शुक्रबार, वैशाख २१
०८:२३

कृपया, पुरानो कोट लगाऔं तर पुस्तक किनेर पढौं

बुधबार, फागुन ३०
रञ्जनमणि पौड्याल
saccosaawaj

कल्पना श्रेष्ठ
अध्यक्ष
जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मकवानपुर

मकवानपुरका महिलाहरु सहकारी अभियानमा दिलोज्यान दिएर लागिपरेको धेरै वर्ष भयो । करिब २०५३ सालतिरबाटै हो, मकवानपुरे महिलाहरुको मनमा सहकारी राज गर्न थालेको । कुनै क्षेत्रमा लामो समय व्यतीत् भएपछि स्मृतिहरु बाक्लिन्छन् र गहिरिन्छन् । हाम्रा लागि हाम्रै कथाहरु प्रेरणा र उर्जाका श्रोत बन्दछन् । वात्सल्यप्रेम सरी ती कथाहरु केवल गन्थन वा समय काट्ने मेलो मात्र होइनन्, कहिलेकाही हामी नै ‘थाकेको’, ‘गलेको’ अनि ‘मुर्झाएको’ बेला तिनले अमृत जल सिञ्चन गरी हामीलाई नै ‘जाग जाग लम्क हे नौजवान हो’ भन्दै अल्पविश्राम लिएर अघि बढ्न हौसला दिन्छन् । अरुका कथाहरुबाट प्रेरणा लिने मकवानपुरे महिलाहरु आफ्नै कथाहरुबाट पनि सहकारी अभियानको कायापलट गराउने सामर्थ्य राख्दछन् । बेलाबेलाका घटनाक्रमहरुले यसको पुष्टि गरिसकेका छन् । 

सहकारी अभियानका दिदीबहिनीहरुसँग बस्दा सुरुवाती संघर्षहरु सम्झेर रुन्थ्यौं पनि । आँसु खसाल्नु केवल कमजोरी होइन, आनन्दानुभूति पनि हो । आँसुले सधै कमजोर बनाउँदैन, शक्ति पनि प्रदान गर्दछ । हामी दिदीबहिनीहरु आँसु खसालेर अभियानप्रति अगाध आस्था र विश्वास व्यक्त गर्दथ्यौं । मकवानपुरे महिलाहरुले भेला हुँदा खसाल्ने आँसु सहकारी अभियानप्रतिको आराधनाको अभिव्यक्ति पनि हो ।

यस्तै, क्रममा आफू अलि बढी साहित्यानुरागी भएका कारण, ‘हाम्रा रोदन र खुसीहरु वास्तवमै दस्तावेजीकरणको हक राख्दछन्’ भन्ने लाग्थ्यो । हाम्रा कथाहरु मुलुककै सहकारी अभियानको लागि प्रेरणाको विषय बन्नसक्छ । रोचक अनि पठनीय कथा बन्न सक्छ भन्ने मनले ठान्न थाल्यो । मनले स्वयंलाई प्रश्न गर्यो, ‘अब यसलाई कसरी लिपीवद्ध गर्ने ?’ गिटी वालुवा कुट्ने एउटा चेपाङको छोरी, तामाङको बुहारीको सहकारी अभियानको कथा भनेर मञ्जु दिदीको कथा आइरहेको हो, हामी सबैले पढेको पनि हो ।

दिदीका कथाहरु सञ्चारमाध्यमदेखि  सहकारीका सबै ‘स्केल’ का फोरमहरुका लागि खुराक बन्दै आएका छन् । तर, ‘मकवानुरका महिलाहरुसँग नभनिएका, नभेटिएका, नखोजिएका, नदेखिएका, नपढिएका अरु पनि थुप्रै कथाहरु छन्’ भन्ने आइरहन्थ्यो । नढाँटी भन्दा केही साथीहरुले ‘इतिहास भजाएर खान मिल्दैन है’ पनि भन्नुहुन्थ्यो । तर, खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ । हाम्रो कुरा हामीलाई मात्र थाहा हुन्छ । फरक सोच राख्ने केही अरुहरुलाई महत्व बुझाउनुपनि थियो र त्यो भन्दा बढी त उस्तै सोच राख्ने र सहकारी अभियानमा समर्पितहरुमा थप समर्पण भाव जगाउनु थियो ।

