शुक्रबार, वैशाख २१
०६:३७

नेफ्स्कूनको ३० औं वार्षिक साधारण सभाको उद्घाटन

शुक्रबार, मंसीर ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३० औं वार्षिक साधारण सभाको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक समारोहका बीच प्रज्ञा भवन कमलादीमा गर्नुभएको छ । मन्त्री श्रेष्ठले पानसमा दीप प्रज्ज्वलन गरी भब्य समारोहको औपचारिक समुद्घाटन गर्नुभएको हो ।
मन्त्री श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा आयोजित पहिलो अर्थात् उद्घाटन सत्रको बिशिष्ट अतिथिमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल हुनुहुन्छ भने संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष शान्ति अधिकारी, महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटासँगै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरुको सहभागिता सभामा रहेको थियो ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री श्रेष्ठले सहकारी तथा साकोस अभियानका नीतिगत, कानुनी तथा व्याहारिक समस्याहरु समाधान गर्न सरकार तयार रहेको बताउनुभयो । अभियानको विकास, प्रवर्धन र सुशासन स्थापना गर्न नीतिगत, काुननी र व्यावहारिक उल्झनहरु छन् भने छलफलका आधारमा तिनको निदान गर्न मन्त्रालय तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।


नेपालको सहकारी अभियानको करिब ७ दशक लामो इतिहासको चर्चा गर्दै मन्त्री श्रेष्ठले कुल ग्राहस्र्थ उत्पादनमा ५ प्रतिशतभन्दा बढी तथा कुल वित्तीय कारोबारमा २८ प्रतिशत योगदान, ८८ हजारलाई प्रत्यक्ष रोजागरी प्रदान गरेको तथ्याङ्क प्रस्तुत गर्दै राष्ट्रिय पुँजी निर्माण, बचत परिचालन र लगानी, सीमान्तकृत समुदायको सशक्तिकरण, नेतृत्व विकासमा सहकारीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । उहाँले सहकारी सिद्धान्तहरु बाट निर्देशित हुनुपर्नेमा जोड दिदैँ सहकारी तथा साकोस अभियानको बढ्दो लोकप्रियतासँगै बाइप्रडक्टका रुपमा देखिएका केही समस्याहरु समाधानका लागि अभियानसँग सहकार्य र साझेदारी गर्न सरकार तयार रहेको बताउनुभयो ।

अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदानको कदर गर्दै संविधानले यसको स्वीकार्यता गरेको अवगत गराउँदै मन्त्री श्रेष्ठले सफलतासँगै समस्या र चुनौती थपिएको, उत्पादनमा नभई बचत ऋण कारोबारमा बढी केन्द्रीत भएको र वित्तीय सुशासनमा केही संवेदनशील समस्याहरु देखापरेको भन्दै संविधानले मान्यता प्रदान गरेको क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउने जिम्मेवारी सरकार र नेफ्स्कून लगायत अभियानको भएको प्रष्ट पार्नुभयो । 

नेफ्स्कूनको ३० औं वार्षिक साधारण सभामा यी संगीन विषयहरुमाथि छलफलसहित आगामी कार्यदिशा तथा रणनीतिहरु तयार हुने विश्वास प्रमुख अतिथि मन्त्री श्रेष्ठले व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठको जोड थियो– ‘अर्थतन्त्रको अत्यन्त्रै महत्वपूर्ण र संवदेशनील क्षेत्र हो सहकारी क्षेत्र । उत्पादन र उत्पादकत्व क्षेत्रमा सहकारी जोडिनुपर्छ, समृद्धिको यात्रामा राज्यसँग सहकार्य गर्दै अघि बढ्नुपर्छ ।‘ सहकारी अभियानको विकासका लागि मन्त्रालयले भिजन पेपर तयारीको काम अघि बढाएको जानकारी गराउँदै उहाँले छिट्टै अभियान तथा सरोकारवाहरुसँग छलफल गरेर पृष्ठपोषणसहित भिजन पेपरलाई निष्कर्ष दिइने जानकारी मन्त्री श्रेष्ठले गराउनुभयो । 

