सोमबार, वैशाख १७
१०:०१

चाडपर्व मितव्ययी बनाउने ५५ काइदा 

शुक्रबार, असोज २६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

यस वर्षका ठूला चाडपर्वहरु दशैं, तिहार, नेपाल सम्वत र छठ तपाई हाम्रो नजिकै छन । ईष्टमित्र, साथीभाई भेट गर्ने र भेट हुन सहज हुने समय पनि यही नै हो । सामान्यतया खाद्यान्न र कपडाको व्यापार बढने, परदेशीहरु चाडपर्व मनाउन घर आउने वा घरमा चाड मनाउन खर्च पठाउने, जागिर गर्नेले चाडपर्व खर्चको लागि अतिरिक्त तलब सुविधा पाउने समय यही भएकोले सबैको हातमा धेरै थोरै रकम हुने समय पनि हो । वर्षको एकपटक आउने मुख्य चाडवाडहरुमा सबै परिवार भेट भई मिठो मसिनो पकाएर खाने, रमाईलो गर्ने, घुम्न जाने रहर सबैलाई हुनु स्वाभाविकै हो ।

 प्रत्येक वर्ष दशैंको टिकाको २२ दिनभित्रमा तिहार भाईटिका आउँछ भन्ने सबैलाई थाहा छ । नियमित तलब सुविधा पाउने धेरै कर्मचारीहरुलाई चाडपर्व भत्ताले यी मुख्य चाडबाड मनाउन छुट्याउनुपर्दछ भन्ने पनि थाहा छ । यसै अनुसार मनमनै योजना पनि बनेको होला ! तर कतिपय मानिस दशैं लगत्तै फेरी सापटी खोजीरहेका हुन्छन् । किन यस्तो हुन्छ ? दशैंमा साथीभाई भेट हुँदा होस् वा घरायसी परिकारको सामान, कपडा किन्दा योजना गरिएको भन्दा बढी खर्च भईसकेको हुन्छ र त्यसको दबाब तिहारमा पर्न जान्छ । पैसा सम्बन्धी निर्णयहरुमा मानिस आवेगमा बहकिँदा जति भए पनि त्यो अपूर्ण नै हुन्छ ।   

नेपालको वर्तमान अवस्थालाई सरसर्ती नियाल्ने हो भने मंहगी बढदो क्रममा रहेको, आम्दानीको स्रोतहरु कमजोर भएको, व्यापार व्यवसायमा शिथिलता देखिनुको साथै ऋण तिर्न नसकेर खराब ऋणीको सूचिमा पर्नेको संख्या बढेको तथ्याकं सार्वजनिक भएका छन । कोभिड १९ को असर लगत्तै रुस युक्रेन युद्ध र ईन्धन मूल्य वृद्धिले अर्थतन्त्रमा पारेको नकरात्मक प्रभाव हरेक नेपालीको चुल्हो चौकासम्म धेरै थोरै परेकै छ । विगतको तुलनामा अर्थतन्त्रमा केही राहतको अवस्था देखिएता पनि यो प्रभावको सामना गर्न अझै केही वर्ष खर्च गर्ने बानीमा थप अनुशासित बन्नुपर्ने आवश्यकता छ । उपभोग बढ्दा व्यापार व्यवसायहरुमा बिक्रि बढने, व्यवसायीहरुले नाफा कमाउने देखिएता पनि नेपालको अर्थतन्त्र आयातमुखी भएकोले हामीले गर्ने उपभोगहरु बढनु भनेको नेपाली पूँजी बढी बाहिरिनु हो ।  

“हुलमुलमा जीऊ जोगाउनु, अनिकालमा बीऊ जोगाउनु” भन्ने नेपाली उखानले संकटको बेलामा थप अनुशासित बन्नुपर्दछ भन्ने संकेत गर्दछ । सामान्यतया पैसा सम्बन्धी निर्णयको भाव बढी चन्चलमुखी, तुरुन्तै लाभ वा उपयोगको चाहनाले प्रेरित हुन्छन् । अझ विशेष हाम्रो समाजमा देखासिकी र ईज्जत धान्नुपर्दछ भन्ने बहानामा जसरी पनि चाहनाहरु पुरा गर्नुपर्ने सोच हावी भएको अवस्थामा रुपैयाँ पैसाको व्यवस्थापन र उचित निर्णय लिन झनै कठीन हुन्छ । यसैले अहिलको अवस्थालाई हेर्दा दशैं, तिहार, छठ जस्ता मुख्य चाडपर्वमा यी तलका उपायहरु अपनाउन सकेमा मात्रै पनि चाडपर्व मितव्ययी बन्न सक्दछ । 

