शुक्रबार, वैशाख २१
११:४१

महिलाहरुलाई सशक्त र आत्मनिर्भर बनाउँदै भक्तपुरको नारी सेवा साकोस  

आईतबार, कात्तिक २८
रञ्जनमणि पौड्याल
saccosaawaj

झण्डै २ दशक अघिको कुरा हो । भक्तपुर नगरपालिका भित्र खासगरी नेवार समुदायका महिलाहरु सामाजिक, आर्थिक र शैक्षिक रुपमा पिछडिएका थिए । समुहमा कुरा राख्न धक मान्ने, विपरित लिङ्गीका व्यक्तिहरुसँग बोल्न र घुलमिल हुन असहज मान्ने, समाजले बिनाकारण औंला उठाउला भन्ने भय, त्यसमाथि बुहारीहरुको त कुरै छोडौं ।

सोही कारण महिलाहरुकै अग्रसरता र सहभागितामा संगठित हुने, एक अर्काको सुखदुःखमा सहभागी हुने, आत्मनिर्भर बन्ने अवसरहरु खोजी गर्ने र शिक्षा चेतनास्तर वृद्धि गर्दै सशक्तिकरणको दिशामा अघि बढ्ने अठोटका साथ सहकारी अवधारणमा संस्था स्थापना गर्ने मेसो जुरेको थियो । महिलाहरु पछि पर्नुमा उनीहरुमात्रै दोषी नभई त्यो समुदायको शिक्षा, चेतना, परम्परागत सोच, सामाजिक बनोट, रहनसहन आदि पूरक कारणहरु हुन सक्छन् । 

यी सबै कुराहरु ध्यानमा राखी महिलाहरुको सामाजिक, आर्थिक स्तर अभिवृद्धि गर्ने पुनित उद्देश्य बोकेर २०५९ साल जेठ २७ गते ७० जना महिलाहरुबाट ३७ हजार रुपैयाँ संकलन गरी नारी सेवा बचत तथा ऋण सहकारी संस्था लि.स्थापना भएको अध्यक्ष सहना पसखल सुनाउनुहुन्छ । स्थापनाको मुल उद्देश्यबाट साकोस आजपनि रत्तिभर विचलित छैन । भक्तपुरको पाँचतल्ले मन्दिर क्षेत्रमा एउटा कोठाबाट नारी सेवाले यात्रारम्भ गरेको थियो ।

स्थापनाको नालीबेली

हालको लघुवित्त स्वरुपमा २०५१/५२ सालतिर एशियाली ऋण महासंघ (अकू) सँग मिलेर ७५ वटै जिल्लामा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयअन्तर्गत ‘गैर सरकारी संस्था सुदृढीकरण इकाई (Micro Credit Project) ’ नाम दिएर 'माइक्रो क्रेडिट प्रोजेक्ट' सञ्चालनमा थियो । भक्तपुरसहित १२ जिल्लामा ४ नगरपालिका अन्तर्गत पनि उक्त परियोजना सञ्चालनमा थियो । 

उक्त परियोजनामा हाल नारी सेवा साकोसकी अध्यक्ष सहना पसखल आफै संलग्न हुनुहुन्थ्यो । त्यसअघि, ‘नेपाल सोसियल सर्भिस सेन्टर’ मा उहाँ कर्मचारीका रुपमा कार्यरत हुनुहुन्थ्यो । उक्त ‘सेन्टर’ ले महिला समूहहरुमार्फत लघु बचत तथा ऋण प्रवाहको काम गर्दथ्यो । त्यसमा राष्ट्रिय बाणिज्य बैंक सूर्यविनायक शाखा,भक्तपुरमा बचत संकलन र त्यहीँबाट ऋण प्रवाह गरिन्थ्यो । ९ वर्ष सफलतापूर्वक परियोजना सञ्चालन भएपछि समूहको स्थायित्वको कुरा उठ्यो । ‘सफलतापूर्वक’ भन्नुको कारण थियो–उक्त परियोजनामार्फत लगानी भएको ऋणहरुको असुली दर ९९ प्रतिशत थियो भने समूहका महिलाहरु त्यसबाट धेरै लाभान्वित भएका थिए । फलतः त्यस कार्यक्रमबाट ३७ हजार पुरस्कार समेत प्राप्त गरेको थियो । तर, परियोजना दिगो नहुने भएकोले समूहको सक्रियतालाई कसरी जीवित राख्ने भन्ने चिन्ता थियो । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेझै सल्लाह खोज्दै जाँदा तत्कालीन समाज कल्याण मन्त्रालयबाट ‘सहकारीमा रुपान्तरण गरी दिगो बनाउन सकिन्छ’ भन्ने सुझाव प्राप्त भएपछि पसखललाई ‘ढुङ्गा खोज्दा देउता मिल्यो’ झैं भयो ।

