शुक्रबार, वैशाख १४
०२:०१

 ‘साकोस शिखर गोष्ठीबाट प्राप्त सिकाईले उत्प्रेरणा जगाएको छ’

बुधबार, असार ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सिकाई कोक्रो बाट सुरु भई चितामा गएर अन्त्य हुन्छ भन्ने भनाई अनुसारनै सिक्ने कार्य निरन्तर भएको र सिक्ने क्रममा साकोस शिखर गोष्ठीबाट नयाँ कुरा पाएको महसुस भएको छ । नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुको बिषयगत संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले आयोजना गरेको चौथो साकोस शिखर गोष्ठीमा सहभागी हुँदै गर्दा सिक्ने कार्य कहिल्यै नसकिने रहेछ भन्ने महसुस भयो । उक्त गोष्ठी २०७९ साल जेष्ठ २९ र ३० गते द होटल सोल्टी काठमाण्डौमा सञ्चालन भएको थियो ।

गोष्ठीको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँडले गर्नुभएको थियो । पहिलो दिनको उद्घाटन सत्र नेपाल सरकारका गृहमन्त्रीबाट हुने भएकोले पनि कार्यक्रम सञ्चालनको समयावधिमा सामान्य गढबढी अवश्यवभावी देखिन्थ्यो । त्यसको असरले महत्वपूर्ण कार्यपत्र प्रस्तुतीकरणमा समय व्यवस्थापन जटिल देखिन्थ्यो र पनि सहजै व्यवस्थापन भएको र तालिकाबद्ध प्रस्तुतीकरणहरु प्रभावकारी रुपमा सम्पन्न भएका थिए । यसको पहिलो सिकाइ मेरा लागि समय व्यवस्थापनको महत्व भएको थियो ।  

गोष्ठीको पहिलो दिनको पहिलो सत्र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलद्वारा विगतका गोष्ठीका उपलब्धी समिक्षा, वित्तीय सहकारीका समसामयिक सवालहरु, नीतिगत वातावरण र आगामी मार्गचित्र समावेश गरिएको थियो । समिक्षामा पहिलाका गोष्ठीहरुबाट भएका घोषणाहरु अधिकांश कार्यान्वयन भएको र केही कार्यान्वयन गर्न र गराउन बाँकी देखियो । साकोस ऐनको लागि थप पैरवी र मानव संशाधन बैंक ब्यवस्थापन गर्न बाँकी देखियो । 

समसामयिक सवालहरुमा सबैभन्दा तत्काल आवश्यकता देखिएको कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापनाको लागि पैरवी, तिनै तहमा सहकारी नियमनमा एकरुपता वा सहकारीहरु नियमनको लागि छुट्टै नियमनकारी निकायको ब्यवस्था, सहकारी संस्थाहरुमा पर्ल्सको नियमलाई पूर्ण लागु गराउने र पर्ल्स अनुसार संस्था सञ्चालनमा समस्या भएमा एकीकरण वा खारेजी अनिवार्य बनाउनुपर्ने, सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई प्रविधि सहितको सेवा प्रवाह गर्नुपर्ने, सहकारी संघ÷संस्थाहरु बीच मैत्रिपूर्ण प्रतिस्पर्धा हुनुपर्ने, सहकारीकर्मीले म शब्द हटाई हामीको भावना विकास गर्नुपर्ने, दिगो र सञ्जालीकृत साकोस हुनुपर्ने, साकोसहरुको स्पष्ट डाटा अभिलेख हुनपर्ने कुरा बुझियो ।

त्यसैगरि दोस्रो सामुहिक सत्र रारा ल्याव प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र नियोसिस प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत डा.भोजराज घिमिरेबाट सहकारीमा प्रविधिको प्रयोगः विद्यमान चुनौति र समाधान विषयक कार्यपत्र प्रस्तुत भएको थियो । प्राविधिक विषय भएकोले सहभागीहरुका जिज्ञासा पनि व्यवस्थापन विज्ञ सोहन बाबु खत्रीले प्रष्ट राखिदिनुभएको थियो ।  प्रस्तुतीमा वर्तमान बजारमा आवश्यक प्रविधियुक्त सेवा सुविधा उपलब्ध गराउनको लागि नेफ्स्कूनको सहकार्यमा निर्माण गर्न लागिएको मिरा सफ्टवयरको बारेमा दुइजना प्रस्तुतकर्ताहरुले जानकारी गराउनुभएको थियो । मिरा सफ्टवयर बाट सहकारी संस्था, संस्थाका शेयर सदस्यहरुले सहज रुपमा प्रविधियुक्त सेवा सुविधा पाउने कुरा प्रस्ट्याइएको थियो । उहाँहरुको प्रस्तुतिमा वर्तमान अवस्थामा आवश्यकता पर्ने एनएफआरएस लेखा विधिको कुरा थप गर्नु पर्ने महसुस भयो । मिरा सफ्टवयेर प्रयोगका लागि सम्पूर्ण सहकारी संस्थाहरु सुरुमा डिजिटाइज हुनुपर्ने र डिजिटलाईजेसन हुँदै डिजिटल ईन्क्लुजन र डिजिटल ट्रान्स्फरमेसनमा जानुपर्ने देखियो ।

