सोमबार, वैशाख ३१
०७:३९

जागिरे 'दबाब' छोडेर किसानी 'कमाल'

सोमबार, फागुन ३
रञ्जनमणि पौड्याल
saccosaawaj

काठमाडौं । काठमाडौंमा जागिरको दैनिक दबाब खेप्न नसकेर खेती किसानी गर्ने सोचसहित २०५९ सालमा झापा घर फर्किनुभएका दिपक नेपाल राष्ट्रिय सहकारी महासंघले आज आयोजना गरेको कार्यक्रममा सफलताको कथा सुनाउँदै हुनुहुन्थ्यो । विमान ढिलो अवतरण गरेका कारण कार्यक्रमको बिसौनीतिर पुग्नुभएका नेपालको लोभलाग्दो कृषि कर्मको कहानीले काठमाडौं र आसपासका जिल्लाहरुबाट महासंघको कार्यक्रममा सहभागी सहकारीकर्मीहरुको पूर्णतः ध्यान खिच्न सफल भयो । यसको कारण काठमाडौंको जागिरबाट विरक्तिएर घर फर्किनुभएका नेपाल र उहाँ आबद्ध समूहको सत्कर्म आज झापाको चारआली क्षेत्रमा जडीबुटी, जैविक फलफुुल र तरकारी खेती नर्सरी आदि गरी करिब १ हजार बिघामा फैलिएको छ । किसानीको ‘क’ नबुझी सुरु गरेको कर्ममा आज उहाँ अध्ययन अनुसन्धान र शिक्षामा सम्पूर्णतः होमिनुमात्र भएको छैन आफुमा भएको ज्ञान र सीप बाढ्दै अरुलाई पनि उत्प्रेरित गर्दै हिडिरहनुभएको छ । नेपाल गर्व गर्नुहुन्छ, “विगत २ वर्षयता कृषि खेती गरेरै बार्षिक ६ लाख कर राज्यलाई तिरिरहेको छु । बार्षिक आम्दानी ८० लाख जति छ ।”

महासंघले योजना गरेको 'सहकारीमार्फत फलफूल तथा वृक्षारोपण जैविक खेती प्रवर्धन' विषयक १ दिने अन्तक्रिया कार्यक्रममा समयाभावका कारण कर्मशील नेपालको अनुभव सुन्न नपाएपनि उहाँबारे यथेष्ट जानकारी राख्नुभएका कार्यक्रमका प्रमुख अतिथि महासंघका निवर्तमान अध्यक्ष केशबप्रसाद बडाल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव अनन्त कुमार बस्नेत, वातावरण विभागकी बैज्ञानिक अधिकृत सरोजा अधिकारीसँगै कार्यक्रमको अन्त्यसम्म सहभागी महासंघका अध्यक्ष मिनराज कडेल, महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ,जडीबुटी केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष इश्वरी प्रसाद पाण्डे लगायत पनि उत्सुक देखिनुहुन्थ्यो । आफ्नो सात्विक कृषि कर्मबाट हात लागेको सफलता सुनाउन महासंघको आग्रहमा झापाबाट ललितपुर आइपुग्नुभएका नेपालसँग अनौपचारिक रुपमा जान्न बुझ्न, सम्पर्क गर्न र मोबाइल नम्बर साटासाट गर्न कार्यक्रम समापनपछि सहभागीहरु उद्यत देखिनुहुन्थ्यो । 

“कृषिबाट गर्व गर्न लायक सफलता प्राप्त गर्न सकिन्छ, त्यसका लागि बजार व्यवस्थापनको मध्यस्थता सहकारीले गर्नुपर्छ,” नेपालले भन्नुभयो,“ निरन्तरता, धैर्यता र आँट भयो भने किसान सफल हुन्छ । यी तिन गुण भएर पनि असफल भइयो भने त्यसको जिम्मेवारी म लिन्छु ।” उहाँले किसानका साथमा सहकारी भयो भने व्यवस्थापन गर्न सहज हुने बताउनुभयो । ‘सहकारीले बजार व्यवस्थापन गर्ने हो भने किसानको मिहेनतले थप मुल्य पाउने नेपालले बताउनुभयो । जागिरे दबाब छोडेर किसानी रवाफ हासिल गर्न सफल नेपालले सफलता भने त्यति सजिलै पाउनुभएन ।

