मंगलबार, मंसीर ९
०३:५०

सहकारीको बार्षिक साधारणसभा एक नयाँ अनुभवः साकोस व्यवस्थापक

बिहीबार, कात्तिक ६
राधा पौडेल
saccosaawaj

काठमाडौं । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना कहरका कारण मानिसहरुको भिडभाड नगर्न, भौतिक दूरी कायम गर्न र सभा–सम्मेलनहरू नगर्न नेपाल सरकारले पटक पटक विभिन्न निर्देशनहरु जारी गर्दैआइरहेको छ । कोरोनाका कारण राष्ट्रिय अर्थतन्त्रका तीन खम्बामध्येको एक सहकारी क्षेत्र पनि निकै प्रभावित भएको छ । 

कोरोनाकै कारण सहकारी क्षेत्र लगायत कतिपय पब्लिक कम्पनीहरुले तोकिएको समयावधिभित्र आफ्नो बार्षिक साधारणसभा गर्न सकिरहेका छैनन् भने केही संघ संस्थाहरुले वार्षिक तथा विशेष साधारणसभाहरू भर्चुअल विधिमार्फत पनि सम्पन्न गरिरहेका छन् ।

नेपाल सरकार, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय–सहकारी विभागले सहकारी संघ संस्थाहरुको साधारणसभा समयमै सम्पन्न गर्न असोज १ गते सूचना जारी गरेको थियो । सहकारी अभियानका शीर्ष संघहरुः राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक लगायतका अभियानकर्मीहरुको निरन्तरको बहश पैरवीकै कारण अन्तत विभागले साधारणसभा सम्बन्धी विद्युतीय माध्यमलाई स्वीकार गरेको छ । फलस्वरुप विभागको सूचना सँगै सहकारी संस्थाहरु सहकारी ऐन २०७४ ले तोेकेको समयावधिभित्र लेखापरिक्षण सम्पन्न गरी साधारणसभाको तयारीमा जुटिरहेकै छन्  । विभागले जारी गरेको सूचना बमोजिम सहकारीले साधारणसभाको कार्यक्रम विद्युतीय माध्यमबाट सञ्चालन गर्न सक्ने र सम्भव भएसम्म साधारणसभा सञ्चालन अवधि भरिको सबै गतिविधिहरु सामाजिक सञ्जाल वा स्थानीय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था सहित सम्पन्न गतिविधिको रेकाङि साधारणसभा सकिएको ७ दिनभित्र नियमनकारी निकायमा पेश गर्न निर्देशन दिएको छ । 

नेफ्स्कूनले पनि आफ्ना सदस्य संघ संस्थाहरुलाई स्वयिनमनमा सहयोग पुर्याउने उद्देश्यसहित संघको ३३ औं स्थापना दिवसको अवसरमा एकीकृत स्वनियमन मार्गनिर्देशनः २०७७ जारी गरेको थियो । उक्त मार्गनिर्देशनमा महामारीको समयमा वार्षिक साधारण सभा आयोजना सम्बन्धी उपशिर्षकहरु समावेश गरिएका थिए । 

सामान्य अवस्थामाः (१) संघसंस्थाले सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५, सहकारी संस्थाको साधारणसभा (कार्य व्यवस्था) निर्देशिका, २०७६ र सम्बन्धित नियामक निकायहरुले जारी गरेको ऐन–नियम बमोजिम वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्नेछ ।

आर्थिक बर्ष समाप्त भएको ३ महिना शुरु भएसँगै सहकारी बिभागको सूचना तथा छाता संगठनको निर्देशिकाका आधारमा संस्थाले “महामारीमा साधारण सभा सञ्चालन सम्वन्धी कार्यविधि–२०७७” निर्माण गरी धमाधम साधारण सभाको शुरुवात गरेका छन् । 

