सोमबार, वैशाख १७
०३:१७

अबको ४ वर्षमा विकू साकोस कहाँ ?

आईतबार, कात्तिक १२
रञ्जनमणि पौड्याल
saccosaawaj

नेपालका अब्वल सहकारी संस्थाहरुको नाम लिदाँ कुनै पनि दृष्टिकोणले नछुट्ने नाममध्ये पर्छ –विकू बचत तथा ऋण सहकारी संस्था लि.। सहकारी मूल्य, मान्यता र सिद्धान्तसँगै बचत तथा ऋण सहकारीका बिशिष्ट सञ्चालन सिद्धान्त तथा वित्तीय स्वस्थ्यताका प्रचलित मानकहरुको अधिनस्थ रही सञ्चालित संस्था हो-गैंडाकोट ८, नवलपुरस्थित विकू साकोस । वित्तीय सूचकहरु, सदस्य संख्या, सेवा केन्द्र र मानव संशाधनसँगै उदाहरणीय सुशासन अभ्यास विकू साकोसको बिशिष्ट परिचय बनेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय छवि बनाएको यस्तो सहकारी संस्थाको अध्यक्ष निर्वाचित हुनु प्रतिष्ठाको विषयसँगै गहन जिम्मेवारीबहन पनि हो । गत असोजमा सम्पन्न विकू साकोसको ३४औं वार्षिक साधारण सभाले प्रेम प्रसाद सापकोटा ‘राजु’ लाई यस्तो अवसर प्रदान गरेको छ ।

विकूका सदस्यहरुको सर्वोच्च सभाले ४७ वर्षीय सापकोटाको नेतृत्वमा १५ सदस्यीय सञ्चालक समिति तथा कमल सुवेदीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत् चयन गरेको हो । सहकारी अभियानमा ३ दशकको यात्रा पूरा गरिसक्नुभएका सापकोटा विकू साकोससँग विगत २९ वर्षदेखि आवद्ध हुनुहुन्छ । बुबा काशीराम सापकोटा ७० वर्ष हुँदा उहाँको जन्म भएको थियो । परिवारको १२औं सन्तान सापकोटा आफ्नो जीवन ‘भाग्यको वरदान’ ठान्नुहुन्छ । भाग्यले आशिर्वाद पाएको जीवनमा असल कर्मको कोदालो चलाएर सफलताको फसल उमार्ने काममा आफू दत्तचित्त भएको उहाँको ठम्याइ छ । समाजशास्त्रमा स्नातकोत्तर सापकोटा हाल सपरिवार गैंडाकोट–८ विजयनगरमा स्थायी बसोबासरत हुनुहुन्छ ।

विकूको ३३ वर्ष लामो र लोभलाग्दो विरासतको बलमा यसको संस्थागत सक्षमतालाई बहुआयामिक दृष्टिकोणबाट थप प्रबल बनाउनु सापकोटा नेतृत्वको नवनिर्वाचित समितिको प्राथमिकता रहनेछ । यसका लागि आफू तयार रहेको विकूका ७ औं अध्यक्ष सापकोटा बताउनुहुन्छ । गत भदौं ५ गते स्थापनाको ३३औं वार्षिकोत्सव मनाएको विकू साकोसले २४ सेवा केन्द्रमा कार्यरत १ सय ९१ कर्मचारीमार्फत १ लाख १५ हजारबढी सदस्यलाई सेवा प्रवाह गर्दै आएको छ । संस्थासँग हाल करिब साढे ६ प्रतिशत संस्थागत पुँजी रहेको छ ।

यसै सेरोफेरोमा मैले साकोस आवाज अनलाइनका लागि विकू साकोसका नवनिर्वाचित अध्यक्ष सापकोटालाई ‘अबको ४ वर्षमा विकू साकोस कहाँ ?’ भन्ने अहम् लगायत केही सहकारीसम्बन्धी र ‘तपाईको निकनेम राजु किन र कसरी रहन गयो ?’ भन्ने वैयक्तिक जीवनका रोचक पक्ष समेटेर अन्तर्वार्ता गरेको छु । प्रस्तुत छ, उक्त अन्तर्वार्ताको सम्पादित अंशः 

 

