आईतबार, जेठ ६
०८:०१

विकू र पोखरा रोयलको असल अभ्यासबाट साकोस अभियान लाभान्वित

शुक्रबार, वैशाख ३१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । गण्डकी प्रदेशका २ सफल बचत तथा ऋण सहकारी संस्थाका असल अभ्यासहरुबाट आज एकै बसाइमा समग्र साकोस अभियान लाभान्वित भएको छ । प्रविधिलाई उच्च प्राथमिकतामा राखेर संस्थागत विकाससँगै फराकिलो पहिचान बनाउन सफल नवलपुरको गैंडाकोट–८ स्थित विकू तथा पोखरा–१० बुद्धचोकस्थित पोखरा रोयल साकोसका समग्र गतिविधिहरुबाट प्रविधिमार्फत नै जोडिएर मुलुकभरका साकोसकर्मीहरुले लाभ लिनुभएको हो । सँगै साकोस अभियानको नेतृत्वदायी निकाय नेफ्स्कूनको रणनीति, योजना र सदस्य सेवा र पछिल्ला कार्यक्रमसँग समसामयिक विषयमा पनि आज भर्चुअल सहभागी साकोसकर्मीहरुलाई जान्नेबुझ्ने अवसर मिल्यो ।

यस्तै, साकोस अभियानको दिगोपना, गुणस्तरीयता, विश्वसनीया र प्रविधिसम्पन्नताका लागि एकरुपता प्रणाली तथा एकीकृत र साझा वित्तीय सेवाका लागि इन्टरप्राइज रिसोर्स प्लानिङका सम्बन्धमा नेफ्स्कूनबाट भैरहेको पहलका बारेमा कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालमार्फत सहभागीहरुले जानकारी प्राप्त गर्नुभयो । यसमा सबै साकोसहरुको साथ र सहभागिताका लागि उहाँले ध्यानाकर्षण समेत गराउनुभयो । प्रविधिकरणमार्फत नेपालका साकोस अभियानलाई बचत, ऋण, बिमा, पुँजी निर्माण, भुक्तानी फ्र्छयौट र विप्रेषण आदि विषय एकीकृत गरेर लानुपर्ने धारणा राख्दै अध्यक्ष पौड्यालले त्यसको सुरुवात सदस्यहरुलाई पेमेन्ट प्लेटफर्ममार्फत जोड्ने कामबाट भएकोले सबैको सहभागिताका लागि आग्रह समेत गर्नुभयो । 

आजकै कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिकुल समयमा अनुकुलतामा बाधेर असल अभ्यासलाई अद्यावधिक गर्ने काम आजको कार्यक्रमले गरेको बताउनुभयो । सबै संस्थाहरुलाई समुदाय केन्द्रित, सदस्य केन्द्रित बनाउँदै लाने नेफ्स्कूनको अभियानमा सबैको साथ आवश्यक रहेको भन्दै बरिष्ठ उपाध्यक्ष ढकालले नेफ्स्कूनको सफलताको मापन यसैबाट हुने बताउनुभयो ।

कोभिडको पहिलो लहरले नै धेरै संस्थाहरु नेफ्स्कूनसँग जोडिन खोज्नुलाई सकारात्मक रुपमा लिएको बताउँदै उहाँले नेफ्स्कूनका पिलरहरु प्रारम्भिक संस्था भएकोमा जोड दिनुभयो । उहाँले प्रारम्भिक संस्थाहरुको हरेक किसिमका अपेक्षाहरुको सम्बोधन, बहसपैरवी, कानून कार्यान्वयन, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा आएका नवीन विचारहरु आन्तरिकीकरणमा सघाउ गर्ने काममा नेफ्स्कून निरन्तर लागिपर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

एक अर्को प्रसङ्गमा बरिष्ठ उपाध्यक्ष ढकालले म्यानेजर्स क्लब नेफ्स्कून भित्रकै अंग भएको बताउँदै यसले समेत नेफ्स्कूनले सुरुवात गरेका राम्रा कुराहरुलाई अवलम्बन गर्दै सबैका लागि घुलन विषय बनाउने दायित्वमा आफुलाई समाहित गर्नुपर्ने उल्लेख गर्नुभयो । संकटका समयमा सदस्यहरुलाई सबै किसिमका सहयोग गर्न नेफ्स्कून तयार रहेको पनि उहाँले दोहोर्याउनुभयो । कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरुसँगै लेखा समिति संयोजक तथा अन्य सञ्चालक, उपसमितिका संयोजक तथा सदस्यहरु एव्म व्यवस्थापन टोलीसँगै मुलुकभरका साकोसकर्मीहरु जोडिनुभएको थियो ।

