शुक्रबार, वैशाख १४
१०:३९

“सफल मान्छेले नयाँ काम गरेका होइनन्, नयाँ तरिकारले गरेका हुन्”

बिहीबार, जेठ २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भनिन्छ कुनै पनि काम नयाँ गर्नुपर्दैन, गरिरहेकै कामलाई नयाँ तरिकाले गर्न  सकिन्छ । यो व्यवसाय तथा उद्यम को क्षेत्रमा धेरै सुनिने अभिव्यक्ति हो । प्रख्यात पुस्तक You Can Win का लेखक, भारतीय सामाजिक अभियन्ता एव उत्प्रेरक शिव खेराले भनेका छन् “सफल मान्छेहरुले नयाँ काम गरेका होइन, नयाँ तरिकाले काम गरेका हुन्” । सफल बन्न काम, उद्यम या व्यवसाय यो र त्यो भन्ने हुँदैन, जे छ, जे छनौट गरिन्छ त्यसलाई नयाँ तरिकारले गरौं भन्दै उद्यमी एवम् प्रशिक्षक निर्मल सिग्देल भन्नुहुन्छ, विविध चार आधारलाई केन्द्रविन्दुमा राखेर व्यवसायको प्रारम्भिक छनौट गरौं ।  

“सहकारी क्षेत्र सुदृढीकरण तथा प्रणाली सुधार” कार्यक्रम अन्तर्गत बचत तथा ऋण सहकारी संस्थाहरुका लागि उद्यमशिलता विकास तथा व्यवसाय प्रवर्द्धन सम्बन्धी नेफ्स्कूनको आयोजनामा सञ्चालित (जेठ १६ देखि २० गतेसम्म) ५ दिने भर्चुअल तालिम आज सम्पन्न भएको छ । प्रदेश नं. १ र २ मा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिममा २५ वटा बचत तथा ऋण सहकारी संस्थाबाट गरी ३५ जना साकोस प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । भर्चुअल विधिबाट सञ्चालित ५ दिवसीय तालिमको सहजीकरण प्रशिक्षक अथवा कञ्चनजंघा पोलिटेक्निक इन्स्टिच्यूट नेपाल (केपिन) का अध्यक्ष निर्मल सिग्देलले गर्नुभएको थियो । 

शान्ति अधिकारी,
उपाध्यक्ष, नेफ्स्कून

बचत तथा ऋण सहकारी संस्थाको उद्देश्य आफ्ना सदस्यहरुलाई व्यावसायिक बनाउने र व्यवसाय मार्फत आत्मनिर्भरता तर्फ उन्मुख गराउनु हो । सदस्यहरुले गर्ने व्यवसायलाई लक्षित गरेर सदस्य साकोसहरुलाई प्रदान गरिने तालिम निकै फलदायी बन्ने र सहभागीहरुले उद्यम विकासका लागि प्रशिक्षकको भूमिका निभाउन सक्ने सामथ्र्य राख्नुपर्छ । 

थाइल्याण्ड भ्रमणको बेला सन् २०१२ मा त्यहाँका महिलाहरुले उद्यम मा गरेको विकास र नेतृत्व क्षमताबाट निकै प्रभावित भएँ ।  “सिकाई सबैभन्दा महत्वपूर्ण कुरा रहेछ, सहकारीका प्रत्येक व्यक्तिले आफ्ना सदस्यहरुलाई कसरी व्यावसायिक बनाउन सकिन्छ भनी  निरन्तर सोच राख्नु जरुरी छ र त्यो सहकारीको दायित्व पनि हो ।” 

कोभिडको विश्वव्यापी महामारीका कारण सबैतिर जटिल अवस्था सृजना भइरहेको छ, यस्तो कठिन र जटिल परिस्थितिमा पनि बचत तथा ऋण सहकारी संस्थाहरु निरन्तर सेवामा जुटेर सदस्यहरुका वित्तीय आवश्यकता पुरा गर्नु प्रतिबद्ध छन् । 
नेफ्स्कूनले एशियाली ऋण महासंघ अकु सँगको सहकार्यमा व्यवसाय विकास केन्द्रको अवधारणा अगाडि बढाउन पहल गरिरहेको छ साथै राष्ट्रिय युवा परिषद्लाई सँग मिलेर सदस्यहरुलाई व्यावसायिक बनाउने कामलाई पनि निरन्तरता दिइरहेको छ ।

