शनिबार, वैशाख १५
०६:३३

पोखरेली सहकारीकर्मी थापाको साइकलप्रेम र G-9 समूह

बुधबार, माघ १४
रञ्जनमणि पौड्याल
saccosaawaj

उमेरले उहाँ ६५ उक्लिनुभयो । शरीरबाट रोग केही वर्ष अघि नै डेरा सर्यो । टेलिफोन संवादमा आवाज दर्बिलो सुनिन्छ । भ्रमणको पारखी उहाँ अझै पनि दैनिक ठाउँ फेरी फेरी पोखराका प्रत्येक चोक, गल्ली, थुम्काथुम्की पुग्नुहुन्छ । जीवनको दोश्रो इनिङ्गसमा समेत उहाँमा स्फूर्ति र ताजगी भरपूर छ । यी सबै सकारात्मकताको कारक तत्व मान्नुहुन्छ– विगत ८ वर्षदेखि नियमित बनेको उहाँको साइकल यात्राको शारिरीक अभ्यास । 

कास्कीको पोखरा- १५ रामबजारका साइकलप्रेमी सहकारीकर्मी निरज थापा रहरले सुरु गरेको साइकल यात्रा अब दैनिकी बनेको स्वीकार्नु हुन्छ ।  यसले आफुलाई नयाँ जीवन प्रदान गरेको उहाँ बताउनुहुन्छ । पोखरा- १५ रामबजारस्थित संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष थापा भन्नुहुन्छ, “साइकल चढ्नु करिब ६ महिना अघिसम्म मलाई सुगर र प्रेसर थियो, चिकित्सकको सल्लाहमा औषधि पनि खाएँ तर जब साइकल चढ्न शुरु गरेँ, त्यसको केही समयपछि रोग अलप भयो ।”

शारिरिक व्यायाम आज धेरै वयस्कहरुको रहर र अधिकांश पाकाहरुको  बाध्यता बनेको छ । ‘मर्निङ वाक् र जगिङ’ संस्कृतिको पर्याय बन्न थालेको छ । शारीरिक अभ्यासका नवीन काइदाहरु अभ्यासमा छन् । यस्तोमा थापाको ध्यान साइकलको पाङ्ग्रातर्फ गुड्यो । “हिजोआज स्वास्थ्य सम्बन्धी विभिन्न रोगबाट मानिसहरु प्रताडित छन् । मसालेदार खानपान र सौखिन जीवनशैलीका कारण रोगको रापले धेरैलाई पोलिरहेको छ, ” उहाँ भन्नुहुन्छ, “यस्तोमा नियमित साइकल चढ्नाले रोग लाग्नबाट बचाउने मात्र होइन लागेको रोग पनि निको पार्छ । हुनत् साइकल नै चढ्नुपर्छ भन्ने छैन तर यो उत्तम छ । ” शारिरीक व्यायामहरुमध्ये पौडीलाई सबैभन्दा उत्तम मानिन्छ भने दोस्रोमा साइकल यात्रा (साइक्लिङ) पर्ने थापाले सुनाउनुभयो । भन्नुहुन्छ, “स्वास्थ्य, वातावरण, पर्यटन–के मात्र फाइदा छैन साइकल यात्राको ?”

स्याङजाबाट पोखरा झरेको थापा परिवार विगत ६ दशकदेखि पोखरामा स्थायी बसोबासरत छ । नियमित साइकल चढ्ने थापा र उहाँका साइकलप्रेमी सखाहरु मिलेर एउटा समूह समेत गठन गर्नुभएको छः G-9 । शुरुमा ९ जनाको समूह बनेकोले G-9 नामाकरण गरेपनि अहिले सदस्य बढेको थापा सुनाउनुहुन्छ । उक्त समूह प्रत्येक बिहान साढे ५ बजेदेखि करिब ८ बजेसम्म नियमित १५ देखि २० किलोमिटरसम्म साइकल यात्रामा निस्कन्छ । यात्राको बिशेषता भनेको समूहका सबै सदस्य सहकारीकर्मी हुनुहुन्छ र उहाँहरु प्रत्येक दिन फरक ठाउँ पुग्नुहुन्छ 'Help Environment and Tourism' भन्ने नारा नै तय गरेको छ उक्त समूहले ।