तपाईको विकू प्रवेश कसरी भयो ? 
दिनको एक कप चिया कम गरेर भएपनि बचत अभियानमा जोडिनुपर्छ भनेर सुरुवात भएको विकू सहकारीको इतिहास कम्ता रोचक छैन । संस्था स्थापनाको सुरुवाती मनसाय ‘बचत नै विकासको बीउ हो’ भन्ने थियो । २०४८ साल भदौं ५ गते २६ जनाबाट प्रतिव्यक्ति ५० पैसा बचत गरी सुरु भएको विकूको सहकारी अभियानसँग म स्थापनाको केही वर्षपछि २०५१ सालमा जोडिएँ । त्यसबेला प्रवेश शुल्क १० रुपैयाँ थियो । प्रति कित्ता १ सय रुपैयाँका दरले ५ सय रुपैयाँको ५ कित्ता सेयर खरिद गरेर सदस्य बनेँ । मेरो सदस्यता नम्बर ३ सय ११ हो ।

विकू सञ्चालक समितिमा तपाई कहिलेदेखि आबद्ध हुनुहुन्छ ?
विकू साकोसमा करिब ३ दशकदेखि आवद्ध भएपनि सञ्चालक समितिमा भने विगत एक दशकदेखि सहभागी छु । २०७० सालदेखि २०७३ साल सम्म सञ्चालक सदस्य निर्वाचित भएँ । २०७३ सालदेखि २०७६ सालसम्म सहसचिव र २०७६ सालदेखि २०८० सालसम्म सचिव हुँदै अहिले अध्यक्ष निर्वाचित भएको हुँ । हालसम्म निर्वाचन लड्नु परेको छैन । खासमा म मात्र होइन विकू साकोसको अहिलेसम्मको इतिहासमा कुनै पनि पदमा निर्वाचन भएको छैन ।

अध्यक्ष बन्ने निर्णय किन र कसरी गर्नुभयो ?
म सानै उमेरदेखि सहकारी र सामाजिक क्षेत्र प्रवेश गरेँ । समयक्रममा बिस्तारै सहकारीबारे बुझ्ने र भिज्ने अवसर प्राप्त गरेँ । सहकारी संस्था भनेकै अप्ठ्यारो अवस्थामा काम गर्ने भएको हुँदा सहकारीमा काम गर्दा सदस्यसँगको सम्बन्ध, सदस्यले प्राप्त गरेको सुख र सन्तुष्टि देख्दा यो क्षेत्रमा काम गर्ने थप प्रेरणा मिल्यो । सँगै विकूमा मेरा अग्रजहरुको प्रेरणा अनि सन्चालक सदस्य, सहसचिव र सचिव हुँदै १० वर्ष काम गरी सकेको अनुभव पनि हासिल भैसकेको थियो । सबैको सल्लाहमा अब नेतृत्व गर्नुपर्छ भन्ने लाग्यो र सोही अनुरुप निर्णय लिएँ । सही सल्लाह र दृढ संकल्पसहितको निर्णयले नतिजा पनि अपेक्षित नै हासिल भयो ।  

विकूको सञ्चालक अन्य सहकारीको सञ्चालक भन्दा के कुराले फरक छ ?
समाज रुपान्तरणको सम्वाहक सहकारी हो र सहकारीहरुमध्ये पनि विकू ‘टप अफ द लिष्ट’ हो । विकू सहकारीको पाठशाला र वास्तविक प्रयोगशाला पनि हो । विकू १ लाख १५ हजार बढी सदस्य भएको संस्था हो । यस संस्थामा सञ्चालकहरुले स्वयमसेवी भावनाका साथ काम गर्नुपर्दछ । यस संस्थामा सञ्चालक सदस्य बने पछि बचत गर्न पाइन्छ तर एकाघरका सदस्यले समेत ऋण सुबिधा लिन पाइदैन । यो संस्थाको सुशासनको सुन्दर पक्ष हो जुन अरु सहकारीमा कमै पाइन्छ । यसले सञ्चालकमा conflict of interest हुँदैन, काम गर्न आनन्द आउँछ । विकूको स्थापनाको मर्म र इतिहास नै अन्य सहकारी भन्दा फरक छ । यसका पूर्व अध्यक्ष एव सञ्चालकज्यूहरुको काम गर्ने तौरतरिका आज संस्थागत संस्कार बनेको छ । त्यसैले यो अन्य सहकारी भन्दा फरक छ । यस संस्थामा सञ्चालकहरुले नीति निर्माण गर्ने तथा अनुगमन र मूल्याङ्कनबाहेक अरु काम गर्दैनन् । 

