मंगलबार, वैशाख २५
०२:५३

दिगो साकोस अभियान निर्माणका लागि १० बुँदे प्रतिबद्धता 

शनिबार, चैत्र १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । मुलुकभरका बचत तथा ऋण सहकारी संस्थाहरुको साझा सञ्जाललाई प्रभावकारी बनाउँदै दिगो साकोस अभियान निर्माणका लागि १० बुँदै प्रतिबद्धता जारी भएको छ । करिब ३६ लाख व्यक्तिगत सदस्य आवद्ध भएको मुलुकको साकोस अभियानको सञ्जाल व्यवस्थापनका लागि केन्द्रीय अभिभावक संघ नेफ्स्कूनले आयोजना गरेको २ दिवसीय ‘सञ्जाल व्यवस्थापन राष्ट्रिय कार्यशाला गोष्ठी २०८०’ १० बुँदे प्रतिबद्धता जारी गर्दै आज नगरकोटमा सम्पन्न भएको हो ।

साकोसका सदस्यहरुको बचतको प्रत्याभूतिलाई केन्द्रमा राखेर सञ्जाल व्यवस्थापनमा विद्यमान समस्या र चुनौतीहरुका विषयमा सघन मन्थन गरी प्राप्त सुझावहरु समेटी साझा प्रतिबद्धताहरु जारी भएको हो । उक्त प्रतिबद्धता पत्रमा ‘बचत तथा ऋण सहकारी संस्थाहरुको प्रभावकारी साझा सञ्जाल निर्माण मार्फत दिगो साकोस अभियान निर्माण गर्न प्रतिबद्ध रहेको’ उल्लेख गरिएको छ ।

सञ्जाल व्यवस्थापनमा हालसम्मका सिकाइ र अनुभवबाट शिक्षा लिई बद्लिदो समय र परिस्थिति अनुरुप परिस्कृत र परिमार्जित गर्दै जाने उद्देश्यले विद्यमान नीतिगत व्यवस्थालाई संशोधन गरी अघि बढ्न गोष्ठी आयोजना गरिएको थियो ।

खासगरी नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभाबाट निर्वाचित नयाँ सञ्चालक समितिले सञ्जाल साझेदारीका विषयमा रहेका केही अन्योलहरु चिर्दै साझा बुझाइ अनि साझा बोली बोल्दै व्यवहारिक परिणतिमार्फत थप सशक्त, सुदृढ, दिगो र प्रभावकारी बनाउन विशेष महत्वका साथ देशभरका साकोसकर्मीहरुको भावना प्रतिविम्बित हुने गरी कार्यशाला आयोजना गरेको हो । 

२०८० चैत ९ र १० गते भक्तपुरको नगरकोटमा आयोजित कार्यशाला गोष्ठीमा ३८ जिल्ला बचत संघ र ३ प्रदेश संघका अध्यक्ष एवम् प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो । नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा संघको सिङ्गो सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति सदस्यसँगै प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा नेतृत्वको व्यवस्थापन समूहको सहभागिता रहेको थियो ।

सहभागीहरुबाट प्राप्त रचनात्मक र नवीन सुझावहरुलाई समेटेर गोष्ठीको अन्त्यमा साझा प्रतिबद्धताहरु जारी गरिएको हो । यसका लागि सहभागीहरुलाई ५ समूहमा विभाजन गरी सञ्जाल व्यवस्थापनका विद्यमान व्यवस्थाहरुमा के कस्ता सुधार गरी थप प्रभावकारी र उन्नत बनाउन सकिन्छ भनेर मस्तिष्क मन्थन र समूह छलफलबाट सुझावहरु लिइएको थियो । सहभागीहरुले समूहगत रुपमा सञ्जाल साझेदारीका सम्बन्धमा सिकाइ, अवसर, चुनौती र तिनको समाधानका लागि भावी रणनीतिहरुबारे आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । सबै समूहबाट प्राप्त सुझावहरुको निचोट प्रतिबद्ध पत्रमा उल्लेख गरिएको हो । उक्त प्रतिबद्धता पत्र नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापाले वाचन गर्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुइ दिने बसाइले सञ्जाल व्यवस्थापनका विषयमा धेरै अन्योलहरु चिरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा भएका कमी कमजोरीहरुलाई सच्याउँदै साकोस अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन पनि साझा सञ्जालको शक्ति र सामथ्र्य बढाउँदै लानुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘साकोस अभियानको बलियो साझा सञ्जालमार्फत दिगो साकोस अभियान निर्माण गर्न हामीलाई यो बसाइले मार्ग प्रशस्त गरेको छ । हिजोका कमजोरीहरु सुधार्दै र विद्यमान चुनौतीहरुलाई साझा प्रयासबाट हल गर्ने आँट र हिम्मत हामीलाई यो दुई दिने गोष्ठीले दिएको छ ।’ 

