आईतबार, वैशाख १६
११:४३

साकोसहरुले वित्तीय जोखिम जत्तिकै ध्यान सञ्चालन जोखिममा दिनुपर्छ

बिहीबार, माघ १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारीहरुले वित्तीय जोखिमसँगै सञ्चालन जोखिमका विविध पक्षहरुलाई पनि विशेष ध्यान दिनुपर्ने सुझाव अष्ट्रेलियन म्युचुअल बैंक (एएमबी) का प्रमुख कार्यकारी अधिकृत मार्क वर्थिङ्टनले दिनुभएको छ । वित्तीय जोखिमहरु जस्तै सुक्ष्म रुपमा सञ्चालन जोखिमका पाटाहरुलाई पनि मापन गर्ने विधिहरु स्थापित गर्दा जोखिम व्यवस्थापनमा धेरै सहयोग पुग्ने भनाई एएमबीका प्रमुख कार्यकारी अधिकृत मार्क वर्थिङटनको रहेको छ ।

उहाँले नेपालका वित्तीय सहकारीहरुले जोखिम मापनका स्थापित विधिहरुसँगै नयाँ खालका सञ्चालन जोखिमका पक्षहरुपनि समेटेर तिनको नियमित मापन गर्न सक्दा समग्र जोखिम व्यवस्थापनमा सहयोग पुग्ने सुझाव राख्नुभयो । अष्ट्रेलियन म्युचुअल बैंकको व्यवस्थापनले रिस्क कल्चर, रिस्क एपिटाइट आदि आदि विषयमा नियमित प्रतिवदेन तयार पारेर सञ्चालक समितिमा विश्लेषणका लागि पेश गर्ने परिपाटी विकास गरेको मार्कले जानकारी गराउनुभयो ।

नेफ्स्कूनको अगुवाई तथा प्राविधिक सहयोग एवम् नेफ्स्कून साकोस म्यानेजर्स क्लबको आयोजनामा सञ्चालित वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरु लक्षित अभौतिक सिकाइ श्रृङ्खला (ई लर्निङ सिरिज–क्यूमेल्स)  को चौथो एपिसोडमा आज फेब्रुअरी १ (माघ १८) मा अष्ट्रेलियन म्युचुअल बैंक (एएमबी) का प्रमुख कार्यकारी अधिकृत मार्क वर्थिङ्टनले क्रेडिट युनियनहरुमा जोखिम व्यवस्थापनका विषयमा आफ्नो अनुभव, विज्ञतासँगै त्यहाँको म्युचुअल बैंकहरुको अवस्था पनि स्पष्ट पार्नुभएको हो । जोखिम व्यवस्थापनका लागि त्यहाँ सञ्चालक समितिमै जोखिम व्यवस्थापनका लागि उपसमिति (रिस्क कमिटी) गठन गर्ने गरिएको उहाँले बताउनुभयो ।

मार्कले आचरण जोखिम, डेटा जोखिम, परिवर्तन व्यवस्थापन जोखिम, व्यवसाय निरन्तरता योजना अभावको जोखिम, प्रकोप जोखिम, प्रविधिको जोखिम, सूचना सुरक्षाको जोखिम, गोपनियताको जोखिम, आदि कुराहरुलाई पनि मापन गर्ने विधि स्थापित गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय अष्ट्रलियामा सबैभन्दा ठूलो जोखिम सूचना सुरक्षाको जोखिम रहेको छ ।’ यसका लागि कानूनको परिपालनाप्रति प्रतिवद्धता, नियमित तालिम, शिक्षा, परिक्षण र सम्वद्ध निकायलाई अद्यावधिक गराउने कुरा महत्वपूर्ण हुने मार्कको भनाइ थियो । कर्मचारीसँगै सञ्चालक समितिलाई पनि तालिम र शिक्षासँग जोड्नुपर्ने भन्दै उहाँले सञ्चालकहरु वित्तीय प्रतिवेदन बुझ्न सक्ने हुनुपर्ने बताउनुभयो ।

अष्ट्रेलियन म्युचुअल बैंक (एएमबी) अष्ट्रेलियाको बचत तथा ऋण सहकारी संस्था वा क्रेडिट युनियन हो । त्यहाँ बचत तथा ऋण सहकारीहरुलाई म्युचुअल बैंक भनिन्छ । यो शब्दले सदस्यहरुबीचको पारस्परिकताको अर्थसँगै २१औं शताब्दीमा अन्य बैंक तथा वित्तीय संस्थाहरुजस्तै समान भएको बुझाउँदछ र जनसमुदायको ध्यान खिच्दछ । यसको कारण अर्को पनि छ–अष्ट्रेलियामा म्युचुअल बैंकहरुलाई पनि अन्य बैंक तथा वित्तीय संस्था जस्तै अष्ट्रेलियन प्रुडेन्सियल रेगुलेसन अथोरिटी (आप्रा) ले गर्दछ ।

