शुक्रबार, वैशाख २१
११:०१

हाम्रो ‘नेटवर्क’ नै हाम्रो ‘नेटवर्थ’ हो

बिहीबार, चैत्र २२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

प्रत्येक वर्ष विश्व ऋण परिषद्ले विश्वभरका वित्तीय सहकारीहरुको तथ्याङ्क सार्वजनिक गर्दछ । यसका लागि हामी विश्व क्रेडिट युनियन अभियानको सर्वेक्षण गर्छौं । पछिल्लो सर्वेक्षण अनुसार हामीसँग ८२ हजार ७ सय बढी वित्तीय सहकारीहरु छन् । विश्वका ९८ मुलुकमा फैलिएको यो अभियानमा ४० करोड बढी सदस्य अटाएका छन् । तथ्याङ्क हाम्रो तागत हो । यसले हाम्रो शक्ति र सामर्थ्य प्रस्तुत गर्दछ । यसले हामीलाई इतिहास स्मरण गराउँदछ र भविष्यका लागि पनि मार्गनिर्देश दिन्छ । भावी रणनीतिहरु तय गर्न मद्दत गर्दछ । तथ्याङ्क हाम्रो प्रमाण वा सबुत पनि हो । विश्व क्रेडिट युनियन अभियानको यो तागतले हामी एक्लै छैनौ भन्ने पुष्टि गर्दछ । हामी आ–आफ्नो समुदायमा वा कार्यक्षेत्रमा काम गर्छौं होला तर हाम्रो सञ्जाल विश्वभर फैलिएको छ, हामी विश्वभर फैलिएको ठूलो सञ्जालको एउटा हिस्सा हौं भन्ने आत्मबल र विश्वास जागृत गराउँदछ । हामी विश्व परिवार हौं । 

विश्व ऋण परिषद् के मा विश्वास गर्छ र आफ्ना सदस्यहरुलाई पनि विश्वस्त पार्न खोज्छ भने–हाम्रो ‘नेटवर्क’ नै हाम्रो ‘नेटवर्थ’ हो । हाम्रो सञ्जाल हाम्रो सम्पत्ति हो । ओकूले आफ्ना सदस्य संघ संस्थाहरुसँग बनाएको सम्बन्ध यसको शक्ति हो । हामी सबै मिलेर सहकारी वित्त प्रणालीलाई मजबूत बनाइरहेका छौं । 

ओकूले हरेक सदस्यलाई बचत ऋण सहकारी सिद्धान्तप्रति निष्ठावान रहेको लिखित प्रतिबद्धताका लागि आग्रह गर्दछ । यो पूर्वसर्त पनि हो । आज हामी यी सिद्धान्तबारे चर्चासँगै विश्वका केही प्रतिनिधि संघ संस्थाहरुमा यी सञ्चालन सिद्धान्तहरु कसरी लागू गरी सदस्यहरुको बहुआयामिक जीवनस्तरमा परिवर्तन ल्याइएको छ भनेर उदाहरणहरुबारे जानकारी लिन्छौं । विश्व क्रेडिट युनियन अभियान विविधताको अभियान हो  । हामी  अनेतकतामा विश्वास गर्छौं । मुलुकका हिसाबले, अनुभवनका हिसाबले, सदस्यता र कारोबारका हिसाबले अनि महत्वपूर्ण विषय भनेको हाम्रा साझा चुनौतीहरुलाई हामी आफूले कसरी आफ्नोतर्फबाट सम्बोधन गर्छौं भन्ने आधारमा विविधता वा अनेकता झल्कन्छ ।

