सोमबार, वैशाख ३१
०४:४२

कोरोना पोजेटिभ देखिँदैमा आतंकित हुनुपर्दैनः सहकारीकर्मी

बुधबार, भदौ १०
साकोसआवाज प्रतिनिधि/राधा पौडेल
saccosaawaj

काठमाडौं, भदौ १० । सहकारी सदस्यहरुको सुख दुखको सहयात्री हो । जस्तो सुकै कठिन र जटिल अवस्थामा पनि सहकारीले सदस्य सेवा प्रवाहमा कुनै प्रकारको कमी महशुस हुन दिएको छैन । सहकारी अभियान सामुदायिक अभियान हो । सहकारी सधै समुदायप्रति उत्तरदायी बन्ने र समुदायका सदस्यहरुलाई आवश्यक वित्तीय सेवा प्रदान गर्नमा कटिबद्ध छ । कोभिड १९ संक्रमणको जोखिम होस् वा अन्य विपत्ती वा प्रकोपको अवस्था किन नहोस् सहकारीले सदस्य सेवा निरन्तरतालाई विशेष महत्व दिइरहेका छन् । विश्व मानव जगतलाई नै कोरोना संक्रमणको भयले हायल कायल बनाएको छ । गत ५ महिनादेखि नेपालमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक गतिविधिहरु ठप्प छन् । कोरोना संक्रमणको जोखिम उच्च बन्दै गइरहेको हालको अवस्थामा सहकारीकर्मीहरुपनि कोभिड संक्रमणको उच्च जोखिममा हुनुहुन्छ । विश्वव्यापी रुपमा कोभिड १९ले मानव जगतलाई जुन रुपमा त्रसित र आतंकित बनाएको छ, नेपाल पनि यसबाट अछुतो छैन । तर कोरोना संक्रमण विशेष रोगको अवस्थामा बाहेक सामान्य भाईरस रहेको र सामान्य स्वास्थ्य सचेतनाबाट निको पार्न सकिएको सहकारीकर्मीहरुको बास्तविक अनुभवलाई यहाँ समेटिएको छ ।

          

महेश ढुंगेल
व्यवस्थापक, हातेमालो साकोस, बारा

जितपुर सिमरा उपमहानगपालिका वडा नं. २ मा अवस्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक महेश ढुंगेललाई कोरोना पोजेटिभ देखियो । साउन २४ गते स्वाव परीक्षण गराउनुभएका ढुंगेलको केही दिनपछि रिपोर्ट आयो कोरोना पाजेटिभको । तर उहाँमा कोरोनाको कुनै लक्षण देखापरेको भने थिएन । रिपोर्ट पोजेटिभ आइसकेपछि उहाँले आफ्नै घरमा आइसोलेसनमा बस्ने प्रबन्ध मिलाउनुभयो र १४ दिन सम्म होम आइसोलेसनमा बसेर १५औं दिनको दिन स्वाव परीक्षण गराउनुभयो । खुसीको कुरा कोरोना नेगेटिभको रिपोर्ट आयो । कोरोना संक्रमित हुँदा उहाँलाई व्यक्तिगत रुपमा कुनै डरत्रास र भय भएन । उहाँमा कोरोनालाई जित्ने आत्मबल र विश्वास थियो । साथै पारिवारिक साथ सहयोग र साथीभाईको हौसला पनि । उहाँमा मात्र एक चिन्ता थियो, कतै मेरो परिवारका अन्य सदस्यहरु संक्रमित भएर दुख पाउने वातावरण बन्छ की भन्ने मात्र । तर उहाँको परिवारका कुनै पनि सदस्यहरुलाई कोरोना संक्रमण देखिएन । रिपोर्ट पोजेटिभ आउँदा उहाँमा कुनै प्रकारको कोरोनाको लक्षण देखिएको पनि थिएन । पछि विस्तारै घाँटी दुख्ने र जीउ पोल्ने समस्या सामान्य देखिएको उहाँ बताउनुहु्न्छ । घरेलु उपचार, वेसार पानी, सागसब्जी, फलफुल र घरकै साधारण खानपानले कुनै पनि औषधि उपचार नगराइकन उहाँ ठीक हुनुभयो । उहाँ भन्नुहुन्छ, संक्रमण केही होइन, आफ्नो स्वास्थ्य स्थिति ठीक अवस्थामा छ भने कोरोना संक्रमण हुँदैमा डराउनुपर्ने रहेनछ । सामान्य रुघा खोकीको अवस्थामा हामीलाई जस्तो हुन्छ, त्यो भन्दा बढी केही भएको महशुस मैले गरिन । सर्वप्रथम त हामीले सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, आवश्यक काम नपरी बाहिर नहिड्ने मात्रै हो भने पनि यसको संक्रमण बाट जोगिन सक्छौं । संक्रमण भइहालेमा पनि हामीले स्वास्थ्य सचेतना अपनाएर १४ दिन आइसोलेसनमा बस्यौ भने यो संक्रमण आफै ठीक हुन्छ । तर यस अवधिमा संक्रमित र संक्रमितको परिवारप्रतिको सामाजिक दृष्टिकोणले भने उहाँको जीवनमा तीतो अनुभव सँगालेको छ । सामाजिक चेतनाका कारणले घरपरिवारले समस्या झेल्नुपर्यो । बाहिर निस्कन नहुने, घरमा आवश्यक सरसामान ल्याइदिने मान्छे नहुँदाको छुट्टै पीडा उहाँले सुनाउनुभयो । 

