आईतबार, वैशाख ३०
०७:२३

नेफ्स्कूनको ३३ औं स्थापना दिवस विविध कार्यक्रमको आयोेजना गरी मनाइयो

आईतबार, साउन ३२
saccosaawaj

काठमाडौं ३२ साउन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको ३३ औं स्थापना दिवस आज विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

कोभिड–१९ को बढ्दो संक्रमणका बीच स्वास्थ्य सर्तकता, भौतिक दूरी लगायत सरकारी निर्देशनहरुको अधिनमा रही काठमाडौंको नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयहरु र देशभर रहेका फिल्ड कार्यालयहरुमा परिस्थितिको आँकलन गर्दै नेफ्स्कून दिवस मनाइएको छ । सीमित अतिथि, नेफ्स्कून सञ्चालकहरु, अग्रज एवम् सल्लाहकारहरु, तथा व्यवस्थापन समूहको भौतिक तथा धेरैको अभौतिक एवम् युटुब तथा फेसबुक लाइभमार्फत सहभागितामा केन्द्रीय कार्यालय र विभिन्न फिल्ड कार्यालयमा ३३ औं स्थापना दिवस कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन् ।

स्थापना दिवसको ऐतिहासिक एवम् पुनीत अवसर पारेर प्रमुख अतिथि मन्त्री अर्यालले संघको काठमाडौंको नयाँ बानेश्वरमा बन्ने नेफ्स्कून भवनको शिलान्यास गर्नुभयो । त्यसैगरी,  हिमाल, पहाड र तराईका दूर दराजमा वित्तीय पहुँच नपुगेका सहकारी संस्थाहरु लक्षित आधारशिला कार्यक्रम शुभारम्भ गरिएको छ भने नेफ्स्कूनको नयाँ डिजिटल पत्रिका saccosaawaj.coop.np को शुभारम्भ र संघको आगामी ४ वर्षका लागि निर्मित पाँचौं व्यावसायिक रणनीतिक योजना पुस्तिका पनि अध्यक्ष परितोष पौड्यालले व्यवस्थापन प्रमुख कामू प्रमुख कार्यकारी अधिकृतलाई हस्तान्तरण गर्नुभयो । त्यसैगरी, एकीकृत सुशासन मागर्दशन पनि जारी गरिएको आजको कार्यक्रममा सीटीइभीटीको सम्बन्धनमा सहकारी व्यवस्थापक कोर्षको पाठ्यक्रम पुस्तिका पनि हस्तान्तरण गरिएको छ ।

संघका विभिन्न फिल्ड कार्यालयहरुमा पनि स्थापना दिवसको अवसरमा संक्षिप्त सभा लगायतका कार्यक्रम गरिएका छन् ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले नेफ्स्कूनले आगामी ४ वर्षका लागि सार्वजनिक गरेका कार्यक्रमहरु सृजनशील रहेको भन्दै तिनको सफल कार्यान्वयनले सहकारी र बचत तथा ऋण सहकारी अभियानलाई बलियो बनाउने दाबी गर्नुभएको छ । नेफ्स्कूनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमा बोल्दै विभागीय मन्त्री अर्यालले संघको रणनीतिक योजनाका समाहित आधारशीला कार्यक्रम सृजनशील भएको बताउँदै सबै स्थानीय तह र गाउँ पालिकासम्म यस्तो कार्यक्रम पुग्न जरुरी रहेको बताउनुभयो । उहाँले आधारशीला कार्यक्रमको प्रभावकारिता मुल्याङ्कन गर्दै यसलाई भोलीका दिनमा थप विस्तार गर्दै लानुपर्नेमा जोड दिनुभयो । यसबाहेक रणनीतिक योजनाले समेटेका व्यवस्थापक र अन्य प्रमाणीकरण कोर्षहरु, सुशासन मार्गदर्शन जस्ता कार्यक्रमहरु नवीनतम भएको उल्लेख गर्दै तिनको सफलताको लागि संवेदनशील भएर लाग्नुपर्नेमा मन्त्री अर्यालले ध्यानाकर्षण गराउनुभयो । उहाँले गरिबी पहिचान र भूमि व्यवस्थाका सम्बन्धमा केही काम भएको र अबको समय आफुले सहकारी क्षेत्रलाई दिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । संघीय संरचना अनुरुप सहकारीका निकायहरु विकेन्द्रित भएपनि जवाफदेही बन्न नसकेको मन्त्री अर्यालले स्वीकार्नुभयो ।