बचत तथा ऋण सहकारीहरु संवदेनशील भएको भन्दै उहाँले वित्तीय जोखिम न्यूनीकरण, संस्थागत सुशासन कायम गर्ने दिशामा राज्य र सहकारी अभियानसँग सहकार्य गरेर अघि बढ्न मन्त्रालय तयार रहेको स्पष्ट पार्नुभयो । सहकारीहरुको संस्थागत सुशासनमा बिशेष जोड दिदैं मन्त्री श्रेष्ठले आन्तरिक नियन्त्रणलाई प्रभावकारी बनाउने, स्वनियमनलाई सबल बनाउनुपर्ने कुरामा जोड दिनुभयो । सहकारी अभियानको विकास र प्रवर्धनका लागि साझा अवधारणा तयार गरी अघि बढ्न सरकार तयार रहेको, विभाग तथा प्रदेश एवम् सथानीय सरकारसँग समन्व्यमा अघि बढ्न अब ढिलाई गर्न नहुने समेत उहाँले बताउनुभयो । 

कोभिडका चुनौतीहरु सामाना गर्न भूमि व्यवस्थापन, गरिबी निवारण आदि क्षेत्रमा सहकारीको माध्यमबाट धेरै काम गर्न सकिने विश्वास मन्त्री श्रेष्ठको थियो ।  

कार्यक्रममा संघका अध्यक्ष परितोष पौड्यालले प्रमुख अतिथि मन्त्री श्रेष्ठलाई  मायाको चिनो प्रदान गर्नुभएको थियो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सरकार र अभियानबीचको सहकार्यमा यस क्षेत्रलाई सुशासित र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो । अहिले सहकारी तथा साकोस अभियानको मुख्य विषय स्तरीकरण र स्थिरीकरण भएको बताउँदै अभियानको सुशासनमा बिशेष जोड दिनुभयो । उहाँले कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, साकोस ऐनको आवश्यकतामा पनि बिशेष जोड दिनुभयो ।

सभामा स्वागत गर्दै नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले चुनौतीका बेला सहकारी तथा साकोस अभियानको मर्म र गौरब झनै स्थापित भएको दाबी गर्नुभयो । नेपालको साकोस अभियान चुनौतीहरुको सामाना गर्दै अघि बढेको र जहाँ चुनौतीहरु छन् त्यहाँ सम्भावनाहरु पनि बढी हुने बताउनुभयो । 

कोभिड प्रहार सामना गर्न ‘सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्य’ को नारासँगै सामाजिक तथा आर्थिक कृयाकलापमा संघ संस्थाहरु अघि बढ्नुपर्छ भनेर नेफ्स्कूनले विभिन्न व्यावसायिक निरन्तरताको योजना लगायत रणनीतिक योजनाहरु अघि सारेको जानकारी गराउनुभयो । अध्यक्ष पौड्यालले विषय परिस्थितमा विश्व अभियानपनि नेपालको अवस्थासँग एकाकार भएको बताउँदै कोभिडका ३ चरणहरुको वित्तीय सहकारी क्षेत्रमा परेको प्रभावका बारेमा उल्लेख गर्नुभयो । कोभिडको त्रासका समयमा घरदैलो सेवा, वित्तीय तथा गैर वित्तीय  क्रियाकलापमा बचत ऋण सहकारीहरुले बैंकले गर्न नसकेको काम गरेको दाबी उहाँले गर्नुभयो । अध्यक्ष पौड्यालले नेफ्स्कूनले डिजिटल फाइनान्सको कुरा अघि सारेको, सामाजिक पुँजीको परिचालनलाई प्राथमिकतामा राखेको जानकारी गराउनुभयो । 

३५ लाख नागरिकबीच उभिएको नेफ्स्कूनले सिङ्गो मुलुकको प्रतिनिधित्व गरेको बताउँदै उहाँले अबको साकोस अभियानलाई उद्यमशीलता र समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो ।

