शनिबार, वैशाख १५
०१:०८

परियार परिवारको प्रगतिमा ‘सामुदायिक’ साथ 

शुक्रबार, माघ ३०
रञ्जनमणि पौड्याल
saccosaawaj

भनिन्छ, 'दुःख पछि सुख आउँछ' । तर बिना मिहेनत सुख सम्भव छैन । मिहेनतबाट मोहोर फलाउन महत्वपूर्ण मोडहरुमा सहयोगी हात र भाव चाहिन्छ । दुःखजिलो गर्दै संघर्षका पाइलाहरु निरन्तर चाल्दा सफलता  रसास्वादन गर्न पाइन्छ भन्ने आत्मविश्वास काभ्रेको पनौतीस्थित टौखाल नगरपालिका वडा नं ४ का विनोद र दुर्गा परियारको ७ सदस्यीय परिवारलाई अहिले पलाएको छ । करिब ३ दशकअघि बौद्धमार्गीहरुले प्रयोग गर्ने हस्तकलाका सामान बिक्री बाट जीविकोपार्जन सुरु गरेको परियार परिवारको प्रयास अहिले सोही व्यापारलाई उद्यममा परिणत गरी १० जनालाई रोजगारी प्रदान गर्न सफल भएको छ ।

व्यापारबाट थपिएको ऋणको भारी बिसाउने चौतारी बनेको हस्तकला उद्यमका उपजहरु आज तिब्बत, भुटान, भारत, मलेसिया र अमेरिका सम्म निर्यात हुन्छ । प्रारब्धले व्यापारलाई तिलाञ्जली दिएर उद्यममा होमिनुपर्ने श्रीमानको बाध्यतामा श्रीमती र कलिलो उमेरको माहिलो छोरो, छिमेकको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को साथ र सहयोगले परियार परिवारका दिनहरु पारिला बन्न थालेको ‘प्रोट्यागोन्स्टि’ बिनोद सुनाउनुहुन्छ ।

सफलताको सूत्रपात 
पनौती–४ टोखालस्थित मुल सडकको बाटोमुनि ठूलो कोठामा परियार परिवारका ३ सदस्यसँगै अन्य ६ जना दैनिक ‘लामा टोपी’, बौद्ध धर्मावलम्बीहरुले मुर्ति ढाक्ने र सजाउने रंगीन लुगा, पुजाको रुमाल आदि बनाउन जुट्छन् । दाहिने कुनामा राखिएका केवल ३ वटा लुगा सिउने मसिन ३ प्रकारका हस्तकला उत्पादनमा प्रयोग हुने प्रमुख अस्त्र हुन् । धेरै सिलाई हातले गर्नुपर्छ । १० जना लागिपर्दा दिनको २० वटा टोपी बन्छ । खटेर गर्दा एउटा टोपी बनाउँदा ज्याला बाहेक करिब ११ सय खर्च हुन्छ, १४ सय सम्म बिक्री हुन्छ । 

उक्त समूहको अर्को काम बौद्धमार्गीहरुले प्रयोग गर्ने ‘कुनाम्चा’ भन्ने मूर्ति लुगाको सेट बनाउने हो । एक सेटमा ४ वटा कपडा र ४ टोपी हुन्छ, ती सब तयार गर्न एक जनालाई करिब ५ दिन लाग्छ । कुनाम्चा सेट १५ हजार रुपैयाँमा बेच्ने गरेको बिनोद बताउनुहुन्छ । बजारमा कपडा, गुणस्तर, आकार हेरेर करिब २६ हजारसम्म बेच्ने गरेको उहाँले सुनाउनुभयो ।  त्यसैगरी, रंगीन रुमाल पनि त्यही कोठामा तयार हुन्छ । एउटाले दिनमा ३ वटा सम्म रुमाल बनाउन सक्छ जुन बौद्धमार्गीहरुले टेबलमा मूर्तिहरु राख्न आधार र सजावटको लागि प्रयोग गर्दछन् । एउटा रुमाल बजारमा १८ सय सम्म बिक्री हुन्छ, बनाउँदा करिब १३ सय लगानी पर्छ । हेर्दा सामान्य लागेपनि बौद्धमा रहेका १ जना र आफु समेत नेपालमा २ जनाले मात्र यस्तो काम गर्ने बिनोदले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “माग कुरेर बस्नु पर्दैन, काम गरिरहँदा कही न कहीबाट आइहाल्छ ।”

उत्पादनमा कालो फोम, कपडा, ट्रेकिङ म्याट, आदि सामान्य कच्चापदार्थ प्रयोग भएपनि कठिन शिल्प छ । दैनिक बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म १० जनाको खटाइ छ । संख्याका आधारमा आम्दानी गर्ने महिलाहरु प्रायः १० बजेबाट करिब ६ बजेसम्म काम गर्छन् । एक जनाले औसतमा दिनमा ६ सय बढी कमाउछन् भने खाजा खाना र बस्ने व्यवस्था त्यही गरिएको तलबी पुरुष कालिगढहरुले पनि कमाइ राम्रो छ । श्रीमती बाहेक ३ महिला अनि बाबु छोराबाहेक ४ जना पुरुष आबद्ध उद्यम २०७२ सालको भूकम्पपछि पनौतीको बाटामुनिको कोठामा सरेको हो । उक्त परिवारको पछिल्लो उपलब्धि बाटोमाथिको सर्टिङ सुटिङ पसल पनि बनेको छ । 