सहकारीका विषयमा ‘सेन्टर’ मा छलफल गर्दा सबैको सकारात्मक धारणा आयो । समूहलाई सहकारीमा परिणत गर्दा फराकिलो भएर काम गर्न सकिने, काममा थप उर्जा मिल्ने कुरा राखेपछि कुरा अघि बढ्यो । ‘मेरो अगुवाईमा माइक्रो क्रेडिट प्रोजेक्टको काम गरिसकेपछि त्यसमा संलग्न महिलाहरुलाई अलपत्र पारेर नीजि फाइदाको निम्ति अन्यत्र लाग्नुहुँदैन भन्ने मनले सोच्यो,’ पसखलले साकोस आवाजसँग भन्नुभयो, ‘त्यसकारण सरकारी विद्यालयमा शिक्षकको अवसरलाई तिलाञ्जली दिएर म पनि सहकारीतर्फ लागेँ ।’ समूहमा ‘कुवा जस्तै सानो हुने तर सहकारी फराकिलो हुने, निर्णयशक्ति बलियो हुने र अवसरका ढोकाहरु पनि खुल्ने बुझाएपछि सबै सकारात्मक भएका थिए । ‘काम ठूलो होइन, स्थायित्व ठूलो हो’ भनेर गरेको कामलाई स्थायित्व दिने आत्मनिर्णय गरेँ ।

संस्थाको विकास र प्रगतिमा राष्ट्रिय बाणिज्य बैंक भक्तपुर शाखाका तत्कालिन प्रमुख दीपक थापाबाट धेरै ठूलो सहयोग मिलेको अध्यक्ष पसखल बताउनुहुन्छ । उहाँ इतिहास स्मरण गर्नुहुन्छ, ‘डिभिजन सहकारी कार्यालयमा दर्ता गर्न जाँदा त्यहाँका सरहरुले 'साँच्चिकै सहकारीमा रुपान्तरण हुन खोजेको हो होइन भन्ने निर्क्यौल महिलाहरुलाई नै सोधेर गर्ने' प्रतिक्रिया व्यक्त गर्नुभएको थियो । त्यो समयमा पनि डिभिजन सहकारी कार्यालयले धेरै राम्रो काम गरेको पसखलको ठम्याई छ । कारण कार्यालयले समूहका अधिकांश महिलाहरुको धारणा बुझ्ने काम गर्यो । ‘सहना अविवाहित हुनुहुन्छ, सहकारीमा भएको पैसा सबै उहाँले लिएर जानुभयो भने के गर्नुहुन्छ ?’ भनेर महिलाहरुको मन जाँच्ने बुझ्ने काम त्यसबेला नियामक निकायबाट भयो । जवाफमा महिलाहरुले ‘ सहना पसखलसँग हामीले ९ वर्ष काम गरिसक्यौं, अहिलेसम्म उहाँले कुनै कुरा तलमाथि गर्नुभएको छैन, उहाँमाथि हाम्रो पूर्ण विश्वास छ’ भन्ने जवाफ दिनुभयो । यी यावत कुराहरुबाट आश्वस्त भएपछि मात्र डिभिजन सहकारी कार्यालयबाट सहकारी दर्ता भएको थियो । आजपनि डिभिजन सहकारी कार्यालयको त्यो काम सम्झिदा पसखललाई एकदम खुसी लाग्छ ।

