बुधबार, वैशाख १२
१०:३१

अब्बल साकोस नेतृ सीमा

आईतबार, साउन २५
saccosaawaj

सीमा पुरी

सञ्चालक, जिल्ला बचत तथा ऋण सहकारी संघ लि.काठमाडौ (कास्कून) एवम्
अध्यक्ष, सज्जन महिला साकोस 


नेपालको साकोस अभियानमा सफल नेतृत्व पंक्तिमा परिचित नाम हो सीमा पुरी । वि.सं. २०३२ साल जेठ २३ गते दाङ जिल्लाको बंगलाचुली गा.पा. स्यूजा, छापमा पिता स्व. तेज बहादुर पाण्डे र माता भिमा देवी पाण्डेको कोखबाट पहिलो सन्तानको रुपमा जन्मिनुभएकी पुरीको सहकारी जीवनयात्राले अत्यन्त रोचक मोड लिएको छ ।

निरन्तर सहकारीकर्ममा जुट्नुभएकी पुरीको शैक्षिक यात्रा एस.एल.सी.उर्तिण सम्म छ । औपचारिक शैक्षिक अध्ययनको उच्चतालाई पछ्याउन छाडेर पनि सहकारी कर्म र साहित्यिक यात्रामा रुची राख्ने पुरीले परी कथा संग्रह मार्फत आफ्नो परिचयमा नयाँ उचाई थप्नुभएको छ । विश्वविद्यालयको ढोका टेक्ने अवसर नमिले पनि आफ्नै जीन्दगीका गहिराईको अध्ययनबाट जीवन भोगाइमा विज्ञता हासिल गरेको उहाँको अनुभव छ । उहाँको अबको योजना छ, सहकारीको यात्रासँगै अगाडि बढेको साहित्य यात्रालाई निरन्तरता दिने ।

सहकारी प्रवेशः वि.सं. २०५५ सालमा चावहिल काठमाडौंमा रहेको सवारी चालक बहुउद्देश्यीय सहकारी संस्थामा कर्मचारीको रुपमा प्रवेश गर्नुभएकी पुरी  ४ बर्ष बजार प्रतिनिधि, ४ बर्ष नगद परिचालक हुँदै काठमाडौ बहुउद्देश्यीय सहकारी संस्थामा ५ बर्ष कर्जा प्रमुख रहनुभयो । काठमाडौं महानगरपालिका वडा नं. ६ का स्थानीय दिदीबहिनीहरुले एकजुट भएर केही काम गर्न देखाएको उत्सुकतालाई सम्बोधन गर्दै ३ बर्ष महिला समूहमा पनि क्रियाशिल भएर लाग्नुभयो । महिला समूहलाई मूर्त रुप दिदैँ २०६६ सालमा सज्जन महिला बचत तथा ऋण सहकारी संस्था दर्ता गर्नुभयो । सोही क्रममा काठमाडौं महानगरपालिकामा क्रियाशिल महिलाहरुको समूह भनेर पहिलो पटक महानगरपालिकाले महिला समूहलाई पुरस्कृत पनि ग¥यो । काठमाडौं बहुउद्देश्यीय सहकारीको रोजगारी छाडेर २०७० साल श्रावणदेखि सज्जन महिला साकोसको कार्यकारी अध्यक्ष रहनुभयो । २०७४ सालमा सहकारी ऐन जारी भयो । ऐनले सहकारी संस्थामा कार्यकारी बस्न नपाउने व्यवस्था गरेसँगै उहाँले २०७५ सालबाटै व्यवस्थापकमा कर्मचारी नियुक्त गरी अध्यक्षको नेतृत्व सम्हाल्दै आउनुभएको छ भने काठमाडौं जिल्ला बचत संघमा सञ्चालक समेत हुनुहुन्छ । 