सहकारी संरचना
यसभित्रका तीनवटै सिद्धान्त हाम्रो धडक्न हो । यिनलाई हामी महसूस गर्छौं । यी हाम्रा अनुभूति हुन् । हाम्रो डिएनए मै छ । हामी (क्रेडिट युनियनहरु) सदस्यहरुद्वारा प्रजातान्त्रिक अधिकारको पूर्ण प्रयोग गरी सञ्चालित एवम् नियन्त्रित छौं । कतिपय अवस्थामा हामीले यो विषयलाई हलुका रुपमा पनि लिनसक्छौं तर त्यसो होइन । जब क्रेडिट युनियनहरु बढ्दै जान्छन्, सदस्य वृद्धि हुन्छ र आधुनिक बन्दै जान्छन्, तब सदस्य सहभागिता, प्रतिनिधित्व तथा नियन्त्रणको विषयमा पनि केही परिवर्तन महसूस गर्छौं । संस्था सानो हुँदा प्रत्येक सदस्यको प्रत्यक्ष सहभागिता हुन्छ संस्था सञ्चालनका गतिविधिहरुमा । ठूला वित्तीय सहकारीहरुको हकमा अहिले विश्वमा प्रत्यायोजित (प्रतिनिधिमूलक) सहभागिताको अवधारणा अघि बढेको छ । 

म काम गरिरहेको कोस्टारिकामा पनि यसको उदाहरण पाउन सकिन्छ । यहाँको ठूला क्रेडिट युनियनमध्येको एक ‘कोपिआलिआन्जा’ को वार्षिक साधारण सभामा ३ सय प्रतिनिधिमूलक सदस्यहरु सहभागी हुन्छन् जो संस्था सञ्चालनको गतिविधिमा बाँकी सदस्यहरुबाट अख्तियार प्राप्त गरी सहभागी हुन्छन् । त्यस्तै, एक्वेडोरको ‘हार्डिनाजवायो’ क्रेडिट युनियनले आफ्नो शाखा कार्यालयहरुको भौगोलिक अवस्थितिलाई आधारमानी ६० जना प्रतिनिधिहरुको समूह निर्वाचित गर्दछ । तीनै ६० जनाले साधारण सभामा सम्पूर्ण सदस्यहरुको प्रतिनिधित्व गर्छन् ।

त्यस्तै, ब्राजिलमा रहेको ओकूको सदस्य सिक्रेडी विविध कारणले विश्व सहकारी अभियानको लागि अत्यन्तै लोभलाग्दो उदाहरण बनेको छ । सिक्रेडी त्यहाँका १ सय ५ बढी क्रेडिट युनियनहरु, ५ केन्द्रहरु र २५ सय सेवा केन्द्रहरुको ‘कन्फेडेरेशन’ हो । यो ब्राजिलको सबैभन्दा ठूलो र पुरानो क्रेडिट युनियन प्रणाली हो । उनीहरुबीच साझा प्लेटफर्म प्रयोग हुन्छ । यो सहकार्यात्मक संरचनाका माध्यमबाट उनीहरुले अनुकरणीय उन्नत वित्तीय सेवा प्रवाह गर्दै आएका छन् । यसको सञ्जालभित्र ७० लाख सदस्य छन् । सिक्रेडीको ‘गभनेन्स’ संरचना सबल र उत्कृष्ट छ । दिगोपनाको रणनीति पनि त्यतिकै उदाहरणीय छ । उनीहरुको दिगोपनासम्बन्धी वार्षिक रणनीति पनि अध्ययन गर्न लायक छ । 

सिक्रेडीमा सदस्यहरुदेखि ‘न्यूक्लियएस कोअर्डिनेटर’ हुन्छ जसले शाखा केन्द्र स्तरमा स्थानीय आवश्यकता, अपेक्षा, समस्याहरुको प्रतिनिधित्व गर्छ । ती न्यूक्लियस कोअर्डिनेटरहरुले आफ्नो क्रेडिट युनियन सञ्चालनको लागि सञ्चालकहरु नियुक्त गर्छन् । एक सदस्य एक मतको क्रेडिट युनियन सञ्चालनको यही सिद्धान्त अनुरुप कन्फेडेरेशन पनि चल्छ । यसो गर्दा संस्था सञ्चालनमा सदस्यहरुको प्रत्यक्ष र दरिलो सम्बन्ध कायम रहन्छ । 

