आईतबार, वैशाख ३०
०७:१२

‘सहकारी व्यवस्थापक कोर्ष कोशेढुङ्गो साबित हुनेछ’

मंगलबार, भदौ ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

(नेफ्स्कूनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) सँगको सम्बन्धनमा नेपालमा पहिलो पटक सहकारी व्यवस्थापक कोर्षको अध्यापन शुरु गर्दैछ । नेफ्स्कूनको ३३ औं स्थापना दिवसका अवसरमा उक्त कोर्षको औपचारिक उद्घाटन भएपनि कोरोनाको संक्रमण र निषेधाज्ञाका कारण कक्षा सुरु गर्न अझै केही समय लाग्ने भएको छ । उक्त सहकारी व्यवस्थापक कोर्ष पढ्न इच्छुक ५ दर्जन भन्दा बढी आवेदकहरुमध्ये प्रवेश परिक्षामा २२ जना सफल हुनुभएको थियो । पहिलो व्याच २० जनाको हुनेछ । प्रवेश परिक्षामा सफलता प्राप्त गर्नेमध्ये केही प्रतिनिधि व्यक्तिहरुसँग छोटो अवधिको सहकारी व्यवस्थापक प्रमाणीकरण कोर्ष रोज्नुको कारण, अपेक्षा, नेफ्स्कूनको पहलकद्मी, सहकारी सम्बन्धी उहाँहरुको धारणा र भविष्यको योजना आदि विविध विषयमा भर्चुअल भेटको माध्यमबाट सहकारी आवाजका रञ्जनमणि पौड्यालले यो सामाग्री तयार पार्नुभएको छः सम्पादक ।)

 

 

योगेन्द्रबहादुर साउद
प्रमुख कार्यकारी अधिकृत
हाम्रो एकीकृत साकोस, स्वयम्भू, काठमाण्डौ 


व्यक्तिगत जानकारीः

मेरो स्थायी बसोबास चाल्सा ५ अछाम हो । हाल म काठमाडौं १५ मा बस्छु । औपचारिक अध्ययनको कुरा गर्ने हो भने व्यवस्थापन मा स्नातक पूरा गरेको छु । सहकारीप्रति लगाव भएकाले यसैमा काम गर्ने लक्ष्य निर्धारण गरेको छु ।

सहकारीः

मान्छेका आवश्यकताहरुलाई एकका लागि सबै र सबैका लागि एकको अवधारणा अनुसार पूरा गर्नका लागि एकताबद्ध संगठित एवम् कानुनी मान्यता प्राप्त संस्था नै सहकारी हो भन्ने मलाई लाग्छ ।

सहकारी व्यवस्थापक कोर्ष रोज्नुको कारणः

राज्यले संविधानमै सहकारीलाई अर्थतन्त्रका ३ महत्वपुर्ण खम्बामध्ये एक मानेको अवस्थामा सहकारी क्षेत्रले देशको अर्थतन्त्रमा खेलेको भूमिका अनुसार सहकारी संस्थाहरुलाई व्यवस्थित बनाउन प्राविधिक जनशक्तिको आवश्यकता सबैलाई महसुस भएकोले यो कोर्षमार्फत त्यो अभाव पूर्तिको चाहना हो मेरो ।
सामान्यतः सहकारी सम्बन्धी आधारभूत जानकारी विभिन्न शैक्षिक कोर्षहरुका पढ्न सकिएपनि यसको प्राविधिक ज्ञान भएको जनशक्ति बजारमा नभएकोले वित्तीय सहकारीहरुको छाता संगठन–नेफ्स्कूनले यो कोर्ष सञ्चालनको तयारी गरेको जस्तो लाग्छ । सहकारीहरुको प्राविधिक व्यवस्थापनको क्षेत्र अव्यवस्थित मात्र नभई बजारमा विभिन्न विकृतिहरुको कारण अन्य वित्तिय क्षेत्र जस्तो व्यवस्थित नभएको हुदा यस कोर्षले नयाँ दक्ष जनशक्ति तयार गर्ने र आफुलाई लामो अनुभव र रुचिका कारण एक दक्ष व्यवस्थापकको रुपमा तयार हुने अपेक्षा सहित यो कोर्ष अध्ययन गर्न चाहेको हुँ । 

समय व्यवस्थापनः

अध्यापन हुने स्थान र कार्यालय साथै आवास नजिक छ । बिहानीको सत्रमा कक्षा सञ्चालन हुने भएकाले काममा बाधा पर्दैन भन्ने ठानेको छु । सहकारी क्षेत्रमै काम गरिरहेका कारण अध्ययनको क्रममा प्राप्त हुने असाइनमेन्टहरु गर्न पनि सजिलो हुने अपेक्षा गरेको छु । सबै खोजेको जस्तो त हुँदैन, अभिरुचि भएपछि समय व्यवस्थापनमा खासै कठिनाई हुँदैन । आफुले सहजताका साथ मिलाउने कुरा पनि हो जस्तो लाग्छ ।

पारिवारिक सहयोगः

सत प्रतिशत छ । उहाँहरुको साथ र सहयोग विना त अध्ययन र काम जारी राख्न समस्या नै पर्छ । फेरि यस्तो राम्रो विषयको अध्ययनको चाहनामा साथ नदिने कारण नै के छ र ?


