बिहीबार, वैशाख २०
०३:३९

‘नेकोस’ नाम मैले प्रस्ताव गरेको हुँः गैरे

आईतबार, असोज ४
रञ्जनमणि पौड्याल
saccosaawaj

(विगतमा २ कार्यकाल नेफ्स्कून सञ्चालक सदस्य रहनुभएका नारायण प्रसाद शर्मा गैरेको सहकारी संलग्नताले ४ दशकभन्दा बढी समय पार गरिसकेको छ । २०३३ कार्तिक २७ देखि यस क्षेत्रसँग जोडिनुभएका उहाँ हालसम्म पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा यसै क्षेत्र आबद्ध हुनुहुन्छ । पाल्पाको बगनासकाली गाउँपालिका–५, दर्लमडाँडाका गैरे हाल भक्तपुरको सूर्यबिनायक नगरपालिका–३ बालकोटस्थित आरम्भटोलमा अवकास जीवन सहकारीकर्ममै बिताइरहनुभएको छ । मानविकी संकाय अन्तर्गत अर्थशास्त्र विषयमा स्नातक उहाँसँग साकोस आवाजका लागि रञ्जनमणि पौड्यालले गर्नुभएको इमेल अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः सम्पादक)

 

तपाईको कार्यानुभवबारे केही बताइदिनुहुन्छ कि ? 
२०३५ श्रावण ११ देखि २०७३ श्रावण ११ सम्म नेपाल सरकारका बिभिन्न निकायमा रही बिभिन्न जिम्मेवारीमा सेवा गरेँ । सहकारी संघ संस्थाहरुको लेखापरीक्षण, निरीक्षण, तालिम, परामर्श, नीति निर्माण, बिभिन्न सहकारी संघ संस्थामा पदाधिकारी, सदस्य तथा सल्लाहकारको भूमिका, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान तथा सहकारी प्रशिक्षण केन्द्र लगायत बिभिन्न संघ संस्थाहरुबाट उद्घोषण, व्यबस्थापन, लेखापालन तथा लेखापरीक्षण सम्बन्धी तालिम पनि लिएको छु ।
म सञ्चारकर्ममा पनि सामेल थिए । एफएम प्रस्तोताको रुपमा पनि कार्यरत थिए । त्यसैगरी, बिभिन्न गैरसरकारी संस्थाहरु, टोल बिकास संस्थाहरुमा आबद्ध भई सामुदायिक बिकास सम्बन्धी कार्यमा सहभागी भए । 

सहकारी क्षेत्र प्रवेश कहिले र कसरी भयो ?
नेपालमा जब २०३३ सालमा साझा कार्यक्रमको शुरुवात भयो, त्यो समय देखि नै सहकारी अभियानमा प्रवेश गरेको हुँ । जागिरको सिलसिलामा २०३३ साल कार्तिक २७ गते तनहुँ जिल्ला स्थित जिल्ला सहकारी संघ लि. मा स्टोर किपर पदमा सेवा प्रबेश गरे पश्चात नै सहकारी अभियानसँग जोडिएको ठान्दछु । 

सहकारी क्षेत्रमा तपाईले निर्वाह गरेका भूमिका के थिए ? 
जिल्ला सहकारी संघ लि. तनहूँ दमौलीमा स्टोर किपर पदमा २०३३ कार्तिक २७ देखि २०३५ असार ५ गते सम्म काम गरेँ । लोकसेवा आयोगको बिज्ञापन बमोजिम २०३३ साल श्रावण ११ गते देखी तत्कालिन श्री ५ को सरकार सहकारी बिभाग अन्तर्गत कास्की, पाल्पा, म्याग्दी, लमजुङ, सल्यान, दैैलेख, सुर्खेत जिल्लामा सहकारी सब ईन्स्पेक्टर र सहकारी ईन्सपेक्टर पदमा कार्यरत रहेँ । २०४७ साल देखि २०५२ साल सम्म जिल्ला सहकारी कार्यालय दैलेख तथा जिल्ला सहकारी कार्यालय सल्यानमा कार्यालय प्रमुखको भूमिकामा रहेर काम काम गरेँ । 

त्यस्तै, २०५१ साल फागुनमा सल्यान ग्रामीण बचत तथा ऋण सहकारी संस्थाको स्थापनामा भूमिका निर्वाह गरेँ । (सायद उक्त संस्था बचत तथा ऋण सहकारी संस्थाको हकमा मध्यपश्चिम तथा सुदूरपश्चिम जिल्लाका २४ जिल्ला मै पहिलो हुनु पर्दछ ।) सुर्खेत जिल्लामा २०५१/०५२ साल तिर थुप्रै दुग्ध उपादक सहकारी संस्थाहरु क्रियाशिल थिए तिनलाई बचत परिचालन सम्बन्धी काममा प्रोत्साहन गर्ने काम गरेँ ।