जागिर चटक्क छोडेर एक किलो कुरिलोको बीउ बोकेर ‘खेतीकिसानी गर्छु’ भनी नेपाल जन्मथलो फर्कनुभयो । बिक्रेताले देखाएको आम्दानीको सपना साँचेर घर फर्किएका नेपाललाई पहिलो गाँसमै ढुङ्गा पर्यो । खेती किसानी बारे यथेष्ट जानकारी र त्यसमा पनि कुरिलो खेतीको अनभिज्ञताले उहाँलाई असफलता चखायो । बीउ दिनेले कुरिलो खेतीबाट करोडौं आम्दानी हुने अविश्वसनीय अंकगणितको प्रलोभन स्वाभाविक रुपमा सफल भएन । फर्केर बीउ बेच्नेलाई खोज्न काठमाडौं आउँदा कार्यालय नै विस्थापित भैसकेको थियो । त्यसपछि अर्को कम्पनीसँग सम्झौता गरेर ५ लाख मरिचको बीरुवा उत्पादन गरेर दिने सम्झौता नेपालले गर्नुभयो । तर पछि विभिन्न कारणले सम्झौता गरेको कम्पनीले बीउ खरिद नगरेपछि अर्को असफलता बेहोर्नुपर्यो । ऋण काँढेर बीउ उत्पानदमा होमिनुभएको थियो । अब नेपालका सामु स्पष्ट दुई विकल्प थिए– या सबै छोडेर विदेश जाने वा जसरी हुन्छ गरेरै देखाउने । उहाँले दोस्रो विकल्प रोज्नुभयो । हरेश नखाई कम्पनीबाट आफुलाई धोका भएको विषय सञ्चारमाध्यममा जानकारी गराएपछि चौधरी समूहसँग नेपालको साइनो जोडियो ।

यसबीचमा पनि नेपालले बनस्पति विभागसँग समन्वयमा कृषिखेती बालीनाली, जैविक खेती, जडिबुटी आदिका बिषयमा अध्ययन अनुसन्धानपनि सँगै गरिरहनुभएको थियो । पचौली भन्ने जडिबुटीको बिरुवा खोजी भएपछि चौधरी समूहले अग्रीम भुक्तानी सहित अरु बिरुवा उत्पादन गर्न सम्झौता गरेपछि मरिचका विरुवा मारेर पचौलीको बिरुवा हालेर उत्पादन गरी ऋण समेत तिर्नुभयो । मिहेनत र लगनशीलताका साथ कर्मलाई पूजा ठानी विविधिकरणको सूत्रसहित अघि बढ्नु भएका नेपालले त्यसयता पछाडि फर्केर हेर्नुपरेको छैन ।  

“अध्ययन अनुसन्धान गरेर कृषिमा लाग्दा असफल हुने कुरै छैन, निरन्रतता भने आवश्यक हुन्छ,” उहाँले सुनाउनुभयो, “उत्पादन भए बजार व्यवस्थापन गर्न सकिन्छ त्यसका लागि सहकारीको सबैभन्दा सशक्त मध्यस्थकर्ता हुन्छ ।” कृषि पर्यटनमा रम्नुभएका नेपाललाई अहिले भ्याइनभ्याइँ काम छ । पछिल्लो समय जैविक उत्पादनतर्फ उहाँको ध्यान मोडिएको छ । उत्पादित वस्तु विदेश निर्यात हुने गरेको उहाँले बताउनुभयो । यद्यपि, नेपालको जैविक उत्पादनको प्रमाणीकरण गर्ने कार्य खर्चिलो मात्र होइन यहाँ प्रचलनमा नभएकाले भने साना किसानहरुलाई समस्या हुने नेपाल मात्र नभई कार्यपत्र प्रस्तोता सरोजा अधिकारीले पनि धारणा राख्नुभयो । जैविक उत्पादनको गुणस्तरीयता मापनको लागि राज्यको भूमिका हुनुपर्ने धारणा नेपालले राख्नुभयो । यसो हुन सक्यो भने विश्व बजारमा विश्वसनीय बढ्ने उहाँको भनाइ थियो ।

