रञ्जनमणि पौड्याल
(एजेन्सीहरुको सहयोगमा)
युरोपको प्रसिद्ध मुलुक स्पेनका श्रमिक सहकारीहरुमा ३९ प्रतिशत महिलाहरुले उच्च पद ओगटेका छन् । जबकि सहकारी इतर व्यवसायका उच्चतम पदमा महिला सहभागिता त्यहाँ जम्मा ६ प्रतिशत छ । त्यस्तै, अन्य व्यवसायमा कार्यरत स्पेनी महिलाहरुले पुरुष सहकर्मीहरु भन्दा औसतमा १८ प्रतिशत कम सेवा सुविधा पाउँछन् भने त्यहाँको श्रमिक सहकारीमा काम गर्नेहरु महिला र पुरुषहरुबीच तलब सुविधामा कुनै अन्तर (वेज ग्याप) छैन ।
अमेरिकामा आधा भन्दा बढी क्रेडिट युनियका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरु महिला रहेको त्यहाँका क्रेडिट युनियनहरुको एक मात्र राष्ट्रिय छाता संघ–क्रेडिट युनियन नेशनल एशोसिएसन (कुना) ले जनाएको छ । जबकि अमेरिकाका अन्य बैंकहरुमा ५ प्रतिशत मात्र महिला सीइओ छन् । अमेरिकामा बैंक तथा अन्य वित्तीय संस्थामा भन्दा क्रेडिट युनियनमा महिला सीइओ नियुक्त हुने सम्भावना ५ गुना बढी रहेको सन् २०१९ को एक अध्ययनले देखाएको छ ।
त्यस्तै, अर्को एक अध्ययनले विश्वका १ सय ठूला सहकारी तथा बीमा कम्पनीहरुमध्ये ९ वटामा महिला सीइओ रहेका छन् तर विश्वका १ सय ठूला स्टक कम्पनीहरुमा १ जना मात्र महिला सीइओ रहेको सार्वजनिक गरेको छ । हाल एशिया प्रशान्त क्षेत्रका बचत तथा ऋण सहकारीहरुको छाता संगठन–अकूको प्रथम महिला सीइओका रुपमा लेनी कार्यरत हुनुहुन्छ ।
दक्षिण पूर्वी युरोपको राष्ट्र सर्बियाको बोस्निया तथा हर्जगोभिनासँगको सीमामा अवस्थित ब्राटुनाक क्षेत्रमा स्थापित बहुसंख्यक महिला सदस्य रहेको “फ्रुट्स अफ पिस” नामक सहकारीले स्थानीय ५ सय महिलालाई रोजगारी प्रदान गरेको छ । उक्त सहकारीले फलफुल खेती गरी इटालीको ठूलो खाद्य सहकारीलाई बिक्री गर्दछ । खासगरी शरणार्थीहरु बस्ने त्यस क्षेत्रमा महिलाहरुले गरेको परिश्रमको आम्दानी एकदमै न्यून रहेकोमा सन् २०१९ को तथ्याङ्क अनुसार त्यो बढेर ३० प्रतिशत पुगेको छ ।
कुर्दिशहरुको बाहुल्यता रहेको सिरियाको रोजाभाना क्षेत्रमा समतामूलक प्रजातान्त्रिक समाज निर्माणको कार्यारम्भ भएको छ । स्थानीय सरकारको लक्ष्य भनेको अर्थतन्त्रमा त्यहाँका सहकारीहरुको योगदान करिब ८० प्रतिशत पुर्याउने हो । युद्धप्रभावित क्षेत्रमा लगभग शून्यबाट सुरु गरेका त्यहाँका सहकारीहरुले सन् २०१८ मा ७ प्रतिशत योगदान दिएका थिए भने त्यसमध्ये आधा जस्तो योगदान महिला सहकारीहरुको थियो । सहकारीको संरक्षणका निम्ति त्यहाँ स्थापित प्रत्येक सरकारी निकायको नेतृत्वमा १ महिला र १ पुरुष छन् ।
अफ्रिकी मुलुक तान्जेनियाका सहकारी बैंक तथा अन्य सहकारी संस्थाहरुमा ६५ प्रतिशत महिला सञ्चालकहरु रहेको केही वर्ष अघिको अध्ययनले देखाएको थियो । हालका दिनमा त्यो प्रतिशत बढेको छ ।
नेपालमा पनि थुप्रै प्रारम्भिक संस्था र जिल्ला संघहरुको सञ्चालक समिति र व्यवस्थापन प्रमुखको नेतृत्व महिलाहरुले गर्नुभएको छ । यद्यपि, विषयगत केन्द्रिय संघहरुमा भने उच्च नेतृत्वमा महिला सहभागिता न्यून छ । देशभरका सहकारीहरुको अभिभावक निकाय राष्ट्रिय सहकारी महासंघको बरिष्ठ उपाध्यक्षमा ओमदेवी मल्ल र वित्तीय सहकारीहरुको एक मात्र छाता संगठन–नेफ्स्कूनको उपाध्यक्षमा शान्ति अधिकारी हुुनुहुन्छ । त्यसैगरी, राष्ट्रिय सहकारी महासंघको पहिलो व्यवस्थापन प्रमुख अर्थात् महाप्रबन्धकमा चित्रा कुमारी थामसुहाङ्ग हुनुहुन्छ । उहाँ सहकारीको उपल्लो निकायको पहिलो महिला व्यवस्थापन प्रमुख पनि हुनुहुन्छ । केही जिल्ला संघहरुको नेतृत्व महिलाको काँधमा छ । त्यसैगरी, ४ हजार बढी प्रारम्भिक संघ संस्थाको नेतृत्वमा महिला रहेको भनिएपनि त्यसको पछिल्लो यकिन तथ्याङ्क उपलब्ध छैन ।
