मंगलबार, वैशाख २५
०२:१६

सहकारीमा सुशासन र शुद्धीकरणका लागि सहयात्रा सुरु भयो

बिहीबार, चैत्र ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । सहकारीमा सुशासन र शुद्धीकरणका लागि सरकार र अभियानबीच सघन सहकार्य सुरु भएको भन्दै त्यस दिशामा ठोस कामहरु अघि बढेकोले चाँडै सकारात्मक परिणामहरु आउने विश्वास दुबै पक्षको रहेको छ । सहकारी ऐनमा आवश्यक संशोधनदेखि नयाँ संरचनागत आधारहरु तयार गर्ने, कार्यविधि तथा निर्देशिकाहरु जारी गर्ने जस्ता कानून कार्यान्वयनका विषयमा ठोस कामहरु भैरहेको भन्दै बिस्तारै नतिजाहरु निस्कने दाबी दुबै पक्षले गरेका छन् ।

सहकारी विभागको साझेदारीमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकहरुको सहभागितामा आज नेफ्स्कूनले आयोजना गरेको ‘सम्पत्ति शुद्धीकरण अभिमुखीकरण एवम् जोखिम विश्लेषण कार्यशाला’ मा नियामक निकाय र नेफ्स्कूनबाट यस किसिमको प्रतिबद्धता व्यक्त भएको हो ।

सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारी क्षेत्रमा विद्यमान चुनौतीहरुका बीच बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ नेफ्स्कून र नियामक निकाय विभागबीचको सहकार्यमा सातै प्रदेशका वित्तीय सहकारीहरुको जोखिम विश्लेषण तथा सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित कानूनी परिपालनाका विषयमा साझेदारीमा कार्यक्रम आयोजना गरिएको भन्दै यसले देशव्यापी सकारात्मक प्रभाव पार्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, 'सहकारीमा सुशासन र शुद्धीकरणको दिशामा नेफ्स्कूनसँग यो महत्वपूर्ण साझेदारी हो ।'

‘वित्तीय कारोबार गर्ने ठूला सहकारीहरुलाई अब स्वतन्त्र र स्थायी प्रकृतिको बलियो निकाय आवश्यक छ भन्ने विषयमा हामी निष्कर्षमा पुगिसकेका छौं, ’रजिष्ट्रार घिमिरेले भन्नुभयो, ‘यसको अवधारणापत्र विभागले मन्त्रालयमा पठाएको छ । अब पोलिसी डिर्पाचर आवश्यक छ । यो गरियो भने मात्र सहकारी अभियानको शुद्धीकरण र सुदृढीकरणका दिशामा रिजल्ट निकाल्न सकिन्छ ।’

रजिष्ट्रार घिमिरेले भन्नुभयो, ‘सहकारी विभाग र नेफ्स्कूनको सहकार्यमा यो सान्दर्भिक कार्यक्रम आयोजना गरिएको छ । वित्तीय सहकारीहरुमा हुने जोखिम विश्लेषण गरी तिनको समाधानको उपाय समेत नेफ्स्कूनको प्राविधिक टोलीले  सुझाउने हुँदा यो अत्यन्त महत्वपूर्ण छ । यसले संस्थाहरुलाई जोखिम मापन, विश्लेषण तथा न्यूनीकरणमा प्रभावकारी सहयोग पुग्ने विश्वास विभागले लिएको छ ।’ 

नागरिकको बचत सुरक्षा कसरी गर्ने भन्ने महत्वपूर्ण कुरा भएको उहाँले जोड दिनुभयो । ‘अहिले राज्य र सहकारी अभियानको साझा चासोको विषय भनेको सहकारीका सदस्यहरुको बचत सुरक्षा हो, ’रजिष्ट्रार घिमिरेले भन्नुभयो, ‘बचत सुरक्षा मुल मन्त्र हो । यसलाई केन्द्रमा राखेर हामीले त्यसको प्रत्याभूतिका लागि के कस्ता काम गर्नुपर्ने हो मिलेर गर्नुपर्दछ । सहकार्यका माध्यमबाटै समस्याहरु समाधान गर्दै वृद्धि र विकास सम्भव छ ।’

ऋण असुली गर्न सकियो भने बचत फिर्ता गर्न सकिन्छ भन्ने विषय पनि महत्वपूर्ण छ भन्दै रजिष्ट्रार घिमिरेले असुली प्रक्रियामा सहजीकरणका लागि सहयोग गर्न विभाग तयार रहेको अवगत गराउनुभयो ।
उहाँले ऐन नियमबाट डेभिएट भएको अवस्था सबैले महसूस गर्नुपर्ने भन्दै कानूनको अक्षरशः पालनामा जोड दिनुभयो  । सदस्यको सामाजिक, आर्थिक उन्नतिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने खाँचो औल्याउँदै रजिष्ट्रार घिमिरेले त्यसका लागि संस्थागत सुशासन कायम गर्दै व्यवस्थापकीय दक्षता वृद्धि गर्नुपर्ने बताउनुभयो । ‘सहकारीमा संख्यात्मक विकासलाई हेर्दा राइटसाइजिङ र डाउन साइजिङ गर्नुपर्ने अवस्था पनि उहाँले औल्याउनुभयो । 

