शनिबार, जेठ ५
०७:२१

नेफ्स्कूनको ३१ औं वार्षिक साधारणसभा सम्पन्न, सभाद्वारा ६ बुँदे संकल्प प्रस्ताव पारित

शुक्रबार, पुस ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

समुद्घाटन समारोह विशेष

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३१औं वार्षिक साधारणसभाको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक समारोहका बीच प्रज्ञा भवन कमलादीमा गर्नुभएको छ । मन्त्री श्रेष्ठले पानसमा दीप प्रज्ज्वलन गरी भब्य समारोहको औपचारिक समुद्घाटन गर्नुभएको हो ।

मन्त्री श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा आयोजित पहिलो अर्थात् उद्घाटन सत्रको बिशिष्ट अतिथिमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डित, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशिराज दाहाल, राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष एवं पूर्वमन्त्री केशव बडाल, नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाश भक्त प्रधानाङ्ग, पूर्व अध्यक्ष एवं सल्लाहकार ऋषिराज घिमिरे, डी.बी. बस्नेत लगायत सरोकारवाला निकायका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो भने सभामा संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष शान्ति अधिकारी, महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटासँगै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको शुभारम्भमा संघका अध्यक्ष परितोष पौड्यालले बचत तथा ऋण सहकारी अभियानका अग्रजहरुको स्मरण गर्दै अग्रजहरुको परिकल्पनालाई साकार पार्न संघले अगाडि  सारेका रणनीतिक मार्गचित्र प्रस्तुत गर्नुभएको थियो । उहाँले सदस्य, संस्था र अभियानलाई एकसुत्रमा बाध्नका लागि संघको विहंगम दृष्टिकोण, संस्सार, समृद्धि र समाज परिलक्षित हुनुपर्ने भन्दै त्यसतर्फ संघको पहलकदमीबारे प्रस्तुतीकरण गर्नुभएको थियो । 

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय मन्त्री शशी श्रेष्ठले सहकारी मुल्य, मान्यता र सिद्धान्त अनुरुप देशका कृषक, कालिगड, श्रमिक, न्यून आय समूह एवं सिमान्तकृत समुदायको आर्थिक जीवनस्तर रुपान्तरणमा सहकारीको भूमिका रहनुपर्ने बताउनुभयो । उहाँले समुदायमा आधारित, सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्त र स्वशासित संगठनको रुपमा सहकारी संस्थाहरुको प्रवद्र्धनात्मक विकासको कामना गर्दै सहकारीका विद्यमान उपलब्धीहरुलाई संस्थागत गर्दै समृद्ध मुलुक निर्माणका लागि उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिन अनुरोध गर्नुभयो । 

मन्त्री श्रेष्ठले सहकारी क्षेत्रको दिगो विकासको सोच सहित मन्त्रालयको जिम्मेबारी सम्हालेसँगै ३५ बुँदे एकीकृत निर्देशन, विद्यमान समस्या समाधानका लागि १६ बुँदे निर्देशन जारी भएको प्रशंङ्ग सहित बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष कार्यान्वयमा आएको, जसले बचत तथा ऋण सहकारी संस्थामा एउटा कोशेढुंङ्गाको काम गर्ने स्पष्ट पार्नुभयो । कर्जा असुली न्यायाधिकरण मन्त्रालयमा पठाइएको, सहकारी नीति २०७९ स्वीकृतिको चरणमा रहेको, सहकारी प्रवर्धन कोषको काम मन्त्रालय मातहत अगाडि बढिसकेको जानकारी उहाँले गराउनुभयो । 

नेफ्स्कूनको ३१औं बार्षिक साधारणसभाले बचत तथा ऋण सहकारी अभियानमा सुशासन कायम गर्न केन्द्रीत रही समग्र गुणस्तर सुधारका कामलाई सघन रुपमा अगाडि बढाउने पहल गरोस् भन्दै मन्त्री श्रेष्ठले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सहकारी सचिव डा. दामोदर रेग्मीले सहकारीलाई अर्थतन्त्र विकासको प्रमुख एक खम्बाको रुपमा राखिएको स्पष्ट पार्दै समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना पुरा गर्नेमा सहकारीको भूमिका अहम रहने बताउनुभयो । उहाँले सहकारी मार्फत समुदायको चाहनालाई उजागर गरी सामाजिक जिवन तथा सामाजिक दायित्वलाई दिगो बनाउनुपर्नेमा जोड दिनुभयो । 