असोज र कात्र्तिक महिनाको शुरुवातसँगै महान् चाड दशैं तिहारलाई विदाई गर्दै सहकारीका जिल्ला संघ र विषयगत केन्द्रीय संघहरुको पनि साधारणसभा तयारीका लागि काम शुरु भईसकेको छ । नेफ्स्कूनले पनि महामारी र बडादशैंको शुभारम्भसँगै बार्षिक साधारणसभाको कार्यतालिका सार्वजनिक गरेको छ । असोज २२ गतेदेखि साधारणसभाको प्रक्रिया शुरु गरी मंसिर ५ गते भर्चुअल विधिमार्फत साधारणसभा सम्पन्न गर्न कार्तिक ५ गते सदस्यहरुमा सूचना जारी गरेको छ ।  संघले ७ वटै प्रदेशमा क्रमश जुम  एप्लिकेशनमार्फत विस्तारित मञ्चहरु आयोजना गर्ने र संघका फिल्ड कार्यालय र जिल्ला बचत संघहरुमा सेवा केन्द्र तोकेर सदस्य उपस्थितिको व्यवस्था गर्ने तयारीमा छ । साथै नेफ्स्कूनले साधारणसभाको कार्यक्रम संघको युटुब च्यानल, डिजिटल पत्रिका साकोस आवाज, फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिने पनि सूनचामार्फत जानकारी गराएको छ ।

कतिपय सहकारीहरुले दशैं अगावै बार्षिक साधारणसभा सम्पन्न पनि गरिसकेका छन् । कोभिड महामारीको अवस्थामा सहकारीको बार्षिक साधारणसभाको विषयलाई लिएर महामारीका समयमा बार्षिक साधारणसभा कति प्रभावकारी ? कति जटिल ? रह्यो भन्ने विषयमा सदस्य सहकारीका केही प्रतिनिधिमूलक व्यवस्थापकहरुको स्वतन्त्र आवाजलाई साकोस आवाजले जस्ताको तस्तै समेटेको छ । 

महेश प्रसाद ढुंगेल, व्यवस्थापक, 
हातेमालो साकोस,
सिमरा – बारा
                                                 

हातेमालो बचत तथा ऋण सहकारी संस्था लि. सिमरा बाराले आफनो १३ औ वार्षिक साधारण सभा महामारीका बीत सम्पन्न गर्यो । महामारीका कारण विगत बर्षहरुमा भन्दा फरक ढंगबाट सम्पन्न साधारण सभामा सदस्य स्वास्थ्य जोखिमलाई विशेष ध्यान दिइयो । सहकारी विभागको सुचनाका आधारमा “महामारीमा साधारण सभा सञ्चालन सम्वन्धी कार्यविधि” निर्माण गरी असोज १६ देखि साधारणसभाको प्रारम्भिक प्रक्रियाहरु शुरु गरी कार्तिक १ सम्पन्न गर्यौं । १५ दिनको समयमा कर्मचारीहरुमार्फत साधारण सभाका सम्पूर्ण प्रतिवेदनहरु सदस्यहरुलार्ई पाएक पर्ने स्थानहरुमै उपलब्ध गरायौं ।

सधै सबै सदस्यलाई एकै ठाउँमा बोलाएर ठूलो कार्यक्रमको आयोजना गर्ने हाम्रो नियमित प्रक्रिया भन्दा भिन्न ढंगबाट गर्नु पर्ने बाध्यता महामारीले सृजना गरेको थियो । जसले अलमल र काम गर्न जटिल हुनेहोकी ! सदस्यहरुको सहभागिता नहुनेहोकी ! भन्ने लागेको थियो । यसरी गर्न समयावधि लामो लाग्ने भएकाले असोज भित्र सक्नुपर्ने चुनौति हामीमाझ थपिएको थियो । समयमै लेखापरिक्षण सम्पन्न गराएर १५ दिन अगावै प्रतिवेदन सदस्यको हातहातमा पुर्याउन समयको पावन्धी छदैथियो । यसै बीचमा कार्यालयलाई नियमित सञ्चालन गरिराख्न, स्वास्थ्य मापदण्ड कायम गर्दै सीमित कर्मचारी व्यवस्थापन गर्न र कार्यालय समयभन्दा अगाडि र पछाडिको सयम व्यवस्थापन गरी कर्मचारी परिचारलमार्फत कार्यलय सञ्चालन तथा सेवा निरन्तरताका लागि कटिबद्द्ध थियौं । महामारी जोखिमका कारण कर्मचारीको खानपान व्यवस्थापन पनि कम जोखिमयुक्त थिएन । 
कोरोना संक्रमणको उच्च जोखिमका बीच कर्मचारीहरुलाई फिल्डमा जानु र सदस्य अन्तरक्रिया तथा सुझाव संकलनको कार्यले जोखिमको सम्भावना बढाएको थियो । म स्वयं पनि कोरोना संक्रमणमा परी संक्रमणलाई परास्त गर्दै कर्मक्षेत्रमा जुटेको व्यक्ति थिएँ । कोरोना संक्रमणको व्यक्तिगत र सामाजिक दृष्टिको पीडालाई नजिकबाट नियालेको हुँदा कर्मचारीहरुको सुरक्षा सतर्कता र भौतिक दुरीको परिपालनामा सचेतना जगाउँदै बार्षिक रुपमा आउने सर्बोच्च सभालाई प्रभावकारी रुपमा सफल पार्न हातेमालो परिवारका लागि नयाँ अवसरले सृजना गरेको चुनौति थियो । 