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी अभियानको सुशासन र शुद्धीकरणका लागि सरकार र अभियानसँगसँगै हिडेको भन्दै अब केही समयमै ठोस नतिजाहरु आउने दाबी गर्नुभएको छ । नेफ्स्कूनले उठाएको सुशासन र शुद्धीकरणको विषयमा नियामक निकायसँग सहकार्य सुरु भएको उद्घोष उहाँले गर्नुभयो ।

‘यो आर्थिक वर्षभित्र धेरै विषयहरु सम्बोधन भैसक्ने विश्वास लिएका छौं, ‘अध्यक्ष ढकालले भन्नुभयो, ‘त्यही दिशामा बहसपैरवी भएका छन् । घनीभूत गृहकार्य भैरहेको छ । मन्त्रालय र विभागसँग निरन्तर सहकार्य, छलफल र सम्वाद भएका छन् । सहकारी अभियानको छवि कायम गर्न तथा कानूनी प्रबन्धहरु प्रभावकारी बनाउँदै कसरी सदस्यहरुको विश्वास जित्न सकिन्छ भन्ने दिशामा बचत तथा कर्जा सुरक्षण कोष, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, दोस्रो तहको नियामकीय संयन्त्र लगायत स्थापनाको काम अघि बढेको जानकारी भएको छ ।’ अध्यक्ष ढकालले थप्नुभयो, ‘एउटा दुरगामी योजना साथ सरकार र अभियान मिलेर काम गरिहेका छौं । नेफ्स्कूनले पनि सदस्यहरुलाई सबल र दिगो बनाउने कामलाई थप प्रभावकारी रुपमा अघि बढाएको छ ।’

उहाँले भन्नुभयो, ‘हामीले सदस्य संस्थाहरुको अफसाइट मनिटरिङ सुरु गरेका छौं । नेफ्स्कूनले कम लागतमा प्रभावकारी ढंगले सदस्य संस्थाहरुको नियमित जोखिमहरु अध्यययन, विश्लेषण र पृष्ठपोषण गरी उनीहरुलाई दिशानिर्देश गर्दछ । संस्थागत विकास र सुशासन कायम गर्न यसले मद्दत गर्नेछ ।’

संघका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारीले नेफ्स्कून र सहकारी विभागको साझेदारीमा सातै प्रदेशमा गरिने जोखिम विश्लेषण तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी महत्वपूर्ण र समय सान्दर्भिक कार्यक्रमले राज्य हामीसँग छ, विभागले नेफ्स्कूनमाथि विश्वास र भरोसा गरेको छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको दाबी उहाँले गर्नुभयो । ‘हामीले सास फेर्ने ठाउँ भनेको सहकारी विभाग नै हो, ’बरिष्ठ उपाध्यक्ष अधिकारीले भन्नुभयो, ‘त्यसैले विभागसँगको सहकार्यमा सहकारी अभियानकै छवि उचो बनाउने, श्रीवृद्धि गर्ने कार्यमा नेफ्स्कून निरन्तर लागिपर्दछ भन्ने प्रमाण पनि हो र त्यो सधै कायम रहने विश्वास पनि हामी दिलाउँन चाहन्छौं । यो सहकार्य निरन्तर रहने विश्वास दिलाउन चाहन्छौं ।’

उहाँले सदस्यको बचत केवल रकम मात्र नभई उनीहरुको विश्वास पनि भएको बताउँदै सहकारी संस्थाहरुले संवेदनशील भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले केही संस्थामा देखिएको कमजोर सुशासनका कारण अहिले समग्र सहकारी क्षेत्रमाथि नै प्रश्न चिन्ह लगाउने काम भएको भन्दै सदस्य केन्द्रीय समुदायमा आधारित र संस्थागत सुशासन भएका साकोसहरु पनि देशभर छन् भन्ने सन्देश दिनुपर्ने समय भएकोमा जोड दिनुभयो । अहिले ‘र्युमर’ ले प्रभाव पार्न खोजे जस्तो देखिएपनि वित्तीय सहकारीहरुको हकमा सदस्य साकोसहरुको गतिलो अभिभावक नेफ्स्कून छ भन्ने विश्वास संघले दिलाएको उहाँले दाबी गर्नुभयो । बरिष्ठ उपाध्यक्ष अधिकारीले साकोसहरुले जोखिमको निरन्तर विश्लेषण गर्नुपर्ने भन्दै कमी कमजोरीहरुलाई समयमै सुधार गर्दा समस्या काबु बाहिर नजाने पनि सुझाउनुभयो । 

उहाँले हामीले सदस्य सूचना प्रणाली (एमआइएस) मार्फत सदस्य संस्थाहरुको जोखिम विश्लेषण गरी निरन्तर पृष्ठपोषण गर्न गैरस्थलगत सुपरिवेक्षण (अफसाइट सुपरभिजन एण्ड मनिटरिङ) को औजार विकास गरेको पनि उहाँले जानकारी गराउनुभयो । उहाँले थप्नुभयो, ‘यी सबै काम मार्फत सहकारी अभियानप्रति डगमगाएको आस्थालाई पुनस्र्थापित गर्न हामी प्रतिबद्ध छौं ।’

कार्यक्रमको उद्घाटन सत्रमा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, कोषाध्यक्ष दिपक थापा, सञ्चाकहरु मन्दरा मिश्र तथा गोपाल प्रसाद गौतम, सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्याय लगायतको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रम सञ्चालन संघका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिनाले गर्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।