गोमा नेपाल
सञ्चालक सदस्य एवम् प्रदेश नं. १ संयोजक, नेफ्स्कून


भौतिक रुपमै सञ्चालन तयारीमा रहेको तालिम कोभिड महामारीका कारण सम्भव नभएपछि अभौतिक रुपमा आयोजना गरी सफलतापूर्वक सम्पन्न भएको छ । प्रदेश नं १ र २ बाट सहभागी सहकारीकर्मीहरुको उत्साहजनक सहभागिताले पनि सिकाईमा निकै हौसला थप्यो । सरल र बुझ्ने गरी रोचक भाषाशैलिमा प्रस्तुतीकरण रहेकोले पनि सहभागी सम्पूर्ण साथीहरु निकै लाभान्वित हुनुभएको विश्वास लिएकी छु । अभौतिक रुपमा सञ्चालन भएपनि तालिमका विभिन्न विधिहरु अपनाएर ५ दिनसम्म दिनभरजस्तै सक्रियतापूर्वक सहभागीहरुलाई ज्ञान सीप प्रदान गर्नुभएकोमा प्रशिक्षक निर्मल सरप्रति कृतज्ञता व्यक्त गर्दछु । 

सकारात्मक बानीबाट मात्रै सकारात्मक परिणाम आउन सक्छ भन्ने ज्ञानलाई प्रयोगात्मक कार्यशैलिमार्फत सिकाएर सफल उद्यम एवम् व्यवसाय सञ्चालनका लागि व्यावसायिक योजना निर्माणमा दक्षता प्रदान भएको छ । हिजोका दिनसम्म व्यवसाय गर्ने हाम्रो प्रचलन व्यावसायिक थिएन, हामी अरुको देखेर, नक्कल गरेर व्यवसाय छनौट गर्ने गथ्र्यौ । तर त्यो परम्परागत शैलिलाई यस तालिमले चिरेको महशुस भएको छ । सहकारी संघ संस्था लगायत संगठित संस्थाहरुमा योजना बनाएर, सम्भावित उद्यम एवम् व्यवसायका लागि गहन अध्ययन, शूक्ष्म विश्लेषण गरि परिणाममुखी व्यवसाय सञ्चालनका लागि व्यावसायिक योजना निर्माणको महत्व प्रष्ट भएको छ ।

रिना आचार्य
सञ्चालक सदस्य एमव् उद्यमशिलता विकास उपसमिति संयोजक, नेफ्स्कून 

सहकारी विभाग र नेफ्स्कूनको संयुक्त सहकार्यमा आयोजित यस ५ दिने उद्यमशिलता विकास प्रशिक्षणको मुख्य उद्देश्य भनेकै सदस्यहरुलाई व्यावसायिक योजना बनाउन सक्षम बनाइ सफल उद्यमी बन्न प्रेरित गर्नु हो । यसले आफ्ना संस्थाका सदस्यहरुको आर्थिक, सामाजिक रुपान्तरण गर्नका निम्ति महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएकी छु । यस तालिममा हामीले व्यवसाय छनौट, यसका चरण, उत्पादित बस्तुको बजार, बजारीकरण, बजार व्यवस्था, बजार समिश्रण, लेखापालनको महत्व, आफूले छानेको व्यवसायको कानुनी व्यवस्था आदिका विषयमा छलफल गरी अन्तमा सहभागीहरुलाई व्यवसायिक योजना बनाउन सक्षम बनाई आफूले रोजेको व्यवसाको सफल सञ्चालन र नाफामूलक व्यवसाय तथा उद्यम विकासका लागि तयार रहन र आफ्ना सदस्यहरुलाई आफूले सिकेको ज्ञान सीप प्रदान गर्नुहुन अनुरोध पनि गर्दछु ।