संघले सातै प्रदेशमा बिस्तारित मञ्चहरुबाट सदस्य संघ संस्थाहरुको राय परामर्श सुझाव लिएर सातै प्रदेशका नियामक निकायहरुसँग बसेको जानकारी उहाँले गराउनुभयो । साकोस अभियानको भविष्य निर्माणका दुईवटा पाङग्रा स्तरीकरण र स्थिरीकरणको बारेमा चर्चा गर्दै अध्यक्ष पौड्यालले इआरपी निर्माणको प्रक्रियामा अघि बढेको समेत जानकारी गराउनुभयो । सिङ्गो साकोस अभियानको लागि अत्यन्तै आवश्यक प्रविधिकरणसम्बन्धी इआरपीका सम्बन्धमा सैद्धान्तिक आधार तयार भएको र काुननी र व्यवस्थापकीय आधारका बारेमा छलफल भैरहेको अध्यक्ष पौड्यालको भनाई थियो ।

कार्यक्रम सञ्चालन गर्दै संघका महासचिव दामोदर अधिकारीले नेपालको जेठो संघ नेफ्स्कून भोलिको मार्गचित्र तयार गर्न आज उपस्थित भएको भन्दै यस अवसरमा अभियानका अग्रज तथा देशभरका सम्पूर्ण सदस्य संघ संस्थाहरुलाई ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गर्नुभयो । 

सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले नेफ्स्कून अब परिपक्व संघ भएको बताउँदै सहकारीका मुद्दाहरुलाई संस्थागत गर्ने काममा यसको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । रजिष्ट्रार अधिकारीले अब स्थायित्व र दिगो मर्यादित बनाउने तर्फ साझा चिन्तन आवश्यक भएकोमा जोड दिनुभयो ।

संघको सभाले अभियानका विविध संगीन मुद्दामा छलफलमार्फत ठोस निष्कर्ष निकाल्ने अपेक्षासमेत उहाँले व्यक्त गर्नुभयो । नेपालको साकोस अभियानको मुद्दा स्थिरीकरण र स्तरीकरण भएकोमा रजिष्ट्रार अधिकारीले जोड दिदैं सशक्तिकरण, उद्यमशीलता प्रवर्धन, नेतृत्व विकास आदि काममा सहकारी र साकोस अभियानको एकदमै महत्वपूर्ण योगदानको करदार गर्न सरकारले कुनै कञ्जुस्याइँ नगरेको बताउनुभयो ।

सहकारी अभियान भित्रका केही कमजोरीहरुलाई र कुत्सित् प्रवृत्तिहरु निराकरण गर्न सामूहिक रुमपा लाग्नुपर्नेमा रजिष्ट्रार अधिकारीको जोड थियो । ‘विभाग र संघ मिलेर अभियान भित्रका केही खराबीहरु निमिट्याउनुपर्छ,’ रजिष्ट्रार अधिकारीले भन्नुभयो, ‘ नियतवश, कुत्सित् मनसायलाई बेलैमा पहिचान गरी समाधान गर्नुपर्छ ।’ त्यसका लागि सहकारी अभियानसँग मिलेर अनुगमन गर्न तयार विभाग तयार रहेको उहाँले बताउनुभयो ।

सहकारीको भिजन पेपरका बारेमा उल्लेख गर्दै रजिष्ट्रार अधिकारीले त्यसका आधारमा अब फरक ढंगबाट जानुपर्ने र प्राप्त उपलब्धिहरुलाई संस्थागत र भावी समस्या समधानका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

वर्तमान अवस्था, अन्तराष्ट्रिय असल अभ्यास, संस्थातग, संस्थाको अधिकार र दायित्वको समेटेर अबको ५ र १० वर्षको सहकारी कस्तो हुनुपर्छ भनेर भिजन पेपर सार्वजनिक गर्न खोजिरहेको जानकारी उहाँले गराउनुभयो । ६८ वर्षको अनुभव बोकेको अभियानले पनि भिजन पेपरका लागि मह्त्वपूर्ण पृष्ठपोषण दिने विश्वास रजिष्ट्रार अधिकारीले व्यक्त गर्नुभयो । 

