बुधबार, जेठ २
०९:१२

स्थिरीकरण कोषले मनायो पहिलो स्थापना दिवस, बचत ऋण अभियानमा कोषको स्थापना सकारात्मक रहेको सचिवको स्पष्टोक्ति

शनिबार, जेठ २७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषले पहिलो स्थापना दिवस मनाएको छ । २०७९ जेष्ठ २७ गते तत्कालिन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रीपरिषद्को निर्णय बमोजिम स्थिरीकरण कोषको औपचारिक शुभारम्भ भएको घोषणा सँगै औपचारिकता प्राप्त गरेको कोषले आज पहिलो स्थापना दिवस मनाएको हो । स्थापना दिवसका अवसरमा कोषद्वारा प्रकाशित स्मारिकाको विमोचन सचिव रेग्मीले गर्नुभएको थियो ।  

स्थिरीकरण कोष सञ्चालन समितिका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मीले गर्नुभएको थियो । पहिलो स्थापना दिवसले स्थिरीकरण कोषको प्रभावकारी कार्यान्वयनका लागि थप सहकार्य र हौसलाको वातावरण सिर्जना गरेको सहभागी बक्ताहरुले जोड दिएका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनले शुरु गरेको स्व–नियमनमा आधारित स्तरीकरण कार्यक्रम र योगदानमा आधारित स्थिरीकरण कोषको अवधारणाको प्रशिक्षण तथा विधि निर्माणमा सहकारी ऐन, २०७४ को दफा १०३ ले बचत तथा ऋण सहकारी संस्थाहरूको सञ्चालनमा रहेको जोखिम व्यवस्थापनका लागि आपसमा मिली स्थिरीकरण कोष स्थापना गर्न सक्ने व्यवस्था गरी कानूनी रूपमा स्थिरीकरण कोष स्थापनाको बाटो उजागर गरेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सहकारी सचिव रेग्मीले स्थिरीकरण कोष समयको मागसँगै शुरु भएको नविन अवधारणा रहेको बताउनुभयो । २०६९ सालदेखि शुरु भएको अवधारणा करिब १० बर्षपछि कार्यान्वयनमा आएको छ, पाइला चालेपछिनै गन्तव्यमा पुग्न सकिन्छ, यो पाईला चलाइलाई मैले सकारात्मक रुपमा लिएको छु, उहाँले भन्नुभयो । सेफ्टी मेजरको रुपमा हामीले यसलाई लिनुपर्छ । हामीले हाम्रो (बचत तथा ऋण सहकारीको) बचाउको लागि ल्याएको अवधारणा हो । शुरुवात भएको एक बर्ष मात्र भयो, यसमा राख्नुपर्ने प्रोभिजन अपुग भएको हुनसक्छ, सञ्चालन समिति यसप्रति अझ बढि क्रियाशिल भएर लाग्नुपर्ने उहाँको भनाई थियो । हामीले ल्याएको अवधारणाबाट काम गर्न सक्छौं सक्दैनौं, त्यो प्रति हामी कति प्रतिबद्ध छौं भन्ने कुराले यसको प्रभावकारिता निर्धारण गर्ने सचिव रेग्मीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “स्थिरीकरण कोष कुनै पनि वित्तीय सहकारी ठीक छ छैन मापन गर्ने सूचक बनोस्, स्थिरीकरण कोषमा आवद्ध हुनु भनेको त्यो संस्था एउटा राम्रो मापदण्डमा चलेको छ भन्ने मान्यता स्थापित गर्न सक्नु हो ।” यसको सहजीकरणका लागि मन्त्रालयको सँधै साथ सहयोग रहने बचनबद्धता व्यक्त गर्नुभयो ।

स्थिरीकरण कोषका अध्यक्ष परितोष पौड्यालले अभियानले लामो प्रतिक्षाबाट प्राप्त कोष सञ्चालन र यसको सञ्चालकीय अभ्यासलाई चुस्त दुरुस्त वनाउन योगदानकर्ताहरुको साथ सहयोग सवैभन्दा महत्वपूर्ण रहने बताउनुभयो । नेपालको सहकारी ऐन र नियमावलीले परिभाषित गरेको विषयमा नेपाल सरकार र बचत ऋण अभियान दृढताका साथ अगाढि बढेको स्पष्ट पार्नुभयो । ऐनमा भएको व्यवस्थालाई स्थापित र सुदृढ गर्न हामी प्रतिबद्ध छौं । उहाँले भन्नुभयो, “हामी स्थिरीकरण कोषलाई प्रभावशाली बनाउँछौं र यसकै माध्यमबाट सहकारी संस्थाको सुरक्षाको प्रत्याभूति दिँदै यसलाई सबल, उन्नत र गरिमामय बनाउन प्रयत्नरत छौं ।” स्थिरीकरण कोष दिगो बचत ऋण सहकारी अभियानका लागि हो र दिगो बचत ऋण सहकारी अभियानले मात्र स्थिरीकरण कोष स्थापना र विकास गर्न सक्ने उहाँको भनाई थियो । 

