शुक्रबार, वैशाख १४
०७:४९

‘सहकारीमा लागेर सबैभन्दा ठूलो कुरा आत्मसन्तुष्टि मिलेको छ’

मंगलबार, मंसीर ७
रञ्जनमणि पौड्याल
saccosaawaj

सहना पसखल
अध्यक्ष नारी सेवा साकोस, भक्तपुर 
सञ्चालक, जिल्ला सहकारी संघ लि.भक्तपुर

हत्तपत्त नरिसाउने बानी परिवारबाट सिकेँ
२०२९ भदौं २६ गते भक्तपुर–२, दतात्रेयमा स्वर्गीय पूर्णराम पसखल र तुल्सीदेवी पसखलको कान्छो सन्तानको रुपमा मेरो जन्म भएको हो । मेरो २ दाजु र ३ दिदी हुनुहुन्छ । मेरो स्थायी ठेगाना त्यही नै हो । हाम्रो परिवार मध्यम र व्यापारिक पृष्ठभूमिको हो ।  बाल्यावस्था रमाइलो थियो । सानैदेखि सबैसँग घुलमिल हुने प्रवृत्तिको थिएँ । म ठूलो स्वरले कराउँदिन र हत्तपत्त रिसाउँदिन पनि । ‘सानो मान्छेले ठूलोको कुरा सुन्नुपर्छ, आदर गर्नुपर्छ, ठूलो स्वरले बोल्नुहुँदैन’ भन्ने संस्कार सानैदेखि घरबाट प्राप्त गरेको हुँ । भक्तपुर दरबार स्क्वायर परिसर नजिकको सरस्वती विद्यागृहमा अध्ययन गरेँ । पछि काठमाडौं बागबजारस्थित पद्मकन्या क्याम्पसबाट स्नातक पूरा गरेँ ।

दैनिकीको सुरुवात बिहान साढे ४ बजेबाट
बिहान साढे ४ बजे उठ्छु । घर बढार्छु, मन तातो पानी ३ गिलास पिउछुँ । हल्का शारिरीक अभ्यास र केही समय ध्यान गर्छु । साइबाबालाई मान्छु । भगवानलाई दर्शन गर्छु । आमाबुबालाई चिउरा चढाउँछु र त्यसपछि चिया पिउँछु । दिनमा ३–४ घन्टा नारी साकोसमा बित्छ । घर र कार्यालयको दूरी १० मिनेट भएका कारण पनि नित्य साकोसमा जान्छु । बेलुकी धेरै अबेर गर्दिन घर पुग्न । भक्तपुर दुधपाटीस्थित क्यान्सर अस्पतालमा पनि आवश्यकता पर्दा जान्छु र जिल्ला सहकारी संघ लि.मा पनि जान्छु । बेलुकी रोटी वा हल्काफुल्का चीज मात्र खान्छु । हालसम्म दीर्घरोग केही छैन ।

सामाजिक सञ्जालमा छैन
म टेलिभिजन एकदम कम हेर्छु, समाचार हेर्छु । चलचित्र कम हेर्छु । भौगोलिक वातावरण वा भूगोलसम्बन्धी कार्यक्रमहरुमा बढी रुचि छ । फेसबुक चलाउदिन, अकाउन्ट पनि छैन । सामाजिक सञ्जालमा रहर छैन । नारी सेवाको फेसबुक पेज नै मेरो लागि सामाजिक सञ्जाल हो । संस्थागत गतिविधिहरु त्यहाँ हुन्छ, व्यक्तिगत फेसबुक पेज छैन । अभियानका धेरै जनाले ‘अहिलेको जमानामा पनि फेसबुक नखोल्ने’ भन्नुहुन्छ तर मलाई रहर छैन ।

शाकाहारी भोजनमा रुचि
नेपाली खाना दाल भात तरकारी मनपर्छ । नेवारी परिकार जुनसुकै भएपनि मनपर्छ, यही चाहिन्छ भन्ने छैन । पिरो अमिलो त्यति खान्न । शाकाहारी भएकोले पनि हुनसक्छ साग जतिखेर पनि खान मनलाग्छ । १९ वर्ष भयो शाकाहारी भएको । मासुले रोग निम्त्याउने र पचाउन पनि कठिन हुने सुनेको कारण म पनि ‘हेरौंन त छोडेर’ भनेर छोडेँ ।