संसारका धनी र स्वास्थ्यका हिसावले अब्बल मानिएका राष्ट्रलाई समेत हायल कायल बनाएको कोरोना महामारीबाट जोगिएर सदस्यहरुको सामुदायिक हितका लागि कार्यगर्नुपर्ने सहकारी क्षेत्रका कर्मचारीको सुरक्षित स्वास्थ्य सुनिश्चितता संस्थाका लागि हालसम्म पनि ठूलो चुनौतिको रुपमा रहेको छ  ।


समस्याको सचेतनापूर्ण समाधान सहित सदस्यहरुको सर्वोच्च सभा सफल गर्न हातेमालो परिवार दृढताका साथ लागिपर्यो र सभा प्रभावकारी रुपमा सम्पन्न पनि भयो । जब हाम्रो क्यालेण्डर अनुसार पहिलो दिन तोकिएको वडामा जाँदा ८० प्रतिशत भन्दा बढि सदस्यको सहभागिताले हामी उत्साहित भयौ । दोस्रो दिन राम्रो सहभागिता नभएपछि पुन क्यालेण्डरलाई केही लचिलो बनाएर कामलाई जारी राख्यौ । यसरी गर्दा सदस्यले समयमा प्रतिवेदन पाउने, सँगसँगै प्रतिवेदनका बिषयमा आफनो राय राख्ने सुबिधाले सदस्यमा कुनै नकारात्मक टीका टीप्पणी गर्ने अवस्था रहेन  । सदस्यहरुको व्यवस्थित र वितरित  उपस्थितिका कारण स्वास्थ्य जोखिम स्वभाविक रुपमा न्यून रह्यो । सदस्यहरुका लागि पनि समय व्यवस्थापन सहज बन्यो । 

गोविन्द लामिछाने
व्यवस्थापक, लेखनाथ साकोस, लेखनाथ–पोखरा ।

सहकारीहरूका लागि बार्षिक साधारणसभा सबैभन्दा महत्वपूर्ण सदस्यहरूको सर्वोच्च सभा हो । यसमा सदस्यहरूले संस्थाले गरेका गतिविधिहरू, सहकारीको सिद्धान्त र लोकतान्त्रिक सामाजिक पद्धतिको आधारमा आफ्ना धारणहरु प्रस्तुत गर्दछन् ।
मुख्य रुपमा समुदायमा आधारित स्वायत्त सामाजिक व्यवसायको रुपमा सकहारीलाई लिइन्छ । सहकारीले संगठनको आकार दिन हरेक सदस्यको सक्रिय सहभागिताको प्रजातान्त्रिक सिद्धान्तको अधिकार प्रदान गर्दछ र उनीहरू आफ्नो राय मात्र ब्यक्त गर्दैनन्, आफ्नो सर्वश्रेष्ठ प्रतिनिधित्वको छनौट गर्न मतदानको अधिकार समेत प्रयोग गर्दछन् । साधारण सभा मार्फत नै संस्थाले गरेका सबै गतिविधिको समर्थन हुन्छ र नयाँ आर्थिक वर्षको लागि अनुमानित बजेटको रणनीति अगाडि बढाइन्छ ।