‘मैले महिला दिदीबहिनीहरुलाई बाटो देखाएर अलग्गिन चाहेको थिएँ,’ उहाँले भन्नुभयो, ‘म सोसियल सर्भिस सेन्टरमा कार्यरत थिएँ, सहकारीमा लाग्ने इच्छा खासै थिएन तर उहाँहरुको करले गर्दा अन्तिममा म सदस्य बनेँ । त्यसैले मेरो सदस्यता नम्बर ७० हो ।’ नारी सेवाको ७० सदस्यीय तदर्थ समिति गठन गर्दा जमुना लोहला (हाल अमेरिकामा रहनुभएको तर संस्थासँग हरेक हिसाबले आबद्ध) अध्यक्ष हुनुहुन्थ्यो । 

३ महिनामा प्रारम्भिक साधारण सभा हुँदा बाणिज्य बैंक प्रमुख दिपक थापा पनि निक्कै खुसी हुनुभयो । उहाँनै प्रमुख अतिथि हुनुहुन्थ्यो । उक्त साधारण सभामा आफुलाई नै अध्यक्ष बन्नुपर्ने प्रस्ताव उठ्यो । पसखलका आँखाले आँसु थाम्न सकेन । ‘नारी सेवामा अध्यक्ष बन्ने कुनै इच्छा वा सोच थिएन, मात्र बाटो देखाउन खोजेको थिएँ, तर सहना मिसलाई नै राख्नुपर्छ, समूहमा रहँदा उहाँले नै धेरै कुरा सिकाउनुभयो, आर्थिक कारोबार भएकोले अब पनि उहाँले नै यसको रेखदेखको नेतृत्वगर्नुपर्छ ’ भन्ने आवाज बुलन्द भएपछि आँखा रसाए । कारण कामको मुल्याङ्कन पक्कै हुँदोरहेछ भन्ने लाग्यो । त्यसबेला अध्यक्ष निर्वाचित सहना पसखल हालसम्म निरन्तर निर्विरोध अध्यक्ष रहँदै आउनुभएको छ । करिब ८ वर्ष भयो साकोस हाल नासमना ४ स्थित चिटिक्क परेको भवनको दोस्रो तल्ला पुरै भाडामा लिएर सेवा प्रवाह गरिरहको छ ।

सदस्य नै सम्पत्ति 

भक्तपुर नगरपालिका भर कार्यक्षेत्र रहेको साकोसले कार्यक्षेत्र बिस्तारको कुनै सोच बनाएको छैन । तर साकोसमा हाल कायम १६१२ महिला सदस्य र ५१२ बाल बचतकर्तालाई सबैभन्दा ठूलो सम्पत्ति ठानेर काम गरिरहेको छ । अध्यक्ष पसखल भन्नुहुन्छ, ‘सदस्यनै साकोसको सम्पत्ति हुन् ।’ पैसा मात्रै जम्मा गर्नका लागि सहकारी होइन, त्यहाँ सदस्य भएपछि सदस्यको कर्तव्य र भूमिका के हो ? सहकारी सञ्चालन कसरी हुन्छ ?’ भन्ने आधारभूत कुराहरु सिकाउनुपर्छ । सदस्य बन्नासाथ सहकारी शिक्षा शिविर सञ्चालन गर्दै आएको छ । अनिवार्य मासिक बचतको हकमा महिना नाघेपछि १० रुपैयाँ जरिवाना लिने प्रचलन संस्थामा छ । सबै सदस्यले अनिवार्य नियमित बचत गर्ने गरेका छन् ।

