शुक्रबार, वैशाख २१
०८:२०

नेपाली साकोस अभियानद्वारा ‘१० बुँदे मार्गचित्र’ प्रति ऐक्यबद्धता जाहेर

बिहीबार, कात्तिक १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नेफ्स्कूनको अग्रसरतामा साकोस अभियानका महत्वपूर्ण विषयमा आजबाट इ–लर्निङ श्रृङ्खला (क्यूमेल्स) सुरु भएको छ । अभियानका जल्दाबल्दा विषयमा अन्तर्राष्ट्रिय विषय विज्ञबाट सहजीकरणसहित सिकाइ आदानप्रदान गर्ने उद्देश्यले नेफ्स्कून साकोस म्यानेजर्स क्लबको आयोजना तथा संघको प्राविधिक सहयोगमा यो भर्चुअल कार्यक्रम गरिएको हो । प्रत्येक अंग्रेजी महिनाका लागि तय गरिएको यो भर्चुअल श्रृङ्खलाको पहिलो एपिसोड बैंकक घोषणापत्रको निरन्तरतास्वरुप गत सेप्टेम्बरमा काठमाडौंमा सम्पन्न अकू फोरमले जारी गरेका ती १० बुँदालाई कसरी नेपालको साकोस अभियानसँग एकाकार गराउने विषयमा केन्द्रीत रहेको थियो ।

साकोस अभियानमार्फत दिगो विकास लक्ष्यहरुमा उल्लेख्य योगदानसहित अन्तर्राष्ट्रिय छवि थप उजिल्याउने उद्देश्यले काठमाडौंमा सम्पन्न अकू फोरमले बैंकक घोषणापत्रलाई बिशेष जोड दिदैं १० बुँदे घोषणापत्र जारी गरेको थियो । आजको भर्चुअल कार्यक्रमका सहभागी नेपालका साकोसहरुले नेफ्स्कूनको अग्रसरता, मागनिर्देशन र सहजीकरणको बलमा रणनीतिक योजना, वार्षिक कार्यक्रम एवम् कार्ययोजनामार्फत सफलीभूत तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यसैगरी, नेफ्स्कूनले पनि आफ्नो भावी रणनीतिक व्यावसायिक योजनामा यी १० बुँदालाई समावेश गर्ने जनाएको छ । कार्यक्रममा सहभागी देशभरका साकोस व्यवस्थापनले १० बुँदा साकोस अभियानको सन् २०३० सम्मको विकासात्मक लक्ष्य भएको भन्दै ऐक्यबद्धता जाहेर गरेको हो । १० बुँदाभित्रै अटाएर धेरै साकोसहरुले थुप्रै काम गरेपनि त्यसका तथ्याङ्कसहितको सग्लो प्रतिवेदन प्रकाशन गर्न र प्रचारप्रसार गर्न नसकेको स्वीकार्दै अबका दिनमा रणनीतिक महत्वसहित काम गरिने सहभागीहरुको धारणा थियो ।

नेफ्स्कून साकोस म्यानेजर्स क्लबका संयोजक केबी लामाले संयोजन गर्नुभएको कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कुशल अन्तर्राष्ट्रिय अभ्यासलाई आन्तरिकीकरण गर्न यो कार्यक्रम सुरु गरिएको बताउनुभयो । विश्वका उत्कृष्ट व्यवस्थापकहरुबाट सहजकीरण हुने कार्यक्रमले नेपालका साकोसहरुलाई महत्वपूर्ण फाइदा हुने र अन्ततोगत्वा यसबाट साकोस अभियाननै लाभान्वित हुने दाबी गनुृभयो । उहाँले अकूकी सिईओ लेनीलाई हरेक एपिसोडमा जोडिन समेत आग्रह गर्दै सहभागीहरुको सृजनात्मक भूमिकाका लागि विशेष आग्रह गर्नुभयो ।

