शनिबार, वैशाख २२
०३:२२

आज जनउत्थान र कोलिय देवदह साकोसको ‘भर्चुअल टुर’

शुक्रबार, जेठ ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । लुम्बिनी प्रदेशका २ सफल बचत तथा ऋण सहकारी संस्थाहरु जनउत्थान र कोलिय देवदहका असल अभ्यासहरु बारे आज भर्चुअल टुरमार्फत देशभरका सहकारीकर्मीहरुले जानकारी प्राप्त गर्नुभएको छ । अरुका असल, नवीन र दीर्घजीवी अभ्यासहरु जान्ने, बुझ्ने र आफुलाई परिस्कृत गर्दै प्रतिस्पर्धी स्थान ओगट्ने योजनामा समाहित हुने सहकारीकर्मीहरुको तृष्णा मेट्ने काम यो महामारीकाबीच प्रविधिको प्रयोगमार्फत सम्भव भएको हो ।

संकटका बाबजूद सिकाइ जारी राख्ने प्रशंसनीय अभियानको थालनी गण्डकी प्रदेशका २ ठूला र सफल सहकारीहरुबाट गएको बैशाख ३१ गते भएको थियो । नेफ्स्कून आबद्ध बचत ऋण सहकारीहरुका व्यवस्थापकहरु सहभागी विज्ञ प्राविधिक समूह नेफ्स्कून–साकोस म्यानेजर्स क्लबको आयोजनामा भएका यस्ता कार्यक्रम बाँकी प्रदेशमा पनि चाँडै गरिने तयारी भएको छ ।

कार्यक्रममा नेफ्स्कून अध्यक्ष परितोष पौड्यालले भर्चुअल टुरका यस्ता कार्यक्रमको निरन्रताको शुभकामना दिदैं क्लबको माध्यमबाट साकोस अभियानको एकरुपता प्रणालीको अवधारणा विकास र संस्थागत गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबै बचत ऋण सहकारीहरु एउटै स्कूलिङमा जानुपर्ने, नीति, विधि, प्रविधिमात्र नभई कार्यशैली, व्यवहार र अभिव्यक्तिमा पनि एकरुपताको खाँचो औल्याउनुभयो । क्रेडिट युनियन संस्कृति (कल्चर) निर्माणका सन्दर्भमा यस्ता सिकाइ आदान प्रदान कार्यक्रम प्रयोग हुनुपर्ने र सिकाइ व्यवस्थापन गर्नुपर्ने तर्क प्रस्तुत गर्नुभयो । ज्ञान मात्र भएर हुँदैन अभ्यासपनि चाहिने बताउँदै एकरुपता प्रणालीलाई सबै साकोसहरुले व्यवहारमा प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष पौड्यालले अहिलेको जल्दोबल्दो विषय भनेको साकोस अभियानलाई डिजिटल प्लेटफर्ममा लाने विषयमा साझा निष्कर्षमा पुग्नुपर्ने विषयमा क्लबमार्फत सबै साकोहरुको ध्यानाकर्षण गराउनुभयो । 

भर्चुअल कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले संकटको समयमा सबै साकोसहरुले सदस्यको जीवन रक्षा, स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर योजना वा कार्यक्रमहरु तय गर्नुपर्ने आवश्यकतामा बिशेष जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘सदस्य सम्पर्कमा एकदमै ध्यान दिनुपर्छ, जीवन्त सम्बन्ध विकासको लागि संयन्त्र विकास गर्नुपर्छ ।’ महामारीले सहकारीमा प्रविधिकरणको विकल्प छैन भन्ने सिकाएको भन्दै महासचिव अधिकारीले सदस्यहरुमा प्रविधिमा पहुँच र प्रयोगको सुनिश्चितता, जनशक्तिको व्यवस्था आदि कुरामा ध्यान दिनुपर्ने सुझाव राख्नुभयो । नेफ्स्कूनले साकोस अभियानको दिगो विकासका लागि खेलेको भूमिका, सहजीकरण आदिका बारेमा पनि प्रस्तुतिहरुमा अटाउँदा राम्रो हुने बताउँदै उहाँले ‘सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्य’ को नेफ्स्कूनको थिमको महत्व यो अवस्थामा झनै बढेको र यसलाई पनि प्रस्तुतिहरुमा समावेश गर्न आग्रह गर्नुभयो ।