बाल बचतकर्ताहरुको हकमा नाबालक अवधिभर बालकहरु संस्थामा रहने र बालिग भैसकेपछि रकम फिर्ता गर्ने र बालिकाहरुको हकमा सेयरमा परिणत गर्ने प्रचलन संस्थामा छ । यसले सदस्य संख्या वृद्धिमा पनि टेवा पुग्दछ  । संस्थामा हाल अनिवार्य बचत, नियमित बचत, ऐच्छिक बचत, आवधिक बचत र घरायसी, शैक्षिक, व्यापारिक ऋण सेवा रहेका छन् । संस्थामा हाल ८ वटा नीतिहरु छन् भने ३ वर्षे रणनीतिक योजना बनाएर संस्था अघि बढेको छ । संस्थाले पछिल्लो समय सदस्यहरुलाई उत्पादनसँग जोड्न प्रेरित गर्दै आएको छ जसलाई रणनीतिक योजनामा पनि समावेश गरिएको छ ।

संस्थाले 'सहकारिताको मूल्य र मान्यतामा आधारित एक सबल र दिगो सामुदायिक वित्तीय संस्था' को परिकल्पना गरेको छ भने सदस्यहको आर्थिक तथा सामाजिक आधारमा सुधार गरी उनीहरुलाई आत्मनिर्भर गराउन प्रतिस्पर्धात्मक दरमा वित्तीय सेवा उपलब्ध गराउने ध्येय बोकेको छ । स्थापनाकालदेखि नै नारी सेवा साकोसले 'एकका लागि सबै सबैको लागि एक नै सहकारिता हो' भन्ने नारा तय गरेको थियो । उक्त नाराको सान्दर्भिकता झनै भएकोले हालसम्म पनि उक्त नारालाई नै आधिकारिक रुपमा प्रयोग गर्दै आएको छ । यसैगरी, साकोसले 'बचत गरौं भविष्यका लागि, ऋण लिएर उद्यमी बनौं' भन्ने कुरालाई पनि सदस्यहरुमाझ आफ्ना बचत तथा ऋण सेवाको प्रवर्धन वा शिक्षा दिदाँ बिशेष जोड दिदैं आएको अध्यक्ष पसखलले जानकारी गराउनुभयो । ७ करोड बढीको कुल सम्पत्ति रहेको संस्थामा १ करोड ३ लाख बढी सेयर पुँजी, ५ करोड ५० लाख बढी कुल निक्षेप, ४ करोड ३४ लाख बढी ऋण लगानी मार्फत गत आर्थिक वर्षमा संस्थाले करिब ६ लाख खुद बचत गरेको छ । कारोबारको आयातन सानो हुनुको कारण महिलाहरुले सञ्चालन गरेको र महिलाहरु मात्र सदस्य बन्न सक्ने प्रावधान, सदस्य र कारोबार विस्तारका आक्रामक योजनाहरु नल्याउनु, राम्रा कामहरुको सहकारी सञ्चारमाध्यममार्फत प्रचार प्रसारको कमी प्रमुख कारण देख्नुुहुन्छ अध्यक्ष पसखल । तर सानो स्तरमा भएपनि यी काम सहकारी मर्म अनुरुप भएकोमा आत्मसन्तोष मिलेको छ नारी साकोस परिवारलाई । 

मुख्य उपलब्धिहरु

संस्थाकी अध्यक्ष पसखल गर्व गर्नुहुन्छ, ‘बोल्न नसक्ने महिलाहरुलाई बोल्न सक्ने बनायौं ।’ त्यसको मुख्य उदाहरण त आफै भएको उहाँ बताउनुहुन्छ । ‘म आफै पनि सुरु सुरुमा धेरै बोल्दिनथेँ ।’ धेरै महिला सदस्यहरु अरुका अगाडि बोल्न सक्ने, आफ्ना भावनाहरु अभिव्यक्त गर्न सक्ने भएका छन् । महिला सशक्तिकरणको दिशामा थोरै भएपनि योगदान नारी सेवाको रहेकोमा साकोस गर्व गर्दछ । ‘गाउँमा मात्र होइन नगरमा पनि समुहमा बोल्न धक मान्ने महिलाहरु छन्,’ उहाँ भन्नुहुन्छ, ‘खासगरी नेवार समुदायमा यस्तो छ र उनीहरुमध्ये हाम्रा सदस्यहरुलाई बोल्न सक्ने बनाएका छौं र केहीको नेतृत्व क्षमता विकासमा सहयोगी बन्न सकेका छौं ।’ 

