सोमबार, वैशाख १७
०२:५९

७५औं वर्षमा अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस

बिहीबार, कात्तिक २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

प्रत्येक अक्टोवरको तेस्रो विहीबार विश्वभरका बचत तथा ऋण सहकारीहरुले अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस अर्थात् आइसीयू डे विभिन्न कार्यक्रम गरी मनाउँदछन् । नेपालमा प्रत्येक चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । त्यस्तै, नेपालको बचत तथा ऋण सहकारीको शीर्षस्थ संघ तथा नेपालकै पहिलो सहकारी सञ्जाल–नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को स्थापना स्वर्गीय भोजराज घिमिरेको अगुवाइमा वि.स २०४५ श्रावण ३२ गते भएकोले हरेक वर्षको श्रावण मसान्तलाई राष्ट्रिय साकोस/क्रेडिट युनियन दिवसको रुपमा लिन सकिन्छ । यो वर्ष २०८० साल कार्तिक २ गते अर्थात् आज ७५औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस परेको छ । यो विश्वभरका वित्तीय सहकारीहरुको सबैभन्दा ठूलो पर्व हो । उत्सव हो । यसलाई उत्सवकै रुपमा विश्वभरका बचत तथा ऋण सहकारी संघ संस्थाले विभिन्न प्रतियोगिता, जनचेतनामूलक कार्यक्रम, सामाजिक क्रियाकलापहरु, शिक्षाप्रद कार्यक्रमहरु, स्वयंमसेवी क्रियाकलापहरु संचालन गरी मनाउने गर्दछन् । यस दिवसले बचत ऋण सहकारीको विश्वव्यापी अभियानको आत्मा जागृत गराउँदछ । 

सहकारी सामाजिक व्यवसाय हो । सहकारीको संचालनको मुख्य आधार साझा बन्धन नै हो । त्यसैले सहकारी संचालक, सदस्य, व्यवस्थापन तथा समुदायको पारस्परिक विश्वासको आधारमा संचालन हुने गर्दछ । अन्तर्राष्ट्रिय सहकारी महासंघले सन् १९९५ मा सहकारीको पहिचान सम्बन्धी भनाइ (Statement on the Cooperative Identity) लाई संशोधित गरी स्वीकार गर्यो जसमा सहकारीको परिभाषा, सहकारीका मूल्यहरू र सात सहकारी सिद्धान्तहरू समावेश गरिएको छ जसमा सहकारीलाई सदस्यले गर्ने विश्वासमा आत्मसहयोग, स्वउत्तरदायित्व, लोकतन्त्र, समानता, समता तथा ऐक्यवद्धता पर्दछन् भने सहकारीलाई समुदायले गर्ने विश्वासमा इमान्दारी, खुलापन, सामाजिक उत्तरदायित्व र अरुको हेरचाह पर्दछन् । तर केही व्यक्तिको व्यवहारमा आउने विचलनका कारण  पत्रपत्रिका, युटुव, टेलिभिजन, रेडियो आदि आम सञ्चारमाध्यममा सहकारी भागेको, डुवेको, सदस्यको पैसा फिर्ता नगरेको जस्ता खबरहरु सुन्न, पढ्न र देख्न हामी बाध्य छौं । नेपालको सहकारी अभियानको वास्तविक ओज र छवि बचाउन यो वर्ष सहकारीले धेरै काम गर्नुपर्ने देखिएको छ । त्यसैले यो वर्ष नेपालको सहकारी अभियानको छवि सुधारको वर्ष हो । 