ब्राजिलका २ सय १७ सहरमा सिक्रेडी अन्तर्गतका क्रेडिट युनियनहरु नै एकमात्र वित्तीय संस्थाका रुपमा सदस्य सेवा प्रदान गरिरहेका छन् । हामी अनुमान लगाउन सक्छौं विश्वको ठूलो मुलुकमध्येको एक ब्राजिलका २ सय १७ सहरमा क्रेडिट युनियन नहुँदा हुन त् ती शहरबासीहरु वित्तीय संस्थाको सेवा बाट वञ्चित हुन्थे । ती शहरमा सिक्रेडी सफल हुनुको कारण उसको (क्रेडिट युनियनको) बिजनेश मोडल हो जसले सदस्यलाई केन्द्रमा राख्दछ । संस्था सञ्चालनको माथिल्लो निकायमा तिनै सदस्यहरुलाई पु¥याउँदछ । त्यसको तल्लो तहमा स्वयंसेवी ‘न्यूक्लियस कोअर्डिनेटरहरु’ निर्वाचित हुन्छन् । त्यस्ता न्यूक्लियस क्रोअर्डिनेटरहरु प्रत्येक क्रेडिट युनियनबाट प्रतिनिधित्व गर्दछन् । यो तरिका प्रभावकारी प्रमाणित भएको छ ।

मैले धेरै पटक सिक्रेडी भ्रमणको अवसर पाएको छु । उनीहरुको स्थानीय शाखाको वार्षिक भेलामा सहभागी भएको थिएँ । अर्को भनेको सिक्रेडीले प्रविधिलाई आफ्नो सेवाका सबै क्षेत्र र पक्षसँग एकीकृत गरेको छ । वार्षिक साधारण सभामा सहभागी सदस्यहरुको पहिचानको लागि बायोमेट्रिक गरिन्छ । मतदानमा पनि प्रविधि प्रयोग गन्छि ।

ब्राजिलकै अर्को उदाहरण दिदाँ, पनि संस्था सञ्चालन तथा सुशासनका लागि प्रविधिको प्रयोग भएको पाइन्छ । सिकोबी नामको वित्तीय सहकारीले एप निर्माण गरेको छ जसमार्फत सदस्यहरु संस्था सञ्चालनको प्रक्रियामा सहभागी हुन्छन् । यसमार्फत सदस्यहरुलाई मतदानमा सहभागी हुन सहज भएको छ भने संस्थाका वित्तीय विवरणहरु पढ्न, आफ्नो कारोबारबारे जानकारी लिन, बैठकहरुबारे जानकारी उपलब्ध गराउन तथा सदस्य शिक्षाका सामाग्रीहरु पस्कन फाइदा पुगेको पाइएको छ ।

सदस्य सेवा
यस अन्तर्गत वित्तीय समावेशिता एउटा महत्वपूर्ण विषय हो । साझा बन्धनको माध्यमबाट वित्तीय सहकारीहरु एक भएका हुन्छन् । त्यही साझा बन्धनको सूत्रमा बाँधिन सबैका लािग क्रेडिट युनियनको सदस्यता स्वेच्छिक र खुला रहन्छन् । त्यही साझा बन्धनकै आधारमा सबैको वित्तीय समावेशिता सुनिश्चित गरिन्छ । सदस्यताको सन्दर्भमा क्रेडिट युनिनहरुले अनेक रुपमा यो साझा बन्धन अभ्यास गरेको पाइन्छ । कहीकतै धार्मिक आधारहरु सदस्यहरु जोडिने माध्यम बनेका छन् । खासगरी ल्याटिन अमेरिकाका धेरै क्रेडिट युनियनहरुमा सुरुवाती दिनमा सदस्यहरुबीच साझा बन्धन धार्मिक आस्था बनेको पाइन्छ । एकै प्रकृतिसँग सम्बन्धित कर्मचारीहरु पनि साझा बन्धनको सुत्र भएको छ भने धेरै ठाउँमा निश्चित भूगोल सदस्यहरु अटाउने एउटै बन्धन भएको छ । यी बाहेक केही पृथकता पनि पछिल्लो समय सदस्यहरु जोडिने साझा बन्धन भएको छ । 