यी सबै अवसर नेफ्स्कून– साकोस म्यानेजर्स क्लबले जुम प्रविधिमार्फत आज आयोजना गरेको ‘साकोस व्यवस्थापन सिकाइ आदान प्रदान कार्यशाला’ ले प्रदान गरेको थियो । उत्साहवर्धक सहभागिता रहेको कार्यक्रममा पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर गुरुङ र विकू साकोसका प्रमुख कार्यकारी अधिकृत माधव पौडेलले संस्था स्थापनाको पृष्ठभूमि, विकासक्रमसँगै कोभिड महामारी लक्षित सञ्चालन गरेका योजना र रणनीतिहरुका बारेमा घतलाग्दो प्रस्तुतिकरण गर्नुभएको थियो । 

भिम बहादुर गुरुङ
प्रमुख कार्यकारी अधिकृत, पोखरा रोयल साकोस, कास्की

क्वालिटी सर्कल देखि सहकारी सर्कलको यात्रा तय गरेका हौं । करिब २ दशकको यात्रामा २ अर्बको वासलात, ४३ कर्मचारी, ७ हजार ३ सय सदस्य, २० करोड सेयर, १२ करोड जगेडा कोष, १ अर्ब ५० करोड र उत्तिनै मात्रामा ऋण लगानी रहेको छ ।

हाल २ अर्बको वासलात, ४३ कर्मचारी, ७ हजार ३ सय सदस्य, २० करोड सेयर, १२ करोड जगेडा कोष, १ अर्ब ५० करोड र उत्तिनै मात्रामा ऋण मात्र होइन नियमित संरक्षित पुँजी फर्ता कोष, ९५ प्रतिशत सदस्य कोपोमिसमा दर्ता, वार्षिक सदस्य सर्वेक्षण, ८० प्रतिशत सदस्यको ऋण सदुपयोगिता, ६७ वटा नीति, निर्देशिका र कार्यविधि, सदस्य बडापत्र, कार्यालयको भौतिक सजावटदेखि कर्मचारी पोशाक लगायतमा ब्रान्डिङ, मञ्चबिहीन प्रशिक्षणमूलक साधारण सभा, कर्मचारीहरुलाई लक्षित कार्यविवरण, त्यसको आवधिक समीक्षा, श्रम ऐन अनुसार सेवा सुविधा, उच्च व्यवस्थापनको दैनिक बैठिक, कर्मचारीहरुको मासिक अनिवार्य बैठक, स्टाफ हाते पुस्तिका, मासिक आन्तरिक ज्ञान व्यवस्थापन, रोयल फाउन्डेसनमार्फत सामाजिक उत्तरदायित्वका कामहरु, ९९ जना महिला सदस्यमार्फत रोयल दिदीबहिनी किचेन सञ्चालनमा सहजिकरण सहयोग, महिलाहरु साक्षरता अभियान सहकारी पुस्तकालय, लघुवित्त कार्यक्रममार्फत गाउँ गाउँमा बचत, ऋण सेवासँगै सशक्तिकरण कार्यक्रम, संस्थाको वृत्तचित्र, नियमित बुलेटिन प्रकाशन, सहकारी पुस्तक प्रकाशन, नयाँ सदस्य जानकारी पत्र, २ वटा एटीएम, स्मार्ट बैंकिङको प्रविधि, इटेलर, बिमा, विप्रेषण सेवा लगायत उपलब्ध गराएका छौं ।

यसैगरी, असल अभ्यास आदानप्रदानका लागि चन्द्रागिरी साकोसँग भगिनी सम्बन्ध स्थापना गरेका छौं ।

 महामारीको समयमा सदस्य, कर्मचारी र संस्था लक्षित रणनीतिहरु तय गरेका छौं । व्यवसाय निरन्तरता योजना, जोखिम व्यवस्थापन कार्यदल, सदस्य र कर्मचारीहरुको बिमा, सदस्यहरुको सर्वेक्षणको आधारमा नयाँ नीति तथा ऋणको सेवा विकास, अंग्रपक्तिमा खटिएका कर्मचारीलाई उत्प्रेरणा भत्ता, आलोपालो काम गर्ने प्रणाली, ऋणको पुनर्तालिकीकरण, थ्री डी विधि, सदस्य सम्बन्ध बलियो बनाउन हेलो मेम्बर आदि रणनीति अवलम्बन गरेका छौं । 