महासचिव अधिकारीले यो समयमा थप सहकारीकर्मीहरुलाई लाभ पुग्ने गरी राष्ट्रियस्तरको भर्चुअल कार्यक्रम आयोजना गर्ने विषयमा पनि योजना बनाउन क्लबलाई सुझाब दिनुभयो । उहाँले यी सबै गतिविधिहरुमार्फत साकोस एकरुपता प्रणालीमा सहयोग, स्तरीकरण र स्थिरीकरणकोषमा सहभागिता, नेफ्स्कूनका सेवा व्यवसायको उपयोगको अपेक्षा नेफ्स्कूनले गरेको बताउँदै क्लबको विकास र विस्तारमा हरसम्भव सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले क्लबको उद्देश्य, संशोधित कार्यविधि र पछिल्ला प्रयास तथा भावी स्वरुपबारे संक्षिप्त प्रस्तुति गर्नुभएको थियो । उहाँले क्लब प्राविधिक विज्ञ समूह वा थिङ्क ट्याङक भएको बताउँदै यसमार्फत अभियानकर्मी र खासगरी साकोसको व्यवस्थापन समूहलाई इन्गेज र इनोभट गरी चेन्ज ल्याउनेतर्फ सहजीकरण गर्ने  भूमिका उल्लेख गर्नुभयो ।

बोस क्लब, सीइओ क्लब जस्ता सफल अन्तराष्ट्रिय अभ्यासहरुलाई  पनि आधार मानेर क्लब गठन भएको बताउँदै कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले नवीन अभ्यास अवलम्बन, प्रवर्धन गर्ने दिशामा पनि सहयोग पुर्याउने, व्यवस्थापनको क्षमता अभिवृद्धि गर्ने, असल अभ्यासको चर्चा गर्ने, अभियानका महत्वपूर्ण मुद्दाहरुमा बहस पैरवी गर्ने, साकोस अभियानको एकरुपतामा विज्ञ प्राविधिक समूहको रुपमा क्लबले काम गर्ने नीति रहेको उल्लेख गर्नुभयो ।

सहकारीमा देखिएका नयाँ चुनौतीहरु सामना गर्न साझा अवधारणा बनाउने काम यसले गर्ने भन्दै उहाँले केन्द्रीय तहमा एउटा साकोस म्यानेजर्स क्लब र प्रदेश तहमा पनि गठन गर्ने तयारी भैरहेको जानकारी गराउनुभयो । त्यस्तै, ७ सदस्यीय म्यानेजर्स क्यूरी गठनको तयारी भैरहेको बताउँदै कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले त्यसले  सल्लाहकारको भूमिका निर्वाह गर्ने जानकारी गराउनुभयो । बचत ऋण सहकारीहरुका लागि स्थिरीकरण कोष कार्यक्रममा समावेश भएका संस्थाकातर्फबाट मात्रै क्लबमा सहभागी बन्न पाउने प्रावधान पनि समावेश गरिएको बताउँदै उहाँले क्लबलाई नेफ्स्कून व्यवस्थापनबाट सम्पूर्ण रुपमा सहयोग हुने भएकाले सबै संस्थाका सीइओहरुलाई क्लबमा आबद्ध हुन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा क्लबको संस्थापक संयोजक समेत रहनुभएका चन्द्रागिरी साकोस, काठमाडौंका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले क्लबको इतिहास स्मरण गर्दै २०६९ सालमा नेपालमा पहिलो पटक ५ वटा संस्थाले एक्सेस ब्राण्ड प्राप्त गरेको बेलामा साकोस अभियानमा सक्षम मानव संशाधन विकासको विषयमा बहस चलेको र त्यसैको फलस्वरुप क्लबको जग बसेको बताउनुभयो । उहाँले क्लबलाई नेफ्स्कून आबद्ध  साकोस व्यवस्थापकहरुको साझा चौतारी बताउँदै सुरुमा एक्सेस साकोस म्यानेजर्स क्लब भनेर नामाकरण गरिएको उल्लेख गर्नुभयो । क्लबलाई आजसम्मको स्थितिमा ल्याइपुर्याउन भूमिका खेल्ने व्यक्तित्वहरुलाई श्रेष्ठले स्मरण गर्दै सबै मिलेर साकोस अभियानलाई मर्यादित र व्यवस्थित बनाउनुपर्ने धारणा राख्नुभयो ।

क्लबका संयोजक एवम् मिलिजुली कालिञ्चोक साकोस दोलखाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानले क्लबको संशोधित कार्यविधि र भावी योजनाका सम्बन्धमा छरितो प्रस्तुतिसहित स्पष्ट पार्नुभएको थियो । क्लबको पछिल्लो नेतृत्वले थप अग्रसरता लिदैं यसका गतिविधिहरुलाई शसक्त ढंगले अघि बढाउने काम गरको भन्दै उहाँले यसमा नेफ्स्कूनको सञ्चालक समिति र व्यवस्थापन समूहको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । 

