मंगलबार, जेठ ८
०३:००

सदस्यलाई आवास व्यवस्थापन गर्ने नेपालकै पहिलो सहकारी मेची बहुउद्देश्यीय 

बिहीबार, चैत्र ३०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सिंहदरबार छिर्ने जत्रै सुविधा सम्पन्न चौडा बाटो र पहेंलो भित्तामा गुलावी रंङको पिलरले चिटिक्क सजिएका आमने सामने फर्की एकै आँगन गरेका ५७ घर । सबै कुरामा एकरुपता, प्रत्येक घरका छतमा टल्किएका काला पानी ट्याङ्की । हेर्दै सबैको मन लोभ्याउने । गरे के हुँदैन, सहकारीले आफ्ना शेयर सदस्यलाई एकरुपका ५७ आधुनिक सुविधासम्पन्न घर निर्माण गरि वितरण गरेको कुराले सबैको ध्यान एकचोटी त्यतै खिचेको छ । झापाको दमक–४ मा रहेको मेची सहकारीले आवास विहिन सदस्यहरुका लागि आवासको स्थायी व्यवस्थापन गरेर नेपालमै एक उत्कृष्ट र उदहारणीय काम गरेको छ । सदस्यहरुको आर्थिक सामाजिक स्तरोन्नतिसँगै आवास व्यवस्थापनमा समेत सहयोगी बनेको मेची सहकारी सदस्यहरुको वास्तविक अभिभावक बन्न सफल भएको छ ।

सबैका लागि एक र एकका लागि सबै भन्ने सहकारीको मर्मस्पर्शी भाव अनुरुप नै एकाघरपरिवारका सदस्यहरुका लागि झै बनेको मेची आवासले सहकार्यको भावनालाई हुवहु स्थापित गरेको छ । दमकको एक विगाह १८ कठ्ठा जग्गामा बनेको मेची आवासका ५७ घरले आज ५७ परिवारलाई सरल मुल्यमा ओतको व्यवस्थापन गर्न सफल भएको छ । सहकारीले चैत्र १० गते एक कार्यक्रमको आयोजना गरि ५६ सदस्यहरुलाई घरको चाबी हस्तान्तरण गरेको थियो ।  

“हाम्रो पहिलो प्रयास लामो समयदेखि भाडा तिरेर बस्न बाध्य सदस्यहरुका लागि आफ्नै घरको बन्दोबस्त गर्न सघाउने हो, जहाँ सदस्यले आफ्नै घरमा गीत गाउन र ठूलो आवाजका साथ खोक्न सकुन् भन्ने नै हो ।”

प्रत्येक वर्ष बार्षिक साधारणसभाका अवसरमा सदस्यहरुको माग र सुझावमा समेटिदै आएको विषय थियो, आवास व्यवस्थापन । सदस्यका सुझावलाई कार्यान्वनको पहल गर्दै मेची सहकारीले २०७६ सालमा ४ करोड ६० लाखमा आवासका लागि जग्गा खरिद गर्यो । विश्वव्यापी फैलिएको कोभिड संक्रमणका कारण करिब २ बर्ष पछाडि धकेलिएको निर्माण कार्यले २०७९ सालमा पूर्णता पायो ।  

शुरुवाती चरणमा सहकारीले जगेडा कोषको रकमबाट जग्गा खरिद गरेको प्रमुख कार्यकारी अधिकृत खोम प्रसाद बगाले बताउनुहुन्छ । जग्गा खरिदका लागि लगानी गरेको सहकारीले त्यसपछिका सम्पूर्ण व्यवस्थापन गरेपनि सहकारीको बजेट भने खर्चिनुपरेन । आवास निर्माणको खर्च व्यवस्थापन शेयर सदस्यहरु स्वयंबाटै भयो । भवन निर्माणका लागि सदस्यहरुसँगको परामर्श र ठेकेदार कम्पनीसँगको सम्झौता बमोजिम शुरुमा आवासका लागि घर बुकिङ गर्ने सदस्यहरुले कुल लागतको १५ प्रतिशत तिर्नुपर्ने थियो । फस्ट कम फस्ट सर्भिसका आधारमा आवसभित्रको भवन बुकिङ गर्ने ५७ जना सदस्यहरुले शुरुवाती चरणमा कुल लागतको १५ प्रतिशत रकम बुझाउनुभयो । दोस्रो चरणमा घर ढलानका क्रममा बाँकी रकमको ५० प्रतिशत र अन्तिममा ५० प्रतिशत रकम बुझाउनुपर्ने सर्त रह्यो । क्षेत्रफलका आधारमा निर्माण हुने घरको मूल्यांकन गरी सदस्यहरुले दोस्रो चरणको रकम चुक्ता गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत बगाले भन्नुहुन्छ, आवास निर्माणका लागि रकम संकलनको समस्या कुनै बेला भएन । भवन निर्माणका क्रममा सदस्यहरुले तोकिएको समयमा तोकिएको रकम एकसाथ चुक्ता गर्नुभयो भने जो सदस्यले एकसाथ रकम चुक्ता गर्न सक्नुभएन उहाँहरुको हकमा सहकारीले ऋण उपलब्ध गरायो । भवन खरिदका लागि ऋण लिनुभएका सदस्यहरुले सहकारीको नियमित किस्ता बुझाइरहनुभएको छ, उहाँले भन्नुभयो । मेची आवासमा क्षेत्रफलका आधारमा न्यूनतम ४३ लाखदेखि ५१ लाखसम्मका घर छन् । भवन निर्माण कुल लागत रु. २२ करोड ८३ लाख रुपैंया रहेको छ ।

