बिहीबार, वैशाख २७
०४:४५

सहकारीमा सदस्य क्रियाशिलता र सुशासन पहिलो प्राथमिकता

आईतबार, फागुन २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

विश्वमा देखिएको कोभिडको असर त्यसपछि रुस युक्रेन युद्ध पश्चात अर्थतन्त्रले गति लिन सकेन । कोभिडपछि केही सहज जस्तो भएपनि त्यसको प्रभाव भने विस्तारै विश्वबजारमा देखिन थाल्यो र हाम्रो देश पनि त्यसबाट अछुतो रहन सकेन जसले गर्दा ब्यापार ब्यवसाय फस्टाउन नसक्नु, नेपालीहरु विदेशिने क्रम बढ्नु, आयातमुखि अर्थतन्त्र भएको देशमा महँगीको मारमा पर्नुले आज देशको अवस्था आर्थिक रुपमा केही अप्ठेरो परिस्थितिमा रहेको अनुमान लगाउन सकिन्छ । हाल देशमा विद्यमान रहेको आर्थिक संकटको अवस्थामा सहकारी क्षेत्र पनि समस्यामा पर्नु त्यस्तो नौलो रहेन । सहकारी संस्थामा तरलता संकट आज मुख्य समस्याको रुपमा खडा भएको छ । सहकारी क्षेत्र एक स्वाशासित तथा स्व नियमनमा चल्नुपर्ने भएकोले पनि हामीले जानी नजानी केही कमजोरीहरु गर्यौ जसलाई सुधार गर्न सकियो भने धेरै हदसम्म हामीले सञ्चालन गरेको संस्थामा समस्या कम हुन सक्छ । 

पहिलो कुरा सहकारीलाई हामीले सहकारीकै रुपमा सञ्चालन गरौ, न की अन्य कुनै ब्यवसाय, ईन्भेष्टमेन्ट कम्पनी, बैक, प्रोजेक्ट वा आदि ईत्यादी । सहकारीमा केही एकदमै पोख्त सञ्चालक तथा कर्मचारी हुनुहुन्छ, भने धेरैजसो अन्य विभिन्न क्षेत्रबाट सहकारीमा जोडिएका हुनुहुन्छ । जसले गर्दा हामी जुन क्षेत्रबाट आएका छौं सहकारीलाई त्यस्तै क्षेत्रको रुपमा बदल्न थाल्छौं जसले गर्दा सहकारीमा समस्या देखिन जान्छ । बचत तथा ऋण ब्यवस्थापन, तरलता ब्यवस्थापन, कर्मचारी तथा सुशासनका पाटोहरुलाई मजबुत बनाएर लान सकियो भने समस्याहरुलाई हल गर्न सकिन्छ । सहकारीमा देखिएका समस्याहरुलाई चिर्नका लागि तल दिईएका कुराहरु उपयोगी सावित हुन सक्छन ।

सबैभन्दा पहिले सदस्यलाई बुझौं, सदस्यलाई चिनौ र सदस्यसँग नजिक बनौः हामीले संस्था सञ्चालन गरिरहँदा सदस्यहरुलाई सेवाग्राही नठानौं । हाम्रो हरेक समस्याको समाधान नै सदस्यहरु हुन् । हाम्रो अवस्था तथा गतिविधिहरु सदस्यमाझ लागौं । सदस्यलाई आफ्नोपनको आभास दिलाऔ सदस्यले संस्थालाई आफ्नो ठान्न सके भने जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि जोगाउँछन् । केही दशमलब ब्याजदर तलमाथि नै भएपनि आफ्नै संस्थामा बचत तथा ऋणको कारोबार गर्दछन् । जसरी हामी जहाँ गएपनि हामीलाई हाम्रो घर नै प्यारो लाग्छ त्यसरी नै सदस्यलाई प्यारो लाग्ने सहकारी बनाउनतर्फ लागौं । हाम्रो कुरा सदस्यहरुले मान्ने हैनकी सदस्यहरुबाट आएको कुरा नै सदस्यहरुमाझ राखौ, जसले गर्दा सदस्यहरुलाई अपनत्व गराउन सकियोस् ।