यस्तै आजको सभामा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष केबी उप्रेतीले मुलुकको अग्रणी संघ नेफ्स्कून भएको चर्चा गर्दै अभियान र सरकार मिलेर सहकारी क्षेत्रमा देखिएका समस्या र विकृतिहरु समाधान गर्न संयुक्त रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि हरेक हिसाबले सहयोग गर्न बैंक तयार रहेको बताउनुभयो ।

संघकी उपाध्यक्ष शान्ति अधिकारी साकोस अभियानको आजको आवश्यकता साकोस ऐन भएकोमा जोड दिनुभयो । साकोस अभियानलाई सुशासित र सुदृढ पार्ने विषयमा धेरै राम्रा कुराहरु मन्तव्यमार्फत आएको बताउँदै कोभिड कहरबीच पनि नेफ्स्कूनले धेरै राम्रो काम गरेको उल्लेख गर्नुभयो ।

साकोसहरुको सुरक्षाकवच स्थिरीकरण कोष सञ्चालन र कार्यान्वयनमा राज्य र खासगरी सहकारी विभागमार्फत सुनिश्चितताको खोजी उहाँले गर्नुभयो ।

यसैगरी, उपाध्यक्ष अधिकारीले तीनै तहका सरकारहरुले तयार गरेका सहकारी ऐन नियमहरुबीच सामञ्जस्यता नभएको बताउँदै समस्याहरु झेल्नुपरेको जानकारी गराउनुभयो । सहकारीहरु एकीकरण अभियानमा नेफ्स्कूनले जोड दिएपनि एकीकरणमा जानेहरुलाई केही सहजता नभएकोतर्फ उहाँले राज्यको ध्यानाकर्षण गराउनुभयो ।

नेफ्स्कूनको ३० औं वार्षिक साधारण सभाको पूर्ण सफलताको कामना गर्दै नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का अध्यक्ष खेम पाठकले मुलुकको जेठो संघबाट सहकारी अभियानले धेरै कुरा अनुकरण गर्नुपर्ने बताउनुभयो । सहकारी सिक्ने थलोको रुपमा नेफ्स्कून विकास हुँदै गएको भन्दै पारस्परिक सहयोग गरेर अघि बढ्ने मर्म र भावना आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष पाठकले नेफ्स्कूनको सदस्य संघ संस्थाहरुमा सुशासनको कुनै समस्या नरहेको बताउँदै बाँकी बचत तथा ऋण सहकारीहरुलाई पनि अभियानमा जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 

उद्घाटन सत्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) का उपाध्यक्ष खगेन्द्र अधिकारीले पनि सीटीइभीटी र नेफ्स्कूनको सहकार्यका बारेमा जानकारी गराउनुभएको थियो ।  यसैगरी, राष्ट्रि««य सहकारी प्रशिक्षण केन्द्रकी प्राचार्य पार्वती अर्याल, केन्द्रीय पशुपंक्षीपालन सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, राष्ट्रिय युवा परिषदका प्रमुख प्रशासकीय अधिकृत डा.बाबुराम ढुङ्गाना, लायन्स क्लब इन्टरनेशनल, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), सिटिजन लाइफ इन्स्योरेन्स, आइएमइ लाइफ, आइएमइ जेनेरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, जिनोब प्रा.लि, रारा डिजिटल ल्याब लगायतका साझेदार निकायहरुको पनि बाक्लो उपस्थिति थियो । साधारणसभामा संघको ३४ औं स्थापना दिवसको अवसरमा घोषणा गरेका उत्कृष्ट संघ संस्था तथा व्यक्ति सम्मान पुरस्कार समेत प्रमुख आतिथिद्वारा प्रदान गरिएको थियो ।  

गत वर्ष कोभिडका कारण संघको २९ औं वार्षिक साधारण सभा न्यूतम भौतिक उपस्थितिसहित हाइब्रिड मोडलमा आयोजना गरिएको थियो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र