कोर्षबाट अपेक्षाः

एक कुशल व्यवस्थापक बन्ने । सैद्धान्तिक र व्यावहारिक दुबै ज्ञान लिने । सहकारीको बुझाईको दायरालाई फराकिलो बनाउने । कोर्ष अध्ययनको लक्ष्य भनेको सहकारी व्यवपस्थापनमा कुुशलता कायम गर्दछ नै हो । समाजमा सहकारीप्रतिको धारणालाई सकारात्मक बनाउन सहजिकरण गर्नुका साथै सहकारीहरुको सञ्चालन दक्ष जनशक्तिमार्फत हुने हँुदा सहकारीको विकासमा थप मद्दत पुग्दछ ।


नेफ्स्कूनको पहलकद्मीः

मुलुकको सहकारी अभियानको एक अब्बल, परिवर्तनकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेफ्स्कूनले  यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको उद्देश्य सहित शुरु गर्न लागेको यो काम निश्चय पनि प्रशंसनीय छ । संघले भविष्यमा धेरै दक्ष सहकारी व्यवस्थापक मात्र होइन यस क्षेत्रमा आवश्यक अन्य मानव संशाधनलाई दीक्षित र प्रशिक्षित बनाउने नवीन कार्यक्रमहरुको अध्यापन पनि गराउनेछ भन्ने अपेक्षा समेत गरेको छु । यो एकदमै प्रशंसनीय कार्य हो नेफ्स्कूनको । आज नेफ्स्कूनकै पहलका कारण हामीहरुले सहकारी व्यवस्थापक कोर्ष अध्ययनको अवसर प्राप्त गरेका छौं, त्यो पनि नेपालमै पहिलो पटक ।


भविष्यको योजनाः

सहकारी अभियानको एक दक्ष जनशक्तिको रुपमा आफुलाई स्थापित गर्ने । सहकारी अध्ययनलाई थप सघन बनाउने । जानेको ज्ञान अरुलाई बाढ्ने र सहकारी क्षेत्रमा अध्ययन सहित राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित व्यवस्थापक बन्ने । ब्रान्डेड संस्थाको प्रमुख कार्यकारी अधिकृत बन्ने स्वाभाविक योजना छ र त्यही अनुसार अघि बढिरहेको छु जस्तो लाग्छ । 


कोर्षबारे जानकारीः

नेफ्स्कूनको फेसबुक तथा अनलाइन सूचनाबाट । 

 

 

अरुण कुमार तिवारी
व्यवस्थापक
काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. कास्कून, चाबहिल, काठमाडौं 

 

                                                                                                                                                                                                  
 

 

 

 

 

 

 

 

 

 

 

 

व्यक्तिगत जानकारीः

मेरो स्थायी बसोबास मेलम्ची नगरपालिका–१२, गिराञ्चौर, सिन्धुपाल्चोक हो । हाल म गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा बस्छु । व्यवस्थापनमा स्नातकोत्तर (एमबीएस) पूरा गरेको छु । करिब ४ वर्षअघि देखि सहकारी क्षेत्रमा लागियो । यसैमा रस बसेकोले यस क्षेत्रमै क्रियाशील रहने ठानेको छु ।

सहकारीः

आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यावरणीय विकासका लागि सदस्यहरुको स्वः स्फुर्त समुहमार्फत गरिने सामाजिक उद्यम हो सहकारी भन्ने मेरो धारणा छ । सहकारीमार्फत सामाजिक मुद्दाहरुमा चेत सृजना गर्न सकिन्छ, उद्यमशीलता मार्फत स्वरोजगार सृजना गर्न सकिन्छ, बचत गर्ने बानी बिकास गर्न सकिन्छ, आफुले सक्ने ऋण लिएर अर्थोपार्जनका माध्यमहरुलाई विविधिकरण गर्न सकिन्छ र समुदायमा इमान्दारी, पारदर्शिता, सद्भाव र सहकार्यको आधार निर्माण गर्न सकिन्छ । यसरी हेर्दा सहकारी मुलुकको समृद्धिको दरिलो माध्यम हो । त्यसैले संविधानले पनि सहकारीको महत्तालाई स्वीकार गरेको जस्तो लाग्छ ।