विकूको सफलताका कारणहरु के हुन् ? विकू कसरी ‘विकू’ बन्यो ?
सर्वप्रथम विकू आवश्यकताका आधारमा स्थापित बचत तथा ऋणको मुख्य काम गर्ने सहकारी संस्था हो । यसले सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई सधै आत्मसात् गर्दै आएको छ । यसले सधैं सही नेतृत्व पाएको छ । नेतृत्व लोभीपापी नभइ सदस्य सेवामा तल्लीन रहदै आएको छ । यसको विगत नै बलियो रह्यो । नीति नियमलाई आत्मसात गर्दै अगाडि बढ्यो । अझ महत्वपूर्ण पक्ष भनेको यसमा काम गर्ने कर्मचारीको ‘सहकारी शैली’ पनि विकूको परिचय हो । विकूको सेवालाई सदस्यले मन पराएका छन् । सदस्यहरुले विकूलाई पूर्ण विश्वास गरेका छन् । सदस्यको चाहना र आवश्यकता अनुसारको नीति तथा कार्यक्रम यसले लागू गर्दै आएको छ । सुशासनमा कटिबद्व छ । समुदायमा आधारित छ । यसका सञ्चालक र कर्मचारीहरुलाई सदस्यले राम्रो सँग चिन्दछन् र सजिलै भेटघाट गर्न सक्दछन् । हेर्दा सामान्य लाग्ने यी कुराहरु अक्षरशः लागू गरी समुदायको विश्वास जित्नु सहज छैन । त्यही असहजतालाई सहजतामा परिणत गरेकै कारण विकू ‘विकू’ बनेको हो भन्ने लाग्छ ।

नयाँ सञ्चालक समिति कस्तो बनेको छ ?
सबै पक्ष समेटिएको सबल सञ्चालक समिति बनेको छ । राम्रो छ, शसक्त छ ।

अबको ४ वर्षमा विकू कहाँ ? 
अबको ४ वर्षमा हामीले सदस्य संख्या १ लाख ५० हजार पुर्याउने, १ अरबको जगेडा कोष, १ अरब शेयर पुँजी, १५ अरब ३१ करोड बचत, ३१ वटा सेवा केन्द्र, २७० कर्मचारी, अन्य कोषहरु ३६ करोड ६४ लाख र २० अरबको कूल सम्पत्तिसहित सदस्यलाई १८ प्रतिशत मुनाफा वितरण गर्ने लक्ष्य लिएका छौं । विकूको ‘ट्यागलाइन’ ‘सबैको पहिलो रोजाइ’ लाई जीवनन्तता दिनु नयाँ सञ्चालक समितिको जिम्मेवारी हुनेछ ।  

अध्यक्ष बन्ने बेला यो काम गर्छु वा मेरो प्रतिबद्धता वा योजना केही त बताउनुभएको थियो होला ?
विकूको रणनीतिक व्यावसायिक योजनालाई आत्मसात गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको थिएँ । त्यही अनुरुप काम गर्ने योजना हो । क्षेत्र विस्तार भन्दा पनि सदस्य विस्तार र सदस्य सम्बन्ध थप सुमधुर र प्रगाढ बनाउने काम गर्नेछु भनेको थिएँ । अब गर्ने त्यही हो । सदस्यलाई स्वस्थ्य एव खुसी बनाउने मेरो प्रतिबद्धता थियो । त्यही प्रतिबद्धता अनुरुप नै काम अघि बढाउँछौं ।  

विकू व्यवस्थापनबाट अपेक्षा ?
हालको व्यवस्थापकीय गति समयानुसार थप गतिशील होस् भन्ने अपेक्षा छ ।

बोर्ड र व्यवस्थापनबीचको सम्बन्ध संवेदनशील र ‘फ्रयाजाइल’ हुन्छ ? अबको दिनमा बिकू बोर्ड र व्यवस्थापनको सम्बन्ध कसरी अघि बढ्छ ?
विकूको ब्यवस्थापन पक्ष सशक्त छ । बोर्ड र व्यवस्थापन पक्षको लिखित रुपमा जिम्मेवारीहरु तय गरिएको हुन्छ । त्यसमा कुनै समस्या छैन । समय अनुसार नीति विधि बन्दछन्, परिमार्जित हुन्छन् र तिनैलाई टेकेर संस्था अगाडि दौडन्छ । 