२०७४ सालको स्थानीय निर्वाचनमा सहकारी क्षेत्रका अभियानकर्मीहरु विजयी हुनुभयो । अभियानले उहाँहरुलाई परिचित गरायो समुदायमा र विश्वास आर्जन गर्न सफल हुनुभयो राजनीतिमा पनि । उहाँहरुलाई नेतृत्वमा स्थापित हुने मौका कसरी सहकारीले दियो ? उहाँहरुका पनि कथा थिए । तिनीहरु पनि समेटिनुपर्छ भन्ने थियो ।  

‘सिनियर सिष्टर’ हरुसँग कुरा पनि गर्थे ? कसरी प्रकाशमा ल्याउने भनेर । समय र परिस्थिति बन्न सकिरहेको थिएन । दिन पनि नआएको होला । यस्तै भैरहेको थियो । अघिल्लो असार १५ को कुरा हो यो । एउटा साथीको घर गएकी थिएँ । उहाँहरुले सूचना प्रविधि क्षेत्रका १०१ महिलाको कथा प्रकाशन गर्नुभएको रहेछ । अंग्रेजीमा प्रकाशित त्यो पुस्तक दिनभर लगाएर पढेँ । मैले सोचेको पुस्तकको फ्रेम त्यो पुस्तकले स्पष्ट पार्यो । ‘हो, अब यही काम गर्छु’ भन्ने ठानेँ । साथीसँग बिदा भएर त्यहाँबाट निस्केँ ।

सुखद संयोग के भने, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.आफ्नो ३ वर्षे रणनीतिक व्यावसायिक योजना (एसबीपी) ‘रिभाइज’ गर्दै थियो । त्यसभित्र ८ मार्चको अबको कार्यक्रम के भन्ने विषयको बहस जन्मियो । किनकि, बचत संघले अघिल्लो ८ मार्चमा उद्यमीहरुलाई सम्मान गरेको थियो, त्यस अघिको ८ मार्चमा रिक्सा चालक महिलाहरुलाई सम्मान, त्यसपूर्व उत्कृष्ट महिला व्यवस्थापकहरुको अनुभव आदानप्रदान आदि लगातार कार्यक्रम गरेको थियो ।

तर, मैले भने पुस्तक प्रकाशित भएको सपना देखिसकेकी थिएँ । यस्तो ‘थिमेटिक एरिया’ मा यस्ता महिला दिदीबहिनीहरुको कथा र यसरी तयार गर्ने भनेर मनमा पुस्तकको तस्बिर नै प्रकाशित भैसकेको थियो । होमवर्क गरिसकेकी थिएँ । सपनाले विपनाको साथ पाएको भान भैसकेको थियो । त्यो विषयलाई संघसँग जोडेर लाँदा पूर्णता पाउँछ भन्नेमा विश्वस्त थिएँ किनकि व्यक्तिको बलबुताबाट प्रयास विफल हुन्छ भन्ने थियो । मैले औपचारिक प्रस्ताव राखेँ–‘२०८० सालको ८ मार्चमा एकसेएक महिलाहरुको पुस्तक प्रकाशित गरी विमोचन गर्ने ।’ साथीहरुले ‘गर्न सके त राम्रो’ भन्नुभयो । बजेट फाइनल गर्ने चरणमा भएपनि विषय प्रवेश भयो बजेट लगायत अरु विषयहरुमा घनीभूत छलफल भएन । 

तर, पछि जब बजेटनै पास भयो तब चर्चासँगै काम सुरु भयो । सञ्चालक समितिले अपनत्व लियो । सबै संस्थाहरुलाई खबर गरेर कम्तिमा १० वर्ष सहकारी क्षेत्रमा योगदान गरेका सञ्चालक समितिका वा व्यवस्थापन समूहका व्यक्तिहरुको नाम सिफारिश गर्न आग्रहसहित इमेल गर्यौं, फोन गर्यौं । नाम आएपछि अर्को काम सुरु भयो ।

