शुक्रबार, जेठ ४
०३:०७

दिगो रणनीतिक सहकार्यको उद्देश्यसहित नेफ्स्कून-सिजेएन अन्तरसंवाद

मंगलबार, पुस २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ–नेफ्स्कून तथा सहकारी पत्रकारहरुको छाता संगठन–नेपाल सहकारी पत्रकार समाज–(सिजेएन) बीच व्यावसायिक धर्म निर्वाह गर्दै दिगो रणनीतिक सहकार्यको लक्ष्यसहित आज अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको छ । 

सहकारी अभियानका मुलभूत विषयमा सरकार, अभियान र सञ्चारमाध्यमबीच साझा बुझाइ बनाइ बसहपैरवीलाई सकारात्मक निष्कर्षमा पुर्याउन त्रिपक्षीय सम्बन्ध हार्दिक हुनुपर्ने भन्दै आगामी दिनमा त्यस दिशामा अन्तरक्रिया र छलफलहरु केन्द्रीत गरिनुपर्ने धारणा कार्यक्रममा व्यक्त गरिएका छन् । 

नेफ्स्कूनले वित्तीय सहकारी ऐन, स्थिरीकरण कोष, साकोस अभियानको शुद्धीकरण र रुपान्तरण, सुशासन, कानूनको परिपालना, स्तरीकरण कार्यक्रमको प्रभाव लगायतका विषयमा सरकारलगायतका सरोकारवालाहरुसँगको बहसपैरवीमा सञ्चारमाध्यमको सकारात्मक र सक्रिय भूमिका आवश्यक रहेको जनाएको छ । सहकारी बीटका कलमजीवीहरुले भने अभियानका सकारात्मक कामहरुको प्रवर्धन गर्दै कमीकमजोरीहरुमाथि निरन्तर खबरदारीको पेशागत धर्मप्रति प्रतिबद्ध रही अन्य विषयमा रणनीतिक सहकार्यमार्फत अघि बढ्न सकिने धारणा राख्नुभएको छ । 

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले वित्तीय सहकारी ऐनको आवश्यकता, स्थिरीकरण कोषको संरचनात्मक परिवर्तन र कार्यविधि संशोधन, स्तरीकरण कार्यक्रमको आवश्यकता आदि विषयमा सरकार लगायतका स्टेकहोल्डरलाई घच्घच्याउन सञ्चारमाध्यमको सहयोग अपेक्षाकृत भएको बताउनुभयो । ‘यी विषयहरु नेफ्स्कूनको लागि नभइ साकोस अभियानलाई सबल, सक्षम र सुशासित बनाउन हुन्, अध्यक्ष ढकालले भन्नुभयो,‘ हाम्रो बहसपैरवीमा मिडियाका साथीहरुको साथ सहयोग आवश्यक छ ।’ 

सरकारसँगको बहसपैरवीको विषयमा सञ्चारमाध्यमको साझा बुझाइ र दरिलो सहयोग आवश्यक भएको अध्यक्ष ढकालले बताउनुभयो । सहकारी अभियानका समस्याहरु चिर्दै जाने विषय महत्वपूर्ण हो, यसका लागि सञ्चारमाध्यमको सहयोगसँगै खबरदारी पनि आवश्यक छ, ’अध्यक्ष ढकालले भन्नुभयो, ‘मुख्य कुरो सिजेएन र नेफ्स्कूनबीच समझदारी आवश्यक छ । सिजेएन सहकारी अभियानको स्टेकहोल्डर भएकोले हार्दिक सम्बन्ध विकास गर्ने दिशामा संघले कुनै कसर बाँकी राख्दैन । यो अन्तरक्रिया र संवाद सुरुवात मात्र हो ।’

अभियान शुद्धीकरण र सुशासित बनाउन स्तरीकरण कार्यक्रममा आवद्धता र स्थिरीकरण कोषको सक्षमता आवश्यक भएको निष्कर्षसहित संघले अघि बढाएका कार्यक्रमहरुमा मिडिया अटेन्सनको बलियो अपेक्षा गरिएको उहाँले बताउनुभयो । स्तरीकरणमा आवद्ध संस्थाहरुमा जोखिम छैन, स्थिरीकरण कोषले जोखिम न्यूनीकरण गर्न भूमिका खेल्छ भन्ने मेसेज सबैतिर पुग्नुपर्छ र यसका लागि मिडियाको भूमिका महत्वपूर्ण छ ।’