त्यस्तै, सहकारीले महिला दिदीबहिनीलाई उद्यमी पनि बनाएको छ । भादगाउँले र ढाकाको टोपी, पुष्टकारी बनाउने, अमिलो भण्डार, पोल्ट्री फार्म सञ्चालन, सिलाइबुनाई लगायत थुप्रै आयआर्जनका काममा संलग्न हुँदै महिलाहरु आत्मनिभरर्ताको यात्रामा अघि बढेको संस्थाले जनाएको छ । भलै संख्या सानो होला, सेवा केन्द्र नहोला, कर्मचारी थोरै होलान तर भएका सदस्यहरुलाई संस्थाले राम्रो सेवामुखी काम गरेको छ भन्ने अमिट छाप छोड्न सफल भएको दाबी गर्छ–नारी सेवा साकोस । राष्ट्रिय स्तरमा र सञ्चारमाध्यममा धेरै खैलाबैला नभएपनि समुदायस्तरमा न्यायो माया पाउन सफल भएको अध्यक्ष पसखलले बताउनुभयो । गरिबी निवारणका क्षेत्रमा पनि नारी सेवाले फरक प्रकृतिबाट सहयोग पुर्याउँदै आएको छ । १ रुपैयाँ गरिबको लागि मेरो सहयोग सधैको लागि भन्ने नारासहित साकोसले गरिबी निवारण कोष स्थापना गरेको छ । सोही कोषमार्फत संस्थाले २ प्रतिशत ब्याजमा ४० हजार रुपैयाँसम्मको लघु कर्जा उपलब्ध गराउँदै आएको छ । यसैगरी, साकोसले प्रत्येक वर्ष स्थापना महिना जेठमा ज्येष्ठ सदस्यहरुलाई सम्मान गर्ने संस्कार पनि विकास गरेको छ ।

त्यसोत, नारी सेवाले साँच्चिकै राम्रो काम गरेको रहेछ भन्ने प्रमाण ३० नोभेम्बर २०१८ मा जाइकामार्फत १० दिने जापान भ्रमणको अवसर पनि हो । उक्त भ्रमणमा अध्यक्ष पसखल एक कर्मचारीसहित राजधानी टोकियो लगायत थुप्रै स्थानहरु पुग्नुभयो । जापानमा सहकारीमार्फत भएका विकास र प्रगतिबारे साक्षात्कार गर्ने अवसर प्राप्त गर्नुभयो । 

त्यसैगरी, नारी सेवा साकोससँगै अन्य सहकारी र सहकारीकर्मीहरुको सहयोग तथा संलग्नतामा २०७५ सालमा महिला सम्मेलन आयोजना गरेको थियो । भक्तपुर जिल्ला भर त्यसबखत कायम ६२ वटा महिला सहकारीहरु सञ्चालनमा रहेका थिए । उक्त सम्मेलनमा राष्ट्रिय महिला आयोग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग, भक्तपुर, काठमाडौं, पाटन र मध्यपुरका महिला उपमेयरहरु समेतको सहभागितामा सरकारी निकायका अधिकारीहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा स्थानीय स्तरमै भएपनि महिलाहरुलाई कसरी संगठित गर्न सकिन्छ, परिआएका समस्याहरुको गाँठो फुकाउन मद्दत गर्न सकिन्छ, कसरी उनीहरुलाई सशक्तीकरणमा सहयोग गर्न सकिन्छ भन्ने विषयमा राम्रा सुझावहरु प्राप्त भएको ऐतिहासिक घटना पनि अध्यक्ष पसखल स्मरण गर्न बिर्सनुहुन्न ।