देश विदेशका सहकारी गतिविधि बुझ्ने अवसर पाएँ
विदेशमा थाइल्याण्ड, जापान, भारत र बङ्गलादेशसँगै नेपालका धेरै जिल्लाको भ्रमण गरेको छु । खासगरी लघुवित्त परियोजनामा उत्प्रेरणा जगाउने काममा संलग्न रहेका कारण पनि स्वदेशका धेरै जिल्ला घुम्ने अवसर पाएँ । 

संघर्ष नै सफलताको कडी
संघर्ष नै जीवन हो । संघर्षबाट नै सफलता प्राप्त हुन्छ । आर्थिक रुपमा नभएपनि सहकारीमा लाग्नुअघि र पछि पनि अगाडि बढ्न र भूमिका स्थापित गर्न धेरै संघर्ष गरेको छु  ।

प्रकृतिसँग विचरणले आनन्द
अध्यात्मका ज्ञानहरु लिन खोज्छु । पुस्तकहरु पढ्छु । आदरणीय कैलाश भक्त प्रधानाङ्गले गीता पुस्तक दिनुभएको थियो, त्यो हेर्छु । साइबाबाको पनि पुस्तक अध्ययन गर्छु । घुम्न पनि जान्छु । प्रकृतिसँग विचरण गर्न मन पर्छ, त्यसले आनन्द पनि मिल्छ । नाचगान भिडभाड भएको स्थानमा खासै जान्न । 

सानैदेखि मितव्ययी स्वभाव 
आफुले गरेको काममा खुसी हुन्छु । अर्को कुरा, म सानैदेखि मितव्ययी स्वभावको थिएँ । पैसा, कपडा, खानादेखि हरेक काम कुरा गर्दा जगेडा राख्नुपर्छ भन्ने बानी रहेको घर परिवारका सदस्यहरुले पनि बताउनुहुन्थ्यो । सञ्चय गर्न सानैदेखि सिकेँ । एकैपटक सबै नसकाई पछिलाई पनि चाहिन्छ भन्ने बानी बसेको थियो । पहिला परियोजनामा करिब १ दशक काम गरेर कमाएको पैसा अझै बचत छ । खल्तीमा थोरै रकम राखेर सबै पैसा आमालाई दिन्थेँ । आमाले छोरीहरुको पैसा सबै जोगाइदिएर राख्नुभएको रहेछ । ९ वर्ष अघि आमाले ‘तिमीले मलाई दिएको पैसा’ भनेर, मैले कमाएको र मामाहरुले उपलब्ध गराएको समेत गरी ८ लाख रुपैयाँ बैकमा राखेको जानकारी गराउँदा एकदमै खुसी लाग्यो । त्यो पैसा मैले खर्च गरेको छैन ।

घरमा मैले खासै खर्च गर्न पर्दैन । खानलाई खेतीपातीले पुग्छ, मेरो दाईहरुले समेत कमाएको पैसा त्यति धेरै घरमा खर्च गर्नुपर्दैन । खानलाउन दुःख छैन । म पैसालाई त्यति ध्यानै दिन्न । मैले पैसा चोहेको थिइन तर सबै ठाउँबाट मिलेर पैसा आयो । आर्थिक स्थिती मजबूत नभइ हुँदैन । मेरो पारिवारिक अवस्था र व्यक्तिगत बचतका कारण पनि अहिले सहकारीमा स्वयंसेवी भूमिकामा संलग्न हुन सहयोग गर्यो ।

क्यान्सर र आमाबीच सम्बन्ध
आमाको मृत्यु क्यान्सरले भएका कारण पनि हिजोआज त्यससम्बन्धी जनचेतना बिस्तारको काममा लागेको छु । क्यान्सर रोगले मेरो आमा लगायत धेरैको ज्यान लिएको छ । आमाको मृत्यु भएपछि मलाई चेत भयो कि यससम्बन्धी जनचेतना विस्तार आवश्यक छ । त्यसैले क्यान्सर रिलिफ सोसाईटीमा आजीवन सदस्य भई हाल उपाध्यक्ष पदमा कार्यरत छु । सोही संलग्नतामार्फत क्यान्सर सचेतना अभियानमा आफु, नारी सेवा सँगै अन्य सहकारीहरुलाई पनि जोडेको छु ।

‘महिलाहरुलाई अघि बढाउने’ सोच आवश्यक
महिलाहरुलाई अघि बढाउने सोच अभियानको पनि हुनुपर्छ । महिला आफै पनि सक्षम हुनुपर्दछ तर राजनीति र अन्य रंगका कुराहरुले गर्दा असजिलो हुँदो रहेछ । न्यायोचित कुरा लडेर पनि लिन सक्नुपर्छ तर वातावरण मिल्नुपर्छ ।

