बुधबार, जेठ २
१०:०३

‘प्राप्त उपलब्धीहरु संस्थागत गर्दै लैङ्गिक समानता कायम गरौं’

मंगलबार, फागुन २४
राधा पौडेल
saccosaawaj

‘महिलाहरुको आत्मसम्मानको दिन हो’

पार्वती अर्याल
प्राचार्य
सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र


हरेक मान्छेको समृद्ध जीवन निर्माणका लागि सहकारी एउटा आधार हो । सहकारीमार्फत महिला दिदीबहिनीहरुको सीप, पुँजी, इमान्दारीता र समर्थन भाव रहन सक्ने, वस्तु तथा सेवा उत्पादन गर्ने, व्यवसाय प्रवर्धन गर्ने कार्यमा योगदान पुग्न सक्दछ । मार्च ८ को दिन विश्वव्यापी रुपमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस महिलाहरुको आत्मसम्मानको दिन हो । यस दिनले महिला दिदीबहिनीहरुको हक, हित एवं अधिकारका साथै महिलाको बहुआयामिक पक्षसँग सरोकार राख्दछ । 

११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सहकारीको माध्यमबाट समृद्ध मानव जीवन निर्माणका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु ।  

 

‘प्राप्त उपलब्धीहरु आत्मसाथ गरौं’

शान्ति अधिकारी
उपाध्यक्ष, नेफ्स्कून


अन्तरर्राष्ट्रिय महिला दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । यो दिवश राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । अन्तर्राष्ट्रिय महिला दिवस महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिहरूलाई मान्यता दिन मनाइन्छ । 

 संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरि १९०९ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तरर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो ।  सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्रा्ष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरि  १९०९ को दिन महिला दिवस मनायो । यसपछि यो फेबु्रअरि को अन्तिम आइतबारको दिन मनाइन थालियो ।  १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दर्जा प्राप्त भयो । त्यस समय यसको प्रमुख ध्येय महिलाहरुलाई मताधिकार दिनु थियो, त्यस समय महिलाहरुलाई मत दिने अधिकार कतिपय देशहरुमा थिएन । सन् १९१७ मा रसियाको महिलाहरुले, महिला दिवसमा गास र कपासको लागि हडतालमा जाने निर्णय गरे । यो हडताल पनि ऐतिहासिक थियो । 

जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई भोट दिने अधिकार दियो ।  त्यस समय रुसमा जुलियन क्यालेन्डरको प्रचलन थियो र बाकी धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो । यि दुई दिनमा केहि फरक छ । जुलियन क्यालेन्डर अनुसार १९१७ को फेबु्रअरीको अन्तिम आइतबार २३ फेबु्रअरी  थियो  जब की ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो । त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो । त्यसैले ८ मार्च महिला दिवसको रूपमा मनाइन थालियो । 

सन् २०२२ मा आइपुग्दा विश्वभर ११२ औं अन्तर्रा्ष्ट्रिय  महिला दिवस मनाइदैछ । यो मार्च महिना भर नै मनाइन्छ । हरेक वर्ष फरक नाराहरु सहित मनाइने यो दिवशको अन्र्तराष्ट्रिय नारा “Gender equality today for a sustainable tomorrow”  र राट्रिय नारा सामाजिक न्याय र लैंगिक समानताः दिगो विकासको सुनिश्चितता  भन्ने रहेको छ ।

यस सुखद अवसरमा हाल सम्म प्राप्त उपलब्धिलाई आत्मसात गर्दै आगामी दिनमा आर्थिक ,सामाजिक, सास्कृतिक   क्षेत्रमा  महिलाको  शशक्तिकरण सबलीकरण गरि निर्णायक तहमा  महिलाहरुको प्रभावकारी सहभागिता तथा समान अवसर सुनिश्चितता का लागि ५६ प्रतिशत महिला सहभागिता रहेको सहकारी क्षेत्र सफल बनोस हार्दिक शुभकामना । 