साकोसले डिभिजन सहकारी कार्यालय, सहकारी प्रशिक्षण केन्द्र र जिल्ला सहकारी संघ लि. भक्तपुरबाट सम्मान प्राप्त गरेको छ । यसबाहेक, विगत लामो समयदेखि नेफ्स्कूनमा आबद्ध नारी साकोसले सहकारीसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा पनि सहभागिता जनाउँदै आएको छ । कैलाशभक्त प्रधानाङ्ग, मिनराज कडेल, कृष्ण गोविन्द लाखाजू, भक्तपुर जिल्ला सहकारी संघ लि.का अध्यक्ष केदार खड्का लगायतका सहकारी अगुवाहरुको अभिभावकत्व, प्रेरणा, सहयोग र सद्भाव पनि संस्थाले प्राप्त गरेको छ । यो पनि कम सानो उपलब्धि नभएको भन्दै गर्व गर्छ साकोस ।

संस्कार र संस्कृति सहितको सेवा

सदस्यलाई केन्द्रमा राखेर उनीहरुका हरेक गुनासाहरुको यथोचित सम्बोधनको संस्कार विकास गरेको छ नारी सेवाले । कर्मचारीहरुलाई पनि मुस्कानसहितको सेवा, नमस्कारको संस्कृति, अतिथि सत्कार तथा शिष्टाचारमा बिशेष ख्याल पुर्याएको छ । ‘सम्मान दिनाले सम्मान पाइन्छ’ भनेर सिकाएको छ । संस्थामा आउने सदस्यले पहिले सञ्चालक र कर्मचारीको व्यवहार हेर्छन् । सञ्चालक समितिमा पनि यही विषयले स्थान पाउँछ । सामुहिक हितका आधारमा सहकारी चल्छ, समुदायको हितको लागि साकोस सञ्चालन गरेका कारण ‘लगनशील भएर काम गर्नुपर्छ’ भन्ने संस्कृति बसाएको छ । प्रतिस्पर्धा भन्दा लगनशीलता आवश्यक छ । प्रतिस्पर्धामा तलमाथि हुनसक्छ, तर लगनशीलताले अवश्य गन्तव्यमा पुर्याउँछ । संस्थासँग सम्बन्धित तीता मिठाकुराहरु संस्थामै गर्ने, बाहिर नगर्ने सहमति जुटाएको बताउने नारी सेवाले कमजोरी जो सुकैबाट पनि हुन्छ तर त्यसलाई खबरदारी गर्ने जिम्मा अन्य सञ्चालकहरुको हो भन्ने प्रतिबद्धता सबैबाट जाहेर भएको अध्यक्ष पसखलले सुनाउनुभयो । संस्थामा कार्यरत ४ महिला कर्मचारीहरुलाई कुनै सदस्य वा अतिथिहरु आउँदा मुहारमा ‘ग्लो’ दिनुस् भनेर सिकाएको दाबी साकोसले गरेको छ । यस्तै अर्को उल्लेखनीय विषय भनेको साकोसले विगत १९ वर्षदेखि भदौंको चौथो साता वार्षिक साधारण सभा गर्दै आएको छ । एउटा प्रारम्भिक संस्थाले यस किसिमले नियमित र हरेक वर्ष एकै समयमा साधारण सभा गर्ने असल संस्कृतिको विकास गर्नु अत्यन्त प्रशंसनीय काम हो । नारी सेवा साकोसको यो उदाहरणीय साकोस संस्कृतिका बारेमा अग्रज सहकारीकर्मी कैलाशभक्त प्रधानाङ्ले पनि आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ ।

सदस्यको सहारा

नारी सेवा साकोसले २०७२ सालको महाभूकम्पका बेला ३ लाख ४७ हजार रुपैयाँ बराबरको (प्रति परिवार १३ सय ७५ को दरले चामल, तेल, चिनी, नुन मसला आदि) राहत सदस्यलाई वितरण गरेको थियो । त्यस्तै, कोभिडको बेला ज्यान गुमाएका २ जना सदस्यका परिवारलाई पनि आर्थिक सहयोग उपलब्ध गराएको थियो । यस्तै, भक्तपुर नगरपालिकालाई पनि कोभिडको समयमा १० हजार १ सय रुपैयाँ, अक्सिजन प्लान्ट स्थापनाको लागि १० हजार १ सय रुपैयाँ लगायतको आर्थिक सहयोग गरेको थियो । सहकारी नाफा कमाउने मात्र नभई सेवा गर्ने संस्था हो । सदस्यलाई आपत पर्दा दिलखोलेर सहयोग गर्न सक्नुपर्छ, उनीहरुको पीरमर्का बुझ्नुपर्छ भन्ने सञ्चालक समितिले ठान्यो । भुकम्प प्रभावित सदस्यहरु सहयोगको याचनासाथ आँखामा आँसु बोकेर संस्थामा आउँदा गच्छेले भ्याएसम्म सहयोग गरेको अध्यक्ष पसखल बताउनुहुन्छ, ‘सदस्यको आँखामा आँसु देख्दा ननिको लाग्यो ।’