आम गरिबी, मानवीय गरिबी र सामाजिक बञ्चितीकरण यी तीन तहलाई समान नगर्दा सम्म गरिबीको सूचक बढ्दो रुपमा रहने भन्दै सचिव रेग्मीले सहकारी मार्फत स्वरोजगारी, स्वालम्बन र आन्तनिर्भर अर्थतन्त्र निर्माणका लागि सहकारी मार्फत पुँजी परिचानमा जोड दिन आग्रह गर्नुभयो । अब सहकारी क्षेत्रले हिजोका गलत प्रवृत्तिलाई त्यागेर सुशासित, पारदर्शि, सदस्यप्रतिको उत्तरदायित्व र कानुनी उत्तरदायित्व पालना गर्दै अगाडि बढ्न सहकारी अभियान लागि पर्नुपर्ने बताउनुभयो ।  सरकारले नीतिगत व्यवस्थामा भएका अप्ठ्यारा फुकाउने विषयमा विभाग र मन्त्रालय सदैव अभियानसँग सकारात्मक छलफलका लागि तयार रहेको धारणा सचिव रेग्मीले व्यक्त गर्नुभयो । 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले नेफ्स्कूनको ३१औं बार्षिक साधारणसभाले नेपालको साकोस अभियानलाई अझ अग्रगतिमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ शुभकामना व्यक्त गर्नुभयो । उहाँले बचत तथा ऋण सहकारी अभियानमा शुरु भएको स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोषले भोलिको दिनमा अभियानलाई सुदृढ र सुरक्षित बनाउन मद्दत पुग्ने भएकोले संघमा आवद्ध सबै सदस्य स्तरीकरण कार्यक्रममा जोडिन र कोषमा योगदान गर्न अतिआवश्यक रहेको स्पष्ट पार्नुभयो । 

विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले स्थिरीकरण कोषमा साकोसहरुको योगदान बढाउनुपर्ने आवश्यक औल्याउँदै कोष बलियो बने अभियान बलियो हुने विचार व्यक्त गर्नुभयो । उहाँले सहकारी अभियान केन्द्रदेखि तलसम्म शुद्धीकरण गर्नु जरुरी रहेको बताउँदै सहकारी ऐन, नियमावलीमा भएको व्यवस्था कार्यान्वयमा जोड दिन अनुरोध गर्नुभयो । विभागले स्तरीकरण कार्यक्रमको विषयमा जेष्ठ ३१ गतेदेखि हालसम्म यसका अवधारणा, अभ्यास तथा सहभागी हुने सदस्यहरुको योगदान र  वैधानिकताका विषयमा अध्ययन गरिरहेको बताउनुभयो ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले लामो समयको आर्थिक उतारचडाव सँगै सहकारी क्षेत्रमा वित्तीय संकट देखिएको र यसको समाधानका लागि अभियान एक जुट भएर लाग्नुपर्ने बताउनुभयो । यसमा बचत तथा ऋण सहकारी अभियान अझै संवेदनशिल हुने हुँदा अभियान दरिलो बनाउन पहिलो कार्य शुद्धीकरण आवश्यक रहेको स्पष्ट पार्नुभयो भने सहकारीलाई सबैभन्दा दरिलो बनाउने आधार भनेको सहकारीको कारोबार सहकारीमै गर्ने र गैरसहकारी क्षेत्रमा सहकारीको रकम जानबाट रोक्नु मुख्य भएको बताउनुभयो । 