अमेरिकाको ‘क्लिन एनर्जी क्रेडिट युनियन’ ले वातावरणीय दिगोपनालाई केन्द्रमा राखेर ऋण लगानी गरेको छ । यो संस्थाले विद्युतीय सवारीसाधन, सौर्य उर्जा आदिमा लगानी गर्ने, कृषि तथा हरित अर्थतन्त्र प्रवर्धन गर्ने कार्यमा लगानी गर्दछन् । उसको ध्यान संस्थामा भित्रिने बचत तथा निक्षेप पृथ्वी बचाउने अभियानका लागि लगानी गरिनुपर्छ भन्ने रहेको छ । यो पृथक नवीन र अपिरहार्य साझा बन्धन हो । समयको माग सम्बोधन गर्ने उपयुक्त साझा बन्धन हो । कार्बन न्यूट्रल क्रेडिट युनियन बनाउने उनीहरुको अभियान हो । यो संस्था स्थापना भएको एक दशक मात्रै भएको छ तर यसले द्रुत गतिमा प्रगति गरेको छ किनकि यसको साझा बन्धन निक्कै बलियो छ । यसमा सदस्य र सम्भावित सदस्यहरुको साझा इच्छा र चाहना जोडिएको छ । समुदायलाई पनि यो विषयले तानेको छ ।

अर्को महत्वपूर्ण विषय भनेको हामीले वित्तीय पहुँच नपुगेकाहरुलाई सहयोग गर्नैपर्छ । ल्याटिन अमेरिकाका धेरै मुलुकहरुमा राजनीतिक र आर्थिक संकट चलिरहेको छ । यसका कारण शरणार्थी र आप्रवासन समस्या यो क्षेत्रभरनै चुलिदो छ । क्रेडिट युनियनहरुका लागि यो अवसर पनि हो । क्रेडिट युनियनहरुको सामूहिक सामथ्र्य प्रयोग गरेर शरणार्थी र आप्रवासीहरुलाई सहयोग र वित्तीय पहुँचको हकदार बनाउन सकिन्छ । यसैलाई ध्यानमा राखेर अमेरिकामा हुन्टोस आभान्जामोस् (सँगै हामी अघि बढ्छौं) नामको एउटा प्रमाणीकरण कोर्ष पनि तयार गरिएको छ ।

यसले अमेरिकामा बस्ने हिस्प्यानीक (क्यूबा, ब्राजिल, अर्जेन्टिना, कोलम्बिया, बोलिभिया, उरुग्वे, भेनेजुएला, मेक्सिको, पुवर्टो रिको आदि) मूलका नागरिकहरुलाई उनीहरुकै भाषा, संस्कृति, परम्परा, परिवेश मिल्ने गरी आधारभूत आवश्यकतासँगै अन्य वित्तीय सहयोग र सामाजिक सेवा उपलब्ध गराउने मान्यता क्रेडिट युनियनहरुलाई प्रदान गर्दछ । यस्ता प्रमाणीकृत कोर्षमार्फत क्रेडिट युनियनहरुले ल्याटिनो समुदायको सामाजिक, आर्थिक लगायत विकासमा सहयोग गर्दछन् । वित्तीय मात्र नभइ सबै हिसाबले जोखिममा रहने ल्याटिनो समुदायको हक हित संरक्षणका लागि समेत यस्ता क्रेडिट युनियनहरुले काम गर्दछन् । क्रेडिट युनियनहरुले के कस्ता क्षेत्रमा काम गर्न सक्छन् र गरेका छन् भन्ने यो राम्रो उदाहरण पनि हो ।