‘महिला उद्यमी बनेर देखाउँ, आत्म निर्भर भएर बाचौँ’ भन्ने मूल नारा लिएर २०६६ साल पौष १२ गते दर्ता भएको कामनपा ६, माहांकालमा सञ्चालित सज्जन महिला साकोसमा १४ सय ८० जना शेयर सदस्य, १ करोड ३४ लाख शेयर पूँजी र ११ करोडको वासलात छ भने नेफ्स्कूनको साकोस स्तरीकरण कार्यक्रम कव्र्समा पनि आवद्ध छ । स्थानीय महिला दिदीबहिनीहरुमा उद्यमशीलता विकास गरी आत्मनिर्भर बनाउन साना तथा मझौला उद्योगमार्फत लघु उद्यम प्रबद्र्धन गर्न बर्षमा ५० लाख न्यूनव्याजदरमा ऋण प्रवाह गर्ने नीति संस्थाले लिएको छ । महिलाहरुले ससानो लगानीबाट गर्न सक्ने कौसी खेती प्रबद्र्धन गर्न पनि सहकारीले आवश्यक सहुलियत ऋण र प्राविधिक ज्ञान प्रदान गर्ने योजना अगाडी सारेको छ । साथै दीगो बचतको अवधारणा विकास गर्न सदस्यहरुमा अनिवार्य बचतको शिक्षालाई पनि विभिन्न माध्यमबाट अगाडि बढाइरहेको छ । 
 
लकडाउन अनुभव 
मान्छेलाई कुनैपनि प्राकृतिक प्रकोपले आफ्नै घरभित्र बन्दी बनाउन सक्दो रहेछ । मान्छे जुनसुकै अवस्थामा बस्नु परेतापनि समयको सदुपयोग गर्न केही कुराले छेक्न सक्दैन भन्ने यो लकडाउनले प्रष्ट पारेको छ । भविष्यमा आइपर्न सक्ने समस्या समाधानका लागि बचतको महत्व कोभिड १९ को बन्दाबन्दीले राम्ररी सिकायो । जीवनमा अलिअलि गर्दै बचत गर्नु अनिवार्य रहेछ भन्ने कुराको अनुभव मैले धेरैजनाबाट बटुलेँ र सदस्यहरुलाई पनि बचतको महत्वका बारेमा जानकारी गराउँदैछु ।

बन्दाबन्दीमा सहकारीको भुमिका 
सहकारी सुख दुखको साथी हो । सहकारीका सदस्यहरुले आफुलाई पर्न सक्ने समस्याको वित्तीय समाधानका लागिसहकारीलाई मुलघरको रुपमा लिएका हुन्छन । त्यसैले म सँधै 
सहकारी संस्था अभिभावक र सदस्यहरु सन्तान मानेर भुमिका निर्वाह गर्नुपर्छ भन्ने मान्यतामा विश्वास गर्छु । सदस्यहरुलाई परेका समस्या समाधानका क्रममा सदस्यको स्वास्थ्य, खानपिन तथा सुरक्षाको बारेमा संस्था जानकार रहनुपर्छ र सदस्यको आवश्यकता पहिचान गरि सहयोग गर्ने तथा सचेतनाका कुराहरु सदस्यमाझ पु¥याउनुपर्छ भन्ने मेरो मान्यता छ । कोभिड १९ को बन्दाबन्दीका समयमा पनि सदस्य हेरचाहमा सज्जन महिला साकोसको सम्पूर्ण टीम नै खटेर लागेको छ । सो समयमा सदस्यहरुको आवश्यकतालाई संम्बोधन गर्दै सदस्यहरुकै सहयोगमा सहकारीले सदस्यहरुप्रति अभिभावकको भूमिका निर्वाह गरेको छ । 

लकडाउनमा सुरक्षा तथा सचेतनाको अवस्था

महामारीका समयमा सहकारीले आफ्ना सदस्यहरुलाई निरन्तर सम्पर्क गरिरहने, सम्भावित जोखिमबाट कसरी सुरक्षित रहन सकिन्छ भनि जानकारी गराउने विषयलाई महत्व दिइयो ।  यस सन्र्दभमा सज्जन महिला साकोसले निरन्तर सदस्यहरुलाई सम्पर्क गरि स्वास्थ्य स्थिती, खाद्यान्न तथा औषधी बारे सोधपुछ गरिरह्यो । विभिन्न संघ संस्थाको सहयोगमा सचेतना तथा सुरक्षाको लागि मास्क, स्यानीटाइजर वितरण गरियो । कार्यालयमा कर्मचारी सुरक्षाका लागि भाइरस संक्रमणबाट सुरक्षित रहने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) पन्जा र मास्कको व्यवस्था गरियो । कार्यालयमा उपस्थित हुने सदस्यहरुको लागि हात धुने व्यवस्था तथा ज्वरो मापनको लागि थर्मल गन प्रयोगमा ल्याइयो । 

