शुक्रबार, वैशाख २१
१२:१९

सदस्यहरुको बचत सुरक्षाप्रति नेफ्स्कूनको पूर्ण प्रतिबद्धता, आशंका नगर्न आग्रह

सोमबार, वैशाख ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

ललितपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सदस्य संघ संस्थाहरुको बचत सुरक्षा संघको पहिलो प्राथमिकता भएको भन्दै उक्त विषयप्रति पूर्ण प्रतिवद्धता ब्यक्त गरेको छ । पछिल्लो समय सञ्चारमाध्यममा आएका समाचारहरुका विषयमा सदस्य संघ संस्थाहरुमा ध्यानाकर्षण भएसँगै नेफ्स्कूनले यथार्थ अवस्था प्रस्तुत गर्दै आफ्नो स्पष्ट धारणा राखेको हो । नेफ्स्कूनले सदस्य संघ संस्थाहरुको बचतको पूर्ण सुरक्षा नेफ्स्कूनले गर्ने र त्यसमा कुनै आशंका नगर्न आग्रह गरेको हो । नेफ्स्कूनले आफ्नो पछिल्लो वित्तीय अवस्था, बहसपैरवी र रणनीतिक मार्गचित्रहरुबारे जानकारी गराउँदै सदस्यहरुलाई आश्वस्त अनि विश्वस्त पारेको हो ।

नेफ्स्कून-साकोस म्यानेजर्स क्लबले आज ललितपुरमा आयोजना गरेको ‘साकोस अभियानको पछिल्लो चुनौती र सामना गर्ने उपायहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले संघको पछिल्लो अवस्थाबारे यथार्थ विवरण र जानकारीसहित बचत सुरक्षणको प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

छाता संघबाट वित्तीय अवस्थाबारे यथार्थता, बचत सुरक्षको प्रतिबद्धता र समसामयिक विषयमा भएका बहस पैरवीसँगै अभियानप्रति उठेका प्रश्नहरुबारे नेफ्स्कूनले जानकारीसँगै विश्वस्त तुल्याएको हो । 

नेफ्स्कून साकोस म्यानेजर्स क्लबका संयोजक एवम् चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गत असार मसान्त यता क्रमिक रुपमा संघको अवस्था सुदृढ भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘संघले कर्जा असूलीलाई तीब्रताका साथ अघि बढाएको छ । त्यसमा उल्लेख्य प्रगति भएको छ । सुशासनलाई प्राथमिकताका साथ अघि बढाइएको छ र हामी सदस्यहरुको बचत सुरक्षाको विषयमा कुनै पनि कम्प्रोमाइज गर्दैनौं ।’ 

अध्यक्ष ढकालले सदस्यहरुको बचत सुरक्षाको विषयमा नेफ्स्कूनले पूर्ण प्रत्याभूति गर्ने भन्दै ऋण असुलीको विषयमा पनि सबैबाट एउटै आवाज जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘असुलीको विषयमा पनि सबैको एकताबद्ध प्रायस आवश्यक छ । बचत सुरक्षाको विषय ऋण असुलीसँग जोडिन्छ नै ।’ केही अस्वाभाविक विषयमा प्रेसर क्रिएट गर्ने काम भएको भन्दै अध्यक्ष ढकालले सबै मिलेर साकोस अभियानप्रति विश्वास जागृत गराउने वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।

‘अभियानलाई सबै मिलेर बलियो बनाउनुपर्छ, ’अध्यक्ष ढकालले भन्नुभयो, ‘यसका लागि सोलिड्यारिटी चाहिन्छ । नकारात्मक नभइ सकारात्मक रुपमा विषयलाई हेर्नुपर्छ, यो हाम्रा लागि अवसर पनि हो केही गरेर देखाउने  । हामी प्रतिबद्ध छौं र तपाईहरुबाट प्राप्त सुझाव हाम्रा लागि सम्पत्ति हुनेछ ।’ 

उहाँले अगाडि भन्नुभयो, ‘हामीले गुड फेथमा काम गरेका छौं । केही समस्या थिए तर ती बिस्तारै समाधान हुँदै छन् तर बाहिर सञ्चारमाध्यममा आएको जस्तो भयावह स्थिति होइन । तपाईहरु ढुक्क हुनुहोस् । नेफ्स्कूनले बहकावमा आएर काम गर्दैन ।’ 