चाडपर्वको योजना सम्बन्धमा: 

1. चाडपर्वको लागि बजेट बनाउनुहोस । दशैं मात्र होईन लगत्तै तिहार र छठ पर्व पनि नजिकै छन भन्ने नबिर्सनुहोस् । योजनामा तिहार र छठलाई पनि समावेश गर्नुहोस् ।

2.  एकैजनाको आम्दानीले मात्र खर्च व्यहोर्ने भन्दा आम्दानी भएको सबैले योगदान गरी दशैं मनाउन परिवारमा छलफल गर्नुहोस ।

 3. चाडबाडको लागि खुद्रा पैसा साटदा एकैपटक धेरै रकम साटेर नराख्नुहोस । खुद्रा रकम धेरै हुँदा यो छिटो खर्च हुने जोखिम रहन्छ साथै यसरी राखिएको नगदको ब्याज पाउने अवसर पनि गुम्छ । 

4. कुनै बोनस वा लाभाशं आम्दानी, ब्याज आम्दानी प्राप्त हुने विभिन्न स्रोत छन भने सबै स्रोतबाट रकम झिक्ने गरि योजना नबनाउनुहोस् । कुनै आम्दानीलाई पछिको लागि छोडनुहोस् । 

5. “स्कुल फि, घरभाडा पछि तिरौंला” भनि आधारभूत खर्चहरुलाई पछि तिर्ने गरी सबै रकम चाडबाडका लागि नछुट्याउनुहोस् ।

6. दायित्व तिर्न पर लैजानु भनेको खर्च बढाउनु हो । कुनै ऋण भाखा नाघेको छ वा तिर्ने किस्ता परेको छ भने त्यसलाई तिर्ने कोशिस गर्नुहोस् । 
7. ऋण लिन मिल्ने ठाउँ छ भन्दैमा चाडपर्व मनाउनकै लागि खुलेर ऋण नलिनुहोस् ।   

किनमेल सम्बन्धमा: 

8. सामान किन्नुअघि आवश्यक सामान र परिमाणको सूची बनाउनुहोस । सकेसम्म सुपथ मुल्य पसलहरुबाट मात्र सामान किन्नुहोस । सामान किन्दा भण्डार गर्न सकिने सामानहरु थोकमा किन्नुहोस् ।

9. कपडा किन्नुपूर्व एकपटक आफ्नो दराजमा भएका कपडाहरु जाँच गर्नुहोस् । कति कपडाहरु एक दुई पटकभन्दा बढी नलगाएका पनि हुन सक्छन । कपडा किन्नै पर्ने आवश्यकता हो होईन बिचार गर्नुहोस् । 

10. कपडा किन्दा बढी रङ्गीचङ्गी र कुनै रङ विशेष आकर्षणमा जोड नदिनुहोस । कुनै बुट्टा वा रङमा मात्र आकर्षित हुँदा सामान बढी मूल्यको पर्न सक्दछ वा मोलतोल गर्न सकिँदैन । 

11. कपडा किन्दा पछि सामान्य रुपमा लगाउन सकिने वा कुनै चाडपर्व विशेषमा लगाउन मिल्ने गरि एकैपटक किन्नुहोस । जस्तैः छोराछोरीलाई दशैंमा नया कपडा किनिसकेपछि तिहारमा नकिन्ने गरि योजना बनाउन सकिन्छ ।

12. कपडा एवं विभिन्न विद्युतीय उपकरणहरु थ्रिफ्ट स्टोरहरुबाट किन्नुहोस् । (कसैलाई कम उपयोगिता भएर वा उपयोगिता नभएका सामानहरु आजभोली यस्ता स्टोरहरुमा बिक्रि गर्न र आवश्यक पर्नेले सुपथ मूल्यमा किन्न पाईन्छन । शहरका विभिन्न स्थानहरुमा यस किसिमको पुर्न बिक्रि Thrift Store हरु खुलेका छन् ।)

13. फलफूल तरकारी किन्दा मौसम अनुसारको किन्नुहोस् । बेमौसमी तरकारी प्राय महँगो हुन्छन् । 