नागरिक दैनिकमा कला सम्पादक पत्रकार रघुनाथ लामिछानेसँग चिनजान थियो । सरसँग चिया गफमा योजना सेयर गरेँ । उहाँले ढाडस दिनुभयो । प्राप्त नामहरु केलायौं र अन्तिम निर्क्यौंल गर्यौं । त्यसपछि, नाम छनौट भएकाहरुलाई हेटौडा बोलायौं । एकदमै अग्रज र पुराना दिदीहरु पनि हुनुुहुन्थ्यो । रघु सर पनि आउनुभयो । कथा लेखनको ‘वर्कशप’ चलायौं । फेरि पनि, प्रत्येक व्यक्तिको सम्पर्क नम्बर संकलन गरेर कम्तिमा ८ सय देखि १ हजार शब्दमा कथा पठाउन आग्रह गर्यौं । कतिले राम्रो लेखेर पठाउनुभयो कतिले बुँदागत टिपेर पठाउनुभयो ।

हामीले धेरै आग्रह गर्यौं र उहाँहरु आबद्ध सम्बन्धित सहकारी संस्थाहरुले लेख्न वा टाइप गर्न नसक्नेहरुको कथा टाइप गरेर बचत संघमा पठाउनुभयो । ती सबै कथाहरु मैले पढेर रघुसरलाई पठाउथेँ । रघु सरले सम्पादन गर्नुहुन्थ्यो । 'मकवानपुरे १०१ सहकारी अभियन्ता' पुस्तकभित्र ५० वटा कथा छन् । मलाई लाग्छ मकवानपुर बचत संघको मात्र होइन मुलुककै सहकारी अभियानका लागि यसरी ५० महिलाहरुको एकसेएक कथाहरु पुस्तकाकारमा समेटिएको यो पहिलो उदाहरण हो । त्यसैले यो ऐतिहासिक महत्वको पनि छ । यसको श्रेयको हकदार हामी हौं पनि भन्ने लाग्छ ।

यही बीचमा मेरो बुबालाई १७–१८ दिन हस्पिटल राख्नुपर्यो । मलाई के उर्जा आएको हो खै ? बुबालाई सीसीयूमा राखेको छ, बिरामी कुरुवाका लागि छुट्याएको ठाउँमा बस्दा समेत खाली हुँदा ल्यापटप खोल्थेँ र कथाकै काम गरेँ । कतिदिन त खाना पनि नखाई काम गरेँ । काममा तल्लीन हुँदा भोकमसँग नभेटी भाग्दो रहेछ ! तर ती सबै अझ अर्कै कथा व्यथाहरुले प्रकाशनपछि सार्थकता पाएको छ । एउटा आमाको लागि सन्तानप्राप्तिको क्षणको खुसी र महत्व जस्तो हुन्छ हामीलाई पनि त्यस्तै भएको छ ।

पुस्तकमा सकेसम्म कमीकमजोरीको लागि ठाउँ नदिउ भन्ने सबैलाई हुन्छ । हामीले पनि त्यही अपेक्षा र विश्वाससाथ काम गरेका छौं । यसमा राम्रा मात्र विषय होइन, कमजोरीका, गल्तीका, असफलताका पनि कथा छन् र तिनबाट पाठ सिक्दै कसरी सफलता हात लाग्यो भन्ने पनि विषय छन् । यसैले यो पुस्तक एकाङ्गी मात्र बनेको छैन । अर्को भनेको, केही साथीहरुले ‘मैले पठाउन सकिनँ मेरो छुट्यो, आधा लेखेँ अघि छोडेँ’ भन्नुभएको छ । केही साथीहरुको मनमा ‘कस्तो खालको आउँला र पुस्तक ! प्रकाशित त होला ! गर्न सक्छन् र यिनीहरुले यस्तो काम !’ भन्ने समेत लाग्या थियो होला ।

जेहोस, सबैको आर्शिवाद र शुभेच्छाले सन्तानको जन्म भएको छ । फेरि, हामीले पुस्तक प्रकाशनको तयारी भएकाले सहकारी क्षेत्रमा योगदान गर्नुभएका महिलाहरुको नाम सिफारिश गर्न र अनिवार्य कथा लेखेरै पठाउन सार्वजनिक आव्हान पनि गरेका थियौं । त्यही भएर छुटेकाहरुको गुनासोको गुञ्जायस कम भयो । 