संस्था सफलताको सुत्रका रुपमा समूह भाव, थ्री पी मोडल, समुदायमा आधारित, नेतृत्ववा निरन्तरता, नवीन प्रविधि आन्तरिकीकरण, सदस्य पहिला नीति, प्रमुख छन् भने भावी योजना अन्तर्गत कोभिडलाई समेत ख्याल गरी सदस्य, कर्मचारी र संस्थाको सुरक्षालाई केन्द्रमा राखेर योजना निर्माण, एकीकरणमा जोड, पूर्णतः प्रविधिकरण, सबल जगेडा कोष, स्तरीकृत संस्था निर्माण प्राथमिकतामा छन् । 

प्रकाश प्रसाद पोखरेल
कामु प्रमुख कार्यकारी अधिकृत, नेफ्स्कून

दिगो साकोसका लागि असल अभ्यासहरु आदान प्रदान गर्ने साझा फोरमका रुपमा नेफ्स्कूनको पहलमा क्लब गठन गरिएको हो । कोभिडको अवस्थामा कसरी सेवा प्रवाह गरी सुरक्षित र सबल बनाउँदै अघि बढ्न सकिन्छ भन्ने विषयमा विकू र रोयल साकोसको अभ्यासहरु बुझ्न पाइने अवसर पनि हो यो ।

 नेफ्स्कूनकातर्फबाट भन्ने हो भने असहज अवस्थामा सेवा निरन्तरता झनै आवश्य छ । त्यसका लागि साकोसहरुबीच सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्य आवश्यक छ । सदस्य, कर्मचारी र संस्था संरक्षण र सुरक्षाको विषय केन्द्रमा राखेर बनाइने व्यवसाय निरन्रता योजनालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गर्न सकिन्छ । महामारीका समयमा पनि साकोसहरुले सुशासनमा कुनै कसर बाँकी राख्न हुँदैन । यस्तो बेलामा नै हाम्रा सेवाहरुको परिक्षण सदस्यहरुले गर्छन् । व्यवसाय निरन्तरता योजनामा अन्य प्रकारका विपद्हरुको अवस्थालाई पूर्वानुमानसहित समेटेर एकीकृत योजना बनाउने काम नेफ्स्कूनमा भैरहेको र त्यसमा समाविष्ट उदाहरणहरु भूगोल सुहाउने खालको समेत हुनेछ । महामारीको समयमा सञ्चारलाई विशेष महत्व दिनुपर्छ । सदस्य, कर्मचारी र सरोकारवालाहरुसँग निरन्तर सम्पर्कमा रहनुपर्छ । प्रविधिमार्फत सञ्चारलाई सबल बनाउन सकिन्छ । साकोस प्रणालीलाई एकीकृत सूचना प्रणालीको माध्यमबाट थप सवल बनाउने काम तदारुकताका भैरहेको छ ।

महामारीको समयमा वैकल्पिक विधिहरु अवलम्बन गरेर सेवा सूचारु गर्ने, ऋणको पुनर्तालिकीकरण, नयाँ ऋण लगानीका क्षेत्र र सम्भावनाहरु, भाखा नाघेको ऋण व्यवस्थापन, ऋणसम्बन्धी कानूनी परिपालनामा हेक्का राख्नुपर्छ । सञ्जाल आबद्धता व्यवस्थापन, बहस पैरवी, स्थिरीकरण कोष र विपद व्यवस्थापन, सञ्चार, प्रकाशन र आपूर्ति व्यवस्थापन, स्रोतको प्रभावकारी परिचालन, सृजनशील कुशल व्यावसायिक व्यवस्थापन, एकीकृत वित्त प्रणालीमार्फत उद्यमशीलता, नवीन खोज, अनुसन्धान र विकासमा पनि साकोसहरुको ध्यान पुग्नु आवश्यक छ । 

सामुदायिक प्लाज्मा बैंक स्थापना, खोप व्यवस्थापनमा सहयोग, सञ्जालमार्फत कारोबार, विद्युतीय भुक्तानी सेवा, ई–कमर्श, एकीकृत वित्त प्रणालीका लागि आ–आफ्नो क्षेत्रबाट प्रयास र नेफ्स्कूनको होस्टेमा हैसे आवश्यक छ ।

माधव पौडेल
प्रमुख कार्यकारी अधिकृत, विकू साकोस, नवलपुर

पेमेन्ट प्लेटर्फम धेरै समयदेखि अभियानले माग गरिरहेको र त्यसको सुरुवात नेफ्स्कूनले गरेकोमा सर्वप्रथम खुसी व्यक्त गर्न चाहन्छु र सफलताको कामना पनि गर्दछु । विकूको संस्थागत तथा मेरो व्यक्तिगत व्यावसायिकता विकासमा नेफ्स्कूनले एसियाली ऋण महासंघसँगको समन्वयमा सञ्चालन गरेको गुणस्तरीयता कार्यक्रम एक्सेसले धेरै सहयोग पुर्याएको छ ।  