साथै तालिममा सहभागी सम्पूर्ण सहकारीकर्मीहरुले आफ्ना सदस्यहरुलाई व्यवसाय छनौट देखि व्यवसायबाट लाभ लिन सक्ने अवस्थासम्मको सम्पूर्ण प्रक्रियाहरुका बारेमा सचेत गराई समाजमा सफल उद्यमी निर्माण गर्न, सदस्यहरुको आर्थिक आत्मनिर्भरता अभिबृद्धि गर्न र सहकारी संस्थाबाट उद्यम व्यवसायका लागि सदस्यहरुले लगेको ऋणको जोखिम कम गर्न पनि तालिमबाट प्राप्त ज्ञान सीपको सफलतम कार्यान्वयन गर्नुहुन आग्रह गर्दछु । 

निर्मल सिग्देल
उद्यमी/प्रशिक्षक एवम् 
अध्यक्ष, कञ्चनजंघा पोलिटेक्निक इन्स्टिच्यूट नेपाल (केपिन)

सहकारीको स्रोत अर्थात ऋणको सदुपयोग गरेर सदस्यहरुलाई र सहकारीलाई माथी उठाउनुहोस् । 
सहकारी मार्फत वा सहकारीका सदस्यले गरेको लगानी उद्यममा लगाउनुहोस् । सकारात्मक सोच, सकारात्मक कार्य र सकारात्मक बानी को विकास मार्फत उद्यम तथा व्यवसायमा सकारात्मक परिणाम ( दीगो उद्यम) हासिल गर्ने लक्ष्य लिनुहोस् । 

तालिम सहकारीकर्मीहरुलाई प्राविधिक रुपमा दक्ष र सफल बनाउने अभियान हो । शुरुमा कुनै एउटा व्यवसाय छान्नुहोस्, त्यसको मार्केट दर, बर्गिकरण, अध्ययन गर्नुहोस् । 

व्यवसाय छान्दा अरुको हेरेर नछान्नुहोस्, उद्यममा सफल बन्न कस्तो सक्षमता आवश्यक पर्छ, त्यसको ज्ञान पहिले लिनुहोस् ।  आफूले छानेको उद्यम व्यवसाय सम्बन्धी कानुनी व्यवस्थाहरु के छन्, त्यसको बारेमा पनि जानकार रहनुहोस् । 

व्यवसाय छनौट गर्दा मस्तिष्क मन्थन, अवलोकन, छलफल र अरुको सल्लाह अनुसार पनि जानकारी भएका व्यवसायहरुको सूचि तयार पार्न सकिन्छ । तयार भएका सूचिबाट प्रारम्भिक छनोटको आधारमा सम्भावित व्यवसाय छनोट गर्ने र अन्तिम छनौटमा परेका दुइ विकल्पमध्येबाट खुबी र कमजोरी विश्लेषण गरी एक व्यवसाय छनोट गरौं । 

आफ्नो व्यवसायको SWOT विश्लेषण गरौं । सर्वप्रथम व्यवसायमा 4Ps = 4Cs लाई ध्यान दिनुपर्छ । वस्तुः ग्राहकको आवश्यकता र चाहना के हो बुझ्नुपर्छ । मूल्य ः ग्राहकले तिर्न चाहेको मूल्य के हो ? स्थानः ग्राहकलाई सुविधा हुने स्थान कुन हुन सक्छ ? प्रवर्द्र्धन ः ग्राहक सम्म पुग्ने सञ्चार माध्यम के हुन ? यी पक्षमा ध्यान पुर्याऔं । 

बजार मिश्रण का 7Ps बस्तु, स्थान, मूल्य, प्रबर्द्धन, व्यक्ति, प्रक्रिया, भौतिक प्रमाण मा विशेष ख्याल गरौं । 

सफल व्यवसाय सञ्चालनका लागि हामीले छनोट गरेको व्यावसायिक योजना अन्तर्गत बजार योजना निर्माण गर्नुपर्छ । जसअन्तर्गत उत्पादन गर्ने वस्तु तथा सेवाको विवरण, व्यवसाय स्थान, उत्पादन योजना अन्तर्गत उत्पादन प्रक्रिया, स्थिर सम्पत्तिको विवरण, खर्चको योजना र वित्तिय योजना निर्माण गरेको हुनुपर्छ । बजारको माग, उपलब्ध स्रोत साधन र समुदायका व्यक्तिको चाहनालाई ध्यान दिएर व्यवसाय गर्नुहोस् यसले व्यवसाय विकासको सम्भावना पनि बढाउँछ र मागमा आधारित सिद्धान्त पूर्ण पालना हुन्छ । 