सहकारी व्यवस्थापक कोर्ष रोज्नुको कारणः

सहकारी क्षेत्रमा लागिपरेको र यसैमा रमाउन थालेको अवस्थामा यसका सैद्धान्तिक र प्रयोगात्मक अन्तर्वस्तुका बारेमा मान्यताप्राप्त र औपचारिक अध्ययनमार्फत ज्ञान लिने चाह धेरै अघि देखि थियो । नेफ्स्कूनले यसको सुरुवात गर्न लागेको खबरले उत्साहित भए र प्रक्रिया अघि बढाएँ । मूलतः यसले आफुले काम गरिरहेको क्षेत्रका बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासहरुका साथै इतिहास बुझ्न सहयोग मिल्छ भन्ने लाग्छ ।

समय व्यवस्थापनः

मैले यो कोर्ष अध्ययन गर्दैछु भन्ने जानकारी कार्यालयलाई पनि अवगत गराएको छु । खासमा कार्यालयका सञ्चालक र व्यवस्थापनका सबै जनालाई जानकारी गराएर यो प्रमाणीकरण कोर्ष अध्ययनको प्रक्रिया थालेको हुँ । कहिलेकाही समय व्यवस्थापनमा कठिनाई भयो भने कार्यालयबाट सहयोग नै हुने अपेक्षा लिएको छु । बिहान कक्षा हुने भएकोले कार्यालयको काममा बाधा पुग्दैन भन्नेमा ढुक्क छु । असाइनमेन्टहरु बेलुकी र बिदाको दिनमा गरेर बुझाउछु भन्ने मनस्थिति तयार पारेको छु ।

पारिवारिक सहयोगः

पूर्ण रुपमा छ । सबैको इच्छा बमोजिम पढ्न लागेको हुँ । यसले कार्य व्यस्तताका बाबजूद अध्ययन राम्रोसँग पूरा गर्न सक्छु भन्ने आत्मबल समेत मिलेको छ ।


कोर्षबाट अपेक्षाः

आफ्नो काममा निखार ल्याउने । विज्ञता हासिल गर्ने र कुशल व्यवस्थापक बन्ने । सम्भावनाको क्षितिज फराकिलो बनाउने । अध्ययनलाई निरन्तरता दिने । ज्ञान र सीपको समुचित सम्मिश्रणबाट व्यक्तित्व ओझिलो बनाउने र सबैभन्दा महत्वपूर्ण कुरा सहकारीको सैद्धान्तिक र प्रयोगात्मक ज्ञान लिने ।


नेफ्स्कूनको पहलकद्मीः

नेफ्स्कून कास्कूनको पनि अभिभावक संस्था हो । यसका हरेक गतिविधिसँग नजिक छु व्यक्तिगत रुपमा पनि । हाम्रै छाता संगठनले हामीलाई नै अत्यन्त उपयोगी सहकारी व्यवस्थापक कोर्षको अध्यापन सीटीइभीटीसँगको सम्बन्धनमा सुरु गर्न लाग्नु, हाम्रो लागि यो भन्दा खुसीको कुरा के हुन सक्छ र ? यो एकदमै राम्रो कामको थालनी हो नेफ्स्कूनको । 

भविष्यको योजनाः

सहकारी क्षेत्रको रोल मोडल बन्ने योजना छ । त्यसका लागि सहकारी व्यवस्थापक कोर्षको अध्ययन सही मार्ग हो भन्ने लाग्छ । 


कोर्षबारे जानकारीः

सामाजिक सञ्जाल र सहकारीकर्मीहरुबाट यस कार्यक्रमको बारेमा जानकारी पाएँ । 

 

 

 

गान्वा सुनुवार
प्रमुख कार्यकारी अधिकृत
अजम्बरी बचत तथा ऋण सहकारी संस्था लि.,बौद्ध काठमाडौं

 

 


 

 

 

 

 

 

 

 

 

 

 

 

 

व्यक्तिगत विवरणः

मेरो स्थायी घर मोलुङ्ग गा.पा.–३, ओखलढुंगा हो । हाल म बुढानिलकण्ठ न.पा.–९, मण्डिखाटार, काठमाण्डौमा सपरिवार बस्दै आएको छु । व्यवस्थापन विषयमा स्नातक म सहकारीमा निक्कै रुचि राख्छु ।

सहकारीः

सदस्यहरुको साझा आर्थिक, सामाजिक एवम् साँस्कृतिक विकासका लागि स्व–मालिक, लाभ तथा हानीको स्व–भागेदार, स्व–व्यवस्थापन र स्व–नियन्त्रण प्रणालीलाई आत्मसात् गर्दै स्वयंसेवी एवम् स्वेच्छिक रुपमा सहभागी भई प्रजातान्त्रिक तवरबाट सञ्चालन गरिने स्वायक्त संगठन सहकारी हो भन्ने मलाई लाग्छ ।


सहकारी व्यवस्थापक कोर्ष रोज्नुको कारणः

सहकारी संस्थाको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न र कुशल नेतृत्वकला विकासका लागी मैले यो विषय अध्ययनको निर्णय गरेको हुँ । यसले औपचारिक अध्ययन थप गर्नुका साथै व्यावहारिक ज्ञान पनि प्रदान गर्ने भएकाले आफुलाई थप निखार्न यो विषय पढ्न लागेको हुँ ।