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारीले सदस्यको बचत सुरक्षाको प्रत्याभूतिलाई ध्यानमा राखेर सुदृढ साकोस अभियान बनाउन पनि सञ्जाल सहकार्यको प्रभावकारिता वृद्धि गर्नु अत्यावश्यक भएकोले यो कार्यक्रम राखिएको जानकारी गराउनुभयो । सञ्जाल व्यवस्थापन कार्यशालाको भावनाहरु व्यवहारमा प्रतिविम्बित हुने गरी काम गर्न साझा प्रतिबद्धता जारी गरिएको जानकारी गराउनुभयो ।

गोष्ठीमा सहभागी प्रदेश तथा जिल्ला संघका अध्यक्ष एवम् प्रतिनिधिहरुले नेफ्स्कूनले करिब एक दशकपछि सबै संघहरुलाई यो किसिमको वृहत् अन्तरक्रिया गरी सञ्जाल साझेदारी प्रभावकारी बनाउन सुझावहरु समेटेको भन्दै कृतज्ञता व्यक्त गर्नुभएको थियो । धेरै सहभागीहरुको भनाइ थियो, ‘सञ्जाल साझेदारीलाई सुदृढ र प्रभावकारी बनाउन यस किसिमको छलफल आयोजना गरेकोमा नेफ्स्कूनको नयाँ सञ्चालक समितिलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं । समय समयमा यस्ता घनीभूत छलफलहरु मार्फत सञ्जाल सम्बन्धलाई थप सुव्यवस्थित बनाउँदै लानुपर्छ ।’

सहकारी अभियानभित्र पनि विषय र उद्देश्यका आधारमा साकोस अभियानको पृथकतालाई कायम गर्दै सञ्जाल व्यवस्थापनमा हातेमालो गर्दै अघि बढ्ने सहमति कार्यशाला गोष्ठीले जुटाएको हो । गोष्ठीमा सहभागीहरुले साकोस अभियानको बहस पैरवीदेखि तालिम शिक्षा, प्रविधि, स्रोतमाथिको पहुँच र बाँडफाँड, तहगत कानूनमा एकरुपता, एकीकृत तथ्याङ्क, संघहरुको वर्गीकरण, सक्षमता अभिवृद्धि, स्तरीकरण कार्यक्रमको प्रभावकारिता वृद्धि, मानव संशाधनको दक्षता विकास जस्ता विषयहरुमा आफ्ना धारणाहरु प्रस्तुत गर्नुभएको थियो ।

साकोस अभियानको छवि सुधार गर्नका लागि पनि एउटै नीति, एउटै विधि, एउटै सिकाइ, एउटै बुझाइ सहितको साझा सञ्जाल निर्माण अत्यावश्यक भएको धारणा गोष्ठीमा व्यक्त भएको थियो । सहभागीहरुले साझा प्रतिबद्धताहरु बोकेर अघि बढ्दा सदस्य, समुदाय र सरोकारवालाहरुको पनि विश्वास जित्न सकिने बताउनुभयो । सरकारसँग बहसपैरवीका लागि पनि सञ्जालको एउटै आवाज बनाउँदा त्यो सुनिने र परिणाममुखी हुने विश्वास सहभागीहरुको थियो ।

नेफ्स्कूनको सञ्जालभित्र हाल ७६ जिल्लाको प्रतिनिधित्वसहित करिब ४७ सय बचत तथा ऋण सहकारी संस्थाहरु, ६५ जिल्ला बचत संघ तथा ३ प्रदेश बचत संघ रहेका छन् । संघले आफ्नो चौथो रणनीतिक व्यावसायिक योजनादेखि सञ्जाल व्यवस्थापनको दिशामा काम गर्दै आएको छ ।
 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।