विश्व क्रेडिट संघ सम्मेलन २०२३ सहभागिताका लागि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल शुक्रबार क्यानडा प्रस्थान गर्नुभएको छ । क्यानडाको भ्यानकुभरमा यहि जुलाई २३ देखि २६ सम्म आयोजना हुने सम्मेलन सहभागिताका लागि विश्व ऋण परिषद् (ओकू) को सदस्य संस्था नेफ्स्कूनको प्रतिनिधित्व गर्दै अध्यक्ष पौड्याल क्यानडा पुग्नुभएको छ । चार दिन सञ्चालन हुने सम्मेलनमा विश्व ऋण परिषदको साधारणसभा सहित विभिन्न विषयविज्ञबाट ३० भन्दा बढी विषयमा कार्यपत्रहरु प्रस्तुत हुने ओकूले जनाएको छ । सो सम्मेलनमा विश्व सहकारीका आजका चुनौति र समाधानका उपायहरुको खोजीका विषयहरु समावेश हुनेछन् ।
सम्मेलन विश्व क्रेडिट युनियन काउन्सिल र क्यानेडियन क्रेडिट युनियन संघ (CCUA) को संयुक्त आयोजनामा हुनेछ ।
विश्व काउन्सिल अफ क्रेडिट युनियन क्रेडिट युनियनहरूको लागि विश्वव्यापी व्यापार संघ र विकास मञ्च हो । विश्व काउन्सिलले विश्वभरका क्रेडिट युनियनहरू र अन्य वित्तीय सहकारीहरूको दिगो विकासलाई उच्च गुणस्तर र किफायती वित्तीय सेवाहरूमा पहुँच मार्फत मानिसहरूलाई सशक्त बनाउन प्रवर्धनको काम गर्दछ ।
विश्व काउन्सिलले ९० देशमा ३०० भन्दा बढी प्राविधिक सहायता कार्यक्रमहरू लागू गरेको छ । विश्वव्यापी रूपमा ११८ देशहरूमा सञ्चालित ८७ हजार ९१४ क्रेडिट युनियनहरुले ३९३ मिलियन मानिसहरुलाई सेवा प्रदान गरेको ओकूले जनाएको छ ।