श्यामकृष्ण श्रेष्ठ, रामनारायण श्रेष्ठ, चिन्तामणि बाँस्तोला, प्रकाश बज्राचार्य, अनिल श्रेष्ठ, तुलसी कुमार श्रेष्ठ, मनोज कुमार श्रेष्ठ, विष्णु तण्डुकार, मोहन सिंह लालचन, विनोद श्रेष्ठ लगायतको साइकलप्रेमीहरुको समूह करिब ६ वर्षअघि बनेको हो । समूहमा थापासँगै श्याम कृष्ण र विनोद  अध्यक्ष हुनुहुन्छ भने चिन्तामणि सचिव, रामनारायण श्रेष्ठ निवर्तमान अध्यक्ष, प्रकाश निवर्तमान सचिव र तुलसी कुमार निवर्तमान कोषाध्यक्ष हुनुहुन्छ । बाँकी सेयर सदस्य हुनुहुन्छ । यसरी सहकारीकर्मीहरुबीचको साइकल सहकार्यले अभियानलाई पनि पक्कै सहयोग पुर्याएको विश्वास गर्न सकिन्छ ।

साइकलसँगको यतिलामो संगतले उहाँलाई पोखराका प्रायः सबै समथर भूभाग, गल्ली, चोक हुँदै विकट तर रमणीय डाँडाकाँडा, खोल्सा खाल्डाहरुसँग साइनो जोडिदिएको छ । लत जस्तै बनिसकेको थापाको साइकल यात्रा सिकलेस, सिरुबारी, सोरेक हुँदै लुम्बिनी र रारासम्म पुगेको छ । रारा भ्रमण भने पूर्णत साइकल मात्र नभई बस र साइकलको मिश्रण भएको थापाले जानकारी गराउनुभयो । उहाँ भन्नुहुन्छ, “वातावरण, पर्यटन र स्वास्थ्यका लागि साइकल ।” थापासँग हाल जाइन्ट कम्पनीको माउन्टेन वाइक छ । ७ वर्षदेखि एउटै साइकल चढिरहेको उहाँ सुनाउनुहुन्छ, त्यतिबेला करिब ६५ हजार रुपैयाँमा किन्नुभएको थियो थापाले । हाल G-9 समूहका सदस्यहरुसँग १ लाख १५ हजार रुपैयाँसम्मको साइकल छ ।

साइकल भन्दा अघि सुरु भएको थियो थापाको सहकारी यात्रा । सुन्दा दोहोरिने बाक्य भएपनि खासमा थापा र उहाँका मन मिल्दा मित्रहरुले सहकारीको परिकल्पना गर्दाको उद्देश्य थियो–पिछडिएको बैंक तथा वित्तीय संस्थाहरुसँग पहुँच नपुग्ने वर्गहरुलाई पनि आर्थिक सामाजिक गतिविधिमा सक्रिय बनाइ जीवनस्तरमा थोरै भएपनि परिवर्तन ल्याउनुपर्छ । यसैकारण  २०६१ सालमा संगम सहकारीको जन्म भयो । सामूहिक छलफलले सहकारीतर्फ डोहोर्याएको थापाको ठम्याइ छ । “२१ हितैषीको प्रारम्भिक भेलाले प्रक्रिया अघि बढयौं र पछि ६० जना मिलेर ६० हजार सेयर पुँजीबाट २०६१ साल बैशाख १ गते संगम बचत तथा ऋण सहकारी स्थापना भएको थियो” संस्थापक उपाध्यक्ष थापाले भन्नुभयो, “अहिले संस्थामा वृद्धि राम्रो छ ।”