गत चैतमा कपाल जाँच गराउन एउटा निजी अस्पताल गएको थिएँ । त्यहाँ डाक्टरले मेरो पेशाबारे जिज्ञासा राख्नुभयो । मैले ‘नेफ्स्कूनमा काम गर्छु’ भनेँ । उहाँले थप प्रष्ट्याइँ खोज्नुभयो । मैले ‘नेपालका बचत तथा ऋण सहकारी संघ संस्थाहरुको एक मात्र केन्द्रीय संघ’ मा काम गर्ने जानकारी गराएँ । मैले कुरा सक्न नपाउँदै उहाँले ‘सहकारी डुबे जस्तै तपाइको कपाल पनि डुबेछ’ भन्नुभयो । मलाई झनक्क रिस उठ्यो । मनमा विकारयुक्त भाव तरंगित भएपनि संयमित भएँ । चिकित्सकको प्रतिक्रियाले सोचमग्न बनायो । सहकारी सम्बन्धमा उक्त चिकित्सकको जस्तो ‘जनरलाइजेसन’ चोक र गल्लीका चिया गफमा धेरै सुन्न पाइन्छ । वास्तवमा भन्ने हो भने केही सहकारीको खोल ओड्ने असहकारी प्रवृत्तिका व्यक्तिका स्वार्थले सहकारी अभियान धूमिल बनेको छ । सहकारी अभियानको नेतृत्व गरेका, गरिरहेका र सहकारी अभियन्ता भनिएका व्यक्तिको सहकारीमा पनि समस्या देखिएका कुराहरु निरन्तर छापाहरुमा आइरहेको पाइन्छ । यी र यस्ता घट्नाले सहकारी अभियानको ओज तथा सदस्य र समुदायको विश्वासलाई निरन्तर घटाउने काम गरिरहेको छ । हुनत वित्तीय क्षेत्रको प्राण भनेको पैसा नै हो जसलाई जीवन्तता दिने काम सदस्य तथा समुदायको विश्वासले गर्दछ । अझ बचत तथा ऋण सहकारीको कुरा गर्नुपर्दा यो क्षेत्र विशुद्ध विज्ञान हो जहाँ निरन्तर वित्तीय विश्लेषण तथा वित्तीय सन्तुलनमा कायम गर्नुपर्ने हुन्छ । साकोसमा वित्तीय सन्तुलन तथा विश्लेषण गर्न सकिएन भने सहकारी संस्थामा जुनसुकै समयमा समस्या वा जोखिम देखा पर्न सक्दछ । त्यसैले यो वर्ष नेपालको सहकारी अभियानमा छवि सुधारको वर्षको रुपमा मनाउनु पर्ने देखिन्छ ।

आइसीयू डे किन मनाउने भन्ने जान्न यसको इतिहास बुझ्ने प्रयास गर्नुपर्दछ । विश्वमा रोवर्ट ओवेनको विचारबाट प्रभावित भई  सन् १८४४ डिसेम्बर २१ मा २८ जना कपडा उद्योगमा काम गर्ने मजदुरहरुले बेलायतको म्यानचेस्टर शहरमा रोचडेल एक्विटेवल पायोनियर्स सोसाइटी नामको चिनी, जौको चियुरा, नौनि, आटा आदि न्यून मूल्यमा बेच्ने गरी उपभोक्ता सहकारी स्थापना गरे जुन विश्वको पहिलो आधुनिक सहकारीको रुपमा दस्तावेजीकरण भएको छ । त्यस्तै, त्यही समयमा जर्मनीमा Victor Aime Huber ले प्रारम्भिक सहकारी सिद्धान्तहरुको विकास र प्रचार गर्न थाले जुन बचत तथा ऋण सहकारी स्थापनाको आधार बन्न पुग्यो ।

सन् १८४६–१८४७ मा जर्मनीमा न्यून उत्पादन र अनिकालको चरम अवस्था आइपर्यो र किसानहरुलाई साहुको चर्को ऋण Loan Shark मा भर पर्नु पर्यो । सन् १८४६-४७ को जाडो समयमा गरिबहरुको यो पिडा F.W. Raiffeisen ले आफ्नो निजी लगानीमा आटा, पिठो किने र पाउरोटी र फलफुल खरिदका लागि सहयोगको लागि संगठन बनाए । सामुदायिक बेकरीमा पाउरोटी बनाइ उधारोमा गरीब जनसंख्यामा बाडिने गरिन्थ्यो । राइफाइसनले गरिबी र परनिर्भरतामा अन्तरसम्बन्ध रहेको विचार राख्दथे । त्यसैले उनले गरीबीसँग लड्नको लागि परनिर्भतासँग लड्नु पर्दछ भन्दथे । यसरी १९ औ शताब्दीको मध्यतिर जर्मनीमा Hermann Schulze-Delitzsch र Friedrich Wilhelm Raiffeisen ले विश्वमा पहिलो बचत तथा ऋण सहकारीको स्थापना गरे । सन् १८५२ मा शुल्जले जर्मनीको शहरी इलाकामा उद्यमीहरुलाई ऋण उपलब्ध गराउन पहिलो People's Bank को स्थापना गरे । त्यस्तै सन् १८४९ राईफाइसनले Self-Help को भावनाबाट प्रेरित भई जर्मनीको Flammersfeld भन्ने ठाउँमा परोपकारी धनी व्यक्तिहरुको सहयोगमा बचत ऋण संस्था Credit Society स्थापना गरे । तर सन् १८६४ पश्चात उनले आधुनिक बचत तथा ऋण सहकारी अवधारणा लागु हुने गरी ३ एस (3S) सूत्रः स्वः सहयोग Self- Help स्वःशासन Self-Governance र स्वः उत्तरदायित्व Self-Responsibility को अवधारणमा आधारित बचत तथा ऋण सहकारी स्थापनाको वकालत गरे । किसानहरुको सहभागितामा पहिलो ग्रामीण ऋण सहकारी संस्था Rural Credit Society  स्थापना गरे । सन् १९८८ मा राइफाइसनको मृत्यू पश्चात विस्तारै बचत तथा ऋण सहकारी अभियान युरोप लगायत विश्वभर फैलन पुग्यो ।  

