मोरङ उर्लाबारी ४ की ५० बर्षीय निर्मला सिटौलाको १७ बर्षको उमेरमा विवाह भयो । मकवानपुरको हेटौडामा जन्मिएर प्राथमिक विद्यालयसम्म पुगेकी सिटौलाको जीवन विवाहसँगै दुःखको दुष्चक्रमा रुमलियो । मोरङ उर्लाबारीका अमृत बहादुर जीवनसाथी त बने तर जीवनभरका साथी बन्न सकेनन् । छोरी जन्मिइन् । श्रीमान सँग मन विचार मिलेन । इज्जतको डरले घर छोडेर हिड्न पनि सकिनन्, घरबाट भने सँधै शंका र हिंसा भोग्नुपर्यो । पैसाको अभाव, दुई चार सयको लागि पनि श्रीमानसँग हात थाप्नुपर्ने बाध्यता उहाँ माथी पर्यो । त्यसलाई चिरेर अगाडि बढ्ने अठोटका साथ सिटौलाले सुरु गरेको झोल साबुन बनाउने उद्योग र कृषि कार्यले जीवनको मोड बदलिदियो ।
२०६३ सालमा निर्मला सिटौला नारी संकल्प बचत तथा ऋण सहकारी संस्थाको सेयर सदस्य बन्नुभयो । नियमित मासिक बचत गर्ने र सहकारीका हरेक कार्यक्रमहरुमा सहभागी हुने सिटौला सहकारीकर्म प्रति निकै क्रियाशिल सदस्यको रुपमा रहनुभयो । उहाँ २०६५ सालबाट २ कार्यकाल सम्म सञ्चालक समिति सदस्य समेत रहनुभयो ।
जीवनको जस्तोसुकै संकटपूर्ण घडीमा पनि हरेष नखाइ अगाडि बढ्ने सिटौलाका लागि नारी संकल्प बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सीता कार्कीसँगको भेट ढुंङ्गा खोज्दा देउता मिलेजस्तै भयो । अध्यक्ष सीता दिदीले हरेष खानुहुन्न, सीप सिकेर आत्मनिर्भर बन्नुपर्छ भनि दिएको हौसला र सहकारीबाट प्राप्त सीपले मेरो जीवनमा परिवर्तन ल्याइदियो, उहाँले सुनाउनुभयो ।
नारी संकल्प साकोसबाट महिलाहरुका लागि लघु उद्यम तालिम आयोजना गरेको अवसरमा उहाँले पनि झोल साबुन, हरपिक, फिनेल बनाउने सीप प्राप्त गर्नुभयो । उहाँले तयार गरेका घरायसी सरसफाईमा प्रयोग हुने सामग्रीहरु स्थानीय स्तरमै विक्रि भए । त्यसले उद्यमी सिटौलालाई अझै अगाडि बढ्ने उर्जा प्राप्त भयो । केही समयपछि, उहाँले काठमाडौं गई झोल सावुन, फिनेल गरी विभिन्न ५ आइटमका लागि विशेष तालिम लिनुभयो । ५० हजार खर्चेर लिनुभएको तालिमबाट आज उहाँले सफल उद्यमीको मार्ग तयार पार्नुभएको छ ।
तालिमका लागि राम्रै लगानी खर्चेकी सिटौलालाई प्राप्त सीपले अगाडि बढ्न थप उर्जा प्राप्त भयो । उहाँले भन्नुभयो, “विभिन्न ठाउँमा महिलाहरुका लागि तालिम सञ्चालन हुँदा आफ्नो उपस्थितिलाई सकारात्मक उर्जाका साथ सीप हस्तान्तरणमा अगाडि बढेकी छु ।” आमाभन्दा बढी माया ममता र दुःखमा साथ दिने अध्यक्ष सीता दिदी र नारी संकल्प बचत तथा ऋण सहकारी संस्था नै मेरो जीवनको सफलताका सहयात्री हुन् ।