मकवानपुर बचत संघको ‘महाभियान’ मा हेटौडा उपमहानगरपालिकाबाट १ लाख ५० हजार, बागमती प्रदेश सहकारी मन्त्रालयबाट १ लाख, इन्द्रसरोवर गाउँपालिकाबाट ४० हजार रुपैयाँ सहयोगको वचन प्राप्त भएको छ भने केही विज्ञापन पनि संकलन गरेका छौं । हाम्रो करिब ५ लाख रुपैयाँ खर्च भएको छ १ हजारप्रति पुस्तक प्रकाशन गर्दा । रंगीन भएकाले खर्च पनि धेरै लागेको छ । मूल्य ५ सय राखिएको छ । एकमुष्ट १० वटा भन्दा बढी पुस्तक खरिद गर्नेलाई २० प्रतिशत छुटको व्यवस्था समेत गरेका छौं ।  

हामीले १ हजारै प्रतिमात्र होइन यसको दोस्रो संस्करण पनि प्रकाशन हुन्छ भन्ने विश्वास लिएका छौं किनकि थुप्रै जिल्लाहरुबाट पुस्तक कहाँ कसरी कहिले पढ्न पाइन्छ भनेर व्यापक सोधखोज भएको छ । नगरपाालिका र मन्त्रालयसँगै स्वीकृति पनि लिएका छौं बिक्रीका लागि । र, हामी उत्साहित पनि छौं । 

पुस्तक पैसा तिरेर पढ्दा श्रमको सम्मान हुन्छ । काम गर्नेहरुलाई प्रेरणा मिल्छ । सहकारीमा पठन संस्कृति विकास हुन्छ । यसले देशभरकै सहकारी अभियानलाई तरंगित गर्छ । हाम्रा पनि कथाहरु छन्, हाम्रा पनि संघर्ष र सफलताहरु दस्तावेजीकरण हुनुपर्छ र धेरै पाठकहरुले पढ्नुपर्छ भन्ने उत्प्रेरणा प्रदान गर्छ भन्ने विश्वास गरेका छौं । व्यक्तिगत रुपमा भन्नुपर्दा, म आफू पनि प्रत्येक पुस्तक किनेरै पढ्छु ।

अहिलेसम्म कोही लेखकसँग मागेर पुस्तक पढेकी छैन । मनैबाट कसैले उपहार दिएको विषय अलग भयो, तर मन लागेको पुस्तक किनेर पढ्दा त्यसले परिश्रमको  कदर गरेको ठहर्छ । त्यही भएर केही प्रति उपहारका लागि छुट्याएर बाँकी सबै बिक्री गर्छौं भन्ने छ । कमजोरी केलाइदिने काम पाठकहरुको त्यसलाई निफनेर आगामी प्रकाशनहरुमा सुधार्ने जिम्मा हाम्रो । सहकारी अभियानमा आँट, हौसला, प्रेरणा र सकारात्मकताको खाँचो अहिले झनै धेरे छ । सबैको साथ सहयोगको लागि हार्दिक आग्रह गर्दछु ।

यी ‘पढ्ने कथा’ लाई भोलिको दिनमा समय, श्रोत र श्रमले साथ दियो भने ‘हेर्ने कथा’ बनाउने धोको पनि छ । यो त लत न रहेछ ! अनि निकट भविष्यको सोच मकवानपुरका अरु सहकारी र सहकारी अभियन्ताहरु (महिला पुरुष दुबै) का थुप्रै कथाहरु कहने पनि हो । सदस्यका कथाहरु पढाउने सपना पनि छ । अब त लाग्छ, सोचको शक्ति पनि अभियानकै वरपरमात्र सीमित हुँदैछ । साँच्चै भन्ने हो भने, सहकारी अभियानभन्दा परका विषयवस्तुहरु कम प्राथमिकतामा पर्दै गएको अवस्था छ । र मेरो सोचसँग मकवानपुरे महिला दिदीबहिनीहरुको सोच पनि विलिन भएका कारण, भोलिका दिनमा सहकारी अभियानले गौरव गर्ने थप नवीन कामहरु गर्दनौं भन्न कहाँ सक्छौ र !

कृपया, पुरानो कोट लगाऔं तर पुस्तक भने किनेर पढौं । किनौं मात्र होइन पढौं पनि है । वा कसैको मन राख्न किनिदिएँ मात्र होइन । अभियानबाट पढेर अर्गानिक प्रतिक्रिया प्राप्त गर्ने अपेक्षा र पूर्ण विश्वासका साथ यो कर्ममा प्रत्यक्ष परोक्ष जोडिनुभएका सबैमा पुनः एकपटक हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

(वार्तामा आधारित)

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