त्यसैगरी ब्रेकआउट सेसनमा समुह ए मा बरिष्ठ अनुसन्धानकर्ता विधान आचार्यको सहकारी मार्फत् गरिबी न्यूनीकरण सम्बन्धी कार्यपत्र प्रस्तुत भएको थियो । जसमा सहकारी संस्थाहरुले कसरी उत्पादन र बजारीकरणमा आफ्ना शेयर सदस्यहरुलाई सहयोग गरी आर्थिक उपार्जनमा सहयोगी बन्न सक्छन् र समग्र देशको आर्थिक विकासमा योगदान पुग्छ भन्ने विषयहरुमा सिकाइ भयो । 

समुह बि मा कृषि तथा बन विज्ञान विश्वविद्यालयकी प्रा. डा. शारदा थपलियाद्वारा मर्यादित श्रम र दिगो आर्थिक विकास सम्बन्धी कार्यपत्र प्रस्तुत भएको थियो । उहाँले सहकारीमा श्रमको मर्यादा हुनुपर्दछ, श्रम ऐन अनुसार सहकारी श्रमिकलाई ब्यवहार गर्नुपर्दछ र श्रम गर्नेहरुले पनि सहकारी ऐन, नियमावली, संस्थाको विनियम, सहकारीको सिद्धान्त, मुल्य, मान्यता लाई आत्मासाथ गरी श्रम प्रवाह र सदस्य सेवा गर्नुपर्ने कुरा सिक्ने मौका पायौं । 

जेष्ठ ३० गते, गोष्ठीको दोस्रो दिनको पहिलो सत्र एशियाली ऋण  महासंघ (अकु) का प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीले साकोसहरुले अवलम्बन गरेको नयाँ सामान्य संस्कृतिः कोभिड १९ को प्रतिक्रिया विषयक प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले कोरोना महामारीमा सहकारी संस्थाहरुको सेवा र उक्त महामारी पछि सहकारी संस्थाहरुको कार्यदिशाको बारेमा जानकारी गराउनुभयो । 

त्यसपछिको दोस्रो सत्रमा नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीको प्रस्तुतीकरण रहेको थियो । संघीयतामा साकोसः प्रवर्धन, विकास र नियमनको सन्दर्भ विषयक कार्यपत्र उहाँले प्रस्तुत गर्नुभएको थियो । उहाँले सरकारका तीन तहमा सहकारीको नियमन जिम्मा लगाईएको र सबैको नियमन पद्धति एकै हुनुपर्ने बिषयमा जोड दिनु हुदै साकोसहरु धेरै भएकोले प्रभावकारी नियमनको लागि साकोस ऐनको आवश्यकता प्रस्ट्याउनु भएको थियो । उहाँले सहकारी विकासमा तहगत सरकारले नियमन प्रवर्धन र प्रशिक्षण को पाटोलाई प्राथमिकतामा राख्नु पर्ने कुरा सिकाउनु भयो । उहाँले जोखिम न्यूनिकरणका आवश्यक व्यवस्थालाई प्रस्ट्याउदै स्वनियमनलाई प्राथमिकतामा राख्नुपर्ने विषय सिकाउनु भयो । उहाँले सहकारी क्षेत्रमा प्रदेश स्थानीय सरकारको अपेक्षित भूमिका स्पष्ट पार्दै प्रस्तुतिकरण टुङ्गयाउनु भएको थियो । 

त्यसपछि ब्रेकआउट सेसन ए मा वित्तीय सहकारीमा गुणस्तर विकास अन्तर्राष्ट्रिय अभ्यास र नेपाल बिषयमा पुर्व रजिष्ट्रार सुदर्शन ढकालको प्रस्तुतिमा अन्तर्राष्ट्रिय स्तरमा हेर्दा सहकारी संस्थाहरुलाई केन्द्रीय बैंकले नियमन गरेको, प्रभावकारी ढंगबाट संघहरुले नियमन गरेको, शेयर सदस्यको बचत सुरक्षाको लागि सेभिङ्ग ग्यारेन्टी फण्डको ब्यवस्था गरेको, पर्ल्स मोनिटरीङ्ग सिस्टमलाई प्रभावकारी कार्यान्वयन गरेको, आकस्मिक प्रयोगको लागि केन्द्रीय तरलता कोषको स्थापना गरेको, साकोसको लागि साकोस ऐनको व्यवस्था भएको कुराहरु राख्नु भयो र हाम्रो देशमा पनि उल्लेखित कुराहरु आवश्यक भएको महसुस भयो । उहाँले कर्जा सुचना केन्द्रलाई प्राथमिकतामा राखी स्थापना हुनुपर्ने र आवश्यक ऐन कानूनहरु निर्माण र संशोधन हुनपर्ने कुरा जोड दिदै प्रस्तुति अन्त्य गर्नु भयो । 