कार्यक्रमा सहजीकरण गर्दै एशियाली ऋण महासंघ अकूकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोके (लेनी) ले सिकाइ श्रृङ्खलाको पहिलो एपिसोडको वक्ता हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले अत्यन्त महत्वपूर्ण विषयलाई पहिलो सिकाइ बनाएकोमा नेफ्स्कूनलाई धन्यवाद समेत दिनुभयो । सन् २०३० सम्मको एसियाली साकोस अभियानको लक्ष्यमा नेपालको योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली साकोस अभियानलाई आफ्नो संस्थागत रणनीतिक योजनामा १० बुँदा अनिवार्य समेट्न आग्रह गर्दै त्यसको कार्यान्वय र प्रभावकारिताको मापनसहितको प्रतिवेदन एकीकृत गरी नेफ्स्कूनमार्फत अकूमा पठाउन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘अबको हरेक साकोसको रणनीतिक योजनामा १० बुँदा अनिवार्य राखिनुपर्छ ।’ उहाँले गत सेप्टेम्बरमा सम्पन्न अकू फोरम २०२३ नेपाली साकोस अभियानको सक्रिय सहयोग र सहभागितामा अत्यन्त सफल भएको भन्दै कृतज्ञता व्यक्त गर्नुभयो ।  

रुस युक्रेन र इजरायल प्यालेस्टाइन युद्धले निम्त्याएका भूराजनीतिक असरहरुबाट नेपाली साकोस अभियान पनि अछुतो रहन नसक्ने बताउँदै त्यसको असर न्यूनीकरणका लागि लघुवित्त कार्यक्रम प्रभावकारी हुने लेनीले बताउनुभयो । उहाँले दिगो लघुवित्त कार्यक्रमको माध्यमबाट सदस्यहरुलाई परेको प्रभाव न्यूनीकरण गर्न सकिने बताउँदै सोही विषय घोषणा पत्रमा समावेश गरिएको जानकारी गराउनुभयो ।  
१० बुँदाका प्रत्येक विषयका निश्चित लक्ष्य निर्धारण गरिएको भन्दै तिनलाई पूरा गर्न नेपाली साकोस अभियानको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो । सबै बुँदाबारे प्रष्ट पार्दै तिनलाई नेपाली साकोस अभियानले कसरी अवलम्ब गर्न सक्छ भनेर सहजीकरण गर्नुभयो । अकूकी सीईओ लेनीले साकोसहरुलाई सहयोगको लागि अकूले बिजनेश सोलुसन तयार गरेको भन्दै यसको आधारबाट पनि यी बुँदाहरु अवलम्बन गर्न सहज हुने बताउनुभयो । नेफ्स्कूनको महत्वपूर्ण र नेतृत्वदायी भूमिकाको लागि पनि उहाँले घच्घच्याउनुभयो ।

साकोसमा सदस्यदेखि नीति निर्माण तहमाम महिला र युवासहभागिता, व्यवसाय विकास सेवामार्फत स्वरोजारका अवसरमा सदस्यहरुलाई जोड्नुपर्ने बुँदाहरुबारे लेनीले नेपाली साकोस अभियानलाई जानकारी गराउनुभयो । उहाँले १८ देखि ३० वर्ष युवाहरुको सञ्चालक समितिमा सहभागितालाई पनि नेपाली साकोस अभियानले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । व्यवसाय विकास योजनामार्फत सदस्यहरुलाई स्वरोजारमा जोड्नुपर्ने, सदस्यहरुको वित्तीय कल्याणका लागि काम गर्नुपर्ने उल्लेख गर्दै अकूकी सिईओ लेनीले सदस्यहरु र साकोसका कर्मचारीहरुको जीवनस्तर उठेन भने साकोसको दिगोपनामा असर पर्ने बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘सदस्यहरुको वित्तीय कल्याण भएन भने साकोसमा भाखा नाघेको ऋण बढ्छ ।’ 