14. चाडपर्व लक्षित विभिन्न छुट अफरका विज्ञापनहरु आइरहेका हुन्छन् । आफ्नो आवश्यकता र बजेटको यकिन गरेर मात्र छुटको विकल्पको तुलना गर्नुहोस् । बजारमा हरेक किनमेलमा सामान्यतया विकल्पहरु हुन्छन भन्ने नभुल्नुहोस् ।

सवारी साधन/यातायातको साधन प्रयोग सम्बन्धमा:

15.  सवारी साधन प्रयोग गर्दा कम खर्चिलो किसिमको प्रयोग गर्नुहोस । एउटै स्थानमा जान ए.सी. सवारी साधनको सट्टामा ए.सी. नभएको सवारी साधन प्रयोग गर्न सकिन्छ । 

16. एकै स्थानमा जाने भए वा बाटो मिल्ने भए राईड शेयरिङमा जानुहोस । जस्तै ः दुई जना एकै ठाउँ जादै हुनुहुन्छ र एकजना मोटरसाईकलमा जाँदै हुनुहुन्छ भने अर्को व्यक्तिलाई सँगै लिएर जानुहोस ।एउटाले बाईकमा तेल हाल्ने, एकजनाले बाटोमा खाजा पानी किनेर खर्च बाँडफाँडमा सहयोग हुन सक्छ । सवारी साधन हुनेले पनि आफू एक्लै हो वा सवारीमा ठाउँ छ भने सामाजिक सञ्जालको ग्रुपहरुमा आफूले सहयोग गर्न सक्ने विषय उल्लेख गर्दा अरुलाई सहयोग मिल्न सक्छ ।

 17. चाडवाडको समयमा घुमफिर गर्ने हो भन्दैमा दिनभर मोटरसाईकल वा कारमा नडुल्नुहोस् । 

18.  चाडबाडको समय भन्दैमा भरपुर गहना लगाएर नहिँडनुहोस् । दशैं तिहारमा भिडभाड बढी हुने हुनाले चोरी लुटपाट हुने सम्भावना पनि बढी हुन्छ । 

खानपान सम्बन्धमा:

19.  घटस्थापनाको दिनदेखि नै लगातार र पूर्णिमासम्मै माछा मासु खानुभन्दा चाडपर्वको मुख्य दिनहरुलाई मात्र लक्षित गर्नुहोस ।  

20.  माछामासुको मात्रै अत्यधिक सेवन गर्नुभन्दा सागसब्जी, हरियो तरकारीको परिकार सहायक बनाउनुहोस् ।  

21. भुटेको, तारेको,पोलेको, मरमसला बढी भएको भन्दा चिल्लो, मरमसला कम प्रयोग गरि राम्रोसँग पकाएर खानुहोस । यसबाट तेल, मरमसलामा अनावश्यक खर्च हुँदैन । साथै स्वास्थ्य सम्बन्धी समस्या आउँदैनन् ।  

22.  घरमा सिंगै खसीबोका काटेर एकैचोटी धेरै मासु सेवन गर्नुभन्दा छिमेकीसँग मासु बाँडेर खाने गरि सरसल्लाह गर्नुहोस् वा पसलबाट ठीक्क मात्रामा किन्नुहोस् । 

23.  सबैको घरमा एकैचोटी खसी, कुखुरा काटेर धेरै मासु सेवन गर्नुभन्दा फरक दिनमा फरक घर वा स्थानमा मासु बनाएर ताजा मासु खाने गरि टोलमा समुह बनाउनुहोस् ।  

24.  कोक फ्यान्टाको सट्टामा कागती सर्वत, दही, महि पिउनुहोस् । यसबाट खर्च पनि कम र स्वास्थ्यलाई पनि फाइदा हुन्छ । साथै कोक, फ्यान्टा जस्ता पेय पदार्थले दिने हात खाली नजाने उपहारको पछि नलाग्नुहोस । यसरी भाग्यमा कोसिस गर्दा गर्दै रकम गुमेको पत्तै नहुन सक्छ ।  

25. मद्यपान धुम्रपान सेवन नगर्नुहोस् । (आजभोली मद्यपानलाई घनिष्ठता एवं सामाजिक सम्बन्ध कायम गर्न सहयोगीको रुपमा स्विकार गर्ने व्यक्तिहरुको संख्या बढदै गएको देखिएको छ । यदि तपाई वित्तीय स्रोतको हिसाबमा सजिलोमा हुनुहुन्छ भने पनि यसलाई सन्तुलित, मर्यादित बनेर मात्र पिउनुहोस । तर मद्यपान नगर्नेको सामाजिक सम्बन्ध बलियो हुँदैन भन्ने भ्रम भने पाल्नुहुँदैन ।)