                             

हिमलाल गौतम
प्रवन्धक, जनहितकारी साकोस, सुर्खेत

कोरोना संक्रमणलाई परास्त गर्नुभएको अर्को व्यक्तिको नाम हो हिमलाल गौतम । सुर्खेत, विरेन्द्रनगर ४ स्थायी बसोबास भएका गौतम सुर्खेत स्थित जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक हुनुहुन्छ । २०६९ सालदेखि सहकारी क्षेत्रमा क्रियाशील गौतमको ५ जनाको परिवार छ । परिवारमा आमा, श्रीमति र  दुई छोरा हुनुहुन्छ । छिमेकी अंकल लाई कोरोना पोजेटिभ देखिएपछि उहाँलाई पनि स्वाव परीक्षण गर्ने चाहना बढेसँगै परिवार र कार्यालयका सहकर्मीहरुले पनि परीक्षणका लागि आग्रह गर्नुभयो । कुनै प्रकारको लक्षण नदेखिएता पनि उहाँले असार २७ गते कोरोना परीक्षणका लागि स्वाव दिनुभयो । २९ गते रिपोर्ट आयो, कोरोना पोजेटिभ । त्यसपछि उहाँ छाँगोबाट खसेजस्तै झस्किनुभयो, मनमा त्रास, चिन्ता र भय ले घर जमायो । उहाँ भन्नुहुन्छ, शुरुमा निकै आत्तिएँ पनि, कर्णाली प्रदेश अस्पतालमा आइसोलेसनमा बस्ने निधो गर्नुभयो । घरपरिवार र साथीभाइको हौसलाले उहाँको पि.सि.आर. पोजेटिभको त्रासलाई विस्तारै कम गर्दै लग्यो । दिन वित्दै गए, कोरोना संक्रमणलाई जित्ने आत्मबल र विश्वास बढ्दै गयो, शरिरमा कोरोनाको कुनै लक्षण देखिएन । पौष्टिक आहार, शारिरीक व्यायाम र सरसफाइलाई ध्यान दिँदै सामान्य आयुर्वेदिक औषधिको सेवन गर्नुभयो । १० दिनपछि पुन पि.सि.आर परीक्षणका लागि पठाइयो र दुइदिनपछिको रिपोर्ट नेगेटिभ आयो । कुनै लक्षण विना १२ दिनको आइसोलेसनको बसाइबाट उहाँ घर फर्किनुभयो । विश्वव्यापी त्रासको रुपमा रहेको कोभिड १९ सँग जुद्दाको अनुभवलाई साट्दै उहाँ भन्नुहुन्छ, म निकै सचेत भएर काम गर्थे, समाजिक दुरी कायम गर्ने, मास्क, सेनिटाइजर नियमित प्रयोग गर्थे । पैसाको कारोबारमा पनि निकै सचेतना अपनाएको थिए । तर कसरी संक्रमित भएँ भन्ने पत्ता लगाउन सकिएन । निरन्तर फ्रन्ट लाइनमा बस्ने, सदस्य सेवा प्रवाहमा निरन्तर जुटिरहनुभएका धेरै साथीहरु हुनुहुन्छ, उहाँहरु हालसम्म सुरक्षित हुनुहुन्छ । त्यसकारण संक्रमण यसरी नै हुन्छ भन्न सकिदैन, सकेसम्म भौतिक दुरी र स्वास्थ्य सचेतना अपनाऔं । संक्रमण नभएको धेरै राम्रो हो तर संक्रमण भइहालेमा पनि डराउनुपर्ने हुँदैन । बृद्ध बृद्धा र दीर्घ रोगीहरुलाई संक्रमणको जोखिम उच्च छ । सहकारी अभियान र समुदायप्रति उत्तरदायी भएर काम गर्ने हामी सहकारीकर्मीहरु कुनैपनि बेला संक्रमणको जोखिममा पर्न सक्छौं । सकभर यसको संक्रमण हुनबाट बचौं र भइहालेमा पनि दृढ आत्मबल र विश्वास लिएर यसलाई परास्त गरौं । कोरोना संक्रमण हुँदैमा आत्तिनुपर्ने अवस्था छैन । 