राजनीति अरुचिको क्षेत्र
सहकारी अभियानमा राजनीतिले गर्दा निराशा छ । ‘तपाई राजनीतिमा संलग्न नहुनुभएकोले अभियानमा पछि पर्नुभएको’ भन्ने कुरा पनि बेलाबखत सुन्छु तर मलाई त्यसमा कुनै दुःखेसो छैन । मलाई राजनीतिको ज्ञान र रुचि छैन । राजनीति मेरो बुझाई बाहिरको क्षेत्र भयो । भन्नुको आशय राजनीतिमै नलागेका कारण अघि बढ्न नसेकेकोमा दुःख नभएपनि अभियानमा क्षमताको कदम नभएकोमा मन खिन्न हुन्छ ।

सहकारीमा लागेर आत्मसन्तुष्टि मिलेको छ 
महिला भएकै कारण सहकारीमा लागेर मैले संस्थासँगै आफ्नो पनि थोरबहुत व्यक्तित्व विकास गर्ने अवसर पाएँ । घर, परिवार र समाजले हेर्ने दृष्टिकोण सकारात्मक भएको छ । घर परिवारबाट धेरै सहयोग पाएँ किनकि महिलाहरुलाई सहकारीमार्फत अघि बढ्न घरबाट असहयोग भएका उदाहरणहरु पनि प्रशस्त पाइन्छ । त्यस अर्थमा म भाग्यमानी हुँ । सहकारीमा लागेर सबभन्दा ठूलो आत्मसन्तुष्टि मिलेको छ । संस्थालाई राम्रो गरुँ भन्ने सोचेका कारण सबै साथीहरुबाट सहयोग पनि प्राप्त भएको छ ।

अर्कोतर्फ, महिलाहरुले जतिनै राम्रो काम गरेपनि पहुँच कम हुँदो रहेछ, हेर्ने दृष्टिकोण फरक पर्दोरहेछ । युवा स्वरोजगार सचिवालयबाट हामीले सहुलितय ब्याजको १ करोड रकम लिन लाग्दा, (यसअघि लिएको ५० लाख असुली भई तिरीसकेको), साकोसको सञ्चालक समितिका अधिकारीहरुको घरजग्गाको लालपुर्जाको फोटोकपि, तिरोतिरेको रसिद बुझाउनुपर्ने, त्यसका लागि घरमा माग्दा कतिको घरमा धेरै प्रश्न र आशंकाहरु उब्जिए । मैले त दुई पटक घरमा जानकारी गराउनुपर्यो, किन ? कसो ? भन्ने कुरा आयो, स्पष्टीकरण दिनुपर्यो । त्यही ठाउँमा पुरुषहरु भएको भए सोध्नुपथ्र्यो र ? अभियानमा राजनीतिका कारण महिलालाई अघि बढ्न कठिन भएको मैले अनुभव गरेको छु ।

आमा, कैलाशभक्त र मिनराज सरबाट प्रेरणा
पहिलो पाठशाला घर भएकाले जीवनमा जेकोही असल कामसँग जोडिएपनि त्यसको पहिलो श्रेय परिवार र त्यसमा पनि आमालाई जान्छ । सहकारीका सन्दर्भमा भने कैलाशभक्त प्रधानाङ्ग र मिनराज कडेल सर मुख्य प्रेरणा पात्र हुनुहन्छ । अन्य अभियानकर्मीहरुबाट पनि सहयोग पाएको छु ।

सहकारीले सहानालाई बोल्न सक्ने बनायो
माइक्रो क्रेडिट परियोजनामा काम गर्नुअघि नै बचतको बानी मेरो जीवनमा जोडिइसकेको थियो । बचत गर्ने नानीदेखिको बानी थियो । त्यसले पनि सहकरीप्रति अभिरुचि जगायो ।  सहकारीले सहनालाई बोल्न सक्ने बनायो । यो कुरा अभियान, परिवार र निकटवर्तीहरुले पनि सुनाउनुहुन्छ । खुसी लाग्छ, आफ्नो कुराहरु अभिव्यक्ति गर्न सक्ने भएको छु।

सहकारीले विराटता समेट्दछ
सहकारी अभियान भन्ने शब्द र यसले बोकेको अर्थ विराट भएपनि यसमा राजनीति हाबी भएकोमा भने चिन्ता लाग्छ । सहकारीको स्वयंसेवी भूमिकामा लागेपछि आफुले के पाउछु भन्दा पनि जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने लाग्छ ।