‘समृद्ध जीवन निर्माणको आधार हो’

अमृता सुब्बा
सञ्चालक, राष्ट्रिय सहकारी महासंघ

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको ऐतिहासिक पृष्ठभूमि हेर्दाखेरी यसमा धेरै आन्दोलन र संघर्षका इतिहास भेटिन्छ । नेपालको संविधान २०७२ ले महिला अधिकार सम्बन्धी धेरै व्यवस्था सुनिश्चित गरेको छ । तर संविधानतः व्यवस्था गरिएका अधिकारहरु तल्लो तहसम्म पुग्नै सकेका छैनन् । ग्रामिण तहका धेरै महिलाहरु अझ पनि महिला अधिकारका बारेमा अनभिज्ञ छन् । अबको अभियान भनेको कानुनत सुनिश्चित अधिकारबारे चेतना अभिबृद्धि गर्दै त्यसको कार्यान्वयनमा जोड दिने र आर्थिक सशक्तिकरणको माध्यमबाट पूर्ण समृद्ध आर्थिक जीवन निर्माण गर्ने नै हो । 
विभिन्न राजनीतिक भातृ संगठनहरुले पनि कानुनत सुनिश्चित सवालहरुलाई पूर्णत कार्यान्वयन गर्ने सबालमा विशेष पहल गर्नुपर्छ भन्ने लाग्छ । 

सहकारीमार्फत महिलाहरुमा क्षमता विकासको काम धेरै भएको छ । महिला सहभागिताको दर पनि सहकारीमा उच्च छ, तर नेतृत्व तहमा हेर्ने हो भने अझै पनि सन्तोषजनक अवस्था पाइँदैन । जतिपनि ठाउँमा महिलाहरु छन्, महिला सहभागिताको माध्यमबाट पुरुषसाथीहरु माथि पुग्ने आधार मात्रै बनेको छ, स्वयं महिलालाई नेतृत्वदायी भूमिकामा पुर्याउन कञ्जुस्याइ भइरहेको पाइन्छ । स्थानीय निकायमा ४० प्रतिशत महिला सहभागिता सन्तोषजनक हो तर कानुनी प्रावधान पुरा गर्न टपक टपक टिपेर ल्याइएको सहभागिताले केवल रवर स्ट्याम्पको मात्रै काम भएको छ । 

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस केवल मनाउनको लागि मात्र नमनाऔं, वास्तविक रुपमै महिलाहरुमा योग्यता, क्षमता बढाउने र नेतृत्व तहमा क्षमतावान महिलाको पहुँच सुनिश्चित गर्न कञ्जुसाइ नगरौं भन्न चाहन्छु । 

‘शिक्षा र आर्थिक स्रोतमा पहुँच पहिलो हो’
 

गोमा नेपाल
सञ्चालक एवम् महिला सशक्तिकरण उपसमिति संयोजक
नेफ्स्कून

Gender equality today for a sustainable tomorrow  भन्ने अन्तर्राष्ट्रिय नारा र “सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता“ भन्ने राष्ट्रिय नाराका साथ आज मार्च ८, देशभर विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैछ । यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीको उत्तरोत्तर प्रगती, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु ।

अन्तर्राष्ट्रिय रुपमा महिला अधिकार र श्रम माथि हुनेगरेको विभेदका बिरुद्ध उठेका मुद्दा महिला आन्दोलनको शुरुवाती अवस्था थियो भने आज एक्काइसौ शताब्दीको अन्त्यमा आइपुग्दा पनि महिला अधिकारका केही प्राप्तिहरु नारामा र कागजमा सीमित रहेका छन । असुरक्षा ,लैङ्गिक हिंसा, विभेद विरुद्ध र अधिकार प्राप्तिका लागि नेपालमा मात्रै नभएर विश्वभरका महिलाहरु आवाज उठाउन बाध्य छन् ।