सहभागीहरुलाई लक्षित गर्दै नेपालले यस प्रकारको जैविक खेतीका लागि सहयोग, तालिम, शिक्षा मात्र नभइ बजारको लागि पनि हरसम्भव सहयोग गर्ने र सहकारीमार्फत अघि बढ्न सकिने विश्वास पनि दिलाउनुभयो । “मेरो फर्ममा अहिले ५ सय प्रजाति भन्दा बढीको बिरुवाहरु रहेको छ,” नेपालले भन्नुभयो, “केही समय अघि मात्र डेढ लाख कागतीको बिरुवा सिजन अगाडिनै बिक्री भैयो । त्यस्तै ड्रयागन फ्रुट पनि डेढ लाख बिरुवा बिक्री भयो भने अगरउडको पनि राम्रो बिक्री भएको छ ।” आफ्नो कामको विदेशीहरुले पनि अनुसन्धान गरेको नेपालले बताउनुभयो । जैविक खेती, कृषि र उत्पादनसँग सहकारीलाई जोड्नुपर्ने अभियानको नेतृत्व गर्नुभएका महासंघका अध्यक्ष कडेल नेपालको सम्बोधन चाखपूर्वक श्रवण मात्र गरिरहनुभएको थिएन बीचबीचमा जिज्ञासाहरु पनि राखिरहनुभएको थियो । यसको मुख्य ध्येय अन्य कृषि कर्मका आकांक्षीहरुलाई पनि उत्प्रेरणा मिलोस् भन्ने भाव स्पष्ट झल्किन्थ्यो ।
कुनै पनि चीजको बजार छ त्यसको लागि सहकारीको मध्यस्थता आवश्यक छ । अनि मात्र किसान सफल हुन्छ भन्ने लागेर कल्पवृक्ष कृषि सहकारी संस्था स्थापनामा पनि उहाँले भूमिका खेल्नुभयो र अब सहकारीमार्फत किसानहरुको मात्र होइन मुलुककै आर्थिक समृद्धिको यात्रा सम्भव भएको निष्कर्षमा नेपाल पुग्नुभएको छ ।

अन्तरक्रिया कार्यक्रम
आजको अन्तरक्रिया कार्यक्रमको महासंघका अध्यक्ष मिनराज कडेल र निवर्तमान अध्यक्ष केशव बडालले अम्बाको बोटमा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले कार्यक्रमको औचित्यका विषयमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका उपसचिव अनन्त कुमार बस्नेत र वातावरण विभागका बैज्ञानिकिकरण अधिकृत सरोजा अधिकारीले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।  महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी अभियान उत्पादन र व्यवसायसँग जोडिदै गएको बताउँदै कृषि, जलस्रोत र पर्यटन क्षेत्रमा सहकारीले महत्वपूर्ण कार्य गर्ने बताउनुभयो भने निवर्तमान अध्यक्ष केशब प्रसाद बडालले सहकारीले दिगो विकासमा टेवा पुर्याउनुपर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा काम गर्नुपर्ने बताउनुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै भूमि व्यवस्था सहकराी तथा गरिवी निवारण मन्त्रालयका उपसचिव अनन्त कुमार बस्नेतले सरकारले भूमि बैंक स्थापना गरेर उत्पादन बृद्धि गर्न लागेको बताउनुभयो । उहाँले नेपालमा अझै पनि वार्षिक २ लाख मेटिक टन फलफुल आयत हुने र ११ अर्ब रुपैयाँ बाहिर पठाउनुपर्ने अवस्था रहेकाले सहकारीमार्फत फलफुल खेतीमा जोड दिनुपर्ने धारणा राख्नुभयो । वातावरण विभागकी बैज्ञानिक अधिकृत अधिकारीले जैविक खेतीका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले दिगो कृषिका लागि पीजीएस सर्टिफिकेट सिस्टम नेपालले अवलम्बन गरेर अगाडि बढ्न सक्ने धारणा राख्नुभयो । किसानकै सहभागीतामा उत्पादनको गुणस्तर मापन गर्ने यो प्रणाली विश्वभरि लोकप्रिय रहेको उहाँले बताउनुभयो । कार्यक्रममा वातावरण विभागका उप निर्र्देशक इन्दुकुमार जोशीले राष्ट्रिय हितका लागि सहकारीमार्फत फलफुल तथा बृक्षारोपण तथा जैविक खेती प्रवर्धन गर्नु  हितकर हुने धारणा राख्नुभएको थियो । 

कार्यक्रममा महासंघका कार्यक्रम अधिकृत सुरेश थापाले संचालन गर्नुभएको थियो । कार्यक्रममा विरुवा समेत वितरण गरिएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा भएको  कार्यक्रममा महासंघले फलफुल तथा औषधीजन्य विरुवा समेत वितरण गरिएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र