26. बालबच्चालाई जंक फुड खान नदिनुहोस् । विशेष गरी यात्रा गर्दा र बिदाको दिनहरुमा बालबालिकाहरुले यस्ता खर्चको लागि बढी माग गर्न सक्दछन । 

27. बालबालिकालाई एकैचोटी माछा मासु प्लेटमा बढी नदिनुहोस् । आवश्यकता अनुसार थपिदिनुहोस तर एकैचोटी धेरै पस्किएर खुवाउने कोसिश नगर्नुहोस् । यसले खाना खेर जाने मात्र होइन, स्वास्थ्य समस्या पनि ल्याउन सक्दछ ।  

28.  एकैपटक धेरै पकाएर त्यसलाई दिनभरि राखेर खाने नगर्नुहोस् । शारिरिक व्यायाम एवं घरायसी कामहरु गरेर शरिरलाई तन्दुरुस्त राख्नुहोस् । 

29.   शहरी क्षेत्रमा अनलाईनमार्फत खाना, खाजा मगाएर नखानुहोस् । घरमै बनाएर खानुहोस् । 

मनोरञ्जन सम्बन्धमा:

30. तास वा अन्य कुनै पनि खेललाई पारिवारिक मनोरञ्जनको लागि मात्र खेल्नुहोस् । रुपैयाँ पैसाको बाजी लगाएर जुवाको रुपमा नखेल्नुहोस् । रातभरी अनिदो बसेर जुवातास खेल्ने, हारेको झोकमा झगडा गर्ने, मदिरा पिएर तास खेल्ने कार्यले आफूलाई मात्र होईन परिवार र समुदायलाईनै असर गर्दछ ।

31. परिवारको सदस्यहरु एवं असल बानी व्यवहारका साथीभाईसँग समय बिताउनुहोस । रमाइला र सकरात्मक विषयहरुमा कुराकानी गर्नुहोस् । 

32. घटस्थापना पुजा, दुर्गा पुजाको दिनमा अरुसँग प्रतिस्पर्धा गरेर दान कबोल नगर्नुहोस् । कसैको उक्साहट वा दबाबमा नपरी क्षमता अनुसार र बजेट अनुसार मात्र सहभागिता जनाउनुहोस् । 

33.  पिङहरु बनाउँदा सकेसम्म सबैको खर्च सहभागिता हुने गरि गाउँ टोल मिलेर बनाउनुहोस ।  घरैपिच्छे ठूलो पिङ नबनाउनुहोस् ।  

34. गाउँ गएका छोराछोरीलाई कुनै पार्क वा मनोरञ्जन स्थल वा बजार घुमाउन लैजानुको सट्टामा आफ्नै गाउँघरमा घुमाउनुहोस् । खेतबारी, गोडमेल, घर सरसफाई जस्ता  कामहरु सिकाउनुहोस् । 

35.  दशैंमा विभिन्न साँस्कृतिक कार्यक्रमहरुको आयोजना हुनुको साथै मंहगो टिकट र चिठ्ठा बेच्ने कार्यहरु भईरहेको हुनसक्छ् । चिठ्ठाहरुमा पैसा नगुमाउनुहोस् । 

36.  लंगुर बुर्जा, अनलाईन बाजी, पब्जी, फ्रि फायर टपअप गरेर बाजी को खेलहरु नखेल्न छोराछोरीलाई सम्झाईबुझाइ गर्नुहोस् । विशेषगरी किशोर किशोरीहरु यस समयमा फुर्सदिलो हुँदा बढी मोबाईलमा व्यस्त रहने सम्भावना बढछ् ।   

37.  बालबालिकाहरुलाई लिएर चङ्गा फाईट नगर्नुहोस् र नगर्न प्रोत्साहन गर्नुहोस् । चङ्गा उडाउँदा घरको कौसि वा छत सुरक्षित भएको यकिन गर्नुहोस् । चङ्गा फाईट गर्नाले धागो सहित चुँडिएर जाने हुनाले त्यही सामान पटक पटक किन्नुपर्दा खर्च बढ्छ । सुरक्षामा ध्यान नदिनाले मानवीय जीवनको जोखिम रहन्छ ।