जबसम्म महिलाहरु आर्थिक रूपमा आफ्नो खुट्टामा उभिन सक्दैनन् र श्रोत हुदैन तबसम्म उनीहरुको आत्मबल बढ्दैन, त्यसैले महिलालाई आत्मनिर्भर बनाउनु नै दिगो विकासको पुर्वाधार हो । महिला सशक्तीकरण भन्ने वित्तिकै प्रमुख दुइटा कुरा अगाडि आउँछन, पहिलो कुरा हो – शिक्षा । जबसम्म कुनै ब्यक्ति शिक्षित हुदैन उसँग आफ्नो बारेमा निर्णय लिनेसक्ने सामथ्र्य हुदैन, जब ब्यक्ति शिक्षित हुन्छ, निर्णय क्षमता देखि ब्यक्तित्व विकास सम्भव हुन्छ । दोश्रो कुरा हो, आर्थिक श्रोत– आर्थिक श्रोतका लागि कुनै न कुनै पेशा व्यवसायमा लाग्नुपर्ने हुन्छ । पेशा व्यवसायमा व्यस्तता र त्यसबाट प्राप्त हुने आय आर्जनले महिलाको आत्मसम्मान, इज्जत, प्रतिष्ठा बढ्नुका साथै परिवार र समाजले हेर्ने दृष्टिकोण फरक र उच्च हुन्छ ।

जब महिलामा आत्मनिर्भरता बढ्छ उनको निर्णय क्षमतामा पनि विकास हुन्छ गरेका निर्णय कार्यान्वयन गर्न सक्षम हुन्छिन । छोरीलाई शिक्षामा गरेको लगानीले भविष्यमा उनिलाई आफ्नो खुट्टामा उभिने वातावरण मिल्दछ । महिला शिक्षित भएभने सिङ्गो परिवार शिक्षित हुनका साथै मनोबैज्ञानिक हिसावले पनि तन्दुरुस्त हुन्छ । 

त्यसैले दिगो विकास भन्नू नै सामाजिक न्याय, विकास, सशक्तीकरण, शिक्षा, भौतिक पुर्वाधारको विकास, लैङ्गिक समानता जस्ता कुराहरुको संमिश्रण भएकोले मार्च ८ सबैको लागि सार्थक बन्न सकोस हार्दिक शुभकामना ।


‘निर्णायक अधिकार आवश्यक हो’

देवकी नेपाल
अध्यक्ष 
रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

सम्पूर्ण सहकारीप्रेमी महिला दिदीबहिनीहरुलाई आफु सुहाउँदो सीपको विकास गरी आर्थिक आत्मनिर्भरताप्रति प्रेरणा मिलोस् भन्न चाहन्छु । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस केवल एक दिनको नभएर ३६५ दिन नै आर्थिक उन्नतिमा लाग्न र ‘इन्कम जेनेरेसन’ गर्नतर्फ केन्द्रित बनोस् । राज्यका हरेक संरचनामा महिलाको सम्मानजनक उपस्थिति आजको आवश्यकता हो, यससँगै आयआर्जनमा महिलाको पहुँच र आयमा नियन्त्रणको अधिकार सुनिश्चित हुनु पहिलो सर्त हो । 

समतामुलक समाज निर्माण गर्न निर्णयको अधिकारमा महिलालाई प्रोत्साहन गरिनुपर्छ । जति पनि कानुन छन्, तिनमा सुनिश्चित व्यवस्थाहरु पूर्ण कार्यान्वयन हुनुपर्छ भने बाझिएका कानुनमा संशोधन आवश्यक छ ।