अर्को भनेको वित्तीय दिगोपना हो । त्यसका लागि बलियो जगेडा कोष आवश्यक पर्दछ । संस्थागत पूँजी निर्माण सदस्यहरुलाई चीरकालसम्म सेवा प्रवाह गर्न बलियो संस्थागत पुँजी र बलियो आन्तरिक नियन्त्रण प्रणाली हुनुपर्दछ । ल्याटिन अमेरिकाको कुरा गर्ने हो भने यहाँका क्रेडिट युनियनहरुले रणनीतिक परिवर्तनमार्फत संस्थागत पुँजी वृद्धि गरेका छन् । विगत लामो सयमको अभ्यास भनेको सेयर पुँजी वृद्धि । सदस्यले न्यूनतम सेयरका अतिरिक्त छोटो समयमा फिर्ता गर्न नमिल्ने गरी निरन्तर सेयर वृद्धि गर्नुपर्ने प्रावधानहरु कायम गरिएको थियो जुन संस्थागत पुँजीका रुपमा रहन्थ्यो ।
अमेरिका, क्यानाडा लगायत अन्य मुलुकहरुमा भने हामी यो अभ्यास पाउँदैनौं जहाँ संस्थागत पुँजी भनेको आर्थिक वर्षको अन्त्यमा आर्जित मुनाफाबाट वृद्धि गरिन्छ ।

त्यस्तै, अर्को पाटो भनेको प्रविधि रुपान्तरणमा खर्च गर्न क्रेडिट युनियनहरुको पर्याप्त वित्तीय स्रोतको उपलब्धता हो । यसले क्रेडिट युनियनहरुको ‘सान्दर्भिकता संरक्षण’ गरिरहन्छ । होइन भने अन्य बैंक तथा वित्तीय संस्थाहरुसँगको प्रतिस्पर्धामा हामी पछि पर्छौं । अर्को भनेको जलवायु परिवर्तनको जोखिमको विषय पनि छ जसले दिगोपनामा असर गर्छ । वित्तीय दिगोपनाभित्र यो विषय पनि पर्दछ । अर्को, सदस्यहरुको आर्थिक लाभको वृद्धि गर्ने विषय हो । बचत तथा निक्षेपमा न्यायपूर्ण ब्याजदर प्रदान गर्नु हो । त्यस्तै, क्रेडिट युनियनका बचत तथा ऋण प्रडक्टहरु सदस्यहरुको आर्थिक सामजिक कल्याणलाई ध्यानमा राखेर विकास गरिनुपर्दछ । 

अमेरिकाको क्यालिफोर्निया राज्यका क्रेडिट युनियनहरुले ‘ब्याड प्रेस’ आमन्त्रण गरेका छन् । सञ्चारमाध्यममा उनीहरु सम्बन्धी नकारात्मक समाचार सम्प्रेषण भएका छन् । क्रेडिट युनियनहरुले अत्यधिक ओभरड्राफ्ट शुल्क (ऋण सेवा शुल्क वा नवीकरण शुल्क) लिने गरेका छ्न् । यो विषय हामीले भन्दै आएको सञ्चालनका सिद्धान्त विपरित छन् । यो क्रेडिट युनियनहरुको लागि जोखिमको एउटा महत्वपूर्ण विषय हो । हाम्रो काम सदस्यहरुको सुरक्षा, उनीहरुलाई साथ र सहयोग उपलब्ध गराउने हो । सबैभन्दा न्यून अवसर भएकाहरुलाई उठाउने संरक्षण गर्ने हाम्रो मुख्य काम हो । हामीले हाम्रो स्थापनाको उद्देश्य पूरा गर्नुपर्छ ।

सकारात्मक पाटोमा हेर्ने हो भने इस्टोनियामा क्रेडिट युनियनहरुले ‘विन्ड फाम इन्भेष्टमेन्ट’ को अवसर सृजना गरेका छन् जसमार्फत समुदायस्तरमा वायुउर्जा उत्पादनमा सहयोग गरेको छ । यसबाट मुनाफा वृद्धि भएको छ । सदस्यहरुले लाभांशसँगै ५.५ प्रतिशत ‘रिटर्न’ पनि प्राप्त गरेका छन् । 