38.  चाडबाड लक्षित श्रृङ्गार सकेसम्म सामान्य र घरमै गर्नुहोस् ।   

टिका र दक्षिणा सम्बन्धमा:

39.  आर्शिवाद र सुभेच्छाको लागि चाडपर्व हुन् भन्ने विषयलाई सबैले मनन गर्नुहोस् । दक्षिणाको प्रतिस्पर्धा गर्नुहुँदैन भन्ने भावनाको विकास आफू र आफ्नो परिवारमा सबैलाई गराउनुहोस् । 

40.  बालबालिकालाई कसले कति दिएछ ? ए थोरै पो दिएछ वा दक्षिणा प्राप्त गर्नु भनेको उपलब्धि हो भन्ने तरिकाले कुराकानी नगर्नुहोस् । प्राप्त रकमहरु सबै उनीहरुलाई साथमा राख्न नदिनुहोस् । आफूले राखिदिनुहोस् वा सकेसम्म उनिहरुलाइनै खुत्रुकेमा राख्न प्रोत्साहन गर्नुहोस् । 

41. सकेसम्म कोसेली नलिने नलैजाने चलन चलाऔं । लाने चलन रहेछ भने पनि आफ्नो बारीको उत्पादन वा आफूसँग भएको सामान्य उपभोग्य सामानहरु मात्र लैजाऔं । बजारबाट महँगो सामानहरु, धेरै परिमाणमा नकिनौं ।    

तिहार र छठ विशेष: 

42. घरलाई सरसफाई गर्ने तर आयातित झिलिमिलि बत्ति धेरै राख्ने प्रतिस्पर्धा नगरौं ।, सामाजिक सञ्जालमा प्रतिस्पर्धा कायम गर्न र देखाउने अभिप्रायले  धेरै ठूलो र अनावश्यक रंगोली नबनाऔं । 

43. कोसेली बनाउन र धेरै समय खान हुन्छ भनेर रोटी, मिठाईहरु एकैपटक धेरै नपकाऔं । तिहार,छठ विशेष पकाएका रोटी मिठाईहरु कति सुकेर, टोक्न नसक्ने भएर, ढुसी पलाएर बिग्रिने, खेर जाने हुन्छन् ।   

44.  पटाकाबाजी नगर्नुहोस् । यसले वातावरणमा असर गर्दछ । आगलागी हुने जोखिम हुन्छ । चर्को आवाजको विष्फोटले कतै कतै मानवीय जोखिमको घटना पनि घटेका छन् । नेपालमा पटकाबाजी कानुनी रुपमा नै दण्डनीय छ ।   

45. दिदिबहिनीहरु मिलेर दाजुभाईलाई एकजनालाई एउटा मात्र उपहार दिने योजना सल्लाह गर्नुहोस । हरेक दिदीबहिनीले हरेक दाजुभाईलाई छुट्टाछुट्टै उपहार खरिद गर्दा चाडवाड बढी खर्चिलो हुन्छ । साथै दाजुभाईले पनि सल्लाह गरेर दिदीबहीनीलाई एकजनालाई एउटा उपहार मात्र किन्नुहोस् । दाजुभाई र दिदीबहिनीमा नै एकअर्कामा प्रतिस्पर्धा गरी चाडवाड मनाउँदा त्यसले खुशी भन्दा बढी देखासिकी र एकअर्कोलाई कमजोर देखाउने जोखिम बढ्छ । 

46. दिदी बहिनी दाजुभाईहरु भेट हुँदा सकेसम्म सबैलाई पायक र नजिक पर्ने स्थानलाई छनौट गर्नुहोस् । उदाहरणको लागि ३ भाई एकै जिल्लामा रहने र १ बहिनी एक जिल्लामा रहने भएमा १ बहिनीले यात्रा गर्दा सबै भाईलाई मितव्ययी हुन सक्दछ । यस्तै ३ दिदीबहिनी एउटै जिल्लामा र १ भाई अर्को जिल्लामा भएमा भाई दिदीबहिनी भएको ठाउँमा जाँदा दिदिबहिनीको लागि मितव्ययी हुन सक्छ ।  