अब महिलाका मुद्दालाई दलगत स्वार्थमाट माथि उठाएर समग्र महिलाको क्षमता विकास,  आर्थिक उन्नति, समृद्धि र निर्णायक सहभागितामा ऐक्यबद्धतापूर्ण ढंगले अगाडि बढ्नुपर्छ । सार्वजनिक फोरममा ठूला कुरा गर्ने र बास्तविक परिवेशमा महिलालाई अगाडि बढ्नबाट रोक्ने प्रवृत्तिको अन्त गरिनुपर्छ । छायाँमा पारिएका ५१ प्रतिशत महिलाहरु अब निर्णायक विन्दुमा आउनुपर्छ ।  नेपाली महिलाको बहुपक्षिय विकासमा चुनौतिहरु अवश्य छन्, तर जवसम्म निर्णायक तहमा महिला सहभागिता बृद्धि हुँदैन तबसम्म समतामुल समाज निर्माण हुन सक्दैन । सहकारीको माध्यमबाट समतामुलक समाज निर्माण गरी आय अथवा धन सृजना र यसमाथिको नियन्त्रणको अधिकार महिलामा हुनुपर्छ । 

 

‘सुन्दर घर निर्माणको जग हो नारी’
 

संगीता गौतम तिमिल्सिना
अध्यक्ष
कर्मशिल बचत तथा ऋण सहकारी संस्था लि.पोखरा
हामीलाई थाहा छ, सृष्टिको सञ्चालन स्त्री र पुरुषको मिलन बाट भएको हुन्छ । नारीले बच्चालाई जन्म दिन्छिन, पुरुषहरूको नाम अगाडि जोडिएर फलानो को छोरा भनिन्छ, आमाले गर्भधारण गरेको पल देखि नौ महिना सम्म, जस्तो भोजन गर्छिन् त्येस्तै पोषण तत्वबाट बच्चाको मस्तिष्क र शारीरिक बनोट तयार भएको हुन्छ । धर्ती जस्तो सहनशक्ति लिएर प्रसव पिडालाई आफ्नो मातृत्वमा परिणत गर्दै मरेर बाँचिन् नारी । अनि स्तन पिलाउदा देखि शुरु हुन्छ, उनको बच्चा प्रतिको दैनिक कर्तव्य, हरेक पल, त्यो जिम्मेवारी लाई सम्माल्दै, घर–परिवार, इष्टमित्र, देउता–पित्र, सबैको जिम्मेवारी उत्तिकै रहेको हुन्छ । यो सबैलाई ब्यबस्थापन गर्दै समाज, टोल गाउँ हुदै राष्ट्रको पनि उत्तिकै चिन्तन रहेको हुन्छ । यस्ता महान नारी देवी, लक्ष्मी, सरस्वतीको रूपमा रहेका छन् । 

सुन्दर संसार बनाउन लागि महिला र पुरुष को समान भूमिका भन्दा पनि अझै महत्वपूर्ण भूमिका महिलाको रहेकोे हुन्छ, किनकि बिहान उठे देखि नसुते सम्म एउटा महिलाको सम्पूर्ण जिम्मेवारी जुन सम्झन पनि निक्कै समय लाग्छ भने व्यबहारमा ल्याउन कति समय खर्चंदै आएका छौ हामीले ? परिवारको स्वास्थ्य एउटा असल गृहणिको हातमा रहेकोे हुन्छ । जुन श्रमको मुल्य नै छैन । श्रीमानले बाहिर काम गरेर घर फर्कदाँ, घरकी श्रीमतिको कुनै काम नभएको गुनासो श्रीमानको रहन्छ । घर धन्दा, बालबच्चा, बृद्ध बुवा– आमाको स्यार–सुसारको कुनै मुल्य हुँदैन । नारी विनाको घर र माली विनाको फुलबारी उस्तै हो भने महिलाको श्रमको मुल्य अब खोजिनुपर्छ । 
 

‘महिलाको श्रमको उच्च मुल्याकन हुनुपर्छ’ 

योगमाया सुबेदी 
बरिष्ठ उपाध्यक्ष
सुनसरी जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