सहकारी अभियानमा अरु भूमिकाहरु के रहे ? 
सहकारी ऐन, नियम, मुल्य मान्यता अनुरुप बिभिन्न जिल्लामा निस्क्रिय सहकारी संस्थाहरुलाई सक्रिय बनाई सदस्य सेवामा समर्पित गराउने काम भए । बिभिन्न जिल्लामा राष्ट्रसेवक सहकारी संस्था गठन र संचालनको काम भए । २०५४ चैत्र १४ गते आफ्नै पहलकदमी तथा नेतृत्वमा दाङ जिल्लामा राप्ती बिश्वासी बचत तथा ऋण सहकारी संस्था लि. ( रफिकोल) को स्थापना गरी २०६४ सालसम्म अध्यक्षको भूमिका निर्बाह गर्दै आएको छु । सोही समयमै दाङ जिल्लामा अरु सहकारी संस्थाहरु गठन तथा सञ्चालनका लागि सहयोगीको भूमिका निर्बाह गरेँ । दाङ जिल्लामा पहिलो पटक बचत तथा ऋण जिल्ला सहकारी संघ गठन गरी अध्यक्षको भूमिका निर्बाह गरेको सम्झन्छु । जिल्लाहरुमा गठन भएका बचत तथा ऋण सहकारी संघ संस्थाहरुलाई मूलधारमा ल्याई सञ्चालन गर्ने क्रममा खास गरी सुर्खेत, दैलेख, बाँके, दाङ, सल्यान तथा प्यूठान जिल्ला समेतका बचत तथा ऋण सहकारी संघ संस्थाहरुलाई नेफ्स्कूनमा आबद्ध गराउने काममा पहल भयो जस्तो लाग्छ ।  

नेफ्स्कूनको आफ्नै सफ्टवेयर नेकोस प्लसको अवधारणा विकास कसरी भयो ? 
दाङ् जिल्लास्थित राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्ष रहंँदा उक्त संस्थाको प्रतिनिधिका नाताले नेफ्स्कूनमा सहभागी हुने मौका मिल्यो । सोही क्रममा रोटरी क्लव अफ काठमाडौंमा सम्पन्न नेफ्स्कूनको बार्षिक साधारण सभा मार्फत यस केन्द्रिय संघको सञ्चालक समितिको सदस्य पदमा निर्बाचित हुने मौका मिल्यो । सो क्रममा नेपालका सहकारी संस्थाहरु मध्ये पनि सहकारी ऐन, २०४८ अन्तर्गत स्थापना भै सञ्चालनमा रहेका सहकारी संंघ संस्थाहरुलाई व्यवस्थित तवरले सञ्चालन गरौं भन्ने प्रस्ताव राखियो । त्यसका लागि नेफ्स्कूनले पनि सकारात्मक ठानी यसको व्यबस्थापन गर्ने अठोट गर्यो ।

हाम्रा सबै सहकारीहरुलाई एउटा पद्दतिमा लैजान सहकारीका अन्तराष्ट्रिय सिद्धान्तलाई मार्गदर्शनको रुपमा लिई सफ्टवेयर मार्फत एकीकृत गराउने उद्देश्यले नेफ्स्कूनले USC Canada को आर्थिक सहयोगमा ललितपुर पुल्चोकस्थित Professional Computer System ( PCS) नामक संस्थासंग समन्वय गरी सफ्टवेयर निर्माणको निर्णय गरेको थियो । 

यसको नामाकरणको इतिहास कसरी सम्झनुहुन्छ ?  
यो सफ्टवेयरलाई कसरी नेफ्स्कूनको पहिचान (नामाकरण) दिने भन्ने बिषयमा नेफ्स्कून सञ्चालक समिति बैठकमा व्यापक छलफल भयो । यस क्रममा मैले NECOS नामाकरण गर्न उचित हुने ठानी आफ्नो राय दिएँ । यसको व्याख्या गर्ने क्रममा यसलाई NEFSCUN Co-operative System (NECOS) नामाकरण गर्न उचित हुने भन्ने थियो । यसले नेफ्स्कूनको पहिचान र छवि निर्माणमा उल्लेख्य उपलब्धि हुने थियो र सँगै सबै सहकारीहरुका लागि सरल र सहज सफ्टवेयर उपलब्ध भइ एकीकृत सूचना प्रणाली विकासमा सहयोगी बनोस् भन्ने हो ।

यसको पहिलो परीक्षण पूर्वका केही बचत तथा ऋण सहकारी संस्थाहरुबीच सुनसरीको ईटहरीमा भयो । म र नेफ्स्कुनका शिवजी सापकोटासँगै PCS का तर्फबाट माधव गौतम जी समेत रहेको टोलीबाट यसलाई सहजीकरण गर्ने काम करिब २०६४ साल कार्तिक १८ देखि २२ (सन् २००७ नोभेम्बर ४ देखि ८) सम्म भयो । त्यस लगत्तै नेकोसको पहिलो सफल परिक्षण भने मोरङको इटहरा बचत तथा ऋण सहकारी संस्थाम गरिएको हो । त्यसपछि क्रमशः काभ्रेको बनेपा लगायत उपत्यकाका अन्य स्थानहरुमा समेत यसको परीक्षण प्रशिक्षणको काम शुरु भयो । 