बचत : बचतका दीर्घकालिन प्रकारहरुमा बृद्धि गराऔं । ठूला ठूला बचत संस्थामा रहँदा, फिर्ता गर्ने समयमा संस्थाको तरलतामा एकैपटक असर गर्ने हुँदा बचतलाई विविधिकरण गरौं। नियमित मासिक बचत संस्थाको मेरुदण्ड हो । जसले संस्था तथा सदस्य दुबैलाई फाईदा गर्दछ । सदस्यको सानो सानो रकम जम्मा गराएर धनी बनाउनु नै संस्थाको मुख्य कार्य हो । सदस्यहरुले थोरै रकम जम्मा गरेर के फाईदा हुन्छ भन्ने सोच गर्दछन् ति कुरा सदस्यहरुमाझ बचत बृद्धिको चार्ट सहित लगेर सदस्य शिक्षा वा वित्तीय साक्षरता कार्यक्रम, सदस्य भेटघाट, कार्यालयमा काउन्सिलिङ गरी बुझाऔं। संस्थाको दीगोपनाको लागि यस प्रकारको बचतलाई भविष्य सुनिश्चित गर्ने बचतको प्रकारको रुपमा विकास गरौ न की २, ५ या १० बर्षमा फिर्ता गर्ने गरि यसलाई जीवनको सहाराको रुपमा, सदस्यको कमाई गर्न नसक्ने उमेरमा यसले सहयोग गर्ने कुरा सदस्यलाई बुझाऔ र सम्पूर्ण सदस्यको नियमित बचत अनिवार्य गरौ । 

ऋण ब्यवस्थापन: धेरै संस्थाहरुमा कुल ऋणको आधा भन्दा बढि हिस्सा २०, २५, ३० वा भनौ एकदमै थोरै सीमित सदस्यमा रहेको पाईयो जसले गर्दा ति सिमित सदस्य समस्यामा पर्दा संस्था नै धरासायी हुने अवस्थामा पुग्यो । हामीले ब्यक्तिगत स्वार्थ वा साना ऋण लगानीमा कागजपत्र धेरै तयार पार्नुपर्ने झन्झट अनि धेरै जनालाई ऋण तिर्न फलोअप गर्नुपर्ने भन्दा एकै ठाउँमा ऋणको थुप्रो लगायौं । धितो छँदैछ भन्ने हिसाबमा लगानी गर्यौ जसले गर्दा आज समस्या सिर्जना भयो । । जति सकिन्छ साना ऋण लगानीमा केन्द्रीकृत भएर, अनिवार्य किस्ताबन्दीमा  धेरै सदस्यमा पुग्न सकियो भने सबैलाई एकै पटक ठूलो समस्या पर्ने भन्ने हुँदैन जसले गर्दा केही सदस्य समस्यामा पर्दा पनि हाम्रो संस्थाको अवस्था खासै विग्रन पाउँदैन । अनुत्पादक क्षेत्रको ठूलो लगानी संस्थाको लागि जहिले पनि समस्याको कारण बन्न सक्छ त्यसैले ऋणको क्षेत्रहरुको विविधिकरण गरि उत्पादनमूलक क्षेत्रमा ऋण लगानीमा जोड दिआंै । ऋण लगानीको प्रकृयालाई कानुनसम्मत तरिकाले ब्यवस्थान गरौं कागजातहरु पूर्ण रुपमा तयार गरि सदस्यलाई ऋण तिर्नुपर्ने कुरा, नतिर्दा हुने कारबाहीका प्रकृयाहरु पूर्ण रुपमा बुझाऔं । ऋण लगानीको प्रकृया जति ब्यवस्थित र कानुनसम्मत गर्न सकियो असुलीको पाटो त्यति नै सहज बन्न जान्छ । संस्थाको उद्देश्य ऋण लगेको सदस्यको धितो लिलामी गरेर असुल गर्ने हैन, तर अन्तिम विकल्प भने धितो लिलामी सम्म पनि पुग्नुपर्ने हुन सक्छ । एउटा ऋणि सदस्यलाई माया गरिरहँदा धेरै शेयर सदस्यको बचत रकम जोखिममा पर्दा हुने अन्याय प्रति भने सचेत हुनै पर्छ । 