मेची आवासले आज सदस्यहरुमा निकै खुसी छाएको छ । सहकारीका अध्यक्ष नारायण प्रसाद भट्टराई भन्नुहुन्छ, मेची सहकारी सदस्यहरुको हितमा काम गर्ने सहकारी हो । हामी सम्पूर्ण रुपमा सदस्यहरुमा केन्द्रीत छौं । विद्यमान आर्थिक संकटका बेला पनि मेची सहकारीमा खासै तरलता अभावको संकट परेको छैन । हामीसँग सदस्यहरुको दीर्घकालिन र अल्पकालिन दुई प्रकारका सुरक्षित बचत छन् । 

अध्यक्ष भट्टराई सहकारी क्षेत्रको समसामयिक वस्तुस्थितिबारे चिन्ता व्यक्त गर्दै भन्नुहुन्छ, “मेची सहकारी सहकारीका सिद्धान्त र मूल्य मान्यतामा केन्द्रीत छ , हामी कुनै पनि प्रकारको समस्यामा छैनौं । तर आज जुन सहकारी सिद्धान्तमा चलेनन्, नियतबस गलत बाटो अंगिकार गरे, तिनीहरुमा ठूलो समस्या सृजना भयो, त्यसप्रति हाम्रो शून्य सहनशीलता छ, तिनीहरुलाई आवश्यक कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो । अर्का सहकारी त्यस्ता छन्, जसले सदस्यको बचत गलत ठाउँमा लगानी गर्दा एकाएक समस्या उब्जिएको छ, ढिलो चाँडो ती यावत् समस्याहरु समाधान हुन्छन् भन्ने विश्वासका साथ सहकारीहरुले काम गर्नुपनर्छ भन्ने लाग्छ ।”   

सदस्य केन्द्रीयतामा काम गर्ने सहकारीको पहिलो प्रयास मेची आवास, जुन आज सफल भएको छ । यसले हामीमा अझ धेरै हौसला थपेको छ । अध्यक्ष भट्टराईले भन्नुभयो, बजार मूल्यभन्दा ४० प्रतिशत कम मूल्यमा आवास भित्रका घर प्राप्त गर्दा सदस्यहरु निकै लाभान्वित हुनुभएको छ । पहिलो चरणमा १०० जनाको बुकिङ थियो । हामीले ५७ घर निर्माण गर्न सक्यौं । अझै आवासका लागि करिब १०० सदस्यहरुको माग छ । त्यसमध्येमा उच्च मूल्यका घर माग गर्ने ५० सदस्य हुनुहुन्छ भने कम मूल्यको घर माग गर्ने ५० सदस्य हुनुहुन्छ । 

सहकारीले आगामी आर्थिक बर्षमा नयाँ आवास निर्माण गर्ने सोचसहित सस्तो जग्गा खोजी गरिरहेको छ । अध्यक्ष भट्टराईले भन्नुभयो, आर्थिक मन्दीका कारण यस बर्ष आवास निर्माणको कामलाई पछाडि सारेका छौं । उर्लावारी क्षेत्रमा सरल मुल्यको जग्गाको खोजि गरिरहेका छौं, त्यहाँ कोरियन प्रविधिबाट घर निर्माण गरी सरल मूल्यका घरको माग गरिरहनुभएका सदस्यहरुको आवश्यकता पुरा गर्ने सोच सहकारीको रहेको छ । “हाम्रो पहिलो प्रयास लामो समयदेखि भाडा तिरेर बस्न बाध्य सदस्यहरुका लागि आफ्नै घरको बन्दोबस्त गर्न सघाउने हो, जहाँ सदस्यले आफ्नै घरमा गीत गाउन र ठूलो आवाजका साथ खोक्न सकुन् भन्ने नै हो ।”

त्यसैगरी उर्लाबारीमा सहकारीले सहकारी बजार निर्माणको योजना अगाडि बढाएको  छ । उर्लाबारीमा सहकारीको १ कठ्ठा १४ धुर जग्गा छ, जसमा ६०–६५ वटा सटरसहितको भवन बनाएर सहकारीले उत्पादन गरेका वस्तुहरुको विक्रि केन्द्र निर्माण गर्ने सोच सहकारीको रहेको छ । 

त्यसैगरी सहकारीले अभिभावक विहीन समुदायका २५ जना बालबालिकाहरूलाइ कक्षाा १२ सम्म संस्थाकै खर्चमा पढाइरहेकाे छ र पछि कक्षा १२ उत्तिर्ण भएसँगै रोजगारी उपलब्ध गराउने नीति अगाडि सारेको छ । २०५४ साल भदौ १२ गते स्थापना भएको मेची बहुउद्देश्यीय सहकारीमा हाल १४ हजार ७ सय शेयर सदस्य छन् । १५ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको सहकारीका विभिन्न उपसमितिहरुमा गरि २ सय ५० जना हुनुहुन्छ । १२ वटा सेवा केन्द्र सञ्चालनमा ल्याएको सहकारीको ५७ प्रतिशत भन्दा बढी दीर्घकालिन बचत छ । प्रत्येक शेयर सदस्यले रु. एक हजार अनिवार्य मासिक बचत गर्नुहुन्छ । ३ अर्ब ७० करोड कुल पुँजी रहेको सहकारीको ३७ करोड शेयर पुँजी, ३ अर्ब ऋण लगानी, २ अर्ब ३६ करोड बचत, जगेडा कोष र अन्य कोष गरी १९ कराेड रहेको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र