सामाजिक उत्तरदायित्व

अर्को, सामाजिक उत्तरदायित्वको सिद्धान्त छ । यसभित्र क्रेडिट युनियनहरुले आफ्ना सदस्यहरुको सामाजिक, आर्थिक, प्रजातान्त्रिक तथा व्यक्तित्व विकासमा भूमिका खेल्नुपर्दछ । अमेरिकामा क्रेडिट युनिनयहरुले माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा शाखाहरु खोलेका छन् । उनीहरुले विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेका छन् । ती विद्यार्थीहरु अध्ययनसँगै ती क्रेडिट युनियनमा काम पनि गर्दछन् । उनीहरुले क्रेडिट युनियन के हुन् यिनले कसरी काम गर्छन्, बैंक र क्रेडिट युनियनबीच के अन्तर छ आदिबारे जानकारी पनि प्राप्त गर्दछन् । बचत गर्दछन् । उनीहरुका लागि काम गरेरै जानकारी लिने अवसर मिलेको छ । 

त्यस्तै, ल्याटिन अमेरिकामा क्रेडिट युनियनहरुले आफ्नो खुद आम्दानीको ५ प्रतिशत वा त्यो भन्दा बढी रकम सदस्य, सञ्चालक तथा कर्मचारीलाई सहकारी शिक्षाका लागि छुट्याउनुपर्ने कानूनी प्रावधान रहेको छ ।

सिक्रेडीको कुरा गर्दा यसले लामो समय सम्म युवा जमातलाई क्रेडिट युनियनतर्फ आकर्षित गर्न संघर्ष गरेको थियो । त्यसको समाधानका साथै युवाहरुलाई सञ्चालक समितिमा सहभागिताका लागि उसले युवा समिति निर्माण गर्यो र युवाहरु लक्षित २ वर्षे कार्यक्रम पनि लागू गर्यो । उक्त कार्यक्रमले युवाहरुलाई सहकारी, क्रेडिट युनियन सिद्धान्त, पैसाको व्यवस्थापन, बचत, नेतृत्व क्षमता, उद्यमशीलता, अन्तर्राष्ट्रिय परियोजनासँग आवद्धतको अवसर आदि प्रदान गर्यो । यसो गर्दा उसले सहकारी, क्रेडिट युनियनसँगै वित्तीय व्यवस्थापनको विषय पनि जोड्यो । सन् २०२० मा सुरु गरेको यो कार्यक्रमको सहयोगमा ४१ युवाले क्रेडिट युनियनमा नेतृत्व लिइसकेका छन् । यो अभ्यास ल्याटिन अमेरिकी र अन्य मुलुकहरुले पनि अवलम्बन गर्न थालेका छन् । यसले युवा नेतृत्व जन्मन्छ ।

यसैगरी, समुदायप्रतिको जिम्मेवारीको कुरा गर्दा क्रेडिट युनियनहरुले आत्मसहयोग, पारस्परिक सहयोग, आर्थिक सशक्तिकरणका लागि अनेक काम गरेका छन् । न्यायी, स्वस्थ्य र समृद्ध समुदाय निर्माणमा क्रेडिट युनियनहरु सहयोगी बनेका छन् । कोलम्बियामा केही क्रेडिट युनियनहरु मिलेर हरित सहकार्य ‘ग्रीन कोअपरेशन’ अभियान सञ्चालन गरेका छन् जसले जलवायु परिवर्तनका दिशामा काम गर्दछ । वनजंगल विनाश र भुक्षय, माटोको उर्वराशक्तिमा भएको क्षयीकरण आदि विषयमा संवेदनशील भई हरियाली पुनजागृत गर्ने काम उनीहरुले अघि बढाएका छन् ।

