यसैले युवा पुस्तालाई सहकारीमा रुची बढाउनका लागि युवा लक्षित कार्यक्रमहरु संचालन गर्ने र उनीहरुको क्षमता र योग्यताको आधारमा नेतृत्वमा पुग्ने परिपाटीको ग्यारेन्टी गर्नु जरुरी हुन्छ ꓲ

भावी योजनाहरु के छन् ?

मेरो धेरै ठुलो महत्वकांक्षा र योजना छैन ꓲ सहकारीको क्षेत्रमा केहि राम्रो र नमुनाको काम गर्न सकौ र सहकारीलाई जनताको जनजीविका सँग एकाकार गराउन लेख, रचनाका माध्यमबाट पहलकद्मी निर्बाह गर्न सकौ भन्ने चाहना छ ꓲ त्यसैगरी मेरो विद्यावारिधिको अध्ययनको निष्कर्षलाई अझै परिमार्जन गरि सहकारी संस्थाहरुको जोखिम ब्यबस्थापनको मोडालिटी तयार गर्ने तथा सार्बजनिक, निजि, सहकारी साझेदारी (PPCP Model) नमुना को बिकास र सहकारीको क्षेत्रमा थप अध्ययन, अनुसन्धान गर्दै प्राप्त ज्ञानलाई सहकारीका क्षेत्रमा उपयोगगर्ने सोच र चाहना रहेको छ ꓲ सहकारी सम्बन्धित बिभिन्न लेख, रचना र पुस्तक प्रकाशन गर्ने, नीतिगत कुराहरुमा बहस पैरवी गर्ने तथा सहकारी सम्बन्धि तालिम र शिक्षाका माध्यमबाट आफुले जानेका कुराहरु सहकारिकर्मिका बिचमा शेयर गर्ने योजना बनाएको छु

सहकारीमा नेतृत्व (लिडरशीप) विकास र उत्तराधिकार योजना (सक्सेशन प्लान) का बारेमा यहाँको धारणा के छ ?

सहकारीमा नेतृत्व विकास र उत्तराधिकार योजना अत्यन्तै महत्वपूर्ण रहेको हुन्छ ꓲ नेपालको सन्दर्भमा सहकारी अभियान नेतृत्व विकासको सन्दर्भमा अगाडी देखिन्छ भने उत्तराधिकार योजनामा त्यति स्पष्ट हुन सकिराखेको छैन ꓲ सहकारी सामुहिक नेतृत्वमा संचालन हुने व्यवसाय भएकोले पनि यसका सदस्यहरुमा नेतृत्व गर्न सक्ने क्षमता र कौशलको विकास हुनु जरुरि छ  ꓲ प्रारम्भिक संस्थामा बाहेक संघहरुमा एक पदमा बढीमा दुई कार्यकाल मात्र रहन सक्ने ब्यबस्था गर्ने हो भने यसले नेतृत्व बिकासमा महत्वपूर्ण भूमिका निर्बाह गर्न सक्दछ ꓲ नेतृत्व विकास सँगसँगै सहकारीले उत्तराधिकार योजनाका बारेमा समेत स्पष्ट ब्यबस्था गर्नुपर्दछ ꓲ विशेषगरी सहकारीको ब्यबस्थापनमा संलग्न कर्मचारीहरुको सन्दर्भमा अझ यो बढी उपयोगी हुन्छ ꓲ अहिले कार्यरत व्यवस्थापकको कार्यकाल सकिए पछि आउने व्यवस्थापकले कसरी संस्थालाई अगाडी बढाउने भन्ने बारेमा पहिले नै योजना तयार गर्नुपर्ने हुन्छ ꓲ

नेफ्स्कूनको भूमिका, अवसर र यसलाई यहाँको सुझाव ?

बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघको रुपमा रहेको नेफ्स्कूनले सदस्य संस्थाहरुको गुणात्मक विकास र क्षमता अभिवृद्धिका लागि महत्वपुर्ण कार्यहरु गर्दै आईरहेको छ ꓲ अन्य बिषयगत केन्द्रीय संघहरुको तुलनामा नेफ्स्कूनलाई सापेक्षिक रुपमा बढी क्रियाशील र साधन श्रोत सम्पन्न संघको रुपमा समेत लिन सकिन्छ ꓲ नेपालको सहकारी अभियानमा बचत तथा ऋण सहकारी संस्थाहरु संख्यात्मक रुपमा धेरै मात्र रहेका छैनन कि कारोबारको आंकडा पनि उच्च रहेको छ ꓲ गाउँबस्तीका दूरदराजका ठाउँ देखि शहरका सुविधासम्पन्न ठाउँ सम्म छरिएर रहेका बचत तथा ऋण सहकारी संस्थाहरुले जनताका वित्तीय आबश्यकता परिपूर्ति र वित्तीय सक्षरतामा महत्वपूर्ण कार्य गर्दै आईरहेका छन् ꓲ मुलुक र जनताको लागि यति महत्वपूर्ण र ठुलो क्षेत्र् बचत तथा ऋण सहकारी संस्थालाई नेतृत्व गर्ने नेफ्स्कूनको भूमिका आफैमा ओजपूर्ण रहेको छ तथापि यसले सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरुलाई आफ्नो छाताभित्र समाहित गर्न सकिराखेको छैन र त्यसको एऊटा अंशलाई मात्र लिएर हिडेको अबस्था छ ꓲ यसले समग्र बचत ऋण सहकारीलाई आफुमा समाबेश गर्ने प्रयत्न गर्नु पर्दछ र ति संस्थालाई सक्षम् बनाउदै उनीहरुको वित्तीय मध्यस्थताको कार्यलाई प्रभाबकारी रुपले सम्पादन गर्नु पर्दछ ꓲ सहकारी अभियानमा भूमिका निर्बाह गर्नका लागि पनि नेफ्स्कूनलाई ठुलो अवसर रहेको छ ꓲ आगामी दिनमा यसले अहिले गर्दै आईरहेका कार्यहरुका अतिरिक्त सदस्य संस्थाप्रति केन्द्रित हुदै बचत ऋण सहकारी अभियानलाई विश्वसनीय, प्रबिधि मैत्री, जोखिम रहित, गुणात्मक र परिणाममुखी बनाउनका लागि अझै बढी भूमिका निर्बाह गर्नुपर्ने देखिन्छ ꓲ साथै समय समयमा सहकारी अभियानमा देखिने राजनैतिक हस्तक्षेप, गैह्र सहकारी क्रियाकलाप र गतिविधिहरुलाई हटाउदै बिश्व ऋण परिषद र अन्तराष्ट्रिय सहकारी महासंघ द्वारा प्रतिपादित सहकारी सिद्दान्त, मूल्य र मान्यताको परिधिभित्र रही बचत ऋण सहकारी अभियानको शुद्दता र स्तरीयता कायम गर्न लाग्नुपर्ने आबश्यकताको महशुस गरेको छु

 

 

 

saccosaawaj media

ऋण संघ ऐन (Credit Union Act) को आवश्यकता

सोमबार, साउन ५

निवर्तमान अध्यक्ष, नेफ्स्कून

saccosaawaj media

सहकारी मर्जरका लागि उत्प्रेरित नभए सरकार दबाब दिन बाध्य हुने

सोमबार, साउन ५

डा. टोकराज पाण्डे रजिष्ट्रार, सहकारी विभाग

saccosaawaj media

दिगो विकास लक्ष्य र सहकारी

सोमबार, साउन ५

दिगो विकास लक्ष्य र सहकारी