बस्तुुुको बजारीकरणमा ध्यान दिऔं ।

सर्वप्रथम व्यावसायिक योजना निर्माणका क्रममा प्रस्तावित व्यवसायको परिचय, छनोटको कारण, बजार योजना, लक्षित बजार क्षेत्र, उत्पादन वा विक्रि लक्ष्य, उत्पादन प्रक्रिया, स्थीर सम्पत्तिको विवरण, स्थिर सम्पत्तिको ह्रास कट्टी, खर्च योजना, प्रति इकाइ लागत, वित्तिय योजना, पूँजीको स्रोत, व्याज हिसाव, विक्रि मूल्य निर्धारण, बार्षिक नाफा नोक्सान हिसाव, लगानीको प्रतिफल, पारविन्दु (Break Even Point-BEP), लगानी उठ्ने समय लगायतका विषय शिर्षकमा केन्द्रीत रहेर सहभागीहरुले समूगत रुपमा व्यावसायिक योजना निर्माण गर्नुभएको थियो ।  

५ दिने उक्त तालिममा सहकारी र व्यवसाय बीचको अन्योन्याश्रित सम्बन्ध, व्यावसायिक योजना निर्माण, समुहगत कार्य, बजार योजना, खरिद व्यवस्थापन लगायतका अभौतिक प्रयोगात्मक एवम् सैद्धान्तिक पक्षहरुमा विशेष जोड, अन्तरक्रिया, समुह कार्य मार्फत व्यवसायका लागि सम्भाव्यता पहिचान, विकल्पहरुको छनोट, उत्तम व्यवसाय छनौट लगायतका विविध विषयहरुलाई शुक्ष्म विश्लेषण गरिएको थियो । प्रत्येक दिन सहभागीहरुबाट कार्यक्रम संयोजक र प्रतिवेदन लेखक छनौट गरिएको थियो । दोस्रो दिनको तालिम सत्र शुरुभएसँगै प्रतिवेदकले अघिल्लो दिनको प्रतिवेदन र तालिम समिक्षा सँगै सोही दिनको प्रतिवेदन लेखनका लागि अर्को व्यक्तिलाई पद हस्तान्तर गरिन्थ्यो सँगै संयोजकको पनि अर्का सहभागीलाई संकजकत्वको जिम्मेवारी हस्तान्तरण गर्ने नियम तालिममा सृजना गरिएको थियो । स्थानीय स्रोतमा आधारित उद्यम विकासको आवधारण तथा महत्वहरुलाई बुझाउँदै सहभागीहरुबीचको अन्तरक्रियात्मक छलफललाई प्राथमिकता दिइएको थियो भने ५ दिनसम्मै सहभागीहरुबाट उठेका जिज्ञासालाई सहभागितात्मक संम्बोधन मार्फत प्रशिक्षक सिग्देलले समाधान गर्नुभएको थियो । तालिमको अन्तिम दिन तीनवटा समूहमा विभाजीत सहभागीहरुबाट सामूहिक रुपमा व्यावसायिक योजना निर्माण गरिएको थियो । 

तालिममा नेफ्स्कूनका बरिष्ट अधिकृत नविनराज दाहाल, कर्मचारीहरुः राधा पौडेल, मनकेशरी महर्जन, मुकेश दाहाल, पवन घिमिरे, गौतम शाह, सोमनाथ दाहाल सहभागी हुनुहुथ्यो भने तालिम सञ्चालन कार्यक्रम अधिकृत रिता सुवेदी र प्राविधिक सहजीकरण कार्यक्रम अधिकृत शौभाग्य भट्टराईले गर्नुभएको थियो । 

तालिममा सहभागी सहकारीकर्मीहरुको प्रतिनिधिमुलक तालिम अनुभवलाई संक्षिप्त रुपमा समेट्ने प्रयास गरिएको छ । 
 