अध्यक्ष ढकालले कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष आदि सहकारी ऐनका व्यवस्था कार्यान्वयनमा पनि सघन बहसपैरवी भएको र बिस्तारै नजिताहरु निस्कने भन्दै सहभागी म्यानेजर्सहरुलाई विश्वस्त तुल्याउनुभयो । सबै मिलेर सहकारीका सदस्यहरुमा आत्मविश्वास जागृत गराउनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले पनि सदस्य संघ संस्थाहरुको बचतको पूर्ण प्रत्याभूति नेफ्स्कूनले गर्नेमा आश्वस्त  तुल्याउनुभयो । समाचारमा गत असारको वित्तीय विवरणलाई आधार मानेर आएका विषयहरु अहिले ६ महिनामा धेरै फरक भएको भन्दै कर्जा असूलीमा उल्लेख्य प्रगति भएको स्पष्ट पार्नुभयो । म्यानेजरहरु सचेत हुँदा नेफ्स्कून सचेत हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरु नेफ्स्कूनको पिलर हो । तपाईहरु बलियो हुँदा नेफ्स्कून बलियो हुन्छ । अभियान बलियो बनाउने भनको सञ्जाल सहकार्यले हो । हामीले एउटै भाषा बोल्नुपर्छ, एउटै संयन्त्रबाट अघि बढ्नुपर्छ ।’

उहाँले अगाडि भन्नुभयो, ‘सहकारीमा संकट आउँदै आउँदैन । सहकारी सहकारी जसरी चल्यो भने समस्या आउँदैन । अहिले केही सहकारीहरुमा समस्या आएको भनिएको सहकारी सहकारी जसरी नचलेका कारण हो ।’ सहकारी सिद्धान्त, मूल्य र मान्यताको पालना नगर्ने, सदस्य नभइ ग्राहक बनाउने र उद्देश्य र दिशा स्पष्ट नभएकाहरुमा समस्या आएको भन्दै त्यसका कारण वर्षौ मिहेनत गरेर श्रम पसिना बगाएकाहरुलाई असर परेको उहाँले बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाले सहकारीका विद्यमान चुनौती र तिनको समाधानको उपायसहितको प्रस्तुतीकरण गर्दै सदस्य भएनन् भने सहकारी हुँदैन भन्ने सबैले बुझ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘वित्तीय मापदण्डहरुको परिपालना गरिनुपर्छ । अब सदस्यहरुलाई कमाउने बनाउनुपर्ने समय आएको छ ।'

‘अब हामीले सदस्यको आम्दानी बढाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसकै लागि नेफ्स्कूनले उद्यमशिलता विकास, व्यवसाय प्रवर्धन तथा वित्तीय परामर्शका विषयलाई प्राथमिकतामा राखेर काम गरेको छ ।’ उहाँले नेफ्स्कूनको नियमनकारी निकायहरुसँग ऐन कार्यान्वयनका विषयमा र सदस्य संघ संस्थाहरुमा उद्यमशीलता प्रवर्धनका विषयमा अन्तर्राष्ट्रिय सम्बन्ध पनि सुधार भएको चर्चा गर्नुभयो । त्यस्तै, उहाँले सदस्य संघ संस्थाहरुको गैरस्थलगत सुपरीवेक्षणको काम तीब्र रुपमा भैरहेको जानकारी पनि गराउनुभयो ।  

नेफ्स्कून साकोस म्यानेजर्स क्लबका संयोजक एवम् चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले सहकारीका सम्बन्धमा बजारमा नकारात्मक प्रचारबाजीहरु धेरै भएको भन्दै पछिल्लो समय सञ्चारमाध्यममा आएका विषयहरुमा स्पष्टताका लागि कार्यक्रम राखिएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘सञ्चारमाध्यममा आएका केही विषयमा क्ल्यारिटी र अबको दिनमा सदस्य संस्थाहरु कसरी अघि बढ्नुपर्छ भनेर अभिभावक संघबाट मार्गनिर्देशन आवश्यक भएकोले यो कार्यक्रम राखिएको हो ।’