सहयोगको लागि लाभांशमा कञ्जुस्याइँ गर्ने नीति अघि सारियो । ‘सबै सदस्यहरु यसमा राजी हुन्छन् त ?’ भन्ने प्रश्न पनि सञ्चालक समितिको बैठकमा नउठेको होइन । तर, पहिलो सुरुवात सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमितिहरु गरी २१ जना बाट गर्नुपर्यो भनेपछि लगभग सहमति जुटेको थियो । प्रत्येक वार्षिक साधारण सभा अघि अन्तरक्रिया गर्ने कार्यक्रममा अधिकांश सदस्यहरुलाई जानकारी गराउँदा धेरैबाट ‘हुन्छ’ भन्ने जवाफ आएपछि थप बल मिलेको थियो । लाभांश लिने खोज्नेलेहरुले समेत कारण बताउँदा उनीहरुको घरबाट ‘नलिए पनि हुन्छ, यस्तो बेलामा सहयोग गर्नुपर्छ’ भन्ने धारणा आएपछि धेरैको मन परिवर्तन भएको थियो । जसले गर्दा सहयोगको अभियानमा थप रकम जम्मा भएको अध्यक्ष पसखलले सुनाउनुभयो । त्यस्तै, साकोसले ब्याज तथा हर्जार्ना छुट पनि धेरै दिएको कुरा बाह्य लेखापरिक्षकबाट पनि आएको थियो ।

स्वास्थ्य पनि धन हो भन्ने भनाइलाई महत्व दिदैं नारी सेवा साकोसले महिलाहरुको स्तन र पाठेघरको क्यान्सरसम्बन्धी जनचेतना विस्तार तथा निःशुल्क परिक्षणका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । त्यसबाहेक मठमन्दिर सरसफाई, रक्तदान, ज्येष्ठ नागरिक सम्मान, बालबचतकर्ताका लागि प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन आदि कामहरु पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गर्दै आएको छ । संस्थाकी अध्यक्ष पसखलको पलहमा निःशुल्क शिविर तथा जनचेतनामूलक कार्यक्रमहरु पनि संस्थाले सञ्चालन गर्दै आएको छ । यति सबै काम गर्दा गर्दै पनि सहकारीमा राजनीति प्रवेश गरेको र प्रतिस्पर्धाका नाममा केही सहकारीहरु अपारदर्शी ढंगले व्यापारिक स्वार्थ र लाभका लागि चलेका कारण ‘सिष्टम’ ले चलेका संस्थाहरु टिकाउन कठिन भएको लाग्छ नारी साकोसलाई ।

छैनन बजार प्रतिनिधि

नारी साकोसमा बजार प्रतिनिधिहरु छैन । सदस्यहरु स्वयं संस्थामा उपस्थित भएर कारोबार गर्छन् । यसले संस्था र सदस्यबीच आत्मियता बढाएको अध्यक्षको भनाइ छ । संस्थाले सदस्य र सदस्यले संस्था चिन्नुपर्छ । सदस्यले पनि जिम्मेवारीबोध गर्नुपर्छ । प्रविधिको समय भएपछि सदस्यको माग आवश्यकताको आधारमा मात्रै विकास र विस्तार गर्नुपर्ने हुन्छ । त्यसैकारण नारी सेवा प्रविधिमा अघि छैन, कारण सदस्यहरुको प्रविधिमा ठूलो पहुँच, लगाव र सहजता छैन । ‘प्रविधिमा जाने भन्दैमा सदस्यले प्रयोग नगर्ने सामाग्री र सेवा राखेर मात्र के अर्थ ?’ उहाँ भन्नुहुन्छ । 