समय व्यवस्थापनः 

समय व्यवस्थापनका लागि हाल संस्थामा कार्यरत कर्मचारीहरुको समुहमा जिम्मेवारी वाँडफाँड तथा प्रत्यायोजन गर्नेछु । बिहान कक्षा हुने कारण पनि दिउँसो समय पूर्णत कार्यालयलाई दिन सक्छु । साँझ असाइनमेन्टलाई समय दिनुपर्ला भन्ने सोच बनाएको छु ।


पारिवारिक सहयोगः 

पूर्ण रुपमा छ । त्यो सहयोग विना अघि बढ्न गाह्रो हुन्छ त्यो सबैलाई थाहा भएकै कुरा हो ।


कोर्षबाट अपेक्षाः

एउटा राम्रो सहकारी सञ्चालनका लागि आवश्यक ज्ञान, सीप र क्षमताको विकासमा यो कोर्षले सहयोग पुर्याउँदछ  भन्ने ठूलो अपेक्षा लिएको छु । सहकारीको हिजो, आज र भोली बुझ्न यसबाट मद्दत पुग्दछ भन्ने लाग्छ । सवल सहकारी संस्था निर्माण गरी दीगो विकास हासिल गर्न यस्ता प्रमाणीकरण कार्यक्रमहरुले सहयोग पु¥याउछ भन्ने विश्वास छ ।


नेफ्स्कूनको पहलकद्मीः 

सबल सहकारी संस्था निर्माणका लागि अभिभावकत्वको भूमिकाका साथै मार्गदर्शकको रुपमा नेफ्स्कूनले सदैव काम गरिरहेको हामी कसैबाट लुकेको छैन । यो कोर्ष पनि नेपालमा पहिलो पटक सञ्चालन गर्ने नेफ्स्कूनको जमर्को आफैमा प्रशंसनीय छ । 


भविष्यको योजनाः

नीति, विधि र प्रविधि सहितको समृद्ध सदस्य र दिगो संस्था निर्माण गर्ने रहेको छ । यसका लागि यो कोर्ष सहयोगीसिद्ध हुने विश्वास लिएको छु । आफुलाई कुशल र दक्ष सहकारीकर्मीको रुपमा स्थापित गर्ने योजना छ जसलाई हासिल गर्न सहकारी व्यवस्थापक कोर्षले सहयोग गर्छ भन्ने ठानेको छु ।


कोर्सको जानकारीः 

नेफ्स्कूनको विद्युतीय सूचनामार्फत मैले जानकारी पाएको हुँ । नेफ्स्कूनका गतिविधिहरु संघको फेसबुक पेजमार्फत जानकारी लिने गरेको छु ।

 

 

केदार तिमल्सिना 
व्यवस्थापक
प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, ललितपुर म.न.पा–१४ थसिखेल, ललितपुर

                                                                                                                                                                                                          

                                                                                                                                                                                     

 

 

 

 

 

 

 

 

 

 

 

 

व्यक्तिगत विवरणः

मेरो स्थायी ठेगाना बाह्रबिसे नगरपालिका वडा नं –९ राम्चे, सिन्धुपाल्चोक हो । हाल म भक्तपुरमा बस्छु । मैले एमबीएस सम्मको अध्ययन पूरा गरेको छु । सहकारी मेरो रुचिको विषय हो ।

सहकारीः

सहकारी त्यस्ता व्यक्तिहरुको स्वायत्त संगठन हो, जो स्वेच्छिक रुपमा एकजुट भई आफ्ना समान आर्थिक, सामाजिक तथा साँस्कृतिक आवश्यकताहरु र आकांक्षाहरुको परिपूर्ति संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रुपमा नियन्त्रित व्यवसायमार्फत गर्न चाहन्छन् ।

सहकारी व्यवस्थापक कोर्ष रोज्नुको कारणः

सहकारी क्षेत्रमा कार्यरत रहेको १२ बर्ष भयो । एउटा प्रारम्भिक सहकारी संस्था स्थापनादेखि सहकारी संस्था व्यबस्थापनको धेरै विधाहरुमा (व्यवस्थापक, गैरसरकारी संस्थाको परियोजना अधिकृत, सचिव, कोषाध्यक्ष, अध्यक्ष) भुमिका निर्वाह गर्दा हासिल गरेको ज्ञान, सीप र धारणा सहकारी क्षेत्रको एउटा पाठ्यक्रमको आधारमा रहेको सहकारी व्यवस्थापक कोर्ष अध्ययनमार्फत परिष्कृत गरी एक सफल र उत्कृष्ट व्यावस्थापक बन्नका लागि मैले यो कोर्ष रोजको हुँ । 