विकूमा के गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ?
नवलपुर र चितवन जिल्लाका ९० प्रतिशत जनसंख्यालाई विकूमा सदस्यका रुपमा आबद्ध गराउन पाएँ हुन्थ्यो भन्ने लाग्छ ।

विकू सहकारीको ब्राण्ड हो ?
म त भन्छु ‘हो’ । 

तपाई अब ४ वर्षका लागि मात्र विकूको अध्यक्ष हो ? कि विकूभन्दा पर पनि सहकारी अभियानमा संलग्नताको सोच छ ? 
म हाल गैंडाकोट नगरपालिका भित्रका सहकारी संस्थाहरुको छाता संगठन ‘सहकारी समन्वय मञ्च’ को अध्यक्ष र जिल्ला बचत सहकारी संघ नवलपुरको संन्चालक सदस्य पनि छु । ‘कर्म गर फलको आश नगर’ भन्ने मेरो सिद्धान्त हो । पाएकै जिम्मेवारी पहिला पूरा गरौं अनि.......

सहकारी, त्यसमा पनि बचत ऋण सहकारी अभियन्तामा के कस्ता गुण हुनुपर्छ भन्ने लाग्छ ?
सर्वप्रथम सहकारी मूल्य माल्यता र सिद्धान्तलाई आत्मसात गर्ने, आर्थिक अनुशासन, वित्तसम्बन्धी ज्ञान, सदस्यलाई सधैं केन्द्रमा राख्ने, सबैलाई साथ लिएर अघि बढ्ने सामथ्र्य र गुण सहकारी अभियन्तामा आवश्यक पर्दछ । संस्थामा राजनीतिकरण नगर्ने, क्षमता भएकालाई स्थान दिने व्यक्ति नै साँचो सहकारी अभियन्ता बन्न सक्छ ।

सहकारी अभियानको साखमाथि नै प्रश्न उठ्दै आएको छ । यसको साख कसरी अभिवृद्धि गर्न सकिन्छ ?
सञ्चालकहरु लोभीपापी हुनु हुँदैन, राजनितिकरण नगर्ने, पारदर्शी र जवाफदेही बन्ने, सदस्यहरु सँग सम्बन्ध प्रगाढ बनाउन सक्ने कामले नै संस्था र अन्ततः अभियानमाथिको विश्वास बढ्दछ । जब विश्वास बढ्दछ, स्वाभाविक रुपमा साख वृद्धि हुँदै जान्छ ।

विकूका व्यवधानहरु के के हुन् ?
आन्तरिक व्यवधानहरु भन्दा बाहिरी अड्चनहरु छन् । देशको आर्थिक अवस्था, युवाको विदेशप्रतिको मोह, सञ्चालनमा रहेका व्यवसायहरु संकटमा पर्नु आदि हाम्रा ‘रोडब्लक्स्’ हुन् । 

एक्सेस ब्राण्डिङका बारेमा तपाईको धारणा ?
बचत तथा ऋण सहकारीहरुको ब्राण्डिङ हुनु राम्रो हो । त्यो ब्राण्डिङ पनि अन्तर्राष्ट्रिय मान्यताप्राप्त हुनु र विश्वासिलो निकायबाट त्यसको अन्तिम लेखापरिक्षण हुनु प्रशंसनीय कार्य हो । विगतमा पटकपटक एक्सेस ब्राण्ड पाएको संस्था हो विकू । हामी यसका हिमायती नै हो तर यसको स्वरुप र संरचनालाई समयानूकुल बनाइनुपर्छ भन्ने लाग्छ ।