सदस्य र समुदायमा विश्वास पुनर्जागृत गराउनुपर्ने आवश्यकता टड्कारो भएको संयोजक श्रेष्ठको भनाइ थियो । उहाँले भन्नुभयो, ‘आजको कार्यक्रमबाट साकोस अभियानका व्यवस्थापन प्रमुखहरु सोलुसन र कन्फिडेन्स लिएर जान चाहन्छौं । र, यसमा हामी पूर्णतः आशावादी छौं ।’

उहाँले वित्तीय सवलीकरण अहिलेको प्राथमिकता भएकोमा जोड दिनुभयो । नेफ्स्कूनले आफूसँगै सदस्य संघ संस्थाहरुको वित्तीय अवस्था सवलीकरण केन्द्रीत कार्यक्रमहरु ल्याउनुपर्ने उहाँले सुझाउनुभयो । उहाँले भन्नुभयो, ‘नेफ्स्कूनले अहिलेको अवस्थामा अरु कार्यक्रमहरुलाई थाती राखेर वित्तीय सवलीकरणलाई प्राथमिकता दिनुपर्छ । यसलाई हामी रिकभरी पिरियडका रुपमा लिऔं ।’

कार्यक्रममा धारणा र सुझाव राख्ने क्लबका पदाधिकारी र सदस्यहरुले सहकारीमार्फत धेरे राम्रा कामहरु भएपनि प्रचार प्रसार नभएको बताउनुभएको थियो । उहाँहरुको भनाइ थियो, ‘सहकारीमार्फत भएको योगदानको लेखाजोखा भएन ।’ उहाँहरुले स्वनियमन एवम् सुशासन, सहकारी ऐन कार्यान्वयन, सदस्यप्रति जवाफदेहीता, उत्तरदायित्व, पारदर्शिता आदि विषयमा अभियानको नेतृत्व र नेतृत्वदायी संघहरु विशेष जिम्मेवार हुनुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभएको थियो । सञ्चारमाध्यममा आएका पछिल्ला समाचारका सम्बन्धमा नेफ्स्कूनको धारणासँगै सदस्य संघ संस्थाहरु आश्वस्त र विश्वस्त हुन चाहेको बताउनुभयो ।

सहकारी अभियानमाथि श्रृङ्खलावद्ध प्रहार भैरहेको समयमा अभियान र सरकारको तर्फबाट संयुक्त रुपमा श्वेतपत्र जारी गरिनुपर्ने पनि सहभागी व्यवस्थापन प्रमुखहरुको सुझाव थियो । यस्तै, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, बचत तथा ऋण सुरक्षण कोष लगायत सहकारी ऐनका प्रावधानहरु कार्यान्वयनमा संघको बहसपैरवी थप सघन हुनुपर्ने धारणा राख्नुभयो । अभियानमा प्रतिस्पर्धा नभई सामञ्जस्तया आवश्यक भएको पनि सहभागीहरुको सुझाव थियो ।

कार्यक्रममा नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष काजी श्रेष्ठले सञ्चारमाध्यमको धर्म सहकारी अभियानको खबरदारीसँगै यसमार्फत भएका सकारात्मक विषयहरु पनि समुदायसम्म पुर्याउने भएको बताउनुभयो । सहकारी अभियानले कमीकमजोरीहरु सुधार्दै सदस्यहरुको सामाजिक, आर्थिक र साँस्कृतिक रुपान्तरणमा थप कामहरु गर्नुपर्ने र ती कामहरु सञ्चारमाध्यममार्फत प्रचार प्रसार हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रम समापन गर्दै क्लबका संयोजक कृष्ण कुमार श्रेष्ठले आजको कार्यक्रमले चुनौतीहरुको उठान, ती विषयवस्तुमा नेफ्स्कूनको स्पष्टोक्तिसँगै सहकारी अभियानलाई विश्वसनीय, सदस्य केन्द्रीत, सुशासित, मर्यादित र एकताबद्ध बनाउँदै अघि बढ्न सकारात्मक सन्देश प्राप्त भएको बताउनुभयो । उहाँले आजको कार्यक्रममा राखिएका विषयवस्तु र सुझाव संश्लेषणसहित साकोस अभियानको मियो नेफ्स्कूनलाई प्रस्तुत गरिने पनि जानकारी गराउनुभयो । कार्यक्रम सञ्चालन क्लबका सदस्य एवम् काभ्रको ज्योति मिर्मिरे सामूहिक साकोसका प्रमुख कार्यकारी अधिृकत गोपाल दाहालले गर्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।