त्यसैगरी, नेतृत्वले बचत ऋण सहकारीका मूल्य मान्यता, सिद्धान्त र लगाव नयाँ पुस्तामा हस्तान्तरण गर्न सक्नुपर्ने विषयलाई घोषणापत्रमा समावेश गरिएको बताउनुभयो  । उहाँको भनाइ थियो, ‘नेतृत्वमा सिद्धान्त, मूल्य र मान्यतामा विचलन आउन दिनु हुँदैन ।’ त्यसैका लागि लीडरशीप बुटक्याम्प आयोजना गरिएको बताउनुभयो  । उहाँले भन्नुभयो, ‘अनुभवी पुस्ताले उर्जाशील पुस्तालाई डोहोर्याउनुपर्छ, ज्ञान र अनुभव हस्तान्तरण गर्नुपर्छ ।’ वित्तीय सहकारीहरुको डिजिटलाइजेनमार्फतप्रतिस्पर्धी स्थान कायम गर्न सहयोग पुग्ने भन्दै प्रविधिकरणमा बिशेष जोड दिनुभयो । प्रविधि महंगो हुन्छ त्यसैले सबैको सहभागितामा । यो आवश्यकता हो । बलियो प्रविधिरणको खाँचो औंल्याउनुभयो । जलवायु कार्यमा योगदानसहित हरित साकोस अभियानका लागि भूमिका खेल्नुपर्ने विषय पनि घोषणापत्रमा समेटिएको उहाँले जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले साकोसहरुले लघुवित्त कार्यक्रम (क्यूमी)मार्फत सदस्यहरुको पहुँच विस्तार गर्न सक्ने बताउनुभयो । कार्यक्षेत्रका सबै सदस्यलाई समेट्न लघुवित्त कार्यक्रम उपयोगी हुने उहाँको भनाइ थियो । उहाँले महिला र युवाहरुलाई साकोसको नेतृत्वमा समाहित गर्नुपर्ने विषय १० बुँदामा उल्लेख भएको भन्दै यसतर्फ पनि नेपाली साकोस अभियानले धेरै गर्न बाँकी रहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । 

त्यस्तै, सदस्यहरुको वित्तीय कल्याणको विषय अकूको ३३औं सोलुसनमा समावेश भएको भन्दै नेफ्स्कूनले त्यसलाई नेपाली भाषामा अनुवाद गरेको जानकारी समेत उहाँले गराउनुभयो । नेतृत्वलाई बचत ऋण सहकारीको मर्म आत्मसात गर्न नेपालमा पनि बुटक्याम्प आयोजना गरिएको उहाँले उल्लेख गर्नुभयो ।  यसैगरी, प्रविधिकरणको विषय धारणा राख्दै  प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाले डिजिटाइजेसन नभए अभियान पछि पर्नेतर्फ सचेत तुल्याउनुभयो । एक्लो हिडेर परिचय फराकिलो नहुने भन्दै नेफ्स्कूनका सिईओ डा. सापकोटाले साकोस अभियानको सञ्जाल व्यवस्थापनमा जोड दिनुभयो । उहाँले भन्नुभयो,’ सञ्जाल अभियानको शक्ति हो । जोखिम, बजार, सदस्य, प्रविधिका जोखिकाकुराहरुका लागि पनि हामी सञ्जालको स्ट्र्ेन्थमा जोडिनैपर्छ ।’

उहाँले भन्नुभयो, ‘सन् २०३० हाम्रो बटमलाइन हो । सबैले यसको रोडम्याप बनाउनुपर्छ । रणनीतिक योजना तथा कार्ययोजनामा समावेश गर्नुपर्छ । अब हामीले देखिने गरी १० बुँदामा काम गर्नुपर्छ ।’ उहाँले अब हरेक सहकारीले वार्षिक प्रतिवेदनमा १० बुँदा अन्तर्गत गरिएका कामहरु र प्राप्त उपलब्धिहरुको मापनसहितको विवरण अनिवार्य सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘नेफ्स्कूनले अब बनाउने रणनीतिक व्यवासायिक योजनाभित्र यी १० बुँदा समेटिनेछन् र तिनको कार्ययोजना बन्नेमात्र होइन प्रभावकारित समेत मापन गर्ने विधि र पद्धति विकास गरिनेछ । ’ यसैगरी उहाँले नेपालको साकोस अभियानको तर्फबाट भएको समूच्च योगदानलाई नेफ्स्कूनले एकीकृत गरेर अकूलाई पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सिकाइ श्रृङ्खलाअन्तर्ग डिसेम्बर १ मा आयोजना गरिने दोस्रो एपिसोडमा स्थिरीकरण कोषका आवश्यकता र आयामबारे फिलिपिन्सको अनुभव लिइने जानकारी समेत उहाँले गराउनुभयो ।

नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिनाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । उहाँले अकू फोरमले देखाएको बाटो र त्यसमा नेपालको साकोस अभियानको भूमिका के रहने भन्ने विषय आजको महत्पूर्ण सिकाइ हुने बताउनुभयो । सिकाइ कहिल्यै पूरा हुँदैन भन्दै उहाँले मासिक रुपमा आयोजना गरिने यस्ता कार्यक्रमको लाभ लिन सबैलाई आग्रह गर्नुभयो । ‘स्मार्ट म्यानेजर बनाउने नेफ्स्कूनको ध्येय हो ’ नेफ्स्कूनका सूचना अधिकारीसमेत रहनुभएका सहायक कार्यकारी अधिकृत तिमिल्सिनाले भन्नुभयो, ‘हाम्रा सदस्य संस्थालाई विश्वव्यापी रुपमा कसरी अघि बढाउन सकिन्छ भनेर अन्र्राष्ट्रिय अभ्यासलाई आन्तरिकीकरण गर्न सहयोग पुग्ने गरी कार्यक्रम गरिएको हो ।’  उहाँले भन्नुभयो, ‘बुझाइ, सोचाइ र कार्यदक्षताको क्षीतिज फराकिलो बनाउन यो श्रृङ्खला सुरु गरिएको हो ।’

कार्यक्रमका संयोजक विन्धवासिनी साकोसका प्रमुख कार्यकारी अधिकृत केबी लामाले १० बुँदेप्रति संस्थागत तथा क्लबकोतर्फबाट समेत ऐक्यबद्धता जनाउनुभयो । उहाँले आफ्नो संस्थाबाट भएका क्रियाकलापहरुबारे जानकारी गराउँदै १० बुँदेसँग एकाकार हुने भावी योजनासमेत राख्नुभएको थियो ।  नेफ्स्कूनका बरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले सञ्चालन सहजीकरण गर्नुभएको थियो । उहाँले राम्रो काम गर्न कहिल्यै ढिलो हुँदैन भन्दै अब १० बुँदे घोषणापत्र कार्यान्वयनको काउन्टडाउन सुरु भएको बताउनुभयो । नेपालको साकोस अभियानको तर्फबाट १० बुँदे घोषणा कार्यान्वयनका लागि नेफ्स्कूनले सदस्य संस्थाहरुका लागि आवश्यक सबै प्रकारको सहजीकरण गर्ने विश्वास सहित कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो । 

कार्यक्रममा सहभागी साकोसका व्यवस्थापकहरुले यी बुँदाहरु कार्यान्वयनका लागि नेफ्स्कूनले छुट्टै युनिट खडा गरेर आवश्यक रणनीति, कार्यदिशा, पृष्ठपोषणसहित यसकोको प्रभावको बिश्लेषणका लागि समग्रता काम गर्नुपर्ने सुझाव राख्नुभएको थियो । यसैगरी, संघको अगुवाइमा युवाहरुलाई साकोस अभियानमा थप उत्प्रेरित गर्ने खालका योजना र कार्यक्रम ल्याइनुपर्ने पनि सहभागीहरुको राय रहेको थियो । त्यसका लागि युवाहरुको राष्ट्रिय सञ्जालसमेत बनाउन सकिने सुझाव प्राप्त भएको थियो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र