विकूको अबको जोड केमा रहनेछ ?
सदस्य शिक्षाको सघनता र सदस्य सम्बन्धको प्रगाढता ।

सदस्यहरु विकूका लागि के हुन् ?
मुटु(आत्मा) हुन् जुन विना शरीर बाँच्न सक्दैन् ।

कर्मचारीहरु विकूका लागि के हुन् ?
मेरुदण्ड जो विना शरीर अडिदैन् ।

सञ्चालकहरु विकूका लागि के हुन् ?
सेवक हुन् ।

सहकारी अभियानमा लाग्दाको कुनै अविस्मरणीय घटना ?
म आइ.कम.पढ्दै गर्दा गाँउतिर अधिकांशको आयआर्जनको स्रोत दुध बिक्री थियो । तर डेरी थिएन । दुध बेच्ने भने पछि किसानहरुलाई अलि हेप्ने, होच्याउने मात्र होइन समयमा पैसा भुक्तानी हुँदैन थियो । त्यो पिडाबोध भएपछि गाउँलेहरु मिलेर डेरी खोल्ने निधो भयो । त्यसपछिको भेलामा डेरी सञ्चालन समितिमा ‘को को सदस्य हुने ?’ भन्ने कुरा भयो । । प्रायः भेलामा म पनि उपस्थित थिएँ । मेरो घरबाट पनि सदस्य बनाउने कुरा भयो । सबै जनाले मेरी आमालाई बन्न आग्रह गर्नुभयो तर उहाँले आफु होइन छोरा ‘राजु’ बन्छ भन्नुभयो । तर कतिपयले ‘राजु त पढ्दै छ । उसले पनि भैंसी पाल्छ र ?’ भनेर जिज्ञासा राख्नुभयो । आमाले ‘भैंसी म पाल्छु, दुध राजुको नाममा बेच्छुँ’ भन्नुभयो । त्यसपछि म डेरीको सदस्य भएँ । हाल उक्त डेरी ‘गैंडाकोट एकिकृत बहुउद्देश्यीय कृषि सहकारी संस्था’ को नाम बाट सञ्चालित छ । 

त्यसबेला देवी प्रसाद सापकोटाको अध्यक्षतामा म सञ्चालक सदस्य भएर सहकारीमा आबद्ध भएँ । अझ चाखलाग्दो कुरा के छ भने दुध संकलन त गर्ने तर उक्त दुध कहाँ बिक्री गर्ने भन्ने सल्लाह हुदाँ हाम्रो अन्य डेरीबाट दुध उठाउँदै आएको हिमालय डेरीलाईनै दिने निधो भयो र कुरा गर्न काठमाडौ जाने कुरा भयो । तर ‘काठमाडौं को जाने ?’ भन्दा सबैबाट ‘घरमा काम छ, म त जान्न भ्याउदिनँ’ भन्ने जवाफ आयो । त्यसबेला सबै नजाने भए पछि मलाई जाने मौका मिल्यो । यद्यपि, सबैले मलाई केटाकेटीको रुपमा लिए । तैपनि काठमाडौ जाने मै भएँ । 

अब, म पहिलो पटक काठमाडौं जाँदै थिए । काठमाडौको नाम त सुनेको तर त्यसअघि गएको थिइनँ । त्यसैले मेरो ध्यान डेरीसँग छलफल गर्ने भन्दा काठमाडौ कस्तो होला भन्नेतर्फ गयो । मनमा अनेक कौतुहलताले काउकुती लगायो । त्यो वय पनि त्यस्तै थियो । मेरो ध्यान त्यस कुरामा बढी केन्द्रित थियो । अनि अध्यक्ष देवी प्रसाद सापकोटा, सचिव एव ब्यवस्थापक थानिरत्न कडेल (हाल अमेरिका) अनि म लगायत ५ जना काठमाडौं गयौं । हामी हिमालयन डेरी पुग्यौं । प्रतिनिधि भएर गएको मलाई हिमालयन डेरीका साहूले नेवारी शैलीमा अध्यक्षतर्फ इंगित गर्दै ‘बाजे, यो बाबु तपाईको छोरा हो ?’ भनेर सोध्नुभयो । अध्यक्षज्यूले ‘अ, छोरा त छोरै हो तर डेरीको प्रतिनिधि पनि हो’ भनेपछि डेरी साहू नतमस्तक हुनुभएको थियो । त्यसबेला त्यस्तो केही महसूस भएन तर आजकल त्यो घटना सम्झदाँ मान्छेले मान्छेलाई हेर्ने दृष्टिकोण देखेर अचम्म लाग्छ । यसरी मेरो सहकारी यात्रा शुरु भएको थियो ।