बन्दाबन्दीको अवस्थामा सञ्चालक समिति र व्यवस्थापन कर्मचारीहरुबीच सुमधुर सम्बन्ध कायम गर्दै कसरी सदस्य सुरक्षा र सदस्य सन्तुष्टि का लागि क्रियाशीलता बढाउन सकिन्छ भन्ने विषयमा कार्य गरियो । बन्दाबन्दीको अवस्थामा पनि निश्चित कार्यालय समय तोकेर कार्यालय सञ्चालन तथा सेवा प्रवाह निरन्तरतामा जोड दियौं । महामारीका समयमा संस्थाका सदस्य तथा गैर सदस्यहरुलाई मानवीय सहयोग गर्न सहकारीका सञ्चालक, विभिन्न समिति उपसमितिका सदस्यहरु, विभिन्न संघसंस्था, समाजसेवी, कर्मचारीहरु लगायत विभिन्न दाताहरु मार्फत सहयोग संकलन गर्दै ३ सय ६५ परिवारलाई विभिन्न चरणमा गरी राहत स्वरुप खाद्यान्न वितरण गर्यौं । महामारीका समयमा खाद्यान्न अभाव भएका परिवारहरुको पहिचान गरी आवश्यक खाद्यान्न वितरण अभियानमा सज्जन महिला साकोसको पुरै टिम निरन्तर खटेको छ । भोकै कोहि नपरोस् भन्ने उद्देश्यले हामीले थालेको अभियानमा सबैको साथ सहयोग रहेको छ । खाद्यान्न अभाव भई भोकै बस्ने अवस्था आएको भनि कार्यालयमा आएमा आजपनि खाद्यान्न प्याकेजको व्यवस्था गरिरहेका विभिन्न दाताहरु सँग खाद्यान्न तथा नगद संकलन गरि संस्थाबाट प्याकेज बनाई वितरण गर्ने काममा निरन्तर लागिरहेकै छौै ।

लकडाउनका कारण संस्थामा पर्न सक्ने असर 
२०७६ चैत्र ११ गतेदेखि शुरु भएको लकडाउन अmभै जारी छ । लामो समय सम्मको लगातारको बन्दाबन्दीको असर समग्र राष्ट्रिय  अर्थतन्त्रमा परेको छ भने सहकारी र सहकारीका सदस्यहरुले पनि यसको चरम पीडा भोग्नुपरिरहेको छ । सरकारले लकडाउनको प्रारुपमा सामान्य फेरबदल गरेपनि सबैजसो व्यवसाय सञ्चालनमा आउने परिस्थिति बनिसकेको छैन । जसले गर्दा सदस्यले ऋणको किस्ता तिर्न, नियमित बचत गर्न समस्या छ । संस्थामा तरलता समस्या पनि बढेर गएको छ । भएको पूँजीको लगानीको बातावरण छैन, र उठ्नुपर्ने ऋणको किस्ता पनि भाखा नाघिरहेको छ । ऋणी सदस्यहरुलाई थप ऋण प्रवाह गर्नुपर्ने अवस्था छ । 

यस बर्ष संस्थाले तय गरेको व्यावसायिक योजना र बार्षिक लक्ष्य हासिल गर्न सक्ने अवस्थाको अन्त्य भएको छ । साथै बन्दाबन्दीले शेयर लाभांश वितरणमा समस्या, असार मसान्त सम्म व्याज असुलीमा समस्या, ठूला  व्यवसाय गर्ने सदस्यहरुका लागि गरिएको ठुला लगानीको साँवा र व्याज भुक्तानीको समस्या, भाखा नाघेको ऋणमा बृद्धि र नकमाउने सम्पत्ति बृद्धि भएर अन्य कोषहरुमा समेत असर पर्ने देखिएको छ ।