समय व्यवस्थापनः

यस कोर्षको पढाई बिहान हुने छ भने प्रयोगात्मक सत्रको लागि तोकिएको संस्थामा बिहान बेलुका समय व्यवस्थापन गर्ने योजना छ । काम पनि यही क्षेत्रमा गर्ने भएका कारण कहिलेकाही समय खर्चिदा पनि कार्यालयमा सबैले बुझ्नु हुन्छ र सहयोग गर्नुहुन्छ भन्ने लाग्छ ।

पारिवारिक सहयोगः 

मलाई मेरो परिवारको पुर्ण साथ र सहयोग रहेको छ । त्यसैले पनि पढ्ने निधो गरेको हुँ । अन्यथा समय व्यवस्थापनमा थप कठिनाई हुने थियो । हरेक काममा सफलताका लागि पारिवारिक साथ र समर्थन आवश्यक हुन्छ भनेको त्यसै होइन जस्तो लाग्छ ।

कोर्षबाट अपेक्षाः

यो कोर्ष नेपालमा पहिलो पटक अध्यापन हुँदैछ । त्यसैले यो कोर्षको अध्ययनको लाभबाट व्यक्तिगत रुपमा आफुसँग रहेको ज्ञान, सीप र क्षमतालाई परिष्कृत गर्ने अपेक्षा लिएको छु । त्यसका लागि परिश्रम गर्नेछु भने शिक्षकहरुबाट पनि साथ र सहयोगको अपेक्षा लिएको छु । नेफ्स्कून जस्तो विश्वासिलो संघले अध्यापन सुरु गर्न लागेकोले दक्ष शिक्षकहरु पाउने र उहाँहरुको मार्गनिर्देशनबाट आफ्नो क्षमता थप धारिलो हुने विश्वास लिएको छु । 

नेफ्स्कूनको पहलकद्मीः

नेफ्स्कूनले सहकारी संस्थालाई व्यवस्थित तथा गुणस्तरीय बनाउन विभिन्न खाले कार्यक्रम संचालन गर्दै आइरहेको छ । संस्थालाई स्तरीय तथा गुणस्तरीय बनाउनका लागि आवश्यक दक्ष जनशक्तिको  समस्या समाधान गर्न कुशल र दक्ष व्यवस्थापकहरु उत्पादनमार्फत परिपुर्तिको राम्रो अबसर नेफ्स्कूनले सिर्जना गरेको छ  । यो पहलकदमी नेपालमा सहकारी बिकासमा कोसेढुङ्गो सावित हुने मैले विश्वास लिएको छुँ ।

भविष्यको योजनाः

सहकारी संस्थाको एक कुशल र उत्कृष्ट व्यवस्थापक बन्ने नै हो । यस क्षेत्रको धेरै भन्दा धेरै ज्ञान र अनुभवका साथ आफुलाई उत्कृष्ट सावित गर्ने योजना छ ।

कोर्सबारे जानकारीः 

बिगत १० बर्ष देखि नेफ्कुनसँग आबद्द  छु । नेफ्स्कुनका कार्यक्रमहरुमा बिशेष चासो राख्ने गरेको छु । त्यसैले नेफस्कुनको गतिविधिबारे सामाजिक सञ्जाल तथा वेबसाइटबाट जानकारी प्राप्त गर्ने गरेको छु ।

 

 

सन्तोष बुढाथोकी
सेवा केन्द्र प्रमुख
जेष्ट आइडियोलोजी, काँडाघारी सेवा केन्द्र


 

   

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

व्यक्तिगत विवरणः 

मेरो स्थायी घर रामेछाप नपा–२ मा हो । अहिले म कागेश्वरी मनोहरा–९, काँडाघारीमा बस्छु । हाल म एमबीएस अध्ययनरत छु । सहकारी र समाजसेवा मेरो रोजाईका क्षेत्र हुन् ।

सहकारीः

सदस्यहरुद्धारा सदस्यहरुकै सामाजिक, आर्थिक, साँस्कृतिक र पर्यावरणीय विकासका लागि गरिने सदस्यकेन्द्रित सामाजिक उद्यम हो सहकारी जस्तो मलाई लाग्दछ ।

सहकारी व्यवस्थापक कोर्ष रोज्नुको कारणः 

यसले म जस्तो सहकारी क्षेत्रमै काम गरिरहेको व्यक्तिलाई थप विषयगत ज्ञान र अनुभवहरु प्रदान गर्दछ । सहकारी भनेको निक्षेप लिने र ऋण प्रवाह गर्ने मात्र होइन, यसका सैद्धान्तिक आयाम, अन्तर्राष्ट्रिय इतिहास र विकासक्रम, राष्ट्रिय परिवेश, विगत र भोलीका सम्भावनाहरुका जान्न सकिने भएकाले यो कोर्ष पढ्ने निधो गरेको हुँ । दक्षता अभिवृद्धि मुख्य कारण हो भन्नुपर्छ ।

