स्पेन । स्पेनको बास्कस्थित बिश्वकै सबैभन्दा ठूलो श्रमिक सहकारी मनड्रागन करपोरेसन विश्व प्रसिद्ध अमेरिकी फर्च्युन म्यागजिनको विश्व परिवर्तन गर्न सफल उद्यमहरुको सूचीमा पर्न सफल भएको छ । सूचीको ११ औं नम्बरमा रहेको मनड्रागनले माइक्रोसफ्ट्, मास्टरकार्ड जस्ता विश्व प्रसिद्ध कम्पनीहरुलाई उछिनेको छ । मुनाफा भन्दा सदस्य सेवालाई ध्यान दिदैं आएको सहकारीलाई म्यागजिनले वित्तीय रुपमा सबल भनी प्रशंसा गरेको छ । उक्त सहकारीमा कार्यरत सबैभन्दा बरिष्ठ कर्मचारीले प्राप्त गर्ने सेवासुविधा सबैभन्दा कनिष्ठ कर्मचारीको भन्दा ६ गुना बढी नरहेको अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले जनाएको छ । निर्माण, वित्तीय सेवा, उत्पादन, कृषि तथा खाद्य उत्पादन लगायतका क्षेत्रमा काम गर्ने मनड्रागन श्रमिक सहकारी अन्तर्गत २ सय ६० कम्पनीहरु छन् ।
५ वटा महादेशका १ सय ५० देशमा सञ्चालित मनड्रागन अन्तर्गतका कम्पनीहरुमा गरी हाल ८१ हजार ५ सय ७ कर्मचारी कार्यरत छन् । उक्त सहकारी सन् १९५६ मा एक युवा पादरी होजे मारिया अरिज्मेन्डियारियटाको पहलमा गठन भएको थियो । अमेरिकाको न्यूयोर्कमा मुख्य कार्यालय रहेको फर्च्युन म्यागजिन अत्यन्त लोकप्रिय र प्रतिष्ठित प्रकाशन मानिन्छ ।