47. धेरै मंहगो भाईमसलाहरु नकिन्नुहोस् । यसको सट्टामा नेपालमै फल्ने स्वास्थ्यवद्र्धक सामानहरुको छनौट गर्नुहोस् । जस्तै ः नेपालमै पाईने अमला, लप्सी, कटुस आदिको प्रयोग गर्न सकिन्छ । तिहारको लागि स्थानीय फुलहरुको नै गर्नुहोस । धेरै ठूलो महँगो माला खरिद नगर्नुहोस् । साथै एकजनालाई एउटा मात्र माला लगाईदिनुहोस् । 

48.  बजारमा तयार भएको मिठाई र तयारी प्याकेट मसलाहरु भन्दा घरमै तयार गरिएको परिकारहरुलाई प्रोत्साहन गर्नुहोस् । 

49. संस्कृति र मनोरञ्जनकोे रुपमा मात्र देउँसीभैलो खेल्नुहोस् । खेल्नेले पनि यसलाई रकम संकलन गर्ने अभियानको रुपमा कसैलाई करकाप गरेर रकम नउठाउनुहोस् । साथै दान दक्षिणा दिनेले पनि आफ्नो क्षमता नहेरी प्रतिस्पर्धा गरेर दान नदिनुहोस् ।  

50.  तिहारमा लक्ष्मी पुजा गर्दा नगदसँगै असाध्यै नजिकै हुने गरि दीयो नबाल्नुहोस् । दियोले पैसामा कुनै असर नहुने यकिन गर्नुहोस । कतिपय स्थानमा पैसा जलेको घटनाहरु घटेका छन् ।  

51. दियो एवं मैनबत्ती बाल्दा सुरक्षित तवरले बाल्नुहोस् । ठाउँ ठाउँमा यसबाट आगलागीको घटनाहरु पनि घटेका छन् । साथै बालबालिकाहरु बत्ती बाल्न रमाईलो मान्ने हुँदा उनिहरुलाई सुरक्षित तबरले बाल्न लगाउनुहोस् । 

52.  छठ मनाउँदा गाउँभरि नै प्रसाद बाँडनको लागि यसमा प्रसस्त खर्च गर्दा यसबाट आफ्नो हैसियत बढछ भन्ने भावनालाई त्यागेर आफ्नो आर्थिक अवस्था हेरेर मात्र आफन्तजनलाई सहभागी गराउनुहोस । 
चाडपर्व लक्षित विद्युतीय बैंकिङको सम्बन्धमा ः 

53.  सामानहरु किनमेल गर्दा नगद भुक्तानीको सट्टामा मोबाईल बैंकिङको प्रयोग गर्नुहोस् । यसबाट नगद हराउने, चोरी हुने र खुद्रा पैसा साटिरहनुपर्ने समस्या हुँदैन । 

54. अनलाइनमार्फत भुक्तानी गर्दा क्यासब्याक छुटको अवसरहरु प्राप्त हुन सक्दछन । आजकल बिद्युतीय बैंकिङको प्रवद्र्धनको लागि यसकोे प्रयोग गरेबापत सहकारी एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले क्यास ब्याक अफर दिईरहेका छन् । यसको लाभ उठाउनुहोस् । 

55.  दक्षिणा दिँदा मोबाईल बैंकिङको प्रयोग गर्दा घरपरिवारलाई विद्युतीय बैंकिङ् सिकाउने यो सुनौलो अवसर पनि हुन सक्दछ । 

माथिका उपायहरुको आशय चाडपर्व नै नमनाउनुहोस् भन्ने होइन । चाडबाडमा गरिएको मोज र भोज, त्यसपछिको दिनहरुमा बोझ नबनोस् भन्ने मुख्य उद्देश्यले प्रेरित भई प्रस्तुत गरिएका हुन् । यी बाहेक पनि तपाईले मनन गरेका अरु थुप्रै उपायहरु हुन सक्दछन् । कुनै पनि रुपैयाँ पैसाको परिमाणलाई एकपटकमात्रै प्रयोग गर्न सकिन्छ । अर्थात तपाईले कुनै रुपैयाँले कोक पिउनुभयो भने फेरी त्यही रुपैयाँले साबुन किन्न सक्नुहुन्न । किनकी केही किन्नासाथ त्यो तपाईबाट टाढा गईहाल्छ । यति कुरा मनमा अनुभूति गरियो मात्रै भने पनि पैसाले पहिले के किन्ने भन्ने सही निर्णय लिन सकिन्छ । यहाँहरुको चाडपर्व खुशी र हर्षपूर्ण होस् । बडादशैं, तिहार, नेपाल सम्वत र छठको सबैलाई मंगलमय शुभकामना । 


    

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