बेलायतस्थित सेन्ट्रल इंगल्याण्ड कोअपरेटिभ् (सीइसी) की प्रथम महिला प्रमुख कार्यकारी अधिकृत डेबी रबिन्सन् को सहकारी यात्रा ४० वर्ष प्रवेश गरेको छ । ४ सय खाद्य स्टोरहरु (आउटलेट) र केही शव गृहहरुमा कार्यरत साढे ८ हजार कर्मचारीको व्यवस्थापन प्रमुखको जिम्मेवारीमा रहेकी डेबीको सहकारी र कोभिड अनुभवः
सन् २०१९ को मार्चमा म सीइसीको पहिलो महिला सीइओका रुपमा नियुक्त भए । त्यसअघि म को–अप ग्रुपसँग आबद्ध थिएँ । त्यहाँ म प्रबन्ध निर्देशकको रुपमा काम गर्दथे । सबैतिर गरेर मेरो सहकारी यात्राले ४ दशक पुरा गरेको छ ।
सीइसीमा काम प्रारम्भ गरेको १८ महिनामा नै मैले र मेरो सहकारीले मुलुकमा धेरै असहज अवस्था देखेभोगेको छ । ब्रेक्जिट बर्हिगमन्का संशयहरु, कोभिड–१९ को शुरुवात, काला जातिहरुले गरेको प्रदर्शन र अहिलेको आर्थिक मन्दी । यस्ता चुनौतीहरुको समयमा सहकारी मूल्यहरुको महत्व सामान्य अवस्थामा भन्दा बढी हुने अनुभवले पुष्टि गरेको छ ।
सहकारीले साँच्चिकै समुदायमा सकारात्मक प्रभाव पार्ने मेरो ठम्याइ छ । सीइसीले आफ्ना सदस्यहरु र समुदायलाई एकदमै महत्व दिएको छ । सहकारीमा बिताएको ४ दशकको अनुभव अहिले पछिल्लो सीइओको भूमिका निर्वाह गर्न प्रयोग गर्दैछु । मेरो सहकारीको व्यवस्थापन समूह एकदम सहयोगी र कामप्रति प्रतिबद्ध छ ।
मेरो सहकारीका हाल ४ सय आउटलेटहरु छन् र तिनमा जम्मा ८ हजार ६ सय कर्मचारी कार्यरत छन् । यी सबै कर्मचारीहरुले कोभिड–१९ को समयमा प्रवाह गरेको सेवा निक्कै प्रशंसनीय छ । हाम्रा खाद्य स्टोरहरु र एवम् शव गृहहरुमा काम गर्ने फ्रन्टलाइन कर्मचारीहरु साँच्चिकै नायक स्थापित भएका छन् । सीइसीले लकडाउनका समयमा स्टोर र शव गृहहरुलाई निरन्तर सञ्चालन गरेको छ ।
हामीले संकट व्यवस्थापन समिति गठन गर्यौ जसको मुख्य प्राथमिकता भनेको कर्मचारी, सदस्य तथा समुदायको सुरक्षाका योजनाहरु बनाउने र कार्यान्वयन गर्ने हो ।
देशमा प्रधानमन्त्रीले लकडाउन घोषणा गर्ने बित्तिकै हाम्रो प्रमुख वित्त अधिकृतको नेतृत्वको संकट व्यवस्थापन समितिले २ मीटर भौतिक दूरीको नियम लागू गर्यौ । त्यस लगत्तै हामीले सबै कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) प्रदान गर्यौ । समाजमा जोखिममा रहेकाहरुलाई लक्षित गरी हामीले दूर सेवाहरु प्रदान गर्यौ ।
फ्रन्टलाइनमा काम गर्ने कर्मचारीहरुलाई एक साताको थप सुविधा उपलब्ध गरायौं भने कर्मचारीहरुलाई स्टोरबाट खाद्य सामाग्री खरिद गर्दा २० प्रतिशत छुटको व्यवस्था गर्यौ । यसले उनीहरुलाई सुरक्षा मात्र नभइ स्थानीय सामाग्रीको प्रयोग गर्न प्रोत्साहित पनि गरेको छ ।
यो समयमा अन्य सहकारीहरुसँग पनि समन्वय गरेर सेवा प्रदान गरिरहेका छौं । सन् २०२० का अहिलेसम्मका घटनाक्रमहरु हेर्दा के लाग्छ भने समुदायप्रति चासोको सहकारीको सिद्धान्त सँगै समानता र ऐक्यबद्धताको सहकारी मूल्यको महत्व झनै बढी देखिएको छ ।
गरिब बालबालिकाहरुको समस्याले मलाई बढी दुःखी बनाउछ । मलाई लाग्छ हामीले गरिबी निवारणको दिगो योजनाहरु निर्माण गर्नुपर्दछ । सहायता आवश्यक भएका समुदायहरुको आत्म सम्मानको पनि ख्याल राख्नुपर्दछ ।
कोभिडको महामारीले हामीलाई रोजगारीको सम्मान गर्न सिकाएको छ । कामको महत्वलाई थप प्रष्ट पारेको छ । किनकि कतिपयले यो अवस्थामा रोजगारी गुमाएका छन् ।