कार्यक्रममा सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले स्थिरीकरण कोष सम्बन्धी कानुनी व्यवस्था, कोषको गठन तथा सञ्चालन, कोषको उपयोग, कोषका मुख्य कार्यहरु, कोषमा सहभागिताको लागि योग्यता सहितका विविध विषयवस्तुमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

नेफ्स्कूनका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार डी.बी. बस्नेतले बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष कानुनतः बचत ऋण सहकारीको केन्द्रीय संघमा रहने स्पष्ट व्यवस्था सँगै कोषको पूर्णत इन्टाइटि नेफ्स्कून नै रहने स्पष्ट पार्नुभयो ।  उहाँले नेफ्स्कूनकै लोगो र नेफ्स्कूनकै पान नं. रहने गरि कोष अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । 
 
नेफ्स्कूनका पूर्व अध्यक्ष एवम् सल्लाहकार ऋषिराज घिमिरेले कोष नेफ्स्कूनभन्दा बाहिरको चिज नभएको र विशुद्ध नेफ्स्कूनका सदस्यहरुको योगदानबाट निर्मित कोष भएकोले जो कसैले यसलाई बाहिरबाट नवुझ्न अनुरोध गर्नुभयो । विश्व अभ्यासमा बचत ऋण सहकारी सहकारी हुन् तर ती सहकारी भन्दा उपल्लो दर्जाका हुन् भनि परिभाषित गरिएको उल्लेख गर्दै स्थिरीकरण कोष केन्द्रीय संघ भित्रैको कोष रहेको स्पष्ट पार्नुभयो । प्रारम्भिक सहकारी संस्था र केन्द्रीय संघबीचको सम्बन्धबाट मात्रै कोष सबल बन्ने उहाँको भनाई थियो । 

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले स्थिरीकरण कोष बचत तथा ऋण सहकारी अभियानको बचाउ, विकास, संरक्षण र व्यवस्थापनको लागि रहेको बताउनुभयो । उहाँले स्थिरीकरण कोषको स्थापना र प्रभावकारी परिचालनको माध्यमबाट वित्तीय सुरक्षा प्रदान गरी बचत तथा ऋण सहकारी संस्थाहरुलाई सवल र सुदृढ स्थायित्व कायम गर्न सकिनेमा जोड दिनुभयो । 

कार्यक्रममा स्थिरीकरण कोष सञ्चालन समितिका सदस्यहरु, नेफ्स्कूनका सञ्चालकहरु, कोषमा योगदान गर्ने बचत तथा ऋण सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन स्थिरीकरण कोषका सदस्य सचिव एवम् नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले गर्नुभएको थियो । 

बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष २४० बचत तथा ऋण सहकारी संस्थाको प्रारम्भिक योगदानमार्फत खडा भएको छ भने स्थापनाको पहिलो बर्ष ४३ बचत तथा ऋण सहकारी संस्थाले वार्षिक योगदान गरेका छन् । हालसम्म कोषमा जम्मा भएको  योगदान रकम रु. १६ करोड २६ लाख ७५ हजार ९२३ रहेको छ । 

कोष सञ्चालन समितिमा सहकारी विभाग, अर्थ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंकको प्रतिनिधित्व रहेको छ भने योगदानकर्ता साकोसबाट समितिमा दुई जना सदस्य हुनुहुन्छ । कोषको अध्यक्ष नेफ्स्कूनको अध्यक्ष र सदस्य सचिव संघको प्रमुख कार्यकारी अधिकृत रहने व्यवस्था छ ।  

सहकारी ऐन, २०७४ को दफा १०३ मा बचत तथा ऋण विषयगत सहकारी संस्थाको सञ्चालनमा सम्भावित जोखिमबाट संरक्षण गर्न त्यस्ता संस्थाहरु मिलि एक स्थिरीकरण कोष खडा गर्न सक्ने व्यवस्था छ । यस व्यवस्थालाई कार्यान्वयन गर्न सहकारी नियमावली, २०७५ को नियम ७४ मा स्थिरीकरण कोष सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ । सोही नियमको उपनियम (१०) मा भएको स्थिरीकरण कोषको स्थापना, सहभागी संस्थाहरुको योग्यता, सहभागिताको शर्तबन्देज, कोषको उपयोग र कोष सञ्चालन सम्बन्धी अन्य व्यवस्था सहकारी मन्त्रालयल स्वीकृत गरेको कार्यविधि वमोजिम हुने व्यवस्था अनुरुप मन्त्रालयले मिति २०७६ मंसिर ५ गते बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७६ स्वीकृत गरी कार्यान्वयनका लागि नेफ्स्कून समक्ष पठाएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र