ऋण तिर्नुपर्दैन भन्ने हल्ला : ऋण लिएपछि तिर्नकै लागि हो । कसैको पनि पैसा लिएर फिर्ता गर्दिन, गनु्र्पर्दैन भन्ने हुँदैन, यो केही सीमित ब्यक्तिको प्रोपोगाण्डा हो । धार्मिक हिसाबले पनि ऋण नतिरी मरे स्वर्गमा ठाउँ पाईदैन भन्ने कथन छ भने नेपालको कानुनले स्पष्ट रुपमा ऋण तिर्नुपर्ने ब्यवस्था गरेको छ यस्ता अफवाहको पछाडि सदस्यलाई नलाग्नु भन्ने र उठाउँदा हामीलाई केही गर्छन् की भन्ने डरबाट पछि हटौं ।

संस्थागत सुशासन : हामीले संस्था सञ्चालन गरिरहँदा के सोच गरौं भने हामीलाई बाँध्ने मानिस अथवा हामीलाई परिचालन गर्ने भनेको हामी आफै हौं । हामीले उच्च नैतिकता प्रदर्शन गरि संस्थामा कुनै किसिमको लोभमा पर्ने गरि कार्य नगरौं । किनभने सहकारीको प्रकृति नै सञ्चालक समिति स्वयंसेवी हो यहाँबाट फाईदा के हुन्छ हामीले के पाउँछौ भन्ने नसोचौं अरुले हाम्रो संस्थाको जस्तो सञ्चालक तथा फलानो संस्था जस्तो राम्रो बनाउन पाए हुन्थ्यो भन्ने गरि कार्य गरौं । संस्था सञ्चालनमा एउटा ब्यक्तिलाई के लाग्छ वा अर्कोलाई के लाग्छ भन्ने कुराले प्रभाव पार्नुहुँदैन सदस्यको आखाँबाट हेरेर सहकारी ऐन, नियमावली, विनियम तथा कार्यविधिसंगत तरिकाले संस्था सञ्चालन गरौं । ब्यक्ति प्रधान हुँदा केही समय त संस्था चल्छ तर त्यसको दीर्घकालिन गन्तब्य हुँदैन । संस्था सञ्चालन तपाई हाम्रो ईच्छा र चाहनाले मात्र हुदैन सबै दृष्टिकोणबाट सोच्नुपर्छ, दीर्घकालिन असरको विश्लेषण गर्नुपर्दछ । म भन्दा पनि सामुहिक रुपमा सदस्यको मनोभावना बुझेर कानुनसम्मत सञ्चालन गरौं । सञ्चालक समितिले संस्थाबाट पाउने भनेको ईन्जत हो र त्यो पनि राम्रोसँग सञ्चालन गरिएन, कानुनसम्मत भएन भने गुम्न सक्छ भन्ने कुरालाई नभुलौं ।

तरलता ब्यवस्थापन : ब्यवस्थापन समुहले हरेक दिन तरलताको अवस्था हेरौं सामान्य अवस्थामा १६ प्रतिशत तरलता भनिरहँदा पनि बचतको प्रकृति अनि बजारको अवस्थाले तरलताको प्रतिशत कति राख्ने निर्भर गर्दछ । तत्कालै फिर्ता जानसक्ने रकम वा ठूला आवधिक बचतहरु परिपक्व हुँदैछन् भने १६ प्रतिशतले पुग्छ भन्ने हुँदैन । तत्कालै फिर्ता हुन सक्ने रकमहरु, परिपक्व हुन लागेका आवधिक बचतहरु हेरौं र त्यसको लागि बचत नवीकरण कति हुन्छ, ऋण असुलीबाट कति ब्यवस्थापन हुन्छ भन्ने आँकडा निकाली स्रोत ब्यवस्थापन गरौं । साथै नपुग हुने अवस्था आएमा बाह्य ऋण लिने साथै समिति उपसमितिबाट ब्यवस्थापनको लागि सुसूचित तथा तम्तयारी अवस्थामा बसौं ।

कर्मचारी ब्यवस्थापन : सहकारी क्षेत्रमा दक्ष कर्मचारीहरुको अभाव रहेको पाईन्छ । हामीसँग भएकै कर्मचारीहरुलाई दक्ष बनाऔं । संस्था सञ्चालन गरिरहँदा कर्मचारीहरुलाई पूर्ण रुपमा संस्थाप्रति जिम्मेवार बनाऔं । १० देखि ५ बजेसम्मको मात्र कर्मचारी हो भन्ने भ्रम नपालौं । यो संस्था मेरो हो र यो संस्थाले म लगायत मेरो परिवार पालिएको छ भन्ने भावना विकसित गरौं गराऔं । हरेक दिन कार्यविवरण तालिका बनाई दिनभरि गर्नुपर्ने कामको खाका तयार गरौं ।  