सोही कारण अष्ट्रेलियामा वित्तीय सहकारीहरुको अनुगमनको पाटो पनि बलियो रहेको मार्कको भनाइ थियो । करिब १ घन्टाको प्रस्तुतिमा उहाँले धेरै पटक ‘रेगुलेसन, कम्प्लायन्स’ शब्दको प्रयोग गर्नुभयो । सोही कारण पनि, अहिलेसम्म कुनै पनि म्युचुअल बैंकबाट कोही पनि बचतकर्ताले आफ्नो बचत गुमाउनुपरेको छैन । उहाँले भन्नुभयो, ‘नो डिपोजिटर ह्याज लस्ट मनि फ्रम अ म्युचुअल बैंक टिल डेट ।’ एएमबीले ‘बेजल’को आधारमा आप्राको अनुगमनसँगै विश्व ऋण परिषद्ले तय गरेका नीति तथा मार्गनिर्देशनहरु पनि कार्यान्वयन गर्दै आएको उहाँले बताउनुभयो ।

अष्ट्रेलियन म्युचुअल बैंकहरुले दिगो विकासका क्षेत्रमा गरेका कामहरु समेटिने गरी ‘सस्टेनिबिलीटी रिपोर्ट’ पनि अनिवार्य सार्वजनिक गर्नुपर्ने कानूनी प्रबन्ध भएको उहाँले जानकारी गराउनुभयो । त्यसका लागि व्यवस्थापनको सहभागितामा सष्टेनिबिलिटी कमिटी गठनको अभ्यास भएको मार्कले बताउनुभयो ।

दिगो विकासका लक्ष्यमा म्युचुअल बैंकहरुको योगदान आवश्यक भएको ठान्दै कार्बन उत्सर्जनमा उल्लेख्य योगदान गरेबापत त्यहाँको सरकारबाट सन् २०२१ देखि एएमबी कार्बन न्युट्रल बैंकको मान्यता प्राप्त गरेको पनि मार्कले जानकारी गराउनुभयो ।  एएमबीमा २१ मुलुकका २४ भाषा जान्ने १ सय ३० कर्मचारी रहेको बताउँदै मार्कले व्यवस्थापनमा विविधता र समावेशिताको पाटो पनि जोड्नुभयो । 

म्युचुअल बैंकहरुको एकीकरणमा राम्रो सफलता हासिल गरेको मुलुक अष्ट्रेलियो हो । मार्कले ६५ वर्षमा ७४ वटा क्रेडिट युनियनहरु एएमबीमा एकीकरण भएको जानकारी गराउँदै प्रभावकारी काम गर्न नसक्ने वा जोखिम व्यवस्थापनमा कमजोर देखिएकाहरु मर्जरमा गएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. शिवजी सापकोटाले मार्कको प्रस्तुतिबाट नेपालका साकोस व्यवस्थापकहरुले जोखिमका विषयमा धेरै नयाँ विषय र विधि जान्ने मौका पाएको भन्दै कृतज्ञता व्यक्त गर्नुभयो । सिईओ सापकोटाले भन्नुभयो, ‘रिस्क म्याट्रिक्स तयार गर्ने तुलनात्मक रुपमा जोखिमको मापन र विश्लेषण गर्दै सुधारका कदमहरु चाल्नुपर्ने विषयमा सहभागीहरुलाई धेरै जानकारी भएको छ । सुक्ष्म रुप (माइक्रो लेबल) मा रिस्क म्यानेजमेन्टका तरिका र विधिहरुबारे मार्कबाट सिकाइ भएको बताउँदै सिईओ डा. सापकोटाले यसकै आधारमा जोखिम मापनमा सञ्चालन जोखिमका पाटाहरुलाई पनि केलाउने विधि स्थापित गर्दै जानुपर्नेतर्फ सचेत गराउनुभयो ।  

सन् २०११ देखि आफू मार्कसँग परिचित भएको भन्दै उहाँले २०१३ मा काठमाडौंमा अकू फोरममा सहभागी हुनुभएको र २०१५ मा दोस्रो साकोट समिटमा एकीकरणसम्बन्धी प्रशंसनीय प्रस्तुति गरेको पनि स्मरण गराउनुभयो । सिईओ डा. सापकोटाले भन्नुभयो, ‘मार्कसँग ‘मर्जर’ र ‘रिस्क मिटिगेशन’ को विषयमा लामो अनुभव छ ।’ मार्कले आफूले पहिलो पटक १९८५ मा बिदा मनाउने सिलसिलामा नेपाल भ्रमण गरेको सुनाउँदै त्यसपछि पटकपटक व्यावसायिक जीवनको क्रममा यहाँ आएको भन्दै नेपाली साकोस समुदायसँग केही अनुभवहरु साट्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

नेफ्स्कून–साकोस म्यानेजर्स क्लबका संयोजक काभ्रेको बिन्दवासिनी साकोसका प्रमुख कार्यकारी अधिकृत केबी लामाले मार्कको प्रस्तुतिले नयाँ आयाममा सोच्न बाध्य बनाएको भन्दै प्रस्तुतिका लागि धन्यवाद दिनुभयो । यस्तै, स्वागत गर्दै नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिनाले साकोस अभियानका लागि सिकाइको उत्तम प्लेटफर्म नेफ्स्कूनले विकास गरेको भन्दै यसबाट नेपालको अभियानले बढीभन्दा बढी लाभ लिनुपर्ने धारणा राख्नुभयो । 


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।