नेफ्स्कूनको नवनिर्वाचित सञ्चालक समिति तथा सिजेएनको नवनिर्वाचित कार्य समिति एवम् सल्लाहकारहरुबीच सम्बन्ध र सम्पर्क बिस्तारको लागि आजको कार्यक्रम आयोजना गरिएको हो । नेफ्स्कूनको २०८० साल पुस ७ र ८ गते काठमाडौंमा सम्पन्न ३२औं वार्षिक साधारण सभाबाट चन्द्र प्रसाद ढकालको अध्यक्षतामा १९ सदस्यीय नयाँ सञ्चालक समिति तथा इन्द्रराज ज्योति पौडेलको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको थियो भने सहकारी बिटका पत्रकारहरुको छाता संगठन नेपाल सहकारी पत्रकार समाज सिजेएनको २०८० मंसिर २९ गते को १३औं वार्षिक साधारण सभाले सहकारी खबरका सम्पादक काजी श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो ।

दुबै नवनिर्वाचित समितिहरुबीच आज पहिलो पटक औपचारिक तथा महत्वपूर्ण छलफल भएको हो । नेफ्स्कूनको नवनिर्वाचित समितिले सिजेएनसँगको अन्तरसंवादलाई महत्व दिई कार्यक्रम आयोजना गरेको भन्दै कार्यसमिति एवम् पूर्व अध्यक्षहरुले कृतज्ञतासहित साकोस अभियानका समसामायकि विषयहरु, रणनीति, योजनाहरु, महत्वपूर्ण विषयहरुबारे नियमित रुपमा मिडिया ब्रिफिङ गराउनुपर्ने तर्फ ध्यानाकर्षण गराउनुभएको थियो । साथै सहकारी बिटका पत्रकाहरुको क्षमता अभिवृद्धि, असल साकोसहरुको अध्ययन अवलोकन भ्रमणका साथै सिजेएन कोषमा सहयोगको लागि आग्रह गर्नुभएको थियो । अन्य कार्यक्रमहरुमा सहकार्य र रणनीतिक साझेदारीको विषयलाई संघले रणनीतिक कार्यक्रममा समावेश गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् प्रबक्ता दामोदर अधिकारीले नेफ्स्कून–सिजेएन दर्बिलो सहकार्य आवश्यक भएको भन्दै नवनिर्वाचित समितिलाई द्धिपक्षीय सम्बन्ध र सहकार्य कसरी प्रभावकारी रुपमा अगाडि बढाउन सकिन्छ भन्ने मार्गचित्र तय गर्न सहयोग पुग्ने उद्देश्यका साथ अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो । नेफ्स्कूनले सञ्चारमाध्यमसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राखेको भन्दै सिजेएन पनि अभियानको महत्वपूर्ण स्टेकहोल्डर भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अभियानको स्टेकहोल्डर भएको नाताले पनि अभियानलाई सम्हाल्ने बेला हो यो । यसमा सञ्चारमाध्यको साथ आवश्यक छ ।’

नेफ्स्कून सूचना तथा प्रकाशन उपसमिति संयोजक समेत रहनुभएका बरिष्ठ उपाध्यक्ष अधिकारीले सहकारी अभियानलाई दिगो, मर्यादित, सुशासित र व्यवस्थित बनाउने सामाजिक दायित्व नेफ्स्कून र सिजेएन दुबैको भएको भन्दै अभियानका राम्रा कामको प्रचारप्रसार तथा कमीकमजोरीप्रति निरन्तर खबरदारी आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खासगरी बहसपैरवीमा मिडिया 'ब्याकअप्' एकदमै आवश्यक भएको हामीले पनि महसूस गरेका छौं । यसमा आगामी दिनमा संघको विशेष ध्यान जानेछ ।’ 

उहाँले सञ्चालक समितिको ३२२औं बैठकले गरेको निर्णयहरुबारे पनि सञ्चारमाध्यमलाई अवगत गराउनुभएको थियो । अहिलेको अवस्थामा सञ्चालक समितिको खर्चमा भारी कटौती गरिएको, उपसमिति संयोजकहरु तोकिएको र सदस्यहरु मनोनयनको परिमार्जित कार्यविधिहरु तय गरिएको, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिमा प्रतिनिधित्व गर्नेहरु संघले सञ्चालन गर्ने स्तरीकरण कार्यक्रममा आवद्ध हुनुपर्ने, स्थिरीकरण कोषमा योगदान गर्नुपर्ने लगायतका निर्णयहरु भएको संघका प्रवक्ताले जानकारी गराउनुभयो । साधारण सभाको समीक्षासँगै सदस्यहरुबाट प्राप्त राय सुझाव उपर पनि गम्भीर समीक्षा भएको उहाँले जानकारी गराउनुभयो ।

नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले सिजेएनमार्फत संघको वर्तमान सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका निर्वाचित २२ जना सञ्चालकहरुको प्रारम्भिक संस्था, तिनको वित्तीय अवस्था, सुशासनका अभ्यासहरु, कानून परिपालनको अवस्था, नीतिगत व्यवस्थाहरु तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुसँगै देखिएका कमी कमजोरीहरुबारे पनि कलममार्फत अनुगमन, प्रचारप्रसार र आवश्यक खबरदारीका लागि आग्रह गर्नुभयो ।

उहाँले संघको नेतृत्व गर्ने प्रत्येक सञ्चालकहरुको प्रारम्भिक संस्था राम्रो हुनुपर्ने विषय एकदमै महत्वपूर्ण भएको भन्दै त्यस विषयमा सञ्चारमाध्यमको निरन्तरको खबरदारी आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी समितिका २२ जनासँगै विभिन्न उपसमितिमा रहनेहरुको पनि प्रारम्भिक संस्था के कस्तो अवस्थामा छ भनेर मिडिया अनुगमन गर्दिनुपर्यो । उहाँले सञ्चारमाध्यमले विषयवस्तु बुझेर, तथ्याङ्कमा आधारित र पुष्टि हुने गरी समाचार संप्रेषण गर्नुपर्ने भन्दै वित्तीय कारोबार गर्ने संस्थाहरुमा सानो विषयले पनि ठूलो नकारात्मक प्रभाव पर्ने भन्दै त्यस विषयमा सचेत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसका लागि पत्रकारहरुले सहकारी र साकोसमात्रै बुझेर पुग्दैन PEARLS पनि बुझ्नुपर्छ । त्यो बुझाउने काममा नेफ्स्कूनले भूमिका खेल्छ ।’

संघका महासचिव घनश्याम अधिकारीले सञ्चारमाध्यमसँगको सम्बन्धलाई संघले महत्व दिएरै कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सञ्चारमाध्यमको प्रभाव सशक्त हुने स्वीकार्दै उहाँले सहकारीका राम्रा गतिविधिहरुको थप प्रचारप्रसार, तथ्यगत बिश्लेषण, कमीकमजोरीप्रति खबरदारीसहित ‘वाचडग’ को काममा सिजेएन टीम थप सशक्त भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो । नेफ्स्कूनको बलियो लेगेसी रहेको बताउँदै उहाँले बाहिर हल्ला भए जस्तो नेफ्स्कूनमा कुनै प्रकारको सुशासन वा कानून परिपालनामा समस्या नरहेको स्पष्ट पार्नुभयो । कार्यक्रम सहजीकरण समेत गर्नुभएका महासचिव अधिकारीले सिजेएनसँग विगतमा भएका सहकार्यमा थप वृद्धि गरिदै लगिने बताउनुभयो । 

संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सञ्चारमाध्यम र त्यसमा पनि विशेषत सिजेएनसँगको नेफ्स्कूनको सम्बन्ध पछिल्लो समय केही पातलिएको स्वीकार्दै भावी रणनीतिक मार्गचित्र भित्र नेफ्स्कून–सिजेएन रणनीतिक सहकार्यको विषयलाई प्राथमिकताका साथ सम्बोधन गरेर कार्यक्रमहरु नै समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी, साकोस अभियानका समसामयिक एवम् प्राविधिक विषयमा पत्रकारहरुको सक्षमता अभिवृद्धिका कार्यक्रमहरु, अध्ययन अवलोकनका विषयहरु, आदि कार्यक्रम राखिने जानकारी उहाँले गराउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाले भन्नुभयो, ‘सिजेएन सहकारी अभियानको महत्वपूर्ण मात्र होइन बराबर हैसियतको ‘स्टेकहोल्डर’ हो  । मिडियासँगको हिजोको ग्याप अब फुलफिल गर्छौं ।’ उहाँले संघको सूचना तथा प्रकाशन उपसमिति र सिजेएनबीच कम्तिमा त्रैमासिक बसेर छलफल गर्ने वातावरण हामी मिलाउँछौं ।’ नेफ्स्कूनले स्तरीकरण र स्थिरीकरणलाई अभियानको महत्वपूर्ण विषयका रुपमा अघि बढाएको कुरालाई यहाँहरुमार्फत पनि साझा बुझाइ बनाइ समाचार र गतिविधिहरु सम्प्रेषित हुने विश्वास लिएका छौं ।’

कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापा, सञ्चालकहरु मन्दरा मिश्र, लक्ष्मी सापकोटा, ज्ञानु पौडेल, गोपाल प्रसाद गौतमले सहकारी अभियान जोगाउने जिम्मा सञ्चारमाध्यमको पनि भएको भन्दै आ–आफ्नोतर्फबाट सकारात्मक भूमिका र व्यावसायिक धर्म निर्वाह गर्नुपर्ने बताउनुभयो । नेफ्स्कून र सिजेएनबीचको  सहकार्यमा जोड दिदैं उहाँहरुले सबै सहकारी र सञ्चालकहरुबाट सहकारी मूल्य, मान्तया र सिद्धान्तप्रति प्रतिबद्धता आवश्यक भएको र सञ्चारमाध्यमले पनि सत्यतथ्य बुझेर स्रोतहरुको विश्वसनीयता र तथ्याङकलाई आधार मानेर काम गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराउनुभयो । सञ्चारमाध्यमसँगको यो संवादले आफुहरुलाई राम्रो काम गर्न घच्घच्याएको र सँगै उर्जा पनि मिलेको नेफ्स्कून सञ्चालक समितिको प्रतिक्रिया थियो ।

कार्यक्रममा नेफ्स्कूनका सञ्चालकहरु कमलादेवी गिरी, सुशिल कुमार बस्न्यात, सिता ढकाल पौडेल, शोभा कुमारी राउत, दिप्ती शाही, खेमराज सुवेदी, नवराज अर्याल, देव कुमार श्रेष्ठ, शालिकराम ढकाल र विरबहादुर रावत भोटे सहभागी हुनुभएको थियो ।

यसैगरी, सिजेएनका अध्यक्ष काजी श्रेष्ठले सिजेएनसँग रणनीतिक सहकार्यको आवश्यकता, संघका गतिविधिहरुबारे नियमित जानकारी, पत्रकारहरुको क्षमता अभिवृद्धि, अध्ययन अवलोकन भ्रमण र सहकारी पत्रकारहरुको हकहितका लागि स्थापना गरिएको कोषमा योगदानको आग्रह गर्नुभएको थियो । साकोस अभियानको बहसपैरवीदेखि महत्वपूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रममा सिजेएनसँग सहकार्य गरिनुपर्ने बताउनुभयो । नेफ्स्कूनका सञ्चालकहरु साकोस अभियानको दूत भएकाले आफ्नो संस्था सुशासित बनाउने, वित्तीय रुपमा सबल बनाउने र आफूले अवलम्बन गरेका कुराहरु अरुलाई सिकाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सिजेएनका संस्थापक अध्यक्ष यादव हुमागाई, पूर्व अध्यक्ष डिल्ली सापकोटा, निर्वमान अध्यक्ष खिलानाथ दाहालसँगै उपाध्यक्ष अर्जुन खतिवडा, सचिव सन्तोष रोकाया, सहसचिव सुधा देवकोटा, कोषाध्यक्ष माधवकुमार खड्काले साकोस अभियानको शुद्धीकरण, सुशासन, सदस्य संघ संस्थाहरुको अवस्था, नेफ्स्कूनको भूमिका र सञ्चार सहकार्यबारे आफ्नो धारणा राख्नुभएको थियो । उहाँहरुले सहकारी क्षेत्रबारे समाजमा गलत भाष्य निर्माण भैरहेको अवस्थामा ‘न्यारेटिभ चेञ्ज’ गर्न सामूहिक प्रयास आवश्यक भएको बताउनुभयो । सहकारी अभियान, सरकार र सञ्चार माध्यमको प्रयासमा मात्रै अभियान शुद्धीकरण र सबलीकरण सम्भव भएको भन्दै सरकार र सदस्यलाई सहकारीको महत्व बुझाउन सञ्चारमाध्यमको अपरिहार्यताबारे बक्ताहरुले आफ्ना विचार राख्नुभएको थियो । 

सहकारीका अनुकरणीय कामहरुको प्रचार प्रसार, नीतिगत बहसपैरवी, सुशासन तथा कानूनको परिपालनालाई नेफ्स्कूनको नवनिर्वाचित समितिहरुले विशेष ध्यान राख्नुपर्ने भन्दै संकट र सकसको यो समय काम गरेर देखाउने अवसर पनि भएको भन्दै नयाँ सञ्चालक समितिलाई बधाईसहित सफलताको कामना पनि गर्नुभयो । कार्यक्रममा सिजेएनकी कार्यसमिति सदस्यहरु नमिता दुलाल र बाह्खरी डटकमका बलराम बुढाथोकी पनि सहभागी हुनुहुन्थ्यो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।