कोपिला खतिवडा
सञ्चालक, महिला उत्थान साकोस
उर्लाबारी

उद्यमशिलता विकास सम्बन्धी ५ दिनको तालिम, त्यो पनि भर्चुअल रुपमा सञ्चालन हुने । शुरुमा त त्यति प्रभावकारी रहला भन्ने लागेन । जव पहिलो दिन तालिममा सहभागी भएँ, तालिम अत्यन्त महत्वपूर्ण, उपलब्धिमूलक सिकाइ र रमाइलो सँग समय व्यतित भयो । प्रशिक्षक निर्मल सिग्देल सरको प्रस्तुतीकरण शैली र अन्तरक्रियात्मक साथै पारिवारिक छलफल जस्तो वातावरणले तालिममा समय दिएको पत्तै भएन । तालिमका विषयवस्तुहरुको सरल प्रस्तुतीकरण, सकारात्मक सोच विकासको शैली सँगै विषयवस्तुको गहन बुझाइमा लैजाने प्रशिक्षक सरको विज्ञताले मलाई तालिम अत्यन्त उपलब्धिमूलक र रमाइलो सँग सम्पन्न भएको महशुस भयो । 

सहकारीबाट ऋण लिएर उद्यम अर्थात व्यापार व्यवसाय गर्न चाहने सदस्यहरुले के कामका लागि ऋण लिएका हुन् ? काम कसरी गर्ने सोच राखेका छन् ? उद्यम अर्थात व्यवसायप्रति पारिवारीक साथ सहयोग छ छैन ? योजना बनाएर गर्दैछन् या जथाभावी लगानी गर्दैछन् ? भन्ने विषयलाई गहन रुपले बुझेर उनीहरुलाई व्यावसायिक योजनाबारे बुझाउन र उद्यम अर्थात व्यवसाय गर्नुपूर्व ध्यान दिनुपर्ने कुराहरुको विषयमा ज्ञान दिन तालिम अत्यन्त उपलब्धिमूलक रहेको पाएकी छु । आजसम्म हामीले बनएका योजना किन सफल हुन सकेनन् त्यसको पहिचान र व्यावसायिक योजना मार्फत काम गर्दा व्यावसाय प्रवर्द्धनमा आउने परिवर्तनलाई नियालेर बुझ्ने अवसर मिल्यो साथै सामूहिक तथा एकल व्यवसाय वा उद्यमका लागि व्यावसायिक योजना निर्माणमा आँफू तयार छु भन्ने विश्वास कायम भयो । यस महत्वपूर्ण तालिम कार्यक्रममा सहभागी भएर धेरै कुराहरु सिक्ने मौका प्रदान गर्नुभएकोमा आयोजक समूह र प्रशिक्षकप्रति कृतज्ञता व्यक्त गर्दछु । 

चित्र बहादुर न्यौपाने
व्यवस्थापक, नारी संकल्प साकोस
उर्लाबारी ७, मोरङ

तालिम अत्यन्त फलदायी रह्यो । सुन्दैमा सिकाइका लागि उत्प्रेरित बन्न हौसला प्रदान गर्ने उद्यमशिलता विकास तालिम भर्चुअल विधिमार्पmत भएपनि सहभागिताको अवसर प्राप्त भएकोमा निकै खुशी लागेको छ । ५ दिनको समय तालिमका लागि अझ थोरै भएको महशुस भयो । प्रशिक्षकको प्रशिक्षण कौशल, सहभागी साथीहरु सँगको अन्तरक्रियात्मक कार्यशैलीले निकै उर्जा मिलेको छ भने व्यावसायिक योजना निर्माणको ज्ञानले आगामी दिनमा व्यक्तिगत साथै संस्था मार्फत सदस्यहरुलाई सफल व्यवसाय सञ्चालनका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दछु र भविष्यमा सफल व्यवसाय सञ्चालन गरी प्रशिक्षकले लगाउनुभएको सिकाईरुपी यो गुणलाई सत्प्रतिशत उपयोगमा ल्याउने विश्वास लिएको छु । 
 

मनिशा भट्टराई 
ब्यवस्थापक, अविरल बचत तथ ऋण सहकरी सस्था लि
इटहरी ६,सुनसरी 

कुनैपनि उद्यम व्यवसाय सानो वा ठूलो किन नहोस्, त्यसका लागि योजना अनिवार्य हुन्छ । योजना बनाएर गरेको कामबाट मात्रै लक्ष्यमा पुग्न सकिन्छ भन्ने कुराको ज्ञान प्राप्त भएको छ । व्यावसायिक योजना वास्तवमै व्यवसाको ऐना हो, यसले मिसन र भिजनमा स्पष्टता ल्याउँदै निर्धारित लक्ष्य हाँसिल गर्न सघाउ पुर्याउँछ । 