सूचना प्रविधिको महत्व वित्तीय सहकारी क्षेत्रमा कति छ ?
सहकारी क्षेत्रमा सूचना प्रविधिको निक्कै नै महत्वपूर्ण छ । यसैको माध्यमबाट आज मुलुक भित्र छरिएर रहेका तमाम सहकारी संस्थाहरुले नीति, बिधि एवं प्रबिधिको भरपुर उपयोग गरी सदस्य केन्द्रित व्यबसाय सञ्चालन गर्न ठूलो मद्दत मिलेको छ ।  

नेफ्स्कूनलाई नेकोस प्लस लगायत अन्य विषयमा यहाँको सुझाव के छ ?
हाम्रो जस्तो बिकासोन्मुख देशमा नागरिकहरुको आर्थिक सामाजिक एवं सांस्कृतिक बिकासका लागि सहकारी मात्र एक सशक्त माध्यम भएको मैले अन्तर्आत्मा देखि नै स्वीकार गरेको छु । जहाँ ज्यूदोमा जन्ती र मर्दामा मलामी को भावना समेटिएको हुन्छ । त्यसैले नेकोस मार्फत सम्पूर्ण सहकारी संस्थाहरुलाई सदस्य केन्द्रित बनाई सञ्चालन गर्ने उद्देश्यले पहिले यसको प्रयोग सदस्यमा मात्र सीमित राख्ने अर्थात बचत तथा ऋण सहकारी संस्थामा गैर सदस्यसँग कारोबार गरिनुहुँदैन भन्ने मान्यता बमोजिम शुरुमा यसलाई सदस्य केन्द्रित प्रणालीका रुपमा अगाडी सारियो । जसमा नियामक निकायले सिफरिस गरेका ४ खाताहरुको यथेष्ट प्रयोग हुन गै सहकारीको अपरिहार्यता इमान्दारी र पारदर्शिता भन्ने मान्यतालाई आत्मसात गराउने मुलभुत लक्ष लिईएको थियो । 

पछि यसलाई सुधार गर्ने क्रममा खासगरी शहरका सहकारी संस्थाहरु जहाँ गैर  सदस्यसंग नै बढी कारोबार गर्छन, उनीहरुका लागि सहज हुने किसिमको बनाइयो । यसमा भने मेरो विमति हो । सहकारी व्यबसाय सदस्य केन्द्रित नै हुनुपर्छ र हाम्रो सफ्टवेयर प्रणाली पनि त्यसैलाई आत्मसात् गर्ने बमोजिम हुनुपर्दछ भन्ने मेरो व्यक्तिगत धारणा हो । 

हाल समय कसरी बिताइरहनुभएको छ ? 
म २०३५ साल श्रावण ११ देखि २०७३ श्रावण ११ गते सम्म नेपाल सरकारका बिभिन्न जिल्लाका बिभिन्न निकायहरुमा निरन्तर सेवा गर्ने मौका पाएँ । म सानै देखि नै सहकारीलाई आफ्नो सहज जीवनथलोको रुपमा स्वीकार गर्दै आएको छु । सहकारी प्रति नै बढी बिश्वास भएको कारण र म पेशाले लेखापरीक्षक समेत भएका कारण खास गरी सहकारी संघ संस्थाको बिभिन्न नीतिहरुको तर्जुमा गर्ने, तालिम गोष्ठी सञ्चालन गर्ने गराउने, सहकारी संस्थाहरुलाई बिधिसम्मत् सञ्चालन गर्न गराउन सहजिकरण गर्ने र अनुभव बाँढ्ने काम गरेको छु । कुनै निकायले आवश्यक ठाने उनीहरुको लेखापालना तथा लेखापरीक्षण समेत गर्ने गरेको छु । मेरो बढी समय खासगरी सहकारी संघ संस्थाहरुमै बित्ने गरेको छ ।

saccosaawaj media

ऋण संघ ऐन (Credit Union Act) को आवश्यकता

सोमबार, साउन ५

निवर्तमान अध्यक्ष, नेफ्स्कून

saccosaawaj media

सहकारी मर्जरका लागि उत्प्रेरित नभए सरकार दबाब दिन बाध्य हुने

सोमबार, साउन ५

डा. टोकराज पाण्डे रजिष्ट्रार, सहकारी विभाग

saccosaawaj media

दिगो विकास लक्ष्य र सहकारी

सोमबार, साउन ५

दिगो विकास लक्ष्य र सहकारी