समय व्यवस्थापनः

कार्यालयबाट अनुमति लिएरै यो कोर्ष पढ्न लागेको हुँ । यसले गर्दा समय व्यवस्थापनमा सहयोग मिल्ने विश्वास लिएको छु । कक्षा सञ्चालन बिहान हुने भएकाले पनि कठिनाई नपर्ला । असाइनमेन्टहरु साँझमा गर्ने र दिउँसो कार्यालयको कामलाई समय दिने निधो गरेको छु ।

पारिवारिक सहयोगः

मेरो त भाई बुहारी पनि सहकारी क्षेत्रमै छन् । एक हिसाबले परिवार नै सहकारीमय छ । सबैको साथ सहयोग छ । त्यसले पनि मलाई यो कोर्ष गर्न उर्जा मिलेको छ ।

कोर्षबाट अपेक्षाः

एकदमै धेरै छ । प्रथमतः कुशल सहकारी व्यवस्थापक बन्ने बाटो खुल्छ भन्ने लाग्छ । सहकारीका अन्तर्वस्तुहरुका बारेमा अनुभवी शिक्षकहरुबाट ज्ञान प्राप्त गर्ने अवसर मिल्दछ भन्ने लाग्छ । काम गरिरहेपनि कतिपय कुराहरु नमिलेको वा चुस्तदुरुस्त नभएको हुन सक्छ, वैज्ञानिक विधि प्रयोग नभएको हुनसक्छ त्यसैले त्यसका बारेमा जान्ने र सहकारीमार्फत नवीन सम्भावनाहरुको खोजीमा पनि सहयोग मिल्दछ भन्ने अपेक्षामात्र होइन विश्वास नै छ । सहकारीका क्षेत्रमा धेरै वर्ष विताएको अनुभवले के भन्छ भने यससँग आबद्ध कतिपय व्यक्तिहरुलाई सुक्ष्म ज्ञान नै छैन, गरेको काममा ढंग पुगेको छैन जसले गर्दा परिश्रम गर्दा पनि सोचेअनुरुप नतिजा प्राप्त भैरहेको छैन । मलाई लाग्छ मैले सहकारी क्षेत्रमा सिक्नुपर्ने धेरै कुरा छ जुन यो कोर्षबाट सिक्ने अपेक्षा लिएको छु ।

भविष्यको योजनाः

कुशल व्यवस्थापक बन्ने । बोल्नका लागि बोलेको मात्र होइन, सहकारीमार्फत समाज रुपान्तरणमा सहयोगी भूमिका खेल्ने प्रतिबद्धता सहितको योजना छ । सहकारी क्षेत्र साँच्चिकै उपयोगी छ र जीवनलाई सफल रुपमा अघि बढाउने यो पनि गतिलो माध्यम हो भनेर उदाहरण प्रस्तुत गर्ने योजना छ । सहकारी इतर त मैले सोचेको पनि छैन । यसमै जीवनोत्सर्ग गर्ने चाहना छ ।

कोर्षको जानकारीः

नेफ्स्कूनको आधिकारिक फेसबुक पेजमार्फत जानकारी प्राप्त गरेको हुँ । यो कोर्षको बारेमा जानकारी अपलोड हुने बित्तिकै मलाई क्लिक भइहाल्यो “यो मैले लिनै पर्ने कोर्ष हो” । म एकदम उत्साहित भएँ । म कक्षा सञ्चालनको पर्खाइमा छु ।
 

 

दामोदर रिजाल 
अधिकृत
चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लि.,चन्द्रागिरी नपा–७, थानकोट, काठमाडौं 

                                                                                                                                                                                                    

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

व्यक्तिगत विवरणः 
नीलकण्ठ नपा–३, धादिङ स्थायी घर भएपनि हाल म काठमाडौं मनपा–१४ कलंकीमा बस्दै आएको छु । मैले एमबीएस सम्मको अध्ययन पूरा गरेको छु । सहकारी क्षेत्रमा धेरै अघिदेखि काम गरेकोले यो मेरो रोजाइको क्षेत्र हो ।

सहकारीः 
सदस्यहरुको स्वेच्छिक सहभागिताबाट समान आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकांक्षाको परिपुर्तिका निमित्त सामुहिक प्रयासमा निर्माण गरिएको स्वतन्त्र, स्वायत्त र प्रजातान्त्रिक उद्यम नै सहकारी हो । 

सहकारी व्यवस्थापक कोर्ष रोज्नुको कारणः 
यो सहकारी क्षेत्रको व्यवस्थापनमा रहेर कार्य गर्न चाहनेहरुको लागि व्यवहारिक कोर्ष हो । आफु हाल सहकारी क्षेत्रमै कार्यरत रहेको र भविष्यमा पनि सहकारी क्षेत्रमै रहेर कार्य गर्ने सोच रहेकोले यो कोर्ष मेरो रोजाइमा परेको हो ।