सर्वप्रथम सन् १९२७ जनवरी १७ मा अमेरीकाको म्यासाचुसेट्सको क्रेडिट युनियन लिगले सदस्यहरु र कामदारहरुको लागि बचत प्रेरक Benjamin Franklin को जन्मदिनको अवसर पारेर पहिलो अन्तर्राष्ट्रिय क्रेडिट युनियन/साकोस दिवस मनाएको थियो । तर त्यसले निरन्तरता पाएन । त्यसपछि सन् १९४८ को अक्टोबर तेस्रो विहिबारका दिन “अबको समय बचत तथा ऋण सहकारीहरू मार्फत राम्रो संसार निर्माण गर्ने हो” भन्ने थिमका साथ अमेरिकाको Credit Union National Association -CUNA  र CUNA Mutual Insurance ले क्रेडिट युनियन दिवस मनाउने निर्णय गरे । ततपश्चात अमेरिकी साकोस अभियन्ताहरुले यसको इतिहास र उपलब्धिहरु प्रतिविम्बित गर्न तथा साकोसमैत्री वातावरण निर्माण तथा प्रवर्धनका लागि मानिसहरुलाई एकसाथ जोड्नु पर्छ भन्ने आवश्यकता रहेको रहेको महसूस गरे । त्यसले गर्दा साकोसहरुलाई कुनै कुनै रुपमा दिवस मनाउन प्रेरित गरियो । सन् १९५० मा CUNA को World Extension Department ले विश्वभरका साकोसको विकासको लागि प्राविधिक सहयोग र सैद्धान्तिक मार्गनिर्देशन प्रदान गर्यो । सन् १९६४ सम्म CUNA International को सहयोगमा धेरै देशहरुमा साकोस अभियान स्थापना गरे । यसरी हरेक वर्ष अक्टोबरको तेस्रो विहीबारलाई अन्तराष्ट्रिय क्रेडिट युनियन दिवसको रुपमा मनाउन थालियो । सन् १९७१ मा विश्वभरि साकोस अभियान स्थापना गर्न र साकोस अभियान बचाउनको लागि विश्व ऋण परिषद् World Council of Credit Unions को विधिवत स्थापना भयो । उक्त अन्तराष्ट्रिय क्रेडिट युनियन दिवसलाई विश्व ऋण परिषद्ले पनि मान्यता दिइ निरन्तरता दियो । हाल यो अभियानले विश्वमा रहेका १सय १८ देशका ३९ करोड ३८ लाख ७१ हजार ६ सय ३१ सदस्यहरुलाई जोड्ने काम गरेको छ । यस दिवसले विश्वमा साकोस अभियानको अद्वितीय भिन्नतालाई जनस्तरमा स्थापित गराउने काम गर्दछ ।  

विश्व ऋण परिषद्की प्रमुख कार्यकारी अधिकृत एलिसा म्याक्कार्टर लाबोर्डका अनुसार “यो दिवस साकोस आन्दोलनको इतिहासलाई प्रतिबिम्बित गर्ने, सामूहिक उपलब्धिहरूलाई प्रवद्र्धन गर्ने र भविष्यको लागि तयारी गर्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । यस वर्षको कार्यक्रमले वित्तीय कल्याण र सदस्य सशक्तिकरणका विषयहरूलाई जोड दिनेछ, सदस्यहरूका लागि वित्तीय कल्याणलाई बढावा दिनमा केन्द्रित हुनेछ ।”

अन्त्यमा, क्रेडिट युनियनमा आवद्ध नेतृत्व, व्यवस्थापन, सदस्य र सरोकारवालाहरुको त्यागबाट हासिल ७५ वर्षे इतिहास विश्व बचत तथा ऋण सहकारी अभियानको महत्वपूर्ण कोशेढुङ्गा हो । क्रेडिट युनियन अभियान पृथक परिकल्पनासहितको उत्कृष्ट अभ्यास हो । समर्पण, सहयोग र सफलताको अभियान हो । अतः आइसीयू डे–यही भावनाको प्रबलीकरणसहित विश्व अभियानमा एकाकार हुने अवसर हो । अभियानका अग्रजहरुलाई सम्मान र अनुजहरुलाई हौसला प्रदान गर्ने मौका हो । क्रेडिट युनियन अर्थात् साकोस अभियानमा समर्पित सम्पूर्ण सदस्य, कर्मचारी, संचालक समिति, लेखा सुपरिवेक्षण समिति तथा उपसमिति सबैको सम्मान र सम्झना गर्ने दिवस हो । समग्रमा, यो दिवस क्रेडिट युनियन (साकोस अभियान) को गौरव गाथा गाउने पावन पर्व हो ।

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