नेपालमा सहकारी क्षेत्रको प्रवर्धनका लागि जनमैत्री सहकारी ऐन भन्दा अघि २०४५ सालमा नेफ्स्कूनले नेतृत्व लिई शुरुवात गरिएको बचत तथा ऋण सहकारी अभियान आज ३५ वर्ष पुगि ३६ वर्षमा लागेको छ । विभिन्न समयमा राज्यले गरेको सम्बोधन, सहजीकरण र सहकार्यका कारण नेपालका करिब ७७ लाख सदस्यहरु आवद्ध भई सहकारी मार्फत उद्यमशिलता विकास, आयआर्जन र जीवनयापन सहज बनाइरहेका छन् । ३० हजार सहकारीको संस्थागत गठन, ९० हजार भन्दा बढीको प्रत्यक्ष रोजगारी र ३ लाख भन्दा बढी सहकारीका नेतृत्वहरु क्रियाशिल रहेको यो क्षेत्रले देश विकासको अपरिहार्य सहयात्रा गरिरहेको छ । विश्वका ११८ राष्ट्रहरुबाट करिब ८८ हजार बचत तथा ऋण सहकारीहरुले ४० करोड जनसंख्यालाई आफ्नो सञ्जाल भित्र सदस्य बनाई उनीहरुमा वित्तीय पहुँच अभिबृद्धि र व्यवसाय विकासमा जोड दिएको छ ।
नेपालमा वि.स २०१३ सालमा औपचारिक सहकारी संस्थाको विकास भई विभिन्न चरणमा विभिन्न सरकारहरु र ऐनहरु मार्फत विकसित हुँदै आएको यो क्षेत्रमा अधिकांश सहकारीहरुले सदस्यहरुबीच बचत र ऋणको कारोबार गर्ने गरी पछिल्ला दिनहरुमा केन्द्रित हुन थाले । सहकारिता वित्तीय कारोबार मात्र होईन । संघले यी विषयहरुको जागरण र विकासमा चरणहरुमा सुसूचित गराउँदै आएको विषय हो । यद्यपि, वि.स. २०७२ को संविधान, वि.सं. २०७४ को सहकारी ऐन र राज्य संरचना भित्रका विभिन्न ऐनहरुले सहकारीलाई विशिष्टीकृत सेवा केन्द्रको रुपमा विकास गर्न अझै विरोधाभाष रहेको पाईन्छ । यीनै विभिन्न अभ्यास, नतिजा र प्रभावहरुका बीच नेफ्स्कूनले बचत तथा ऋण सहकारी अभियानको जागरण, सशक्तिकरण, विकास, व्यावसायिक सञ्चालन, गुणस्तरीय सेवा प्रवाह र प्रत्याभूति, प्राविधिकीकरण र सञ्जाल व्यवस्थापनको तहसम्म नेपालका साकोसहरुलाई पुर्याउने कार्य गरेको छ ।
वि.सं. २०८० मा सञ्जाल व्यवस्थापनको विषय रणनीतिक कार्यदिशा तर्फ केन्द्रित हुँदै गर्दा नेपालमा बहुनियमन, बहुऐन, बहुनिर्देशन र आवश्यकता भन्दा बढी प्रकृतिका सहकारीहरुको दर्ता एवम सञ्चालनले वास्तविक सहकारिताको मर्म, मूल्य, मान्यता, सिद्धान्त र मापदण्डका विषयमा साझा बुझाई बनाउन अत्यन्त गाह्रो स्थितिको सृजना भएको छ । यद्यपि, नेफ्स्कून बचत तथा ऋण सहकारीको विषयगत केन्द्रीय संघ भएका कारण आफ्ना प्रत्यक्ष ५००० र सञ्जालमा आवद्ध १४००० बचत तथा ऋण सहकारीलाई आगामी दिनहरुमा दिने दिशानिर्देशका विषयमा केन्द्रिकृत गर्नुपर्ने विश्वअभ्यास अनुसार देहायका विषयतर्फ अर्जुनदृष्टि राखी अघि बढ्ने छ ।
क) नीतिगत बहस पैरबी:
नेपालको सहकारी अभियानलाई व्यवस्थित र सुशासनयुक्त बनाई विशेषगरी बचत तथा ऋण सहकारीहरु वित्तीय कारोबारमा केन्द्रित गरी विस्तारै प्रविधिमैत्री हुँदै गइरहेको परिप्रेक्ष्यमा ती सहकारीहरुको अनुगमन, सुपरिवेक्षण र नियमनको प्रक्रियालाई प्रभावकारी बनाउन आवश्यक पर्ने, स्तरीकरण, स्थिरीकरण र प्राविधिक सञ्जाल निर्माणका लागि बहस पैरवीलाई प्रभावकारी बनाईनेछ ।
ख) सदस्यहरुको क्षमता विकास:
सहकारीको पाँचौं सिद्धान्त शिक्षा, तालिम र सूचनालाई प्रभावकारी तबरले सहकारीका सदस्यहरु, नेतृत्व एवम् कर्मचारीलाई सीप, ज्ञान, क्षमता र धारणालाई विकास गर्न समय सापेक्ष सहजीकरण गर्न नेपाल सरकारको स्वीकृत प्रशिक्षण पाठ्यक्रम मार्फत थप कार्यक्रमहरुको विकास गरी सदस्यहरु सामु लैजानुपर्नेछ । विद्यमान अवस्थामा जिल्ला, प्रदेश र पालिकाहरुद्वारा सञ्चालित विभिन्न तह र विषयका तालिम शिक्षालाई केन्द्रीय संघले एकीकृत गरी लागू गर्न सरकारसँग सहकार्य गरिनेछ । विशेषगरी तहगत क्षमता विकासलाई बर्गीकरण गरी जिल्ला संघ, प्रदेश संघ र केन्द्रीय संघको संलग्नतालाई स्पष्ट गरिनेछ ।