ब्रेकआउट सेसन बि मा सहकारीमा जोखिम ब्यवस्थापन र आन्तरीक नियन्त्रण प्रणाली बिषयमा नेपाल राष्ट्र बैंकका उप निर्देशक रमेश चौलागाईको कार्यपत्रबाट सहकारी जोखिम सम्बन्धी विविध कुराहरु सिक्ने मौका पाईयो । उहाँले सहकारी संस्थाहरुको आधिकारीक डाटा पाउन कठिन भएको कुरा प्रस्तुति गर्दै गर्दा हामी सहभागीलाई केही आत्माग्लानीको महसुस भएको थियो । जव योजना बनाउनको लागि डाटा चाहिन्छ सोही डाटानै अद्यावधिक छैन भने कस्तो प्लान बन्छ भन्ने प्रश्नमा सबै मौन बस्नु परेको अवस्था थियो । उहाँले सहकारीको जोखिमहरु औल्याउदै गर्दा सहकारी संस्थामा पर्ल्स मोनिटरीङ्ग सिस्टमलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्नुपर्ने, नेफ्स्कूनले सञ्चालन गरेको स्तरीकरण कार्यक्रममा सहभागी भई सूचकहरुलाई सुधार गर्नुपर्ने, अकुले प्रतिपादन गरेको सियुलेगलाई संस्थामा कार्यान्वयनमा ल्याउनुपर्ने, आन्तरीक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउनको लागि लेखा सुपरिवेक्षण समितिलाई दक्ष बनाई आन्तरीक लेखा परीक्षक समेत व्यवस्थापन गरी कार्य लगाउनुपर्ने, सञ्चालकहरुले बैठक बस्दा संस्थाको कारोवारहरुको अवस्था गहन विश्लेषण गरी ठिक भएको कुरामा एकीन हुने गरी बैठकमा छलफल गरी समाधानका उपायहरु खोज्नुपर्ने र नियमनकारी निकायबाट पनि दक्ष जनशक्तिबाट प्रभावकारी नियमन गर्नुपर्दछ भन्ने कुरा सबै प्रस्ट भएको देखिन्थ्यो । 

कार्यक्रमको अन्तिम कार्यपत्र मानवोदय इन्टिच्यूट अफ पार्टिसिपेटरी डेभलपमेन्ट, भारत का निर्देशक वरुण विद्यार्थीले नेतृत्व रुपान्तरणः प्रत्येक नेतृत्वले अंगालनुपर्ने महत्वपूर्ण परिवर्तन विषयक प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले अरुलाई परिवर्तन गर्न पहिला आफैमा सकरात्मक परिवर्तन आउनुपर्ने र उक्त परिवर्तन सबैले महसुस गर्न सक्ने हुनपर्ने कुरामा जोड दिनु भयो । उहाँले आफुमा आएको सकारात्मक परिवर्तनले समुहलाई सकरात्मक परिवर्तन गराउन सक्नुपर्ने, सहकारीमा कार्य गर्ने मानव संशाधनहरु आत्म नियन्त्रीत हुनुपर्ने, बोलीमा आत्मसंयम हुनुपर्ने, जिम्मेवारीहरु सन्तुलित ढंगबाट पुरा गर्नुपर्ने, बस्तुहरु खरिद गर्दा स्थानिय खरिद गरी लोकल उत्पादनलाई प्राथमिकता दिनुपर्ने, समयको सहि ब्यवस्थापन र साझेदारी गर्नुपर्ने, नाफाको उचित बाँडफाँड सहित अरुलाई समेत केही दिन तत्पर हुनुपर्ने कुराहरुलाई विशेष प्राथमिकतामा राखी उत्प्रेरणात्मक प्रस्तुती गर्नु भई हामीलाई शिक्षा प्रदान गर्नु भएको थियो ।

समग्रमा चौथो साकोस शिखर गोष्ठी बाट थप नयाँ कुराहरु सिकी उत्प्रेरणात्मक ढंगबाट कार्यस्थल फर्किएका छौ र सिकेका कुरालाई व्यवहारमा उतारी साच्चै नै सिकाईमा पूर्णता दिनेछौ । आशा छ, यो गोष्ठीमा नियामक निकाय सहकारी विभागबाट पनि कर्जा सूचना केन्द्रको बारेमा २०७९ असार २० सम्ममा केही न केही आउछ भन्नु भएको छ । गोष्ठीमा सबै प्रस्तोताको जोड पनि कर्जा सूचना केन्द्रमा नै देखीएकोले विभाग बाट अभिव्यक्त प्रतिबद्धताहरु पुरा हुनेछन् र सहकारी अभियानले नयाँ उर्जाका साथ अगाडि बड्ने अवसर प्राप्त गर्नेछ भन्ने विश्वास सहभागीहरुको रहेको छ । नयाँ आर्थिक बर्षको सुरुबात सँगै कर्जा सूचना केन्द्र सञ्चालनमा आओस्, सहभागीहरुको तर्फबाट यही शुभकामना व्यक्त गर्दछौं । 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