प्रमुख कार्यकारी अधिकृत न्यौपानेले अब क्लबमार्फत साकोस एकरुपता प्रणालीमार्फत स्तरीयता विकास, प्रविधिकरण, स्तरीकरण र स्थिरीकरण कोषमा आबद्धता, संघीय संरचनाअनुसार सातै प्रदेशमा क्लब गठन, ज्ञान व्यवस्थापन र रुपान्तरणमा सहयोग, अभियानमा चुस्त व्यवस्थापन सुनिश्चित गर्न विधि र प्रक्रियाहरु निर्माणको, असल अन्तर्राष्ट्रिय अभ्यासहरुको आन्तरिकीकरणमा सहयोग आदिको योजना सार्वजनिक गर्नुभयो । कार्यक्रम सञ्चालन काभ्रेको पनौतीस्थित ज्योति मिर्मिरे सामुहिक साकोसका प्रमुख कार्यकारी अधिकृत एवम् क्लबका सदस्य गोपाल दाहालले गर्नुभएको थियो । 


रनबहादुर थापा
प्रमुख कार्यकारी अधिकृत, जनउत्थान साकोस, रुपन्देही

  • ‘जसले बुहारीलाई आत्मनिर्भर बनाउँछ त्यो सहकारी हो’ भन्ने गुरु मन्त्र लिएर सहकारी अभियान शुरु गरेको । किनकि संस्था अवस्थित क्षेत्र रेमिट्यान्सले धानेको थियो ।
  • ‘क्रिएटिभ’ भन्ने कोर भ्याल्यू निर्धारण गरेर संस्थाले प्रभावकारी, गुणस्तरीय र सदस्य उत्तरदायी सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
  • कुल पुँजी १४ अर्ब रहेका छ । संस्थागत पुँजी ७.५७ प्रतिशत रहेको छ । तरलता १८.७१ प्रतिशत रहेको छ भने नियमित मासिक बचत ३१ प्रतिशत रहेको छ । बचत र ऋणमा संस्थाले विविधिकरण गरेको छ । कर्मचारी संख्या १७८ छ भने २१ वटा सेवा केन्द्र रहेका छन् ।
  • एसिया स्तरको एक्सेस र प्रोबेसन ब्रान्डका साथै विभिन्न पुरस्कारहरु प्राप्त गरेको छ संस्थाले ।
  • संस्था १० वर्षे रणनीतिक मार्गचित्र बनाएर अघि बढेको छ । गत वर्ष मात्र २०८८ सालसम्मको १० वर्षे रणनीतिक मार्गचित्र बनाएर अघि बढेको छ । संस्थाले २०८१ असोजबाट सुरु गरेर २०८३ मा १२ करोड लागतमा आफ्नै भवन बनाउने योजना अघि सारेको छ ।
  • कृषि क्षेत्रमा २४ प्रतिशत लगानी र व्यापारमा २८ प्रतिशत र आवास कर्जामा ४८ प्रतिशत लगानी गरेको संस्थाले कृषिमा ९ प्रतिशत ब्याजमा ऋण लगानी छ ।
  • ऋणी सदस्य २९ प्रतिशत रहेको छ भने सरदर ऋण  २ लाख ७६ हजार रहेको छ । ऋण जोखिम कम छ  किनकि ऋण लगानीमा एकदमै ध्यान दिएका छौं । ऋण वितरण गर्ने होइन भन्नेमा हामी विश्वस्त छौं ।
  • संस्थासँग हाल ३१ वटा नीति तथा ५१ व्टा कार्यविधि रहेका छन् ।
  • प्रविधिमा उल्लेख्य प्रगति गरेको छ । यसका लागि घच्घच्याउने काममा नेफ्स्कूको भूमिका अत्यन्तै महत्वपूर्ण छ । पूर्णतः मोबाइल बैंकिङ सेवा सञ्चालनमा छ । सदस्यले नगद बोक्नु पर्दैन । मोबाइल बैंकिङ सेवा लिएका ४८ सय सदस्यहरुका लागि चेकको साटो इ पेमेन्ट सुविधा छ । ४५ सय सदस्यले पसल चलाएको र ती पसलमा कुनै पनि सामान किन्दा इ पेमेन्ट गर्न सकिन्छ । इ टेलर बैंकिङ सेवा, ७९३ पसलमा क्यूआर कोड सेवा, मिस्ड कल सेवा र पछिल्लो समय स्पट बैकिङ सेवा समेत प्रारम्भ गरेका छौं । वेबसाइटबाट ऋण माग फारम फर्ने व्यवस्था मिलाइएको छ ।
  • महामारीको समयमा कर्मचारीहरुलाई ३ वर्गमा विभाजन गरी कार्य सम्पादन गराइएको छ । योजनाबद्ध दैनिक जुम बैठक सञ्चालन गरी कामको मूल्याङ्कन, समीक्षा र भावी योजनाहरु तर्जुमा गर्दछौं ।
  • सम्पर्क व्यक्तिमार्फत सेवा प्रवाह गरेका छौं । फोनको भरमा घरदैलोमा ऋण सेवा प्रदान गरेका छौं ।
  • संस्थागत उत्तरदायित्व अन्तर्गत कोभिड अस्पताल तथा ट्राफिक कार्यालयलाई १ लाख १० हजारको सहयोग, अक्सिजन प्लान्ट स्थापनामा सहयोग, सेयर सदस्यहरुलाई बस भाडा, अस्पतालमा छुट, ज्येष्ठ सदस्यहरुलाई सम्मान, विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम लगायत थुप्रै कार्यक्रम सञ्चालन गरेका छौं । 
  • कर्मचारीहरुलाई नेपाल सरकारले तोके सरह तलब सुविधा, ३ महिनाको कर्मचारी बोनस, १० लाखको म्यादी जीवन बिमा, सामाजिक सुरक्षा कोष, सहायक स्तरका कर्मचारीलाई ७ वर्षमा र अधिकृतलाई ३ वर्षमा विदेश भ्रमणको सुविधा, तलबले तिर्नसक्नेसम्मको रकम न्यूनतम ब्याजदरमा ऋण सुविधा उपलब्ध गराएका छौं ।