समय व्यवस्थापनः
बिहानको समय व्यवस्थापनमा कुनै कठिनाई छैन । कार्यालय समयमा समय मिलाउनुपर्दा व्यवस्थापनसँगको सल्लाहमा आंशिक वा पुरै दिनको बिदा लिई समय व्यवस्थापन गर्ने योजना बनाएको छु  । 

पारिवारिक साथः
परिवारको सत प्रतिशत साथ सहयोग छ । आफुले काम गरिरहेको क्षेत्रमा थप सीप र दक्षताका लागि अध्ययन गर्छु भन्दा उहाँहरुले एकदम समर्थन जनाउनुभयो ।

कोर्षबाट अपेक्षाः  
हाल सहकारी क्षेत्रमा अभाव रहेको सहकारीको मर्म र भावना बुझेको योग्य जनशक्तिको रुपमा क्षमता अभिवृद्धि गर्नको साथै सदस्यको इच्छा र चाहना बमोजिमको वस्तु तथा सेवाको विकास तथा नवप्रवर्तन गर्न सकिने योग्य जनशक्ति बन्न सकिन्छ कि भन्ने अपेक्षा गरेको छु । सहकारीको लागि आवश्यक योग्य तथा दक्ष जनशक्तिको विकास हुन्छ । साथै सहकारीको परिकल्पना, ध्येय तथा लक्ष्य प्राप्तिको लागि आवश्यक जनशक्तिको विकास हुन्छ भन्ने अपेक्षा लिएको छु ।

भविष्यको योजनाः
सहकारी क्षेत्रले गर्व गर्न लायक जनशक्ति बन्ने योजना छ । त्यसका लागि आवश्यक त्याग पनि गर्ने योजना बनाएको छु ।

कोर्सको जानकारीः 
नेफ्स्कूनको  वेबसाइट, सामाजिक सञ्जालमा गरिएको पोष्ट तथा सहकारी सम्बन्धी अनलाईन  खवरमा प्रकाशित समाचारबाट यस कोर्षको सम्बन्धमा जानकारी पाइयो ।

 

 

विन्द्रा नायभा
अधिकृत
सामूहिक बचत तथा ऋण सहकारी संस्था लि., बोलाछें–३, भक्तपुर

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

व्यक्तिगत विवरणः
म भक्तपुर नगरपालिका–३ को स्थायी बासिन्दा भएपनि हाल सुर्यविनायक–८ मा बस्दछु । मानविकी संकायमा स्नातक हुँ । सहकारी मेरो रोजाईको क्षेत्र हो ।

सहकारीः 
सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता उनीहरु नै सहभागी भएर गरिने प्रजातान्त्रिक परिपाटीको उद्यम हो सहकारी जस्तो लाग्छ । सहकारी समाज विकासको एकदम शसक्त माध्यम हो तर पनि यसको बारेमा धेरैको बुझाइमा एकरुपता छैन भन्ने मलाई लाग्छ । सहकारीको महत्व हामीले पनि बुझाउन नसकेको जस्तो लाग्छ ।

सहकारी व्यवस्थापक कोर्ष रोज्नुको कारणः 
प्रथमतः कुशल व्यवस्थापक बन्न । महिलाहरु प्नि सफल सहकारी व्यवस्थापक बन्न सक्छन् भन्ने प्रमाणित गर्न । सहकारीमार्फत केही योगदान गर्न सकिन्छ भन्ने लागेपनि सैद्धान्तिक र प्रयोगात्मक ज्ञानको सन्तुलन मिलाउन कोर्ष लिन लागेकी हुँ । 

समय व्यवस्थापनः
कक्षा बिहान सञ्चालन हुने भएकाले त्यति गाहे नपर्ला भन्ने विश्वास छ । केही अफ्ठेरो पर्दा कार्यालयबाट पनि सहयोगको अपेक्षा लिएकी छुँ । अलिकति समय बढी निकाल्नुपर्छ, त्यो त्याग गर्न तयार भएर नै यो कोर्ष पढ्ने निश्चय गरेकी हुँ । 

 पारिवारिक साथः
परिवारको मात्र होइन कार्यालयका सबै जनाको पनि साथ र सहयोग छ मलाई यो कोर्ष पढ्न । सबैको साथ पाएकी भएर नै अघि बढेकी हुँ ।

कोर्षबाट अपेक्षाः  
मेरै कुरा गर्ने हो भने म सहकारी क्षेत्रमा काम त गरिरहेकी छु तर सैद्धान्तिक ज्ञानको अभाव छ । सहकारीको इतिहास, अन्तर्राष्ट्रिय विकासक्रम आदिका बारेमा ज्ञान छैन त्यसैले यो कोर्षले त्यो तिर्खा मेट्छ भन्ने अपेक्षा छ । अर्को भनेको कुशल सहकारी व्यवस्थापक बन्न मैले पढेको विषय एक हिसाबले बाधक पनि भयो त्यसैले प्रमाणीकृत कोर्ष पढ्नाले औपचारिक ज्ञानसहित सर्टिफिकेटपनि प्राप्त हुने भएकाले यसले मलाई सहकारी क्षेत्रमा भविष्यमा माथिल्लो पद र भूमिकामा रहेर काम गर्न मद्दत गर्छ भन्ने विश्वास छ । शैक्षिक योग्यताको वृद्धिका लागि मैले यो कोर्ष पढ्ने विचार गरेकी हुँ ।