महामारीका कारण केही दिन अगाडि सम्म सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ र सहकारी संस्थाको साधारण सभा –कार्यव्यवस्था) निर्देशिका २०७६ तथा विभिन्न प्रदेश तथा स्थानिय सहकारी ऐन र नियमावलीमा कुनै स्पस्ट कानुनी प्रावधान नभएकोले बार्षिक साधारण सभा बैठक आयोजना गर्ने प्रक्रियाबारे अनिश्चितता देखा परेको थियो । 

यसैबीच भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्र्तगत सहकारी विभागले २०७७ असोज १ गते सहकारीको साधारणसभा सम्बन्धी १३ बुँदे सूचना जारी गर्यो, त्यसले सहकारीहरूको बार्षिक साधारण सभा सञ्चालनका लागि मार्ग प्रशस्त गर्यो ।  सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ र सहकारी संस्थाको साधारण सभा –कार्यव्यवस्था) निर्देशिका २०७६ तथा विभिन्न प्रदेश तथा स्थानिय सहकारी ऐन र नियमावलीले प्रत्येक आर्थिक वर्षको वित्तिय हिसाव किताबको लेखापरिक्षण सो आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्र इजाजत प्राप्त लेखा परिक्षणबाट गराई सहकारी संस्थाको योजना, वार्षिक बजेट तथा कार्यक्रम, नीति एवं कार्यविधिहरु तर्जुमा गरी प्रत्येक आर्थिक बर्ष समाप्त भएको मितिले ६ महिना भित्र वार्षिक साधारण सभा बोलाउनु पर्ने छ । नियामाक निकायले यो स्पस्ट गर्यो कि कानुन र नियमहरुलाई वर्तमान परिदृष्यको परवाह विना नै उल्लंघन गर्न सकिदैन र सम्भव भएसम्म भर्चुअल साधारण सभाको विकल्प पनि प्रदान गर्यो ।
स्थानिय प्रसाशनको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्र्दै विभागले सहकारीहरुलाई स्थानिय रेडियो, टेलिभिजन, समाचारपत्रहरु मार्फत समाचार प्रसारित गर्न, कार्यक्रको विवरण र बार्षिक रिपोर्टहरु प्रसारण गर्न आग्रह गरेको छ । प्रत्येक सदस्यले सुचना प्राप्त गर्न तथा तिनीहरुको वहुमुल्य सुझाव संकलन गर्न भनेको छ । सार्वजनिक सुरक्षाका उपाय सुनिश्चित गर्नको लागि सदस्यको मात्रा तथा कार्यक्षेत्रको आधारमा १५ दिनसम्म संचालन गर्न सक्ने व्यवस्था गरेको छ ।
समयले सहकारीहरुलाई अप्रत्यासित रुपमा असाधारण र भव्य शैलीमा आयोजना गर्ने खर्चालु साधारणसभा भन्दा सदस्यमैत्री र भर्चुअल माध्यममार्फत भएपनि छलफल र सुझावमैत्री बनाएको छ । यस वर्ष साधारण सभा सम्पन्न गरि सकेका सहकारीहरुको तथ्याङ्क हेर्ने हो भने सदस्यहरुको उल्लेख्य सहभागिता बढेको पाइन्छ । 