उहाँले समाजवादको संवैधानिक लक्ष्य हासिल गर्ने दिशामा सहकारी माध्यम बन्न सक्ने भन्दै त्यसका लागि जनताको जीवनस्तर उकास्ने किसिमका कार्यक्रमहरु ल्याउन आग्रह गर्नुभयो । मन्त्री अर्यालले सहकारीमार्फत गरिबी निवारण गर्न सकिन्छ, सदस्यको सामाजिक आर्थिक विकास सम्भव छ भन्ने प्रमाणित गर्न यस क्षेत्र अघि बढ्नुपर्नेमा जोड दिनुभयो । महिला युवा र कृषि उद्यमशीलता विकासमा सहकारी प्रभावकारी बन्न सक्ने उहाँको धारणा थियो । कोभिड संकटका समयमा पनि सहकारीको भूमिका राम्रो देखिएको भन्दै मन्त्री अर्यालले बन्दाबन्दीको समयमा सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा संघका अध्यक्ष परितोष पौड्यालले नेफ्स्कूनले सधै सदस्यहरुको हितको पैरवी गरेको दाबी गर्दै आज सुरु आधारशिला कार्यक्रम त्यसकै उदाहरण भएको बताउनुभयो । जागरण, सशक्तिकरण, व्यावसायिकीकरण हुँदै सञ्जाल व्यवस्थापनको युगमा प्रवेश गरेको साकोस अभियानको यो चरणमा सञ्जाल विस्तार, वित्तीय सुशासन, पारदर्शिता र गुणस्तर सुनिश्चितताको आयामलाई व्यवस्थित गर्न आधारशिला कार्यक्रम शुभारम्भ गरिएको उहाँले उल्लेख गर्नुभयो । स्थानीय तहहरुसँगको साझेदारीमा आधारशिला कार्यक्रम सञ्चालन गरिने अध्यक्ष पौडेलले दाबी गर्नुभयो । नेफ्स्कूनले गरेका कार्यक्रमहरुमा सरकारको साथ र सहयोगको अपेक्षा गर्दै राज्यका निकायहरुसँग सद्भावपूर्ण सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । सोही कारण कोभिडले थपेका चुनौतीहरुको सामना गर्नकै लागि नेफ्स्कूनले सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्यको नारा अघि सारेको अध्यक्ष पौडेलले बताउनुभयो । सहकारी क्षेत्रमा देखिएका चुनौतीहरु सामना सबै मिलेर गर्नुपर्ने उहाँले बताउनुभयो ।

पूर्व मन्त्री एवम् राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले नेफ्स्कून धेरै महत्वपूर्ण केन्द्रीय संघ भएको बताउनुभयो । जनतामा ठूलो पहुँच पुगेको संघ भएकाले नेफ्स्कूनले थप मिहेनत र लगावका साथ आफ्ना उद्देश्यहरु हासिल गर्नुपर्ने बताउनुभयो । सहकारी सिद्धान्त, मुल्य र मान्यतामा आधारित रहेर अभियानलाई थप सुदृढ बनाउन नेफ्स्कूनको भूमिका रहने बताउनुभयो । दर्तादेखि अनुगमनमा राज्यको भूमिका कमजोर हुँदा सहकारीमा समस्या आएपनि दोष अभियानलाई देखाइएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । सहकारी मार्फत विभिन्न मुलुकमा भएका सामार्जिक आर्थिक परिवर्तनको उदाहरण दिदैं बडालले सहकारीलाई समाजवाद प्राप्तिको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेलले नेफ्स्कून निरन्तर प्रगति उन्मूख भएको बताउँदै अबका दिनमा सञ्जाल विस्तार र वित्तीय सुशासनको दिशामा ठोस काम गर्नुपर्ने सुझाव प्रदान गर्नुभयो । नेफ्स्कूनले बोकेका लक्ष्यहरु एकदम सकारात्मक र सदस्य मैत्री भएको दाबी गर्दै महासंघका अध्यक्ष कडेले तिनलाई पूरा गर्न योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले विषयगत सहकारीहरुमध्ये नेफ्स्कून सबैभन्दा व्यवस्थित ढंगले अघि बढेको केन्द्रीय संघको भएको बताउनुभयो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले सरकार सहकारी क्षेत्रलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । सहकारी नियमन र प्रवद्र्धनको क्षेत्रमा मन्त्रालयले काम सुरु गरेको जानकारी गराउनुभयो । नेफ्स्कून परिपक्क बनेको उल्लेख गर्दै सचिव पाण्डेले मन्त्रालयले पनि अभियानबाट सिक्ने कुरा धेरै रहेको बताउनुभयो । सदस्यको दीगोपनालाई ध्यानमा राखेर ग्रामीण जनजीवनमा सुधार ल्याउन सहकारी अभियान मबजूद बनाउनुपर्ने धारणा उहाँले राख्नुभयो ।