 
 

प्रभाकर गुप्ता

व्यवस्थापक, घरआँगन साकोस, बीरगञ्ज, पर्सा 
पर्सा वीरगञ्जस्थित घर आँगन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रभाकर गुप्ता पनि कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ । संक्रमणबाट मुक्त गुप्ताले आम कोरोना संक्रमितको जीवनरक्षा र आत्मबल विकासका निम्ति सामाजिक काममा खट्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । साथीभाइसँगको सम्पर्कका कारण कन्ट्रयाक्ट ट्रेसिङ मार्फत साउन २६ गते पि.सि.आर परीक्षण गराउनुभएका गुप्ता सहित ३ जना साथीको पि.सि.आर. रिपोर्ट पोजेटिभ आयो । साउन २९ गते राती १२ बजे पि.सि.आर. पोजेटिभको सूचना पाएपछि निकै तनावमा रहेको उहाँ बताउनुहुन्छ । सात दिनसम्म होटलमा सेल्फ क्वारेन्टाइनको बसाइपछि उहाँ होम आइसोलेसनमा बस्ने गरी घर जानुभयो । घर परिवार र साथीभाईको स्नेह, सद्भावले उहाँको मनोबल र आत्मविश्वास बढायो । १४ दिनसम्म आइसोलेसनको बसाइ पश्चात गरिएको पि.सि.आर. रिपोर्ट नेगेटिभ आयो । उहाँ भन्नुहुन्छ, कोरोना भाइरसले समाजमा नराम्रो प्रभाव पारेको छ । सामाजिक आतंक र त्रास फैलाएको छ । संक्रमितलाई सामाजिक अवहेलना गर्ने, सामाजिक बहिष्कार गर्ने जस्ता परिपाटि बढेको छ । आज म संक्रमणबाट मुक्त भएको छु, मैले कोभिडले समाजमा पारेको नकारात्मक पक्षलाई सचेतना अभिबृद्धि मार्फत तमाम् संक्रमित आमाबुबाको घाउमा मलहम लगाउने र सामाजिक सचेतना जगाउने अभियानमा जुट्नेछु उहाँले बताउनुभयो । 

                                         

 

 

 

 

 

 

 

 