                                                                                                                विनोद पराजुली 
प्रमुख कार्यकारी अधिकृत, कोलिय देवदह साकोस, रुपन्देही

४ वटा संस्था एकीकरण भई अहिलेको कोलिय देवदह साकोस सञ्चालनमा रहेको हो ।

  • संस्थामा ११ हजार ३ सय ५० सेयर सदस्य छन् जसम्ध्ये महिला ७ हजार बढी र पुरुष ४ हजार बढी छन् । संस्थागत पुँजी ७ करोड भन्दा बढी छ । ६ सेवा केन्द्र, केही स्थानमा बचत संकलन केन्द्र छन् भने जम्मा कर्मचारी ३१ जना छन् । कुल सम्पत्ति १,३४,८४,०४,२८७ रहेको छ ।
  • एशियास्तरको एक्सेस ब्राण्ड प्राप्त गर्न सफल संस्था २०७२ देखि २०७७ सम्म निरन्तर नेपालस्तरीय प्रोबेसन ब्राण्ड प्राप्त गर्न सफल भएको छ ।
  • बचत, ऋण, रेमिट्यान्स र बिमा सेवा उपलब्ध गराएका छौं । संस्थामा ३३.०६ प्रतिशत ऋणी सदस्यहरु हुनुहुन्छ ।
  • संस्थाले सबै खाले रेमिट्यान्स सेवा प्रदान गरेको छ ।
  • हरेक टोल वडा र गाउँ स्तरमा दिदीबहिनी क्लब गठन गरिएको छ । सोही क्लबमार्फत बाल सदस्यता विस्तार अभियानमा जोड दिइएको छ । क्लबमार्फत उत्पादनमा जोड दिने, उद्यमशिलता तालिमहरु दिने भावी योजना रहेको छ त्यसका लागि क्लबका सदस्यहरुलाई तालिम प्रदान गर्ने र संस्थाले पुँजी उपलब्ध गराएर उहाँहरुले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहयोग गर्ने योजना अघि सारेका छौं ।
  • संस्थाले प्रत्येक वर्ष बेमौसमी तरकारी, बुटिक, प्लम्बिङ, वाइरिङ आदि सीप विकासका तालिमहरु सञ्चालन गरेको छ । 
  • कोर बैंकिङ सेवा अन्तर्गत संस्थाले मोबाइल सेवा, इन्टर बैंक फन्ड ट्रान्सफर, इ टेलर, इ सेवा आदि प्रदान गर्दै आएको छ । कोलिय देवदह स्मार्ट एपमार्फत प्रविधिमैत्री सेवा सुनिश्चित गरेको छ । घरमै बसेर इसेवा प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ । पेपरलेस बैंकिङ सेवा, एटीएम, मानव संशाधनको व्यावसायिकीकरण, वित्तीय साक्षरताका कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको छ ।
  • ४ वर्षे रणनीतिक योजना निर्माण गर्दै संस्था अघि बढेको छ ।
  • कोभिडको समयमा सम्पर्कका आधारमा सेवा प्रदान गरेको र चौबिसै घन्टा सेवा उपलब्ध गराउने व्यवस्था गरेका छौं ।
  • सदस्यको ३ लाख बराबरको दुर्घटना मृत्यु बिमा, मृत्युमा २५ हजार राहत, जटिल रोगमा १५ हजारसम्म राहत सहयोग, ज्येष्ठ सदस्यलाई नगदसहित सम्मान आदि कार्यक्रमहरु रहेका छन् ।
     
saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र