बचतलाई विकाससँग जोडेर विकूले काम सुरु गरेको हो । ५० पैसा बचत बाट सुरु गरेको संस्थाका हाल ३ वटा प्रदेशमा १९ वटा सेवा केन्द्रमार्फत ८५ हजार सदस्यहरुलाई सेवा प्रदान भैरहेको छ । नवीनता र प्रविधिलाई हामाीले लाई जोड दिएका छौं । 

मुख्य कुरो दिगो विकासका कम्तिमा ५ वटा लक्ष्यमा योगदान गर्ने विषय बार्षिक नीति तथा कार्यक्रममा समावेश गरेर त्यस अनुरुप कामहरु गरेका पनि छौं । संस्थाले हालसम्म गरेका कामले दिगो विकासका आधादर्जन लक्ष्यमा भूमिका खेलेको छन् । 

सबै सेवा केन्द्रमा गुनासो सुनुवाई गर्ने कर्मचारी र तिनको सही सम्बोधन गर्ने काम भएको छ । बचत, ऋण, विप्रेषण र विभिन्न भुक्तानी कार्यक्रमहरुलाई ५९ वटा नीति तथा कार्यविधि अनुरुप अघि बढाएका छौं । यो पनि जानकारी गराउँ, एक्सेस कार्यक्रम सुरु गर्दा हामीसँग मुस्किलले ४ वटा कार्यविधि थिए । अहिले हरेक वर्ष नीति कार्यविधिहरु संशोधन गर्दै लगेका छौं । हाम्रा गैर वित्तीय विभाग छुट्टै छ । नेपाल सरकारका निकायहरुसँग मिलेर सीपमुलक तालिमहरु सञ्चालन गर्दै आएका छौं र सीप भएपछि स्रोत तथा उत्पादित वस्तु तथा सेवाको बजारिकरणमा विकूले सहयोग गर्दै आएको छ । 

सदस्य शिक्षा, सदस्यको करेसाबारी हरियो तरकारी कार्यक्रम, सदस्य स्वागत कार्यक्रम, ३६५ दिन सेवा, मोबाइल टेलर सेवा, वार्षिक सदस्य सर्वेक्षण, बहुआयामिक गरिबी मापन कार्यक्रम, नगदरहित बिमा सेवा, विद्यालयमा विकू कार्यक्रम, वित्तीय समावेशीता कार्यक्रमसँगै स्थानीय सरकारसँग मिलेर पनि सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं । वित्तीय रुपमा पनि संस्थाको PEARLS मापदण्डका सबै सूचकहरुको अवस्था राम्रो छ ।

१६ हजार एटीएम कार्ड वितरण भैसकेको, ५ वटा आफ्नै एटीएम मेसिन,  एक महिनाभित्र भीसा कार्डकै रुपमा प्रयोग गर्न सकिने गरी काम भइरहेको छ । विकू स्मार्ट बैंकिङलाई विकू वालेट बनाउने गरी काम भैरहेको छ । १५ हजार आउटलेटहरुमा क्यू आरकोड सेवा विस्तार गर्ने योजना रहेको छ । त्यस्तै, सदस्यलाई सम्पन्न बनाउने, स्मार्ट विकू, व्यवस्थापन सबल र युवा केन्द्रीत कार्यक्रमहरु बनाउने कार्यक्रम तय गरेका छौं । अब सदस्य ब्राण्डिङ तिर पनि कार्यक्रमहरु लक्षित गर्ने, अनुसन्धान र प्रकाशनमा जोड दिने र यसरी सदस्यको गर्भदेखि स्वर्गसम्म आवश्यक सेवा प्रवाहमा जोडिदै अन्ततोगत्वा सदस्यलाई खुसी र स्वास्थ्य बनाउने हाम्रो योजना छ ।

..........................................०००...................................                                                    ..........................................०००...................................

कार्यक्रमको अध्यक्षता गर्नुभएका क्लबका संयोजक एवम् मिलिजुली कालिञ्चोक साकोस दोलखाका प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपानेले आजको सिकाइले समय र व्ययभारको बचतका साथै  आवतजावतको कठिनाइलाई पनि सम्बोधन गरेको बताउनुभयो । उहाँले आजको कार्यक्रमबाट भएका मुलभुत सिकाइलाई बुँदागत रुपमा संक्षेपीकरण समेत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन कोलिय देवदह रुपन्देहीका व्यवस्थापक एवम् क्लबका निवर्तमान संयोजक विनोद पराजुलीले गर्नुभएको थियो भने कार्यक्रमको औचित्य बारे क्लबका सदस्य किसान कल्याण साकोस मोरङका प्रमुख कार्यकारी अधिकृत झलेन्द्र दाहालले प्रकाश पार्नुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र