नेपालमा राष्ट्र प्रमुख महिला, पूर्व प्रधानन्यायाधिश महिला, पूर्व सभामुख महिला, विभिन्न छेत्रका महत्वपूर्ण अंगमा महिलाको पहुँच सर्वविदितै छ । केही उच्च स्थानमा पहिलाको पहुँच सुनिश्चित भएपनि तुलनात्मक रुपमा निर्णायक तहमा महिलाको सहभागिता सन्तोषजनक छैन । 

अधिकांश महिला आफ्नो घरपरिवार र व्यवहारको व्यवस्थापन गर्दै समाजमा, कार्यालयमा,  विभन्न संघसंस्थामा र विदेशी भुमिमा समेत जिम्मेवारी वहन गर्न सफल छन् । सफल महिलाहरुको सीमित संख्याकै बीचमा ५१ प्रतिशत महिला पनि अवसर पाएमा सक्षम बन्न सक्छन भन्ने पुष्टी हुन्छ । तर महत्वपूर्ण जिम्मेवारी पाउन योग्य हुँदा हुँदै पनि महिलामाथि विश्वासको प्रश्न सबै ठाउँमा उठ्ने गरेको पाइन्छ । महिलाको श्रममाथी कमजोर मूल्यांकन गरिन्छ । 

महिला शक्ति महान छन् भन्ने कुरा हाम्रो धर्म शास्त्रले देखाएको छ । आफुभित्र रहेको अन्तरनिहित सीप, क्षमता र उर्जालाई उजागर गरि परिवर्तित समय र परिस्थिति अनुसार प्रतिस्पर्धा गर्न आज महिला सक्षम छन् । अब महिलाले अधिकार खोजेर हैन खोसेर लिनुपर्छ । पेसा, व्यवसाय र आर्थिक, सामाजिक तथा राजनीतिक बृत्तमा महिलाको सम्मानजनक सहभागिता आवश्यक छ । अब महिला आर्थिक सशक्तिकरणमा खरो उत्रनुपर्छ । सहकारी क्षेत्रमा सन्तोषजनक महिला आवद्धता संख्यालाई अब निर्णायक तहमा सुनिश्चित गर्न महिला पुरुष दुवैको ऐक्यबद्धता आवश्यक छ । 

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सामाजिक न्याय, समतामुलक समाज निर्माण, आत्मसम्मान र स्वनियन्त्रण कायम गर्न प्रेरणा मिलोस्, सम्पूर्ण आमा, दिदीबहिनीहरुमा हार्दिक शुभकामना । 

‘महिलाको बहुआयामिक पक्षसँग सरोकार राख्ने दिन हो’

तुलसा ज्ञवाली
सामाजिक अभियन्ता 

मार्च ८, अन्तर्राष्ट्रिय महिला दिवसले चिनिन्छ । यो दिवसले महिला हकहित एवं अधिकारका साथै महिलाको बहुआयामिक पक्षसँग सरोकार राखेको पाइन्छ । नेपालमा पनि अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमको आयोजना गरी मनाउन थालिएको धेरै भइसकेको छ । महिला दिवसको अवसरमा प्राय महिला शिक्षा, स्वास्थ्य, रोजगारी र स्वतन्त्रताका विषयमा आवाजहरु उठ्ने गरेको पाइन्छ ।   

महिला कमजोर हुनुमा सर्वप्रथम महिलाले महिलालाई दबाएको अवस्था पनि एक जिम्मेवार पक्ष हो भन्ने मलाई लाग्छ । सदियौदेखि महिलााले महिलामाथी गर्ने व्यवहार सवै ठाउँमा सकारात्मक नरहेको पाइन्छ । सासु बुहारी, देवरानी जेठानी, नन्द भाउजु विशेष गरी यी नाता सम्बन्धहरुमा एकले अर्कोलाई थिचोमिचो र शोषण गर्ने परिपाटीको विकास नेपालमा भएको पाइन्छ । सोचमा परिवर्तन आवश्यक छ, । एकै नारी छोरी, बहिनी, बुहारी आमा, सासुको भूमिकामा रहन्छिन् । समान विकासमा यसको भूमिका महत्वपूर्ण हुनुपर्छ । 