छत्र प्रसाद धमला
फिल्ड इन्चार्ज, नेफ्स्कून सुर्खेत फिल्ड कार्यालय

कोरोना संक्रमणलाई परास्त गर्ने महाअभियानमा नेफ्स्कूनका सहकर्मी मित्र छत्र प्रसाद धमला पनि हुनुहुन्छ । उहाँले नेफ्स्कूनको ३३औं स्थापना दिवसको दिन साउन ३२ गते पि.सि.आर परीक्षण गराउनुभयो । दुइदिन पछि रिपोर्ट आयो कोरोना पोजेटिभ । कार्यालयमा कार्यरत सबै कर्मचारीहरुको एकसाथ गरिएको स्वाव परीक्षणमा अन्य साथीहरुको रिपोर्ट नेगेटिभ आयो । हालसम्म संक्रमणको सम्भावित कुनै पनि लक्षण उहाँमा देखिएको छैन । सुर्खेतस्थित एक होटलमा उहाँ १२ दिनदेखि आइसोलेसनमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, हालसम्म कोरोना संक्रमणको कुनै पनि डर, त्रास र चिन्ता मैले लिएको छैन । केवल एकान्तबास बस्नुपर्ने पीडा एक किसिमको भएपनि संक्रमणलाई परास्त गर्ने मनोलब र आत्मविश्वास बढेको छ उहाँमा । म सहकारीकर्मी हो,  समुदायप्रतिको उत्तरदायित्व र सदस्य सेवा निरन्तरता मेरो धर्म हो । कोभिड महामारीका बीच पनि सहकारीहरुले सदस्यसेवालाई निरन्ततारता दिइनैरहेका छन् । यस विष्म परिस्थितिमा स्वास्थ्य सचेतना अपनाउने र सामाजिक दुरी कायम गर्ने हो । यदि कोभिड संक्रमण भइहाले पनि डराउनुपर्ने अवस्था छैन । उच्च मनोवल, पौष्टिक आहार, पर्याप्त मात्रामा झोलिलो खानेकुरा, शारिरीक व्यायाम र खुसी रहन सकियो भने कोरोना संक्रमण सामान्य हो । यसलाइ्र्र सहजै परास्त गर्न सकिन्छ ।   

कोरोना भाइरस संक्रमण जो कोहिलाई पनि हुनसक्छ । विश्व मानव जगतलाई नै कोरोना संक्रमणको भयले हायल कायल बनाएको छ । विश्वभर २ करोड ४० लाख ६४ हजार मानिस संक्रमित भएका छन् भने १ करोड ६६ लाख १४ हजार २ सय ७१ मानिस निको भएका छन् । कोरोना संक्रमणकै कारण ८ लाख २३ हजार ५ सय ७० जनाको मृत्यु भइसहेको तथ्यांक सार्वजनिक भएको छ । नेपालमा हालसम्म ३४ हजार ४ सय १८ संक्रमित भएका छन् भने १९ हजार ५ सय ४ जना निको भएका र १ सय ७५ जनाको मृत्यु भएको तथ्यांक छ । 

नेपालमा पनि कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन जारी गरी नागरिकहरुलाई स्वास्थ्य सचेतना अपनाउन, भौतिक दुरी कायम गर्न, कार्यक्रम गोष्ठी सभा सम्मेलन नगर्न र व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रयोग गर्न निरन्तर आव्हान गरिरहेको छ । पछिल्लो समय नेपालमा पनि संक्रमणको जोखिम निरन्तर बढिरहेको छ । संक्रमित मध्ये निको हुनेको संख्या पनि उच्च छ । बृद्ध बृद्धा र विशेष गरी दीर्घ रोगीहरु कोभिड संक्रमणबाट विशेष सुरक्षित रहनुपर्नेछ । कोभिड १९ संक्रमणको जोखिमबाट बच्न विशेष सावधानी अपनाऔं, सामाजिक दुरी कायम गरौ, संक्रमितलाई माया, सद्भाव र सम्मान दिऔं । सामाजिक सद्भाव र मेलमिलापबाटै कोभिड १९को त्रासलाई समाजबाट भगाऔं ।  

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र