 सदस्यको संस्थासँग अपेक्षा
सदस्यहरुकै आर्थिक आवश्यकता पुरा गर्न र सदस्यको सुख दुखमा साथ दिन सदस्यहरुबाटै स्थापना भएको संस्था हो सहकारी । सुखमा भन्दा पनि दुखमा सदस्यले सबैभन्दा पहिले सम्झने भनेको आफ्नै संस्थालाई हो ।  त्यसकारण सदस्यले अप्ठ्यारो परिस्थितिमा ऋणको व्याजमा छुट, ऋणमा म्याद थप तथा पुर्नकर्जा सचेतना तथा सुरक्षाको अनुभुति र व्यवसाय सञ्चालनमा सहि परामर्शको अपेक्षा गरेका हुन्छन् । त्यसका लागि हामीले उचित सम्बोधन गरेका छौं । 

लकडाउनमा सदस्यसँग सम्बन्ध 
यस अवधिमा अभिभावकले गर्ने भूमिका साकोसले निर्वाह गरेको हुँदा सदस्यहरुको विश्वास र साथ निरन्तर रहेको छ  । सदस्यसँग निरन्तर सम्पर्कमा रहेको कारणले कारोवार सुचारु र सेवा जुनसुकै बेलामा लिन सक्छौ भनि सदस्य ढुक्क भएको अवस्था छ भने लकडाउन अवधिमा व्याजमा १० प्रतिशत छुट, सहुलियत व्याजदरमा व्यवसाय सञ्चालन गर्न थप कर्जा प्रदान गर्दै आएका छौ । संस्थाप्रति सदस्यको गुनासो छैन भन्नेमा हामी ढुक्क छौं । 

कर्मचारीको भूमिका 
लकडाउनको अवधिभर कर्मचारीको भूमिका अन्य समयमा भन्दा पनि बढी उल्लेखनिय र प्रशंसनिय रहेको छ । सदस्यलाई घरदैलो सेवा, राहत संकलन प्याकेज तयार गर्ने, सदस्यसँग फोन सम्पर्क र सदस्यले भने र मागे अनुसारको सेवामा कर्मचारीहरुलाई दिइएको जिम्मेवारी अनुसार सुरक्षा सचेतना अपनाउँदै निरन्तर सदस्य सेवा प्रवाहमा जुटिरहेका छन् ।

सहकारीमा महिलाको भुमिका 
भनिन्छ महिला पुरुष एक रथका दुई पाङग्रा हुन् र रथलाई सन्तुलनमा चलाउन दुवै पाङग्रा एक गतिमा चल्दा यात्रा सजिलो र गन्तव्य सहज हुन्छ । सहकारीको सन्दर्भमा महिलाको भुमिका अवसर, सम्भावना र चुनौतीको रुपमा पाएको छु । महिलाले अवसर पाएका छन् जस अनुसार आफ्नो जिम्मेवारी राम्रोसँग निभाएका छन् र अझ धेरै अवसरको अपेक्षा गरिरहेको र अवसर पाए धेरै राम्रो योगदान गर्न सक्ने टिमको विकास भैरहेको छ । महिलाको लागि आफुलाई प्रमाणित गरी समाजमा, सहकारी मार्फत विकास गर्न सकिन्छ भन्ने सम्भावना महिलाले धेरै मसिनो सँग केलाउन सक्छन् ।

यति हुँदा हुँदै पनि महिलालाई सहकारी क्षेत्रमा चुनौतीको सामना धेरै गर्नुपर्ने अवस्था आज पनि छ । सहकारी महासंघ र सहकारी बैंक, विभिन्न जिल्ला संघ लगायत प्रारम्भिक सहकारी संस्थाहरुमा आज पनि महिलाहरुलाई आरक्षणको बाध्यताले मात्र न्यून अवसर प्रदान गरेको छ । 

जतिले अवसर पाए यस क्षेत्रमा योगदान  गरेकै छन् । सहकारी क्षेत्रबाट हरेक घर, टोल, समाज, समुदाय र देशको विकास गर्न अझ सहज हुनेछ अतः महिलालाई क्षमता अनुसार अवसर प्रदान गर्नुपर्दछ ।

तयारः राधा पौडेल, सञ्चार अधिकृत, नेफ्स्कून ।

saccosaawaj media

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

सोमबार, साउन ५

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

saccosaawaj media

अब्बल साकोस नेतृ सीमा

आईतबार, साउन २५

अब्बल साकोस नेतृ सीमा

saccosaawaj media

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’

आईतबार, साउन २५

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’