विकूसँग सम्बन्धित कुनै रोचक सम्झना छ कि ? 
विकूमा अवलोकन भ्रमणका लागि विभिन्न सहकारी संस्थाहरु आउनेक्रम धेरैअघि देखि नै सुरु भएको हो । जब सहकारी संस्थाका प्रतिनिधिहरु विकूमा अवलोकनका लागि आउनुहुन्थ्यो तब परिचय हुन्थ्यो । परिचयका क्रममा मैले ‘विकूको सचिव हुँ’ भन्दा धेरै जनाबाट ‘यति ठूलो संस्थाको सचिव हजुर ?’ भनेर आश्चार्यमिश्रित प्रश्नको प्रतिक्रिया प्राप्त हुन्थ्यो । प्रायः सहकारी संस्थाहरुमा उमेरको अनुभव बढी  भएकाहरु सञ्चालक हुने भएर होला !

तपाईले सहकारीसम्बन्धी लिएका तालिमहरु के के हुन् ?
मैले CUDCC, financial literacy training of trainers, PEARLS Monitoring system, Training of account management, International school cooperative seminar "youth empowerment Through cooperatives for a Better World", agricultura cooperative business training, strategic planning, organization management training for trainers,   लगायतका तालिम लिएको छु । 

तपाईको विचारमा सहकारी के हो ? के होइन ?
सहकारी सदस्य केन्द्रित सामाजिक उद्यम वा व्यवसाय हो, सहकारी भनेको नै सदस्य हुन् र समुदायको विश्वास हो । त्यसैले सदस्यको सुखदुःखको साथी हो सहकारी । सहकारी संस्था केवल मुनाफा आर्जन गर्ने संस्था होइन ।

बचत तथा ऋण सहकारी के हो ? के होइन ?
बचत तथा ऋण सहकारीहरु स्थानीयस्तरमा छरिएर रहेका स–साना पुँजी एकीकृत गरी सदस्यको आर्थिक सामाजिक अवस्था सुधार गर्न उनीहरुलाई नै आयमूलक क्षेत्रमा ऋण लगानी गर्ने सदस्यहरुद्वारा सञ्चालित मूल्यमा आधारित व्यावसायिक संस्था हुन् । यसमा सदस्यले नै पैसा जम्मा गर्ने र सदस्यले नै ऋण लैजाने हो । सदस्यहरु आफैले नियम बनाउने र आफै पालना गर्ने हो । पहिला बचत जम्मा गरेर पछि ऋण लगानी गर्न सकिन्छ । त्यसैले बचत पहिला र ऋण त्यस पछिका क्रियाकलाप हुन् । बाहिरी देशमा ऋण पहिला त्यसपछि बचत हुन्छ भने, हाम्रोे देशमा बचत पहिला र पछि ऋण हुन्छ । सहकारीलाई बैक जस्तै भन्दछन् तर सहकारी बैंक हुँदै होइन ।

अहिलेको तपाईको दैनिकी कस्तो छ ?
विकूमा जाने, आफ्नो काम गर्ने, कार्यक्रमहरुमा भाग लिने, साथीभाई सँग भेटघाट गर्ने, घरपरिवार सँग बस्ने ।

नेफ्स्कून–विकू सम्बन्ध कसरी अघि बढ्छ ?
नेफस्कूले आफ्नो स्थापनाको उद्देश्यलाई सधै शिरोपर गर्नुपर्छ । उद्देश्यबाट विमुख हुनुहुँदैन । यति हुँदा समस्या हुँदैन । नेफ्स्कून र विकूको सम्बन्ध अबका दिनमा थप प्रगाढ बन्छ भन्ने विश्वास लिएको छु ।

सहकारीमा तपाईको प्रेरणा र आर्दश को हुनुुहुन्छ ?
आमा पार्वती सापकोटा र विकूका पूर्व अध्यक्षज्यूहरु ।

तपाईको व्यक्तिगत पाटो केही जान्न सकिन्छ कि ?
२०३३ फागुन २३ गते गैडाकोट, ८ नवलपरासी (ब.सु.पुर्व) मा मेरो जन्म भएको हो । परिवारको १२औं हुँ म । हाल हामी ९ जना मात्र बाँकी छौं । मेरा ६ दिदी हुनुहुन्छ । सन्तानका रुपमा भाग्यले मेरो जन्म भयो र म बाँच्नुपनि बलियो भाग्य कै कारण थियो । हाल पत्नी सावित्री कडेल सापकोटा, छोरी साहारा सापकोटा र छोरा संसार सापकोटासहितको ४ जनाको मेरो परिवार छ । 