सभामा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष एवं पूर्व मन्त्री केशव बडालले सहकारी क्षेत्रको विकास, प्रवर्धन र सुशासन स्थापना गर्न नीतिगत र कानुनी उल्झनहरुले अबरोध पुर्याएको बताउनुभयो । सरकारले सहकारीलाई उत्पादनमा केन्द्रीत गर्ने मात्र भन्ने तर उत्पादनमा जानलाई उत्पादन मुलक नीति आवश्यक हुन्छ भन्ने नवुझ्ने भन्दै ४७ वटा ऐन सहकारी विकासका लागि बाधक भएको स्पष्ट पार्नुभयो । 

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटि) का कार्यकारी उपाध्यक्ष खगेन्द्र अधिकारीले देशको आर्थिक रुपान्तरणका लागि सिटिइभिटि र अभियान बीचको पहलमा सीप हस्तारणको कार्यलाई व्यापक बनाएर स्वदेशमै रोजगारको अवसर सृजना गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारी अभियान र सिटिइभिटि दुवैको साझा लक्ष्य आर्थिक समृद्धि र समाज रुपान्तरण रहेको भन्दै आम नेपालीको आर्थिक आत्मनिर्भरता ले नै समृद्ध नेपाल र सुखी नेपाली को सपना साकार हुन सक्ने चर्चा गर्नुभयो । 


 
स्वागत मन्तव्य व्यक्त गर्दै संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कर्जा असुली न्यायाधिकरण तथा कर्जा सूचना केन्द्रको नीतिगत रुपमा कार्यविधि वनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औल्याउँदै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । स्थिरीकरण कोषलाई दिगोरुपमा सञ्चालन गर्न मन्त्रालयले सहजीकरण गरोस् भन्ने अपेक्षा अभियानको रहेको स्पष्ट पार्नुभयो । 

उद्घाटन सत्रको कार्यक्रम सञ्चालन संघका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो । सचिव अधिकारीले बचत तथा ऋण सहकारी अभियानका अग्रजहरुको स्मरण गर्दै अग्रजहरुको स्वप्नद्रष्टाले आज अभियानको गति उच्च तहमा पुगेको र अब अभियान शुद्धीकरणका लागि पछिल्लो पुस्ताले धेरै मेहनत गर्नुपर्ने भाव व्यक्त गर्नुभएको थियो । 

उद्घाटन सत्रको समापन गर्दै संघकी उपाध्यक्ष शान्ती अधिकारीले कोभिड प्रभाव र विश्व आर्थिक मन्दीका कारण नेपालको सहकारी क्षेत्र पनि अछुतो रहन नसकेको र त्यसको प्रभाव सहकारी संघ संस्थाहरुमा हालसम्म परिरहेको बताउनुभयो । उहाँले विद्यमान समस्या समाधानका लागि नेफ्स्कूनको पहलकदमी निरन्तर रहेको जानकारी गराउँदै स्थिरीकरण कोषको प्रभावकारी कार्यान्वयमा अभियानको साथ, स्तरीकरण कार्यक्रम आबद्धता अनिवार्य, नीति, विधि र प्रविधि एकरुपताका लागि संघले निर्माण गरेको मिरा इआरपी सफ्टवरको प्रयोगका लागि अभियान समक्ष अनुरोध गर्नुभयो । त्यस्तै संघले स्थानीय तहका सहकारीहरुको जागरण, विकास, प्रवर्धन र सञ्जालीकरणका लागि २८ वटा पालिकाहरुसँग सहकार्य गरी आधारशिला कार्यक्रम अगाडि बढाएको जानकारी गराउनुभयो ।  

सदस्य सभा


साधारणसभाको सदस्य सभा (बन्द सत्र) संघका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा महासचिव दामोदर अधिकारीले २०७८/०७९ को प्रगति प्रतिवेदन तथा आ.व. २७९ ०८० को प्रस्तावित नीति तथा कार्यक्रम, कोषाध्यक्ष दिपक पनेरुले २०७८/०७९ को वास्तविक आय व्यय विवरण र  २०७९/०८० को प्रस्तावित आय व्यय विवरण र लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक नवराज सापकोटाले आ.व.२०७८/०७९ को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वित्तीय प्रतिवेदन प्रस्तुतीसँगै तिनीहरुउपर सदस्यहरुको सुझाव संकलन र विस्तारित मञ्चबाट संकलित सुझाव साथै प्रतिवेदनमाथी छलफल गरी विभिन्न प्रस्तावहरु निर्णयार्थ पेश गरी स्वीकृत गरेको छ भने प्रतिनिधिहरुमार्फत निर्णय पुस्तिका प्रमाणीकरण गरेको छ । सभाले बचत तथा ऋण सहकारीहरुको सामुहिक हित प्रवर्धनका लागि संयुक्त रुपमा कार्य गर्ने प्रतिबद्धता सहित ६ बुँदे संकल्प प्रस्ताव समेत पारित गरेको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)
३१औं वार्षिक साधारण सभामा प्रस्तुत गरिएका संकल्प प्रस्तावहरु