एक्लै असम्भव हुने र ज्यादै न्यून परिवर्तन सम्भव हुने विषयमा सहकारिताको मर्म अनुरुप उनीहरु एकजुट भएर समुदाय भन्दा माथि उठेर पृथ्वी जोगाउने अभियानमा अनुकरणीय काम गरेका छन् । एक्लै सहकारीहरुले गर्ने यस्ता काम भन्दा समुदायका थुप्रै सहकारीहरु मिलेर यस्तो काम गर्दा प्रभाव र परिणाम दुबै फराकिलो हुन्छ । विगत १३ वर्षमा यो अभियानमार्फत हजारौं हेक्टर घाँसे मैदानहरु बनजंगलमा रुपान्तरित भएका छन् । संकटमा रहेका वन्यजन्तुको वासस्थान संरक्षण गरेका छन् भने मौरीपालन, च्याउखेती सञ्चालन गरेका छन् । यसले ग्रामीण र न्यून आए भएका स्थानीय बासिन्दाहरुलाई आयआर्जनका नयाँ अवसर प्रदान गरेको छ । त्यस्तै, लागूऔषध ओसारपसार र अर्धसैनिक हिंसाग्रस्त मुलुकमा पनि यस्ता हरित वातावरणले समस्या समाधान र उपचारात्मक विधिमा सहयोग गरेको छ । यस्ता थुप्रै कथाहरु छन् क्रेडिट युनियनमार्फत भएगरेका । 

त्यस्तै, सञ्जाल सहकार्य अन्तर्गतको विषय सहकारीहरुबीच सहकार्यको सिद्धान्तमा आधारित छ । ल्याटिन अमेरिका, अमेरिका तथा अन्य मुलुकहरुमा क्रेडिट युनियन सर्भिस अर्गनाइजेशन (क्यूसो) नामक संस्थाहरु स्थापना भएका छन् । यस्तो संस्था साझा समस्याहरुको साझा प्रयासका माध्यमबाट साझा समाधान खोज्ने संस्थाहरु मिली स्थापना गरिएका हुन् । यस्तो सहकार्यका लागि गरिएको लगानी क्रेडिट युनियन समुदाय भित्रै रहन्छ । 

अमेरिकामा क्यूसोमार्फत कोअप् सोलुसन नामक संस्थाले साझा ब्राञ्च सञ्जाल सञ्चालन गर्दछ । यसको सहयोगमा एउटा भेगको एउटा क्रेडिट युनियनको सदस्यले अर्को स्थानमा रहेको अर्को क्रेडिट युनियनको शाखामार्फत आफ्नो कारोबार गर्न सक्दछ । यस्तै उनीहरुको देशव्यापी एटीएम सञ्जाल पनि छ । अमेरिकामा क्रेडिट युनियनहरुको यो साझा सञ्जाल त्यहाँको सबैभन्दा ठूलो बैंकको सञ्जाल भन्दा ठूलो छ । यसले के देखाउँछ भने सहकार्यमार्फत ठूला काम गर्न र प्रतिस्पर्धी स्थान हासिल गर्न सहयोग मिल्दछ ।

अर्को, विश्वव्यापी परिकल्पनाले पनि हामी जोडिएका छौं । ओकूले यो विषयलाई प्राथमिकताका साथ प्रवर्धन गरेको छ । क्रेडिट युनियनको यो विश्व समुदायलाई बलियो बनाउने, यसका सिद्धान्तहरुको प्रवर्धन र प्रतिरक्षा गर्ने काम ओकूले गर्दै आएको छ । हामी जे काम गर्छौं ती सबैको केन्द्रविन्दूमा सदस्य रहन्छन् ।

(नेफ्स्कूनको प्राविधिक सहयोग एवम् नेफ्स्कून-साकोस म्योजर्स क्लबको आयोजनामा सन् २०२४ अप्रिल १ अर्थात् १९ चैत २०८० मा सञ्चालित क्यूमेल्स सिरिजको छैठौं एपिसोडमा गरिएको सहजीकरणको सम्पादित अंश)
 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।