विद्यमान जस्तासुकै चुनौतीहरुको सामना गर्नुपरेपनि हामीले पूर्वनिर्धारित व्यावसायिक योजना अनुरुप काम गर्न सकेमा लक्ष्यमा पुग्ने सम्भावना नजिक रहने पायौं । तालिममा विभिन्न समूह निर्माण गरी समुहकार्य, समूहमार्फत व्यवसायहरुको छनोट, विकल्पहरुको विकास र छनोट गर्दै व्यवसाय पहिचान गरी सामूहिक एवम् एकल व्यवसाय योजना निर्माण तयारी पुरा गर्यौं । ५ दिनको तालिम अत्यन्त सफल, उपलब्धिमुलक रहेको र यसमा सहभागी हुने अवसर प्राप्त भएकोमा आयोजकप्रति र सम्पूर्ण सहभागी साथीहरुप्रति पनि हार्दिक आभार प्रकट गर्दछु । 

मोतिराम तिम्सिना
कर्मचारी, हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. 
पाँचथर

उद्यमशिलता विकास तथा व्यवासाय प्रवर्द्धन सम्बन्धी ५ दिने भर्चुअल तालिमबाट उद्यमी व्यावसायिले व्यवसाय गर्नुपूर्व व्यावसायिक योजना बनाएर व्यवसाय सञ्चालन गरेमात्र सफल हुने र यसको सहयोगबाट व्यवसायले दिने प्रतिफलको समेत पूर्व जानकारी हुने भएकाले व्यावसायिक योजनाको ठूलो महत्व रहेको कुराको ज्ञान यस तालिमबाट प्राप्त भएको छ । प्रविधिको प्रयोग गरि गरिएको यो तालिम हामी जस्ता संस्थाहरुको हकमा अतिनै महत्वपूर्ण हुने तथा संस्थाको प्रणाली सुधारमा समेत ठूलो सहयोग पुग्ने भएको हुँदा यस तालिमबाट धेरै ज्ञान प्राप्त भएको म ठान्दछु । नेफ्स्कूनले आगामी दिनहरुमा आयोजना गर्ने यस्तै किसिमका तालिमहरुमा सहभागी बन्ने अवसर मिलोस भन्ने अपेक्षा सहित सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । 

श्रवण कुमार चौधरी
व्यवस्थापक, प्रगति बचत तथा ऋण सहकारी संस्था लि.
बर्जु गाउँपालिका–१, सुनसरी

तालिमको बारेमा जानकारी पाउँदा यस्तो महत्वपूर्ण तालिम भौतिक उपस्थितिका बीच सहभागी हुन पाए बढी उपयोगी हुन्थ्यो भन्ने महशुस भएको थियो । तर कोभिड महामारी र लकडाउनको समयमा भौतिक उपस्थिति सम्भव थिएन । भर्चुअल विधिबाट सहभागी भएर पनि यो ५ दिनको तालिम मेरा लागि अत्यन्तै उपलब्धिमूलक रह्यो । आजको मितिसम्म हामीले व्यक्तिगत, समूहगत जे जति काम गरेका छौं, त्यो योजना बनाएर गरेका थियनौं, त्यसले हामीलाई सोचेजति सफल बनाउन सकेन । यो तालिम लिइसकेपछि मैले आफ्नो व्यक्तिगत रुपमा र संस्थागत रुपमा पनि आवद्ध सदस्यहरुलाई व्यवसायको अवधारणा, उत्तम व्यवसाय छनौट र व्यावसायिक योजना निर्माण गरि काम गर्न उत्प्रेरित गर्नेछु । हाल सहकारीमा २६ सय सदस्यहरु हुनुहुन्छ, कुल सदस्यमध्ये कम्तिमा पनि ५० प्रतिशत सदस्यहरुलाई व्यावसायिक योजना निर्माण गरेर उद्यम व्यवसाय गर्नको लागि उत्प्रेरित गर्नेछु भन्ने विश्वास लिएको छु ।  


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र