संघर्षका दिनहरु
परियार परिवारको २०४९ सालदेखि ६५ सालसम्म काठमाडौंको दरबारमार्गमा बौद्ध धर्मावलम्बीहरुले प्रयोग गर्ने हस्तकलाका सामानहरुको पसल थियो । शसस्त्र द्वन्दको चपेटामा परेर विदेशी पर्यटकहरुको आगमन पातलिएसँगै व्यापार संकटमा पर्यो । महंगो भाडा र महंगो सामाग्री नै विनोदको लागि अभिशाप बन्यो । अब त होला कि भन्ने आश गर्दा गर्दै करिब २० लाख डुब्यो । थेग्न नसक्ने भएपछि सामान ल्याएर पनौतीमा पसल खोल्नुभयो । त्यहाँ पायक नपरेपछि २०७२ सालको भूकम्पपछि पनौती घर नजिक सरेर उद्यममा लाग्नुभयो । 

श्रीमानले नेपालबाट हस्तकलाका सामान अन्य २–४ जना व्यापारीहरुसँग मिलेर भारतको बोधगया लगी ३–४ महिना व्यापार गरी करिब ४ लाख जति ल्याएपनि परिवारसँग आफ्नै मुलुकमा बसेर काम गर्नुपर्छ भनी अठोट गरेको पत्नी दुर्गाले सुनाउनुभयो । त्यसबीच आफुले बालुवा चाल्ने र भारी बोक्ने काम समेत गरेको उहाँले बताउनुभयो ।

२०६९ सालमा भेट भएका एक जना बौद्ध गुरुले बिनोदलाई दुई पटक टोपी बनाउने जिम्मा दिनुभयो । “काम पाएपनि अरुलाई गर्न लगाएर  मध्यस्थतामा सीमित भएँ, सिलाई जान्दिनथेँ,” भावूक बन्दै बिनोदले बताउनुभयो,“ पछिल्लो पटक काम दिएका व्यक्ति पैसा लिएर भागेपछि समयमै टोपी बनाउन कठिन भयो । घरसल्लाह पछि काम नभएका दाजुभाईलाई लगाएँ । १ महिना काम गरेर २ सय टोपी बनाएपछि उनीहरुले भाउ खोजेँ । धेरै गमेपछि जे पर्ला पर्ला भनेर दम्पती आफै सिलाउन र बुन्न थाल्यौं ।” प्रतिकुलता नै गुरु बन्यो । माग बढ्दै गयो, क्रमिक रुपमा दिनहरु सुधारोन्मुख भए । केही ऋण थपिएपनि उद्यमशिलता, सीप परिश्रम, कमाई र आत्मसम्मान बढेको विनोदको निष्कर्ष छ । 

फेरिएको समय
७ जनाको परिवार अहिले त्यही उद्यमबाट पालिएको मात्र होइन, ऋणको किस्ता तिर्न, परिवारका सबै सदस्यको मासिक बचत गर्न, छोराछोरी पढाउन, अरु ७ जनालाई रोजागारी दिन र मुलुकभित्रै यस्तो सामाग्रीहरुको उत्पादनमा जोडिन मात्र होइन विदेशमा समेत निर्यात गर्न सफल भएको छ । “विदेश भन्दा स्वदेश र व्यापार भन्दा उद्यम ठीक ठानेर हात हालेँ । अहिले खुसी छु ।” उद्यमसँगै दुःखले हुर्काएका सन्तानको पढाइ र आचरणबाट समेत पुलकित हुनुहुन्छ विनोद, “ठूली छोरीले स्नातक सकिन् । उनी आइइीएलटीएस गरेर अष्ट्रेलिया र १२ कक्षा उक्लेको माहिलो छोरो थप अध्ययनका लागि चीन जाने चाजोपाँजो मिलाउदैछन्, कान्छा ८ मा पढ्छन् । तर उनीहरु पनि पढाइ सकिएर नेपाल फर्कन्छन् भन्ने विश्वास छ ।” 

सामुदायिकसँगको साइनो
सामुदायिकको स्थापनाकालदेखि नै विनोदको बुबा आबद्ध हुनुहुन्थ्यो । श्रीमती पछि सदस्य हुनएको हो । अहिले सन्तानहरु सबै सहकारीमा सदस्य छन् । “मेरो १ हजार, श्रमतीको ५ सय र छोराछोरी प्रत्येकको २ सय रुपैयाँ मासिक बचत गर्छौं,” उहाँले भन्नुभयो, “अहिले सामुदायिकमा करिब १७ लाख ऋण छ तर मासिक घटाउँदै लगेका छौं, बेरोकटोक काम भयो भने २ वर्षमा तिर्न सक्छु । परिवारका सबैको मासिक बचत पनि छ । उहाँले सामुदायिकको साथ नभएको भए अहिलेको अवस्थामा उक्लन कठिन हुने उहाँले बताउनुभयो । विनोद भन्नुहुन्छ, “उद्यम गर्न खोज्दा सहजतापूर्वक सरल ब्याज दरमा वित्तीय सहयोग नपाएको भए डुबिसकेको परिवार तैरन कहाँ सक्थ्यो र ?” 

saccosaawaj media

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

सोमबार, साउन ५

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

saccosaawaj media

अब्बल साकोस नेतृ सीमा

आईतबार, साउन २५

अब्बल साकोस नेतृ सीमा

saccosaawaj media

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’

आईतबार, साउन २५

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’