गण्डकी प्रदेश, पोखरा महानगरपालिका लेखनाथ चोक स्थित लेखानाथ बचत तथा ऋण सहकारी संस्था लि.को पनि १२औं बार्षिक साधारणसभा असोज २८ गते सम्पन्न भयो । विगतका बर्षहरुमा भन्दा फरक शैलीमा सम्पन्न साधारणसभामा एक सातासम्म सदस्य उपस्थिति खुला गरि सदस्यहरुको घर घरमा पुगेर उपस्थिति, सुझाव तथा टिप्पणी संकलन को काम गरियो । असोज १९ देखि २७ गतेसम्म कार्यालय साथै सदस्य घरदैलो कार्यक्रममार्फत संकलित सुझावमाथि असोज २८ गते स्वास्थ्य मापदण्ड को निर्देशन पालना गर्दै प्रतिनिधिमुलक सदस्य उपस्थितिमार्फत निर्णय प्रमाणित गरी १२औं बार्षिक साधारणसभा सम्पन्न गरियो । साधारणसभामा ७० प्रतिशत सदस्य उपस्थिति रह्यो ।  यस्ले के देखाउछ भने वास्तविक परिवर्तन गर्ने समय आएको हो । हामीले सहकारीको साधारण सभा सञ्चालन विधिलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन भौतिक उपस्थिति र एक दिनको मात्र बोझिलो भन्दापनि साताव्यापी सुझाव संकलन र प्रविधिको प्रयोग मार्फत सहजीकरण गर्न सकिन्छ भन्ने विषयलाई महामारीले सिकाएको छ । यसलाई सकारात्मक रुपमा लिएर महामारीबाट नव सृजनाका नवीन पाठहरु सिक्नुपर्ने बेला हो भन्ने मैले महशुस गरेको छु । आईसिए, ओकु, अकु जस्ता अन्तराष्ट्रिय सहकारी संघ संस्थाहरुले समेत सदस्यको सहभागिता र उत्पादकत्व नघटाई कम लागत र समयमा कार्य सम्पन्न गरेका छन् । सदस्यको स्थिति, नाफा, योजना र प्रक्रियाको साझा फोरम बनाउदै विश्व्यापी अभ्यासको आन्तरीकरण गर्न आवश्यक छ । सामाजिक रुपले स्वीकृत र संवैधानिक मान्यता प्राप्त व्यवसायिक प्रयासहरुलाई अर्थपूर्ण बनाउन सकेमा आगामी दिनमा सदस्यको सहभागिता र उत्पादकत्व बढाउदै कम लागत र समयमा साभारणसभा सम्पन्न गर्न सकिनेछ । 
 

निर्मल प्रसाद हुमागाईं
व्यवस्थापक, स्मरण साकोस, अनामनगर–काठमाडौं

सहकारी ऐन २०७४ को दफा ३९ बमोजिम प्रत्येक सहकारी संस्थाले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र अनिवार्य रुपमा संस्थाको वार्षिक साधारण सभा सम्पन्न गरी १५ दिन भित्र साधारण सभाको निर्णय तोकिए बमोजिमको निकायमा पेश गरी सक्नु पर्ने प्रावधान रहेको छ ।

सहकारी संस्थाको सर्वोच्च अंग भन्नु नै साधारण सभा भएकोले सहकारी ऐन २०४८ मा २५.५ वा १३ जना भन्दा बढी जुन हुन्छ उपस्थित भएमा साधारण सभाको लागि गणपुरक संख्या पुगेको मानिने व्यवस्था थियो । हाल सहकारी ऐन, २०७४ जारी भए पश्चात ऐनको दफा ४० (४) बमोजिम वार्षिक साधारण सभाका लागि कम्तीमा ५१.५ को उपस्थिति अनिवार्य भएको छ ।

वर्तमान अवस्थामा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट नेपाल पनि अछुतो रहन नसकि रहेको अवस्थामा समूहमा आधारित भै सञ्चालित सहकारी संस्थाको ऐनको दफा १८ बमोजिम न्यूनतम कार्यक्षेत्र भित्र रहेका सदस्यहरुलाई भौतिक रुपमा उपस्थित गराएर साधारण सभा सम्पन्न गर्न कठिन हुने देखिन्छ । तर पनि संस्थाको टिम एकताबद्ध भै उच्च मनोबल र दृढ इच्छा शक्तिका बीच अगाडि बढ्ने हो भने साधारण सभा सम्पन्न गर्न कठिन छैन । तर सचेत भै स्वास्थ्य मापदण्ड पालना गर्दै अगाडि बढ्न सकिन्छ । त्यसको ज्वलन्त उदाहरण स्मरण साकोस पनि एक हो । साधारण सभा सम्बन्धी नयाँ कार्यविधि पारित गरी सप्ताहव्यापी रुपमा यस संस्थाले साधारण सभा सम्पन्न गरेको छ । सहकारी ऐनले तोके अनुसार साधारण सभाको निर्णय कम्तीमा ५१.५ को उपस्थिति अनिवार्य रहेकोले साताव्यापी रुपमा संस्थाको कार्यालयमा सञ्चालित साधारण सभा गरिरहँदा गणपुरक संख्या पुर्याउन धैरे कठिन रहेको स्मरण साकोसको अनुभव छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र