सहकारी विभागका रजिष्ट्रार टोकराज पाण्डेले सहकारीहरुलाई सदस्य केन्द्रित बन्न आग्रह गर्नुभयो । नेफ्स्कूनले बनाएको ४ वर्षीय रणनीतिक योजनाका कार्यक्रमहरुको प्रशंसा गर्दै उहाँले तिनको सफलताको लागि आजै बाट लाग्न आग्रह गर्नुभयो । सञ्चालक समिति र व्यवस्थापनमा नेफ्स्कूनको युवा नेतृत्वको प्रशंसा गर्दै रजिष्ट्रार ४ वर्षे रणनीतिक योजनाले लिएका लक्ष्य र ध्येय र उद्देश्य प्राप्ति गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

अभौतिक माध्यमबाट जोडिनुभएका नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गर्दै नेफ्स्कूनका नवीन रणनीतिक कार्यक्रमहरुमा राज्य र सरोकारवालाहरुको साथ र सहयोगले भोलीका दिनमा वृद्धि हुने बताउनुभयो । इतिहासको बलियो जगमा नेफ्स्कून अब थप प्रगतिको पथमा अघि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । बरिष्ठ उपाध्यक्ष ढकालले नेफ्स्कूनका रणनीतिक कार्यक्रमहरुको सफलतामा सहकारी अभियानकै सफलता गाँसिएको धारणा राख्नुभयो ।

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले सरकारसँग समन्वयका साथ साकोस र सहकारी अभियानलाई अघि बढाउन नेफ्स्कून दत्तचित्त भएर लागिपरेको भन्दै आशंका नर्गन आग्रह गर्नुभयो । सरकार र अभियानको मार्गदर्शनका साथ सदस्यहरुको हितलाई केन्द्रमा राखेर नेफ्स्कूनले आफ्ना कार्यक्रमहरु सञ्चालन गरेको दाबी गर्दै महासचिव अधिकारीले आधारशिला, सीटीइभीटीसँगको सम्बन्धनमा सञ्चालनको तयारीमा रहेका प्रमाणीकरण कोर्षहरु, साकोसका गतिविधिहरु समेट्ने अनलाईन पत्रिका, एकीकृत सुशासन मार्गदर्शन जस्ता कार्यक्रमहरुमार्फत दूरदराजमा रहेका सहकारी सदस्यहरुको भावना प्रतिबिम्बित गर्ने बताउनुभयो । राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् नेफ्स्कूनका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार डीबी बस्नेत, नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु, लेखा समिति संयोजक नवराज सापकोटा सहभागी कार्यक्रममा सुशासन मार्गदर्शन पुस्तिका राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल र सहकारी सचिव टेकनारायण पाण्डेले संयक्त रुपमा सार्वजनिक गर्नुभयो भने अनलाईन पोर्टल saccosaawaj.coop.np को विधिवत् शुभारम्भ पूर्व मन्त्री एवम् राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव प्रसाद बडालले गर्नुभयो । सहकारी क्षेत्रमा आवश्यक जनशक्ति व्यवस्थापनको उद्देश्य सहित सीटीईभीटीसँगको सम्बन्धनमा सहकारी व्यवस्थापक कोर्षको पनि शुभारम्भ गरिएको छ । उक्त कार्यक्रमको प्रमाणीकरण कोर्सको पाठ्यक्रम सहकारी विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले संघका कामु प्रमुख कार्यकारी अधिकृतलाई हस्तान्तरण गर्नुभयो । संघले आगामी ४ वर्षका लागि तयार पारेको ५ औं व्यावसायिक रणनीतिक योजना पुस्तिका अध्यक्ष परितोष पौड्यालले कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेललाई हस्तान्तरण गर्नुभयो । कार्यक्रमा संघका कामू प्रमुख कार्यकारी अधिकृतले नेफ्स्कूनको विगत, वर्तमान र भविष्यको मार्गचित्र सहितको प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका विभागीय प्रमुखहरु लगायत सीमित व्यवस्थापन समूहको सहभागिता थियो । कार्यक्रमा एशियाली ऋण महासंघ अकूकी प्रमुख कार्यकारी अधिकृत लेनीेले प्रविधिमार्फत नेफ्स्कूनको स्थापना दिवसको अवसरमा बधाई दिदैं नेपालको साकोस अभियानमा संघको थप प्रभावकारी भूमिकाको लागि आग्रह पनि गर्नुभएको थियो ।

संघको ३३ औं स्थापना दिवसको अवसरमा प्रमुख अतिथि मन्त्री अर्यालले केक समेत काट्नुभएको थियो भने बिहान मन्त्री अर्यालले संघको काठमाडौंको नयाँ बानेश्वरमा नेफ्स्कून भवनको शिलान्यास गर्नुभएको थियो । संघको नयाँ बानेश्वरमा हाल अवस्थित भवनको स्थानमा नयाँ भवन निर्माणको उद्देश्यसहित शिलान्यास गरिएको हो ।

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र