तपाईको जीविकोपार्जनको माध्यम के हो ?    
मन्टेश्वरी स्कूलका साथै विभिन्न तालिमबाट आर्जित र बाँकी पैतृक सम्पतिको रहेको छ । म केही वर्ष बेलायत पनि बसेँ । मै सेफ पनि हुँ । मैले ‘हेल्थ एण्ड हाइजिन’ मा ‘लेभल टु’ उत्तिर्ण गरेको छु ।

फुर्सदको समय कसरी बिताउनुहुन्छ ? 
छोराछोरी र घर परिवारका सदस्यसँग भ्याएसम्म समय बिताउँछु । साथमा पुस्तकहरु पढ्ने र करेसाबारीका केही सहयोग गर्ने गर्छु भने साथीभाईको सर्कलमा पनि रमाउँछु । भ्रमण मेरो अर्को रुचि हो । हालसम्म करिब एक दर्जन मुलुक भ्रमण गरेको छु । देशभित्र पनि थुप्रै जिल्ला पुगेको छु ।

धुमपान गर्नुहुन्छ ?
गर्दिनँ । 

तपाई शाकाहारी कि मासंहारी ?   
मासंहारी

तपाईको आदर्श र प्रेरणा को हो ? 
बुबालाई सानो छँदा गुमाएँ । उहाँसँग धेरै समय बिताउन पाइनँ । त्यसैले प्रेरणाको मुहान आमा र श्रीमती मान्छु ।

आफुलाई मन नपरेको बानी ? 
अरुलाई छिटो विश्वास गर्छु । 

‘राजु’ तपाईको ‘निकनेम’ रहेछ । यो नाम किन र कसरी रहन गयो ? 
बुबा ७ दशक टेकेपछि जन्मनु मेरो भाग्य हो । जन्मनु मात्रै होइन बाँच्नु अर्को भाग्य थियो । जन्मदा म स्वस्थ्य, मोटो र निख्खर गोरो थिएँ । बुबाआमाले माया गरेर अनि कान्छो छोरो भएका कारण पनि हुनसक्छ बोलाउँदा ‘मेरो राजु, मेरो प्यारो राजु’ भन्नुहुन्थ्यो । बुबाआमाले भन्ने गरेको त्यही ‘राजु’ नाम बिस्तारै परिवारका अन्य सदस्यसँगै आफन्तहरुमा पनि भिज्यो । अनि म सबैका लागि ‘राजु’ भएँ । अहिले पनि गाउँघर र आफन्तले मलाई ‘राजु’ भनेर चिन्नुहुन्छ । बुबाआमाको मायाबाट पाएको ‘राजु’ नाम मेरो लागि निक्कै प्यारो भयो । फेरि औपचारिक नामनै राजु राख्न पनि सकिन्थ्यो तर बुबाले म २ वर्षको हुँदै पैतृक सम्पत्ति अंशबण्डा गरिदिनुभएको थियो र सरकारी कागजातमा मेरो नाम प्रेम राखिएको थियो । कक्षा ९ मा एसएलसीको लागि रजिष्ट्रेशन फारम भर्ने बेला नाम परिवर्तन गरेर राजु नै राखौं कि भन्ने सोच आएको थियो तर पुर्जाहरुमा प्रेम रहेकोले परिवर्तन गर्न झन्झटिलो हुने ठानेर प्रेम नै राखेँ तर निकनेम ‘राजु’ अक्सर जोड्छुँ । 

saccosaawaj media

ऋण संघ ऐन (Credit Union Act) को आवश्यकता

सोमबार, साउन ५

निवर्तमान अध्यक्ष, नेफ्स्कून

saccosaawaj media

सहकारी मर्जरका लागि उत्प्रेरित नभए सरकार दबाब दिन बाध्य हुने

सोमबार, साउन ५

डा. टोकराज पाण्डे रजिष्ट्रार, सहकारी विभाग

saccosaawaj media

दिगो विकास लक्ष्य र सहकारी

सोमबार, साउन ५

दिगो विकास लक्ष्य र सहकारी