सबैजना नित्य साइकल यात्रामा निस्कन विविध कारणले सम्भव नभएपनि प्रत्येक शुक्रबार भने सबैको साइकल जमघट हुन्छ । अघिल्लो दिन सल्लाह गरेर शुक्रबार भने जी–९ समूहका सबै भेला भएर साइक्लिङ जाने र सामूहिक छलफल गर्नुहुन्छ । नआउनेले जरिवाना तिर्नुपर्छ । सहकारीकर्मी साइकलयात्रीहरु भएका कारण उहाँहरुको जीवनमा ‘बचत’ असम्बन्धित कसरी हुनसक्थ्यो र ? त्यही भएर मासिक ५ सय रुपैयाँ अनिवार्य बचत संकलनको काम पनि समूहले गर्दछ र उक्त रकम आफ्नो नभई अर्को ‘स’ अर्थात् समुदायको लागि खर्चिनुहुन्छ ।

फेरि साइकलतर्फ फर्कनुहुन्छ थापा, “फ्रान्समा प्रत्येक वर्ष आयोजना हुने अन्तर्राष्टिय साइकल प्रतियोगिता ‘टोर डे फ्रान्स’ को सिको गरेर सन् २०१५ बाट ‘टोर डे पोखरा ’ पनि लगातार ५ वर्ष आयोजना गर्यौं । यो वर्ष भने कोभिडका कारण गर्न सकेनौं ।” उहाँ स्मरण गर्नुहुन्छ, पहिलो वर्ष ४ सय ८० जनाले भाग लिएको प्रतियोगितामा दोस्रो वर्ष ८ सय ६० हुँदै पछिल्लो पटक १५ सय जनाको सहभागिता थियो । यसले पनि साइकल मोह बढ्दो रहेको पुष्टि गर्दछ ।

करिब ८ वर्षको परदेश बसाइले पनि थापालाई साइकलप्रेमी बनाएको हुनसक्छ । रोजागरीको सिलसिलामा उहाँले ५ वर्ष दक्षिण कोरिया र ३ वर्ष जापानमा बिताउनुभयो । स्वास्थ्यका लागि साइकल अत्यन्तै आवश्यक भएपनि पोखराको सहर उत्पात सहकारी मैत्री भने छैन । यसबाट चिन्तित उहाँको समूहले केही समयअघि सरकारसँग बहसपैरवी अघि बढाएको छ । फलस्वरुप पोखरा महानगरपालिकाले टोर डे पोखरालाई अपनत्व प्रदान गर्ने संकेत दिएको छ । “हामीले सबै स्थानीय निकायका प्रमुखहरुको उपस्थितिमा सम्भवतः आगामी फागुनमा एउटा कार्यक्रम गर्दैछौं, सँगै नगर प्रमुख १ यस किलोमिटर साइकल मार्ग निर्माणको लागि सकारात्मक हुनुभएको छ,” थापाले भन्नुभयो,“ यसले हामीलाई उत्साहित बनाएको छ ।”

स्वास्थ्यका लागि बिहान साइकल यात्रा गर्ने G-9 समूह दिउँसो समाज बुझ्न सहकारीमा रम्छ र सँगै समूहमार्फत बचत संकलन गरेर समुदायमा सहयोग पनि गर्छ । साँच्चिकै G-9 समूहलाई ‘स’ शब्दले कति धेरै सम्मोहित गरेको रहेछ ! पोखरेली साइकलप्रेमी सहकारीकर्मीहरुको यात्रा भविष्यमा थप उचाई तर्फ लम्कोस् ।  साकोस आवाजको पनि शुभकामना ।

saccosaawaj media

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

सोमबार, साउन ५

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

saccosaawaj media

अब्बल साकोस नेतृ सीमा

आईतबार, साउन २५

अब्बल साकोस नेतृ सीमा

saccosaawaj media

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’

आईतबार, साउन २५

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’