उत्तराधिकार योजना

संस्थाले उत्तराधिकार योजना पनि तयार गरेको छ । ‘अब म अध्यक्ष बस्दिन भन्ने प्रस्ताव १७ औं साधारण सभा दौरान उठाएपनि अहिल्यै छोड्न हुँदैन, केही समयपछि’ भन्ने कुरा सबैबाट आएको अध्यक्ष पसखलले बताउनुभयो । तर, नयाँ साथीहरुलाई अवसर प्रदान गर्ने सुरसारमा उहाँ हुनुहुन्छ । नेतृत्वले सबैलाई मिलाएर सँगै लिएर अघि बढ्नुपर्छ, अन्यथा त्यो लिडरशीप नै नभएको उहाँको विचार छ । साकोसमा हाल पसखलको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति तथा पूर्ण शोभा हाडाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको छ । अहिलेको टीम एकदमै सक्षम भएको दाबी अध्यक्ष गर्नुहुन्छ ।

कोठा, फ्ल्याट हुँदै अब भवनको तयारीमा

नारी साकोस अब आफ्नै भवन निर्माणको तयारीमा जुटेको छ । भक्तपुर नगरपालिका वडा नं ४ स्थित देगमनामा रहेको २ आना जग्गामा साढे ३ तल्लाको इन्जिनियरिङ डिजाइनको काम हुँदैछ । भवन निर्माणका लागि करिब ४० लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । करिब १४ लाख रुपैयाँ जम्मा भएको छ । घर जग्गा कोष, भवन निर्माण कोष र जगेडा कोषको रकमले समेत भरथेक गर्ने र नपुगे थेग्नसक्ने गरी ऋण लिएर पनि भवन बनाउन वर्तमान सञ्चालक समिति कम्मर कसेर लागिपरेको छ । ‘हामीले बाख्रा गोठबाट कार्यालय सञ्चालन गरेको थियौं, ’ अध्यक्ष पसखलले विगत कोट्याउनुभयो, ‘एउटा कोठा, एउटा दराज, एउटा टेबल र सुकुल थियो । प्रत्येक ६ महिनामा माटो लिप्नुपर्दथ्यो भित्तामा चिसो पस्छ भनेर । तडकभडक नसोची संस्थालाई अघि बढाउने मात्र सोचेर काम गर्यौं । ’ त्यस्तो विगत बोेकेको नारी साकोस अब सुविधासम्पन्न आफ्नै भवनको सपना साकार बनाउने काम गर्दैछ । हाल ४ महिला कर्मचारी कार्यरत संस्थामा १० वर्षदेखि निरन्तर कार्यरत र स्नातकोत्तर गरेका कर्मचारी छन् ।

नारी साकोसको जिल्लास्थित अन्य सबै सहकारीहरुसँग घनिष्ठ सम्बन्ध रहेको छ । अन्य सहकारीका सञ्चालक कर्मचारीहरु नारी साकोसमा खासगरी ऋण लगानी र असुली प्रक्रियाका बारेमा जान्न बुझ्न आउने गरेको अध्यक्ष पसखल सुनाउनुहुन्छ । साकोसले गएको भदौं २६ गते १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । महिलामात्रै सदस्य बन्दा परिवारका इच्छुक पुरुष सदस्य बञ्चित भएको गुनासो आएका भन्दै उक्त कुरालाई संस्थाले विचारणीय मानेको अध्यक्ष पसखलले बताउनुभयो । ‘हतार गरे भन्न सकिन्न, बिस्तारै गए गन्तव्यमा अवश्य पुगिन्छ’ भन्ने विश्वास राख्ने नारी सेवा साकोस टीमलाई साकोस आवाजकोतर्फबाट थप सफलताको अग्रिम शुभकामना ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र