भविष्यको योजनाः
सहकारी क्षेत्रमै जीवन आहुति गर्ने तर दीक्षित र प्रशिक्षित बनेर । साँच्चिकै गर्व गर्न लागक केही काम गरेर । त्यसका लागि यो कार्ष माध्यम बन्छ भन्नेमा विश्वस्त छु । सहकारीबाहेक मैले अन्य क्षेत्र सोचेकी छैन । व्यवस्थापनको उपल्लो पदमा पुगेर पढेका कुराहरु व्यवहारमा उतार्ने र सदस्यहरुको जीवनस्तर उकास्न मद्दत गर्ने नै मुख्य योजना हो ।

कोर्सको जानकारीः 
नेफ्स्कूनको  वेबसाइट तथा सामाजिक सञ्जालमा गरिएको पोष्ट बाट यो कोर्षको सम्बन्धमा जानकारी पाएँ ।

 

अस्मिता अर्याल
आरटीएस विभाग
कुमारी क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं

 

                                                                               

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

व्यक्तिगत विवरणः
मेरो स्थायी ठेगाना मेलम्ची–६, सिन्धुपाल्चोक हो । हाल म चागल–१३ काठमाडौंमा बस्छु । स्नातकोत्तर सम्मको अध्ययन गरेकी मेरो रुचिको विषय र क्षेत्र सहकारी हो ।

सहकारीः 
समाजका रहेका व्यक्तिहरुको आर्थिक, सामाजिक, साँस्कृतिक विकासको लागि संगठित समूह र सबैको सहकार्य नै सहकारी हो । समाजको हर क्षेत्रको उन्नयनमा यसको भूमिका रहन्छ ।

सहकारी व्यवस्थापक कोर्ष रोज्नुको कारणः
सहकारी क्षेत्र रुचिको विषय भएकाले यसमा लगनशीलताका साथ काम गर्न नै मैले यो कोर्ष पढ्ने निधो गरेकी हुँ । यसको माध्यमबाट व्यक्तित्व विकासमा पनि सहयोग मिल्छ र सहकारी क्षेत्रमा पनि योगदान दिन सकिन्छ भन्ने लाग्छ ।

समय व्यवस्थापनः
सकेसम्म मिलाउँछु नभएर बिदा लिएर भएपनि अध्ययन गर्ने सोच छ ।

पारिवारिक सहयोगः
सबै सदस्यको पूर्ण साथ र समर्थन छ । त्यसैले नै जसरी पनि समय मिलाएर यो कोर्ष गर्छु भन्ने आत्मविश्वास छ ।

कोर्षबाट अपेक्षाः
सहकारीको व्यवस्थापनलाई सुधार गरी सञ्चालन गर्न सकिन्छ कि भन्ने लाग्छ । सहकारीमा केही विकृतिहरु पनि देखिएकाले यो क्षेत्रको सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेको दक्ष जनशक्तिले सञ्चालन गर्दा त्यस खालका कमी कमजोरी र गैरकानूनी गतिविधिहरु हट्दै जान्छ भन्ने लाग्छ । त्यस्तो सफल व्यवस्थापक बनेर उदाहरण प्रस्तुत गर्ने अपेक्षा छ । धेरै कुरा जान्ने, बुझ्ने र सिक्ने अपेक्षा छ ।

नेफ्स्कूनको पहलकद्मीः
नेफ्स्कूनकै पहलका कारण आज म जस्तो सहकारी इतर क्षेत्रमा काम गर्ने तर यसप्रति लगाव भएको व्यक्तिले औपचारिक शिक्षा हासिल गर्ने अवसर प्राप्त गरेकी छु । यो अवसरका लागि म नेफ्स्कूनलाई हार्दिक धन्यवाद समेत दिन चाहन्छु ।

भविष्यको योजनाः
सहकारी क्षेत्रको कुशल व्यवस्थापक बन्ने योजना छ । यो क्षेत्रमा सदस्यको रुपमा महिला सहभागिता अत्यन्त उत्साहजनक भएपनि व्यवस्थापन प्रमुखका रुपमा महिलाहरुको संख्या उल्लेख्य हुन नसकेको अवस्थामा औपचारिक ज्ञान हासिल गरेर महिला व्यवस्थापन प्रमुख हुने धोको छ ।

कोर्षको जानकारीः
नेफ्स्कूनको फेसबुक पेजबाट जानकारी पाएकी हुँ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र