ओमदेवी मल्लबाट आश
सहकारी अभियानको अहिलेको परिस्थिति हेर्दा ओमदेवी मल्ल दिदी अघि बढ्नुपर्ने हो भन्ने लाग्छ । अभियानमा उहाँको लामो योगदान छ । खासगरी नेपालको सहकारी अभियानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने काममा उहाँको महत्वपूर्ण भूमिका छ । उहाँबाट अभियानले धेरै अग्लो अपेक्षा गरेको छ ।

अभियान भित्रको पाटपुर्जा नै अर्कै भयो
अभियानप्रति कतिपय विषयमा असन्तुष्टिहरु पनि छन् । अभियान भनेर चल्ने तर भित्र पाटपुर्जा नै अर्कै भयो । अभियान भनेको कति राम्रो कुरा हो तर अभियानभित्र दक्षता र अनुभवले मात्र काम गर्दो रहेनछ, रंग पनि खोजिदोरहेछ । त्यसमा दुःख लाग्छ । अभियानको आँखा खुलेन । पछिल्लो समयमा मेरो जोड सहकारीका धेरै निकायमा कुनै पदमा जानेभन्दा आफ्नै सहकारीलाई राम्रो बनाउने काममा लागेको छु । आफ्नो संस्था राम्रो चल्यो भने त अभियानले खोज्दै आइहाल्छनि ।

अभिभावकले सन्तानलाई हेर्नुपर्छ
जिल्ला सहकारी संघ लि. भक्तपुरको सञ्चालक सँगै नेफ्स्कूनको भक्तपुर फिल्ड व्यवस्थापन उपसमितिमा पनि छु । नेफ्स्कून हाम्रो अभिभावक हो । अभिभावकले सन्तानलाई हेरोस् भन्ने अपेक्षा सधै रहन्छ र हेर्नुपनि पर्छ भन्ने लाग्छ ।

मलाई राम्रो बनाएकै सञ्चालक समितिले हो
अहिलेको नारी सेवाको सञ्चालक समितिको टीम एकदमै राम्रो छ । असहमति र फरकमतहरु हुन्छन्, सञ्चालक समितिको बैठकमा राखिन्छ, छलफल हुन्छ र संयोजित निष्कर्षमा पुग्छौं तर संस्थाका आन्तरिक कुराहरु बाहिर कतै नगर्ने प्रतिबद्धता सबैबाट व्यक्त भएको छ । यसले जिम्मेवारीबोध र संस्थाप्रति सबै संवेदनशील भएको दर्शाउछ । खासमा मलाई राम्रो बनाएकै सञ्चालक समितिले हो । मैले बाटो बिराए वा कमी कमजोरी गरेभने त्यसबारे बैठकमा प्रश्न उठाउने र खबरदारी गर्ने काम उहाँहरुले बडो शालिन र शिष्ट रुपमा गर्नुहुन्छ र समितिका अन्य कसैबाट भएका कमीकमजोरीहरु मैले त्यस्तै सभ्य र सुसंस्कृत रुपमा राख्दछु जसले गर्दा हार्दिकता झन बढेको छ । मैले सधै भन्ने गरेको छु, ‘मलाई राम्रो बनाउने जिम्मा तपाईहरुको हो त्यसकारण मैले केही बिराए भने तपाईहरुले खबरदारी गर्नुपर्छ ।’ यो संस्कृतिको विकास नारी सेवामा गरेका छौं ।

नारी सेवाको सेवक भएर काम गर्नेछु
संस्था थप व्यवस्थित र गतिशिल भएपछि अध्यक्षबाट अलग्गिने र अन्यका लागि अवसर प्रदान गर्ने सोचमा छु । यद्यपि, अब सहकारी अभियानबाट अलग हुन सक्दिन् । कुनै न कुनै भूमिकामा रहन्छु । अध्यक्ष नै नभएपनि नारी सेवाको सेवक भएर लामो समयसम्म काम गर्ने इच्छा छ । अबको एक दशकपछि पनि म कुनै न कुनै भूमिकामा यही क्षेत्रमै हुन्छु । म सधैं नारी सेवाको निगरानी गरिरहन्छु । यसको भलो र विकासमा सकेसम्म भूमिका खेल्छु । सँगै अभियानको कुनै पनि नयाँ भूमिकामा अवसर मिल्यो र काम गर्ने वातावरण भयो भने देखिन सक्छु ।


 

saccosaawaj media

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

सोमबार, साउन ५

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

saccosaawaj media

अब्बल साकोस नेतृ सीमा

आईतबार, साउन २५

अब्बल साकोस नेतृ सीमा

saccosaawaj media

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’

आईतबार, साउन २५

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’