पछिल्लो समयमा यस्ता गतिविधिहरुमा केहीहदसम्म कमी आएको भएपनि यो प्रचलन गाउँ सहर जतातै त्यस्तै नै छ भन्ने लाग्छ । यसले गर्दा नै घर र समाजमा महिला सबल सक्षम र निर्णायक भूमिकामा रहन नसक्नुको परिणाम हो । 

शिक्षाको कमि, चेतनाको अभाव, आर्थिक रुपमा कमजोर र महिलाले महिलामाथि गर्ने व्यवहार नकरात्मक हुनुले महिला पछाडि पर्नुको प्रमुख कारण हो । अर्कोकुरा महिलामा शिक्षाको आवश्यकता छ । महिलाहरुलाई सीपमूलक प्राविधिक शिक्षा दिएर आर्थिक रुपमा आत्मनिर्भर र सक्षम बनाउनु जरुरी छ । महिलाले जवसम्म आफ्नो घर सुन्दर बनाउने निर्णय आफै गर्न सक्दैनन् तबसम्म महिला अगाडि बढ्न सक्दैनन् । महिला आर्थिक रुपले सक्षम हुनुपर्छ । नेतृत्व दिन सक्ने खुबी महिलामा हुनुपर्छ । अझैपनि धेरै महिलाहरु श्रीमान्सँग आश्रित छन् । 

सहकारीमा महिलाको सहभागिता दर बढ्दो छ । सहकारीले महिलाहरुमा आत्मनिर्भरता र आत्मविश्वास बढाएको छ । सहकारीको साथ पाएर महिला उत्थानमा सहयोग पुगेको छ । यसको विस्तार अझै आवश्यक छ । सहकारीमा लागेर धेरै महिलाहरुले आफ्नो आर्थिक स्तरमा सुधार ल्याएका छन् । अझ सहकारी मार्फत शुलभ ऋण प्रदान गरेर महिलाहरुलाई बढीभन्दा बढी स्वरोजगारमुलक उद्यमहरुमा लगाउन सकेमा यसले महिलाहरुको आर्थिक विकासमा ठूलो परिवर्तन ल्याउन सक्छ । अब महिलालाई आरक्षण होइन क्षमता विकास मार्फत सक्षम बनाउन जोड दिनुपर्छ । आरक्षणलाई भन्दा प्रतिभा र दक्षतालाई महत्व दिन सकियो भने बास्तविक रुपमा महिलाको विकास सम्भव छ । 

नेपालको राजनीतिक विकासक्रमलाई हेर्ने हो भने २००७ साल, २०१७ साल, २०४६ साल र २०६२/ ०६३ को जनआन्दोलनमा महिलाको बलिदानी र योगदान उल्लेख्य रहेको छ । 

हरेक क्षेत्रमा महिलाको सहभागिता ३३ प्रतिशत कानुनत व्यवस्था छ । तर अझैपनि निर्णायक तहमा महिला सहभागिता सन्तोषजनक छैन । महिलामाथि विश्वासको कमी छ । राजनीतिक सहभागितामा पनि नेतृत्व लिन सक्ने महिलाको पहिचान गरेर पठाउनुपर्ने आवश्यकता छ । यसले गर्दा महिलाका बास्तविक मुद्दाहरु अगाडि बढ्न सहज हुन्छ । अन्य विविध क्षेत्रमा पनि नेतृत्व लिन सक्ने महिला पुगे भने हरेक निर्णयमा महिलाको सहभागिता सुनिश्चित हुन्छ । 

आज योग्यता पुगेका महिला एकातिर छन् टिका लगाएका र निर्णायक तहमा कुनै भूमिका स्थापित गर्न नसक्ने महिलालाई माथि पुर्याइएको छ । यसले महिलाको समग्र विकासमा बाधा पुर्याएको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र