मितिः २०७९/०९/०८

संघको ३१औं वार्षिक साधारण सभामा सहभागी हामी प्रतिनिधिहरु नेपालका बचत तथा ऋण सहकारीहरुको सामुहिक हित प्रवर्धनका लागि तपशिलका बिषयहरुमा संयुक्त रुपमा कार्य गर्ने प्रतिबद्धता सहित यी संकल्प प्रस्तावहरु पारित गर्दछौं । 

वित्तीय कारोबार गर्ने सहकारीहरुको दर्ता, अनुगमन तथा नियमन गर्ने छुट्टै कानुनी व्यवस्थाको अभावमा सहकारीहरुको संख्यात्मक बृद्धिसँगै बढ्दो जोखिम व्यवस्थापन गर्न कानुनी संरचना आवश्यक भएकोले सञ्चालकहरुको योग्यता, अनिवार्य एकीकरण, कार्यक्षेत्र निर्धारण, स्थिरीकरण कोषको चुस्त संरचना, स्वचालित ब्याजदर निर्धारण प्रणाली, स्वनियमन, वित्तीय सुशासन र सञ्जाल व्यस्थापन लगायतका विषयहरु समेटिएको वित्तीय सहकारी (साकोस) ऐन जारी गराउन संघको अगुवाईमा अभियानको ऐक्यबद्धता सहित दर्भिलो वहस तथा पैरवी गर्नेेछौं ।

  • ३५औं स्थापना दिवसमा लोकापर्ण भएको “सहकारी अभियान उन्नतीको आधार हो” भन्ने बोलको साकोस गान संघले तोकेको कार्यबिधि भित्र रही सदस्य संघसंस्थाहरुले सबै औपचारिक कार्यक्रमहरुमा गाउने गरी अपनत्व ग्रहण गर्दछौं ।
  • संघले विकास गरेको एक्सेस, प्रोवेसन, कर्ब्स तथा सार जस्ता स्तरीकरणका कार्यक्रमहरुमा सहभागीता मार्फत बचत तथा ऋण सहकारीहरुको सुरक्षित र गुणस्तरीयता हासिल गर्न निरन्तर क्रियाशिल हुने प्रतिबद्धता ब्यक्त गर्दछौं ।
  • सबै बचत तथा ऋण सहकारीहरु बचत तथा ऋण सहकारीसम्बन्धी स्थिरीकरण कोषमा आबद्ध हुने र निरन्तर योगदान गर्ने संकल्प गर्दछौं ।
  • साकोस एकरुपता प्रणालीका नीतिगत सर्वोच्चता र साझा प्रविधिको मुल अन्तरभाव समेटिएको यस वर्षको साकोस अभियानको आदर्श वाक्य (थिम) “एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” लाई अभियानको संकल्पको रुपमा स्वीकार गरी सबै संघसंस्थाहरुले आफ्ना ब्यानर लगायत प्रकाशनजन्य सामाग्रीहरुमा समावेश गरी सदस्य स्तरमा यसको सन्देश सम्प्रेषण गर्ने संकल्प गर्दछौं ।
  • बजारमा तरलताको माग र आपुर्ति एवम् संस्थागत क्षमतामा आधारित भई बचत तथा ऋणमा कायम हुने ब्याजदर स्वचालित रुपमा निर्धारण हुने प्रणाली स्थापित गर्न निरन्तर पैरवी गर्ने संकल्प गर्दछौं ।
saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र