ग) गुणस्तर सुनिश्चितता र ब्राण्डको व्यवस्थापन:
संघद्वारा प्रवद्र्धित अन्तर्राष्ट्रिय स्तरको ब्राण्ड (एक्सेस) र राष्ट्रिय स्तरको (प्रोबेशन) ब्राण्डलाई समय सापेक्ष यसको विधि परिमार्जन गरी सदस्यलाई सेवास्तर बृद्धि गर्ने र समिक्षाका कार्यक्रमलाई नतिजामुखी अनुभव आदानप्रदानको रुपमा अघिबढाई नेपालको एकमात्र ब्राण्डको रुपमा स्थापित गरिनेछ भने जोखिम सुपरिवेक्षण सदस्य संस्था सबैका लागि लागू गरिनेछ ।
घ) सदस्य सेवा:
संघका सबै सदस्यहरुलाई क्षमता, आकार, कार्यक्षेत्र र वित्तीय संरचनाको आधारमा बर्गीकरण गरी संघका नियमित सेवा, संस्थागत विकास, जोखिम सुपरिवेक्षण, राष्ट्रिय ब्राण्डमा सहभागिता, अन्तर्राष्ट्रिय ब्राण्डमा सहभागिता र सञ्जाल व्यवस्थापन मार्फत प्रत्याभूतिको तह सम्म पु¥याईनेछ । संघले यसरी आफ्ना ५००० सदस्यहरुलाई अनुभूति हुने र विश्वस्त भई आफ्नो अभियानको सञ्जाल प्रयोग गर्न सक्ने तहमा पुर्याइनेछ भने कम्तिमा १०० वटा साकोसहरुको अनलाईन अनुगमनको व्यवस्था मिलाई स्वचालित वित्तीय संरचना व्यवस्थापन गरिनेछ ।
ङ) वित्तीय सेवाः
सदस्य संघ संस्थाहरुको तरलता वा लगानीयोग्य रकमलाई संघको केन्द्रीय अन्तरलगानी मार्फत सदुपयोग गर्ने र आवश्यकताका आधारमा लगानी गरी अभियानलाई वित्तीय संकट आउन नदिन आवश्यक प्रवन्ध गरिनेछ । जसका लागि स्थिरीकरण कोषको समेत सदुपयोग गरिनेछ ।
च) प्राविधिक सेवाः
समयको माग र सदस्यहरुको चाहना बमोजिम विश्वमा द्रुतगतिमा फड्को मारीरहेको प्रविधिलाई संघले पनि आन्तरिकीकरण गरी आफ्ना सदस्यहरुको कारोबार एवम् सेवालाई अझ व्यवस्थित र विश्वसनीय बनाउन उच्च प्रविधिको विकासलाई जोड दिईनेछ ।
छ) साकोस सञ्चालनका लागि समाधान विकास:
विभिन्न तह र चरणवद्ध रुपमा विकसित र सशक्तिकृत हुँदै आइरहेका सदस्य संस्थाहरुको दैनिक कार्यसञ्चालन, वित्तीय व्यवस्थापन, नेतृत्व विकास र दीगो संस्थागत विकासका लागि आवश्यक पर्ने, औजार, विधि, मार्गदर्शन, नीतिगत संरचनाहरुको निर्माण गरी सदस्यहरुलाई वित्तीय अनुशासन र सुशासनमा लैजाने कार्य गरिनेछ ।
ज) असल अभ्यासको अवलोकन:
यस संघ एशियाली बचत तथा ऋण महासंघ, अन्तर्राष्ट्रिय सहकारी महासंघ र विश्व बचत तथा ऋण सहकारी परिषद्को सदस्य भएकोले बचत तथा ऋण सहकारीको क्षेत्रमा भएको विश्व अभ्यासहरुलाई नेपालका साकोसहरुमा ल्याउने र सहकारीकर्मीहरुको अवलोकन गराई नमूना संस्था बनाई छवी निर्माण गर्ने कार्य गरिने छ ।
झ) कोपोमिस र अनुपालना:
संघको सञ्जालमा जोडिएका सदस्य संघसंस्थाहरुको जानकारी र सूचनाहरुलाई नेपाल सरकारको एकीकृत सूचना प्रणालीमा समेत प्रतिवेदन पेश गर्ने व्यवस्था मिलाई राज्यको केन्द्रिकृत तथ्यांकमा जोड्ने र अनुपालना गराउने कार्यमा संघले कार्य गर्नेछ ।
अन्त्यमा, बचत तथा ऋण सहकारी अभियानका सम्पूर्ण उपलब्धीहरुलाई संस्थागत गर्दै अव सदस्यहरुको कारोबारको एवम् क्रियाकलापहरुको जिम्मा लिने समय आएकोछ । यो प्रक्रिया आपसी करारीय ऐक्यवद्धता मार्फत शुरुवातमा कम्तिमा १०० वटाको साकोस सञ्चालन नेफ्स्कूनले जिम्मा लिने तह सम्मको तयारी भएकोले यस तर्फ चर्चा चलाउन र आफ्नो सञ्जाल प्रति विश्वास गर्ने समय आएको छ ।