भाइ बहिनी स्याहार गर्नुपर्ने, पढ्ने अवसर पाइएन । सानै उमेरमा विवाह भयो । घरको दुःख र श्रीमानसँगको विचारमा विमेल भएसँगै घर समस्या बन्न थाल्यो । घरमा बस्न कहिल्यै मन रमाएन । तर छोडेर जान पनि सकिएन । श्रीमान पनि वेरोजगार, आर्थिक अभाव बढ्दै गयो । छोरी जन्मिइन, खर्च बढ्यो, छोरी पढाउनुपर्ने जिम्मेवारी थपियो । उहाँ भन्नुहुन्छ, “श्रीमानसँग अलग बसेर दुःख जिलो गर्दै अगाडि बढें । २०६४/०६५ तिर विरामी परेँ । ढाडको नसा च्यापिएर लामो समय दुःख पाएँ । विभिन्न ठाउँमा देखाउँदा थुप्रै पैसा खर्च भयोे रोग निको भएन । ढाडको अपरेसन गरेँ, लामो समय घाउले दुःख दियो पछि निको भयो । अहिले त आफ्नो दुःख गर्न सक्ने भएकी छु ।” छोरीहरु पढाउँदा विरामी पर्दा कहिले कता श्रीमानबाट स सानो आर्थिक सहयोग त भयो तर त्यसमा निरन्तरता रहेन । विदेशमा गएका थिए, तर ४/५ बर्ष भयो सम्पर्कमै छैनन् ।
जीवन रहे दुःख सुख दुवै भोग्न पाईन्छ । उद्यमी सिटौलाले दुः ख होइन अब सुखका दिनहरु पनि चाखिसक्नुभएको छ । सीप सिकेर आफ्नै लघु उद्यम गरी आत्मनिर्भर बन्नुभएकी सिटौलाले व्यावसायिक कृषिमा पनि हात हाल्नुभएको छ । मोरङ उर्लाबारीमा दश कट्ठा जमिन भाडामा लिएर गत बर्षदेखि खरबुजा खेती सुरु गर्नुभएको छ । एक सिजन खरबुजा र अर्को सिजन फुलखेती गरी बर्षमै दुई उत्पादन विक्रि गर्न सफल हुनुभएको छ ।
व्यावसायिक उद्यममा उहाँले आफ्नै भाई बुहारीको पनि साथ लिनुभएको छ । बुहारीकै नामबाट उद्योग दर्ता गरी झोल साबुन बनाउने तालिम दिइसक्नुभएको छ । ‘देविका सिटौला सरसफाई सामाग्री उद्योग’ मा अहिले बुहारी देविका हरपल खटिरहनुहुन्छ ।
उद्यमी सिटौलाले ‘सूर्यचन्द्र कृषि समूह’ दर्तागरी खरबुजा र फूलखेती पनि सुरु गर्नुभएको छ । खरबुजा खेतीका लागि नगरपालिका बाट मल बिउ बिजन र अन्य सहयोग पाइरहनुभएको छ । १० कट्ठामा खरबुजाको विरुवा रोप्दा करिब ७० हजार ज्याला मात्रै लाग्छ । एक लटबाट करिब २ लाख आम्दानी हुन्छ । माघको अन्तिम साता रोपेको खरबुजा चैत्रमा विक्रिका लागि तयार हुन्छ । छोटो अवधिमा राम्रो व्यावसायिक खेतिको रुपमा चिनिने खरबुजाको व्यापार पछिल्लो समयमै निकै फस्टाउँदो व्यापारको रुपमा चिनिन्छ ।
उहाँका दुइ छोरीमध्ये ठूली छोरी विवाह भएर विदेशमा छिन्, नाति नातिना पनि छन् । सानी छोरी पनि स्टाफ नर्सको अध्ययन पुरा गरी रोजगारीका लागि तयार छिन् । अब उद्यमी सिटौलाको जीवन दुःखीबाट सुखी र खुसीमा रमाएको छ ।