कर्मचारिहरुलाई आवश्यक विषयगत तालिमहरुमा बढि भन्दा बढि सहभागी गराऔं  जसले गर्दा संस्थाको जिम्मेवारीलाई गहन रुपमा बुझ्न सकियोस् र विश्लेषण गर्न सकियोस् । तालिमलाई खर्चको रुपमा नबुझि यसलाई लगानीको रुपमा बुझौं र तालिम पश्चात सिकेका कुराहरुलाई हरसम्भव पालना गरौं । तालिम भनेको जहिले पनि लिईसकेपछि त्यो तालिममा सिकेको कुरा कार्यान्वयनको पाटोले सफल वा असफल भन्ने हुन्छ । तालिमलाई सफल बनाउनेतर्फ लागौं सिकेका कुरा एकआपसमा बाँडौं । पुरानो कर्मचारीले छाडे नयाँ कर्मचारीलाई थोरै पैसा दिए हुन्छ भन्ने भ्रम पनि कतिपय ठाउँमा पाईन्छ तर त्यो स्तरमा पुर्याउनको लागि गर्नुपर्ने लगानीलाई नभुलांै । कर्मचारी ब्यवस्थापनलाई शंका सहितको विश्वास गरि जिम्मेवारिप्रति लगनशील बनाई कार्य गराउँ ।

अन्य सहकारीको खराब अवस्थालाई बजारीकरण नगरौ : धेरै देखिदै आएको के छ भने फलानो संस्थाले फिर्ता दिन सकेन, त्यहाँ ऋण दिन सकेन, फलानो संस्था डुब्यो भनेर हामी आफै प्रचार गरिरहेको हुन्छौ । हामी के कुरा नविर्सिउँ भने त्यो संस्थामा समस्या आउनु भनेको हाम्रोमा पनि आउन सक्छ किनकी त्यो सहकारी नै हो । सदस्यहरुमा सहकारी प्रतिको विश्वसनियता गुम्न जान्छ । यसले गर्दा त्यस्ता कुरालाई हल्ला गर्ने काम नगरौं ।

संस्था सञ्चालन गरिरहँदा हामी विभिन्न क्षेत्रबाट आएका मानिस संस्थामा सञ्चालक समिति तथा अन्य समिति उपसमितिमा रहेका छौं । सहकारीका अभ्यास नेपालमा त्यति धेरै पुरानो पनि नभएको र यससम्बन्धी त्यस्तो धेरै सिकाई तथा ज्ञान पनि नभएकोले संस्था स्तरीकृत रुपमा सञ्चालन गर्न, बुझाईलाई एकरुपता बनाउन साथै संस्थालाई रणनीतिक रुपमा कसरी सफल बनाउने, संस्थामा जोखिमको अवस्थालाई कसरी न्युन गर्ने, संस्था, सञ्चालक तथा कर्मचारीहरुलाई ब्यवसायिक बनाउनको लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले स्तरीकरण कार्यक्रम अन्तर्गत एक्सेस, प्रोबेसन र कर्ब्स कार्यक्रमहरुमा संस्थालाई आवद्ध गराएर जाँदा संस्थाको हित, सदस्यको हित तथा दिगो र दीर्घकालिन रुपमा संस्थालाई अगाडि बढाउन मद्धत पुग्दछ ।

सारांशमा भन्नुपर्दा देशमा देखिएको आर्थिक मन्दिको प्रभाव सहकारीमा पनि देखिएको छ नै ! हाम्रो संस्थाको समस्याको समाधान भनेको सदस्य नै हुन् अरु कसैले हाम्रो समस्या समाधान गरिदिने भन्ने हुँदैन, संस्थालाई एकछिनको लागि मात्र नभई, दिगोपनाको लागि सोचेर सञ्चालन गरियो भने पक्कै पनि सहकारीमा समस्या नै नहुने त हैन तर धेरै समस्या हल भएर जानेछन् ।

लेखक नेफ्स्कूनमा अनुगमन अधिकृत हुनुहुन्छ ।  
 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